मेरा मित्र

- इन्दिरा दिक्षित

मित्रै हुन् ती परपरकतै दूरदेशै बसेका ।
रोजै सुन्छू खवर उनको हालचालै दुरुस्त ।
भन्छन् उन्को मृदुल मय त्यो छैन बोली मिठास।
खोल्छन् आफ्नो हृदय बिचमा गुम्सिएको तरंगी । १

हाँस्छन् खूबै कहिं पनि कतै बाँकि केही नराखी ।
भन्छन् हॉंस्नू दिल भरि सँगी भित्र केही नराखी ।
खोल्नु आफ्नो मनबिच कतै चाह इच्छा नमार्नू ।
आफ्नै लागी जिउनु अब लौ खुम्चिएरै न बस्नू । २

वर्तालापै उपनिषदको ज्ञान भण्डार उन्काे ।
भोगे आफै सबतिर पुगी देश पर्देश कस्तो ।
लेख्छन् आँखा वरपर सबै दृष्टि जे जे समेट्छन् ।
यात्रा वर्णन् अझ अरु कथा ठिक्क नारी पिडाका । ३

बस्छन् ठूलो शहर बढिया छैन केही घमण्ड ।
भन्छन् आफ्नै प्रियतम बडो लाग्छ मेरै स्वदेश ।
लेख्छन् खोजी कुनकुन कता देश भित्रै लुकेछ ।
डाँडा पाखा हिम र छहरा कन्दरा भित्र के छ । ४

हॉंसो खोज्छन् दुखितिहरुका दुखि नारी विचारी ।
थोरै पट्टी मलम रुपको लेख लेख्छन् उघारी ।
भन्छन् मैले जनम त लिएँ केही ता गर्नु पर्छ ।
स्वदेशैको जनहित हुने गर्छु केही सुकार्य । ५

खोल्छु आँखा अदन निदना दुख पीडा परेका ।
नेपालैको थित ब्यथितको खोल्छु भित्रै लुकेका ।
मित्रै मेरा सरल मनमा उत्तमै त्यो सँकल्प ।
पुरा होस् है मन वचनले माग्छु आशीष ईश । ६

छन्द: मन्दाक्रान्ता

प्रकाशित मिति : प्रकाशन मिति : बिहीबार, 9 भाद्र, 2073

लेखकका अन्य रचनाहरु