नेपाली साहित्यका महारथीः डा. इन्द्रबहादुर राई

- नरेन्द्रराज प्रसाई

राईको जन्म र शिक्षाः
नेपाली साहित्यका महारथीहरूमध्ये एक इन्द्रबहादुर राई दार्जिलिङको बालसन
खोलाको बगरमा १९८४ साल माघ १७ गते जन्मेका थिए । रणवीर राई तथा हस्तमाया
राईका जेठा छोरा इन्द्रबहादुर राई. बाल्यकालदेखि परिश्रमी थिए । पढेर
रूपनारायण सिंहजस्तो वकिल बन्नुपर्छ. भनेर यिनलाई सधैँ प्रेरित गरिन्थ्यो
। रूपनारायण सिंहकै प्रेरणाले उनी धेरै. मिहिनेत गरेर पढ्थे । त्यसैले
स्कूले जीवनमा उनी सधैँ पहिला भइरहे । त्यतिमात्र होइन म्याट्रिकुलेसन र
आईएमा पनि यी प्रथम श्रेणीमा नै. समुत्तीर्ण भए । बीएमा भने यिनले
डिस्टिङ्सनको नम्बर प्राप्त गरेका थिए । राईले आईए र बीए दार्जिलिङको
सन्त जोसेफ कलेजमा अध्ययन गरेका थिए । बीए पास गरेको चौध वर्षपछि यी
अङ्ग्रेजी साहित्यमा एम्ए समुत्तीर्ण भएका थिए ।
राईको जागिर सेवाः
इन्द्रबहादुर राई सुरुमा टर्नबुल स्कूलमा अध्यापक थिए । यिनैका कारण सोही
स्कुलमा ईश्वरवल्ल्भले पनि पढाए । अनि राईले चाहिं करिब पैँतीस वर्षजति
सेन्ट जोसेफ कलेजमा नै प्राध्यापन गरे । यी झन्डै पन्ध्र वर्षजति
दार्जिलिङ नगरपालिकामा कमिस्नर र उपाध्यक्ष भए । यी अखिल भारतीय नेपाली
भाषा समितिका अध्यक्षमा पनि चुनिए । यी करिब दश वर्षजति दिल्लीस्थित
साहित्य अकादमीका कार्यकारी सदस्य पनि भए ।
राईको लेखन आरम्भः
इन्द्रबहादुर राईलाई साहित्यतर्फ धकेल्ने व्यक्ति थिए– कमलकुमार शर्मा ।
उनी राईका गृहगुरु थिए । ‘शारदा’मा शर्माले नै राईलाई टाँस्सिने.
वातावरणको सृजना गरेका थिए । त्यसपछि नै राईले आफ्नो लेखकीय
व्यक्तित्वलाई क्रमशः अघि बढाएका थिए ।
आठ कक्षामा पढ्न थालेपछि राई साहित्य लेखनमा अग्रसर भए । उनले त्यसै बेला
उपन्यास लेखेका थिए । त्यसपछि दसौँ कक्षामा पढ्दापढ्दै पनि यिनले नाटक
लेखेका थिए । त्यस बेला यिनले पढेको स्कूलमा पारितोषिक दिवसका अवसरमा
यिनैद्वारा लिखित नाटकको मञ्चन भएको थियो । यो नै उनको पहिलो औपचारिका
साहित्यिक यात्रा थियो ।
राईलाई सुरुसुरुका लेखनमा यथार्थवादले ग्रस्त पारेको थियो । त्यस बेला
यिनले आफ्नो जीवनको अर्थ बाँच्नुमा नै सीमित राखेका थिए ।
राई र तेस्रो आयामः
इन्द्रबहादुर राईले आफ्नो कलम प्रखर, प्रगाढ र प्रबल भएपछि नेपाली
साहित्याकाशमा तेस्रो आयामको स्वरूप छर्न थाले । त्यसबेला राईसँग तेस्रो
आयाममा भाग लिनेहरूमा ईश्वरबल्लभ र बैरागी काइँला थिए । यी तीनजनाले.
