संसारको गाली भयो जिन्दगानी आज
उपेक्षाको ताली भयो जिन्दगानी आज
मग्मगाउन सकेन खै ! सुवासना छर्दै
दुर्गन्धको नाली भयो जिन्दगानी आज
काम पूरा भएपछि मिर्क्यो रछ्यानमा
रित्तिएको थाली भयो जिन्दगानी आज
न त फुल्यो फूल कैले न भो हराभरा
खडेरीको डाली भयो जिन्दगानी आज
कति थुन्नु कति छेक्नु देख्छु प्वाल मात्रै
चुहिएको आली भयो जिन्दगानी आज
नसक्ने भो थेग्न अब घाम पानी चर्को
मक्किएको पाली भयो जिन्दगानी आज
लथालिङ्ग भए सबै जिम्मेवारी आफ्ना
भाँच्चिएको फाली भयो जिन्दगानी आज
उपकारको बदलामा ढाक्यो अपकारले
समृद्ध थ्यो खाली भयो जिन्दगानी आज
भरोषा र आशा जति चुट्यो असिनाले
बगाएको बाली भयो जिन्दगानी आज
पोखिएर जाँदो रैछ पसिनाको कथा
महत्वहीन माली भयो जिन्दगानी आज
तितरवितर भए सारा उपलब्धि खोज्दै
टुङ्गिएको र्याली भयो जिन्दगानी आज
बारम्बारको यन्त्रणाले जीर्ण भयो धेरै
च्यातिएको जाली भयो जिन्दगानी आज
अशान्तिले घेर्दाघेर्दै हराएछ कान्ति
मेटिएको लाली भयो जिन्दगानी आज
चन्द्रागिरी नगरपालिका,वा.नं.२१-पुरानो नैकाप, हाल:- न्युयोर्क
प्रकाशित मिति : प्रकाशन मिति : शुक्रबार, 20 फागुन, 2073