मर्निङवाक टोली

- तुलसीहरि कोइराला

आज पनि उसैगरी नै कालेले ख्वाँइमायाको सलले पसिना पुछ्यो सिनित्त पारेर। उसले पुछिसकेपछि डाक्टर, पत्रकार, पसले साहू र मोटरसाइकल पार्टस् व्यापारी पनि हारालुछै जस्तो गरी आ-आफ्ना पसिना पुछ्न थाले ख्वाँइमायाको सलले।

त्यसो त सबैका नै पुछ्नैपर्ने गरी पसिना आएका पनि थिएनन् तर त्यसरी पुछ्ने क्रममा पनि एकखालको नियमितता थियो। बरु तप्प तप्प पसिना चुहिरहेको ख्वाँइमायाको अनुहार भने पुछिएको हुँदैनथ्यो। मर्निङवाकपछिको व्यायामले गर्दा निस्किएको शारीरिक तापले रातो भएको छ ख्वाँइमायाको अनुहार। उसको नाक र चिउँडोबाट तप्प तप्प पसिनाका थोपा झरेर शीतले भिजेको चउरको दूबोमा विलिन भइरहेका थिए। ख्वाँइमायाको अनुहारबाट जति बढी पसिना निस्किन्छ उति भरभराउँदो देखिँदै जान्छ उनको मुखमण्डलको आभा।

सबैले एकसरो पसिना पुछिसकेपछि पत्रकार मतिर फर्कियो र मुसुक्क हाँस्यो। उसको हँसाइको भावमा जति कुटिलता झल्किन्थ्यो, उति नै मप्रति व्यंग्य पनि मिसिएको थियो। म पनि पत्रकार भन्ने थाहा पाएपछि मसँग उसले चिनजान बढाएको थियो। उसँग हाइहेल्लो चल्दाचल्दै त्यो ग्रुपका सबैसँग सामान्य रूपमा म पनि परिचित भइसकेको थिएँ। खै आज के सोच्यो पत्रकारले र म नजिकै आएर सोध्यो— तपाईं पनि ख्वाँइमायाको सलले पसिना पुछ्ने हो ?

पहिलो त पुछ्नैपर्ने गरी मेरा पसिना नै निस्किएका थिएनन्। त्यसमाथि ख्वाँइमायासँग उति नजिक भइसकेको पनि छैन म, उनीहरूको जसरी सल तानेर पसिना पुछ्नलाई। अझ भन्नैपर्दा, एउटा सलमा पाँचपाँच जनाले मुख दलिसकेपछि मैले छैटौं मुख दल्नुको मतलब अरूका पसिनाको गन्ध लिनु मात्रै हो र त्यस्तो गन्धलाई मेरो नाकले दुर्गन्ध मान्दै आएको छ। मैले भैगो, म पुछ्दिनँ, मेरा पसिना नै आएका छैनन् भनिदिएँ पत्रकारलाई।

ख्वाँइमायाले हामीबीचको संवाद सुनिछिन्। मतिर फर्किएर बोलिन्, ‘पुछ्न मन भए पुछे भइहाल्छ नि।’

मर्निङवाकको यो रमाइलो दृश्य त्यस वरिपरिका कसैको लागि पनि अनौठो थिएन। मेरो लागि त झन् अनौठो हुने प्रश्नै उठ्दैनथ्यो। उनीहरूसँग परिचय हुनुभन्दा अघिदेखि नै यो दृश्यसँग म परिचित थिएँ। त्यसपछि मात्र दृश्यका पात्रहरूसँग परिचय भएको हो। यसलाई यसोभन्दा नि हुन्छ— नाटक हेर्दाहेर्दा नाटकका पात्रहरूसँग नि म परिचित भइसकेको थिएँ।

मैले सुरुसुरुमा ख्वाँइमायाका बारेमा अनुमान लगाएको थिए कि यी चार जनामध्येमा कालेकी चाहिँ ऊ श्रीमती हो र अरू चार जना उसका देवर, भाइ, भदाहा हुन सक्छन्।

