साहित्यकार भवानी भिक्षुको जीवनवृत्त

- प्रा. डा. कपिल लामिछाने

पृष्ठभूमि
साहित्यकार भवानी भिक्षु नेपाली साहित्यको समुत्थानमा समर्पित अग्रणी साहित्य साधक हुन् । उनले नेपाली साहित्यको गरिमामय इतिहास बनाउन महŒवपूर्ण भूमिका खेलेका छन् । जीवनभर साहित्यमा समर्पित भिक्षु नेपाली भाषा र साहित्यप्रति इमानदार तथा कर्तव्यनिष्ठ देखिन्छन् । काव्यकविता लेखी नेपाली कवितामा छायावादको प्रवर्तन गर्ने भिक्षु स्वच्छन्दतावादी र मनोविश्लेषणवादी धाराका अग्र पङ्क्तिमा देखिन्छन् । जीवनका प्रतिकूलता र असहजतामा पनि अविचलित रही साहित्यका कथा, कविता र उपन्यास जस्ता विभिन्न विधामा सशक्त उपस्थिति देखाउने भिक्षुका नौवटा कृतिका साथै फुटकर रचनाहरू सिर्जना गरी नेपाली साहित्यको समुत्थानमा उल्लेख्य भूमिका निर्वाह गरेका छन् । कुनै पनि व्यक्तिको साहित्यिक पृष्ठभूमि उसको जीवनमा घटेका घटना, आरोह अवरोह तथा जीवन सङ्घर्षका अनुभूतिहरूले साहित्य लेखनमा प्रत्यक्ष रूपमा प्रभाव पारिरहेका हुन्छन् । भवानी भिक्षुको साहित्यिक यात्रामा पनि उनको जीवनमा घटेका घटनाहरूले अत्यधिक रूपमा प्रभाव पारेको पाइन्छ । यहाँ साहित्यकार भवानी भिक्षुको जीवनका समग्र पक्षलाई स्पष्ट पार्ने उद्देश्यले उनको जीवनीसँग सम्बद्ध केही पक्षलाई सङ्क्षेपमा प्रकाश पारिएको छ ।
पुख्र्यौली
एक साधारण व्यक्ति इन्द्रप्रसाद गुप्ता भारतको बृजमोहनगञ्जबाट व्यापारका सिलसिलामा नेपालको तौलिहवामा आइपुगेका हुन् । इन्द्रप्रसाद कलवार जातिका हुन्, जसको जातीय पेसा खसीको व्यापार गर्नु हो । राणाका पालामा कलवारको पानी चल्दैनथ्यो (भण्डारी, २०४९:३८) । व्यापार गर्दै जाँदा उनी तौलिहवामै घरजम गरी बस्न थाले । नेपालको सौन्दर्य र नेपाली मनले द्रवीभूत भई उनले कहिल्यै पनि भारत फर्केर जाने मन बनाएनन् । बरु तौलिहवा बजारमै घर बनाए । परिवारको सङ्ख्या बढ्दै गएपछि बजारदेखि थोरै पर (५÷६ कि.मी.) गोटिहवा भन्ने ठाउँमा बसाइँ सरी जीविकोपार्जन गरी बसोबास गर्दै आएका हुन् । इन्द्रप्रसाद गुप्ताकी धर्मपत्नी यशोदादेवी गुप्ता हुन् । उनका दाजुभाइ र अन्य नाताकुटुम्ब बारे कुनै जानकारी पाइँदैन ।
जन्म र जन्मस्थान
इन्द्रप्रसाद गुप्ता र यशोदादेवी गुप्ता तौलिहवा बजारमा व्यापारबाट जीविकोपार्जन गरी बस्तथे । तिनका प्रथम पुत्र त्रिवेणी भए, तर सानो (अढाइ–तीन वर्षको) उमेरमै तिनको निधन भयो । दोस्रो पुत्र (माहिलो छोरा) को १९६६ जेठ २१ गते वृहस्पतिबार जेष्ठ शुक्ल पूर्णिमा तिथिमा कपिलवस्तुको तौलिहवामा जन्म भयो । यसले इन्द्रप्रसाद र यशोदादेवी दम्पतिमा खुसियाली छायो । जन्मले माहिला पुत्ररत्न भए तापनि जेठो त्रिवेणीको सानैमा मृत्यु भएकाले परिवारमा भिक्षु जेठा छोरा सहर हुन पुगे । भिक्षुपछि लालमोहर, माखनलाल र मदन गरी तीन छोराहरू जन्मे । गिरिधर नामकी एक छोरी पनि जन्मिइन् ।
भिक्षुको जन्ममितिका बारेमा पहिले अन्योल थियो । तारानाथ शर्माले १९६१, केशवप्रसाद उपाध्याय, आन्नददेव भट्ट, पूर्णप्रकाश नेपाल यात्री आदिले १९७१ र नेत्र एटमले १९७२ लेखेको पाइन्छ । शोधकर्र्ता गोपालप्रसाद भण्डारीले भिक्षुको जन्मकुण्डलीको खोज गरी २०४८ तिर १९६६ जेठ २१ गते उनको जन्म रहेको कुराको खुलासा गरेका हुन् । त्यहाँ उप्रान्त भने उनको जन्ममिति यही हो भन्ने सुनिश्चित भएको हो ।
