सुजता

- अर्जुन यावा

‘अर्जुन ठिकै छौ..? तिमीसँग भेट्ने त्यो ‘स्पेशल डे’-को वेटिङमा छु। बट आइ डोन्ट नो... मेरो विश पूरा हुन्छ कि हुँदैन...।’
21 दिसम्बर 2016-को राति 9 बजेर 46 मिनटमा सुम्बुककी मित्र सुजताबाट आएको यो मेसेजले मेरो मन एकप्रकार नरमाइलो बन्यो। झट्ट सम्झें राभङकी ननितालाई। राभङकी ननिता, सुम्बुककी सुजता, तिमीतार्कुकी दिलुसित आकाशवाणी गान्तोकबाट पहिलोपल्ट पत्रमित्र कार्यक्रम सञ्चालन हुनथालेपछि नै मेरो मित्रता पनि शुरू भएको। यतिबेला ननितालाई सम्झनुको कारण उसित पनि भेट्ने भन्दाभन्दै 25 दिसम्बर 2009-को दिन छोड़ेर गएकी थिइन् सधैँलाई। त्यसैले सुजताले पठाएको मेसेजको अन्तिम वाक्यले भित्रभित्रै म आफै दुःखे सायध। लेखेकी थिई- ‘मेरो विश पूरा हुन्छ कि हुँदैन...।’
आफ्नो त व्यवसाय पत्रकारिता। सुजताको मेसेज पाउँदा न्यूज प्रुफ हेर्नुमा व्यस्त नै थिएँ। व्यस्त भएरै पनि मैले नहेर्नु मेसेज हेरिहालेँ। त्यसैले झट्टै लेखिहालेँ- ‘हुन्छ नि किन हुँदैन। मलाई पनि त्यो दिनको प्रतीक्षा छ।’ अनि काम गर्न थालेँ।
10 बजेर 3 मिनटमा अर्को मेसेज आयो। हेरेँ। सुजता कै रहेछ। लेखेकी थिइन्- ‘सोचन आफै..। हाम्रो फ्रेनशीप कति स्पेशियल छ। भेट्नुलाई हतार पनि छैन। भेटिन्दैन भनेर निराश पनि छैनौं। नेक्स्ट यर त हाम्रो फ्रेनशीपको 18 वर्ष पूरा हुन्छ। बेस्ट फ्रेनको इक्जाम्पल हामी...।’
‘18 वर्ष...?’ मनमनै प्रश्‍न गरेँ आफैलाई। हिसाब लगाएँ। हो त... वर्ष 2000 देखिको हाम्रो मित्रता। यो 18 वर्षको अवधीमा कत्ति साथीहरू भेटिए, कत्ति छुट्टिए। कत्ति सम्झनामा छन्, कत्ति भुलिए। भेट्नु र छुट्टिनु जस्तै सम्झनु र बिर्सिनु पनि त जीवनको एउटा पाटो नै रहेछ...! तर सुजतासित यत्तिका वर्षलसम्म न त भेट भयो, न त हामी छुट्टियौं, न त बिर्सिएका छौं एका-अर्कालाई! नचाहेको पनि कहाँ हो त भेट्न। कहिले सुजता गान्तोक आउँथी, कहिले म जोरथाङ पुगेको हुन्थेँ। यसबीच एक-दुईपल्ट उ मेरो गाउँ राङ्कासम्म पनि नपुगेकी होइन। हो, म भने कहिले पञ्जाब-दिल्ली, कहिले आसाम-मणिपुर त कहिले गोवा र बङ्लोर-कर्नाटक पुगेँ, तर अहिलेसम्म सुम्बुक पुगेको छुइन। पुग्न सकेको छुइन। सम्झिँदा अचम्म लाग्छ आफैलाई।
सम्झेँ- ‘रियली नि...। यो 18 वर्षसम्म भेट नहुनुमा पनि आफ्नै मजा छ। आफै कथा जस्तो। तर फ्रेनशीप छँदैछ।’ अनि उसलाई यस्तै लेखेँ जवाबमा पनि त्यही। अझै लेखेको थिएँ- ‘मैले फर्स्ट लेटर लेखेको र तिमीले फर्स्ट लेटर लेखेको डेट चाहीँ बिर्से मैले। एनि वे... हाम्रो यो सम्बन्ध बाँचिरहोस्, भेट भए पनि नभए पनि, है..!’