मैले यसरी अनुमान लगाउनुमा केही तथ्य मेरा आँखाले भेट्टाएका थिए। जस्तो कि, काले आफूले व्यायाम गर्नुभन्दा पनि ख्वाँइमायालाई व्यायाम गराउनमा ज्यादा दिलचस्पी दिइरहेको हुन्थ्यो। ख्वाँइमायालाई हात र खुट्टाको तालमा बुरुक्क बुरुक्क उफ्रिनलाई हौस्याउँदै सिकाउँथ्यो। उसको भ्यात्त परेको पेट र त्योभन्दा माथिका निक्कै गह्रुँगाझैं देखिने सामग्री व्यायाममा उफ्रिँदाको तालमा औधि नै वाचाल देखिन्थे। ख्वाँइमायाको त्यो दृश्य ऊ ज्यादै नजिकबाट हेथ्र्यो। ख्वाँइमाया गलेर फतक्क भएर स्वाँस्वाँ गर्दै बिसाएपछि मुसुक्क हाँस्दै ख्वाँइमायाको पेट सुम्सुम्याउँथ्यो ऊ र भन्थ्यो— हेर त, स्वातसुत्तै घटेर अब त जिरो फिगरमै आइहालिन् नि !

ख्वाँइमायालाई फुक्र्याएपछि साथीहरूतिर फर्किन्थ्यो ऊ र आँखा झिम्क्याउँथ्यो। त्यसपछि सबै जना एकसाथ हाँस्थे ‘लाफिङ थेरापी’ भन्दै। हाँसोले पूरै चउरको वातावरणलाई कोलाहलमय बनाएर टाढाटाढासम्म गुञ्जिन्थ्यो। ख्वाँइमायालाई भने लाजले फतक्क गलाउँथ्यो र थचक्क बस्थिन् दूबोमा। कालेले आराम गरेर बस्नै दिँदैनथ्यो। तानेर उठाउँथ्यो र पिटी खेलाउन सुरु गराइहाल्थ्यो— एक-दुई, एक-दुई।

ख्वाँइमाया र उनको अघिपछि लाग्ने यो टोलीकै कारण मेरो अल्छी पाराको मर्निङवाकले पनि केही समयदेखि निरन्तरता पाइरहेको थियो। मर्निङवाक गर्ने-गराउनेको रमाइलो जति हुन्थ्यो, वरपरका रमितेहरूलाई पनि आँखाको रमाइलो थियो। कतिपय न धपेडीमा हिँडिरहेका हुन्थे, न त व्यायाम नै गरेका देखिन्थे र पनि नियमितजस्तै देखिन्थे तिनीहरू पनि।

अर्को रमाइलो कुरा त, कुनै दिन कारणवश उनीहरूमध्ये कुनै एक जना आएको छैन भने उसको बारेमा काट्नसम्म कुरा काटिरहेका हुन्थे उनीहरू। पत्रकार आएको छैन भने उनीहरू— आज कता मुन्टिएछ ठग पत्रकार, कतै असुलीमा हिँडेको होला ‘झोले पत्रकार’ भनिहाल्थे। उसको साप्ताहिक पत्रिका कुन हो भन्ने पनि उनीहरूलाई थाहा थिएन र त्यो पत्रिका निस्किन्छ कि निस्ँिकदैन भन्ने पनि थाहा थिएन।

पसलेलाई त झन् नामै ‘जिरामेथी’ राखेकै हुन्। मोटरसाइकल पार्टस्वालालाई पनि ‘ग्यारेजमिस्त्री’ भन्थे। उसको कामको बारेमा सबैलाई जानकारी भएझैं भन्थे— त्यसको काम नै टायरमा हावा भर्ने र पन्चड टाल्ने त हो नि। डाक्टरको बारेमा पनि उनीहरू उसरी नै भन्थे— खै त आज ‘प्रसूति डाक्टर ? ’ सुत्केरी गराउँदा गराउँदा आफैं सुत्केरी भयो कि के हो कम्पाउन्डर ?

