महासमालोचक वासुदेव त्रिपाठीको जीवनी

- नरेन्द्रराज प्रसाई

नेपाली भाषासाहित्यका वरिष्ठ व्यक्तित्व वासुदेव त्रिपाठीले समालोचकका रूपमा प्रसिद्धि पाएका छन् । उनका आलोचनात्मक लेखहरूको सङ्ग्रह ‘नेपाली कविताको सिंहावलोकन’ले नेपाली साहित्यको पटभूमिमा अतुलनीय स्थान ओगटेको छ । आफ्ना आलोचनामा सकारात्मक मत दिन सिपालु त्रिपाठीले विविध विधा र कृतिहरूको समीक्षामा आफ्नो कलम चलाए तापनि नेपाली कविताको समीक्षामा धेरै रुचि राख्ने गरेको पाइन्छ ।

वासुदेव त्रिपाठीको चिनाको नाउँ नूतनराज त्रिपाठी थियो । १९९९ साल चैत १३ गते प्रेमदत्त त्रिपाठी तथा गोमादेवीका ज्येष्ठ सुपुत्रका रूपमा वासुदेव त्रिपाठीको जन्म गण्डकी अञ्चलको तनहूँमा भएको थियो । उनी सानैदेखि हुने बिरुवाको चिल्लो पात थिए । आठ वर्षको उमेरमा आफ्नी आमाको माया, मोह र स्नेहबाट वञ्चित त्रिपाठी आफ्ना कर्मवीर बुबा प्रेमदत्त त्रिपाठीको त्याग, तपस्या र मायाबाट आफ्ना यात्रामा अविरल हिँडिरहे ।

२००७ साल अघिपछिको कुरा हो; त्यस बेला तनहूँ र छिमेकी जिल्लाहरूमा खास विद्यालय र शिक्षकहरूको अभाव थियो । सोही कारणले त्यस बेला त्यहाँका मान्छेहरूले गुरु फेला परे संस्कृत पढ्नुपर्थ्यो, मास्टरसाहेब फेला परे अङ्ग्रेजी पढ्नुपर्थ्यो र सेवानिवृत्त सैनिक शिक्षक फेला परे कबाज र नाचगानको तालिम लिनुपर्थ्यो । त्रिपाठीले पनि त्यसै किसिमको शिक्षाको लहरमा लहरिँदै अध्ययन चालु राखे । त्रिपाठीले त्यसैबखत संस्कृत, अङ्ग्रेजी, नाच, गान, मादल, तबला, हार्मोनियम र कबाज सिके । उनले सानैमा ‘चण्डी’, ‘रुद्री’, ‘अमरकोश’, ‘लघुकौमुदी’ कण्ठ गर्नुको साथै ‘अङ्ग्रेजी फस्टबुक’ पनि पानी पारेका थिए । उनको पढाइको स्तर निक्कै माथिल्लो कोटिको भएको हुँदा उनलाई तेह्र वर्षको उमेरमा काठमाडौँ उपत्यका भित्र्याइएको थियो ।

काठमाडौँमा पढ्न आएका त्रिपाठी क्रमशः साहित्यसृजना र राजनैतिक मैदानमा लहसिन थाले । सो घटना उनका बुबाले थाहा पाएपछि उनी यिनलाई मनोवैज्ञानिक तरिकाले राजनीतिबाट अलग्ग राख्न सफल भए । त्यसपछि त्रिपाठी एकोहोरो भई शिक्षाआर्जनमा मात्रै समर्पित भइरहे । परिणामस्वरूप नेपाली, संस्कृत र अङ्ग्रेजी विषयमा यिनको दक्षताले शिखर कुल्चन थाल्यो । त्यस बेला यिनले हिन्दी र बङ्गला अध्ययनमा पनि यथेष्ट रुचि बढाएका थिए । त्यस बखत लामो समयको बिदाको समयमा यी सिङ्गो पुस्तकालय नै पढ्ने हिम्मत गर्दथे ।