चलाएको आयाम ‘तेस्रो आयाम’ थियो । यसबारे अमरप्राज्ञ घटराज भट्टराईले
लेखेका थिए – ‘‘नेपाली साहित्यमा तेस्रो आयाम भनेर एउटा अध्याय सुरु भयो
। यस अध्यायका स्रष्टा थिए– इन्द्रबहादुर राई, बैरागी काइँला र
ईश्वरवल्लभ । यस अध्ययका प्रमुख निर्णयक राई नै हुन् ।’’ त्यसै आयामको
विषयमा इन्द्रबहादुर राईले नै पनि आफ्नो प्रतिक्रिया व्यक्त गरेका थिए–
‘‘तेस्रो आयामको विषयको ‘तेस्रो आयामले. बोधित हुन्छ वस्तुको लम्बाइ
चौडाइपछिको गहिराइ, मोटाइ वा घनत्व । तब के नेपाली साहित्यमा त्यसअघि
घनत्व भएका कृतिहरू थिएनन् र ? भानुभक्तमा घनत्व पर्याप्त मात्रामा थियो
। लेखनाथमा, बालकृष्ण सममा, लक्ष्मीप्रसाद देवकोटामा अनि सिद्धिचरण
श्रेष्ठमा उत्तिकै मात्रामा घनत्व थियो । नेपाली भाषामा लेखिएका श्रेष्ठ
कृतिहरू जति थिए तेस्रो आयाम (घनत्व) प्रचुर मात्रामा भएका थिए ।’’
आयामेली आन्दोलनमा तीन स्रष्टा सामेल भए तापनि यसका प्रमुख निर्णायक
इन्द्रबहादुर राई नै मानिए । यी तीन भाइले ‘तेस्रो आयाम’को आन्दोलन
‘फूलपातपतकर’ नामक पत्रिकाबाट घोषणा गरेका थिए । त्यसपछि राई.एकोहोरो यसै
आन्दोलनमा नै समर्पित भइरहे । यस विषयमा राईले भनेका थिए– ‘‘आयाम
लेखनभित्र जीवनलाई लेख्दछु र यो जीवन लेखन ‘आज रमिता छ’मा पनि मैले
लेख्ने कोसिस गरेको रहेछु आज देख्छु ।’’ आयामको भाषा क्लिष्ट हुनाका कारण
आयामेली लेखनको भाषालाई चित्रकलात्मक बनाउन खोज्दा भएको. यथार्थ राई
स्वीकार्छन् । यस आयमेली आन्दोलनको स्वागत गर्दै गणेशबहादुर प्रसाईले
लेखेका थिए– ‘‘आज हाम्रो नेपाली साहित्य विश्वस्तरमा सगर्व उभिन पुगेको
पाइन्छ । त्यो श्रेय जान्छ आयामेली लेखकत्रयलाई । अझ अग्रगण्य सिद्ध हुन
पुगे इन्द्रबहादुर राई, उनी त अद्वितीय ।’’
राईको सिद्धान्त र आयामबारे घोर निन्दा गर्नेमध्ये एक जना पारिजात पनि
थिइन् । यसै विषयमा पारिजातले लेखेकी थिइन्– “इन्द्रबहादुर राई आयामेली
हुनुभन्दा पहिले शैली पक्षका राम्रा कथाकार हुन् । राईले आयाममा बसेर जति
कथाहरू लेखे, मेरा दृष्टिकोणमा फ्लप भए ।’’
तेस्रो आयामका विषयमा धेरैले धेरै कुरा लेखे । तर यसलाई चालेर, केलाएर र
निफनेर यसको मर्म बुझ्नेमध्ये प्रा.डा.महादेव अवस्थी पनि प्रमुख रुपमा नै
देखा परे । यसबारे डा.अवस्थीले खीप लगाए– ‘‘तेस्रो आयाम भनेको जीवन र
जगत्का बाहिरी देखिने पाटाहरू मात्र नभई भित्री नदेखिने पाटाहरूको पनि
उद्घाटन गर्ने सर्वव्यापी दृष्टिकोण हो ।’’
राईको मौलिकताः
इन्द्रबहादुर राईको सबैभन्दा ठूलो मौलिकता हो– खुलस्तपन । त्यही पनका
कारणले उनी सधैँ सक्कली कुरा आपूmभित्रै बाँध्न सफल भैरहे । राईको. त्यही
सक्कली धारणाको एउटा सानो प्रतिबिम्ब हो– ‘‘मैले सबैभन्दा बुद्धिमान्.
