प्रेम

- विश्वराज अधिकारी

सुनितालाई पहिले चोटि मैले बीरगंजको एक क्याम्प्समा देखेको थिएँ। समय यस्तै २०४० या ४१ हुनु पर्छ। म आई ए मा पढ्थ्ये, सुनिता आई कममा। के यस्तो आकर्षण थियो सुनितामा म भन्न सक्तिन तर उनीप्रति म ज्यादै आकर्षित भएको थिएँ, पहिलो पटक हेर्दा नै। आफू उनीप्रति अति नै आकर्षिति भएको बोध गराउन मैले अनेक उपायहरु पनि गरे। एक युवकले आफू कुनै युवतीप्रति आकर्षित भएको दर्शाउन गर्नु पर्ने हरेक क्रियाकलाप गरे, कुनै पनि बाँकी राखिन, उनलाई आफू उनीप्रति आकर्षित भएको अवगत गराउन। यति थरि गर्दा पनि उनीबाट कुनै सकारात्मक संकेत नपाए पछि अन्तमा उनलाई क्याम्समा एक दिन भेटेर भने पनि , म उनीप्रति ज्यादै आकर्षित भएको छु भनेर । आफ्नो त्यो इच्छा त्यसरी प्रत्यक्ष रुपमा जाहेर गरेपछि उनीबाट सकारात्मक जबाफ पाउँला जस्तो मलाई लागेको थियो, तर के को सकारात्मक जबाफ पाउनु, उल्टो ठूलो अपमान र पीडा मैले सहनु परेको थियो। त्यो समय सम्झिंदा अहिले पनि म झसङग हुन्छु, कुनै डर लाग्दो सपना देखेर मन झसङ्ग भए झैं।

२०४५ सालको अन्ततिर म काठमाडौ आएँ, बीरगंजबाट। काठमाडौ आएर पढाई मै कन्द्रेतित भएँ। माष्टर डिग्री गरेपछि भने व्यापारतिर लागें। पुतलीसडकमा आफ्नो एउटा स्वतन्त्र व्यवसाय संचालन गरे। शैक्षिक परामर्श सेवा मलाई मन पर्ने व्यवसाय भएकोले आफ्नो यो व्यवसायबाट सन्तुष्ट नै छु। हुनत एउटा विचार आएको थियो विदेशतिर जाउँ कि भन्ने तर मन लागेन जान। गर्न सके आफ्नै देशमा थुप्रै अवसरहरु छन्, खोज्ने र त्यसमा लागि पर्ने हो भने। यस्तो विचार मेरो मनमा आयो। त्यसैले परिवार र आफ्न्तले विदेश जान दवाव दिए पनि, अति नै उत्प्रेरित गरे पनि म विदेश तिर गइन।

मैले सुनितालाई देखेको पच्चिस छब्बिस वर्षभन्दा बढी भयो। यो कारोबारी, यो बेफुर्सदी जिन्दगीका क्षणहरुले भेट हुने संयोग पनि जुराएनन् हामीलाई। कुनै मोडमा हाम्रो भेट हुन पनि सकेन। तर अचम्म भयो, हिँजो मैले पत्यारै नलाग्ने किसिमबाट सुनितालाई भेटें त्यो पनि सडकपेटी, कुनै रेष्टुरेन्ट या पसलमा होइन, आफ्नै अफिसमा, त्यो पनि आफ्नै कोठामा। आश्चर्य त यस कुरामा लाग्यो कि उनी जागिरका लागि आएकी रहिछन् र त्यो भन्दा पनि बढी आश्चर्य त यस कुरामा लाग्यो कि चालिस पैतालिसको उमेरमा पनि उनले जागिर खोजेको देखेर। किनभने, यस्तो उमेरमा मानिसले, हाम्रो देशको सन्दर्भमा, जागिरे जीवनको एउटा किनारा समाति सकेका हुन्छन।

मैले पत्रिकामा आफ्नो अफिसको लागि एक सेक्रेटरीको विज्ञापन गरेको थिएँ। मैले उनलाई इन्टरभ्यु दिन आएको अफिसको मेरो कोठामा देखे। म यो शैक्षिक परामर्श सेवामा रहेको थाहा पाएको भए सम्भव त सुनिता आउथिनन् होली। तर त्यो पनि म यकिनका साथ भन्न सक्तिन किनभने समयले मानिसलाई कस्तो कस्तो काम गर्न लगाएको मैले आफ्नै यी दुई आँखाहरुले देखेको छु।