अथक मिहिनेतका कारण २०२२ सालमा त्रिभुवन विश्वविद्यालयबाट डा.त्रिपाठीले प्रथम श्रेणीमा संस्कृत व्याकरणमा आचार्य समुत्तीर्ण गरे । त्यसपछि यिनी सोही विश्वविद्यालयबाट २०२४ सालमा प्रथम श्रेणीमा प्रथम भई नेपालीमा एमए समुत्तीर्ण भए । त्यसै बीच उनले अङ्ग्रेजी साहित्यमा एम्ए पनि पढे; तर द्वितीय वर्षको अध्ययनपश्चात् त्रिपाठीले आफ्नो पढाइ बन्द गरिदिए । त्यसपछि २०३३ सालमा यिनले पीएच्डी गरे । नेपाली साहित्यमा त्रिभुवन विश्वविद्यालयबाट पहिलोपटक पीएच्डी उपाधि प्राप्त गर्ने सौभाग्य पाउने व्यक्तित्व नै वासुदेव त्रिपाठी हुन पुगे । यिनको पीएच्डीको विषय थियो– ‘लेखनाथ पौड्यालको कवित्वको विश्लेषण र मूल्याङ्कन ।’

डा. त्रिपाठीले नेपाली साहित्यका विविध विधामा समालोचकीय अभिव्यक्ति दिए । तर यति हुँदाहुँदै पनि उनको समीक्षात्मक धाराको महत्वपूर्ण भाग काव्यतिर केन्द्रित भयो । वास्तवमा त्रिपाठी स्वयं एउटा सफल कवि भएका नाताले पनि त्यसप्रति उनको झुकाउ बढेको मानिन्छ ।

वासुदेव त्रिपाठी कुनै पनि कृतिको समालोचना गर्दा न्यायिक, वैज्ञानिक र यथार्थ रूपमा आफ्नो दृष्टिकोण व्यक्याउँछन् । उनी कुनै कृतिको समीक्षा गर्दा रौँ उम्रेका प्वालहरूकोसमेत व्याख्या, विश्लेषण र चिन्तन गर्न पुग्छन् । उनी समालोचनामा झाराटराइ प्रवृत्तिको विपरीत रहेका छन् । वास्तवमा त्रिपाठीले जुन कृतिको समीक्षा गरेका हुन्छन् त्यस कृतिको बारेमा स्पष्ट धारणा राखेर उनले त्यस कृतिलाई नै अमर ग्रन्थमा रूपान्तर गराएका हुन्छन् । त्यसैले नेपाली साहित्यकारहरू भन्ने गर्छन्– ‘‘त्रिपाठीको समीक्षा प्राप्त भयो भने त्यस कृतिको गरिमा नै बेग्लै हुन्छ ।’’

डा. त्रिपाठी कुनै कृतिको विस्तृत विश्लेषण गरी त्यसको मूल्य–निर्णय गर्छन्; उनको त्यो मूल्यनिर्णय नेपाली साहित्यजगत्मा प्रामाणिक, विश्वसनीयतापूर्ण र यथार्थ मानिन्छ । मौलिक साहित्यिक सिद्धान्त र विधासिद्धान्तका साथै नेपाली साहित्यको इतिहासतर्फ पछिल्लो चरणमा उनको लेखन विशेष उन्मुख भएको पाइन्छ । सम्बन्धित कृतिको सघन अध्ययनका साथै त्यस कृतिको विश्लेषण र मूल्याङ्कनका निम्ति उपयुक्त र सक्षम सैद्धान्तिक आधार ठम्याई कृतिको विश्लेषण र मूल्याङ्कन गर्नु नै उनको समालोचनाको प्रक्रिया हो । त्यही सैद्धान्तिक आधारअनुरूप कृतिका तथ्यहरूको विश्लेषण गरी मूल्यनिर्णय गर्नु नै त्रिपाठीको समालोचनाधर्म मानिन्छ । यस क्रममा उनी आफैँ भन्छन्– ‘‘सम्बन्धित कृति र कृतिकारका शक्ति र सीमा दुवैको लेखाजोखा गरी शिष्ट र उत्तरदायी ढङ्गले त्यसको आलेख प्रस्तुत गर्नेतर्फ मेरो समालोचना केन्द्रित हुने गर्छ । म समालोचनाको क्रममा सम्बन्धित कृति र कृतिकारलाई ऐतिहासिक परिप्रेक्ष्यमा र तुलनात्मक कसीमा पनि जाँचेर मूल्यनिर्णय गर्छु ।’’

