मन, आत्मा र मस्तिष्क

- विनयकुमार शर्मा नेपाल

मन छाया हो, मन मस्तिष्कको भाव हो, मन वस्तु होइन तर मस्तिष्क वस्तु हो, तङ्खव हो । मन मुटु होइन, मुटु मस्तिष्कजस्तै वस्तु हो । मनका भावहरु, मनमा उठेका भावनाहरु वास्तवमा मस्तिष्ककै तरङ्ग हुन् । त के मस्तिष्कको शक्ति हो मन ?
पक्कै पनि शरीरका यावत् तङ्खव र तिनका प्रत्येक क्रियाकलापको जानकारी लिनु, तिनलाई सही समय सही निर्देशन दिनु मस्तिष्ककै काम हो । भाव–सोच–विचार–तर्क–वितर्क–संश्लेषण–विश्लेषण–इच्छा–जागरण–सङ्कल्प सबै सबै मस्तिष्ककै तरङ्ग र कार्य हुन् । यी तरङ्ग निकाल्ने एक पाटो वा कोषलाई मन र अर्को अलि गहन सोचनशील पाटो वा कोषलाई आत्माको रुपमा मानिआएको हौँ कि ? आखिर सकारात्मक होस् वा नकारात्मक जुनसुकै मनका तरङ्गको जन्मभूमि मस्तिष्क नै हो ।
मन र आत्माभन्दा पनि अर्को एक पाटो छ जसलाई म यति वेला मस्तिष्क मात्र भनौं वा प्रज्ञा नै नाम किन नदिऊँ ?
मन सोचिरहन्छ, भौंतारिरहन्छ र शरीरको सुरक्षामा खटिइरहन्छ । शरीर र शरीरको यावत् क्रियाकलापलाई सतर्कता साथ नियाल्नु र त्यसलाई सजग गराइरहनु मनको प्रमुख कर्तव्य र दायित्व पनि हो । मन भाव र भावनामा पौडिरहन्छ, तर्क र वितर्क गरिरहन्छ, संष्लेश्षण र विश्लेषणमा डुबेर जे सोच्छ, जे ठान्छ मात्र शरीरको सुरक्षार्थ नै गर्छ ।
तर आत्मा मनजस्तै सतही र सरल सोचको छैन, मनजस्तै शरीरको सुरक्षा मात्र सोच्ने स्वार्थी छैन । आत्मा अलि गहन छ, अलिकति भित्र पस्छ, अलिकति स्वार्थबाट निस्कन्छ र मनले उठाएका तर्क र वितर्क, प्रश्न र उत्तरमा केही गमेर, केही गडेर, केही डुबेर, केही घुसेर अलिकति ठोस, अलिकति धार्मिक, अलिकति सामाजिक, अलिकति नैतिक, अलिकति बुद्धिमान्, अलिकति ज्ञानी, अलिकति सोचनशील, अलिकति चिन्तनशील बनेर शरीर मात्रको स्वार्थबाट उफ्रेर–नाघेर–बचेर बुद्धिमत्तापूर्ण कार्य गर्न खोज्दछ वा गर्दछ । आत्मा मनकै अलि गहन पाटो होस् वा दिमागको अर्को कोष भण्डार होस् वा एकै कोषको सकारात्मक वा नकारात्मक पाटो होस्, त्यसले मनभन्दा फरकपन उजागार गर्दछ । मन सूर्यको उज्यालो हो भने आत्मा त्यसकै ताप वा शक्ति हो । मन मान्छेको डर वा भय हो भने आत्मा त्यसकै विपरीत निडरता वा निर्भयता हो । मन सतही हो भने आत्मा गहनता हो ।
त फेरि मैले नाम दिएको मस्तिष्क वा प्रज्ञा के हो ?
मन र आत्मा दुई तरङ्गजस्तै अर्को तेस्रो तरङ्ग के हो ?
मन र आत्माभन्दा फरक शारीरिक शक्तिको तरङ्ग वा छाल यो प्रज्ञा के हो त आखिर ? यसलाई बुझ्ने कसरी हो ? र यसले गर्ने के हो ?
