ज्यामद्वार

- खगिन्द्रा खुसी

“लःहोइ! लःहोइ!! नेप्टे........! नेप्टे हु...आइजो, छिटो आइजो!!” बाँदर खेदाउनु भन्दा पनि लुगा धुन खोल्सीमा गएको छोरोको डर धपाउनका लागि ठुलो ठुलो आवाजमा कराउँदै छे चन्चली ।
“आएँ!! खोल्साबाट छोरोको उत्तर आए पछि केही क्षणलाई शान्त हुन्छ चन्चलीको मन ।
डाँडाबाट, पूर्व र दक्षिणतिरको खुल्ला फाँट अनि त्यही फाँट भित्रको पूर्वको सहर विर्तामोड र दक्षिण पटिको सुरुङ्गाबजार देखिन्छ । राजमार्गका केही भागहरु देखिन्छन् । त्यो देखिएको भागमा कुदेका गाडीहरु उसलाई कमिला कुदे जस्तो लाग्छ । कुनै आवाज बिना ओहोर दोहोर गरिरहेका हुन्छन् राजमार्गका गाडीहरु । मध्येराति गाउँ र जङ्गलको सारा प्राणि सुतेको बेलामा कुदेका गाडीहरुको मात्र आवाज सुनेकी छे चन्चलीले ।
“तरुल पोलिनस् काली? गाउँतिरका फाँटहरुमा हेरेर भुल्लिरहेकी चन्चली १२ वर्षे छोरोको आवाजले झस्किन्छे ।“छ जा! आमा छे घरमा ।” छोरोले धोएर ल्याएको लुगा सुकायो । उसको लुगा भन्नु नै त्यही कट्टु हो । अम्लिसो थुत्न जानेहरुले छोडेका रहेछन् । चन्चली खाना खोज्दै जङ्गल हिंडेको बेला अम्लिसोको ठुटामाथि भेटेकी थिई । छोरोलाई हुन्छ भनेर बोकेर ल्याई । त्यही कट्टु लगाउँछ नेप्टेले लुगा भनेर र कहिले काही खोल्सीमा गएर धुन्छ । आज पनि खोल्सी पुगेर धोएको त्यही कट्टु पाखाको सालिम्बो माथि सुकायो र तल रुखको फेदमा स्याउलाले बारेर बनाएको घरतिर कुद्यो । घरमा चन्चलीकी बुढी आमा छिन् । त्यहाँ पुगेर “आमा तरुल दे!” भन्यो । आमाले आगो वालेको ठाउँको छेउमा राखेको तरुल देखाएर “उ! खा! भन्छिन्” नेप्टे तरुल टिपेर कुद्न खोज्छ । आमाले “पख्! म पनि जान्छु” भने पछि आमाले भुईँमा हात टेकेर उठे पछि हजुरआमा नाति डाँडातिर लागे ।
सम्बन्ध हजुरआमा नाति भए पनि उनिहरुको सम्वोधन फरक छैन । तिन जनाको त्यो परिवारमा सबैले सबैलाई तँ सम्बोधन गर्छन् । तेरो सम्बोधन ठिक भएन भन्ने कोही छैन । तपाईँ, भन्नु पर्छ, हजुर र बक्सियोस भन्नुपर्छ भनेर सिकाउने पनि कोही छैनन् ।
चन्चलीका आँखा अझैपनि पूर्वतिरका फाँटहरुमै एकोहोरिइरहेका छन् । छोरो र आमा आएको थाहा पाएपनि उसका आँखालाई फाँटबाट हटाइन । बुढीआमै आएर उसको छेउमै बसीर खुइय!! गरी । छोरोले चन्चलीका आँखामा हे¥यो, उसले पनि त्यही फाँटमा आँखा पु¥यायो । धेरैबेर उभिएर सबै फाँटहरु भरि आँखा डुलायो र भन्यो “काली काँ हेरेकी?”
“काँ हेर्नु? त्यै गाउँ, बजरतिर हेरेको नि ।”
“के हो काली गाउँ, बजार भनेको?”