त्रिपाठीलाई समालोचनाका विधामा आफ्नो इच्छाले तानेको होइन । उनी परिबन्दमा परेर समीक्षक भएका हुन् । यसको प्रमुख कारण के हो भन्ने कुरा अमर प्राज्ञ घटराज भट्टराईले लेखेको ‘प्रतिभैप्रतिभा र नेपाली साहित्य’मा उल्लेख गरिएको छ– ‘‘संयोग बीएमा पढ्नुपर्ने कालिदास पराजुलीको ‘उत्तररामचरित’–को टिपोट तयार गर्दा सो समीक्षात्मक टिपोट सिंहनादमा छापियो र त्यो साभार गोरखापत्रमा प्रकाशित तथा रेडियो नेपालबाट प्रसारित पनि भयो । त्यसबाट उत्साहित बनेका त्रिपाठी एक दिन माधव घिमिरेका कविता कविता हुन्होइनन् भन्ने विषयमा चलेको बहस सुन्न पुगे । त्यसै बहसबाट प्रेरित भएर २०२३ सालमा ‘कवि माधव घिमिरे र उनको कालीगण्डकी’ शीर्षक समीक्षा लेख्न पुगे । हुन त त्रिपाठीले २०१८ सालमै ‘हिमाली साहित्य’ भन्ने सामयिक सङ्कलनको सम्पादनका क्रममा समीक्षाको. अभिभारा ग्रहण गरिसकेकै थिए ।’’

मूलतः साहित्यिक र बौद्धिक जीवन बिताउने वासुदेव त्रिपाठीले नेपाली साहित्यको समालोचना र अनुसन्धानलाई वस्तुगत र विश्लेषणात्मक दिशातर्फ डोर्याउने प्रयासमा आफूलाई समाहित गरेका छन् । वास्तवमा डा.त्रिपाठीले नेपाली साहित्यको समालोचनालाई वस्तुपरक र विश्लेषणात्मक नयाँ आयाम अर्पण गर्दै त्रिभुवन विश्वविद्यालयअन्तर्गतसमेत नेपाली भाषा र साहित्यको उच्च शिक्षाको पठनपाठन र अनुसन्धानका प्रक्रियाको सुदृढीकरणका लागि दिएका योगदानहरू अविस्मरणीय छन् । नेपाली साहित्यका अध्ययनका लागि विभिन्न स्रोत जुटाएर नेपाली भाषा र साहित्यको श्रीवृद्धि गर्ने त्रिपाठीको मिहिनेत बिर्सिनसक्नुको छ । नेपाली साहित्यमा विविध दृष्टिकोण अँगाली अध्ययन गर्ने परिपाटीमा हाम्रो नेपालमा पश्चिमी समालोचनाका विषयमा कुनै पाठ्यसामाग्री पनि थिएन तर वासुदेव त्रिपाठीले नेपाली भाषामा ‘पाश्चात्य समालोचनाको सैद्धान्तिक परम्परा’ नामक एउटा बृहद् ग्रन्थको. निर्माण २०३० सालमा नै गरे ।

नेपाली साहित्याकाशका महासमालोचक प्राध्यापक डा.वासुदेव त्रिपाठीले हालसम्म मुख्य रूपमा समालोचना र काव्यक्षेत्रमा मात्र आफ्नो हस्ताक्षर कायम गरेका छन् । समालोचना, कविता, प्रबन्ध र सम्पादन गरेर हालसम्म उनका २७ वटा पुस्तकाकार कृति जनसमक्ष प्रकाशित भएका छन् । उनको पहिलो समालोचनासङ्ग्रह २०२७ मा प्रकाशित भएको थियो– ‘नेपाली कविताको सिंहावलोकन ।’

प्रा.डा.वासुदेव त्रिपाठीको सम्मानमा प्रा.राजेन्द्र सुवेदीको सम्पादनमा एउटा बृहत् ग्रन्थ "डा.वासुदेव त्रिपाठी : स्रष्टा एक, द्रष्टा अनेक" (२०७०) पनि प्रकाशित भएको छ । यस ग्रन्थले डा.त्रिपाठीबारे धेरै नै जानकारी पस्केको छ ।

वासुदेव त्रिपाठीले हालसम्म लेखेका कृतिहरूको बलियो भूमिका नेपाली साहित्यका फाँटमा रहेको पनि छ । नेपाली साहित्यको मन्दिर धनी हुनुमा उनका स्तरीय ग्रन्थहरूको महत्वपूर्ण भूमिका छ । पुस्तकाकारका रूपमा मात्र होइन त्रिपाठीका लेख, रचना, निबन्ध, बालसाहित्य, समालोचना आदि फुटकर कृतिहरू विभिन्न पत्रपत्रिकाहरूमा छापिइरहने गर्छन् ।