ख्वाँइमायाको बारेमा भने उनीहरू कुनैले पनि एक शब्द नराम्रो चुहाउँदैनथे। कुनै बिहान ऊ आएकी छैन भने उनीहरू गहिरो शोकमा परेका छन् जस्तो देखिन्थ्यो। उनीहरूमा कुनै जाँगर नै देखिँदैनथ्यो। लाग्थ्यो— ख्वाँइमायाले उनीहरूको जाँगर जति पोको पारेर उसँगै राखेकी छ र ऊ आई भने मात्रै जाँगरको पोको फुकाएर सबैलाई भागशान्ति बाँडिदिन्छे। त्यसैले ऊ नआएको बिहानीको मर्निङवाक उनीहरूका लागि ‘दिक्कवाक’ भइदिन्थ्यो।

उसको नाम ख्वाँइमाया राखिनुको कारण नै यसैमा रहेछ भन्ने भेउ पाउन मलाई धेरै दिन लागेनथ्यो। महिनाको तीन दिन ऊ मर्निङवाकमा आउँदिनथी। यी तीन दिन उनीहरूका लागि तीन महिनाजस्ता लाग्थे। उनीहरू कुनै एक्सरसाइज नै नगरी गफैगफमा बिहान बिताउँथे। बरु हिँड्नमा फाइदा छ, वरिपरिको हरियाली हेर्दै हिँड्दा आँखालाई डाइट पुग्छ भन्थे र हिँडिहाल्थे। ख्वाँइमायाको वास्तविक नाम त ‘माया’ मात्रै रहेछ। ऊ आउन ढिलो गरेको दिन अथवा नआएको दिन उसको खोजी गर्दै ‘खै माया ? ’ भन्दाभन्दै नामै खैमाया र यसैको भाषिक अपभ्रंशित रूप ‘ख्वाँइमाया’ बनाएका रहेछन्।

उनीहरूका कारण मेरो मर्निङवाक पनि नियमित नै भइरहेको थियो। अन्यथा म उति जाँगरिलो मान्छे त होइन। ख्वाँइमाया नआएको दिन पनि उनीहरूको जस्तो जाँगरको पोको उसले नै लगेको जस्तो मलाई हुँदैनथ्यो। उसको उपस्थितिमा बेग्लै रमाइलो त हुन्थ्यो भने नआएको दिनमा पनि टोलीको खाइखाइ र खुइखुइ हेर्न लायकको हुन्थ्यो।

उनीहरू सबैको घर एक-अर्कोको टोल छिमेकमै रहेको गफैगफमा मैले थाहा पाएको थिएँ। ख्वाँइमायाको श्रीमान् वैदेशिक रोजगारीमा गएको छ भन्ने थाहा पाउन केही समय लागेथ्यो मलाई। साउदी जानुभन्दा पहिले मोटरसाइकल पार्टस् व्यापारी भनिएको कालेकै ग्यारेजमा काम गर्ने ख्वाँइमायाको लोग्नेलाई उनीहरूले नै पैसा हालिदिएर विदेश पठाइदिएका रहेछन्। दुखियालाई जहाँ गए पनि उसको दुःख सँगसँगै गएको हुन्छ भनेर नै ‘नेपाल गए कपालसँगै, बर्मा गए कर्मसँगै’ भनेका हो रहेछन्। साउदी गएको दुई महिनामै ख्वाइमायाको लोग्ने एउटा सामूहिक बलात्कारको केसमा जेल परेको रहेछ। उसको लोग्ने त्यसमा संलग्न थियो कि थिएन भन्ने पत्ता लगाउन र संलग्न नभएको भए झुठा अभियोगको विरुद्धमा अदालतको ढोका ढकढक्याउन त्यो हदसम्मको दुःख कसले गरिदेओस्। भन्न त ख्वाँइमायालाई मर्निङवाक टोलीका सबैले नै ‘हामी पहल गरिरहेका छौं, केही समयपछि छुट्छ, पिर नमान, हामी छौं’ भनेका रहेछन् र भरणपोषणको जिम्मेवारी नि वहन गरेका रहेछन्। लोग्नेलाई विदेश पठाइदिनु, यता उसको दुःखमा सहयोग र भरणपोषण गर्नु, त्योभन्दा ठूलो सहयोग के हुन्छ ? यी सबै कुरा थाहा पाइसकेपछि उसको सलले पालैपालो सबैले पसिना पुछेको पनि मलाई ठीकै हो जस्तो लाग्न थालेको थियो। अनि बिहान बिहान यसो चउरमा भेटिएको भरमा उनीहरूकै जसरी म कुन हकले ख्वाँइमायाको सलमा आफ्नो मुख दल्न सक्थेँ ?

