छोरी

- मुक्ति गाैतम

उफ्रनुहुन्न छोरी
बोल्नुहुन्न छोरी
खेल्नुहुन्न
कतै जानहुन्न

केहि गर्नुहुन्न छोरीले,
समाज
लाज

ईज्जतको कुरा आउँछ ।

घरको काम सबै जान्ने
हुनुपर्छ छोरी
भाई बहिनीको हेरचाह गर्ने
राम्रो सुसारे हुनुपर्छ छोरी
ठूलासंग नबोल्ने
शीर झुकाएर हिन्ने
शिल स्वभाबकी हुनुपर्छ छोरी
छोरी सहने

अरुलाई सुन्ने हुनुपर्छ ।

बाहिर निस्कनुहुन्न छोरी
पढ्नुहुन्न छोरीले
सिधा हेर्नुहुन्न आँखामा
लज्जालु हुनुपर्छ
असल मीजासको हुनुपर्छ
छोरी
हाँस्नु हुदैन दील खोलेर
छोरी छोराजस्तो हुनुहुन्न ।


नउफ्रेर कसरी
आकाश छुने सपना
देख्नसक्थिन् मेरो दिदीले?
उड्ने सपना
जून टिप्ने सपना

तारा झार्ने सपना ।

नहिडेर कसरी
गन्तब्य पुग्नसक्थि मेरी बहिनी?
नहाँसेर कसरी
खुसी हुनसक्थिन् मेरी आमा?
नबोलेर कसरी
बालशुलभ उत्सुकताहरु
मेटाउन सक्छे मेरी छोरी?
कसरी जीत्न सक्छन उनीहरु
उनीलाई मान्छे नदेख्नेहरुलाई?

खाली भकारीमा अन्न भरेर
भोका पेटहरु भर्छिन् उनी
चिसो अगेनामा आगो बालेर
तातो पार्छिन्
घर र रित्ता पेटहरु,
सुकेर आफू
बाँडिएर टुक्रा टुक्रामा
लाम्टा चुसाउँछिन्
जन्माउँछिन् सन्तानहरु
रित्ता मनहरुमा
पोख्छिन् माया ।

जती बाँधेपनि घेराभित्र
ऊनीजति सपना
कसैले फलाउँन सक्दैनन्,
उनीजती माया
कसैले छर्न सक्दैनन्
बिभिन्न रुपमा
लुटिन्छ उनीहरुलाई
बोक्सी बनाइन्छ
उनको दोष के हुन्छ र बिधवा हुनुमा
अपशकुन मानिन्छीन् उनी
अछुत हुन्छिन्
आफ्नै घरमा पनि बिचरा,
बिभिन्न रुपमा
ठगिन्छन् उनीहरु
तर पनि
उनीजती बिश्वाश
कसैले रोप्न सक्दैनन् मान्छेमा
उनको आँखामा
हरेक चुनौतीभन्दा बलियो
बिश्वास चम्कन्छ
उनीजस्तो
कसैले भर्नसक्दैनन् जीबन
खाली मूर्तीहरुमा
रित्ता मान्छेहरुमा ।

टोरण्टो

प्रकाशित मिति : प्रकाशन मिति : शुक्रबार, 7 श्रावण, 2073

लेखकका अन्य रचनाहरु