सुनिता इन्टरभ्यु दिन कोठामा प्रवेश गर्दा खेरि नै मैले उनलाई चिनि सकेको थिएँ। त्यति लामो समयान्तर पछि मैले उनलाई देख्नासाथ चिन्नुमा आश्चर्य मान्नु पर्ने कुरा थिएन पनि। किनभने त्यो बेला म उनको पछि लागेर पागल नै भएको थिएँ। त्यो बेला उनलाई म जति गहिरिएर अरु कसैले सायदै हेरेको होला। मेरा आँखाहरुले अहिले पनि उनका ती बेलाको तस्बिहरु बोकेका छन् एल्बम झैं। तर उनले भने मलाई देख्नासाथ चिन्न सकिनन्। सुनिता इन्टरभ्यु दिन जब मेरो अगाडि रहेको कुर्सीमा बसिन्, जब मैले भने – मेरो नाम आकाश शर्मा हो, म यो कन्सल्टेन्सीको चिफ अनि प्रोप्राइटर पनि हुँ अनि उनले मलाई चिनिन्। एक छिन अक्मकिए पछि मुख रातो पार्दै भनिन् – ए, चिने, अँ बल्ल चिने। तपाँई पहिले बीरगंजमा बस्नु हुन्थ्यो। हामी एउटै क्याम्पसमा पढ्थ्यौ, होइन? अँ मलाई याद आयो अब।

इन्टरभ्यु शुरु भयो। सुनितालाई सेक्रेटरीले गर्नु पर्ने काम सम्बन्धी केही प्रश्नहरु मैले सोधे। केही प्रश्नहरु मेरो अफिसका प्रशासकीय अधिकृतले पनि सोधे। इन्टरभ्युको क्रम टुङ्गिए पछि मैले प्रशासकीय अधिकृतलाई भने –उत्तमजी, उहाँसँग मेरो पुरानो परिचय छ, हामी केही क्षण कुरा गर्छौ होला। हाम्रो कुराकानी सकिए पछि तपाँईलाई खबर गरौला, त्यसबेलासम्म तपाँई आफ्नो अफिसमा बस्नु भए हुन्छ। उत्तमजी आफ्नो कोठातिर लागे।

उत्तमजी आफ्नो कोठाम प्रवेश गरे पछि मैले सुनितालाई सोधें –सुनिताजी, के छ हालखबर, के गर्नु हुन्छ आजभोलि? सनिताले भनिन् – म पनि काठमाण्डौ आएको धेरै भयो, करिब पन्द्र सोर्ह वर्ष जति। एउटा छोरा छ उसैलाई पढाउन यतातिर आएको। यता आउनुको अर्को पनि उद्देश्य थियो। त्यो के भने काठमाण्डौमा जागिर सजिलैसँग पाइला भनेर।

सुनितालाई मैले फेरि भने – सुनिताजी, मैले तपाँईको निजी जिन्दगीको बारेमा सोध्नु त्यति उपयुक्त त होइन तर पनि आफूलाई रोक्न सकिरहेको छैन, माफ गर्नु होला। मेरो कुरा सुनेर एकै छिन घोरिएर केही सोंचे जस्तो गरिन उनले। त्यसरी मौन भएको देखेर उनी मेरो कुरा सुन्ने मनस्थितिमा रहेको अनुमान गरे मैले । मैले भने - अनि तपाँईको श्रीमान के गर्नु हुन्छ नि, सुनिताजी। सुनिताले मुख अँध्यारो पार्दै भनिन् – हामी सँगै बस्दैनौ, छुट्टिएर बसेको पनि धेरै भयो। विहे भएर करिब एक महिना जति मात्र सँगै बस्यौ हामी। त्यस पछि ……………………. ।

सुनिताको कुरा सुनपछि मैले केही पनि बोलिन। पूर्ण रुपमा नि:शब्द भएँ म। आफैमाथि रीस उठ्यो अनि पश्चाताप पनि गरे किन उनको पतिको बारेमा मैले सोधेको होला भनेर। म नि:शब्द थिएँ र उनको मुहारतिर हेर्न सकिरहेको थिन्।

सुनिताले फेरि भन्न आरम्भ गरिन – हाम्रो प्रेम विवाह भएको थियो, २०४१ सालको अन्ततिर। ऊ मसँगै पढ्थ्यो, आई कममा नै। एउटै क्लासमा। डेरा लिएर बसेको थियो, बिर्तामा। मलाई देखेर हुरुक्क हुन्थ्यो। एउटै क्लासमा हुँदा पटक पटक देखा पर्नु र बढी नजिक हुनु स्वभाविक थियो। म पनि आकृष्ट भएँ उप्रति। हाम्रो सम्बन्ध बढ्दै गयो। बढ्दै गएको सम्बन्धले प्रेमको रुप लियो। र प्रेम पछि विवाहमा परिणत भयो। तर उसको विहे गर्ने उद्देश्य फरक रहेछ, किनभने उसलाई जीवन साथी होइन, प्रेमीका चाहिएको रहेछ, त्यो पनि साथीहरुलाई यो देखाउन कि हेर म यति बहादुर छु कि आफूले जुन केटीलाई चाह्यो त्यसलाई सजिलै फकाउन सक्छु।

