अहिले भन्ने हो त यो कुरा

- विश्वराज अधिकारी

२०६७ साल पौष महिनाको २९ गते बिहिवार, जनवरी १३ तारिख, २०११ मा रामेश्वर जीसँग फ्रेन्कफर्ट एयरपोर्टमा मेरो लामो कुराकानी भएको थियो। हामी दुबै, संयोगले नै भनौ, काठमाडौदेखि सँगै आउँदै थियौ। त्यस्तै परेर हामी फ्रेन्कफर्ट एयरपोर्टमा दुई घण्टा जति रोकिएका थियौ। हाम्रो कुराकानीको क्रममा, फ्रेन्कफर्ट एयरपोर्टमा रामेश्वर जीले आफ्नो एउटा कथा सुनाउनु भएको थियो जुन यस प्रकार छ:

‘म सयमलाई जोडदै छु। २०२५ र २०६७ साललाई। यी दुई समयको बीचमा सिर्सिया नदीमा जति बढी पानी बगेको होला त्यति नै बढी मैले समयहरु देखें। मैले जीवनका आरोह र अवरोहहरु पनि उत्तिकै देखें, सिर्सिया नदीले कुनै बेला ज्यादै सफा र अहिले दुर्गन्धित पानी आफू भित्र बगेको देखें झैं। मेरा कतिपय समयका साक्षीहरु त बीरगंजका सडकहरु पनि हुन जसले मलाइ प्रत्येक दिन म त्यहाँ हुँदा देखे। अहिले पनि तिनले मलाई देखे भने चिन्ने छन्। र भन्न सक्छन् मेरा अतीतका ती कुराहरु। हुन त ती सडकहरु र म, दुबैमा धेरै परिवर्तनहरु आइसकेका छन। तर पनि तिनले मलाई बिर्सेका छैनन्। यदि ती सडकहरुले बिर्से पनि कुन्तीले भने मलाई बिर्सिन सक्तिनन्। अस्ति, यही पुष महिना २०६७ मा भेट्दा, जब म यूरोपबाट एक महिनाको छुट्टिमा नेपाल आएको थिए, बिर्सेकी रहिनछन्। मलाई ज्यादै खुसी लाग्यो।
उमेरको यो बिन्दुमा आइ पुग्दा युरोपका केही विश्वविद्यालयहरुमा अध्यापन गरेको अनुभव पनि छ मसँग। हाल म युरोमा बस्छु, यै फ्रेन्कफर्टमा।’

‘म अहिलेको चालिस, पैंतालिस वर्ष पहिले पुग्दै छु। घटना २०२५।२६ सालतिरको हो, त्यस बेला म बीरगंजको रानीघाटमा बस्थे। मेरो डेरा थियो……….. सिर्सिया नदीको लगभग छेउ भने पनि हुन्छ। सिर्सिया नदीको छेउमा डेरा भएको एक किसिमले फाइदा नै थियो। फाइदा यस हुनाले कि दस मिनेट जानका लागि सजिलो थियो, डेराबाट। डेरा बस्नेहरुलाई उपलब्ध गराइएको थिएन वा घरमै थिएन, त्यो मलाई ठीकसँग याद भएन, तर जे होस म बसेको घरमा मलाई ट्वाईलेटको सुबिधा थिएन। अरु अरु घरमा डेरा लिएर बस्ने साथीहरु पनि नदीतिर नै जान्थ्ये, दस मिनेटका लागि।’

‘मेरो डेराको छेउमा नै थियो, कुन्तिको किराना दोकान। दोकानमा कुन्ति कमै बस्थिन शुरु शुरुमा मैले उनलाई देख्दा। तर पछि पछि अलि बढी समय बस्न थालिन। दाल चामल त मैले के किन्नु, म मेसमा खन्थ्ये तर सुपारीको एक किसिमले म अम्मली नै भएकोले सुपारी किन्न प्रत्येक दिन वा दुई तिन दिनमा एक पटक अवश्य जान्थ्ये, कुन्तीको दोकानमा। सुपारीको अम्मली म, सुपारी किन्दा किन्दा कुन्तीको पनि अम्मली भएँ। स्थिति यस्तो भयो कि उनलाई एक चोटी नहेरे के बिर्से के बिर्से हुन थाल्यो। कहिले आवश्यकता नभएको सामान किन्न त कहिले भने केही नकिन्ने भएता पनि, त्यसै पुग्न थाले उनको दोकानमा, कुन्तीलाई हेर्न। म त्यसरी पुग्न थालेको कारण पछि उनलाई पनि बोध भयो क्यारे, मप्रति रुचि राख्न थालिन। त्यही रुचि राख्ने क्रममा उनले थाहा पाइन म डेरा लिएर बस्छु, रानीघाट मै। ठाकुर राम क्याम्पसमा आइ यस्सीमा पढ्छु। घर भने बीरगंजबाट हिंडेर जाने हो भने सात आठ घण्टाको दूरीमा छ। गाउँमा मेरो ठूलो परिवार छ। मैले भने राम्रो डिभिजनमा यस यल सी पास गरेको र पढ्नमा ज्यादै तिखो भएको हुनाले पढ्ने मौका पाएको हो। साइन्स, मैले मेरै आग्रह वा जोर जबरजस्तीमा पढ्न पाएको हो। बा आमालाई, छोरालाई पढ्न शहर पठाउनु भन्दा आफूसँग राख्न पाए हुन्थ्यो भन्ने थियो। बीरगंज बसेर गरेको पढाईको मेरो खर्च बा आमाले बडो मुस्किलले पुर्याई रहनु भएको छ।’

