"भाया साक्रा"को एक फन्को

- डा. ऋषिराम शर्मा

नियात्राकार कृष्ण बजगाईं बेलायती माटोमा पसिना र नेपाली माटोमा माया खन्याउने एक डायस्पोरिक स्रष्टा हुन्। ‘युरेसियाको स्पर्श’ (२०७३) नियात्रा संग्रहको स्वाद नमेटिँदै अर्को नियात्रा कृति ‘भाया साक्रा’मार्फत युरोप घुमाएका छन्।

‘रोम जलिरहेछ, निरो बाँसुरी बजाइरहेछ’, यो उक्ति निकै चल्तीमा छ। हो, तिनै रोमन सम्राट् निरोले पुनर्निर्माण गरेको र चिटिक्क पारेर सजाएको ‘भाया साक्रा’ अर्थात् पवित्र मार्ग, प्राचीन रोममा मन्दिरैमन्दिरले भरिएको रोमन फोरममा अवस्थित पवित्र स्थल हो। त्यही पवित्र स्थलमा जाने मार्गमा प्रथम पाइला राख्दा भावविभोर बनेका छन् नियात्राकार बजगाईं।

‘भाया साक्रा’ कृतिमा २१ वटा नियात्रा संगृहीत छन्। यी नियात्रा नेपाली पाठकका लागि साहित्य, इतिहास, जीवनी र कैयौं मिथकका पुलिन्दा बनेर आएका छन्। नियात्रा पढ्दा पाठकका मनमा त्रास, उत्सुकता, जिज्ञासा, चिन्ता, निराशा, गर्व, ग्लानिजस्ता विभिन्न भावको सञ्चरणमार्फत विभिन्न भावदशाको उदय हुन्छ।

आइज्याक न्युटन, चाल्र्स डार्विन, वर्नाड सा, चार्ली च्याप्लिन, चाल्र्स डिकेन्स, नेपोलियन बोनापार्ट, रोआल्ड डाह्ल, जेन अस्टिनजस्ता विश्वप्रसिद्ध व्यक्तित्वहरूका जन्मस्थल र कर्मस्थलहरू उनले आफूमात्र भ्रमण गरेका छैनन्, उनले त पाठकलाई समेत त्यही स्थानमा पु¥याएका छन्, जहाँ आफू पुग्छन्।

‘आइज्याक न्युटनको बगैंचामा स्याउ टोक्दा’ शीर्षकको नियात्रामा न्युटनका घरको स्याउको बोट उनले देखाएका छन्, जुन बोटबाट स्याउ खस्दा संसारले गुरुत्वाकर्षणको ज्ञान पाएको थियो। उनी न्युटनलाई भौतिक ज्ञान दिने स्याउको बोटसँग बुद्धलाई आत्मिक ज्ञान दिने बोधिवृक्षका बीच फ्युजन गर्न चाहन्छन्। चार्ल्स डार्विनको निवासमा पुगेर एकातिर डार्विन र माक्र्सको ज्ञानको साइनो खोतल्छन् भने अर्कातिर डार्विनको त्यस पवित्र भूमिबाट सिस्नोको वाइन किन्छन्। अनि, हेपिएको र किनारीकृत गरिएको नेपालको सिस्नो सम्झन्छन्।

उनी जब वर्नाड सा को घर पुग्छन् र त्यहाँका साहित्यकारप्रति राज्यले गरेको इज्जत, प्रतिष्ठा, सम्मानको सर्वोच्चता देख्छन् अनि झ्वाट्ट देवकोटा सम्झन्छन् र कविको जन्मस्थलप्रतिको राज्यको दृष्टिकोण नियाल्छन्। जिन्दगी नजिकबाट हेर्दा त्रासदी र टाढाबाट हेर्दा कमेडी हुन्छ भन्ने चार्ली च्याप्लिनको घर पुगेका छन्। अनेक दुर्दशाका कारण सडकछाप भई संघर्ष गर्दै प्राप्त गरेको अपार सफलतालाई आफू रोएर संसार हँसाउने महान् कलाकारका कार्यसँग नतमस्तक बनेका छन्