म केवल सुनिताका अतीतहरु सुनिरहेको थिएँ। केही बोल्न सकिरेको भने थिन्। मलाई आश्चर्य पनि लागिरहेको थियो सुनिताले किन यसरी आफ्नो बिगत मेरो सामु खुलस्त पारेको होला। त्यसरी खुलस्त पार्नुको कारण पनि मैले अनुमान गरें। सायद उनले आफ्नो दयनीय कथा सुनाएर मलाई जागिर दिने मनस्थितिमा पुर्याउन त्यसरी आफ्नो बिगत खुलस्त पारेकी हुन सक्छ। म चुप लागेको देखेर सुनिताले भनिन् – मैले आफ्नो बोर लाग्दो कथा सुनाएर तपाँईको समय बरबाद गर्ये, क्यार। माफ गर्नु होला। तर आज मनमा भएका उकुस मुकुसहरु पोखेर हल्का हुन चाहन्छु।

मैले भने – त्यस्तो केही पनि होइन सुनिताजी, भन्नुस। म सुन्न तयार छु। अरु उम्मेदवारहरुको इन्टरभ्यु केही ढिलो गरि लिनु पर्ला। मेरो कुराबाट उत्साहित हुँदै सुनिताले भनिन् – कहिले भन्थ्यो मेरो हेटौंडामा घर छ, कहिले भन्थ्यो नारायणघाटमा। बुआको काठमाण्डौमा ब्यापार छ रे होलसेलको। विदेशी सामानको पसल छ, नया सडकमा। काठमाण्डौमा पनि घर छ रे, कार छ। पढाई सकिए पछि उसले केही पनि गर्नु पर्दैन, नया सडकको पसल हेरे पुग्छ। उसको सम्पत्तिले नै मलाई आकर्षित पारेको थियो, खासमा। मेरो त्यो बेला को बुद्धि पनि कस्तो……………………………..। न गृहस्थी नै सफल हुन सक्यो न त पढ्न नै सके। आई कम पनि पास गर्न सकिन किन त्यस्तो फट्हा, विश्वाशघातको कुरा पत्याएको हुँला मैले। कस्तो मान्छे? कहिले पनि साँचो न बोल्ने। तर एउटा विशेषता भने थियो उसमा, त्यो के भने अति झूठ कुरा पनि ज्यादै विश्वाश लाग्ने गरी भन्न सक्थ्यो। उसको भन्ने शैली यति पत्यारिलो र रोचक हुन्थ्यो कि जसले पनि पत्याउँथ्यो उसका कुराहरु। कुनै किसिमको संका उपसंका नगरेर। उसको त्येही विशेषताले गर्दा होला आफूले चाहेको कुनै पनि केटीलाई फकाउन सक्छु भनेर उसले ठूलो आत्मविश्वाशका साथ भन्न सकेको।

यति भनेर एक छिन शान्त भइन सुनिता। टेबल माथि राखिएको पानी पिइन। पानी पिउन सकिए पछि मैले चिया खान संकेत गरे। चिया पिउन थालिन, मैले पनि चियाको कप उठाएँ।
म शान्त थिएँ। सुनिताले फेरि भनिन् – हाम्रो गृहस्थी मुस्किल मुस्किलले एक वर्ष जति चल्यो। त्यस पछि अगाडि बढ्न सकेन। कसरी बढ्नु त्यस्तो मान्छेसँग, एक नम्बरको आबारा, अनि चरित्रहीन पनि। २०४३ सालको शुरुदेखि छुट्टिए बस्न थाले। बो बीचमा विवेकको जन्म भयो, विवेक, मेरो छोरा। म विवेकसँग बस्छु। पुरानो बानेश्वरमा डेरा छ। छोराले पनि पढाई सक्याएर, जागिर खोज्दै छ।

मलाई केही बोलौ जस्तो लाग्यो तर बोलिन। खै किन हो बोल्न मन लागेन। म चुपचाप थिएँ, सुनिता पनि। केवल हामीले चिया खाएको ध्वनी मात्र सुनिन्थ्यो। चिया खाने क्रममा सुनिताले बेला बेलामा मेरो मुहारमा हेरेको म प्रष्ट गरी थाहा पाइरहेको थिएँ। मैले थाहा पाएको देख्दा देख्दै पनि उनले बारम्बार मेरो मुहारमा हेरेको मैले अनुमान गरें। निकै समयको शान्ति पछि सुनिताले भनिन् -४३ सालदेखि छुट्टिएर बसेदेखि खासै भेट भएको छैन। एक दुई चोटी भेट्न खोजेको थियो उसले तर त्यो भेट्ने उद्देश्य के हुन सक्छ अनुमान गरे मैले गाली गरेर पठाए। त्यस पछि उसँग भेट भएको छैन मेरो। छुट्टिएर बसेदेखि बा आमासँग बीरगंजमा नै बसे। पछि भाइको पनि बिहे भयो, विवेकले पनि काठमाण्डौ आउने मन गर्यो, अनि यहाँ आए।