काम गरेछु सन् १९५० मा मायादेवी थापालाई बिहा गरेर । गृहिणी उनी नभए यो
इन्द्रबहादुर राई नहुने र हुँदैन ।’’
राईको नेपाल प्रवेशः
सोझो, भद्र र शालीन स्वभावले कुँदिएका इन्द्रबहादुर राईले २०२१ सालमा
पहिलोपल्ट नेपालको माटो कुल्चेका थिए । त्यस बखत श्री ५ महेन्द्रबाट
नेपाली साहित्य सम्मेलन दार्जिलिङका सक्रिय व्यक्तित्वलाई निम्त्याएका
थिए र राईले दार्जिलिङबाट सरासर काठमाडौँ आएर राजा महेन्द्रसँग दर्शनभेट
गरेका थिए । श्री ५ महेन्द्रको व्यक्तित्व र कृतित्वबाट राई अत्यन्तै
प्रभावित थिए । नेपाली साहित्यलाई हराभरा बनाउने राजा महेन्द्रको
त्यागलाई कसैले भूल्न सक्तैनन् भन्ने इन्द्रबहादुर राई ठोस कार्यका लागि
ठोस निर्णय दिने समालोचक मानिन्थे । राजासँग राई लगायत भारतीय नेपाली
साहित्यकारमध्ये भानुभक्त कुमाई, तुलसी अपतन आदि पनि थिए । अनि त्यस बेला
राजदरबारमा राजा महेन्द्रसँग चाहिं नाट्यसम्राट् बालकृष्ण सम थिए ।
राई र भारतमा नेपाली भाषाः
इन्द्रबहादुर राईले नै नेपाली भाषालाई भारतको संवैधानिक भाषामा घोषणा
गराउन सुरुदेखि घुँडो र मुन्टो गरेर आन्दोलन चलाएका थिए । त्यस बेला
नेपाली भाषालाई भारतको औपचारिक भाषामा अनुवाद गर्न राईकै नेतृत्वमा सारा
दार्जिलिङ एक ढिक्का भएको थियो । त्यसपछि यस भाषाको. लहर कालिम्पोङ
पुग्यो, त्यहाँ पनि नेपाली भाषा आन्दोलनले जरा हाल्यो अनि त्यहाँबाट यो
आन्दोलन सिक्किमभरि फैलियो । सिक्किममा एक जोडी भाषासेवी अर्थात् मुख्य
मन्त्री नरबहादुर भण्डारी र माननीय दिलकुमारी भण्डारीले पनि धेरैधेरै
सङ्घर्ष गरेपछि नेपाली भाषा भारतीय संवैधानिक भाषामा प्रस्तुत भयो ।
दार्जिलिङका इन्द्रबहादुर राईको प्रारम्भिक भूमिकाले सारा भारतीय
नेपालीहरूको दिग्विजय भयो ।
प्रा.राजनारायण प्रधान इन्द्रबहादुर राईका एक जना अर्का भरपर्दा साथी थिए
। उनले राईलाई सधैं आफ्नो शिरताज बनाई रहे । भारतले नेपाली भाषालाई
संवैधानिक मान्यता दिएकै बेला प्रा.प्रधानले प्रा.राईबारे भनेका थिए–
“इन्द्रबहादुर राई हाम्रा पथप्रदर्शक हुन् । उनी भएर नै हामी भयौं,
हाम्रो भाषाले संवैधानिक मान्यता पायो । अहिलेको भारतीय नेपाली साहित्य र
साहित्यकारका उनी मुल खम्बा हुन् । हाम्रो देशमा नेपाली भाषाले संबैधानिक
मान्यता पाउनुको पछाडि राईकै गुरुत्तर भूमिका छ । उनी हाम्रा आदर्श हुन्
।”
राई र भानुभक्तः
इन्द्रबहादुर राई भानुभक्तका परम भक्त थिए । भानुभक्तलाई उनी आफ्नो
शिरपोस ठान्थे । २००६ सालको कुरा हो, सूर्यविक्रम ज्ञवाली, धरणीधर शर्मा,
पारसमणि प्रधान, रुपनारायण सिंह र मोतीचन्द प्रधानको सक्रियतामा
दार्जिलिङमा भानुभक्तको सालिक बनेको थियो । गोर्खाल्याण्डको क्रान्तिमा
सो सालिक ढालिएपछि राई सारै सुर्ताएका थिए । यसैबारे उनले भने –
‘‘भानुभक्तको सालिक खतम पारिए तापनि हामीले हाम्रो कर्तव्यलाई छाडेनौं ।
त्यसपछि पनि हामीले सदाझैं हर्षोल्लासका साथ दार्जिलिङमा भानु जयन्ती
मनाइरह्यौं । पहिला भानुको अर्धकदको सालिक थियो अब पूर्णकदको सालिक बनेको
छ ।’’ राईले पनि भानुभक्तलाई पितृसरह मान्थे । यसैबारे उनले भनेका थिए–
