निर्वस्त्र नगरीमा– एस्पी कोइराला !

- विष्णुविभु घिमिरे

लेख्न त धेरैले कविता लेख्छन्, अझ यसो भनौं कविताका नाउँमा कविता लेख्छन्, सञ्चारको सञ्जालमा छिर्छन् र आफू कवि भएको विज्ञापन गर्छन्। विज्ञापन त चाउचाउ, साबुन, सेम्पोको पनि छ। फरक कति मात्र के भने विज्ञापनमा भनेजति स्तर यिनीहरुको नहोला, नभए पनि चाउचाउ त चाउचाउ नै हुन्छ, साबुन र सेम्पो त उही उही हुन्छ। तर कविता भने कविता हुँदैनशब्द र वाक्य मात्र। शब्द र वाक्यकहीं सासको आश छैन। आत्माविनाको निर्जीव शरीर जस्तो। शब्द र वाक्यको पनि त अर्थ त हुन्छ, त्यो पनि विनाअर्थकोनिरर्थक यस्ता कविताको कवि जब बोल्छ, अनि भन्छकवितामा यो मेरो नयाँ प्रयोग हो। यसैले मैले कानका ठाउँमा आँखा राखेको छु, आँखाका ठाउँमा कान, हातका ठाउँमा खुट्टा राखेको छु, खुट्टाका ठाउँमा हात। अनुहारको दाह्री जुँगा मैले टाउकोमा सारेको छु, टाउकाको रुमाल अनुहारमा। यस्ता कविताहरु र कविहरुका महत्व, आवश्यकता र स्तरबारे लेख्ने, बोल्ने समीक्षक र समालोचकको पनि कमी छैन। त्यस अवस्थामा साँच्चिकै कवि र कविता र त्यसलाई बुझाउने समीक्षक र समालोचकहरु ओझेलमा पर्नु कुनै अनौठो कुरा होइन, मलाई लाग्छ। यसरी ओझेलमा पर्ने राम्रा कविमध्येका एउटा हुन् एस्पी कोइराला। एस्पी कोइराला चालीसको दशकमा उदाएका प्रतिभाशाली कवि हुन्। उनको पहिलो कविता संग्रह 'टाँकीको घाँस' (२०५७) पढेपछि म बडो प्रभावित भएको थिएँ। एउटा नयाँ कविका कवितामा त्यसबेला अनुभूति गरेको काव्यस्वाद अहिले पनि उत्तिकै मभित्र जीवन्त छ। अहिले आएर एक हप्ताअघि मात्र उनको अर्को कविता संग्रह हातमा पर्योि– 'निर्वस्त्र नगरीमा'। कविताहरु एकएक पढ्दै गएँएकै बसाईंमा ती सबै पढिसकें। ३४ वटा कविता बोकेको यो संग्रह पढेपछि लाग्योएउटा शक्तिशाली कविको नेपाली कवितामा उदय भयो। यो कविता संग्रहको पाण्डुलिपि पढेर मैले पढ्दा कति कुराहरु नयाँ भएको अनुभूति गरें। यद्यपि पाण्डुलिपि पढेका कविता र पुस्तकमा पढेका कविता उही थिए। फरक केवल समय र मनको होला! प्रस्तुति, बान्की, शब्दचयन, विषय चेतना, भावनागत उचाइ सबैको सन्तुलनबाट सिर्जित एस्पीका कविताहरु वास्तवमै प्रशंसायोग्य छन्। भावका भुँवरीबाट उठेका तरङ्गका सुन्दर इन्द्रेणीहरुले एक एक कविता आफैंमा भिन्न परिचय बोकेर उभिएका छन्। विषयवस्तुमा विविधता भए जस्तै प्रस्तुतिमा पनि विविधता छ। सरल भाषा प्रयोग गरेर कविता लेख्न सक्छु, त्यसमा पनि आफ्नै संस्कार, संस्कृति र आफैं वरिपरिका विम्ब र प्रतीकहरुको प्रयोग हुनु एस्पीका कविताहरुको मौलिक विशेषता मान्नुपर्छ। कविता पढ्दा अनुभूत हुने ध्वनि र लयको सन्तुलन साँच्चिकै स्वाभाविक छ। त्यसो त एस्पी कोइराला राम्रा गीतकार पनि हुन्। लय र ध्वनिको तालमेलमा उनको गीतकार व्यक्तित्वको उपस्थिति छ। संवेदना र संवेग कविताका धुकधुकी हुन्। संवेदनाबिनाको मनले कविता लेख्तैन। संवेदनाबाटै संवेग जन्मन्छ। मलाई लाग्छ, यही संवेदना र संवेगको तोड नै कविता हो। उनका कविताहरुमा यो तोडको अनुभूति सबै पाठकले गर्न सक्छन्। कविता पढिरहँदा या पढिसकेको कविता अनुभूति गरिरहँदा पाठक पनि कविसँगै हुन्छ। थोरै कवि र कवितामा मात्र पाठक र कवि अनुभूतिको एकै ठाउँ उभिन्छन् र बाँच्नुको अर्थ खोज्छन्। यस अर्थमा कोइरालाका कविता समकालीन दस्तावेजका रुपमा बाँचिरहने स्तरका छन्। समकालीन कविहरुको जमातमा उनको काव्यिक स्थान अब स्पष्ट , बिर्सन नसकिने छ। अबको नयाँ नेपाललाई काव्यिक वाणी दिन यस्तै शक्तिशाली श्रष्टाहरुको खाँचो छ। यस सन्दर्भमा कवि एस्पी कोइराला एउटा भरपर्दो, आशालाग्दो अमिट सम्भावना बोकेर अगाडि आएका छन्। उनको सिर्जना फलोस्, फुलोस्हार्दिक शुभेच्छा।  
अन्त्यमा पाठकहरुको जिज्ञासाका लागि कवि कोइरालाका 'निर्वस्त्र नगरी' कविता संग्रहभित्रका केही कविताका, केही अंशहरु उद्धृत गर्न चाहन्छु।  
 