सृजनात्मक कार्यमा दत्तचित्त प्रा.डा.वासुदेव त्रिपाठी प्राज्ञिक तथा साहित्यिक सङ्गठनात्मक कार्यमा पनि त्यत्तिकै लागिपरेका छन् । नेपाल राजकीय प्रज्ञाप्रतिष्ठानका उपकुलपति, त्रिभुवन विश्वविद्यालयको नेपाली विभागका प्रमुख र मानविकी सङ्कायका डीन पनि भैसकेका डा. त्रिपाठी धेरै साहित्यिक सङ्घसंस्थामा पनि रहेका छन् । प्राध्यापक डा. वासुदेव त्रिपाठी अन्य कुनै प्राज्ञिक तथा साहित्यिक सङ्घसंस्थामा हुनु र नहुनुको पनि कुनै खास त्यस्तो प्रत्यक्ष असर पर्दैन; किनभने नेपालका प्रायः धेरै प्राज्ञिक र साहित्यिक सङ्घसंस्थाहरूमा वासुदेव त्रिपाठीको. माया, मोह र सम्मान उत्तिकै रहेको पाइन्छ ।

२०२४ सालमा त्रिचन्द्र कलेजमा केही महिना लेक्चरर भई त्रिपाठीले संस्कृत पढाए । त्यसै वर्ष उनी त्रिभुवन विश्वविद्यालयको नेपाली विभागमा लेक्चररमा नियुक्त भए । त्यसपछि क्रमशः उनी नेपाली पढाउनेतिर उन्मुख भए । उनी २०३० सालमा त्रिभुवन विश्वविद्यालयको नेपाली विभागका प्रमुख बने । आफ्नो लगन, सीप र दक्षताका कारणले उनी २०३४ सालमा नेपाली विभागको प्राध्यापकमा बढुवा भए ।

२०२२ सालको कुरा हो । त्यस बेला यी नेपालको अति विकट जिल्ला जुम्ला पनि पुगेका थिए । त्यहाँ उनी चन्दननाथ पब्लिक हाइस्कूलको प्रधान अध्यापक बने । त्यहाँ उनले जुम्लीहरूलाई अध्ययन र साहित्यतर्फ प्रेरित गराए । पढ्न भनेपछि जेल गएसरह ठान्ने त्यस भेकका जुम्लीहरूलाई पठनपाठनमा सरिक गराउन महाभारत नै थियो । तर पनि यी त्यसैमा केन्द्रित भए र केही सफल पनि भए । चार महिनाजति जुम्लामा रहेर उनी पुनः काठमाडौँ उपत्यका पसे ।

वासुदेव त्रिपाठी विद्यार्थी जीवनमा क्रान्तिकारी थिए । उनी सानैदेखि संस्कृत भाषाका कट्टर समर्थक थिए । त्यसैले उनी संस्कृत छात्रसंघको सभापति पनि बने । त्यसै बेला उनैको प्रधानसम्पादनमा ‘जयतु संस्कृतम्’ भन्ने संस्कृत मासिक पत्रिका पनि प्रकाशित हुने गथ्र्यो । त्यसै बेला ठाकुर पराजुलीको सम्पादनमा निस्कने ‘सिंहनाद’को पनि त्रिपाठी नै प्रकाशक थिए । त्यस बेला निस्केका ती पत्रिकाको स्तर नै लोभलाग्दो मानिन्थ्यो । वास्तवमा त्रिपाठी एउटा कुशल सम्पादक पनि हुन् ।

कैयौँ साहित्यकार, विद्यार्थी र साहित्यसेवीका प्रेरक तत्वका रूपमा स्थापित प्राध्यापक डा.वासुदेव त्रिपाठी नेपाली साहित्यका एउटा उज्ज्वल तारा हुन् । बाँचुन्जेल अर्काको खुट्टा तान्ने प्रवृत्ति भएको नेपालमा त्रिपाठीले जति दिए त्यसको मूल्याङ्कन भोलिको नेपालले झन् गहिरिएर गर्न कर लाग्छ । कसैसँग द्वेष, रिस र राग नराखी विशुद्ध रूपमा आफ्ना यात्रामा हिँड्ने नेपाली साहित्यका महारथी डा. वासुदेव त्रिपाठी एउटा सरलतामा बामेसरेका, हुर्केका र बढेका होनहार प्रतिभा हुन् । उनकै महान् सदिच्छा, सक्रियता र सीपका कारणले. नेपाल राजकीय प्रज्ञाप्रतिष्ठानद्वारा प्रकाशित ‘नेपाली बृहत् शब्दकोश’ तयार हुन सकेको थियो ।

