आधुनिक भारतीय नेपाली कथा

- हरि अधिकारी

अविनाश श्रेष्ठको सम्पादनमा साझा प्रकाशनद्वारा प्रकाशित आधुनिक भारतीय नेपाली कथाले भारतीय नेपाली साहित्यको कथा विधाको वर्तमान स्वरूपलाई त्यसको समग्रताका साथ पाठकसामु राख्दैन । सम्पादक अविनाशले खासै चित्तबुझ्दो आधार प्रस्तुत नगरीकनै संकलनमा आधुनिक भारतीय नेपाली कथाका तीन दशक -सन् १९४० देखि १९७१ सम्म) भन्ने एक कालविभाजनकेन्दि्रत समयावधि तोकेर संकलनमा त्यही कालखण्डमा लेखिई प्रकाशनमा आएका कथाहरू राखेका छन् । त्यसो गर्दा संग्रहमा सबैभन्दा पुराना कथाकार इसाको सन् १९०४ मा जन्मिएका, संभवतः भारतीय नेपाली आख्यानकारमध्ये सबैभन्दा बढी प्रतिभाशाली रूपनारायण सिंहदेखि सबैभन्दा कम उमेरका सन् १९४८ मा जन्मिएका मोहन ठकुरी र मटिल्डा राईसम्मलाई समेट्न सम्पादक सफल छन् । तर, यस संग्रहले बितेका ३०-४० वर्षको अवधिमा देखापरेका र भारतीय नेपाली कथा-साहित्यको श्रीवृद्धिमा योगदान गरिरहेका कथाकारका बारेमा कुनै जानकारी दिन सक्दैन ।

यस संग्रहका आधारमा भारतीय नेपाली कथा र कथाकारका बारेमा धारणा बनाउने हो भने पाठक १) आधुनिक भारतीय नेपाली कथा-लेखनका क्षेत्रमा सन् १९४८ पछि जन्मिएको एउटै पनि स्रष्टा सक्रिय छैन, २) त्यस्तो स्रष्टा छ र उसले कथा-कहानी लेखिरहेको छ भने पनि त्यो साझाको संकलनमा प्रविष्टि पाउने खालको छैन, ३) बितेका ३०-४० वर्षको अवधिमा भारतीय नेपाली भाषा-साहित्यको संसारमा कुनै स्तरीय पत्र-पत्रिका प्रकाशित छैनन् र तिनमा स्तरीय कहानीहरू पनि छापिएका छैनन्, भन्ने बडो अपत्यारिलो निष्कर्षमा पुग्न बाध्य हुनेछ ।

जाहेरै छ, नेपाली भाषाको पठन-पाठनको स्तर र व्यक्ति दिनानुदिन बढिरहेको वर्तमान परिप्रेक्ष्यमा यस्तो हुनु संभव छैन । त्यसैले भन्नुपर्ने हुन्छ- सम्पादक अविनाश श्रेष्ठले समसामयिक भारतीय नेपाली कथाको एउटा ठूलो हिस्सालाई यस संकलनको तयारीका सन्दर्भमा आफ्नो अध्ययन र छनोटको दायराबाट जानी-जानी बाहिरपाटो लगाएका छन् । भारतीय नेपाली कथाको अधुनातन स्वरूपलाई समेट्ने गरी प्रस्तुत संकलनको दोस्रो भाग छाप्ने कुनै योजना साझा प्रकाशनसँग छ भने त्यसको खुलासा पनि गरिदिएको भए हुन्थ्यो । त्यस्तो कुराको संकेत कतै छैन, त्यसैले, चर्चा गर्न लागिएको संग्रहलाई अधुरो अपूरो भन्नैपर्ने हुन्छ ।

