मितव्ययिता

- कृष्ण बजगाईं

आफ्नो मान्छे माथि भएपछि योग्यता नपुगे पनि राजनीतिक नियुक्ति पाउनु भो नेताजीले हाकिमको । पहिलो दिन कार्यालय लुखुर-लुखुर हिंडेर पुग्नु भयो । आफ्नो अफिस कोठा देखेर एकछिन त दङ्ग पर्नुभयो ।

एकैछिनमा त्यस कार्यालयका कर्मचारीबीचमा खासखुस चल्यो । त्यसको कारण बेलैमा थाहा पाउनु भो र हुनुसम्मको आफ्नो बेइज्जती भएको महसुस गर्नुभयो । कारण थियो उहाँले लगाउनु भएको कोट-पेन्टको कपडा र सोफाको खोल एकै कपडाको परेछ । आत्तिँदै झयालको पर्दातिर हर्ेर्नुभो, कतै कमिजसँग त मिल्दैन - अलिक ढुक्क हुनुभयो । त्यो अर्कै रहेछ ।

चचाचुमा (चम्चागिरी, चाकरी र चुक्ली) सिपालु एक कर्मचारीले तुरुन्त सोफाको खोल निकाली हाकिमको बाँकी इज्जत जोगाइ दिए ।
मातहतका कर्मचारीहरूलाई निर्देशन दिनुभयो- छिटो, छरितो, इमानदार, स्वच्छ, पारदर्शी र मितव्ययीरूपमा कार्यालयमा कामकाज गर्नुहोला ।

भोलिपल्टदेखि कार्यालयमा मितव्ययिताको लहर सुरु भयो । पानीको फिल्टरको ठाउँमा माटाको गाग्री राखियो । कार्यालयमा बिजुलीबाट चल्ने पङ्खा बन्द गराएर हातैले हम्किनु पर्ने पङ्खा राख्ने आदेश जारी भयो । आसचपु (आर्थिक सहायता, चन्दा, पुरस्कार) बितरण र अतिथिसत्कारको बाढी आयो कार्यालयमा ।

खरिद-बिक्री, टेण्डर स्वीकृति र बजेट रकमान्तरजस्ता कार्यलाई कुनै नीति-नियम चाहिएन । कार्यालयमा आवश्यक पर्ने सामग्री माग गरेभन्दा थोरै स्वीकृत हुने र आवश्यकै नपर्ने सामग्रीको खरिद अचाक्ली बढेर गयो । कार्यालयका राम्रा सामान हाकिमको क्वार्टर हुँदै अन्ततः क्वार्टरबाट सबै सामान स्यालको सिंग हराएझैँ हराउँदै गए ।

क्वार्टर नधाउने, सीधासाधा र काममै व्यस्त कर्मचारीहरूलाई बिरोधी देख्न थाल्नु भयो । कार्यालयको काममा भन्दा हाकिमसाबको क्वार्टरमा ओभर टाइम गर्नेहरूको भीड लाग्न थाल्यो र चचाचुका सङ्ख्या पनि वृद्धि हुन थाल्यो ।

आजकल एकपछि अर्को गर्दै साँझ-बिहान पर्दा र सोफाको खोलका कपडाका नयाँ-नयाँ सेम्पल लिएर कर्मचारीहरू उहाँको क्वार्टरमा धाउन थालेका छन् । सेम्पलका कपडा ती कर्मचारीहरूका दिनहुँ लगाउने कपडाका दुरुस्त नमुना हुन् जो स्वच्छ, इमान्दार, छरिता र आफ्ना काममा दक्ष छन् ।

साभार: मधुपर्क

प्रकाशित मिति : प्रकाशन मिति : बिहीबार, 17 आश्वीन, 2064

लेखकका अन्य रचनाहरु