चन्चलीले चिम्सा आँखा पारेर भनी
“मान्छे बस्ने ठाउँ नि! मान्छे नै मान्छे बस्छन् ! धेरै जना, बजारमा सामान किन्छन्” भन्दै आमातिर हेरी चन्चलीले ।
“त्यति धेरै मान्छे नि हुन्छन्?”
चन्चलीकी बुढीआमाले चाउरी परेको अनुहार नेप्टेतिर फर्काई र भनी
“हुन्छन् नै, तेरो बाउ पनि त्यै गाउँमै होला.....।”
“के हो बाउ भनेको?”भन्दै नेप्टेले हजुरआमा भएतिर हे¥यो ।
“अइले बुझ्दैनस्! पछि बुझ्छस्!” भन्दै हाँसी चन्चली । बर्षाैँदेखि नमोलेका पहेंला दाँतबाट ह्वास्स गन्ध आयो । त्यस्तै गन्धको वानी परेको छ नेप्टेलाई । कुनै प्रतिक्रिया नदिई आमाको नाङ्गो ढाडमा मडार्रिँदै बोलिरह्यो ।
“भन् न काली, गाउँमा किन धेरै मन्छे बस्छन्?” नेप्टेले वाउको प्रसङ्ग छोडेर गाउँको कुरा बुझ्न खोज्यो ।
“भन्दे आमा !” चन्चलीले टाउको झड्कारेर भने पछि आमाले नातिलाई हातको इसाराले छेउमा बोलाइन् । नेप्टे आमाको ढाड छोडेर हजुरआमाको नाङ्गो काखमा आएर बस्दै–
“लु भन् त आमा” भन्यो ।
आमाले घामको किरणलाई हातले छेलेर । पूर्वदक्षिणतिर देखिने घर, गाउँ र सहरभरी आँखा डुलाइन् । अनि औँलाले देखाउँदै भनिन् । ती घर, गाउँ र सहर थिएनन् पहिला । त्यहाँ पनि यहाँ जस्तै सबै जङ्गल थियो । ”
“अनि कसरी अहिले चैं गाम् भयो त?” नेप्टेले उत्सुकता प्रकट ग¥यो ।
“मान्छे आए नै, पाहाडबड, पहिला पहिला मान्छे मधेस आउँदैन थें, औलो लागेर मरिन्छ भनेर ।”
“मधेस भनेको के हो आमा?”
“मधेस भनेको उ........त्यो” देखिएको टार जस्तो ठाउँ हो ।” भन्दै समथर भागलाई देखाई । टार भन्ने बित्तिकै बुझ्यो नेप्टेले । डाँडाबाट देखिने खोल्सी भन्दा माथिको खुल्ला, फराकिलो भाग छ । त्यहाँ खरायो जरायो र मुजुरहरु चरेको डाँडामा बसेर हेर्ने गथ्र्यो नेप्टेले । त्यसैलाई आमा र हजुरआमाले टार भन्ने गरेका थिए ।
“ए...। भनेर एक छिन मौन बस्यो नेप्टे र फेरि हजुरआमाको भुँडीको छाला तान्दै प्रश्न ग¥यो ।
“क्वै पनि आउँदैन थ्यो त?”
“अहँ, आउँदैनथ्यो, मधेसभरी सबै जङ्गलै जङ्गल थियो, पाहाडमा पनि मान्छेहरुको गाम् थियो, त्यहाँ मात्र मान्छेहरु बस्थे”
“आमा हामी चैं किन गाममा नवसेको? किन यो जङ्गलमा बसेको?” आमाको कुरा सकिन नपाउँदै नेप्टेले अर्को प्रश्न ग¥यो ।
“हामीलाई हाम्री आमाले जङ्गलमै जन्माइ नै त.......” आमाले लेघ्रो तानेर उत्तर दिइन् ।
“किन जङ्गलमा जन्माएकी त?”