यसअघि भिक्षु आफैँले पनि १९७१ जेठ २१ गते आफ्नो जन्ममिति लेख्ने बताउने गरेको बताइएको छ । सम्भवतः उनका औपचारिक कागजात (शैक्षिक प्रमाणपत्र, नागरिकता आदि) मा १९७१ जेठ २१ भएकाले भिक्षुले यसो भन्ने गरेका हुन् । अब भने सबै किसिमका भ्रम हटेका छन् र उनको जन्म १९६६ जेठ २१ गते तौलिहवामा भएको पुष्टि भएको छ । तौलिहवाको उनको जन्मघर, गोटिहवाको बाल्यकालको घर अद्यापि छन् ।
नाम, नामकरण
पिता इन्द्रप्रसाद गुप्ता र माता यशोदादेवी गुप्ताका द्वितीय पुत्रको न्वारनको नाम नोहरराम गुप्ता राखिएको हो । एउटा सामान्य व्यापारी परिवारमा जन्मेका नोहरराम चार वर्षको हुँदा तिनलाई बिफरले आक्रान्त पा¥यो । उनी मरणासन्न अवस्थामा पुगे । आमाको मन धरधरी रुन थाल्यो । उनले माता भवानी (शितला देवी) सँग छोराको भिख (भिक्षा) मागिन् । संंयोगले नोहररामलाई सन्चो भयो । फेरि पनि अनुहारमा बिफरले आफ्नो छाप (दाग) छाडेर गयो । आमाले जीवनको भिक्षा मागेर बचाएको भन्ने आशयमा उनलाई भिख्खा भन्न थालियो । त्यसैले उनको घरायसी नाम भिख्खु बाबु रहन गयो । भवानीको प्रसाद स्वरूप पुनर्जीवन प्राप्त गरेको ठानी उनको नाम नै भवानीप्रसाद गुप्ता राखियो र उनको औपचारिक नाम यही भवानीप्रसाद गुप्ता रहन गयो ।
जब उनी जान्ने भए, साहित्यमा लागे अनि उनले आफ्नो साहित्यिक नाम भवानी भिक्षु लेख्न थाले । नेपाली भाषा, साहित्यका क्षेत्रमा नेपाली साहित्यको इतिहासमा भवानी भिक्षु नै उनको सम्मानित नाम रहन गएको छ । ‘मेरुदण्ड’ आदि विविध गुप्त नाउँले समेत रचना गर्ने गरेको जानकारी पाइन्छ (अधिकारी, २०४९:४५४) ।
बाल्यकाल
भिक्षुको बाल्यकाल सङ्घर्षपूर्ण देखिन्छ । पहिलो कुरा त तीनचार वर्षको सानै उमेरमा उनी बिफरको रोगले आक्रान्त भए । यो उनले सानैमा भोगेको दुखद स्थिति थियो । बाबु, आमा र उनीमुनि तीन भाइ र एक बहिनी भएकाले सबैको लालनपालन र पोषण गर्नु पर्दा उनले उनका बाबुआमालाई निकै कठिन भएको देखिन्छ । एउटा सानो व्यापारबाट हुने आमदानीले सात जनाको परिवार पाल्नु सजिलो थिएन । त्यसैले बालक भिक्षुको राम्रोसँग लालनपालन र पोषण हुन पाएन । यसैकारणले उनलाई तौलिहवाका स्थानीय जमिनदार हेमलाल पुरीका सुपुत्र पशुपतिप्रताप पुरीको आश्रयमा पठाइयो । पशुपतिप्रताप पुरी र उनकी धर्मपत्नी तारादेवीको आश्रयमा रहेर उनले आफ्नो बाल्यकाल बिताए । यसले गर्दा उनले आफ्ना आमाबाबुबाट निरन्तर वात्सल्य प्रेम र मायाममता पाइरहन सकेनन् । बाबुआमा हुँदाहुँदै उनी टुहुराटुहुरी जस्तो भई अरूको आश्रयमा बिताउनु प¥यो । यसले उनको कोमल बालमनमा गम्भीर प्रभाव पारेको देखिन्छ ।
शिक्षादीक्षा
भवानी भिक्षुले सामान्य औपचारिक शिक्षा मात्र हासिल गर्ने अवसर पाएका छन् । सुरुमा भारतीय शिक्षक मुक्तनाथ कान्दुबाट उनले घरमै प्रारम्भिक शिक्षा पाएका हुन् । त्यसपछि केही समय उनले भारतको बस्तीबाट नौ कक्षासम्मको शिक्षा हासिल गरे । पछि उनले १२ वर्षको उमेरमा स्वाध्ययन गरी भारतबाट हिन्दी कुलभूषण परीक्षा द्वितीय श्रेणीमा उत्तीर्ण गरे । उनको औपचारिक शिक्षा भनेको यत्ति नै हो । फेरि पनि अध्ययन र लेखन भने उनको जीवनभरको कर्म रहन गयो । उनले स्वाध्ययनबाट आफ्नो ज्ञानको विस्तार गर्दै बौद्धिक क्षमताको विकास गरेका हुन् ।
भाषा र भाषाज्ञान
