युरेशियाको स्पर्शमा कृष्ण बजगाईंसँग यात्रा गर्दा

- प्रदीप सापकोटा

मानव सभ्यतामा यात्राले प्रभाव छोडेका थुप्रै उदाहरण छन् । क्रिस्टोफर कोलम्बस, हुएन साङ, भास्को दि गामा, राहुल सांस्कृतानन्द आदिका योगदान हेर्न काफी छ । सौन्दर्य र शव्द सृजनात्मकताले यात्राको सार्थकता देख्न सकिन्छ । साहित्यका विविध आयाममध्ये आफ्नो यात्राका भोेगाइ, अनुभुतिलाई नियात्रा साहित्यले समेट्छ । यात्रा साहित्यलाई निवन्धात्मक गद्य विधाको उपविधा मानिएको छ । नियात्रा साहित्यमा आफुले यात्राको क्रममा देखेभोगेका परिदृश्यहरु, विविध अनुभवहरुलाई आत्मपरक शैलीमा लेखवद्ध गरिएको हुन्छ । जुन यथार्थपरक र अनुभवमा आधारित हुनपर्दछ । यो साहित्यको लोकप्रिय विधाको रुपमा स्थापित भइसकेको छ ।
नेपाली यात्रा साहित्यको इतिहास खोतल्दा १५५० तिरको राजा गगनीराजको यात्रालाई मानिएको पाइन्छ । जसमा खस राजा गगनीराजको शासकिय भ्रमणको वर्णन गरिएको छ । तर अझै यसको लेखकको नाम खुलेको छैन । गगनीराजको शासकिय भ्रमणवाट सुरु भएको नेपाली नियात्रा साहित्य जंगवहादरको बेलायत यात्रा, युरोपको चिठी(लैनसिह वांगदेल) बेलायततिर वरालिंदा(तारानाथ शर्मा), नियात्राको नौलो सुसेली (पुर्ण प्रकाश यात्री), सात सुर्य ः एक फन्को (रमेश विकल ),सम्झनाका पाइलाहरु (मञ्जुल), तस्मात चरैवेती (श्रीकृण्ण गौतम),कगांरुको देशदेखि आइफल टावरसम्म (जय छागंछा), तिर्थाटन (मुिक्तनाथ शर्मा ), मेरो अमेरिका यात्रा (गोपिनाथ शर्मा), मिर्मिरेमा दश पाइला (गोविन्दराज भट्राई )आदि नेपाली यात्रा साहित्यका केहि प्रतिनिधी पुस्तकहरु हुन । पछिल्लो समयमा कृष्ण वजगाई युरोशियाको स्पर्श लिएर पाठकहरु माझ आएका छन् ।
तीन दशकभन्दा वेशी साहित्यिक क्षेत्रमा कलम चलाउदै आएका कृष्ण वजगाईका यन्त्रवत् लघुकथा संग्रह (२००७), हिँउको तन्ना हाइकुसंग्रह(२००९), स्रस्टा र डिजिटल वार्ता साहित्यिक अन्र्तवार्ता संग्रह (२०१०), रोडम्याप लघुकथासंग्रह (२०१०), कमरेड भाउजु कथा संग्रह (२०१५), कवच लघुकथासंग्रह (२०७२) र युरेशियाको स्पर्श नियात्रासंग्रह(२०७३) प्रकाशित भएका छन् ।
कामको शिलशिलामा बेल्जियम हुँदै बेलायत पुगेका बजगाईं विभिन्न साहित्यिक एवं सामाजिक संघसंस्थाहरुमा त्यतिकै क्रियाशिल छन् । सत्यमोहन जोशी शताव्दी पदक, देवकोटा शताव्दी सम्मान, भानुभक्त द्धिशताव्दी स्वर्ण पदक लगायत थुप्रै पदक तथा सम्मानवाट सम्मानित कृष्ण बजगाई प्रवासमा बसेर पनि निरन्तर साहित्य साधनामा क्रियाशिल छन् । साहित्य सृजनाका अलावा साहित्यिक पत्रपत्रिकाको सम्पादन समेत गर्छन उनी । एक दशकदेखि बेलायतवाट समकालिन साहित्य डटकम प्रकाशन गरिरहेका छन् निरन्तर । साहित्यमा उनको क्रियाशिलता अनुकरणीय छ ।
