मेनेज

- पेशल आचार्य

देविकालाई दोस्रो पटकको विदेश यात्रामा पटक्कै रूचि थिएन । तर विदेश नगई भएको थिएन । घरबाट साइतको टीका लगाएर हिँड्दा उनका गोडा भारीभारी भएका थिए । उनी त्यस दिन उदासउदास थिइन् । लोग्नेको कमाइको भर छैन । गाउँबाट सदरमुकाम आउँदा सानो आफ्नो घर होस् भन्ने चाहनालाई बास्तविकतामा परिवर्तन गर्न दुवैले केही समय सानो पसल पनि थालेका हुन् । समयले साथ दिएन । पहिलो पटक विदेशबाट फर्केपछि उनले यतै नेपाल बस्ने इच्छा पनि गरेकी हुन् । आखिरमा विदेश नगई भएन ।
दुई वर्षकी छुनुमुनु गर्ने सानी छोरीलाई यहीँ सासूका भरमा छोड्दा दस मनमा एक मनले पनि मानेको होइन उनको । गर्ने के बाध्यता भएपछि ।
अघिल्लोपटक भने विदेश जाँदा उनकी छोरी एक वर्षकै थिई । के आमा के हजुरआमा उसलाई मतलबै थिएन । उसले आमालाई बजार गएको हो कि विदेश गएको हो ? पत्तै पाएकी थिइन । आज समयको अन्तरमा ऊ दुई वर्षकी भएकी छ । अब केही चेतना अवश्यै पलाएको हुनुपर्छ । त्यसैले छोरी रोई । देविकालाई ननिको लाग्यो ।
देविकाले लोग्नेको मुखमा पुलुक्क हेरी । ऊ औपचारिक उदासीको पिङमा थियो क्यार ! छोरीको मुखमा हेर्न सकिन । छोरीले नै उसलाई पटकपटक बोलाई । ‘मामु मामु म हजुरसँगै जान्छु ।’
अन्नतः देविकाले छोरीका संवादमा अपलक आँसु खसाली । आँसुलाई उसले आफ्नो जेब रुमालले पुछी र विदेशमा हेर्न हुन्छ भन्ठानेर आफ्नो मोबाइलबाट फटाफट केही फोटाहरू खिची । क्लिक । क्लिक । क्लिक ।
देविका फटाफट बस पार्कतिर अगाडि बढी । उसलाई पु¥याउन उसको लोग्ने गयो । बाटामा उनीहरूको केही कुराकानी भएन । देविकाले नै लोग्नेलाई सोधी –‘छोरी देविमाले निकै झगडा गरी ।’
लोग्नेले उत्तर दिन सकेन । केबल टाउको मात्र हल्लायो ।
उसले फेरि प्रश्न गरी –होइन । तपाईं किन बोल्न सक्नु हुन्न । एक्लै छोरीलाई कसरी मेनेज गर्नु हुन्छ । बोर्डिङ हाल्दिने बेला पनि त भाको छैन ।
लोग्नेका मुखमा प्रतिउत्तरका केही शब्द पनि आएनन् । केबल सुनिमात्र रह्यो । उसले भन्नु पथ्र्यो –अब त मेरा भाइबहिनीहरू पनि घरबाट सदरमुकामको स्कुलमा पढ्न आएका छन् । केही मद्दत उनीहरूले पनि गर्नसक्छन् । मेरो बेफुर्सदी अझ बढेको छ । पसलमा लगानी बढाएरै पनि आम्दानीलाई बढाउनु छ । यसो बेलामा कमाएका बेलामा एउटा सानो घडेरी जोड्न सकियो भने त बासको व्यवस्था हुन्थ्यो । तिमी विदेशमा आफ्नो जोडबलले कमाऊ । म स्वदेशमा परिश्रम गरेर थुकतेल गर्छु । अनि त ईश्वरले पनि कसो नहेर्लान् र ?
