कविता ! छैन कविता !!

- लक्ष्मीप्रसाद कोइराला

स्वदेशी कम्पनीमा निर्मित एउटा कलमले
हाम्रै तराइ,पहाड,हिमालमा देखिएका
ऐजेरुका गाँठाहरूलाई सम्याउन खोज्दा
एकहुल मान्छेहरुले त्यसलाई चिनेनन्
अनि,ठूलो यातनाको खोपीमा लुकाएर
"ऊखुको लाँक्रो भाँचे झैँ पट्याक्क भाँचेको
के दुनिँयाका कलमलाई थाहा छैन?
नत्र,खोई त त्यसको कविता??
त्यसकारण,कविता!छैन कविता!!

त्यो कलमले,
मेरी आमाको मुखमा लगाएको
कोनका कम्पनीको भोटे ताल्चालाई खोल्न खोज्दा
अमिरपतिले लुटेको श्रमको एकगाँस रोटीलाई
खोसेर तपाईं हामीलाई नै बाँड्न खोज्दा
हुस्कीको चुस्कीले रनभुल्ल हुनेहरूलाई पचेन ।
त्यसकारण,
त्यसलाई ऊखुको लाँक्रो भाँचे झैँ पट्याक्क भाँचेको
के दुनियाँका कलमलाई थाहा छैन?
नत्र,खोई त त्यसको कविता??
त्यसकारण,कविता ! छैन कविता !!

त्यसले,
सगरमाथाको एउटा कविता कोर्दा
विदशी कम्पनीका कलमहरु डराउँथे
त्यसले खएरको बोक्रालाई
भाँडामा भक्भक्ती उसिनेर तुल्याएको
त्यो रातो मसीले साहित्य सृजना गर्दा
अरु कम्पनीको मसी बजारमा बिकेन भनेर
त्यसलाई ठूलो यातनाको खोपीमा लुकाएर
ऊखुको लाँक्रो भाँचे झैँ पट्याक्क भाँचेको
के दुनियाँका कलमलाई थाहा छैन?
नत्र,खोई त त्यसको कविता??
त्यसकारण,कविता ! छैन कविता !!

वसन्तले ल्याएको
त्यो परिवर्तनगामी भेलको
कलमले कविता कोर्नपाउने
त्यसको अधिकार हैन?
जस्तो आगाको काम तताउने हुन्छ
त्यस्तै संसारलाई अन्यायको जाडोले
कठ्याङ्ग्रिने गरि न्याकेको बेला
त्यो कलमले अगेनामा अगुल्टा ठोसेर
बालेको आगो झैँ सृजनाले आगो बालेर
संसारलाई तताउनु के त्यसको दोष थियो?
अनि बिना विहेका दिन रत्यौली खेल्नेहरुलाई
बुर्कुसी मार्न कोलाको थम्बाको घोडा चाहिएको बेला
एउटा स्वदेशी कम्पनीको कलमले
तिनीहरुलाई नै घोडा बनाएर कुदाउनु
के त्यसको दोष थियो?
नत्र,ऊखुको लाँक्रो भाँचे झैँ पट्याक्क भाँचेको
के दुनियाँका कलमलाई थाहा छैन ?
नत्र,खोई त त्यसको कविता ??
त्यसकारण,कविता ! छैन कविता !!

तर
एउटा कलम भाँचिए पनि कम्पनी भाँचिदैन ।
एउटा कलमको मसी सकिए पनि
खएरको रुख रहुन्जेल रातो मसी सकिदैन ।
जसले जति गिल्लाका झट्टाराले हाने पनि
रचनाका शब्दहरुलाई लघार्न
कुनै माइबापले सक्दैन भन्ने कुरा
के दुनियाँका कलमलाई थाहा छैन ??
नत्र,खोई त त्यसको कविता ??
त्यसकारण, कविता ! छैन कविता !!!!!

प्रकाशित मिति : प्रकाशन मिति : शुक्रबार, 14 आश्वीन, 2073

लेखकका अन्य रचनाहरु