अनि केर्छन् पुनः लेख्छन्, कठैबरा बिचरा भूपि शेरचन !

- श्यामल

भूपी शेरचन भन्थे- मैले आफैंलाई उछिन्न सकिनँ भने किन लेख्ने ?
आधुनिक नेपाली कविताका सर्वाधिक लोकपि्रय कविका रूपमा भूपि शेरचन ज्युँदै छन् । उनी राणाशासनको रापले पोलेको नेपालमा जन्मे, पैसा र सामानको लेनदेनलाई नै जीवनको मूल मार्ग बनाउने थकाली परिवेशमा हुर्के र उनले धनीमानीले सजिलै अवलम्बन गर्न नचाहने माक्र्सवादजस्तो राजनीतिक दर्शनलाई अंगीकार गरे । उनले जनवादी नारालाई कलात्मक रूप दिए र रिमालले कोरेको गद्यकविताको राजमार्गलाई सिमेन्टेड (पक्की) बनाए । उनले आधुनिक नेपाली कविताको भाषालाई विषयवस्तु र रूपले समृद्ध पारे ।
भूपि यद्यपि सम्भ्रान्त व्यापारिक खानदानका उत्पादन थिए, उनले सर्वसाधारणका लागि आकर्षक वस्तुव्यापारको व्यवसाय रोजेनन् । समाजवादी चिन्तन, प्राज्ञिक मर्यादा र काव्यकर्मको असहज अध्यवसाय रोजे । सामान्य मानिससँग बाँच्दा उस्तै भएर बाँचे । उनले केही लिए र केही दिए । सामान्यतया चलाख मानिने शठहरू लिनमा मात्र कुशाग्र हुन्छन् । भूपि पीडा लिएर पीडाबाट उन्मुक्तिका सूत्रहरू काव्यकलामार्फत् दिनसक्ने सांसारिक जुनी प्राप्त गर्ने अति थोरै मनुष्यमा पर्छन् ।
नेपाली कवितामा भूपिको सबैभन्दा ठूलो प्रभाव उनका प्रायः सबै कविता नेपाली वा विश्व-मानवका जीवनका अहम् प्रश्नहरूसँग गाँसिएका छन् । यसैले तिनको चिन्तनको स्पर्श र प्रासंगिकता त छँदै छ, सँगसँगै तिनमा कलाको जस्तो प्रयोग छ, हामीलाई गहिरोसँग आन्दोलित गर्ने, चिन्तनशील तुल्याउने र विश्वका मुक्ति-आन्दोलनसँग नेपाली मस्तकलाई जोड्ने जुन प्रयत्न छ त्यो कम आल्हादकारी छैन । उनी हाम्रो समयका उत्कृष्ट काव्यकलाकार हुन् । समकालीन धेरै प्रतिभाशाली कविहरूले भूपिभन्दा धेरै अघि पुग्ने अहम् प्रयत्न गरेका छन् । तर, भूपिको प्रभाव कम हुँदैन, निरन्तर बढिरहेको छ

