विमोचन

- कृष्ण बजगाईं

उनी आफ्नो पहिलो पुस्तकलाई एक समारोहबीच र्सार्वजनिक गराउन गइरहेका थिए । वर्षौदेखिको उनको पुस्तक प्रकाशन गर्ने त्रि्र इच्छालाई श्रीमतीले आफ्नै नाक, कानका गहना बेचेर पुरा गरिदिएकी थिइन् तर विमोचन समारोहमा आमन्त्रितहरुको उपस्थिति देखेर उनी बडो बेचैन बने ।

ट्याक्सी भाडा नदिएका कारण प्रमुख अतिथि नै कार्यक्रममा आइदिएनन् । अनि हतारहतारमा अलि पाकाखालका एक आमन्त्रितलाई प्रमुख अतिथि बनाइयो । कार्यक्रमको औपचारिकता पूरा भएपछि प्रमुख अतिथिले आकर्ष जिल्ला खोलेर पुस्तक लोकापण गराए । यस्तो दृश्य देखेर लेखकका खुसीका आँसु झरे । यति खुसी त उनी प्रथम सन्तान जन्मदा पनि भएका थिएनन् रे । आफू छेउँमै बसेकालाई खुसुक्क सुनाइहाले ।

टिप्पणीकर्ताले पुस्तकका बारेमा बोल्न सुरु गरे । पुस्तकको गाता पातलो भएको, कागज कमगुणस्तरको, छपाई राम्रो नभएको, आवरणकला पुस्तकको नामानुसार नभएको भन्दै लेखकको झाँको झारे । पारिश्रमिक नपाएको झोँक टिप्पणीकर्ताले लेखकमाथि पोखेको कुरा प्रायः सबैले बुझिहाले । प्रमुख अतिथिको पालो आयो । एउटा पुस्तक निकाल्दैमा साहित्यकार भइँदैन भनेर लेखकलाई ख्याँसे ।

अब विमोचित पुस्तक सवैका हातमा पुगिसकेको थियो । खासखुस चल्दाचल्दै कार्यक्रम सकियो । हाम्रै घरपरिवारका कुरा लेखेर लेखक बन्ने भन्दै आमन्त्रितहरूले नै त्यहीँ लेखकको कठालो समाते । मलिन अनुहार लिएर लेखक घर फर्के । केही दिनसम्म उनले हरेक अखवारका पाना पल्टाए । कतै आफ्नो पुस्तकका बारेमा समाचार, टिप्पणी वा समालोचना छापिएको छ कि भनेर । अँह त्यस्तो केही पाएनन् । त्यसबाट उनी झन् निराश भए । यसैबीच अचानक एकदिन लेखकले आत्महत्या गरे ।

आजकल उनकी श्रीमती प्रत्येकदिन अखवारका पाना पल्टाउँछिन् कतै समवेदना सन्देश छापियो कि भनेर ।
साभारः मधुपर्क, काठमाण्डौं

प्रकाशित मिति : प्रकाशन मिति : बिहीबार, 17 आश्वीन, 2064

लेखकका अन्य रचनाहरु