भवानी भिक्षुको मातृभाषा अवधी हो । उनी अवधी भाषामा बोल्न सक्थे । उनले शिक्षा आर्जन गर्दाको माध्यम भाषा हिन्दी रहेकाले उनी हिन्दीमा पनि बोल्न लेख्न सक्थे । भोजपुरी, बंगाली, उर्दू र अङ्ग्रेजी भाषामा पनि उनको पकड रहेको देखिन्छ । सुरुमा हिन्दीमा लेख्न थालेका भिक्षुले पछि भने नेपाली भाषामा साहित्यको सिर्जना गरे र नेपाली भाषाले नै उनलाई विशिष्ट साहित्य स्रष्टाका रूपमा स्थापित गरी सम्मान प्रदान गरेको छ ।
पारिवारिक जीवन
भिक्षु बाबुआमाका माहिला सन्तान हुन् । दाजु त्रिवेणीको अढाइतीन वर्षको उमेरमै मृत्यु भयो । भवानी भिक्षु पछि लालमोहर, माखनलाल र मदन उनका भाइहरू जन्मे । बहिनी गिरिधर पनि जन्मिन् । भवानी भिक्षुको पारिवारिक जीवन सहज, सफल र सुखन देखिँदैन । बाल्यकालमै पशुपतिप्रताप पुरीको आश्रयमा पु¥याइएकाले सानैदेखि उनी भाइबहिनीसित घुलमिल हुन पाएनन् । पारिवारिक सम्बन्ध प्रगाढ हुन पाएनन् । त्यसपछि पनि पढाइका क्रममा उनी भारतका सहरमा यत्रतत्र गइरहे । त्यसैगरी लेखक हुँदाका सुरुका दिनमा पटकपटक काठमाडौँ जानुपरेको र २००८ देखि काठमाडौँमै बस्न थालेकाले उनी भाइबहिनी र बाबुआमासँग सदैव टाढै रहन बाध्य भए । यसले उनको पारिवारिक सुमुधुर सम्बन्ध स्थापित हुन पाएन ।
भिक्षुका दाजु त्रिवेणीको भिक्षु जन्मनुभन्दा अगाडि नै सानैमा मृत्यु भइसकेको थियो । उनका लालमोहर, माखनलाल र मदन गरी तीन भाइ र गिरिधर नामकी बहिनी जन्मे । बहिनी गिरिधरको विवाह विहारमा भयो भने पछि त्यहाँबाट उडिसातिर बसाइ सरे । अहिले भिक्षुको मूल घर गोटिहवामा गई बुझ्दा भाइ माखनलालका छोरा स्वतन्त्रकुमारको २०४४ मै निधन भएको र घरमा बुहारी मधुमालती, नाती सौरभकुमार र सन्दीपकुमार तथा पनातिनी सारिका र शिखा मात्र रहेको जानकारी पाइन्छ । पनातिनी सारिका जैसवालले भैरहवा बहुमुखी क्याम्पस, भैरहवाबाट एम्.बी.एस् उत्तीर्ण गरेकी हुन् ।
लेखक र एम्.ए. नेपाली विभागका प्राध्यापक तथा छात्रछात्राको टोलीले केही समय अघि गरेको स्थलगत भ्रमणबाट पनि उनको पारिवारिक सम्बन्ध सुमुधुर रहेको पाइएन । उनका काइँला भाइ माखनलालकी छोरा बुहारी मधुमालती गुप्तासँग गोटिहवास्थित घरमा भेट गर्दा यस्तो अनुभूति गरिएको हो । भिक्षुले आफ्नो चलअचल सम्पत्ति र लेखकस्वको उत्तराधिकार सव्यसाचीलाई गरिदिएकोबाट भिक्षुका परिवारजनका मनमा यस्तो असन्तुष्टि र बेखुसी रहेको देखिन्छ ।
दाम्पत्य जीवन
भवानी भिक्षुको पारिवारिक जीवन जस्तै दाम्पत्य जीवन पनि सुखद देखिँदैन । बाल्यकालमा घरपरिवारको आत्मीयता र न्यानो मायाबाट टाढै रहेका भिक्षुले सुखमय दाम्पत्य जीवनका लागि विवाह गरे । उनको यस विवाहको तिथिमिति र विवाहित पत्नीको नामनामेसी जानकारीमा आउन सकेको छैन, तर तिनी बेपत्ता भएको जानकारी पाइन्छ । विपन्नता, अभाव र त्यसमाथि विवाहित पत्नीबाट बिछोड हुनु पर्दा भिक्षु अत्यन्त आहत हुन पुगे । पछि दोस्रो विवाह गरे, तर दोस्री पत्नीको निधन हुन पुग्यो । यसले गर्दा उनले कठोर मानसिक यातना सहन गर्नुपर्ने अवस्था आयो । दुईदुई विवाह गरेर पनि न त उनले दाम्पत्य सुख प्राप्त गरे न सन्तान सुख ।
