समाजसेवी

- अर्जुन दाहाल “अपवाद”

विहानै फोन आएथ्यो । पर्सी हेटौंडा जानुपर्छ है भनेर । फोन गर्ने माफीकुमार दाई थिए ।

बेलुका अबेरसम्म च्याट गरेका कारण विहान अवेरसम्म सुत्ने मुड थियो । फोनले बडा डिष्टर्ब गर्योा ।

हुन्न भन्न पनि सकिन । केहिदिनअघि आफैंले अहिले खाली छु । कतै यसो ठाँउ भए सम्झनु भनेको थिएँ । निन्द्रैमा भएका कारण धेरै कुरा पनि भएन ।

फ्रेस भएपछि फोन लगाएँ । सोधें कार्यक्रम र त्यसमा मेरो रोल के हुने ?


सकरात्मक सोचाईबारेको कार्यक्रम । आफ्नै अनुभवबारेको १ सेसन मेरालागि । बढिमा डेढ घण्टाको ।

यो बारेमा पहिला पनि कक्षा लिइसकेको थिएँ । स्लाइडहरु त तयार नै थिए । मूख्य कुरा त सोध्नै बिर्सेछु । सहभागीहरु को हुन् ? जो भएपनि के फरक पर्छ र ? सेसन अलि धेरै अन्तरक्रियात्मक बनाउनुपर्ला !

एकपटक गुगलमा विषयको खोजी गरे । महत्वपूर्ण लागेकाहरुलाई कपी गर्दै एउटा फाइल बनाएँ । अब्दुल कलाम, लिङ्कन, झमकलगायतका केहि व्यक्तित्वका बारेमा जानकारी र उनिहरुका प्रेरणात्मक भनाईहरु राखेर स्लाइड पनि बनाएँ । केहि सामाग्री अघिल्ला स्लाइडहरुबाट पनि कपि गरें । फोल्डरमा फाइल राख्दा दुर्गे कामीबारेको भिडियो पनि राखें । कामीले वृद्धभत्ता पाउने उमेरमा एसइइ पास गरेका थिए ।

----------------------

कोटेश्वरबाट बल्खु जान सिटि यातायातको बस चढें । ठाँउअनुसारको नाम डिस्प्ले गर्ने सानो बोर्डमा ठाँउका नामहरु आइरहेका थिए । सँगसँगै आवाज पनि आइरहेको थ्यो । हामी अहिले ....... मा आइपुग्यौं । बस रोकिएपछिमात्र ओर्लनुहोला । बस खुलै थियो । भाडा उठाउन दिदी आइन् । कुरा गर्दा थाहा भयो उनको घर बारा जिल्ला थियो । नाम चाँहि सोध्न भुलेछु, उनले चालकसँग कुरा गर्दा तामाङ भाषा प्रयोग गरिरहेकी थिइन्। ओर्लने बेलामा डिस्प्ले बोर्डमा हेरें । सफ्टवेयर डेभलप गर्नेमा रामलक्ष्मणको नाम देखाएथ्यो ।

बल्खुमा गाडीहरु धेरै लाइनमा थिए । त्योभन्दा धेरै टिकट बेच्नेहरु थिए । सबै पछि लागे ।
“दाई हाम्रोमा १ सिटमात्रै बाँकि छ गइहाल्ने हो।”
“दाई हेर्नुस त अघिल्लो सिट छ । ५ जना मान्छे स्वयम्भुबाट आउँदैछन् । हिँडिहाल्ने हो ।”
“झोला यो मात्रै हो ? गाडीमा मिलाउँ है ।”
“टिकट काटौं हैन त ?”

हिँडीहाल्ने भनेर अन्तिम सिटमा बसेको सुमोको चालकनिरको सिट नै खाली रहेछ । झण्डै आधा घण्टा सिटमा बसाएपछि सुमो अगाडी बढ्यो । रोकिँदै अगाडी बढिरहेको सुमोका चालक तामाङ सेलोका पारखी थिए कि गाडीमा तिनै गितहरु बजिरहे । चोभारको सिमेन्ट कारखानाका भवनहरु भत्काइरहेका थिए मजदुरहरु । दक्षिणकाली कटेपछि सुमोको गति बढ्यो । चालकले हामीलाइ बताए कि आजभोली दक्षिणकालीमा दर्शन गर्न आउनेहरु बढेका छन् ।

चालकको सिटछेउ बस्ने र मेरो ठीक अघिल्तिर बस्नेहरु मच्चिएर बहस गर्न थाले । पहिला मैले उनिहरुको बहसमा ध्यान दिइन् । अहिले भने मेरो ध्यान खिच्यो । उनिहरु जनकपुरमा पहाडी समुदायलाई लखेटिएको हो वा हैन भन्नेमा बहस गरिरहेका थिए । चालकसिटनेरकोले प्रतिवाद गरिरहेको थियो । मेरो ठीकअघिल्तिरकोले त्यसलाई पुष्टि गर्न प्रयास गरिरहेको थ्यो ।