 
'
तर याद राखेस् काइँला  
सुखी भएँ भन्ने भ्रम पाल्दैमा  
के तिमी एकैचोटि दुईटा ओछ्यानमा सुत्न सक्छौं र?  
खुशी भएँ भन्ने अहं पाल्दैमा  
के तिमी एकैचोटि दुईटा चिहानमा अट्न सक्छौं र?'  
याद राखेस् काइँला
'
माफ गर जसमिन!  
तिम्रो भूमिका लागि समर्पित  
तिम्रा सारा उपमाहरुभन्दा  
मेरो पहाडी झर्नाझैं सलल बगेको तिम्रो केशराशि   
मेरो हिमाल पग्लेर बगेको  
कञ्चन पहाडी नदीजस्तो तिम्रो मस्त चाल  
मेरै देउरालीमा लाली गुराँसझैं फत्रे्कको  
तिम्रो मदमस्त यौवन।'  
जसमिन क्रिस्ती  
'
धानबारीभरि ग्रिनेडको झुप्पा  
झुलिरहेका देखे होलान्भँगेरीहरुले  
तोरीबारी हुँदी बारुदको थुँगा  
फुलिरहेको देखे होलान्मौरीहरुले  
कटुसलाई कार्तोस ठाने होलान्सुगाहरुले  
काफललाई गोली माने होलान्कोइलीहरुले'  
गौथलीको गीत  
'
हुन्न भन्ने हाम्रा कलमलाई  
हुन्छ मनाउने पढाइ चाहियो  
पराजीत योद्धाहरुलाई  


विजेता बनाउने हर्ष बढाइ चाहियो  
चाहियो त हामीलाई  
अब एउटै चीज चाहियो  
कोही नहारी सबैले जित्ने लडाइँ चाहियो।'  
समुद्रमन्थन  
'
फर्केर आएपछि उसले  
चुलो सल्काई र ढिँडो मस्काई  
अहँ, त्यहाँ लोकतन्त्रको कुनै स्वाद आएन  
वस्तु चराएर फर्केको छोराको  
कलेटीओठ नियाली  
घाँसको भारी बिसाएर फर्केकी छोरीको  
धाँजा काटेको कुर्कुच्चा नियाली  
अहँ, उसका आँखाले लोकतन्त्रको छनकसम्म पाएनन्।'  
माइली तता  
मात्तिएको बेला मलाई लाग्छ  
सोकेसभित्रबाट झिकेर ज्यालामा सजाइएको  
विदेशी वियर हो कि जस्तो  
आत्तिएको बेला मलाई लाग्छ  
नारी दिवस मनाउन गाउँबाट ज्यालामा ल्याएकी  
महिलाले आत्तिएर खेलेको  
म्युजिकल चियर हो कि जस्तो  
बुझिनसक्नुको  
यो काठमाडौं खाल्डो  
खोइ, कस्तो हो कस्तो!  
म्युजिकल चियरः काठमाडौं खाल्डो 

प्रकाशित मिति : प्रकाशन मिति : शनिवार, 4 श्रावण, 2065

लेखकका अन्य रचनाहरु