डा.वासुदेव त्रिपाठीको व्यक्तित्वको अर्को महत्वपूर्ण पक्ष काव्यसृजना हो । उनको काव्यात्मक व्यक्तित्वले प्रकृति, प्रेम र जनजीवनको गाथालाई बोकेको हुन्छ । उनका अधिकांश कविता वार्णिक छन्दमा आधारित हुन्छन् । नेपाली काव्यको स्तरीयता कायम गराउन वासुदेव त्रिपाठीका कविताले. महत्वपूर्ण भूमिका खेलेको पाइन्छ ।

डा.त्रिपाठीले नेपाल राष्ट्रका विभिन्न भूभागका साथै भारत, वङ्गलादेश, थाइल्यान्ड, मलेसिया, सिङ्गापुर, जापान, कुवेत, कतार, वेलायत, जर्मनी र अमेरिकाको भ्रमण गरिसकेका छन् ।

डा.त्रिपाठीले आफ्नी पत्नी श्रीमती गीता त्रिपाठी, एक छोरा रवीन्द्र र दुई छोरी रश्मि तथा रजनी रहेको सुमधुर परिवारमा सन्तोषपूर्ण जीवन बिताइरहेका छन् । उनी गोरखादक्षिण बाहु (तेस्रो), महेन्द्रविद्याभूषण (प्रथम), गद्दी आरोहण रजत महोत्सव पदक, भानुभक्त प्रज्ञापुरस्कार, भानुभक्त प्रज्ञापुरस्कार, भानुभक्त पुरस्कार, आदिकवि भानुभक्त पुरस्कार, भानुभक्त स्वर्णपदक, लेखनाथ साहित्य पुरस्कार, महाकवि देवकोटा पुरस्कार, भूपालमानसिंह कार्की (साहित्य) पुरस्कार, मदन पुरस्कार, भारती खरेल पुरस्कार, रत्नश्री पदक, झपट पुरस्कार, गुणराज स्मारक व्याख्यान पुरस्कार, उदयानन्द पुरस्कार, छिन्नलता सम्मान र दीपस्मृति सम्मानबाट विभूषित र सम्मानित छन् ।
::::
प्रा.डा. त्रिपाठीका कृति
~
समालोचना:
१. नेपाली कविताको सिंहावलोकन (२०२७)
२. विचरण (२०२८)
३. पाश्चात्य समालोचनाको सैद्धान्तिक परम्परा (भाग १ र २ : २०३०)
४. साहित्यकार पहलमानसिंह स्वाँरको पुनर्मूल्याङ्कन (२०३३)
५. लेखनाथ पौड्यालको कवित्वको विश्लेषण र मूल्याङ्कन (२०३३)
६. साहित्यकार झपटबहादुर राणाको जीवनीको एक झलक (२०४५)
७. साहित्यसिद्धान्त, शोध र सृजनविधि (२०६६)
८. भानुसन्दर्भ र नरेन्द्रराज प्रसाईकृत भानुजीवनी : समीक्षात्मक अभिमत (२०७२)

कविता:
९. तीन थुँगा (२०४५)
१०. देशको महिमा (२०४५)
११. नव पल्लव (२०४६)
१२. सम्झनाकुञ्ज (२०६७)
१३. जीवननिकुञ्ज (२०६७)
१४. सृजनकुञ्ज (२०६७)
१५. मधुकुञ्ज (२०७०)
१६. रचनाकुञ्ज (भाग १ र २ : २०६८)

प्रबन्ध:
१७. हिन्दू राष्ट्र नेपालको सनातन सान्दर्भिकता (२०६५)
अनुवाद
१८. जीवन रोज्नुहोस्
(अर्नोल्ड टोयन्वी र डाइसाकु इकेदाको बीचको संवाद ः २०५२)
समालोचना लेखन तथा सम्पादन
१९. लेखनाथको प्रतिनिधि कवितासङ्ग्रह (२०४२)
२०. नेपाली कविता (भाग १, २ र ४ : २०४६)
२१. नेपाली साहित्य श्रृङ्खला (भाग १ र २ : २०५२)

सम्पादन:
२२. हिमाली साहित्य (२०२०)
२३. मैना (२०३९)
२४. नेपाली बृहत् शब्दकोश (२०४०)
२५. निम्नमाध्यमिक नेपाली व्याकरण र रचना (२०४८)
२६. तीर्थमञ्जरी (२०६५)
२७. साहित्यकार दैवज्ञराज न्यौपाने : जीवनी, कृतित्व र अभिनन्दन (२०६६)

प्रकाशित मिति : प्रकाशन मिति : बिहीबार, 15 चैत्र, 2074

लेखकका अन्य रचनाहरु