रित्तो जिन्दगी

- सलोजा

जिन्दगी कठोर रहेछ ।
अप्ठ्यारो विन्दुमा उभिएको छु ।
बाच्न पनि गाह्रो हुने, मर्न नसकिने । कस्तो कठोर समय । भित्र भित्रै पिडाको पोखरीमा डुबुल्की मारिरहे झै लाग्ने । कता कता आगो बालिरहे जस्तै रापिलो जिन्दगी ।
आकाशमा चन्द्रमा फलिसकेछन् । त्यही चन्द्रमाको सुन्दरता हेर्न थालेँ ।
चन्द्रमाको सुन्दरताभित्र कालो धब्बा ! उनलाईपनि दुःख परेको हुनुपर्छ । नत्र चन्द्रमाको सुन्दरतामा यो कालो धब्बा किन पोतियो ?
हुनत यो दुःख नभएको भए सुखको अनुभूति पनि त नहुन सक्थ्यो नी ?
एक पटक बुद्दबाणी सम्झिएँ संसारमा दुःख छ, त्यसको कारण छ ।
मेरै जीवन रमाइलो मान्नेहरुपनि छन् ।
बाटोमा हिड्दा हेलो हाइ गर्नेहरुको कमी छैन । शहरमा ठूला ठूला नेता, व्यापारी तथा कर्मचारीहरुसंग राम्रो उठबस छ । सुरा सुन्दरीको कमी छैन । हप्तामा चार दिनभन्दा बढी त भोज भतेर र पाटीमा समय वित्दछ ।
जिन्दगी जसरी ज्यून खोज्यो त्यसरीनै सकिने रहेछ । यो ऐयासी !
आफैलाई नियाँले ।
एकपटक आखाँ चिम्लिएँ । गाउँबाट हिड्दाको समय सम्झिएँ ।
घास काट्दै गर्दा एसएलसीको रिजल्ट आएको थियो ।
सदरमुकाम गएका तल्ला घरे साइलाले म पास भएको खबर ल्याए । हाम्रो परिवारमा एसएलसी पास गर्ने मनै पहिलो थिएँ ।
बाले हर्सका आशु झर्दै भने ठूले अब त साच्चै कुलको दिप भइस ।
हुनत पहिलो सन्तानको रुपमा जन्मिएको मेरो नाम पनि दीप नै राखेका थिए । हजुरबाले पहिलोपटक नाती जन्मियो भनेर खुसी हुदै मेरो नाम दिप राखेको भन्ने सुनाउथे ।
एसएलसी पास भएपछि परिवारको आशा म प्रति अझै बढेको थियो ।
दुइ छाक खानपनि धौ धौ हुने । विहान, दिउँसो काम गरेर बेलुकाको छाक टार्नुपर्ने समय ।
धन्न ! बाले आफूले पढ्न नपाएको पिडा सम्झेर मलाई पढाएको रे ।
‘ऋण खोजेरै भएपनि मेरो दीपलाई काठमाडौनै पठाउछु ।’
बाको सपनाको संसार थियो काठमाडौ । उनी सानै हुदाँ हजुरबासंग काठमाडौ गएका थिए रे । विद्यालय र क्याम्पस पढ्ने चाहना चाहि त्यतीकै ओइलायो भन्थे ।
खेत बन्दकी राखेरै बाले मलाई पढाइ खर्चको जोहो गरिदिए ।
हातमा पाचँ हजार रुपैया थमाउदै भनेका थिए ‘दिप त प्रति मेरो ठूलो आशा छ । आमाको भरोसा र भाइ बहिनीको अविभावक बनेस हैँ ।’
बाका आखाँ फेरि रसाए ।
१६ बर्षको अल्लारे उमेर ।
विरानो शहर काठमाडौ हानिएँ । कता कता सकस लागिरहेको थियो । तर हातमा प्रथम श्रेणीमा पास भएको सर्टिफिकेट, बाले खेतै बन्दकी राखेर दिएको पाँच हजार, हर्ष र उमंग पनि थियो ।
क्यापस भर्ना भएपनि बाले खेतै बन्दकी राखेको कुरा विर्सन सकिनँ ।
आफ्नालागि पढ्नु थियो । तर बा आमाको आशापनि पूरा गर्नुपर्ने बाध्यता उतिकै । त्यसैले पढ्ने भन्दा काममा बढी ध्ययान जान थाल्यो ।
मेरो आखाँमा धेरै जनाको सपनाहरु थिए । आमा, बा, दुई बहिनी र तीनजना भाइहरुको ।
खेत उकास्नु थियो । बाको काधबाट हलो ओराल्नु थियो । आमाको एक सरो गहना लगाउने सपना पूरा गर्नु थियो । भाइ बहिनीको पढाईको खर्च टार्नु थियो ।
