जिन्दगीमा तीता मीठा गज़ल बनाएँ
कल्पनाका ठूला ठूला महल बनाएँ
शिशिरको सिरेटोले निल्थ्यो सुलुक्कै
आगो ताप्ने इच्छा भयो मकल बनाएँ
दिमागमा कुप्रवृत्ति कैल्यै ल्याइन
विचारधारा स्पष्ट र असल बनाएँ
लगनशील भै काम गरेँ ठग्न जानिन
परिश्रमले प्रतिभालाई कुशल बनाएँ
सकेसम्मै परजीवी बन्न चाहिन
धान कुट्ने च्युरा कुट्ने ओखल बनाएँ
संगीतले मन जित्थ्यो सुन्थेँ रमाउँदै
दोहोरीको नशा लाग्यो मादल बनाएँ
सबैसँग टाढा भएँ हुन्छ वेदना
कति चोटी मनस्थिति पागल बनाएँ
स्वदेशको माया लाग्छ रातोदिन नै
सम्झनाले हृदय यो विह्वल बनाएँ
चोटहरू खप्दाखप्दै छाती जीर्ण भो
घरिघरि देह आफ्नो घायल बनाएँ
कठोरता देखेँ सधैं मनै खिन्न भो
मैले आफ्ना सोच सबै 'कोमल' बनाएँ
पुरानो नैकाप,काठमाडौँ
हाल:- न्युयोर्क,अमेरिका
प्रकाशित मिति : प्रकाशन मिति : सोमबार, 6 बैशाख, 2073