२००८ देखि उनी शिक्षा विभागका निर्देशक (डाइरेक्टर) भए र काठमाडौँमै बस्न थाले । काठमाडौँमा रहँदा बस्दा उनले घरमा काम गर्ने एक युवती÷महिला राखे । तिनको नाम हो– सावित्री । सावित्रीसँगको सम्बन्धबाट एक पुत्र सव्यसाचीको जन्म भयो । उनी साथीभाइसँग सव्यसाचीलाई ’भतिजो’ भनी चिनाउने गर्थे रे । भवानी भिक्षुले आफू स्वस्थ छँदै आफ्नो काठमाडौँ बानेश्वरमा रहेको घर र चलअचल सम्पत्ति, लेखकीय आमदानी सबैको उत्तराधिकारीका रूपमा सावित्री पुत्र तिनै सव्यसाचीलाई जिम्मा लगाएका हुन् । ‘सावित्रीको बाख्रो’ कथामा आउने सावित्री पात्रमा तिनै सावित्रीको झल्को आउँछ । यसरी हेर्दै जाँदा भवानी भिक्षुको दाम्पत्य जीवन अत्यन्त दुखदायी रहेको देखिन आउँछ । यसको प्रतिबिम्बन उनका कविता, कथा र उपन्यासमा पनि पाइन्छ ।
प्रेरणा र प्रभाव
जहाँ पीडा, व्यथा, अभाव र कुण्ठा हुन्छ, त्यहाँ सिर्जना हुन्छ । यस्तो पनि मान्न सकिन्छ । उनी अभावले गर्दा पशुपतिप्रसाद पुरीको आश्रयमा पठाइएका थिए । पशुपतिप्रताप पुरी सम्पन्न थिए । तिनकहाँ साहित्यिक पुस्तकहरू ल्याइन्थे । साहित्यतिर भिक्षुको ध्यान त्यसै बेलादेखि आकृष्ट भएको हो । त्यहाँ ल्याएका पुस्तक उनी पनि ध्यानपूर्वक पढ्थे । पछि त त्यहाँ पुस्तकालयकै स्थापना भयो । यसर्थ भिक्षुले साहित्यमा लाग्ने प्रथम प्रेरणा उनका आश्रयदाता पशुपतिप्रताप पुरी हुन् भन्न सकिन्छ ।
अध्ययनप्रति भिक्षुको गहिरो अभिरुचि थियो । पशुपतिप्रताप पुरीका आश्रयमा रहँदा साहित्यको अध्ययन गर्ने अवसर पाए । त्यही उनले हिन्दीका प्रेमचन्द, बङ्गालीका शरच्चन्द्र आदिका साहित्यिक कृतिको अध्ययन गरे । यस अध्ययनले उनमा साहित्य सिर्जना गर्ने अन्तःप्रेरणा जागृत हुन पुग्यो ।
उनी काठमाडौँ पुगेपछि ‘शारदा’का सम्पादक ऋद्धिबहादुर मल्ल र साहित्यकार सिद्धिचरण श्रेष्ठबाट उनी अभिप्रेरित हुन पुगे । पशुपतिप्रताप पुरीले १९९३ सालमा तौलिहवामा पुस्तकालयको स्थापना गरेपछि त्यहाँ प्रेमचन्द, शरच्चन्द्र, वङ्किमचन्द्र, आन्तोन चेखभ, म्याक्सिम गोर्की, गल्सबर्दी, एडगर एलेन पो, दस्तोभस्की, मोपाँसा, बाल्जाक, सात्र्र, एमिल जोलाका पुस्तकहरूका राखिए । त्यहाँ लक्ष्मीप्रसाद देवकोटा, बालकृष्ण सम, विश्वेश्वरप्रसाद कोइरालाका तबसम्म प्रकाशित रचनाहरू पनि पुगे । भिक्षुले तिनको अध्ययन गर्ने अवसर प्राप्त गरे । यिनै लेखकको भिक्षुमा प्रभाव पर्न गयो । ‘शारदा’ पत्रिकाका सम्पादक तथा प्रकाशक ऋद्धिबहादुर मल्ल र सिद्धिचरण श्रेष्ठबाट पनि उनले साहित्यमा लाग्ने प्रेरणा प्राप्त गरेको देखिन्छ ।
साहित्यमा प्रवेश
भवानी भिक्षुको प्रथम रचना हिन्दी भाषामा रहेको पाइन्छ । मातृभाषा अवधी भए पनि उनको शिक्षादीक्षाको माध्यम हिन्दी रहन गएकाले उनले पहिले हिन्दीमा साहित्यमा सिर्जना गर्न पुगेका हुन् । उनका हिन्दी रचना भारतबाट प्रकाशन हुने ‘प्रताप’, ‘विशाल भारत’, ‘माधुरी’ र ‘कहानी’ जस्ता पत्रपत्रिकामा छापिएका हुन् । उनको ‘आलोचक र आलोचना’ हिन्दी निबन्धलाई ऋद्धिबहादुर मल्लले नेपालीमा अनुवाद गरी १९९३ कार्तिकको ‘शारदा’ (२÷९) पत्रिकामा प्रकाशित गरे । यसैबाट नेपालीमा उनको पदार्पण भएको हो । ‘वियोग रात्रि’ शीर्षकको गद्य कविता नेपालीमा लेखिएको उनको प्रथम रचना हो । यो १९९३ मङ्सिरको ‘शारदा’ (२÷१०) मा प्रकाशित भएको छ । यसैगरी नेपाली भाषामा प्रकाशित उनको प्रथम कथा ‘मानव’ हो । यो १९९५ साउन भदौको ‘शारदा’ (४÷६) मा प्रकाशित भएको छ । यो उनको प्रकाशित पहिलो कथा हो । यो कथा १९९३ मा लेख्न थालेको र १९९४ मा लेखिसकिएको कुरा उनले गुनकेसरीको भूमिका (प्राक्कथन, पृ.१) मा उल्लेख गरेका छन् ।