---
एक असल मित्रताको परिभाषा के हुन्छ? त्यसको परिभाष छैन मसित। मित्रतामा कुनै कुराको निम्ति कुनै साँध-सीमाना हुन्छ कि हुँदैन? त्यो पनि थाहा छैन। अहिलेसम्म तर आपस्तमा भेट्नसम्म नसकेका हामीले एका-अर्कालाई कुनै सहयोग गर्ने त सम्भावनासम्म रहेन। हो तर हाम्रो मित्रतामा हरेक कुरा साझा हुन्छ। पहिले-पहिले चिट्ठी-पत्रमा हुनेगर्थ्यो हाम्रो कुराकानी, हिजाज कहिले मोबाइलमा त कहिले मेसेजमा। सुजतासितको कुराकानी भइरहेको बेला सम्झने गर्छु म उसैलाई, अनि सुजता यस्तै हुनुपर्छ कल्पना गर्छु भनेर। अहिले पनि म 18 वर्ष अघिको फोटोमा जस्तो देखेको थिएँ अथवा देखेको छु उही सुजता मेरो मानसपटमा आइरहेकी छे। यो सत्य हो, 18 वर्षअघि जस्तो म थिएँ अथवा जस्तो थिइन् सुजता, त्यस्तो दुवै छैनौं। 18 वर्षअघिको आफ्नै फोटो हेरेर म आफै हाँस्छु कहिलेकाहिँ, अनि लाग्छ म अहिले पनि यस्तै हुनुनि...।
यो समय जस्तै उमेर पनि प्रत्येक वर्ष नयाँ क्यालेण्डरका पानाहरूसितै पल्टिदै जाँदो रहेछ। क्यालेण्डर पल्टिएको हिसाब लगाउने हामी आफ्नै उमेरको हिसाब लगाउने फुर्सद पाउँदैनौं कि जस्तो लाग्छ कहिलेकाहिँ। अँ...म भन्दैथिएँ जब पनि म सुजतासित कुरा गरिरहेको हुन्छु 18 वर्ष अघिकै सुजताको फोटो सम्झिन्छु, जो अहिले पनि सुरक्षित छ मसित।
---
आफ्नो कर्तव्य, आफ्नो जिम्मेवारीहरूलाई एकातिर पाउँछिन् सुजता अनि आफ्ना रहर, उच्छा, सपनाहरूलाई अर्कातिर देख्छिन् उनी। नरेगाको कुरा, गिटी कुटेको कुरा, गाउँ-घरमा खेतालापातको कुरा, घरबारीमा कामको कुरा र घाँस-दाउराका कुराहरू सुनाउँछिन्-लेख्छिन् उनी। जहिल्यै व्यस्त।
म कहिले रेडियोस्टेशन पुगेको कुरा गर्छु, कहिले प्रेसमा समाचारको प्रुफ हेर्दैगरेको लेख्छु, कहिले गाउँमा साहित्यिक कार्यक्रम गरेर आएको भन्छु। उ जस्तै म पनि व्यस्त। दुवै उस्तै, व्यस्त।
‘साथीहरूसित घुम्न जाने फुर्सदै हुँदैन, मन पनि लाग्दैन हौ...’ भन्ने गर्छिन् उनी। ‘घरमा के गर्दा-के गर्दा फुर्सदै हुँदैन’ भन्छिन् सुजता। मलाई पनि घर-परिवार, काम-धन्दा, दुःख-बिमार र के-के कुराहरूले अल्झाइरहेको हुन्छ।
---
28 दिसम्बरमा भनेको थिएँ मेसेजमा- ‘आमालाई नमस्कार भनिदिनु है...।’
जवाब आएको थियो- ‘ल ल..., भनिदिन्छु। अनि पापा कस्तो हुनुहुन्छ..?’ अनि फेरि सोधेकी थिइन्-‘न्यू यरको प्लान के छ..?’