हुन त यो पनि मन र आत्माजस्तै कुनै एक झिल्को तरङ्ग मात्र हो वा भाव मात्र हो मस्तिष्कको । यसलाई अहिलेसम्म हामीले मस्तिष्ककै रुपमा मात्र बुझ्दै र बोल्दै आएका पनि छौँ । मनबाट गरिएको कार्य र मस्तिष्कबाट गरिएको कार्यको भिन्नता नै उसको विद्यमानताको प्रमाण हो । मन र आत्मा चाहे एकै कोषका सकारात्मक वा नकारात्मक दुई पाटा होस् वा दुई भिन्दाभिन्दै कोष वा पाटा होस् । यी दुवैलाई सञ्चालन गराउने, कार्य विभाजन गराउने एउटा अर्को पाटो वा कोष छ त्यसैलाई म यस वेला प्रज्ञा मानिरहेछु । मन र आत्माको विद्यमानतासँगै मस्तिष्कको विद्यमानता पनि छ । अझै भन्ने हो भने मन र आत्माको विद्यमानतासँगै तपाईंको वा शरीरको विद्यमानता पनि छ । यही नै प्रज्ञाको अस्तित्व हुनुको साक्ष्य पनि हो ।
हुन त प्रज्ञा पनि मनजस्तै मस्तिष्कको कुनै एउटा तरङ्ग नै हो जसले मन र मस्तिष्कलाई निर्देशन दिने कार्य गर्दछ वा क्षमता राख्दछ । यस्ता मन, आत्मा र प्रज्ञाजस्ता अनेकौं तरङ्ग मस्तिष्कबाट उठ्दछ र विभिन्न कार्य गर्दछ । मन लागे म अरु तरङ्ग खोज्दै र भन्दै जाउँला । तपाईं सुन्दै जानुहोला वा तपाईं खोज्दै जानोस् म सुन्दै जाउँला । हुन त यस वेला म एउटा गाग्रोको कुरा गरिरहेछु, तपाईं अर्कै गाग्रोको कुरा गर्न पनि सक्नुहुन्छ । यो खोज्ने र बुझ्ने अनि बुझाउने तपाईंकै क्षमता, दक्षता र त्यसको प्रदर्शनको कुरा हो ।
अब हेर्नोस् न, जब म मनले कार्य गर्छु, भावुक बन्छु, माया पलाउँछ, दया उठ्छ अनि शरीर नतमस्तक हुन्छ र मस्तिष्क पग्लन्छ । पग्लनु के र ? मान्नोस् म दास बन्दछु पात्र र मनको अर्थात् पग्लनु भनेको चिप्लनु पनि त हो नि ! त्यसैले चिप्लन्छु । चिप्लनु वा पग्लनु भनेको तपाईंले वा मैले अर्कोबाट धोका पाउनु नै हो । धोका भनेको विश्वासघात पनि त हो । हो मनबाट गरिएको कार्यमा मान्छेले बारबार धोका पाउँछ नै । त्यसैले त मनबाट बाँच्ने मान्छे पल्टपल्ट मरेको देखेको छु मैले । तपाईंले पनि यस्ता पीडित मान्छे प्रसस्तै भेटेको हुनुपर्छ किनकि आखिर मेरो र तपाईंको संसार र समाज पनि त एकै हो नि ! अर्को अर्थमा धोका पाउनु भनेको गर्न, बोल्न नसक्ने लाछीपन भन्नोस् वा दया, माया र प्रेममा वशिभूत भएर पग्लेको भन्नोस् ।
यतातिर आत्मा यस्तो ऊहापोहमा कमै लागेको भेटिन्छ । आत्मा गहनतातिर रमाउने हुनाले यस्तो मनले कार्य गरेको अवस्थामा आत्मालाई लुप्तसरह नै अनुभव गर्छु म र यस्तै अवस्थामा मस्तिष्कको अर्थात् प्रज्ञाको अनुभव हुन्छ मलाई ।