यसरी भवानी भिक्षुले सुरुमा हिन्दी भाषामा निबन्ध, कथा लेखे पनि काठमाडौँ आउजाउ र बसाइ तथा ऋद्धिबहादुर मल्ल, सिद्धिचरण श्रेष्ठको सम्पर्कले गर्दा नेपाली भाषामा साहित्य सिर्जना गर्न थालेको देखिन्छ ।
जागिरे जीवन
आफ्नो अन्तर्मुखी स्वभावले गर्दा भिक्षुले आजीविका वा जागिरका निमित्त कहिल्यै कसैलाई भनसुन गरेको पाइँदैन । लगातार दसबार वर्षसम्म काठमाडौँ आउजाउ गरेपछि २००८ सालमा उनले सरकारको प्रचार विभागको निर्देशक पदमा नियुक्ति पाएका हुन् । २०१३ सालसम्म उनले त्यहीँ काम गरे । उनको मुख्य जागिरे जीवन भनेको यही चारपाँच वर्षको हो । उनले ‘शारदा’ १९९७ देखि २००२ को प्रारम्भसम्म ‘धरती’ र ‘बिहान’ आदि पत्रिकाका केही अङ्कको सम्पादनको काम पनि गरेका हुन् । यस अवधिमा पनि उनले लेखनलाई निरन्तरता दिइरहे । २०१४ देखि उनी एकेडेमीमा सदस्य भए र पछिसम्म पनि प्राज्ञ भई काम गरे । पछि उनलाई नेपाल राजकीय प्रज्ञा प्रतिष्ठिानको आजीवन सदस्यता प्राप्त भयो । प्रज्ञा प्रतिष्ठानको स्थापना कालदेखि नै कार्यरत भिक्षुले २०२७ देखि अवकाश लिनुपरेको देखिन्छ । यसरी भिक्षुको जागिरे जीवन अत्यन्त छोटो देखिन्छ भने उनको लेखन यात्रा भने लामो र जीवनपर्यन्त रहेको पाइन्छ ।
भ्रमण
भिक्षुको भ्रमण नेपाल र भारतका केही भूभागमा मात्र भएको छ । सानै उमेरदेखि घरबाट निक्लेका भिक्षु कुनै न कुनै कारणले कतै न कतै हिँडिरहे । विशेष गरी उनले नेपाल र भारतका विभिन्न ठाउँ घुमे । अनौपचारिक यस्ता भ्रमणबाट उनको ज्ञानको पोषण भएको पाइन्छ भने उनले त्यसलाई विभिन्न रचनामा अभिव्यक्त गरेका छन् । यात्रा संस्मरण लेखेका छन् भने कतै त्यसलाई कथाको रूपमा प्रस्तुत गरेका छन् । उनका उपन्यासमा पनि त्यसको झलक पाउन सकिन्छ ।
भिक्षु २०१३ मा भारतको दिल्लीमा भएको एसियाली लेखक सम्मेलनमा लक्ष्मीप्रसाद देवकोटाको नेतृत्वमा गएको आठ सदस्यीय नेपाली लेखकहरूको प्रतिनिधि मण्डलको सदस्यका रूपमा सहभागी हुन पुगे । यो उनको औपचारिक भ्रमण थियो । सोही क्रममा भारत सरकारका तर्फबाट आयोजित तीन दिने दक्षिण भारतको भ्रमण पनि गर्ने अवसर पाए । यसै क्रममा उनले वाराणसी, दार्जिलिङ, सिलाङ, सिक्किम र पूर्वी नेपालको पनि भ्रमण गरे । यसरी भवानी भिक्षुले नेपाल र भारतका विभिन्न भूभागको भ्रमण गरी आफ्नो प्राज्ञिक पोषण गरेको पाइन्छ ।
साहित्य सिर्जना
भवानी भिक्षुलाई हामी उनका सिर्जनाका कारणले नै सम्झिरहन्छौँ । उनी सिर्जनाबाटै स्थापित हुन पुगेका हुन् । उनको योगदानको क्षेत्र भनेकै साहित्य सिर्जना हो । १९९० को दशकदेखि जीवनपर्यन्त उनी सिर्जन कार्यमा लागिरहे । साहित्य सिर्जना नै उनको जीवनको शीर्षस्थ प्राप्ति पनि हो । भवानी भिक्षुका प्रकाशित पुस्तकाकार साहित्यिक कृतिहरूमा गुनकेसरी (२०१७) (१९९५ देखि २००४ सम्मका कथाहरू), मैयाँ साहेव (२०१७) (२००५ देखि २०१७ सम्मका कथाहरू), आवर्त (२०२४) (२०१८ पछिका कथा र सुभद्रा बज्यै उपन्यास) र अवान्तर (२०३४) (२०२५ पछिका कथाहरू) जस्ता कथासङ्ग्रह, सुभद्रा बज्यै (२०१९) (आवर्त कथा सङ्ग्रहमा) लघुउपन्यास, आगत (२०३२) वृहत् उपन्यास, पाइप नं. २ (२०३४) लघुउपन्यास र सुन्तली २०४०) (गरिमाको वैशाख–भदौ पत्रिकामा धारावाहिक) लघुउपन्यास तथा छाया (२०१७) (१९९७ देखि २००१ सम्मका कविताहरू), प्रकाश (२०१७) (२००६ देखि २०११ सम्मका कविताहरू), परिष्कार (२०१७)(२०१३ देखि २०१५ सम्मका कविताहरू) कवितासङ्ग्रह रहेका छन् ।