आख्यानकार चाल्र्स डिकेन्सका नाममा निर्मित म्युजियममा उनी जब एक साँझ पुग्छन्। कथावाचनमार्पmत फिक्सनका क्षेत्रमा पुनर्जागरण ल्याइदिने साहित्यिक रकस्टार डिकेन्सका बारेमा पर्याप्त सूचना, जानकारीमार्पmत पाठकका जिज्ञासा उत्सुकता शमन गर्छन्। संसार जित्न हिँडेको नेपोलियनको फौजलाई बेलायती सेनाले ध्वस्त–परास्त पारेको ‘वाटर लु’मा पुग्दा बजगाईं त्यति बेला दंग पर्छन्, जब बेलायती श्वेत शासकले गान्धी र मण्डेलाजस्ता विरोधीहरूका सालिक पनि आफ्नो देशमा ससम्मान ठड्याएका छन्। तर, उनी आफ्नो देशमा आफ्नै आस्थाका सालिक भत्काउनेहरूविरुद्ध चाहिँ क्रुद्ध हुन्छन्।

बजगाईं विख्यात बालसाहित्यका चर्चित लेखकको रोआल्ड डाह्लका निवासमा पुगेर डाह्लको ‘आइडिया बुक’को आइडिया आफू पनि लिन्छन् र हामी सबैलाई मनमा आएका विचार पछि नसम्झिने भएकाले त्यसलाई तुरुन्त टिपेर राख्ने डाह्लकै आइडिया सिकाउँछन्। अंग्रेजीमा दुई सय तीनवटा शब्द आपैंmले बनाएका बेलायती डाह्ल र नेपाली देवकोटाको आफै शब्द बनाउने कलाका बीचको तन्तु पनि नजोडी छाड्दैनन्। उनले महान् कृतिका लेखक ओझेलमा पर्ने र उसले कल्पना गरेको काल्पनिक पात्रले संसार हल्लाउनेजस्तो अनौठो पात्र ‘सर्लक होम्सको डेरामा एक दिन’लाई नियात्रामा निकै रोचक रूपमा प्रस्तुत गरेका छन्।

बजगाईं प्राचीन र आधुनिक युरोपमा हिन्दू धर्मका पदचिह्न पछ्याउँदै प्राचीन रोमकी कुमारी, बेलायतको मन्दिर र भ्याटिकन सिटीमा शिवलिंग खोज्दै यात्रा गर्छन्। त्यहाँबाट उनले क्रिस्चियन धर्म पूर्व रोम सहरमा हिन्दुहरूका जस्तै देवदेवीका पवित्र स्थल, त्यस स्थलमा जानका लागि बनाइएका पवित्र मार्गको चर्चा गर्छन्। रोमन फोरमको सर्वप्राचीन शनी मन्दिरको जानकारी दिँदै ती सबै देवदेवी, कुमारी, नवग्रहको पूजासम्बन्ध र प्राचीन मिथकको पुनव्याख्या गर्छन्। देवी देवतामात्र होइन मान्छेका नाममा पनि मन्दिर बनाएको तत्कालीन रोमको रहस्यभित्र पाठकलाई पु¥याउँछन्।

मात्र आठसय जनसंख्या भएको संसारको सबैभन्दा सानो देश भ्याटिकन सिटी, त्यस सिटीभित्र बसोबास गर्ने व्यक्तिहरूको नागरिकता, ग्यालिलियोलाई त्यही सिटीका धर्मान्धहरूले दिएको मृत्युदण्ड तथा भ्याटिकन सिटी छुट्टै देश कहिले कसरी बन्यो भन्ने अज्ञात रहस्यहरूको यथार्थ सूचनाबाट भ्याटिकन सिटीमा पढेर पाठक लाभान्वित हुन्छन्।

उनी ‘बेलायतको मन्दिरमा ड्रागनसँग जम्काभेट’ नियात्रामा निकै रोचक, जिज्ञासामूलक र जानकारीमूलक सूचनाका साथै त्यहाँको प्रकृति र संस्कृतिका सुन्दर पक्ष उजागर गर्छन्। हिन्दु काली मन्दिरमा वैदिक मन्त्रोच्चारण गर्ने गोरा पुजारी, प्रत्येक आइतबार मन्दिरभित्र क्रिस्चियन धर्मको प्रार्थना हुने, उक्त मन्दिर सबै धर्मप्रति सद्भाव राख्नेहरूको आशा र विश्वासको केन्द्र भएको जस्ता निकै रोचक सूचना दिएका छन्।