उनीहरूको मर्निङवाक टोलीमा सबैभन्दा पछि थपिएको सदस्यचाहिँ डाक्टर रहेछ। उसको अगाडि त सबै जना नै उसलाई निक्कै मान गरेको देखाउँथे र ‘डाक्टरसाब’ नै भन्थे तर नआएको दिन चाहिँ उसलाई ‘कम्पाउन्डर’मा झारिहाल्थे। कम्पाउन्डर नै भने पनि उसप्रति ख्वाँइमाया लगायतको पूरै टोली उसको अगाडि अनुगृहित देखिन्थ्यो।

मर्निङवाकको रमाइलोमा केही समयपछि एकाएक ग्रहण लागेजस्तो भयो। यसको मूल कारण त ख्वाँइमायाको अनुपस्थिति नै हो। ख्वाँइमाया मर्निङवाकमा आउन छोडेको हप्ता दिनसम्म त एकदुई जना आउँदै थिए तर त्यसपछि भने उनीहरूको पूरै टिम नै गायब भयो। डाक्टर त झन् अलिक अगाडिदेखि नै आउन छोडिसकेको थियो। यो टोली एकाएक हराउनुको रहस्यले मलाई भित्रभित्रै चिमोट्न थाल्यो। मान्छेको स्वभाव पनि अचम्मकै हुन्छ, न आफन्त, न चिनजानका घनिष्ठ, न त आफ्नै टोलका ! तैपनि यो रहस्यको नजिक पुगेर कौतूहल मेटाउने भोकले मलाई गुप्तचरीको ठूलै जिम्मेवारी पाएको कर्मचारीजस्तै बनाइदियो। चिताइसकेपछि कुनै पनि रहस्यको पोको फुकाउन गाह्रोचाहिँ नहुने रहेछ, भलै मेहेनत र परि श्रम भने बढी नै परोस्।

ख्वाँइमाया र पसिना ग्रुपबीचको गाढा सम्बन्धको परिणाम उसको लालनपालनमा गाँसिएको जिम्मेवारीमा मात्रै सीमित रहेन। लोग्ने साउदीको जेलमा परेको श्रीमतीलाई छिट्टै उसको श्रीमान्लाई जेलबाट निकाल्न पहल गरिरहेका छौं भन्दै पसिना ग्रुपले लिएको फाइदाको परिणामको पोको पटकपटक डाक्टरको क्लिनिकमा बिसाइसकेकी थिई ख्वाँइमायाले। यो पटक भने उनीहरूले ख्वाँइमायालाई नै उल्टै सुनकुखुरी बनाउने व्यवसाय फेला पारेछन्। उसलाई एउटा कोठाको बासबाट सिंगो फ्ल्याटमा आरामसाथ सारिदिएका रहेछन्। संयोग नै कस्तो मिलेको भने मेरो घनिष्ठ मित्रको घरमा उसको अहिलेको डेरा भएको पत्तो लागेको दिन मेरो पैतालामा गडेको डम्फरको काँडा फुत्त निस्किएजत्तिकै हलुका भएँथेँ म।