‘सुपारी किन्न कुन्तीको दोकानमा गएको बेला केही क्षण रोकिएर लामो लामो गफ पनि गर्न थाले। त्यै गफको क्रममा थाहा भयो, कुन्ती खासमा उनको बालाई पालो दिन आउँदी रहिछन्। आमाले दोकानको हिसाब किताब नजान्ने भएकोले बस्थिनन्, फुर्सत भए पनि। कुन्ती दश कक्षामा पढथिन्। दोकानमा धेरै पटक उनले किताब लिएर बसेको मैले देखेको हुनाले पढाईमा उनको रुचि थियो भनी म अनुमान लगाउन सक्छु।’
‘सांबल रंग, ठूला ठूला आँखा, रिबनले बाटेको कपाल, हँसिलो मुहार, औसत भन्दा अली बढी अग्लो कद। यी थिए कुन्तीका आकर्षणहरु। तर सबै भन्दा ठूलो गुरुत्वाकर्षण भने उनको अशल व्यवहारमा थियो। सुरु सुरूमा उनलाई हेर्दा मलाई यी कुराहरुले निकै आकर्षित गर्थ्ये। तर पछि यी कुराहरु मेरो लागि गौण भए, कुन्ती त्यतिकै पनि राम्रो लाग्न थालिन मलाई। उनको हरेक कुरा राम्रो लाग्न थाल्यो मलाई। हिँडेको, बोलेको, हेरेको जे पनि…………………… । उनीसँग त्यतिकै कुरा गर्दा पनि म रोमांचित हुन थाले। त्यस्तै उनलाई पनि भएको म अनुमान गर्न सक्छु किनभने मसँग भेट हुँदा उनको मुहारमा सात चन्द्रमा उदाए जस्तो लाग्थ्यो मलाई। त्यतिकै पनि, म उनको दोकानमा गएको बेला बिना प्रशङ्गको कुरा झिकेर कुरा गर्न थालिन। क्याम्पस, पढाई, साथीहरु आदि आदि बारे कुरा छिकेर कुरालाई लामो पार्न खोज्थिन्।’

‘कुन्तीको दोकानमा म जाने क्रम लामो समयसम्म चल्यो। म २०२८ सालमा, काठमाडौ आउनु भन्दा दुई चार दिन पहिलेसम्म पनि म कति पटक कुन्तीको दोकानमा गएँ मलाई याद छैन।’

‘बीरगंजमा, पढाईको क्रममा बस्दा म कति पटक कुन्तीको दोकानमा गएँ त्यसको कुनै लेखा जोखा छैन। उता सिर्सिया नदीमा पानी बगेको बग्यै, म कुन्तीको दोकानमा गएको गयै……………………….। साइन्सको पढाई, फिजिक्स र केमेस्ट्रीले त्यसै पनि टाउको खान्थ्यो तर त्यो भन्दा पनि बढी टाउको खान थाल्यो मेरो र कुन्तीको केमेष्ट्रीले। स्थिति यस्तो सम्म भयो कि मैले कुन्तीलाई दिनमा एक पटक नभेटेसम्म, एक छिन कुरा नगरेसम्म खाएको नपच्ने। पढ्न बस्ता पनि, पढाई भन्दा पनि कुन्तीतिर नै ध्यान जान थाल्यो।’
‘कुन्तीप्रतिको आकर्षणले मेरो पढाई नै बिग्रने हो कि जस्तो लाग्न थाल्यो मलाई। तर जसरी तसरी कुन्तीप्रतिको आकर्षण र आफ्नो अध्ययन, दुबैलाई सन्तुलित गरे। आई यस्सी पास पनि गरे, त्यो पनि राम्रो डिभिजनमा।’
‘मलाई त्यो बेला कुन्ती किन त्यति राम्रो लाग्थिन अहिले म भन्न सक्तिन। कुन्ती तिमीलाई किन त्यति बिदि राम्री लागेको हो भनी कसैले मलाई प्रश्न गर्ने हो भने मैले त्यो प्रश्नको सही उत्तर दिन म त्यतिबेलाको काल खण्ड, २५।२६ सालतिरको समय, र त्यै बेलाको रानीघाट पुग्नु पर्छ होला। अनि मात्र म सही उत्तर दिन सक्छु।’