यस्तो सुन्दा सबैलाई पत्यार नलाग्न सक्छ । अहिलेको जमानामा पनि खानँ नपाउने कुरा, पढ्नका लागि खेतै बन्दकी राख्नुपर्ने विषय ।
तर पनि भोगाइ हो यो । समस्या सबैलाई भन्नुपर्ने आवास्यक्तापनि थिएन तर मेरो जिम्मेवारी थियो । त्यसैले चाडै कमाउने धन्दामा लागेँ ।
शहरमा बसेर गर्ने नगर्ने काम छुट्याउनै परेन । सबै लाइन मिलाउने अरुनै थिए । हप्ते उठाउने, नेताले भनेकै मान्छेको नाममा टेण्डर पार्नका लागि केटाहरु जम्मा पारेर होहल्ला गर्ने, तस्करीको लाइन मिलाउने, चोरी गर्ने, अपहरण गर्ने । त्यतीले मात्र नपुगेर मान्छेको हत्या गर्न पनि पछि परिनँ ।
मेरो चाहना आफ्नालागि सर्टिफिकेट जम्मा पार्नु र बा आमाको सपना पूरा गर्न पैशा कमाउनु थियो ।
चाहना अनुशार पैशाको कुनै कमी भएन । नेता तथा व्यापारीसंग जति मागेपनि दिने ।
प्रहरि अफिसर, बर्षौ लोकसेवा पढेर जागिर खाएका कर्मचारी, विहान उज्यालो हुदाँ देखि राति अबेरसम्म काम गर्ने व्यवसायी सबैले मान्ने भएँ ।
बा आमाका दुखका दिन गए ।
गाँउ जिल्ला हुदै शहरमा चीनेजानेका बीच मेरो चर्चा चल्न थाल्यो ।
माइलाका छोराले धेरै कमायो रे । शहरमा गाडी छ, घर छ, दुख परेकालाइ खर्च बर्च सबै पु¥याउछ । सबैले मेरै प्रसंसा गर्थे । सम्मान उतिकै भयो ।
साथीहरुपनि मलाइ हेर्दै भन्थे, यार आफूलेत केही प्रगतिनै गर्न सकिएन ।
विद्यालय पढ्दाताका गाँउमा बा आमा बाहेक सबैले दिपे भन्थे । अहिलेत परिचय नै फेरिएझै दिपेन्द्र भएको थिएँ ।
गाँउले तथा आफन्तले सोध्थे घर जग्गा कति जोडिस ? सम्पति कति छ ?
साथीहरुले सोध्थे, कुन कम्पनी र मोडलको कार चढ्छस ? व्यवसाय कस्तो हुदै छ ?
तर कसैले सोधेनन कस्तो र के काम गर्छस भनेर ।
मलाई देख्नेहरुले भन्थे म व्यापारी हो । धनाड्यको छोरो हो । यस्तै सबैले आ आफ्नै बुझाइ अनुशार लख काट्थे होलान ।
अरुले जसरी बुझेपनि चुपचाप हाँसेर टारिदिन्थेँ । मेरो यो सुन्दर अनुहार भित्रको यथार्थता कसलाई थाहा हुन्थ्यो र ? यो मिठो बोलीमा न झुक्किने को छ ?
एक दिन नमितालाई घरैमा बोलाएँ । साथीहरु नलिइ आउन आग्रह पनि गरेँ । मेरो आग्रहलाई नकार्न नसकेको हुनुपर्छ । उनी एक्लै आइन ।
आजसम्म बाबुआमा र आफूले चाहेको कुरा पुरा गरेको छु ।
बाँकी एउटा इच्छापनि पूरा गर्नुपर्ने छ ।
नमिता विश्वविद्यालयकी विद्यार्थी । मैले कामकै सिलसिलामा चिनेको थिएँ ।
उनलाई देखेकै दिनदेखि कता कता आफ्नो पनको अनुभव हुन थालेको थियो ।
उनको सोझो हेराइले भुतुक्कै हुन्थेँ । केही बोल्न नसके झै अवाक बन्थेँ ।
कहिलेकाही एक्लै बस्दा उनको याद आउथ्यो । तर जुनेली रात, घमाइला दिनहरुमा पनि एक्लै बिताएको थिएँ ।
उनलाई पनि त्यसतै भएको हुनुपर्छ । प्राय हुने भेटहरुमा उनी मुखले होइन आँखाले बोल्छिन् ।
उनको आभास मात्र पनि प्रिय लाग्थ्यो ।
साथीहरुले कहिलेकाही जिस्काउने गर्थे नमितासंग लभ पर्यो कि के हो ?