ुयुरेशियाको स्पर्शु युरोप र एशियाको विभिन्न स्थानको यात्राको रमाइलो वर्णन हो । यसका १९ विभिन्न शिर्षकमा उल्लेखित विभिन्न फरक स्थान,परिवेश र यात्राको सविस्तार प्रस्तुती हो यो । यात्राका विविध प्रसंगहरु, तिनका स्मृतिहरुलाई संगालेका छन यो संग्रहमा । साझा प्रकाशनवाट प्रकाशित गरिएको ुयुरेशियाको स्पर्शुमा चीन, जर्मनी, बेलायत, फ्रान्स, बेल्जियम लगायतका देशहरुका यात्रानुभूतिलाई सजिव ढंगले १९ वटा विभिन्न शिर्षकहरुमा समावेश गरी नियात्राकार लैनसिंह वांगदेल, तारानाथ शर्माकै लाइनमा लामवद्ध भएर उभिएका छन् उनी ।
यात्रा वडो मज्जाको कुरा हो । झनै आफ्नै आँखाले गरेका दृष्यापानहरुलाई स्मृति पटलमा कैद गरे पछि लेखोट गर्नु निष्चय नै कठिन कुरा हो । कतिपय यात्रा वृतान्त देखे भोगेका भन्दा अतिरञ्जनापुर्ण ढंगले लेखिएका पनि पाइन्छन्, र ति अस्वाभाविक र भद्धा लाग्छन् । पठनिय दृष्टीले कमजोर लाग्छन् । तर ुयुरेशियाको स्पर्शु त्यो कमजोरीवाट धेरै पर छ । त्यसैले त यो आकर्षक छ । प्रस्तुती पढु पढु लाग्ने, रोचक आयामले भरिपुर्ण छ । यात्राशिल्पीले परिपुर्ण छ यो कृति । उनको यात्रानुभुतिले पाठकलाई ति स्थानहरुमै यात्रा गराएको भान पर्न सक्छ । बजगाईमा यात्राका भोगाईहरुको श्रृंखला यो कृति वैभवता र सम्पन्नताले धनी अत्याधुनिक मुलुकका ऐतिहासिक स्थानहरुको सभ्यता, विकास र सम्पन्नताको रस्वादान गराउन सफल देखिन्छ । बजगाईका देखाई र भोगाईका छालहरु झरना बनेर बगेका छन् यहाँ । उनका अनुभुतिहरु नियात्राका पाठकहरुका निम्ती असल खुराक हुन सक्छन् । नियात्रामा रमाउने पाठकहरुको निम्ती बलशाली छन्, स्तरिय लाग्छन् उनका नियात्राका वर्णनहरु । सम्झनाका तरेलीमा रहेर लेखिएका नियात्राहरु पट्यारलाग्दा छैनन् । उनी पाठकलाई आप्mना नियात्राहरु मार्फत संगै यात्रा गराउन सफल देखिन्छन् ।
पुस्तकमा समावेश गरिएको पहिलो निबन्ध महान नाटककार विलियम शेक्सपियरको जन्मस्थलको वारेमा छ । बाह्रौ रात, हाम्लेट, ओथेलोे, राजा लिएर आदि गहन नाटकहरुका नाटककार उनले आफ्नो प्रतिभाको कारण संसारमा लाखौलाख पाठक र प्रशंसक कमाएका छन् । शेक्सपियरको जन्मघर उनले प्रयोग गरेका भान्सा सहितको अन्य सामाग्रीहरु, उनको जन्मकोठा आदि सहितको संग्रहालय अवलोकन गरिएको कुरा उल्लेख गरिएको छ । हाम्रो देशमा पनि महाकवि लगायतको स्मृतिमा संग्रहालय हुनुपर्ने