जवाबमा भने- ‘पापालाई तेतिकै छ नि..। भन्दा पनि अलिकति ठीक भएको जस्तो छ। जाति हुने त होइन नै..।’ अनि दोस्रो प्रश्‍नको जवाबमा भने- ‘यो पाली न्यू यर घरमै बित्छ। घरको काम गर्नु छ। किचन बनाउनु छ..। अरु बेला पनि न्यू यरमा त्यति घुमेर बिताउने गरेको छुइन।’
‘ठीकै छ..। झन घरमा बिमारी हुँदा त पूरा टेन्सन हुन्छ नि..। हाम्रो पनि कोपा निक्कै बिमार भएर खस्नुभएको। कतै जान मन लाग्दैन। घरमा बिमारी भएको बेला त कतै जानु पर्दा पनि मनमा सुर्ता भइरहन्छ, केही भइहाल्यो कि भनेर...।’
सुजताको यो अन्तिम वाक्यले फेरि मनमा एउटा अव्यक्त अनुभव गरेँ। खै कस्तो कस्तो...। झण्डै तीनवर्षदेखि पापा बिमारी हुनुहुन्छ। डेड्वर्षभन्दा धेरै त कहिले एस.टी.एन.एम, कहिले मनीपाल, कहिले आनन्दलोक, कहिले कहाँ-कहिले कहाँ गरिहिनियो। बिमारी के हो? पत्तो नलागेपछि भौंतारिहिँड़नुबाहेक अरु केही गर्न सकेका थिएनौं। बल्ल 5 फरवरी 2016-मा कोलकाता पुगेपछि घाँटीमा भएको घाउँले पीड़ित पापालाई ‘थ्रोट क्यान्सर’ भएको पत्तो लाग्यो। नोभेम्बरसम्म निरन्तर उपचारपछि रेडियसन र क्यामोथेरापीले सुकाएको थियो पापालाई। हेर्नेहरूले पनि झट्टै नचिन्ने भइसक्नुभएको पापाको सम्झना गरायो सुजताको अन्तिम वाक्यले। पापा-आमा राङ्कामा, आफ्नो बसाई छ गान्तोकमा। चाहेर पनि हरेक बिहान-बेलुका हेर्न-भेट्न सकिन्न।
---
शहरमा बस्नु र गाउँमा जीवन यापन गर्नुमा पनि कत्ति फरक रहेछ। कहिलेकाहिँ सुजताले कुरा गर्छिन् गाउँको। घाँस काटेको, बारी खनेको, खेता गएको...। सुजता भन्छिन् ‘आ... आफ्नो त यस्तै छ है...।’ सायद आफ्नै दैनन्दिन जीवनसित उनी खुशी छैन। किनभने अगिको वाक्यसितै थपिएको वाक्यमा उ भन्ने गर्छिन्, ‘तिमीहरूलाई त ढुक्कै छ नि...। पानी-झरी, धुलो-मुलो केहीको टेन्सन छैन। ढुक्कै नि..।’
काश, देखिएको सबै सत्य भइदिए कत्ति रमाइलो हुनेथियो जीवन...।
---
गाउँमा हुँदा एकपल्ट कसैले भनेका थिए, जीवन दाजुको त चार-चार भाई छोराहरू...। ढुक्कै नि...। छोरी-ज्वाईं पनि नजीकै छन्...।’ जीवन अथवा हाम्रो पापाका हामी चारभाई छोराहरू।
दिउसो सानोतिनो कामकुरोमा व्यस्त, रातमा प्रेसको काम। राङ्काबाट धाउन गाह्रो। भएन नानीलाई स्कूल, बालविकास र म्युजिक क्लाश। आफू सानो छँदा जे-जस्तो प्रकारले हुर्किए पनि वर्तमान समाजको नकल गर्नै पर्ने। गान्तोकमा बस्नु र बाँच्नुको पीड़ा मजस्तैहरूलाई थाहा छँदैछ। अर्कोतिर बाउ-आमाको देख-रेख गर्ने फुर्सद निकाल्नुसम्म गाह्रो। चारजना छोराहरू भएर के गर्नु, कोही गान्तोकतिर, कोही रम्फू र कुम्रेकतिर कोही कहिले इज्रायल, कहिले चाइना र काठमाडौंतिर...। त्यसैले ‘12 छोरा 13 नाती...।’ सम्झने गर्छु कहिलेकाहिँ। छोराहरूको बाध्यता, विवशता जे सम्झे पनि, जे बुझे पनि कहिले काहिँ पापा-आमाले यसै भन्दाहुन् नि... भन्ने लाग्छ। शहरमा बस्नु पनि कहाँ सजिलो हुन्छ त। काश..! सुजताले भनेजस्तै भइदिए शहरिया जीवन...। त्यसैले सुजतालाई भन्न मन लाग्छ- ‘तिमी कत्ति भाग्यमानी छौ, आफ्नी आमालाई सँगै बसेर सेवा गर्न सकिरहेकी छौ।’ सायद भाग्य, लेखन्त, सुख, दुःख सबै समय र परिस्थितिअनुसार नै हुन्छ होला। त्यसैले त सुजता र मेरो पनि हेराइमा हामी एका-अर्कालाई आफ्नो-आफ्नो ठाउँमा खुशी देश्छौं, भाग्यशाली देख्छौं, उसले मलाई र मैले उसलाई।
हामीमाझ पिकनिक, पार्टी, टूर, होटलका कुराहरू हुँदैनन्। जुस, कोलड्रिङ्क र स्याम्पियनका कुराहरू गर्ने विषय कहिल्यै उठ्दैन। अर्धमुद्रित सपना, आधा-अमूर्त चाहना अनि आधा-अधुरा रहरहरू सुजता र मबीचमा हुने कुराहरू हुन्। कुनै डिस्कोमा आधारातबीच मस्त रहने अर्धचेतनावस्थाहरूभन्दा धेरै रमाउँछौं हामी यी र यस्ता कुराहरूमा। मनमा रहेका उकुसमुकुसहरू, आधाकल्चो सपनाहरू साट्छौं हामी, असन्तुष्टिका कुराहरू व्यक्त गर्छौं अनि जीवनका यावत सत्यहरूमाथि चर्चा गर्छौं। कुनै ठूला विद्वानका उपदेशहरू हुँदैनन् उदाहरण दिनका लागि हामीसित। कसैको सिद्धान्तका कुराहरू हुँदैनन् आपस्तमा साट्ने। हुन्छ त केवल जीवनमा देखेका कुराहरू, झेलेका र भोगेका कुराहरू, अनुभव गरेका कुराहरू। मनमा लागेका कुराहरू स्वतः निस्कन्छन्। अँ, कहिलेकाहिँ हताश, निराश, निरुत्साह बनेको मनलाई शान्तवना छर्ने काम गर्छौं हामी। सुजता र मेरो मित्रताको यो 18 वर्षमा यस्ता कत्ति कुराहरू भए होलान्। रहर, सपना, इच्छा, चाहनाका कत्ति कुरा भए होलान्। कति मूर्त बने कति अमूर्त रहे होलान् हामीबीचका कुराहरू। तर, 21 दिसम्बर 2016-को उसको कुरा मनमा बसिरह्यो।
---
ननिताले भनेकी थिइन्, ‘अर्जुन अब हाम्रो भेट्ने कुरा पनि त्यतिकै होला नि यो जीवनमा त...?’ साँच्चै त्यतिकै भयो ननिता र मेरो भेट। तर विश्‍वास छ मलाई सुजतासित अवश्य भेट हुनेछ। साथी सुखमा भेट्नसकिन्छ धेरै। तर दुःख-सुखका कुराहरू गर्ने, उत्साह र प्रेरणा दिने साथी कमै भेटिन्छन्। त्यसैले हाम्रो भेट होस या नहोस हाम्रो यो मित्रता सधैँ कायम रहोस्। सुजता भन्ने गर्छिन् कहिले-काहीँ- ‘म तिम्रो सुम्बुककी पहिलो साथी हुँ...।’ म चाहन्छु सधैँभरि पहिलोमात्रै होइन यस्तै असल साथी बनिरहौं हामी। अहिले भने म पनि सुजतालाई जस्तै हाम्रो भेट हुने त्यो ‘स्पेशल डे’-को वेटिङमा छु। अनि विश्‍वास छ, हाम्रो भेट अवश्य हुनेछ एकदिन...। अनि यस्तो थुप्रै 18 वर्षहरू पार गरोस हाम्रो मित्रताले।’

राङ्का, भारत

प्रकाशित मिति : प्रकाशन मिति : सोमबार, 14 फागुन, 2074

लेखकका अन्य रचनाहरु