अघि घाम भएको ठाउँमा बसे पनि अहिले त्यो ठाउँमा रुखको छायाँ परिसकेकोले अलि मास्तिर घाम लाग्ने ठाउँमा बसिन् आमा । नाति पनि पछि पछि गयो र अघिकै जसरी काखमा बसेर कुरा सुन्न आतुर भएर आमाको मुख तिर हेरेर बसिरह्यो । आमाले कुरा सुरु गरिन्
“ज्यूँदै ज्यामद्वारदेखि यो नर्कतिर धकेलेर घर फिरेका थिए रे उनीहरु । कति कराई रे, कति रोइ रे, तर ‘सबै ढुङ्गा जस्तो भए’ भन्थी मेरी आमा । ढुङ्गै ढुङ्गाको बिचमा ढुङ्गै भएकी थिइन् रे उसकी आमा पनि, तर ढुङ्गै भए पनि पग्लिएकी थिइन् रे उसको मायाले, रोएकी थिइन् रे, मुर्छा परेकी थिइन् रे तर पनि छोरीलाई ज्यामद्वार नकटाउँ भनेर कसैलाई भन्न सकिनछिन्, छोरीलाई ज्यामद्वार नकटाउँ भनेर कसै सँग भनेकी भए आफु पनि छोरी सँग ज्यामद्वार कट्नु पर्ने डरले नबोलेकी हुन् भन्थी आमाले । उसलाई ज्यामद्वारदेखि जङ्गलतिर घँचेटेर ज्यामद्वारको तगारो लगाइ दिएर मुर्छा परेकी आमालाई घिसार्दै घर फिरेका थिए रे उसका आफन्त र समाज । उसलाई त ज्यूँदैमा बाघले चिथोरोस्, हात्तीले पछारोस्, सिंहले चोक्टा चोक्टा लुछेर खाओस् भनेर छोडेका थिए मान्छेहरुले यस हिंस्रक पशुहरुको संसारमा, तर कसो कसो भगवानले छलिदिएछन् बाघ भालुका आँखा । बाँचिछे मेरी आमा । सार्कीको वीर्यबाट पाठेघरमा हुर्कँदै गरेकी मलाई बोकेर, डर र त्राससँगै बाघ भालुको आक्रमणबाट लुक्दै, भाग्दै काँचा गिठ्ठा कुराहरु खाँदै, जङ्गल जङ्गल बौलाई जस्तो दौडँदा दौडँदै जन्मिएकी थिएँ रे म । म जन्मने बेलामा सुरक्षाको लागि डाँडामा गएकी मेरी आमा सुत्केरीमा पानी र खानाको अभावमा झन्डै मरे थें भन्थी । सुत्केरीमै ढुङ्गामा ढुङ्गा रगडेर आगो वालेको बेला ठुलो महलमा बस्दाको सुरक्षा महसुस गरेकी थिई रे आमाले ।
स्याल, बाघ, भालु र हिंस्रक जनावरहरुको आहार हुनबाट आफु पनि बचेर मलाई पनि हुर्काई आमाले । यहाँ एउटा छुट्टै संसार थियो । त्यो संसारमा आमा र म थियौं । उसले मलाई तँ भन्थी, मैले पनि त्यही सिकेँ र तँ भनेरै सम्बोधन गर्न थालें । गाममा त तिमी, तपाईँ भन्छन् भन्थी, तर मैले कैले तपाँई भनिन उसलाई । तँ भन्दा केही भन्दिन थिई तर आमा भन्नका लागि सधैं कर गरिरही आमाले । धेरै पछिबाट मैले आमा भन्न थालें ।