बजगाईं बेल्जियमको राजधानी ब्रसेल्सको आकाशमा देखिने नौवटा चम्किला डल्लालाई नौग्रहको उपमा दिन्छन्। युरोपेलीहरू विश्वयुद्धमा एकापसमा मारामारमा उत्रिएका र सो युद्धको घाउ मेटाउन र आपसमा भ्रातृत्व, स्नेह, सद्भाव सम्प्रेषित गर्न बनाइएको अटोमियमका नौवटा विशाल डल्लाभित्र पसेर त्यहाँको आफ्नै प्रकारको रमाइलोको अनुभूति पाठकलाई गराउँछन्।

बेलायतदेखि बेल्जियमसम्म चल्ने समुद्रमुनिको द्रुत गतिको रेलको नामलाई चरीचुच्चे रेल भन्छन् र त्यही रेल चढेर अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलनमा जाँदाको रमाइलोसँग परिचित गराउँछन्। इटालीस्थित संसारका सात आश्चर्य मध्येको एक आश्चर्य पिसा टावरको भ्रमण गरी त्यो कसरी, कहिले, कसले बनायो भन्ने सम्पूर्ण सूचना र जानकारी दिन्छन्। ठूल्ठूला आँधीबेहरी, भूकम्पमा पनि नढलेको टावर हेर्छन् र भूकम्पले भत्केको हाम्रो धरहरा सम्झेर भावविभोर हुन्छन्।

उनी इटालीको नेपल्समा नेपाली खोज्छन् तर ज्वालामुखी फेला पार्छन्। पाश्चात्य संस्कृति सभ्यताको आदिम थलो र अहिले पनि सदाबहार शाश्वत सहर रोममा घुम्छन्, हिन्दू मिथकसँग मितेरी लाउँछन्। उनी डेथ ट्रापमा फनफनी घुमेपछि दुई हजार वर्ष पहिलेको इन्जिनियरिङ क्षमताले सिँगारिएको कोलोसियम रंगशालामा पुगेर दंग पर्छन्। विगतमा मनोरञ्जनका लागि खेल खेलाइने उक्त रंगशालामा एकले अर्को प्रतिद्वन्द्वीलाई मार्नैपर्ने क्रुर कार्य भएको थाहा पाएपछि त्यसको नाम डेथ ट्राप राखिएको जानकारी छ।

‘फ्लान्दर्सको मैदानमा’ नियात्रामा भने पहिलो विश्वयुद्धमा ज्यान गुमाउने लाखौं सैनिकका समाधिस्थमा मात्र होइन, त्यही युद्धमा वीरगति प्राप्त गर्ने वीर गोर्खाहरूका समाधिस्थलमा पुगेर श्रद्धाका आँसु चुहाउँछन्, अनि नेपालीले त्यहाँ देखाएको वीरता कसका लागि र किन होला भन्ने निरुत्तर प्रश्नले मर्माहत हुन्छन्।

बजगाईंका नियात्रामा सौन्दर्यमय, बक्रतापूर्ण, आलंकारिक भाषाको प्रयोग छ। वस्तुको स्वाभाविक र चित्रात्मक वर्णनमा पनि बजगाईंले कौशल देखाएकै छन्। टुथब्रसजस्तो छोटो जुँगा, ठूलो आँखीभौं, हातमा बाँसको छडी, खुट्टामा भन्दा ठूलो जुत्ता माग्नेको जस्तो लुगा लगाउने र दयाको पात्रको रूपमा अभिनय गरेर संसार हँसाउने भन्दै बजगाईंले करुण र हास्यको विपरीतताका बीचबाट चमत्कार पैदा गर्ने सामथ्र्य भएका चार्लीको जीवन्त शब्दचित्र उतारेका छन्।

ज्ञानविज्ञान, इतिहास, दर्शन सबैलाई जोडेर लेखिएको यो नियात्रासंग्रह आपैंmमा पूर्ण छ। पाठकलाई नेपालमै बसीबसी युरोपका सहरका महान् व्यक्तिका घरआँगन तथा विभिन्न सांस्कृतिक ऐतिहासिक स्थानको भ्रमण गराउन सफल छ।

लेखक : कृष्ण बजगाईं

विधा : नियात्रा

प्रकाशक : सांग्रिला पुस्तक

मूल्य : रु.२९५

प्रकाशित मिति : प्रकाशन मिति : सोमबार, 14 फागुन, 2074

लेखकका अन्य रचनाहरु