“मेरो आमा र श्रीमती त्यो घटनाका बेला छ महिना डिप्रेसनमा परे । म अझै दबाइ खुवाइराछु ।” मेरो सिटअघिकोले अलि जोड दिएर भन्यो । मैले उसलाइ हेरें । उसको अनुहार हेरें । उमेर ४० जति अनुमान गरें । “गलतलाई ‍त गलत भन्न पर्यो नि भाई” उसले थप्यो ।

“तपाँइको कुरा त के हो मलाई थाहा भएन । म आन्दोलनका सबै दिनमा सहभागि छु । बढिमा ५ जना पहाडीका पसल जलेका थिए । हजारभन्दा धेरै परिबार पहाडी भएका ठाँउमा त्यति घटनाका कारण पहाडी विस्थापित भएको भन्न त मिलेन नि !” उसले प्रतिवाद गर्यो। मैले अनुमान गरें उसको उमेर २५ वर्षजति हुनुपर्छ ।

“यहाँ कुरा गरेर के हुन्छ । चुप लाग न,” मेरो छेउमा बसेको मानिसले चालकनिरको भाइलाई आग्रह गर्योर । सायद उनिहरु साथी साथी थिए कि!

“कुरा गर्दा त राम्रै हुन्छ नि,” मैले छेउको यात्रुलाई भनें ।
“हैन यस विषयमा यहाँ बोलेर के हुन्छ?” उसले अलि झर्किएर जवाफ दियो ।
“कुरा के हो थाहा हुन्छ नि । सबैलाई सहि कुरा थाहा नहुन पनि त सक्छ ।” मैले थपें

उनको अनुहार हेर्दा लाग्यो उनि केहि भन्न खोजीरहेका छन् । गाडी केहीसमय गुडेपछि सोधें “तपाँइको घर कता हो ?”
“जलेश्वर” उनी धेरै बोल्ने मुडमा थिएनन् ।
यसपछि उनको बारेमा बुझ्न अरु अरु कुराकानी भए । कुराकानीकै क्रममा थाहा लाग्यो उनले अघिको बहस सुन्न नचाहनुको कारण ।

“... म मलेसियामा काम गर्न गएको थिएँ । त्यहाँ हामी ५ जना मधेसीहरु थियौं । पहाडी साथीहरु पनि थिए । उनिहरु हामीले एकदमै हेपेर व्यवहार गर्थे । हामीले बसेको सिट पनि उनिहरुका लागि छोडिदिनुपर्थ्यो । त्यो व्यवहारका कारण हामी सबै मधेसीले कम्पनी नै छोड्यौं ...... कोहि पुर्वतिरका थिए। कोहि पश्चीमतिरका।” त्यसपछि उनले पहाडीहरुको थर भन्न लागे । एउटा त मेरै थरको परेछ । झसङ्ग भएँ । मनमा लाग्यो मैले मेरो थर बताएँ भने उनले के सोच्लान् । मनमा आयो मैले त अपराध गरेको छैन ।

चिसापानीगढीमा सुमो रोकियो । चियाखाजा खाने भए खानु है । चालकको आग्रह सुनियो । विस्तारै सबै जना सुमोबाट ओर्लियौं । “अव कति समय लाग्ला दाइ” मैले चालकलाई सोधें । “त्यस्तै २ घण्टामा पुगिएला”, चालकले जवाफ फर्काए ।

सुपारीटार ब्यारेकनिर पुगेपछि चालकदाइले भने “बजार भन्दा अगाडि नै ओर्लनुपर्ने कता हुनुहुन्छ ?” “अन्तिम सिटमा छु है”, मैले जवाफ फर्काएँ ।
“सामान छ कि छतमा?”
“छ एउटा झोला छ ।”

-------------------------------

कक्षा चलिरहेको थियो । ३५-४० उमेरसमूहका देखिने २ दर्जनजति व्यक्तिहरु थिए । सबै पुरुष । माफीकुमार दाईले परिचय गराउनुभयो । कक्षामा योग सिकाइँदै थियो । मेरो कक्षा भोलीमात्रै थियो । म बजार निस्किएँ ।

सामान्य परिचयपछि कक्षा सुरु गरें । धेरैजसो साथीहरु मधेसबाट थिए । माफीकुमार दाईले भनेअनुसार सहभागीहरु विभिन्न पेशामा आवद्ध थिए। अझै भन्नुपर्दा समाजका अगुवा ।