उसका मुखमा यी शब्दहरू आएनन् । केवल मनमा मात्र खेले । कुराहरू खेलाउँदै उनीहरू बस पार्कमा गए । सात बजेको जुनार एक्सप्रेसले हर्न बजाइरहेको रहेछ ।
भाइ, यो ए साइडको ६ नम्बर सिट होइन । देविकाको सोधाइलाई खलाँसीले स्वीकृतिको सूचक टाउको हल्लाएर ‘हो’ भन्यो ।
ऊ माथि उक्लेर बसको सिटमा बसी । लोग्नेले लगेज मिलाई दियो । दुई पोका वाइवाइ र एक बोटल मिनरल वाटर किनेर ल्याइदियो । देविकाले चुइगम र हजमोला पनि मगाई । लोग्ने फेरि निस्कियो । त्यसैबेला बस अगाडि बढ्यो । लोग्ने कुद्दै आयो र बसको झ्यालबाटै चुइगम र हजमोला देविकालाई दियो । उसले अब लोग्नेलाई मन नलगाई मन नलगाई बाईबाई गरी ।
बस कुद्यो ।
लोग्नेले बस नम्बर हे¥यो र मोबाइलमा सेभ ग¥यो । देविका यसपटक काठमाडौँ एक्लै जाँदै थिई । अघिल्लो पटक दिनेशले उसलाई काठमाडौँसम्म पु¥याएको थियो । तर यो पटक उनीहरूका साहूका कुखुरामा बर्ड फ्लुको संक्रमणको हल्ला चलेको थियो जसले गर्दा दिनेशले छुट्टी मिलाउन सकेको थिएन ।
देविकालाई रिसिभ गर्न कोटेश्वरमा उसको सानो देवर आउने कुरा थियो । जो राजधानीमा पढ्न बसेको थियो । सानोतिनो बेपार पनि ग¥थ्यो । दिनेशले भाइलाई फोन गर्दा नम्बर दिनका लागि गाडी नम्बर टिपेको हुनुपर्छ । यसपटक देविकाका लगेज निकै भारी थिए । उसले पहिलो पटक आफूलाई कतारबाट किनेर ल्याएका लुगाहरू सबैजसो उतै लगेकी थिई ।
देविकाका पनि गहभरि आँसु भए । उता लोग्नेका परेलीका डिलमा आएका आँसुका दाना त्यसरी टप्किए जसरी सिमसिमे पानी पर्दा कर्कलाका पातमा अडिएका पानीका बुँद गोलाकार भएर माटामा टिलपिलटिलपिल गर्दै झर्छन् ।
लोग्नेले आँसु पुछ्नुका साटो माथि आकासतिर हे¥यो । आँसु लुकाउनका लागि तर माथि आकासमा परेबाका एकजोडी कतै बत्तिदैँ थिए ।
परेबालाई देखेपछि अब भने देविकाको लोग्नेका परेलाले आँसु रोक्न सकेनन् । ती गुडुल्किएर भैँमा झरे । तप्प तप्प ।
ं ं ं
देविका कतार गएपछि दिनेश अब त्यो नयाँ सहरमा एक्लो भयो ।अघिल्लो एकवर्ष उसको भाइ थियो उसको बेपारमा सहयोग गर्ने साथी । तर अब ऊ पनि राजधानी हानियो पढ्ने अनि बेपार गर्ने बहानामा ।
बिहानै उठेर जिँउदो ब्रोइलर कुखुरा लिन जानु । बिहानभर पानी तताएर कुखुरा काट्नु । अनि दिउँसभर बेच्नु उसका रुटिनबद्ध काम नै भए । बेलुकी जब नेटमा देविका र दिनेश कुरा गर्थे । देविका लोग्नेका हालखबर भन्दा पनि छोरीका खुट खबरहरू ज्यादा सोध्ने गर्थी ।
दिनेश झर्को नमानी स्वास्नीका प्रश्नका जवाफ दिन्थ्यो । बिजुली हुँदा र नेट चल्दा उनीहरू दुईचार घन्टा नै नेटमा बिजी हुन्थे । कहिलेकहिले चाहिँ उनीहरू अनलाइनमा देखिन्थे तर दुवै अफ लाइनमा भएर कुरा गर्थे । यसो गर्दा अलिअलि गरी दुवैले दुवैलाई क्रमशः अविश्वास गरेको हो कि जस्तो लाग्न थालेको थियो ।
शंकाको वीउ भर्खर फेसबुकमा छरेका थिए उनीहरू दुवैले दुवैतिरबाट । तर एकले अर्कालाई दोषारोपण चाहिँ गरेका थिएनन् । किनकि उनीहरूले धेरै नपढे पनि गाउँकै प्लस टुबाट १२ कक्षा पास गरेका थिए । दुवैको हाँच र स्तर मिलेको थियो । चिनापर्ची भएरै चार वर्षअघि लभ म्यारिज गरेका थिए उनीहरूले ।