‘‘भानुभक्तको सालिक हेरेर हामी भन्थ्यौं अब हामी यहीं स्थायी भयौं । यहाँ
हाम्रो अस्तित्व छ । अब यो ठाउँमा हामीले जरा गाड्यौं ।’’ (स्मरणरहोस्
दार्जिलिङमा भानु जयन्ती मनाउन थालेपछि नेपालले पनि भानु जयन्ती मनाउन
थाल्यो र त्यहाँ भानुको सालिक रहेपछि मात्र नेपालमा पनि भानुभक्तको सालिक
बनेको थियो ।)
जात र धर्मबारे राईको धारणाः
दार्जिलिङको जातजाति, रीतिरिवाज र धर्मबारे पनि इन्द्रबहादुर राईले धेरै
अध्ययन गरेका थिए । यसैबारे उनी भन्थे –‘‘अन्तर्जातीय बिहेले गर्दा
हाम्रो दार्जिलिङ बाँचेको छ । अनि यो सवा सय वर्षदेखिको क्रम हो ।
अन्तर्जातीय बिहेका कारण नै हामीमा जातजाति र छुवाछूतको धारणा नै छैन ।
दार्जिलिङमा जात अनुसारको धर्म पनि छैन । त्यहाँ आफ्नो रोजाईले धर्म
मानेका छन् । दार्जिलिङमा शोषक र शोषित जात पनि छैन, हामी सबै एउटै
हालतमा छौं । हामी जातका पनि पक्का छौं । एकअर्कामा खिसी गर्ने हिसाबमा
हामीले हाम्रो जातको महिमा बढाएका पनि छैनौं । त्यसैले हामी
दार्जिलिङेलाई जातप्रथाले क्रिश्चियन हुनबाट पनि बचाएको छ ।’’
दार्जिलिङमा क्रिश्चियन धर्मको प्रचारबारे राईले सधैं स्पष्ट धारणा
राख्तै आए । यसै सन्दर्भमा उनले भनेका थिए– ‘‘दार्जिलिङका प्रत्येक
चियाबगान, प्रत्येक गाउँ र प्रायः प्रत्येक स्कुलमा क्रिश्चियन प्रचारक
पुगेका हुन्छन् । क्रिश्चियन धर्मप्रचारकले त्यहाँ सारालाई बाइबल पढाए,
घोकाए र प्रार्थना गर्न पनि सिकाए । धर्म प्रचार भएका नाताले डल्लै
दार्जिलिङ क्रिश्चियन धर्ममा रङ्गिनु पर्ने थियो । तर त्यहाँका मान्छेलाई
यो क्रिश्चियन धर्म सारै नीच जातका मान्छेले मात्र मान्छन् भन्ने कुराको
बोध भयो । त्यसैले त्यहाँका अधिकांश मान्छे क्रिश्चियन हुनबाट पनि जोगिए
। पादरी गङ्गाप्रसाद प्रधानले नै पहिलोपल्ट बाइबललाई नेपाली भाषामा
रुपान्तर गरेका थिए । तर उनी क्रिश्चियन हुँदा उनकी आमाले मेरो छोराको
जात घट्यो भनेर रङ्गीत नदीमा हाम फालेर आत्महत्या गरेकी थिइन् ।’’
राईलाई पुरस्कारः
नेपाली वाङ्मय र शिक्षासेवामा दीर्घ तपस्याको कदर गर्दै त्रिभुवन
विश्वविद्यालय र उत्तरबङ्ग विश्वविद्यालयले इन्द्रबहादुर राईलाई
महाविद्यावारिधिको उपाधि समर्पण ग¥यो । राईलाई नेपाल सरकारले पनि
भानुभक्त स्वर्ण पदक प्रदान ग¥यो । साथै नेपाली भाषासाहित्यमा गहकिलो,
ओजस्वी र अत्यधिक योगदान दिएबापत यिनलाई दुई लाख रूपियाँ राशिका नइ
देरुनीख अन्तर्राष्ट्रिय पुरस्कार र भूपालमानसिंह कार्की पुरस्कार अनि एक
लाख रूपियाँ राशिको जगदम्बाश्री पुरस्कार टक्¥याईएको थियो । यिनले
‘नेपाली उपन्यासका आधारहरू’ भन्ने ग्रन्थका लागि भारतीय साहित्यिक
एकेडेमीबाट साहित्यिक एकादमी पुरस्कार पनि पाएका थिए । त्यो पुरस्कार
पाउने पहिलो नेपाली पनि राई नै थिए । यिनले पुरस्कार पाएको केही समयपछि
भारतीय प्रधानमन्त्री मोरारजी देसाईले भारतमा नेपाली भाषा विदेशी भाषा हो
भनेपछि राईले साहित्यिक एकादमी पुरस्कार राशिसहित फिर्ता गरेका थिए ।
राई र गोर्खाल्यान्डः
भारतमा नेपाली भाषाको दिग्विजयका लागि गोर्खाल्यान्डको स्थापना हुनुअघि
नै दार्जिलिङमा इन्द्रबहादुर राईको चिन्तनले ‘प्रान्त परिषद्’को स्थापना