यी कथा, उपन्यास, कविताका पुस्तकाकार कृतिका अतिरिक्त उनले एकाङ्की र निबन्धको पनि रचना गरेका छन् । ‘पर्दा पछाडि’ -२०३०) उनको एकमात्र प्रकाशित एकाङ्की हो । उनले ‘भिक्टर ह्युगोको प्रेमकथा’को अनुवाद गरेका छन् । उनले निबन्ध लेखेका भए पनि ती पुस्तकाकार रूपमा आउन सकेका छैनन् । उनका निबन्ध अद्यापि पत्रपत्रिकामै छरिएर रहेका छन् ।
कथाकारका रूपमा भवानी भिक्षु रतिरागात्मक कथा लेख्ने एक सशक्त मनोवैज्ञानिक कथाकार हुन् । उनी नारी मनोदशा र दमित यौनको सजीव र सूक्ष्म चित्रण तथा वर्गीय विभेदको चित्रण गर्नमा केन्द्रित छन् । संस्कृतनिष्ठ भाषाशैलीको प्रयोक्ताका रूपमा पनि उनी परिचित छन् । गुनकेसरी (२०१७) मा १५, मैया साहेव (२०१७) मा ११, आवर्त (२०२४) मा १० र अवान्तर (२०३४) मा ८ गरी ४४ तथा ‘विधाताको शिल्प’ (२०३३) र ‘स्वार्णव’ (२०३४) गरी भिक्षुका ४६ कथाहरू प्रकाशित भएका छन् । अवान्तर (२०३४) मा ‘पर्दा पछाडि’ शीर्षकको एक एकाङ्की पनि प्रकाशित भएको छ । यसलाई कतिले नाट्यकथा भनी भिक्षुका कथाको सङ्ख्या ४७ बताएका छन् ।
उपन्यासकारका रूपमा भवानी भिक्षु एक कुशल मनोविश्लेषक देखापर्छन् । सुभद्रा बज्यै (२०१९), पाइप नं. २ (२०३४) र सुन्तली (२०४०) लघुआकारका उपन्यास हुन् भने आगत (२०३३) त्यति बेलासम्मको सर्वाधिक विशालकाय उपन्यास हो । यसलाई महाउपन्यास पनि भन्ने गरिएको छ । उपन्यासमा उनले मानवमनका केस्राकेस्रा केलाएका छन् । मानव मनका अन्तरकुन्तर चाहारेका छन् । विस्तृत पृष्ठाधार र परिवेशलाई समेटेका छन् ।
कविका रूपमा उनी एक छायावादी कवि हुन् । अङ्ग्रेजी रोमान्टिसिज्म नेपाली कवितामा स्वच्छन्दतावाद र हिन्दीमा छायावादका रूपमा अवतारित भएको हो । आरम्भमा हिन्दीमा लेख्ने भिक्षु हिन्दी छायावादबाट प्रभावित भई सोही अनुरूप नेपालीमा कविता रचना गर्ने छायावादी नेपाली कविका रूपमा स्थापित भएका छन् । २०१७ मा एकै वर्षमा उनका छाया, प्रकाश र परिष्कार शीर्षकका तीन कविता सङ्ग्रह प्रकाशित भएका छन् ।
एक एकाङ्की र केही निबन्ध लेखेका भए पनि नेपाली कथा, उपन्यास र कविताका क्षेत्रमा उनको विशेष योगदान रहेको छ । उनी एक कट्टर राष्ट्रवादी सशक्त साहित्य स्रष्टा हुन् । उनलाई भविष्यमा समेत स्मरण गरिने उनका यी कृति नै हुन् । साहित्यका कविता, आख्यान र निबन्ध जस्ता प्रमुख विधामा कलम चलाए पनि कविता र आख्यान नै भिक्षुको मुख्य सिर्जना क्षेत्र रहन गयो । कविता, कथा र उपन्यासमा नै उनले सङ्ख्यात्मक र गुणात्मक योगदान दिन सकेको पाइन्छ । नाटक उनले लेखेनन् । एउटा एकाङ्की लेखे र धेरै निबन्ध लेखे, तर पनि निबन्धको सङ्ग्रह तयार हुन भने सकेन । सामान्यतया तीन कविता सङ्ग्रह तीन, चार कथा सङ्ग्रह र चार उपन्यास गरी उनका प्रकाशित एघार कृति देखिन्छन्, तर सुभद्रा बज्यै उपन्यास आवर्त कथा सङ्ग्रहमा र सुन्तली उपन्यास गरिमा पत्रिकामा भएकाले पुस्तकाकारमा भने नौवटा कृति मात्र रहेका छन् ।
रुचि र स्वभाव