आमाको पछि पछि जङ्गल जङ्गल कुद्थें म, कहिले डाँडामा, कहिले खोल्सीमा पु¥याउँथि आमाले, हिंड्दा हिंड्दै जहाँ पुग्यो त्यहीं वास वस्थ्यौँ हामी । ढुङ्गा रगडेर आगो वाल्थी आमाले । त्यही आगो हाम्रो घर हुन्थ्यो, घरको खम्बा, वेरा र छाना हुन्थ्यो, हाम्रो जाडोको न्यानो पनि त्यही आगोको तातो मात्रै थियो । आज सम्म पनि त त्यस्तै छ नि” भनेर नातिलाई हेर्छे । नाति उसका चाउरी परेका स्तनको छाला खेलाउँदै एक ध्यानले आमाका कुरा सुनिरहेको छ । आमा फेरि आफ्नो कहानी सुनाउँछे ।
“आमाको पछि पछि हिंड्दा हिंड्दै म तरुनी भैसकेछु । मेरा छाती बढेका थिए, नछुने हुन थालेकी थिएँ । पहिला पहिला आमा नछुने हुँदी रहिछिन् । उनको तिघ्राबाट रगत बगेको देखेर डर लाग्थ्यो मलाई, पछि पछि मलाई पनि त्यस्तै हुन थाल्यो । सारै कष्ट सित वित्थ्यो चार दिन । आमा मेरो तरुनी शरीर लिएर जङ्गल जङ्गल डुल्थिन् ।
हामी यही जङ्गलका अग्ला अग्ला डाँडा माथि बसेर यसरी नै पूर्व र दक्षिण तिरका फाँटहरुका जङ्गल हेथ्र्याैँ । यी अहिले गाउँ घर र सहर देखिएका ठाउँहरु पनि जङ्गल नै थियो त्यस वेला । अलि अलि गर्दै सबै रुख विरुवाको जङ्गल हटेर घरहरुको जङ्गल बढ्न थाल्यो । कति छिटै परिवर्तन भयो त्यो ठाउँ ।
यो जङ्गलभरि जति घुम्दा पनि आमा र म जस्तो शरीर गरेका प्राणी कहीं भेटेकी थिइन् । एक दिन डुल्दै जाँदा खोल्सीमा पुग्यौं हामी । आमा अर्कोपटिको खोल्सीमा खन्यु टिप्न गइन्् । म त्यहीं बसीरहेकी थिएँ । एउटा हामी जस्तो प्राणी आयो । म छक्क परें । चेप्टो अनुहार, थेप्चो नाक भएको त्यो मान्छ राई लिम्बु हो भन्थि पछि आमाले । तर उसको शरीरमा खोस्टा थियो । आमा गाउँका मान्छेले लुगा लगाउँछन् भन्थिन यही खोस्टो नै लुगा होला भन्ने अनुमान लगाएँ । सारै अचम्म लाग्यो, हामी जस्ता अरुपनि प्राणि रहेछन् भनेर खुसी लाग्यो । म खुसीले झम्टिएर उ तिर गएँ । उ पनि त्यसरी नै म तिर आयो । म बोल्न खोज्दै थिएँ उ सित । तर उ वोल्न खोजेन । मेरो शरीर पो चलाउन थाल्यो, अनि म माथि आइलाग्यो । एकछिनमा आमा आइपुगी । आमालाई देख्ने वित्तिकै उठेर भाग्यो त्यो हामी जस्तो प्राणी । आमाले ढुङ्गा टिपेर हानिन् । उ एकैछिनमा हरायो । मलाई अनौठो महशूष भएको थियो । कहिल्यै महसूस गर्न नपाएको अनुभूति । मनमनै आनन्दित भइरहेकी थिएँ । तर आमा रुँदै थिइ । उसले डाँडामा लगी र भनी–
“यहाँ मान्छे आइपुग्न थाले अव यहाँ बस्नु हुँदैन” ।