मित्रको घरमा गएको बेला घाम तापेर बसिरहेकी स्वास्नीमान्छेलाई देखाउँदै मसँग मित्रले गनगन गरेथे— ऊ त्यो आइमाईलाई हेर न सन्तोष, यहाँ फ्ल्याट लिएर बसेकी छे। लोग्ने विदेश गएको छ भन्छे। कहिले को, कहिले को आएको देख्छु। कुनैलाई मामा भन्छे, कुनैलाई देवर भन्छे, कुनैलाई भाइ। यसको चाल देख्दा त ती आउने उसका आफन्तहरूमाथि पनि मलाई त शंका लाग्छ। भन्दा पनि के भन्नु ? भाडा पनि अग्रिम नै तिरिरहेकी छे। निकालिदिऊँ भने पनि कसरी निकालिहाल्नु, सरेको पनि धेरै भएको छैन। पेट बोकेकी छे। यस्तो अवस्थामा मानवीय नाताले पनि हेर्नुपर्‍यो नि फेरि, हैन र ?

साथीका अन्तिमका शब्द ‘हैन र ? ’ को आशयले मसँग सकारात्मक समर्थन खोजेजस्तो बुझिन्थ्यो। उसले समस्या पर्नसक्ने आशंका पनि व्यक्त गरिरहेको छ र मानवीय नाताबाट पनि सकारात्मक सोचिरहेको छ। ‘ए हो र ! यस्तै हो दुःखैदुःखको संसार’भन्दा थप केही भन्न चाहिनँ मैले। त्यति बेलै त्यो महिला घामबाट उठेर भित्र जान लागेकी थिई र ऊ अगाडि आउँदै गर्दा मैले झट्टै चिनिहाले ख्वाँइमायालाई ! चिनेर पनि मैले त्यहाँ बोलिहाल्नु पक्कै पनि हुँदैनथ्यो। बरु ख्वाँइमायाका नजर माथि उचालिएर बरन्डाको मसम्म आउने पो हुन् कि भनेर तुरुन्तै अर्कोतर्फ फर्किहाल्ने होश पुर्‍याइहालेँ।

मेरो कुनै लिनु न दिनु, तैपनि यो ख्वाँइमायाको जालो आँखैअगाडि र्‍याउँर्‍याउँ गरिरहेझैँ भइरहन्थ्यो। उसलाई देखिसकेपछि एकाएक सबै हटेर गयो। ठूलै समस्याबाट मुक्ति पाएजस्तै हलुका भएथेँ म। साथीकहाँ जाने क्रम एकाध महिनाको अन्तरमा जारी नै राखेको थिएँ र कतै झ्वाट्ट अगाडि पर्ने पो हो कि ख्वाँइमाया भन्ने आशङ्काले माक्स नखोली नै भित्र छिर्थें। कहिले ख्वाँइमाया देखिन्थी, कहिले देखिन्नथी। देखिँदा नि मैले देखेँ तर उसले मलाई देखिन जत्तिकै भइरह्यो। ऊ भित्तातिर फर्किएर घाम तापिरहेकी हुन्थी, म फुत्त भित्र छिरिहाल्थेँ। साथीकहाँ बाक्लै जान पनि समस्या नै थियो। कतै साथीले नि अचेल किन यो धेरै फुर्सदिलो भयो भन्ने पो हो कि, बाट जोगिनु त छँदै थियो।