देविकाले अन लाइनमा प्रायः कतारको गर्मी, त्यहाँको जीवनशैली कम्पनीको काम र मालिकका बारेमा लोग्नेलाई बताउँथी । लोग्ने पनि स्काइप भएका बेलामा स्काइपमा नत्र अन लाइनमै पनि देविकासँग घन्टौं कुरा गथ्र्यो । कहिलेकाहीँ लोग्नेस्वास्नीहरू नेटमै पनि इत्रिन्थे । सायद् सेक्सको मेनेज गर्न तिनीहरूलाई प्रविधिले त्यो निःशुल्क सुविधा दिएको थियो ।
दिनेशलाई मजा आउँथ्यो स्वास्नीसँग अन लाइनमा बोल्न । लेखेर बोल्दा ऊ केही आँट गर्न खोज्थ्यो । हुन त ऊ देविकासँग मात्र होइन अरू केटी अझ त्यसमा पनि राम्राराम्रा र उमेरदारहरूसँथ फ्रेण्ड रिक्वेष्ट पठाएर आफ्नो सर्कल बढाउन चाहन्थ्यो । दिनभरिको काम त्यही गनाउने ब्रोइलर काट्नु र बेच्नु मात्र हुन्थ्यो । कसैसँग दिल खोलेर बोल्न पाइन्नथ्यो । बेलुकी भएपछि पैसासैसा गन्यो अनि देविकाले नै किनेर ल्याइदिएकी ल्यापटपमा नेट ज्वाइन गरेर रातको समयलाई गुल्जार पाथ्र्यो । यो उसको एक्लै बस्दा टाइम मेनेज गर्ने मेलो थियो ।
आजआज भोलिभोलि गर्दागर्दै दुवै लोग्नेस्वास्नी नेटका अम्मली भए । लोग्नेस्वास्नीको जात अफ लाइनमा त कति मजा हुन्छ । टाढाटाढा हुँदा अन लाइनमा एक प्रकारले चित्त बुझाउने मात्रै हो । दिनेश कहिले काहीँ देविकालाई लेख्थ्यो –सानु टेक केयर, योर सेल्फ ।
उत्तरमा देविका झटपट टाइप गर्दिन्थी –यु टु बाबा । यु टु टेक केर एण्ड मेनेज योर सेल्फ बाबा ।
कतारमा देविकाको घडी उल्टो घुम्न थाल्यो भने यहाँ दिनेशको चाहिँ सुल्टो घुम्न थाल्यो । दुवैले एक दिन दुई दिन गर्दै हप्ता, महिना र वर्ष गर्दै दुई वर्ष बिताए ।
देविका दोस्रो पटक विदेश गएको पनि अब दुई पुगेर तीन वर्ष लाग्यो । बेलाबेलामा भएका नेटको अन लाइन र स्काइपको भेटले दुवैलाई सुके लुतोको काम गर्न थाल्यो । दुवैले मन लागुन्जेल कन्याए । आनन्द दुवैलाई आउँथ्यो । जमाना अनुसारको मेनेजले उनीहरूलाई समय बिताउने अपूर्व अवसर दियो ।
आमनेसामने भेट नहुने मानिस पनि अन लाइनमा भेट हुने यो सुविधाले कतिको घर बिगारेको छ । कतिलाई उठिवास लगाएको छ । घरमा कामधन्दा बिग्रेको पत्तो हुँदैन चौबीसै घन्टा अनलाइनमा मस्त हुनु अब सामान्य मानिसको पनि दिनचर्या हुन थाल्यो । यो रोगका रोगी देविका र दिनेश दुवै भए ।
चाहेर भए या नचाहेर भए । दुवै अम्मली भए । नेटका । स्काइभका । अन लाइनका ।
देविकाले पैसा पठाउन छाडेकी थिई । दिनेश करकर गर्दथ्यो । पैसा पठाऊ । घडेरी किन्नु पर्छ । सहरमा घडेरी मँहगो हुँदै जान थालेको छ । जोरीपारी सबैका घर बनिसके । अब हामीमात्र पछि पर्दैछौं । यताबाट जतिजति दिनेशको गनगनको पारो बढ्न थाल्थ्यो उता देविका नेटमा कमकम आउन थाली ।
लोग्नेस्वास्नीको दिल केले चोर्यो ? केले लग्यो ? त्यो दुवैलाई पत्तोफाँट थिएन । दुवैले एकाङ्गी जीवनको मेनेज गरेका थिए तर दुवैलाई सेयरचाहिँ गरेका थिएनन् । हुन सक्छ दुवैले दुवैलाई ढाँटेका थिए र आफ्नो तरिकाले मेनेज गरेका थिए । मानिस अरू कुरामा नभए पनि सेक्समा डबल स्टेन्डर्ड राख्न खोज्छ । ऊ जे भन्छ त्यो गर्दैन र जे गर्छ त्यो भन्दैन । अझ विदेश जानेका कुरा त अनेकथरी छन् । साथी भन्यो । मोज गर्यो । यो वैदेशिक संस्कृतिले पनि कति नेपालीका घरमा धाँजा फटायो कति ?