भैसकेको थियो । बासभूमि र भाषाको स्थायित्वका लागि त्यस संस्थाको प्रमुख
उद्धेश्य रह्यो । त्यस संस्थामा सुभास घिसिङ पनि संलग्न थिए । तर पछिल्ला
दिनमा आएर घिसिङले पनि ‘गोर्खा राष्ट्रिय मुक्ति मोर्चा’को स्थापना गरे ।
यो संस्थाको गठन पनि राईले ठीकै मानेका थिए । तर यसै परिवेशमा राई र
घिसङि माझ हुरी चल्यो । भनौं घिसङिले नेपाली भाषा मात्र लेखेर पुग्दैन
गोर्खा भाषा नै लेखिनु पर्छ भन्न थाले । अनि त्यही नै घिसिङको मुल नारा
थियो । तर राईले नेपाली भाषाका शब्दकै आडलाई मात्र सिरानी हालीरहे ।
वास्तवमा उनी आफ्नै सिद्धान्तमा अडिग थिए । तर उनलाई काबु पार्ने काममा
सुभास घिसिङहरू पनि चुकेका थिएनन् । कतिसम्म भने गोर्खा भाषा नलेखे बापत
र त्यसको अनुयायी नहुँदा राईका दुबै घरमा बम हानियो र आगो लगाइयो, तर पनि
उनको मनमा कहिले बमका छिर्का लागेन र उनका मनमा धुवाँ पसेन । भनौं राईले
एकोहोरो आफ्नो अडान छाडेनन् । यसै प्रसङ्गमा उनका मित्र गणेशबहादुर
प्रसाईले लेखे ‘‘इन्द्रबहादुर राई भनेका ठूला विभूति हुन् । उनीजस्ता
विशिष्ट ज्ञाताले सञ्चालन गर्नुपर्ने त्यो दार्जिलिङमा सुभास घिसिङको
ढलीमली भयो ।’’
हुन त दार्जिलिङमा घिसिङ सधैं आगाको भुङ्ग्रो भएर हिंडिरहे । तर पनि
राईले गोर्खाल्यान्डले उठाएका नेपाली हितकारी आवाजको भने सदैव समर्थन
गरिरहे । त्यतिमात्र होइन विमल गुरूङको नेतृत्वमा सञ्चालित
गोर्खाल्यान्डको समर्थन गर्न पनि उनीे चुकेनन् । साथै त्यस संस्थाले
राईको अभिनन्दन गर्न पनि छाडेन ।
राईका कृतिः
इन्द्रबहादुर राईले समालोचनाका अतिरिक्त कथा, उपन्यास र निबन्ध पनि लेखे
। उनको कथासङ्ग्रह ‘कठपुतलीको मन’ र उपन्यास ‘आज रमिता छ’ले प्रसिद्धि
पनि कमाए । उनका जम्मा तीनवटा कथासङ्ग्रह प्रकाशित भएका छन्– १) ‘विपना
कतिपय’ (२०१८), (२) ‘कथास्था’ (कथ्यसहित) (१९७२ ई.) र (३) ‘कठपुतलीको मन’
(१९८९ ई.) । उनीद्वारा एउटै मात्र उपन्यास ‘आज रमिता छ’ (२०२१) लेखिएको छ
। त्यसै गरी उनको एउटै. निबन्धसङ्ग्रह ‘सामाजिक पहाड र खोला’ले निक्कै
ख्याति पनि कमायो । इन्द्रबहादुर राईले सङ्ग्रह गरेको ‘भानुभक्तका
कृतिअध्ययनहरू’ (२०२६) उनको समालोचनात्मक सम्पादित कृति हो भने उनले ई.
१९६१ मा ‘नेपाली सरकारी भाषा आन्दोलन केही प्रलेख’ पनि लेखी प्रकाशनमा
ल्याए ।
राईले नेपाली परिवेश, संस्कृति र जीवनलाई समेटेर कथाको आविष्कार गरे ।
उनका कथाको मान्यता नै आयाममा बाँधिएको पाइन्छ । लामालामा कथा लेख्न
रुचाउने राईका कथाको प्रस्तुतीकरण नै आधुनिक दिशातर्फ. केन्द्रित भएको
पाइन्छ । तर पछिपछि उनी आयामेली लेखनबाट अगि बढी लीलालेखनतर्फ उन्मुख भए

एउटै उपन्यास लेखेर पनि उपन्यासमा आफ्नो ख्यातिलाई माथिल्लो. कोटिमा
पु¥याउन सफल राईले आफ्नो उपन्यासमा प्रादेशिक घटनालाई अघि सारेर जीवनको
यथार्थतालाई प्रस्ट्याए । ‘आज रमिता छ’ उपन्यास दार्जिलिङको जनजीवनको
एउटा तस्बिर हो । त्यस उपन्यासमा राईले इमानदारीपूर्वक दार्जिलिङको
वस्तुस्थितिको चित्रण गरेको पाइन्छ ।
समालोचनामा राईः
नेपाली साहित्यको फाँटका ख्यातिप्राप्त व्यक्तित्वको नाउँ हो–
