जूनबाट परावर्तित तिम्रो मुहार को उज्यालो
झ्यालबाट कोठा भित्र छरिएर
मेरो शरीर भरी चन्दनको लेप लागेको
एकाबिहानै, जून-
शरीर भरी भत्भताउदो छाल छोडेर
अस्ताइसक्छ !
मोबाइलमा
तिम्रो निकै लामो सन्देश आएकोछ
- दुखी नहुनु भन्ने !
म पनि उस्तै लामो सन्देश पठाउँछु
- नरुनु भन्ने !
नमिठो अनुभूतिले, तिम्रो नामका
मोबाइलका संकेतहरू थिचाउछ
मलाई थाहा छ - एनटिसिकै भएपनि
नेटवर्क सधैं खराब हुँदैन
तर, म बोलिरहन्छु
आज पनि
उताबाट जवाफ आउँदैन
सिवाय घाटिमै अड्किएको हिक्हिकि !
********
यो कस्तो सुखको सपनाले पखेटा हाल्यो
तिम्रो मन अमिलो, आँखा रसिलो नभएको दिन छैन
यो कस्तो आनन्दको आकांक्षाले खुट्टा उचाल्यो
मेरो मन बोझिलो, आँखा धमिलो नभएको दिन छैन !
भूमध्य-सागर उम्लिरहेछ
मरुभूमि जलिरहेछ
जिन्दगी हरेक पल परिक्षा लिदैछ
मृत्यु हरक्षण छायाँ बनेर पछ्याइरहेछ
मलाई थाहा छ, हरेक पटक समाचार सुन्दा
जहाज चढेर आउने 'कफिन' हरूमा
मेरो नाम छ कि भन्ने आशंकाले
तिम्रो - मुटुको धड्कन बढ्छ, श्वास फूल्छ
निद हराउँछ, छाती पोल्छ
सम्भावित तिम्रो अवस्थाको कल्पना ले
यो हाड घोटेर सुन पर्गेल्ने स्वप्नशालामा
थाहा छैन कहाँनेर
हात काटिन्छ, गोडा चिप्लिन्छ
श्वास रोकिन्छ !
**************
यो सपनाको बोझ श्रापित छ ।
न हाम्रो मायामा कमि छ
न हाम्रो विश्वाशमा खोट छ
न हाम्रो लगनमा कमजोरी छ
तैपनि,
श्रापित अमरत्वको अस्वत्थामा जिन्दगी
भौतारीइरहेको छ
ललाट पिडा मुक्तिको खोजमा !
यो श्राप कसको हो -
भूमिको या भूमिपतिको ?
या बिधाताको ?
के मिलनको प्यास नमर्दै
यो स्वप्न पर्खाल नाघिएला ?
हामीसँग प्रश्न छ उत्तर छैन !
मेरी प्रियतमा ! तिमीलाई पनि थाहा छ
मलाई पनि थाहा छ
उत्तरको खोजी
पुन: अर्को सिसिपस यात्रा हुनेछ !
यहाँ त एउटै नियति दोहोरीरहन्छ -
जूनबाट परावर्तित तिम्रो मुहार को उज्यालो
झ्यालबाट कोठा भित्र छरिएर
मेरो शरीर भरी चन्दनको लेप लागेको
एकाबिहानै, जून-
शरीर भरी भत्भताउदो छाल छोडेर
अस्ताइसक्छ !
प्रकाशित मिति : प्रकाशन मिति : बिहीबार, 2 भाद्र, 2073