कुराले उनको मनमा हुटहुटी चल्छ । शेक्सपियरको लेखाई विवादास्पद र रहस्यमय छ भनेर एउटी महिलाले भनेको प्रसंग पनि नियात्राकारले उल्लेख गरेका छन् । मायाको शहर पेरिसका वारेमा वृतान्त छ उनको सिटी अफ लव अर्थात पेरिसमा चार दिनमा । फेसन, परफ्युम, प्रेमी प्रेमिकाको लस्कर, प्राचिन सास्कृतिक वैभवका स्मारक र कलाका बेजोड संग्रहालय घुमेको र त्यहाँको वातावरणको झल्को दिन्छ उनको यो निबन्धले । एकातिर वेल्जियम र ब्रसेल्सका गोराहरुले हिन्दुहरुको हरेराम हरेकृष्ण जपेको देखेका बजगाईंलाई आफ्नो धर्म संस्कृति प्रति गौरववोध हुन्छ भने अर्काेतिर वेश्यालय, तिनको संसार र तिनीहरुसंगको साक्षात्कार समेत गरेका छन् उनले । सानो शहर दुर्वीमा भगवान कृष्णको मन्दिरको दर्शन गरेको प्रसंग समेटेका छन् उनले । लाग्छ नेपाली हिन्दु संस्कृतिले भरिपूर्ण माहोल र गराँउछ हाम्रा आराध्यदेव पशुपतीको याद ।
कोलाहालपूर्ण वातावरण तर सडकपेटीमा ओहोरदोहोर गरेका चिनियाँ सुन्दरीहरु देख्दा मादक अनुभूति गर्छन् उनी । चिनियाँहरुको लागि ऐतिहासिक र तीर्थस्थलको रुपमा परिचित मानिएको यो शहर अध्यक्ष माओत्से तुंगले जनगणतंत्र चीन घोषणा गरेको स्थान हो त्यो । माओको स्मृति भवन जहाँ उनको पार्थिव शरिरलाई सुरक्षित राखिएको र माओको शवको सुरक्षा संयन्त्र देखेर दंग पर्छन नियात्राकार चीनको त्यानमेन चोकमा । संसारको सातौं आश्चर्य मध्येको एक ग्रेटवाल पर्खालमा संस्कृतमा श्लोक कुँदिएको कुरा आफ्ना पाठकहरुलाई सगर्व जानकारी दिन पाउदा खुशीले उद्धेलित हुन्छ उनको मन । यसले पूर्विय सभ्यताको विशालता पनि प्रष्ट पारेको छ उनको ग्रेटवालमा संस्कृतका श्लोकहरुले । हाम्रा कलाकार अरनिकोले बनाएको स्तूप घुमेर फर्कदामा उनले नेपाली हुनुमा गर्व गरेका छन् । अरनिकोले तेह्रौ शताव्दीको पूर्वाद्र्धतिर वनाएको श्वेत स्तुपा उनलाई पोखराको फेवातालको वाराही मन्दिर जस्तै लाग्छ । यसरी उनमा डायास्पोरा झल्किएको छ । ।
बजगाई त्यस्ता भाग्यशाली नियात्राकार हुन संसारका चर्चित कम्युनिष्ट दर्शनका सिद्धान्तकार कार्ल माक्र्सले कम्यूनिष्ट पार्टीको घोषणापत्र लेखेको बेल्जियमको घरमा पुगेर कफि पिएका छन् उनले । अनि त्यहिँ वसेर कविता पनि लेखे उनले । र यसमा उनी आफूलाई निक्कै नै भाग्यमानी ठान्छन् । यसैगरि बेलायतमा कार्ल माक्र्सको समाधिस्थलमा पुगेका उनले आफ्नै पाँचौ कृति कमरेड भाउजु कथासंग्रहलाई आफ्नै हातले विमोचन गरेर सर्वथा नयाँ प्रयोग गरेको कुरालाई सविस्तार आफ्नो माक्र्सको समाधि स्थलमा कमरेड भाउजुसंग वरालिंदामा उल्लेख गरेका छन् ।