इन्द्रबहादुर राई । उनी नेपाली भाषा साहित्यका महारथी भए तापनि उनको नाउँ
विशेष गरेर समालोचनाकै क्षेत्रमा उल्लेखनीय भयो । उनले समालोचनाका
क्षेत्रमा मात्रै सातवटा समालोचनात्मक ग्रन्थहरू लेखे । उनको सबैभन्दा
पहिला प्रकाशित समालोचनासङ्ग्रह हो– ‘टिपेका टिप्पणीहरू’ (१९६६ ई.) ।
त्यसको ठीक दश वर्षपछि १९७६ ई.मा उनले अर्को समालोचनात्मक ग्रन्थ
प्रकाशित गरे– ‘सन्दर्भमा ईश्वर बल्लभका कविता ।’ तर उनको जीवनको
सबैभन्दा मुख्य रूपमा स्थापित समीक्षात्मक कृतिचाहिँ हो– ‘नेपाली
उपन्यासका आधारहरू’ (१९७४ ई.) । यस कृतिमा उनले उपन्यासकारहरू गिरीशबल्लभ
जोशी, रुद्रराज पाण्डे, रूपनारायण सिंह, लैनसिंह वाङ्देल, शङ्कर कोइराला,
विजय मल्ल, पारिजात, डीपी अधिकारी र विश्वेश्वरप्रसाद कोइरालाका उपन्यास
र औपन्यासिक विशेषताको समीक्षा गरेका छन् । १९७९ ई.मा राईले पुनः
समालोचना लेखे– ‘साहित्यको अपहरण ः मार्कसवादी प्रतिबद्धता ।’ त्यसैगरी
१९८४ ई.मा उनको समालोचना ‘दार्जीलिङमा नेपाली नाटकको अर्धशताब्दी’
प्रकाशित भएको थियो । सोही साल अर्थात् १९८४ ई.मा नै उनीद्वारा लेखिएको
‘अर्थहरूको पछिल्तिर’ र १९९५ ई.मा ‘पृष्ठ पृष्ठ’ नामक समालोचनात्मक
ग्रन्थहरू प्रकाशित भएका थिए । त्यसपछि पनि यिनका केही कृति प्रकाशित भए
तर पूर्व प्रकाशित कृतिहरू चाहिं उल्लेखनीय नै रहे ।
राईको पछिल्लो कृतिचाहिं ‘चुनिएका पछिल्ला लेखहरू’ २०१८ ई. अथात् उनी
दिवङ्गत हुनु तीन हप्ताअघि मात्र प्रकाशनमा आएको थियो । आफ्नो पछिल्लो
कृतिलाई स्वास्थ्यका कारण उनले सुम्सुम्याउन भने पाएका थिएनन् ।
सिक्किमका मुख्यमन्त्री पवन चाम्लिङको सौजन्य र विजयकुमार राईको
सम्पादनमा इन्द्रबहादुर राईका सम्पूर्ण कृतिहरुको सँगालो ‘इन्द्र
सम्पूर्ण’ निर्माण प्रकाशनबाट २००४ ई.मा प्रकाशित भयो । जम्मा पाँच भागमा
प्रकाशित ‘इन्द्र सम्पूर्ण’मा कुल ३०१२ पृष्ठ रहेका छन् । यी श्रृङ्खलाका
ग्रन्थहरूमा राईका सम्पूर्ण कृतिहरूका साथै विभिन्न स्रष्टा उपर उनले
लेखेका भूमिका र उनका अन्तर्वार्ताहरू समेत समाविष्ट छन् ।
राईको बाङ्गोटिङ्गो भाषाः
इन्द्रबहादुर राईले नेपाली भाषाको स्वरूपलाई बाङ्गोटिङ्गो पार्छन्,
भाषामा जबर्जस्ती शब्दहरूको आड ल्याउँछन् र भाषामा जटिलता थुपार्छन्
भन्ने नेपाली साहित्य संसारमा टीकाटिप्पणी आइरहन्छन् । तर यस प्रकारका
आलोचनालाई खण्डन गर्दै अर्कातिरबाट पनि यिनको समर्थनमा आबाज घन्किरहेको
हुन्छ– ‘‘इन्द्रबहादुर राई वास्तविकतामा आधारित काल्पनिक स्रष्टा हुन्
।’’
साहित्यको लक्ष्यबारे इन्द्रबहादुर राईको बेग्लै धारणा पाइन्छ । यस
विषयमा उनी भन्छन्– ‘‘साहित्यकारले आफ्नै दृष्टि लगाउनुपर्छ ।
साहित्यकारले. आफ्नो दृष्टिअनुरूप लेखन प्रवृति पाउनुपर्छ । त्यसअनुसार
आवश्यकताजति नै. लेख्नुपर्छ र अन्धाधुन्ध जेसुकै पनि लेख्ने लेखक होइन
।’’ साहित्यका विषयमा स्पष्ट रूपले आफ्नो छोटो टिप्पणी प्रस्तुत गर्दै
राई भन्थे– ‘‘वास्तविकताभन्दा ठूलो साहित्य छैन ।’’
नेपाली साहित्यका अद्वितीय साधक इन्द्रबहादुर राईका बारेमा विभिन्न
कोणबाट टीकाटिप्पणी आइरहने नै गर्छन् । यसै परिप्रेक्ष्यमा प्रा.