देविकाले यता दिनेशलाई सम्पर्क नगरेको अब निकै समय भएको थियो । यता दिनेशले देविमालाई राम्ररी नै केयर गरेर जिल्ला सदरमुकाममा भएको बोर्डिङमा पढाएको छ । विदेशमा स्वास्नीले दुखजिलो गरेकी छे । यता स्वदेशमा म परिश्रमका नङ खियाउँदै छु । अब हाम्रा पनि दुःखका दिन केही समयमै सकिन्छन् । आफ्नै घर भएपछि त देविका पनि विदेश नजान सक्छे । उसले घर हेरी भने म पुरानै बेपारमा पैसा कमाउन सक्छु । यो उसको दैनिक मनले देख्ने विपना थियो । मानिसले कल्पनामा आफूलाई जति आनन्दित पाउँछ त्यति सायद् विपनामा पाउने भए यो संसार नै बेग्लै हुने थियो ।
अन्नतः जे नहुनु थियो । त्यही भैदियो । देविकाका सबै साथी घर आए । कसैले तीन वर्षको अन्तरालमा बीस लाख, कसैले तीस लाख र कसैकसैले त पैँतीस लाखसम्म ल्याए । सदरमुकाममा उम्दा घडेरी किने । घर बनाए । दिनेशकी देविका चाहिँ आज आउली छैन । भोलि आउली छैन हुँदै कतारमै भासिई । देविकाको पत्तो फाँट नलागेपछि दिनेशले काठमाडौँ गएर विदेश लैजाने कम्पनीको मालिकलाई भेटेर परराष्ट्र मन्त्रालयमा निवेदन हाल्यो । नेपाल सरकारले उता कतारको कम्पनीलाई चिठी लेखिदियो । खोजी खबरी भयो । तर अहँ देविकाको पत्तो लागेन ।
देविका बरमुढा त्रिकोणमा हराएकी पानी जहाज जस्ती भई । न त्यसको अवशेष भेटियो । न त्यसको कुनै सम्पर्क नै भयो ।
दिनेशका लागि देविका पछिल्लोपटक दुई वर्षकी कल्कलाउँदी छोरी छाडेर विदेश जानु चोक्टा खान गएकी बूढी झोलमा डुबेर मरी झैँ भयो । अन्ततः दिनेशले उसकी एकजना साथीसँग बडो परिश्रमका साथ आफैँले सूक्ष्म रूपले खोजी ग¥यो । जसको कथा यस्तो थियो ।
ं ं ं
सँगै कतार गएकी सारिकाले देविकाको कथा यसरी हाली ।
गरिब घरपरिवारकी भए पनि देविकाको रुप निकै राम्रो थियो । देविका जब पहिलोपटक कतार गएकी थिई । उनीहरू सबैले एउटै कम्पनीमा काम गरेका थिए । काम गर्नेहरूमा ११ जना केटीहरू थिए । उनीहरूको काम कपडा कारखानामा लुगा प्याकिङ गर्नु थियो । मालिक निकै रौसे थियो । ऊ नेपाली केटीहरू निकै मन पराउँथ्यो । देविकाहरूको समूहमा खाइलाग्ने केटीहरूमा देविका र अर्की राधिका थिई । तर मालिकको आँखा राधिकाभन्दा देविकामा गढेकाले उसले देविकालाई अरूलाई सरह काम दिएर पनि पारिश्रमिक भने निकै बढाएको थियो ।
सानैदेखि देविकाको लगाउने कुरामा निकै शौख थियो । ऊ थरीथरीका लुगाहरू जम्मा गर्थी । पार्टी र पिकनिकमा पनि उसलाई अरूका दाँजोमा आफू रम्रिएर जानु पथ्र्यो । त्यो उसको कमजोरी नै थियो कि ऊ अरूभन्दा नराम्री हुन नचाहने । मालिकले पनि उसलाई निकै लुगाहरू उसका बर्थ डेमा गिफ्टका रूपमा दिन थालेको थियो । उसका साथीहरू काममा जाँदा सार्वजनिक बसकै यात्रा गर्थे तर देविकाका लागि मालिकले पहिले पहिले छुट्टै कारको व्यवस्था गरेको थियो । अलिपछि उसलाई आफ्नो नजिक बनाउने बहानामा एकपटक देविकाको बर्थडेमा एउटा कार नै उपहारमा दियो । देविकासँग ड्राइभिङ लाइसेन्स थिएन । मालिकले