हामी दुबै चिया खाँदै थियौ। जाना जानी नै हामी दुबै ढिलो गरी चिया खाँदै थियौ, जति ढिलो गरी चिया खायौ त्यति नै बढी समयसम्म गफ गर्न पाइन्छ भन्ने उद्देश्यले। हामी दुबै शान्त थियो। मेरो मनमा के भयो कुन्नी मैले सुनितातिर हेर्दै झ्वाट्ट प्रश्न गरे –सुनिताजी, तपाँईलाई एउटा प्रश्न सोध्न मन लाग्यो, सोधौ? मेरो कुरा सुनेर सुनिताको मुखको भाव एकाएक परिवर्तन भयो। उनले मुख रातो पार्दै भनिन् – सोध्नुस, न के सोध्न चाहनु हुन्छ। मैले सोधे – सुनिताजी, साँच्यै भन्नुस त, म त्यति गए गुज्रेको थिएँ, म त्यस्तो गुण्डा आबारा थिएँ कि तपाँईले आफ्नो बालाई भनेर मलाई कुट्न लगाउनु पर्ने, त्यो पनि बीच बजारमा, सबैले देख्ने गरी?

मेरो प्रश्नको सुनिताले कुनै जबाफ दिनन्। उनले जबाफ दिन खोजे जस्तो पनि मलाई लागेन। मैले फेरि भने – मैले त्यसतरि कुटाई खानु पर्नेको पछाडि कारण के थियो? त्यसमाथि त्यति धेरै मान्छेको अगाडि त्यति ठूलो बेइज्जति ……………………………………। हो, एउटा कारण चांहि थियो, मेलै तपाँईलाई सभ्य किसिमले प्रेम गर्नु त्यो प्रेम सभ्य किसिमले जाहेर गर्नु। मेरो भनाईमा फेरि पनि सुनिताले कुनै प्रतिक्रिया जाहेर गरिनन्। बरु चुप लागिन्। वातावरण निकै बेर शान्त रह्यो।

चिया सकिसकेको थियो। त्यैपनि किन हो चियाको कपलाई मुखसम्म पुर्याउँदै सुनिताले मतिर होइन चियाको कपतिर हेर्दै भनिन् – मैले तपाँईलाई चिन्नमा गल्ति गरे। गल्ति पनि यस्तो जसलाई सच्याउन नसकिने, कपीमा गलत लेखे पछि इररेजरले मेटाउन नसकिने झै। यो गल्तीलाई पनि इररेजरले मेटाउन पाएँ झै कति राम्रो हुन्थ्यो होला। यति भनेर सुनिता चुप लागिन। तर एकै छिनको मौनता पछि फेरि भनिन् – कुनै पनि कुरालाई नदेखेर पहिले देखिनै त्यसको बारेमा धारणा बनाउनु र त्यो धारणा पनि नकारात्मक हुनु, यस्तै मनोविज्ञानको सिकार भएको थिएँ म त्यति बेला। तपाँईको लगाई खबाई देखेर मलाई लाग्थ्यो यस्तो मान्छेको जीवनले मेरो लागि केही अर्थ राख्दैन।

सुनिताको कुरा सकिए पछि मैले केही सम्झे झै गरी भने – सुनिताजी, गफ गफ गर्दा गर्दै धेरै समय बितेछ। अरु पनि तिन चार जनाको इन्टरभ्यु लिनु छ। तपाँईको रिजल्ट चाहिं म अहिले नै भन्न सक्छु। सुनिताले डर मिश्रित स्वरमा मतिर हेर्दै प्रश्न गरिन – अनि, सर, म पास भएँ कि फेल? मैले जबाफ दिएँ – पास। सक्नु हुन्छ भने भोलिदेखि नै काममा आउनु भए हुन्छ। यति भनेर म चुप लागे। सुनिताको मुहारमा सात चन्द्र उदाएको मलाई लाग्यो। उनको मुहारमा देखिएको चमकले मलाई त्येही बेलाको सुनिताको झझल्को दिइरहेको थियो जुन बेला, कत्ति भनौ, भन्न नै नसकिने गरी आकर्षित भएको थिएँ। र मैले सुनिताबाट मेरो त्यो बेलाको प्रेमको साँच्चिकै सकारात्मक जबाफ पाएको थिएँ।

प्रकाशित मिति : प्रकाशन मिति : शुक्रबार, 5 चैत्र, 2072

लेखकका अन्य रचनाहरु