‘मेरो उमेर र कुन्तीको उमेरको केमेष्ट्री मिलेर पनि त्यस्तो भएको हुन सक्छ। मेरो त्यो बेलाको उमेरको नजरले पनि कुन्तीलाई सर्वाधिक, सर्वाङग सुन्दर देखेको हुन सक्छ। वा यथार्थमा कुन्ती उमेरमा त्यति राम्री थिन् वा कुन्ती राम्री नै थिन् सर्वकालिक रुपमा, यी सबै मैले अनुमान लगाउने कुराहरु मात्र हुन।’

‘२०४० सालसम्म म काठमाडौमा नै बसे र त्यो समयम बिन्दुमा आइपुग्दासम्ममा मेरो घर वा बीरगंज जाने क्रम ज्यादै कम भइसकेको थियो। पछि त, बा आमा पनि बीरगंज मै बस्न थाल्नु भएको थियो छोराहरुसँग, एउटा भाई मात्र थियो गाउँमा बस्ने। काठमाडौ बसेको बेला म जति पटक बीरगंज गएँ कुनै पनि बेला रानीघाट गएर कुन्तीको बारेमा खोज खबर गर्ने मलाई फुर्सत भएन। समय कहिले काहिँ यति कठोर भइदिन्छ कि के भन्नु …………………………….। कहिले काहिँ यसले मानिसलाई भावनाशून्य परिदिन्छ, एकदमै निर्जिव ढुङ्गा जस्तो।’

‘२०४१ सालतिर भास्सिएँ म, पसे विदेशको दल दलमा। जहिले पनि कामै काम, जहिले पनि प्रगतिको चिन्ता, यही उपलब्धि हो विदेश बसाईको। यस बाहेक अर्को पनि सोगात छ विदेशको बसाईको। त्यो के भने इष्ट मित्र, नाता कुटुम्बसँग बिछोडिएर बस्नु। तर सजिलो पनि छ, विदेशको बसाईमा। लुगा आफैले धुनु पर्दैन, मेसिनले धुन्छ। हिँड्नु पर्दैन आफ्नै कार हुन्छ। घर, गर्मीमा चिसो र जाडोमा न्यानो हुन्छ। आज खल्तिमा पैसा छैन भनेर चिन्ता गर्नु पर्दैन, जुन बेला पनि आफूसँग क्रेडिट कार्ड हुन्छ, जुन बेला जे चाहियो किन्न सकिन्छ। पानी, बिजुली र खाना पकाउने इन्धन …………………. यी त चिन्ताका विषय नै होइन। तर यी सबै सुबिधाका लागि भने ठूलो मूल्या चुकाउनु पर्छ र त्यो मूल्य के हो भने आफ्नो परिवेश, समाज, इष्ट मित्र, परिवारबाट छुट्टिनु। नितान्त एक्लो भएर बस्नु। छुट्टिएर पनि यसरी बस्नु कि न त आफ्नो देश जान सकिन्छ न त सन्तुष्ट भएर विदेशमा बस्न नै सकिन्छ।’

‘म विदेश बसेको पनि धेरै भयो। २०४१ देखि म विदेशको विदेशमै छु। युरोपका दुई तिनबटा देशहरुमा बसे। सिङ्गापुर पनि बसे दुई वर्ष जति। क्यानाडा त पाँच बर्ष नै बसे। दुई वर्ष जापानमा बसे भने एक वर्ष फिलिपिन्समा। अब भने धेरै यता र उता गर्ने विचार छैन। एक ठाउँ मै बस्छु स्थिर भएर। उमेर पनि ढल्किन थाल्यो।’
म विदेश आएदेखि जम्मा एक चोटी नेपाल गएको थिएँ, २०५५ सालमा। त्यसपछि गएको थिन्। विदेशको लामो निरस बसाईले दिक्कदार भएर यै पुष महिनाको २ गते, यै २०६७ मा नेपाल गएको थिएँ। करीब एक महिना जति बसे त्यहाँ। आज कति गते हो, ए आज पुष २९ गते विहिवार, जनवरी महिनाको १३ तारिख हो, एक महिना नै बसेछु। यो एक महिना जतिको स्वदेशको बसाई भने मेरो लागि, मेरो जिवनमा अविस्मरणीय नै रह्यो।’