त्यसकै पनि फाइदा उठायो । उसले एउटा बेग्लै ड्राइभरको व्यवस्था गरिदियो । भनेजति तलब र लुगाफाटा अनि सवारीको सुविधाले शनैशनै देविका मालिककी प्यारी भई ।
सुरूसुरूका दिनमा ऊ दिनेशसँग नेट र स्काइभमा कुरा गर्दा मालिककै ल्यापटप प्रयोग गर्थी । उसले जब मालिकसँग बेग्लै ल्यापटपको माग राखी अनि मालिकले पनि आफूलाई मेनेज गर्नु पर्ने प्रस्ताव गर्यो । ऊ भौतिक सुविधा मालिकसँग माग्दै गई मालिकले पनि उपलब्ध गराउँदै गयो । अनि उसले पनि आफ्नो शारीरिक भोकको मेनेज मालिकसँग राखी । के खोज्छस् काना आँखो भनेझैँ मालिक अवसरको तलासमा थियो । अनि उसले पनि दुवैतर्फको मेनेजको वातावरण मिलायो ।
अब देविका नेपालमा सामान्य ब्रोइलर काटेर बस्ने दिनेशकी पत्नी रहिन । उसले कतारको कपडा कारखानाको मालिकसँग मेनेज गर्न थालिसकेकी थिई । विदेशमा मानिसहरू कसरी सेट हुन्छन् भन्ने कुरा उसले देख्न र भोग्न थालेपछि उसलाई जाबो लोग्नेको माया त लागेन लागेन । प्राणभन्दा प्यारी छोरीको पनि उसले माया एकतर्फी रूपमा चटक्कै बिर्सी ।
आजआज भोलिभोलि भन्दै उनीहरूको नेट र स्काइभमा कुराकानी कम हुँदै गए । पछि त एउटा अन लाइनमा हुँदा अर्को अफ लाइनमा हुने शैलीको पनि विकास हुँदै गयो । देविकाको मेनेज अन्ततः कतारमै एउटी रखेलको रूपमा भयो ।
अब ऊ कसैगरी पनि नेपाल आउन सक्तिनँ । उसको मालिकले उसलाई घरबाहिर कतै निस्कन दिँदैन । ऊ देविकाको शरीरबन्धक बनाई भरपुर उपभोगमा मस्त छ । देविकालाई सुरूसुरूमा उसको कामको आनन्द भए पनि अहिले ऊ न विद्रोह गर्न सक्ने स्थितिमा छे । न सुखी या खुसी भएकी छे ।
सारिकाले यो देविकाको कथा वाचन गर्दा दिनेशका आँखाबाट बलिन्द्र धारा आँसुका झरनाहरू बहिरहेका थिए ।
ं ं ं
दिनेश पसलमा कुखुरा काटिरहेको छ । उसलाई नजिकैको एफएममा कुनै प्रख्यात गायकले गाएको ‘उडायो सपना सबै हुरीले’ भन्ने बोलको गीतले चिमोटीरहेको छ । मनको मेनेज भन्दा शरीरको मेनेज कति मँहगो हुँदो रहेछ । दिनेशका मनमा कुराहरू एकपछि अर्को गर्दै झुत्ती खेलिरहेका छन् । ऊ अचानामा राखेर ग्याँसमा पोलेका कुखुराका निर्जीव शरीरमा दाउले एकतमासले छ्याक्छ्याक् गर्दै काटिरहेको छ । उसको नजिकैबाट आएको त्यो हतियारको आवाजले आफ्नै मुटु काटिरहको भान उसलाई भैरहेको छ । 𞉀

टीकाथली ४, ललितपुर ।
हालः स.प्राचार्य, मन्थली उमावि, मन्थली ।

प्रकाशित मिति : प्रकाशन मिति : सोमबार, 6 बैशाख, 2073

लेखकका अन्य रचनाहरु