अब सोच्नोस् न, जस्तो कर्म उस्तै फल ! मान्छेले जे गर्छ, जे भोग्छ, जे हेर्छ वा जे सुन्छ त्यसैको स्तुति र गाली गर्ने त हो । त्यसैमा घुसेर, पसेर, बुझेर बुझाउने त हो ।
मेरो पेशाामा बिल छापिदे, रसिद छापिदे, पुस्तक छापिदे, यो बेचिदे, शुद्धाशुद्धि हेरिदे भन्नेको के कमी ? सबैलाई लेखिटोपल्नु परेको छ, छाप्नु पनि परेको छ र साथमा नाम पनि कमाउनु परेको छ । मानौं यो देशमा इतिहास बनाउने, नाम कमाउने दीर्घजीवी बन्ने एउटै साधन हो पुस्तक लेख्नु र छाप्नु ।
सबै काम एक्लैले गर्नै नसकिने । हामी समाजवादी, समाजकै भरमा बाँच्नुपर्ने । काम लियो कार्मचारीको भरमा । कर्मचारी, यन्त्रसंयन्त्रको अवस्था, बत्ती वा इन्धनको हिसाब निकालेर ट्वाक्क समय के दियो भोलिपल्टै एउटाकी स्वास्नी ब्याउँछे, अर्कोको बच्चा बिरामी पर्छ, झन् अर्कोको घरमा बाढी पस्छ, झन् अर्कोको घरमा त्यसै समय आफन्त मर्छ । के के हुन्छ के के । मस्तिष्कले सोचेर, विचारेर ‘न जा’ भन्न नसकिने । ‘पैसा लिएपछि पहिले काम गर तेरो मनपरी चल्छ ?’ भन्न त झन् पटक्कै नमिल्ने । ‘जागिर जागिर हो तेरो काम तेरो’ भन्न मनले नमान्ने वा नसक्ने, मन जाबो त खर्लक्क पग्लिहाल्ने, चिप्लिहाल्ने । यस्ता वेला मस्तिष्क (प्रज्ञा) माथि मन हावी हुने र आत्मा त कता लुक्ने कता ।
फलानो दिन आउँछु भनेको मान्छे तिलानो दिन मात्र बल्ल्बल्ल टुप्लिकिन्छ । परेको वेला भनेर दिनै नपर्ने अगाडि नै दिएको पैसा पनि मनसामु लुत्रुक्कै पर्ने । त्यसलाई गाली गर्न पनि नसकिने । कामसाम फालेर हिँडे अग्रिम दिएको पैसा पनि डुब्ने र यता काम गर्ने अर्को मान्छे खोज्न पनि समयले नदिने । अर्कोतिर काम दिनेलाई गुनासो ग¥यो भने –त्यो तिम्रो समस्या पैसा भने जति दिएपछि काम खुरूक्क बोलेको समयमा दे न ।’ सय गाली चुमुर्किएर सुन्नैपर्ने ।
यही हो मनको कमाल, तपाईंले पनि त भोगेकै होला नि ?
उता मस्तिष्कले सोचेर, विचारेर ठोस निर्णय दिनुपर्दा आधा काम सही भए पनि काम र माम नै फुत्केला भन्ने पीर । फुत्के फेरि यता घरमा स्वास्नी, बालबच्चाको इस् खाइस् ! को भनाइ । उता मनको कमाल यता मस्तिष्कको कमाल ।
यस वेला, यस्तो अवस्थामा के तपाईंले आत्मालाई खोज्ने वा भेट्ने वा प्रयोग गर्ने जमर्को कहिल्यै गर्नुभएको छ त ? वा मन र आत्माभन्दा फरक मस्तिष्क (प्रज्ञा) को अनुभव गर्नुभएको छ त ?
म त अनुसन्धानमै छु तपाईं नि ?

प्रकाशित मिति : प्रकाशन मिति : सोमबार, 15 माघ, 2074

लेखकका अन्य रचनाहरु