भिक्षुको स्वभाव विचित्रको थियो । अत्यन्त वैयक्तिक विषय रुचि र स्वभाव पनि सामाजिक आर्थिक अवस्थाले गर्दा निर्धारित हुन पुग्दछ । बाबुआमा हुँदाहुँदै पनि सानैमा बाबुआमादेखि पर अरूको आश्रयमा रहनु परेको र ती आश्रयदाता कहाँ पनि लामो समय बस्न नपाएको जस्ता कारणले उनका मनमा गहिरो प्रभाव छाडेको पाइन्छ । त्यतिमात्र होइन दुईदुई विवाह गरेर पनि दाम्पत्य जीवन सुखद नहुनुले उनमा हताशा निराशाले ठाउँ लिएको देखिन्छ र जीवनभर एकलकाटे भएर बस्नु पर्नाले उनको स्वभाव निर्माण गरेको छ ।
मन नपरे छिट्टै रिसाउने र मन परे छिट्टै खुसाउने, सानो कुरामा पनि मन दुखाउने, चिन्तित हुने उनको स्वभाव थियो । दुई विवाह गरे पनि नारी सुखबाट विमुख भएर होला उनी नारी देखेपछि हेरिरहन्थे । यो उनको कमजोरी थियो भने अर्कातिर कथा र उपन्यास लेखनका लागि सामल जुटाउने तौरतरिका पनि थियो सायद । यसैले हुन सक्छ, उनी आफ्ना आख्यानमा नारी मनोदशाको चित्रण गर्नमा अत्यन्त सफल भएका छन् । उनले आफ्ना आख्यानमा नारी सौन्दर्य र नारी मनका अन्तरकुन्तर मसिनो गरी केलाएका छन् ।
खानाका थरीथरीका परिकार पकाउन, खान, खुवाउनमा उनको खुब रुचि हुन्थ्यो । यसको झलक हामी उनको आगत उपन्यासमा पनि पाउँछौँ ।
उनी सदा सादा तर स्वच्छ परिधानमा हुन्थे । सादगी र स्वच्छता उनको रुचिको विषय थियो । उनी भावुक स्वभावका थिए । भवानी भिक्षुका समकालीन पण्डित भोलानाथ शर्मा पौडेलका अनुसार भिक्षु सङ्गीत प्रेमी थिए । खेल्ने खेलाउने गर्थे । उनी औधी मनोविनोदी थिए (भण्डारी, २०४९:३६–३७) ।
आफूले लेखेका रचना अरूलाई सुनाउने सोख थियो । उनी तौलिहवामा छँदा पनि प्रेमचन्द आदिका रचना सुनाउँथे । काठमाडौँमा रहँदा बस्दा, केशवराज पिँडाली, मदनमणि दीक्षित आदिलाई उनले आफ्ना रचना सुनाउन कोठामै बोलाएको पाइन्छ ।
पदक, पुरस्कार र सम्मान
भवानी भिक्षु जीवनभर नेपाली साहित्यकै साधनामा समर्पित भइरहे । उनी नेपाली कविता, कथा र उपन्यासको समृद्धिका लागि अहोरात्र खटिरहे । उनले अनेक हन्डर, अपमान र पीडालाई पिउँदै सङ्घर्षमय जीवन बिताएर भए पनि साहित्य सिर्जनालाई भने छाडेनन् । उनका कृतिहरू त्यसैका प्रत्यक्ष प्रतिफल हुन् भन्न सकिन्छ ।
उनले आगत उपन्यासका लागि २०३२ को साझा पुरस्कार तथा मदन पुरस्कार प्राप्त गरेका हुन् । भाषा साहित्यमा उनले पु¥याएको योगदानको कदर स्वरुप २०३६ मा उनलाई नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानबाट त्रिभुवन प्रज्ञा पुरस्कारबाट सम्मान गरिएको हो । सन् १९५८ मा गोरखा दुःख निवारण सङ्घ (दार्जिलिङ) ले उनलाई अभिनन्दन गरेको हो ।
उनको सम्मान गर्दै उनको नामबाट कपिलवस्तु साहित्य समाजले एक साहित्य स्रष्टालाई पुरस्कृत गर्ने गरी भवानी भिक्षु पुरस्कारको स्थापना गरेको पाइन्छ । यसबाट २०५१ मा मोदनाथ प्रश्रित पहिलो पटक पुरस्कृत भएका हुन् भने त्यसपछि पनि विभिन्न साहित्य स्रष्टा सम्मानित र पुरस्कृत हुँदै आएका छन् ।
यसरी साहित्य सिर्जना गरेवापत र साहित्यमा समर्पित भएवापत् भवानी भिक्षुले जनस्तरबाट र सरकारी स्तरबाट केही न केही सम्मान र पुरस्कार पाएका छन् । उनले कुनै पदक पाएको भने देखिँदैन ।
बाह्य व्यक्तित्व