त्यहीं बसेर आमाले ल्याएको खन्युँ खाइसके पछि त्यहाँबाट हिंड्यौं हामी । त्यही हिंडाइमा भनेकी थिई उसले जङ्गल आउनुको कारण । गाउँको सार्कीले उसलाई पनि यसरी नै पेट वोकाएको थियो रे बलात्कार गरेर । आफ्नो इच्छाले पेट बोकेकी थिइन आमाले, त्यो पुरुषले जवरजस्ती पेट वोकाएको थियो । सजाय त त्यो पुरुषलाई दिइनु पर्ने थियो, ज्युँदै बाघको शिकार बनाउनु पर्ने थियो, तर निर्दोष मेरी आमालाई दिएछन् सजाय । उसको कथा सुनाउँदा धेरै रोएकी थिई आमा । पहिला पहिला पनि एक्लै एक्लै रोएको भेट्थें म तर किन रुन्थिन् थाहा थिएन । त्यसपछि पो थाहा भयो । आमा बाबु भाइ वहिनी दिदी दाजु वहिनीहरुलाई सम्झिएर रुँदी रहिछिन् आमा त । उनीहरुको मायाले पग्लिँदी रहिछिन् र उनीहरुको दिएको कठोर यातना सम्झेर पुनः जम्दिरहिछिन् ।
हामी त्यस ठाउँ भन्दा धेरै टाढा गयौं । मान्छे नपुग्ने ठाउँमा । यहाँ आएको नौ महिनामा तेरी आमा जन्मिई । म सुत्केरी भएँ । आमाले स्याहार गरिन् मेरो । गाउँमा सुत्केरीहरुलाई तेल लगाएर मालिस गरिदिन्थे रे, सिरक ओडाएर डसनामा सुताउँथे रे धेरै स्याहार गर्थे रे । आमाले म सुत्केरी हुँदा सुनाउँथिन् गाउँका सुत्केरीहरुका कुरा, तर मेरो त लुगा भने पनि, सिरक डसना जे भने पनि आगो थियो, तर घना जङ्गलमा एक्लै सुत्केरी भएर मेरो भन्दा कयौं गुणा बढी कष्ट भोगेकी मेरी आमाले मेरो स्याहारमा कमी हुन दिइनन् । भर्खरै जन्मिएकी तेरी आमालाई हातको हातमै राखेर सेक्दै हुर्काइन् मेरी आमाले । उ धेरै चन्चल दिई, चुल्बुली थिई त्यसैले आमाले नै चन्चली नाम राखिदिइन् ।
तेरी आमा पनि जङ्गलमै हुर्किई । उ तरुनी हुँदा त यी फाँटहरुमा घरहरु बाक्लै भइसकेका थिए । एक दिन यसरी नै उसले पनि हाम्रो कथा सुन्न खोजी । मैले सबै कहानी सुनाएँ । कहानी सुनिसके पछि उ आक्रोसित भइ । त्यस पछि उ हामीलाई छोडेर हिंडी । म जान्छु गाउँतिर, वदला लिन्छु गाउँका मान्छेहरु सित ! भन्दै हिंडी । हामीले रोक्न सकेनौं उसलाइ । त्यसको भोलि पल्ट एउटा मान्छे लिएर आई । त्यो कालो रंगको मान्छेलाई कनासेको लहराले बाँधेर ल्याएकी थिई । नबुझिने भाषा बोल्थ्यो, तर हाम्रो भाषा बुझ्थ्यो उ । अलिअलि बोल्थ्यो पनि ।
मधेसी हुँ भन्थ्यो आफुलाई । जङ्गलबाट लुकीछिपी काठ काटेर लगेर बेचेर पैसा कमाउने गर्दो रहेछ । उ सँग अरु पनि तिन चार जना मान्छे आराले काठ काट्दै थिए रे, उ जस्तै काला मान्छेहरु । चन्चली हिंड्दै जाँदा त्यही काठ काटे ठाउँमा पुगिछे । आफ्नी हजुरआमाको कठोर सजाय सुनेर मान्छेहरु देखि आक्रोसित भएकी चन्चलीले मान्छेहरु देख्ने वित्तकै आक्रमण गरिछे । डाँडाबाट चिच्याउँदै, कराउँदै ढुङ्गा र रोडाहरु फाल्दै त्यहाँ पुगिछे । एकैचोटि आक्रमण गरेकीले कति जना आत्तिएर भागेछन् । एउटालाई चैं समातेर कनासेको लहराले बाँधेर ल्याइछे ।