भूपि शेरचनको सन्दर्भमा, उनको निकट उत्तरवर्ती कविका रूपमा, हामीले जिम्मेवारी वहन गर्ने कुरा हो, त्यो त्यति सजिलो भने छैन । जीवनको लगभग उत्तरार्द्धमा (त्यतिबेला उनी प्रज्ञा प्रतिष्ठानमा प्राज्ञ थिए) भूपिले मसँग भनेका थिए- 'तपाईं-हामी देवकोटा र रिमालका स्वस्थ सन्तान हौँ ।' यसको अर्थ निकै गम्भीर हुनुपर्छ । यसले देवकोटा र रिमालका नाममा कहीँकतै अस्वस्थ प्रवृत्ति पनि अस्तित्वमा आइरहेको थियो र उनले त्यसको पहिचान गरिसकेका थिए भन्ने संकेतसमेत गर्छ । उनलाई असाध्य रोगले च्यापेका बेला मैले त्यसलाई खुलस्त गर्न भन्न सकिनँ । उनी हामीसँग केही बढी नै अन्तर्क्रिया गर्न चाहन्थे । तर, उनको उपचार-व्यवस्था र परिवारमाथिको चापले त्यसो सम्भव भएन ।
तर, उनको देहावसानका यति वर्षपछि, नेपाल परिवर्तनको संघारमा छ । नयाँ सन्दर्भमा कविको भूमिका पनि पुरानै किसिमको रहन सक्तैन । आजको कविले आफ्नो जिम्मेवार काव्यकलाको माध्यमबाट नयाँ व्यवस्थामा आममानिसमाथि हुने यावत् दबाबलाई नवीन चेत र रूपका साथ अभिव्यक्त गर्नुपर्छ र आममानिससँगको आफ्नो सरोकारलाई अझ गहिरो र फराकिलो पार्दै विश्वका सबै भाषाका साहित्यमाझ पुर्‍याउनुपर्छ । हाम्रो कविताको उन्नत परम्परा र नयाँ चेत तथा रूपको प्रयोगले हामीलाई अन्य देशका काव्यशिल्पी र पाठकमाझ परिचित तुल्याउनेछ । हामीले न देवकोटा, न रिमाल न त भूपिलाई नै अन्तर्राष्ट्रिय जगत्मा प्रस्तुत गर्न सकेका छौँ । यस्तो अनुपस्थिति राज्यलाई बिझ्नुपर्ने हो । तर, त्यसको सांस्कृतिक नीति नै बनेको छैन । बने पनि हामीले नयाँ राज्यसँग पनि जुध्नै पर्नेछ किनभने उसका आफ्ना निहित स्वार्थले हामीलाई राज्यको स्रोतको घेराबाहिर पारी नै रहनेछन् ।
मलाई सम्झना छ, भूपिले २०३६ सालतिर मलाई नक्साल नारायणचौरस्थित आफ्नो घरमा बोलाएका थिए । उनको स्वास्थ्यको अवस्था निरन्तर खस्कँदो थियो र लामो समय घरमै सीमित रहन्थे । उनी मलगायतका नयाँ कविहरूसँग नेपाली कविताको स्रोत, सम्भावना र शक्तिबारे चर्चा गर्न चाहन्थे । भूपिले विश्वमा भएका समसामयिक हलचललाई अत्यन्त तीव्रताका साथ ग्रहण गर्थे भन्ने कुराका साक्ष्य उनका कतिपय कविताहरूमा पाइन्छ । उदाहरणका निम्ति भियतनामको साम्राज्यवादविरोधी युद्धमा उनले देखाएको ऐक्यबद्धता उनको एक अति नै शक्तिशाली कविता 'हो चि मिन्हलाई चिठी' मा देख्न सकिन्छ ।