यो एउटा कमजोरीलाई बिर्सिदिने हो भने भारतीय नेपाली कथाहरूको यस संग्रहलाई ऐतिहासिक महत्त्वको संग्रहणीय पुस्तकका रूपमा स्वीकार गर्न सकिन्छ । कविता, कथा, निबन्ध र समालोचना आदि विधाका प्रतिनिधिमूलक रचनाहरूको साझा संग्रहको प्रकाशन गर्दै आएको राष्ट्रकै अन्यतम साहित्य प्रकाशन गृह साझा प्रकाशनले गरेको यो एउटा स्तुत्य काम हो । भाषा र संस्कृतिका माध्यमबाट आत्मीय बन्धनमा बाँधिएका मूलभूमि नेपाल र भारतको उत्तर र पूर्वोत्तर क्षेत्रमा बसोबास गर्ने नेपालीलाई मानसिक र हार्दिक रूपमा नजिक ल्याउन यस्ता सांस्कृतिक अभियानले ठूलो सहयोग गर्न सक्छन् । कला र साहित्यको कुनै राजनीतिक सीमा हँुदैन । हाम्रा लागि कथाकार गुरुप्रसाद मैनाली वा पुष्करसम्सेर जति, पि्रय छन्, त्यत्तिकै प्यारा शिवकुमार राई छन् र छन् इन्द्र सुन्दास पनि ।

आधुनिक भारतीय नेपाली कथामा नेपाली भाषा बोल्ने भारतीय जनताको बसोबास भएका उत्तर र पूर्वोत्तर भारतका असम, डुबर्स, दार्जिलिङ, नागाल्यान्ड, मेघालय, बनारस र सिक्किमका गरी जम्मा ४४ कथाकारका चवालीसै थान कथा संकलित छन् । प्रकाशनको बहुलताका आधारमा सबैभन्दा बढी कथा दार्जिलिङ क्षेत्रका कथाकारहरू -२६) को समावेश गरिएको छ भने बनारसबाट जम्मा एक जनाको प्रतिनिधित्व छ । बृहत्तर असममै गाभेर प्रस्तुत गरिएको भए पनि फरक नपर्नेमा डुबर्स, मेघालय, र नागाल्यान्डलाई पृथक् शीर्षकमा राखिएको छ भने सिक्किमलाई पनि दार्जिलिङबाट अलग्गै प्रस्तुत गरिएको छ । कथा लेखकको उपस्थिति नै नभएर हो वा संकलकले अल्छी गरेर हो, देहरादून र भाक्सु तथा कलकत्तामा बसेर भारतीय नेपाली साहित्यको सेवा गरिरहेकाहरू भने समेटिएका छैनन् ।

यस संग्रहको विशेषताका रूपमा सम्पादक अविनाश श्रेष्ठले लेखेको विश्व-कथा साहित्यको इतिहास, नेपाली कथाको उद्भव र विकास एवम् भारतीय नेपाली कथा साहित्यसम्बन्धी अग्रलेख रहेको छ । अग्रलेख बडो मिहिनेतका साथ विषय-वस्तुसँग सम्बन्धित दर्जनौं सन्दर्भग्रन्थको गहन अध्ययनपछि लेखिएको छ र यसले साहित्यका विद्यार्थीका निम्ति उपयोगी पाठ्यसामग्री प्रदान गर्दछ । अग्रलेखमा आधुनिक नेपाली कथा-लेखनको थालनी नेपालभित्रका बालकृष्ण सम, गुरुप्रसाद मैनाली वा पुष्करसम्सेरहरूबाट होइन, दार्जिलिङका रूपनारायण सिंहबाट 'अन्नपूर्ण' कथामार्फत् भएको विषय पनि प्रामाणिक किसिमले उठाइएको छ । कथाकारको परिचय र कथाबारेको टिप्पणी पनि बजोडको छ ।

संग्रहमा, संकलित कथाकारका उत्कृष्टतम कथा नपरेको कुराका बारेमा सम्पादकको भनाइ यथा अवसर सार्वजनिक हुनेछ भन्ने आशा गर्न सकिन्छ । शिवकुमार राई, लीलबहादुर र क्षेत्री, इन्द्रबहादुर राई, अच्छा राई रसिक, इन्द्र सुन्दास आदि समर्थबाट कथाकारलाई प्रायः दोयम् दर्जाका कथामार्फत् संग्रहमा उपस्थिति गराउनुमा सम्पादकको लहडले भूमिका खेलेको छ भने त्यो सरासर गलत हो । केही कथाकारहरू गुणवत्ताका आधारमा संग्रहमा स्थान दिनयोग्य नहुँदा पनि परेका छन् । यो, मित्रलाभको खेलबाट भएको हुनुपर्छ ।


 

प्रकाशित मिति : प्रकाशन मिति : शनिवार, 4 श्रावण, 2065

लेखकका अन्य रचनाहरु