राजेन्द्र सुवेदी लेख्छन्– ‘‘राईको चिन्तन र सिर्जन कलामा जति प्रौढता
थपिँदै. आयो त्यति नै शैलीमा क्लिष्टता र भाषिक दुरुहता थपिँदै आयो ।’’
राई, स्रष्टा र नइः
इन्द्रबहादुर राई नेपाली भाषा साहित्यका साझा चौतारी थिए । जुनसुकै खेमा
र विचारका स्रष्टा पनि यिनका प्रिय पात्र मानिन्थे । यति हुँदाहुँदै पनि
पारिजातले यिनलाई मन पराउँदिन थिइन् । यसै प्रसङ्गमा पारिजातले लेखेकी
थिइन्– “इन्द्रबहादुर राई प्रतिक्रियावादी फासिस्ट हुन् । राई सबै
दर्शनका ज्ञाता भईकन पनि प्रगतिवादको बाटामा काँडा बिछ्याइरहन नबिर्सने
घोर प्रतिक्रियावादी विद्वान् हुन् ।” पारिजातको यो संवादलाई लिएर पनि
नेपाली साहित्यका केही बुद्धिजीवीले ‘खुकुरीभन्दा कर्द लाग्ने’ भनेर
टिप्पणी गरेका थिए । मान्छेले जे जे भनेर कुरा काटे पनि पारिजात र
इन्द्रबहादुर राईका बीच साहित्यिक विषयमा मात्र वादविवाद थियो । किनभने
पारिजातले राईसँग क्षमायाचना गर्दै उनका लेखनको आलोचना गर्दै बराबर चिठी
पनि पठाउँथिन् । साथै राईले पनि पारिजातलाई प्रत्युत्तर लेख्थे । यसै
प्रसङ्गमा पारिजातले लेखेको पत्रको उत्तर दिने क्रममा इन्द्रबहादुर राईले
लेखेका थिए– “प्रिय बहिनी ! तपाईंको पत्र पाई खुशी भएँ । पढी त्रस्त बनें
पनि भन्नुपर्छ कारण पत्रमा उभ्याउनु भएका प्रश्नहरूलाई उत्तर असहमति
सहमति लेख्नअघि विचार अझै गर्नु पर्ने पाएँ । विचार गर्न लगाएको छ
तपाईंका पत्रले । काठमाडौं आउने विचारमा छु । आउँदा अवश्य बहिनीकहाँ
आउँछु ।”
इन्द्रबहादुर राई एक जना अति मिलनसार स्रष्टा हुन् जुन स्रष्टासँग जो छेउ
पुग्छ ऊ आल्हादित बन्छ । इन्द्रबहादुर राई वास्तविकतामा आधारित नेपाली
भाषाका एउटा अमर स्रष्टा मानिन्छन् । इन्द्रबहादुर राई नेपाली वाङ्मयका
एउटा प्रेरक प्राज्ञको नाउँ हो । इन्द्रबहादुर राई सारा नेपाली साहित्यका
पाठकहरूले श्रद्धा, प्रेम र आदरले गनिने नाउँ हो । त्यसैले भारतको
सिक्किम राज्यका मुख्यमन्त्री डा.पवन चामलिङले भने– “इन्द्रबहादुर राई
विशाल बरका बोटझैं छन् जसको कुन हाँगामा केले गुँढ लगाएको छ त्यो थाहा
पाउन गाह«ो हुन्छ । उनलाई निर्विवाद साहित्यिक देउरालीको रुपमा धेरैले
स्वीकारिसकेका छन्, तर पाती चढाएर मात्र इन्द्रबहादुर राईप्रति समाजको
कर्तव्य पूरा हुँदैन ।”
चामलिङलेझैं कमल दीक्षितले पनि राईलाई पढेका छन् । त्यसैले दीक्षितले
राईको वकालत गरेका छन्– “आजको भारतमा नेपाली भाषाका शीर्ष पुरुष भनेर
मैले इन्द्रबहादुर राईलाई मानेको छु । विद्या, बुद्धि र लेखोटमा राईलाई
भेट्ने मान्छे भारतीय नेपाली साहित्यमा अहिले कोही छैन भन्ने छाप बसेको छ
मेरो मनमा ।” अनि राईबारे उनकै सहकर्मी बैरागी काइँला लेख्छन्– “नेपाली
साहित्यको बर्तमानकालमा देशभित्र र देशबाहिर सर्वाधिक चर्चित, आदरणीय र