हामीले छोडिदे भनेर पटक पटक भन्दा पनि मानिन उ । भोर्लाको लोक्ता काटेर हात पाखुरा बाँधेर पगा लगाएर राखी उसले । उ धेरै छट्पटाउँथ्यो, रुन्थ्यो । त्यस वेला नाच्थी चन्चली । ठिक्क प¥यो भन्थी । तिन चार महिना पछि के सोची कुन्नि आफैं खोलिदिई उसलाई ।
चन्चली अलि फरक स्वभावकी थिई । उ जङ्गलमै हाम्रो परिवारको सङ्ख्या बढाउन चाहन्थी । जङ्गलमै मान्छेको समाज बसाउन चाहान्थी । त्यसैले त्यही मधेसी मान्छेको वीर्य सुरक्षित गराएकी थिई आफ्नो गर्भमा । मलाई पनि त्यहीमान्छेको विर्य सुरक्षित गराउन कर गरेकी थिई उसले तर त्यो मान्छे नै मानेन । आमा र छोरी सँग नै सम्पर्क राख्नु हुँदैन भन्यो । एक दुइ दिन पछि भागेछ क्यार, फेरि कहिल्यै आएन । चन्चलीले खोज्दा पनि खोजिन उसलाई । हामी फेरि उसले अरु मान्छे लिएर आउला भनेर अर्को ठाउँमा स¥यौं ।
त्यही मधेसीको सन्तान होस तँ । त्यही भएर त तँ तेरो बाबु जस्तै कालो छस्” भन्दै नेप्टेको नाक निमोठिन । नेप्टे उसको अनुहारमा हेरेर हाँस्दै हजुरआमाको काखबाट बाहिर निस्कियो र चन्चली भएठाउँमा गयो । चन्चलीले तानेर आफ्नो काखमा बसाई छोरोलाई । छोरोले धेरैबेर त्यही गाउँ र सहरतिर आँखा डुलाएर भन्यो –
“काली, म मान्छेहरुको गाउँमा जान्छु ल” आफ्नो सानो छोरोको मुखबाट आएको यस कुराले चन्चलीको अनुहार तत्कालका लागि रुन्चे भयो र फेरि उज्यालियो । उसको आँखामा असंख्य आशा र सम्भावनाहरु नाच्न थाले । उसले आफ्नो नाङ्गो छातीमा मज्जले टाँसी छोरोलाई । उसको छातिबाट निस्किएको प्रेम सिधा छोरोको छातिमा गएजस्तो लाग्यो चन्चलीलाई र छोरोलाई हेर्र्दै भनी–
“जा छोरो, जा! ज्यामद्वारबाट फ्याँकिएकी मेरी हजुरआमाकी नातिनीलाई तैले स्वर्गद्वारबाट निकाल्नु पर्छ । ” चन्चलीले त्यति भने पछि त्यहाँबाट उठ्यो नेप्टे । हजुरआमाको आँखाबाट आँसु झर्न खोज्दै थिए, तर चन्चलीको अनुहार गम्भीर र दृढ थियो । उ आफ्नी बुढी भएकी आमालाई त्यहीं छाडेर छोरोलाई लिएर हिंडी । दिनभरी हिंडे पछि साँझमा ज्यामद्वार पुगी । त्यहीँबाट आफ्नी हजुरआमालाई हिंस्रात्मक मृत्युवरण गर्नका लागि अजिङ्गरको मुखमा कुखुरा फ्याँके जसरी फ्याँकिएको थियो । त्यही ज्यामद्वारबाट आफ्नो छोरोलाई एउटा सुन्दर भविष्यको कल्पना गर्दै वाहिर निकालेर विदा गरी चन्चलीले ।

प्रकाशित मिति : प्रकाशन मिति : सोमबार, 6 बैशाख, 2073

लेखकका अन्य रचनाहरु