‘खासमा म काठमाडौमा धेरै बसिन। म बीरगंजमा नै बसे लामो समयसम्म, यो दोस्रो पटक नेपाल गएको बेला। यो पटक मलाई कुन्तीको बारेमा थाहा पाउन अति नै इच्छा लाग्यो। म रानीघाट पुगें। जहाँ कुन्तीको दोकान थियो, तर त्यहाँ दोकान देखिन। दोकान रहेको ठाऊँ भने मैले चिने। त्यो ठाऊँमा धेरै बेर घोरिएर यता उता हेरे। एउटी अधबैंसे महिलालाई देखें। ती महिला मलाई कुन्ती जस्ती लागिन। मैले ती महिलाको नजिक गएर सोधें – तपाँईको नाम कुन्ती हो? ती महिलाले उत्तर दिन् – हो। मैले फेरि सोधें – तपाँईको यहाँ दोकान थियो, धेरै वर्ष पहिले, हैन? उनले फेरि छोटो उत्तर दिन् – हो।’

‘कस्तो संयोग! मैले अनुमान गरेको महिला कुन्ती नै हुनु। किनभने लामो समयको अन्तर पछि हेर्दा चिन्न सकिँदैन, शरीरमा धेरै परिवर्तनहरु आएका हुन्छन। तर पनि मैले कुन्तीलाई झ्वाट्ट हेर्दा पनि चिने। मैले त्यसरी प्रश्न गरेकोमा उनले आश्चर्य र भय मिश्रित स्वरमा प्रश्न गरिन –तपाँईले यी प्रश्नहरु किन गरेको, मसँग, के कारणले? मैले उनको मुहारमा हेर्दै हाँसेर भने – मलाई चिन्नु भएन, मेरो नाम रामेश्वर हो। तपाँईको दोकानमा म आइरहन्थ्ये। विद्यार्थी थिएँ, डेरा लिएर बस्थ्ये, त्यो बेला, यै रानीघाटमा। मैले यति भने पछि उनले भनिन् – ल ल अब राम्रो गरी चिने, कलेजमा, साइन्स पढ्नु हुन्थ्यो तपाँई हैन? मैले भने –हो।’

‘मैले प्रश्न गरे –कुन्ती, यो रानीघाटको घर, तिम्रो माइति हो क्यारे, अनि ………घर नि? उनले भनिन् – घर त मेरो इण्डियाको मोतिहारी हो, तर यतै बस्छु, माइति मै। धेरै भयो यता बसेको। मैले फेरि प्रश्न गरे – बाल बच्च नि? उनले जबाफ दिन् –छैनन्। मैले फेरि प्रश्न गरे – श्रीमान, उतै कि ……………….? उनले भनिन् – वहाँको मृत्यु भयो रेल दुर्घटनाम, उतै। वहाँको मृत्यु भएदेखि म यतै बसेको छु, माईतिमा।’

‘मैले प्रसंग परिवर्तन गर्दे भने –पहिलेको, त्यो बेलाको रानीघाट र अहिलेको रानीघाटमा कत्तिको अन्तर छ, है। उनले हाँस्दै भनिन – हो। केही क्षण सोंचे जस्तो गरेर उनले भनिन –साँच्यै, तपाँई एकाएक गाएब हुनु भयो, रानीघाटबाट, त्यो बेला………..। जाने बेलामा भन्नु पनि भएन म फलानो ठाऊँमा जाँदै छु भनेर। कति सोधें मैले तपाँईको बारे, यसलाई उसलाई। पछि थाहा भयो तपाँई काठमाडौ जानु भयो भनेर। काठमाडौ गएदेखि कहिले यसो यता आउनु पनि भएन। मेलै केही पनि बोलिन, जबाफमा। केवल उनको मुहारमा हेरी मात्र रहेँ।’
‘एक छिनको मौनता पछि मैले भने – कुन्ती, म तिमीसँग प्रेम गर्थ्ये, त्यो बेला। कति भनु अति नै, अति अति ……………..भन्न नै नसकिने गरी। मेरो कुरा सुनेपछि कुन्तीले हाँस्दै भनिन – अहिले भन्ने हो त यो कुरा, पैंतिस, चालिस वर्ष पहिले भनेको भए हुन्थेन।’

प्रकाशित मिति : प्रकाशन मिति : सोमबार, 6 बैशाख, 2073

लेखकका अन्य रचनाहरु