प्रभावशाली मानिने इन्द्रबहादुर राई लेखकभन्दा ठूला चिन्तक र चिन्तकभन्दा
ठूला साहित्यकार हुन् ।”
इन्द्रबहादुर राईलाई पढ्ने र नजिकैबाट सङ्गत गर्नेहरूमध्ये विन्द्या
सुब्बा पनि एक हुन् । त्यसैले उनी राईको व्यक्तित्वबारे धेरै जानिफकार
पनि भइन् । राईबारे उनी भन्छिन््– “इन्द्रबहादुर राई भन्नु नेपाली
साहित्यको एक असाधारण प्रतिभा, चैतन्य, विद्वततत्व र एक विशाल व्यक्तित्व
अनि वर्चस्व हो । भारतीय नेपाली साहित्यकारहरू सबैलाई भेला गरेर साहित्य
चिन्तन, साहित्य लेखन र त्यस लेखनमा निहित शिल्प र शैली, प्रयोगधर्मिता
तथा सम्पूर्ण गुणात्मकता एकातिर तराजूको पल्लामा राखेपछि एक्लो राईलाई
अर्को पल्लामा राखियो भने राई नै भारी हुन्छन् । समग्रमा विचार गर्दा
संख्यात्मकरूपमा इबराको कृतिहरूको संख्या केही पछि पर्न पनि सक्ला तर
गुणात्मकता सन्दर्भमा र साहित्य चिन्तन र दर्शनको व्यापकताको हिसाबमा
इन्द्रबहादुर राईको तुलना अरू कसैसँग पनि हुन सक्तैन ।”
इन्द्रबहादुर राई इमानका पनि प्रतीक थिए । उनी शिष्टचारका पनि महारथी थिए
। जनसम्पर्क उनको नैसर्गिक गुण थियो । उदाहरणका लागि भन्ने हो भने उनी
दार्जिलिङबाट काठमाडौं आउँदा नइ गृहमा नपसी सकेसम्म घर फर्कदैन थिए । एक
पटक उनी नइ गृृहमा आएका बेला उनले बैरागी काँइला र ईश्वरवल्लभसँगै उभिएर
भनेका थिए– “इन्दिरा प्रसाईको माल्दाइलाई चिठी मलाई औधी मन परेको कृति हो
। त्यस कृतिका प्रत्येक अक्षर शाश्वत छन् । कहिले नमर्ने कृति हो यो, तर
अहिले मान्छेले यो नबुझ्लान् । टीएस इलयिटले लेखेका यस्तै कुरा
नबुझ्नेहरूले पनि पछिपछि इलयिटलाई बुझ्दै जान थाले ।”
राईको स्वार्गारोहणः
नेपाली भाषाको सृजना, संवद्र्धन र सेवा गरेर इन्द्रबहादुर राईले.
देशदेशान्तरका नेपालीको माया पाए, श्रद्धा पाए र विश्वास पाए । यिनले
समस्त नेपाली साहित्यकारहरूको प्रेम, सम्मान र आदर पाए । नेपाली भाषा
साहित्यमा माथिल्लो कोटिको योगदान दिएर राई नेपाली वाङ्मय संसारका एउटा
अर्को अमर प्राज्ञका रूपमा चिरस्थापित भए । नेपाली भाषा साहित्यमा
समर्पित भैरहेकै अवस्थामा उनीभित्र एउटा बज्रपात पर्याे । अथवा भनौं उनको
जीवनको प्रतिबिम्ब भनौं या उनको देहछाया मायादेवीको २०७३ भदौ १२ गते निधन
भयो । त्यसपछि यिनले पनि आफ्ना हातखुट्टा छाड्न थाले । उनको लेख पढ पनि
बन्द हुन थाल्यो । अनि त्यही क्रममा उनलाई अल्जाइमरले पनि समात्यो अथवा
भनौं उनी दिनप्रतिदिन बेसुर भई झन् सारो सिथिल हुन थाले । पीडादायी जीवन
भोगेर यिनले जगत्बाट आफ्नो भौतिकचोला २०७४ साल फागुन २२ गते उठाए । अनि
दुई दिनसम्म उनको घर लोचनगरमा हजारौंको भिंड भैरह्यो । फागुन २४ गते
हिन्दू परम्परा अनुसार दार्जिलिङमा नै उनको दाहसंस्कार गरियो ।

प्रकाशित मिति : प्रकाशन मिति : बिहीबार, 15 चैत्र, 2074

लेखकका अन्य रचनाहरु