-------------------------------

फोन बज्यो । हेरें । माफीकुमार दाई रछन् ।
“कता हरायौ हो ।”
“छैन यतै छु ।”
“पुरै बेपत्ता भयौ त । जे होस कक्षा त बडा प्रभावकारी नै भएछ हैन?”
“किन र ?”
“सहभागीहरुले तिमीलाई दिनु भनेर गिफ्ट पठाका छन् त ।”
“ए हो र !”
“ल कैले आउँछौ अफिस आउ न । तिम्रा लागि अलिकति चिया खर्च पनि थियो ।”

-----------------------------

र्या-पीङ गरिएको सामाग्री । हैन के पो पठाए ? माफीकुमार दाईले गज्जबको मुस्कान दिए त्यो समान हस्तान्तरण गर्दा । “हामीले कति वर्ष यस्तो काम गर्दा अहिलेसम्म आएन ।” उनको त्यो व्यङ्ग थियो कि के थियो मैले भेउ पाइन ।

खोलेर हेर्दा फेला परे केहि खामहरु । अनि केहि जतनसाथ पट्याइएका कागज । केहि हस्तलिखित थिए । केहि कम्प्युटर गरिएका थिए । खामभीत्र पनि त्यस्तै सामाग्री रहेछन ।

२ वटा सामाग्री पढेपछि थाहा भो । त्यो त कक्षामा गराइएको एक अभ्यासको नतिजा रहेछ । त्यसमा सहभागीहरुलाई उनिहरुले अहिलेसम्म भन्न नसकेको जिन्दगीको घटना लेख्न भनेको थें ।

२ जनाले नाम लेखेका रहेछन् । धेरैले बालककालमा गरेका उपद्रो लेखेका थिए । कसैले किशोरावस्थाका कथा लेखेका थिए । केहि त हेर्न पढ्नै अल्छी लाग्ने थिए ।

हातैले लेखेका अक्षर। चिटिक्क परेका । मन त्यतैतिर गैगयो ।

..... आन्दोलन चलिरहेको थियो । काठमाण्डौमा नेता समात्यो भन्ने हल्ला थियो । अधिकार खोज्दा समातेको भन्थे । केहिदिनसम्म ठीकठीकै चलेको आन्दोलन फेरी उग्र भयो । आन्दोलनमा भाषण गर्नेले भनेको सुनें । “हामीलाई आजसम्म मान्छे नै ठानेन यो देशले । हामीले अधिकार खोज्दा पनि हामीले गोली खानुपर्ने !”

मैले केहि बुझेको थिइन् । क्याम्पस शितलहरका कारण बन्द थियो । आन्दोलनमा बोल्ने नेताका कुरा सुन्दा सुन्दा मलाई लाग्न थालेको थियो साँच्चै हामीमाथि अन्याय नै भएको छ । आज भाषण गर्ने नेताले भने, “हेर्नुस हामीले दैनिक जीवनमा कसरी भेदभाव खप्न परेको छ । कक्षामा पहाडी शिक्षकले हामीलाई हेपेर बोलाउँछ । पसलमा गयो भने पनि हामीलाई हेप्छन् । हामीले सित्तैमा सामान लिन लागेको जसो गर्छन् । अरु त अरु हजुरबुबा उमेरका हामीलाई नाती उमेरका उनिहरुले हेपेर बोलाउँछन् । हामी पनि यो देशको जनता हौं । अव अन्याय खपिन्न ।”

उनले चर्किएर भाषण गरेपछि हामीले होहल्ला गर्यौं । त्यसपछि त मान्छेको भागाभाग नै सुरु भयो । एकैछिनमा मैले थाहा पाएँ । प्रहरीले लाठीचार्ज गरेछ । म हतारहतार नजिकैको गल्लीमा छिरे । पुलिस पछिपछि लखेट्दै आयो । अलिपछि फर्केर हेर्दा पुलिस देखिनँ । बेलुका घरमा आन्दोलनमा किन गएको भनेर गालि गरे । म बोलिन ।

भोलीपल्ट सुने झडपमा केहि घाइते भएछन् । आज चोकमा त्यो भन्दा धेरै भेला भएका थिए । त्यसमा नेताहरुले भाषण गरें “.... हामीलाई कसरी व्यवहार गरिन्छ भन्ने त हिजोको घटनाबाट देखियो । आफ्ना कुरा राख्दासमेत पहाडी सामन्ती राज्यले हामीलाई दमन गर्न लागेको छ । आजसम्म पहाडले हामीलाई शासन गर्योह । अव हामी सहने छैनौ । केहि मान्छे मार्दैमा केहिलाई कुट्दैमा हामी चुप लाग्ने छैनौं ।”

अरु ठाँउमा पनि आन्दोलन चलिरहेको भन्ने हल्ला थियो । नेताहरुले यस्तो भाषण गर्थे कि हामीलाई रगत उम्लेर आउँथ्यो । सुरुसुरुमा नेताहरुले गफ दिए भन्ने लाग्थ्यो । पछी हो नै जस्तो लाग्यो ।