भवानी भिक्षु झट्ट देख्दा सुन्दर र आकर्षक थिएनन् । होचो कद, छ्याकटे अनुहार र श्याम वर्ण उनको हुलिया थियो । बोलीमा पनि आकर्षण थिएन । झनक्क रिसाउने र खुसी हुँदा भावुक भइहाल्ने उनको बानी थियो । उनी सौन्दर्यका पारखी थिए । उनका साहित्यको अध्ययन गर्ने मानिसले भिक्षुको बाह्य स्वरूप वा बाह्य शारीरिक बनावट यस्तो होला भनी सोच्नै सक्दैन । यसै गरी उनै सधैँजसो सादा स्वच्छ पोसाकमा रहन्थे ।
रोगाक्रान्त र निधन
१९६६ जेठ २१ मा कपिलवस्तुको तौलिहवामा जन्मेका भवानी भिक्षु २०३१ देखि फोक्सोको क्यान्सरले आक्रान्त भए । सानोमा बिफरसँग त उनले विजय पाएका थिए, तर बुढेस कालमा उनले क्यान्सरलाई जित्न सकेनन् । अन्ततोगत्वा २०३८ वैशाख ४ गते काठमाडौँमा उनको दुखद निधन हुन पुग्यो ।
निष्कर्ष
यसरी नेपाली साहित्यमा यति ठूलो योगदान गर्ने भिक्षुले पारिवारिक सुख र सन्तोष पाउन भने सकेनन् । एकातिर उनले बल्यकालमै घर छाडी बाहिर बस्नु पर्यो भने अर्कातिर दुईदुई विवाह गर्दा पनि दाम्पत्य जीवन सफल हुन सकेन । पहिली श्रीमतीले छाडेर गइन् भने दोस्री श्रीमती विवाह गरेको केही वर्षपछि दिवंगत भइन् । एकमात्र जीवित भाइ माखनलालसित अंशबन्डामा कुरा नमिल्दा मनमुटाउ भइरह्यो । त्यसैले परिवारदेखि अलगथलग भई करिब सारा जीवन एक्लै बस्नु परेकाले उनी कुनै बौद्ध भिक्षु नभए पनि उनको जीवन साच्चैको एकाकी र भिक्षुको जस्तो रहन गयो । उनी विनोदी पनि थिए र त्यही शैलीमा भन्ने गर्थे– मेरो त नामै भिक्षु कामै भिक्षु ।
वस्तुतः भवानी भिक्षु साहित्यको समुत्थानमा समर्पित साधक हुन् । नेपाली साहित्यको इतिहास निर्माणमा उनको अहम् भूमिका छ । नेपाली कवितामा छायावादको प्रवर्तन गर्ने भिक्षु स्वच्छन्दतावादी र मनोविश्लेषणवादी धाराका अग्र पङ्क्तिमा देखिन्छन् । जीवनका जटिलता, प्रतिकूलता र असहजताका बीचमा पनि उनले कथा, कविता र उपन्यासमा सशक्त उपस्थिति देखाएका छन् । तराई मूलबाट उठेका साहित्यकारका रूपमा उनका योगदानलाई उछिन्ने स्रष्टा अद्यापि देखापरेको छैन । उनी नेपाली साहित्यका एक अमर साधक हुन् ।
सन्दर्भसूची
अधिकारी, अच्युतरमण (२०४९). ‘एउटा भिक्षुको कथा’ उन्नयन. पूर्णाङ्क १०, पृ. ४५४–४६१ ।
एटम, नेत्र (२०६१). ‘औपन्यासिक गति’ समालोचनाको स्वरूप. ललितपुर : साझा प्रकाशन ।
गौतम, दीपकप्रसाद (२०५८). “आगत उपन्यासको कृतिपरक अध्ययन” त्रि. वि. नेपाली केन्द्रीय
विभाग, कीर्तिपुरमा प्रस्तुत स्नातकोत्तर शोधपत्र (अप्र.)।
पौडेल, तेजप्रसाद (२०४७). “उपन्यासकार भिक्षुका औपन्यासिक कृतिहरूको विश्लेषण” त्रि.वि.
नेपाली केन्द्रीय विभाग, कीर्तिपुरमा प्रस्तुत स्नातकोत्तर शोधपत्र (अप्र.)।
प्रधान, कृष्णचन्द्रसिंह (२०३७). नेपाली उपन्यास र उपन्यासकार. ललितपुर : साझा प्रकाशन ।
भण्डारी, गोपालप्रसाद (२०४९). ‘भैरहवादेखि गोटिहवासम्म’= उन्नयन. पूर्णाङ्क १०, पृ. २८–३८ ।
भाउपन्थी (सम्पा.), (२०६७). भवानी भिक्षु : कृतित्व र व्यक्तित्व. काठमाडौँ : नेपाल प्रज्ञाप्रतिष्ठान ।
राई, इन्द्रबहादुर (२०५०). नेपाली उपन्यासका आधारहरू, दोस्रो संस्करण. ललितपुर : साझा प्रकाशन ।
लामिछाने, कपिलदेव (२०६७). ‘नेपाली उपन्यासमा भवानी भिक्षु’ भृकुटी. पूर्णाड्क ७, वैशाख-असार, पृ.२६–५३ ।
सुवेदी, राजेन्द्र (२०५३). नेपाली उपन्यास परम्परा र प्रवृत्ति. वाराणसी : भूमिका प्रकाशन ।
--

प्रकाशित मिति : प्रकाशन मिति : सोमबार, 15 माघ, 2074

लेखकका अन्य रचनाहरु