हैन म सहज बन्न खोज्थेँ ।
हुनत उनीसंग मैले प्रेम गर्छु भन्ने सोचेकै थिइन ।
उनी एक्लै भएको बेलामा कहिल्यै भेट्न खोज्दिनथिन । साथीहरुसंग हो हल्ला गर्दै रमाउनुपथ्र्यो । हामी बीच नितान्त एकान्तमा कहिल्यै गफगाफ भएन ।
तरपनि नजिकको मित्रता थियो । भेटेकै बेलादेखि आत्मीयता बढेको थियो । राजनीतिमा दाइ र बहिनीको संबोधन ।
संबोधन जे गरेपनि प्राय धेरै कुराहरु उनीसंगै भन्थेँ ।
मेरो कुरा चाख दिएर सुन्थिन तर आफू भने एकदमै कम बोल्ने । साथीहरुसंग रमाइलो ख्याल ठट्टा गरेपनि मसंगै हुँदा अन्तरमुखी लाग्थिन ।
उनको म प्रतिको हेराइ कस्तो थियो ? मुखले कहिल्यै बोलिनन । मैले जान्ने चाहना पनि राखिनँ ।
उनले सहजै भनिन । ‘किन ढिला गर्नुहुन्छ । त्यो पनि पूरा गर्नुस ।’
आजसम्म कसैसंगपनि नडराएको म, कता कता अप्ठ्यारो लागिरहेको थियो ।
बीच बीचमा बोली अड्किए झै लागिरह्यो । शरीर तातो भएको अनुभव गरँे । जुरुक्क उठेर झ्यालको छेउमा गएँ ।
फेरि एकपटक ऐना नजिकै पुगेर आफ्नो अनुहार नियाँले । रातो भएको थियो ।
उनीतिर हेरेँ । सामान्य अवस्थामा थिइन ।
लामो सास फेरेँ र आट गरेर भनेँ ‘हामी जिवनको सहयात्री बन्नुपर्छ ।’
उनीसंगै विवाहको प्रस्ताव राखेँ ।
मैले बोलेको सुन्नासाथ उनी केही हतास देखिएकी थिइन ।
जुरुक्क उठीन ।
आजसम्म कुनैपनि कुरा हुदैन नभनेकी उनले सोझै प्रतिकार गरिन ।
तपाईसंग विवाह गर्न सक्दिन । विवाह त परको कुरा दोहोरो प्रेम गर्न पनि सक्दिन ।
उनी सर्दै सर्दै ढोकासम्म पुगिन ।
मैले उनलाई किन भनेर सोधेँ ।
सिधा मेरा आखाँमा हेर्दै भनिन । ‘म एउटा अपराधीसंग विवाह गर्न सक्दिन ।’
उनले अझ ठूलो स्वरमा भनिन, एकान्तमा जे सोच आयो र गयो । अब त्यसलाई मलजल गर्दिन ।
आजसम्म कसैले कहिल्यै नभनेको र आफैले कल्पना सम्म नगरेको कुरा भनिन ।
मैले भने ‘कसरी त्यसतो भन्न सक्छ्यौ ?’
‘मलाइ थाहा छ, तीमीले मान्छे मारेको, चोरी डकैती र गुण्डागर्दी गर्दै हिडेको । पहुचकै आधारमा अपराधलाई ढाकछोप गरेको पनि थाहा छ । म तिम्रो आखाँ राम्ररी पढ्न सक्छु’
त्यसैले म तिमिसंग....
उनी चुपचाप ढोकाबाट बाहिर निस्किन ।
प्रहरी, प्रसासन तथा पिडितको नजरमा पनि म दोशी थिइनँ । अदालत पुग्ने कुरै भएन ।
आजसम्म कसैले मप्रति औलो उठाएका थिएनन ।
गल्ती गरिससम्म भनेनन ।
कसैले नखोजेको यथार्थ उनलाई थाहा रहेछ । सत्यता लुकेको रहेनछ ।
मैले जिन्दगी मानेकी मान्छे हुन उनी । सात बर्षदेखि देख्दै आएको थिएँ ।
अरु जे जे गरेपनि उनलाई नै सहयात्री बनाउने सपना साँचेको थिएँ ।
उनकै प्रतिक्षामा थिएँ ।
तर सबैलाई ढाटेपनि आफैलाई ढाट्न सकिनछु । मेरो आखाँ पढ्न सक्ने उनी? एकपटक ठूलो श्वास फेरेँ ।
त्यही सत्यताका कारण जिन्दगी टाढा जादैछ । त्यसैले म स्तब्ध छु । धन, सम्पती, ऐस आराम सम्पूर्ण भएर पनि रित्तो र एक्लो छु ।

प्रकाशित मिति : प्रकाशन मिति : सोमबार, 29 माघ, 2074

लेखकका अन्य रचनाहरु