एकदिन हल्ला फैलियो । पहाडीयाहरुले मधेसीका घरहरु जलाइदिए । मनमा लाग्यो । छिमेकी पनि त पहाडी नै थियो । यो पहाडिया भन्ने जातै यस्तै हो । त्यसले मलाई हेपेर बोल्थ्यो ।

हाम्रो टोलका अगुवाले हामीलाई एउटा कागज दिए र भने “यो चाँहि पहाडीका घरमा पुर्या उनु । भेटे हातैमा दिनु । नभए आँगनमा भएपनि राखिदिनु ।” टोलका अगुवा हामीलाई सरस्वती पुजा गर्न सबैभन्दा धेरै पैसा दिन्थे । गाँउमा पनि उनको राम्रै मान थियो । उनी अगुवामात्रै थिएनन् । आन्दोलनमा भएका सभामा उनलाई समाजसेवी भएर चिनाइएको थियो । उनले भाषणचाँहि कुनैदिन गरेनन् ।

मेरो टोलमा रहेका पहाडीहरुले घर छोड्दै हिड्न थालीसकेका थिए । घर जाँदा छिमेकी मेरो बुबासँग कुरा गर्दै थिए ।
“.....बस्न सकिएलाजसो छैन । जग्गा बेचौं भनेको । तपाँइको साँधमा छ । लिनुस् ।”
बा सुरुमा बोलेनन् । एकछिनपछि भने, “आन्दोलन तत्काल रोकिएलाजस्तो छैन । यताउताबाट मिलाउन सकिन्छ भने अहिले जग्गा नबेच्न पाए हुन्थ्यो । सधैं यस्तै त नहोला ।”
मैले याद गरें मेरा बाको स्वर काँपेको थियो । त्यसपछि उनले त्यो कागज मेरा बालाई देखाए । जुन अघिल्लो दिन हामीले उनको आँगनमा फालिदिएका थियौं ।

आन्दोलनमा पैसा सहयोगका लागि लेखिएको चिठी हामीले केहि दिन पछि पनि उनको आँगनमा फ्याँकेका थियौं । उनको मात्रै हैन अरु पनि घरमा पठाएका थियौं । आन्दोलन चल्दै गर्दा धेरै परिबारहरु हिँडे । कार्यालयहरुमा आगजानी भयो । घाईते भएका केहिको मृत्यु पनि भयो । महिनादिनपछि विजय जुलुस निस्कियो । जुलुसमा नेताले भने, “हामीले यो लडाँइ जितेका छौं । पहाडी राज्य हामीसँग झुकेको छ ।”

आन्दोलन सकिएपछि क्याम्पस सुरु भयो । कक्षामा रहेका सबै पहाडी साथीहरु थिएनन् । हाम्रो छिमेकी परिबारसहित हिंडिसकेको थियो । उसको मेरो कक्षामा पढ्ने साथी पनि त्यसदिनदेखि मेरो टोलमा फर्किएन । उ त मेरो लगौंटिया नै थियो । कहाँ गयो होला ? धेरै दिन उसको याद आइरह्यो । एकदिन सरलाई उसका बारेमा सोधें । सरले भने “उ अव फर्कँदैन ।”

आन्दोलन साम्य भएपछि धेरै नेताहरु शहरमा देखिन छोडे । केहिमात्र यहाँ थिए। धेरै महिनापछि एकदिन एकजना नेतालाई सोधें, “साँच्ची तपाँइले आन्दोलनका बेलामा भनेका सबै कुरा साँचा थिए ?” “तिमी राजनीति बुझ्दैनौ बाबु । राजनीतिमा सबै सहि कुरामात्र कहाँ हुन्छन् र !” म जिल्लिएँ । तिनै छिमेकीको अनुहार आँखामा नाच्यो । जो मेरा बाबुलाई जग्गा लिइदेउ भन्न आएका थिए ।

समाजसेवी दाई पनि नभेटिएको धेरै भएको थियो । पछि थाहा पाएँ । मेरो छिमेकीको जग्गा उनले नै किनेका रहेछन् । त्यसपछि उनि शहरकै धनीमानीमा गनिन थालेका थिए । बजारमा धेरै ठाउँमा जग्गा छ भन्थे मेरा साथीहरु । एकदिन भेट्दा उनलाई भनें दाई “आन्दोलन त धेरै फाप्यो त ।” उनले भने,“ हे भाई त्यसै हुन्छ?”

------------------

१ पेज अझै बाँकि थियो । यसभन्दा अघि मैले पढिन । आँखाअघि सुमोमा बहस गर्ने दाईको अनुहार नाचिरहेथ्यो। कतै छिमेकी भनेका तिनै दाई त थिएनन् ?

प्रकाशित मिति : प्रकाशन मिति : सोमबार, 15 माघ, 2074

लेखकका अन्य रचनाहरु