वरफ तथा हिउँमा बनाएको कलाकृतिलाई उनले हिउँकी रानीको उपमा दिएका छन् जुन बेल्जियमको ऐतिहासिक शहर ब्रुजमा पर्छ । चीनवाट थालनी भएको यो कला प्रत्येक वर्ष डिसेम्वरदेखि जनवरीको पहिलो हप्तासम्म यहाँ प्रर्दशन हुने गर्दछ । डेनमार्कका ख्यातीप्राप्त स्रष्टा हान्स क्रिश्चियनको द्धिवार्शिकीमा उनको कृतिकै नामाकरण गरिएको हो । नियात्राकारलाई लेखक, स्रष्टाहरु प्रतिको सम्मानले गौरवानुभूति हुन्छ ।
लक्जेमवर्गको यात्रा ः घामपानी र हिउँको जात्रामा करिव एक हजार वर्षको इतिहास हेर्न उनले झण्डै करिव सय मिनेटको यात्रा तय गरेको कुरा उल्लेख गरेका छन् । त्यहाँको म्यूजियम, त्यहाँ भेटेका साथीभाई आदि वारेमा निबन्धमा विस्तारित वर्णन गरेका छन् । बेल्जियमको सडकमा बरालसिंग एउटा संस्मरणले भरिपूर्ण निवन्ध हो । उनले यसमा हामी पाठकलाई मज्जाले घुमाउँछन् आफुसँगै । अनि सँगै यात्रा गराँउछन् त्यो चुम्वक जुत्ता र विदेशमा जाक्ने जर्मनी यात्रामा पनि ।
संक्षिप्तमा, यात्रा साहित्यका सवै खालका प्राथमिक तत्वहरुको कतै न कतै दर्विलो उपस्थिती देखाएका छन् बजगाईका नियात्राहरुले । स्थानियता, गतिशिलता र तथ्यात्मकताले भरिपूर्ण उनका नियात्रामा निजात्मकता, अनुभुतिमयता, रसात्मकताले लछप्पै भिजेका छन् । पाठकलाई रोचक र कौतुहल बनाउने उनका नियात्रा कल्पनाशिलताले भरिएका पनि छन् । कतै आत्मपरक ढंगले लेखेका अनुभव र भोगाइ छन् भने कतै वर्णनात्मक शैलीको प्रस्तुती छ । यात्राका हरेक पक्षहरु समेटेका उनका नियात्रा पट्यार लाग्दा, लामा छैनन् । आफ्ना निवन्धहरुमा इमान्दार भएर प्रस्तुत हुनसक्नु उनको राम्रो पक्ष हो । कुनै कुनै निवन्धमा कलात्मकता कम हुनु, कुनै कुनै निवन्धमा शिर्षक र लेखाईमा तारतम्यताको अभाव हुनु, यात्राको समय मिति आदि उल्लेख नहुनु आदि सानातिना कमजोरी देखिन्छन् । कहि कतै भाषिक त्रुटी जस्तो कुरामा प्रकाशकको ध्यान नपुगेको देखिन्छ । तर कर्मथलो विदेश भएर पनि आफ्नो माटो, आफ्नोपनलाई भ्रमण गरिएको स्थानसंग तुलना गरेर नेपाली मन, भाषा, कला संस्कृति उजागर गर्नखोज्नु युरेशियाको स्पर्शको बलशाली पक्ष हो । एशिया र यूुरोपका विभिन्न ऐतिहासिक स्थलहरुमा पुगेको अनुभूति पाठकहरुले गर्न सक्नुले बजगार्इंका नियात्राहरु सफल देखिन्छन् । आख्यानमा लामो समय कलम चलाएर नियात्रामा प्रवेश गरेका बजगाईंको यो संग्रह नेपाली नियात्रामा अव्बल हुने कुरामा शंका गर्न परेन् ।

प्रकाशित मिति : प्रकाशन मिति : सोमबार, 14 फागुन, 2074

लेखकका अन्य रचनाहरु