ख्वाँइमायाको बारेमा मभित्र किन यति धेरै अनुराग छ, कुरा मडारिरहेछन् भन्ने उत्तर म स्वयंसँगै थिएन। मूल कौतूहलको विषय त उसको गर्भकै हो। लोग्ने विदेशी जेलमा परेको छ, त्यो पनि बलात्कारको केसमा ! यता श्रीमती गर्भवती छे ! त्यो पनि पटकपटकको गर्भपतनपश्चात् बोकेको गर्भ ! मेरो अनुमानमा उसको सलमा पसिना पुछ्नेजति सबैले उसबाट फाइदा लिएका हुनुपर्छ। यसपटकको गर्भ किन बेलैमा पतन गराएनन् त ? सायद ख्वाँइमायाको स्वास्थ्यसँग जोडिएर हुनसक्छ। अथवा ढिलोगरी पत्तो पाएर समय बितिसकेको पनि हुनसक्छ। समस्याको चुरो जेसुकै भए पनि गाँठ्ठी कुरोचाहिँ उसबाट जन्मने बच्चाको छ। उसलाई ख्वाँइमायाले कसबाट पितृत्वको छाप लगाउली ? मेरो आफ्नै मनदेखि कहिलेकहिले त हाँसो पनि उठ्छ। लाग्छ, म विद्यावारिधि गर्दैछु र ख्वाँइमाया नै मेरो शोधको विषय हो। अब केही महिनामै मेरो विद्यावारिधि पूरा हुँदैछ। यसबीचमा मैले कम्पाउन्डरको नाम मात्रैको ‘अस्पताल’ पनि फेला पारिसकेको थिएँ। त्यही अस्पतालमा ख्वाँइमायाको पटकपटकको गर्भको नियोजन गरिएको रहेछ र कम्पाउन्डर यही कारणले त्यो मर्निङवाक टोलीमा मिसिन पुगेको रहेछ। पक्का छ कि, उसलाई सुत्केरी गराउने अस्पताल पनि यही हो।

मेरो अनुमान मात्रै नभएर हुने नै त्यही थियो, त्यसै गरियो। ख्वाँइमायाको पेटको बच्चाको क्रिटिकल अवस्था देखाएर अप्रेसन गरेर निकालियो। उसको अप्रेसनको दिन मर्निङवाक टोलीका सबै नै उपस्थित थिए र ख्वाँइमायालाई निश्चिन्त हुन ढाडस दिइरहेका थिए। आफूहरूले उसलाई जसरी भए पनि व्यवस्थापन गर्ने र कुनै किसिमको लाञ्छना लाग्न नदिने वचन दिइरहेका थिए।

अपशोच ! नौ महिनासम्म त्यत्रो तनावमा पेटमा बोकेर जन्मिएको बच्चा मृत जन्मिएको थाहा पाउँदा ख्वाँइमायालाई असह्य पीडा भएको थियो। ‘हुन्द्यौ, अब पिर गरेर हुने केही होइन। जे हुनु भइसक्यो, सम्हाल आफूलाई माया’ एक मुखले त्यत्तिका आफ्ना शुभचिन्तक मात्रै नभएर अन्नदाताहरूले नै भनिसकेपछि उसले के भनोस्, कति मात्रै पिर गरोस््। उसले गर्न नै के सक्थी र। रुँदै यतिसम्म त भनिथी, ‘एकपटक मरेकै बच्चाको पनि मुखसम्म देखाइदिएको भए त हुन्थ्यो नि।’ सायद उसलाई पनि ‘ठूलै समस्याबाट मुक्ति पाएँ, भैगो’ भन्ने लागेको पनि हुनसक्छ।

ख्वाँइमायाको गर्भको बच्चाको अवस्था र विचरीको मनोदशा थाहा पाएर म आफैं पनि आश्चर्यचकित भइरहेको थिएँ। आफ्नो सर्वस्व सुम्पिएर विश्वास गरेकाहरूसँग उसले गरेको आशा र भरोसामा खग्रास ग्रहण लगाइदिएका थिए मर्निङवाक टोलीले। उनीहरूले गरेको यति ठूलो छल र धोकाधडीको पत्तो नै नपाउने गरी ख्वाँइमाया ‘सरोगेट मदर’ बनाइएकी थिई। उसको पेटबाट निकालिएको बच्चा सालनालसहित नै बीसौं लाखमा बिकेर आमाबाबुको काखमा पुगिसकेको थियो। ख्वाँइमाया भने मातृत्वको पीडा छातीबाट बगेको अमृतरूपी पानीको भेलमा बगाइरहेकी थिई।

प्रकाशित मिति : प्रकाशन मिति : सोमबार, 15 माघ, 2074

लेखकका अन्य रचनाहरु