देदीप्यमान

- ॠतु आसीक

प्रकृति !
सृष्टिको उच्चतम कलाकारिता
मलाई थाहा छैन
तिमी मेरो लागि किन प्रिय भयौ ?
जब–जब तिमी मेरो
मानसपटलमा
आउने जाने गर्छेऊ
तिम्रा भावका अभिनयहरु
मलाई चिथोर्ने गर्छ ।
म आफैं फुर्किने गरेको छु ।
समयको तालिका मिलाएर
तिमीलाई मेरो इलाकामा
खोज्ने गरेको छु ।
खोज्ने ठाउँमा नभेटिँदा
मन नै अमिलो हुन्छ ।
के भएको होला ?
सन्च नभएको होला भनेर
सूर्यलाई इशारा गर्ने गरेको छु ।

प्रकृति !
तिमी सृष्टिको उच्चतम कलाकारिता
तिमी आउँदा आँधीबेहरी भएर आउँछेऊ
तेजोमय अनुहारको रापमा
तिमीलाई देख्ने गरेको छु ।
तिमीलाई हेर्दा गर्वले छाती
फराकिलो हुन्छ ।
तिम्रो स्नेह स्निग्धताको छहारीमा
आफूलाई डुबुल्की मारेको सपना
देख्न थालेको छु ।
तिमीलई फेरि भनूँ ?
तिम्रो तेजोमय अनुहार झन् झन्
देदीप्यमान भएको देख्न थालेको छ ु ।
हो ! झन् झन् देदीप्यमान भएको
देख्न थालेको छु ।

फ्लोरिडा, पामबे,

प्रकाशित मिति : प्रकाशन मिति : बिहीबार, 20 आश्वीन, 2073

लेखकका अन्य रचनाहरु