उनी राजाले नियुक्त गर्ने प्राज्ञमा जागिर खान कमलादी गएपछि धेरै स्वनामधन्य वामपन्थी लेखक-समालोचकको मनमा पहिरो गएको थियो । उनीहरू भूपि बिकेको, बिग्रेको र भत्केर जराजीर्ण भएको बोल्थे, लेख्थे ।
भूपिले देहत्याग गरेको बेला न त राज्यका मिडियाले महत्त्व दिए, न त निजी क्षेत्रका मिडियाले उचित स्थान दिए । पञ्चायती सत्ताको प्यारो भएका भए शाही राज्यले पक्कै शोकगीत बजाउने थियो । उनी प्रतिबद्ध रहेको नेकपा मातृसमूह रायमाझीसँगै दरबार पसेको थियो र सायद त्यसैले घिसारेर उनलाई कमलादीको प्रज्ञादरबार पुर्‍याएको थियो । त्यस दंशको भयानक अनुभूतिले नै होला, उनले गरिमामा 'सर्पको खोजीमा' शीर्षकको कविता प्रकाशित गरे । त्यसै पत्रिकाको अन्तर्वार्तामा उनले ''ले आफू बिगे्रको बताएका थिए । ती ''का अर्थ थिए-कम्युनिस्ट र कवि । उनको यस अभिव्यक्तिले वाम खेमाका ठेकेदारहरूमा भुइँचालो गएको थियो । हुन पनि उनका धारदार कविताको रचनागर्भमा माक्र्सवादको गहिरो प्रेरणा थियो र जनप्रतिबद्धताले उनलाई जनकविका रूपमा उभ्याएको थियो । तर, माक्र्सवादको बर्को ओढेर शाही राजको पाउ ढोग्ने रायमाझीको राजनीतिक चालबाजीबाट उनले सचेत रूपमा उम्कने प्रयास गरेनन् । यसले उनलाई जीवनभरको लगानीबाट विमुख पार्‍यो । तर, उनको काव्यकलाका अगाडि ठाडो गरी हेर्नसक्ने क्षमता न वाम मार्गका सांस्कृतिक ठेकेदारहरूमा थियो न त दक्षिण मार्गका साहित्यिक जर्नेलहरूसँग नै थियो । उनीहरू भूपिको त्यस कमजोर गाँठोलाई समातेर आफ्नो प्रतिबद्धताको पुस्ट्याइँ गर्ने कोसिस गर्थे । तर, जब भूपिको उपस्थिति देखिन्थ्यो, तिनीहरू पुड्कै देखिन्थे । तिनको समस्या काव्यकलाको बुझाइमा हुन्थ्यो । त्यसैले खर्च गर्ने भूपिको लोकपि्रयताबाट सातो गएका केही समकालीन कविहरू उनको अनुपस्थितिमा उनलाई तुकबाज भन्थे, अनि मात्र आफू ऊभन्दा राम्रो कवि हुँ भन्ने डिङ हाँक्थे । तर, त्यसो गर्दा उनीहरू आफ्ना भैयादसँग हुन्थे जससँग काव्यचेतको अभाव त थियो नै, विचारविहीनताले तिनको मस्तकसमेत खुइलिएको हुन्थ्यो । तिनलाई भूपिको सहज अन्त्यानुप्रास मिलाउन सक्ने अद्भूत क्षमताबारे ज्ञान नभएर होइन बरु ती आफ्नो अक्षमतालाई ढाक्न त्यसो भन्ने गर्थे । यो कुरा कसैले भन्यो भने भूपि फिस्स हाँसेर भन्थे- 'बिचराहरूलाई क्राफ्टबारे थाहा छैन ।' त्यस हाँसोमा एक गम्भीर अर्थ लुकेको हुन्थो । अनि मुद्रालाई गम्भीर मोड दिँदै उनी भन्थे- 'कि त यिनले पढेका छैनन्, पढेका भए बुझेका छैनन् ।'
एकपटक उनको स्वास्थ्य अवस्थाबारे बुझ्न म नारायणचौर गएँ र पुगेँ सरासर उनको कक्षमा । उनी अक्सिजन मास्क लगाएर अल्बेयर कामुको उपन्यास (प्लेग हो वा द फल, कुन्नि ?) पढिरहेका थिए । नमस्कारपछि उनलाई सोधेँ- तपाईंलाई कस्तो छ ? उनले इन्सुलिनदेखि पेनिसिलिनसम्म लिइरहेको र अक्सिजनदेखि अल्बेयर कामुसम्म एकैचोटि भित्र हुलिरहेको बताए । एकैपटक यति धेरै किन ? मैले सोधेको थिएँ ।
'
हतार भयो । अब बाँच्न कम समय रहेको हुनाले कम समयमा धेरै हुलिहाल्नुपर्नेछ, श्यामलजी !'
यो एक क्रूर ठट्टा थियो ।
केही मानिस नबुझिने कविता लेख्नु ठूलो कवि हुनु हो भन्ठान्छन् । प्रयोगधर्मिता भन्छन् । तपाईं के भन्नुहुन्छ ? मैले सोधेको थिएँ । म उनीबाट सकेसम्म केही जान्ने सुरमा थिएँ । र, खासगरी बौद्धिक भनिने कविताबारे भूपि के सोच्छन् भन्ने मेरो चासो थियो । उनको शालीन उत्तरले म झस्केँ ।

