नेपाल

- पेशल आचार्य

जब तिम्रो हातमा भिसा लागेको पासपोर्ट हुन्छ
जब तिम्रो हातमा विदेशको कामको
नियुक्तिको कागज हुन्छ
तिमी आफ्नो सँघार नाघेर
अरबका ताता कुनै नैऋत्यिक मुलुकतर्फ
रङ्गीन सपनाहरू गोडमेल गर्ने
उच्च कामना लिएर
हवाइजहाजको सिटमा बसेका हुन्छौ
बस् त्यसैबेला तिमीलाई
नेपालको झल्झली याद् आउनेछ,

घर रहँदा घरको सम्झना नहुनु केही होइन
थर पाउँदा थरको हेक्का नुहुन पनि केही होइन
जब तिमी परदेश या दूरदेशमा
आफ्नो साथी आफैँ बनेर
दिनका प्युरीहरूबाट
अहर्निष घर परिवारको सम्झनामा बत्ती कातिरहेका हुनेछौ
त्यसबेला तिमीलाई
आफ्नो नेपालको याद्ले खूब रुवाउनेछ,

हुनुमा केही छैन
नहुनुमा सबथोक छ
नरुनुमा केही छैन
रुनुमा सबथोक छ
मनिसको यात्रा
गुफाबाट आजसम्म
छ सय पैँसठ्ठी पुस्ताको भैसकेको छ भन्छन् समाजशास्त्रीहरू
बिरानो देश
बिराना मानिस
बिरानो हावापानी र
बिरानो भावभङ्गीले
त्यसबेला चिमोट्द
जब तिम्रासाथ
तिमीलाई नचिन्ने हूलहरू नै वरिपरि हुनेछन्,

आऊ फर्केर आफ्नै आमाको पाउमा साष्टाङ्ग दण्डवत् गर
तिम्री आमा फेरि पनि तिमीलाई
मायाको सुकिलो आँचलमा लपेट्न आतुर हुनेछिन्
आफ्नो फराकिलो छातीको सरहद्मा समेटन सक्रिय हुनेछिन्
आऊ नेपालै रहेर नेपाललाई हँसाऊ ।

हालः मन्थली, रामेछाप ।

प्रकाशित मिति : प्रकाशन मिति : बिहीबार, 2 बैशाख, 2073

लेखकका अन्य रचनाहरु