'
मोहनजी मेरा मित्र हुनुहुन्छ । उहाँ व्यक्तिका रूपमा भद्र हुनुहुन्छ । तर, मोहनजीजस्तै लेख्ने हो भने दिनमा सयवटासम्म लेख्न सक्छु ।' यति भनेर उनी चिरपरिचित मुस्कानका साथ विस्तराबाट बिस्तारै उठे । मास्क निकाले र चुरोट खोजेझैं गर्न थाले । उनले कामुले आफूलाई धेरै प्रभावित गरेको र यो उपन्यास सायद दोहोर्‍याएर पढेको बताए । चियाको चुस्कीसँगै केही बेर पाब्लो नेरुदा, हो चि मिन्ह, लोर्का, नाजिम हिकमत, रिमाल र देवकोटाबारे कुरा गरेर म फेरि आउने बाचासहित फर्किएँ । र्फकंदा सिरानीनिरको अक्सिजन सिलिन्डर र म त्यहाँ गएदेखि रिङ नगरिएको टेलिफोन हेर्दै फर्कें ।
केही दिनपछि मैले भूपि शेरचनमाथि एक कविता लेखेँ र गरिमालाई दिएँ । छापिएपछि मैले उनको फोन पाएँ । धन्यवाद पाएँ र एकपटक फेरि भेट्ने निम्तो पनि ।
, त्यसको केही दिनपछि, सायद अफिसको काममा एक हप्ताजति काठमाडौंबाहिर गएर फर्केपछि न्युरोड गेटनिर सनत रेग्मीले भूपि शेरचनको अन्तिम संस्कार भइसकेको सूचना दिए । बस्, यो आगामी भेटहरू र संवादको, उनीबाट सिक्ने र बुझ्ने मेरा अभिलाषाहरूको अवसान थियो ।
त्यसको एक वर्षपछि । कवि शैलेन्द्रसिंहले आफ्नै निवासमा भूपिको स्मृति गर्ने भनेर हामी केहीलाई बोलाए । त्यहाँ थिए स्व. ईश्वर बराल, स्व. वासु शशी, ध्रुवचन्द्र गौतम, नगेन्द्रराज शर्मा, विनोद अश्रुमाली आदि एक दर्जनभन्दा बढी स्रष्टाहरू । सायद गोविन्द वर्तमान पनि उपस्थित थिए । उपस्थितमध्ये केहीले भूपिको स्मृति गर्ने बहानामा उनको शवको उत्खनन गरिरहेका थिए । तिनीहरू भूपिको काव्यकला र नेपाली कवितामा उनको स्थान र योगदानबारे मौन थिए, तर भूपिको मद्यप्रेम, केही त्यस्तै अलोकपि्रय र असामाजिक लाग्ने घटना र भूपिको मानमर्दन हुने क्षणका स्मरण गर्दै थिए । मेरा लागि यो अति असहज अवस्था थियो र मैले भूपिको पहिलो वाषिर्कीमा त्यस प्रकारको लज्जास्पद काम नगर्न आग्रह गरेँ । मैले आग्रह गरिरहँदा ती सबै मौन थिए मानौँ तिनले साँच्चिकै अपराध गरेका हुन् । मैले हरिभक्त कटुवाललाई पनि त्यस्तै गरिएको र उनीहरूजस्ता समर्थ रचनाकारलाई स्मरण गर्ने उपयुक्त शैली वरण गर्न भनेँ ।
बिचरा कमजोरहरूलाई अरूको कमजोरीको चर्चा गर्दा आनन्द आउँदो रहेछ ।
अहिले म सोच्छु, गणतन्त्र भूपिको पनि सपना थियो । तर, छद्म गणतन्त्रवादीले भूपिको सपनालाई सपना मान्नेछैनन् ।
आखिर यहाँ भूपिले भनेझैं त हुन्छ :
जहाँ स्वदेशको पीरले बहुलाएको कविले
विदेशी अस्पतालको शरण पर्नुपर्दछ
जहाँ सरस्वतीकी एक्ली छोरीले
बिनाउपचार बैंसमै कुँजिएर
जीवन बिताउनुपर्दछ

नयाँ पत्रिकाबाट

प्रकाशित मिति : प्रकाशन मिति : शनिवार, 28 आसाढ, 2065

लेखकका अन्य रचनाहरु