अर्को बिहे

- विश्वराज अधिकारी

बाल्यकालदेखि नै म निकै भलादमी थिएँ रे। युवा अवस्थामा पुगेपछि त जिम्मेवार पनि उत्तिकै भएँ। बाले भन्नु हुन्थ्यो म पढाईमा पनि बाल्यकालदेखि नै अति तिब्र थिएँ।
हाईस्कूल पढ्दासम्म कहिले पनि म दोस्रो श्रेणीमा परिन। २०३२ सालमा यस यल सि परीक्षा दिएँ, परीक्षा दिएको तीन महिना पछि हाम्रो घरमा ठूलो दुखद घटना भयो। हृदयघातबाट आमाको मृत्यु भयो। आमाको मृत्यु हुँदा उहाँको उमेर केवल ३४ वर्षको थियो। ज्यादै कलिलो उमेरमा आमाको मृत्यु भयो। बा र आमाको उमेरमा केवल एक वर्षको अन्तर थियो। आमाभन्दा बा एक वर्षले जेठो हुनुहुन्थ्यो ।
आमामा मुटुको बिरामीको कुनै लक्षण देखिएको थिएन। जहिले पनि आमा निकै स्वस्थ देखिनु हुन्थ्यो। त्यो दिन, विहानी पख एक्कासी छाति दुख्यो भन्नु भयो। हामीलाई सामान्य किसिमको दुखाई हो जस्तो लाग्यो। तर स्थिति नाजुक हुन थाले पछि हतारिँदै छपकैंया अस्पताल पुर्यायौ। रिक्साले कुन बेला अस्पताल पुर्यायो मैले थाहा पाइन। त्यो समयमा बीरगंजमा त्यति भीडभाड पनि हुन्थेन। मेरो ध्यान केवल आमामा थियो। आमालाई समातेर रिक्सामा म बसेको थिए, बा रिक्साको पछि पछि हुँदै साइकलमा आउनु भयो। अस्पताल पुगेको एक घण्टपछि नै डाक्टहरुले आमाको मृत्यु भएको घोषणा गरे। त्यही दिन दिउँसो आमाको जीवन यात्रा सिरसियाँ नदीको किनारमा समाप्त भयो। उहाँको भौतिक शरीर भूमि, जल, अग्नि, वायु, आकास गरी पंच तत्वमा बिलिन भयो।
आमाको मृत्युले मलाई निकै बिचलित पार्यो। जुन बेला पनि आमाको सम्झना आइरहन्थ्यो। आमाको अभावमा घर पनि एकदमै शून्य लाग्द्थ्यो। केही दिनसम्म बा त बिरामी परे जस्तो नै हुनु भयो । मेरी बहिनीहरु पनि टोलाई रहन्थे। यस्तो दुखद घडीको बीचमा मेरो पढाई राम्रो गरि हुन सकेन। आइ यस सी दोस्रो श्रेणीमा पास भए। मेरो अध्ययन जीवनमा म दोस्रो भएको भनेको त्यो नै हो।
१८ वर्षको उमेरमा मैले आइ यस सी पास गरे। बाको आम्दानी ज्यादै सीमित थियो। माईस्थानको एक व्यापारीको पसलमा काम गर्नु हुन्थ्यो। उहाँको आम्दानीले जेनतेन गृहस्थि चलेको थियो। हजूरबाको पालाको बिर्ताको पुर्खौली घर नभई दिएको भए सायद हाम्रो सामाजिक र आर्थिक जिवन अझै कष्टकर हुन्थ्यो।
मैले बि यस सी पढन काठमाडौ जाने इच्छा प्रकट गरे। बाले कुनै उत्सुकता देखाउनु भएन। म ज्यादै निरास भए। बाले आर्थिक कारणले गर्दा उत्सुकता नदेखाउनु भएको मलाई थाहा थियो। त्यसैले पनि म उहाँलाई बढी दवाव दिन चाहिरहेको थिइन। अर्कोतिर, मेरा दुई वटी बहिनीहरुको पढाईको खर्च पनि सीमित आम्दानीबाट बाले जुटाउनु पर्ने थियो। दुबै बहिनीहरु हाईस्कूलको माथिल्लो क्लासमा थिए।
बाको समस्या पनि समाधान हुने अनि मेरो इच्छा पनि पूरा हुने युक्ति मैले निकाले। एक दिन साँझ बा कामबाट फर्के पछि मैले भने – बा, म काठमडौ पढ्न जान्छु। तपाँईले खर्च पठाउने चिंता गर्नु पर्दैन। ट्युसन पढाएर, पढ्ने र बस्ने खर्च निकाल्छु। काठमाडौमा बसेका मेरो एक जना बीरगंजकै साथीले ट्युसन पढ्ने विद्यार्थी खोजिदिन्छु भनेको छ। बस्न पनि …………. उसैसंग बस्छ। उसको डेरा काठमाडौको पुतलीसडकमा छ। मेरो कुरा सुने पछि बाको मुहारमा प्रशन्नता देखिएन तर पीडा पनि देखिएन। केही क्षण सोंचे जस्तो गरेर भन्नु भयो ‘तिमीलाई उतै जाने इच्छा छ भने जाउ, म के भनौ। मैलो रोक्नु पनि उचित हुँदैन। ठीकै छ त, जाने तयारी गर्नु।’ बाको भनाई सकिए पछि मैले थपे – अँ बा, सुरुमा, दुई तीन महिनाका लागि लाग्ने खर्चको व्यवस्था त तपाँईले मिलाई दिनु पर्छ। मेरो यो दोस्रो प्रस्तावमा बाले केवल सहमतिमा सीर हल्लाउनु भयो, केही बोल्नु भएन।
बासँग काठमडौ पढ्न जाने बारे छलफल भएको दिनको भोलिपल्ट साँझको कुरा हो, कामबाट बा अलि छिटै आउनु भएको थियो। घरभित्र पस्ने बित्तिकै भन्नु भयो ‘कृष्ण यता हेर त।’ म हतारिँदै बाको नजिक पुगें। वहाँले खल्तीबाट पैसा झिकेर मेरो हातमा हालिदिनु भयो। पैसातिर हेर्दै भन्नु भयो ‘सात हजार छ, राम्रो गरि राख्नु। पैन्टको अन्त होइन, भित्री खल्तिमा राख्नु। पैसा पाए मछि मेरो मनमा खुसीको बाढी नै आयो। मेरो सपना, साइन्स पढेर प्रोफेसर हुने साकार हुन थालेकोमा म ज्यादै हर्षित भए। तर केही सोंचेर फेरि म उदास पनि भए। मेरो मुहारको खुसी क्षणभरमै समाप्त भएको देखेर बाले भन्नु भयो ‘किन……….., यति पैसाले पुग्ला जस्तो लाग्दैन?’ बाको प्रश्नको मैले तत्काल उत्तर दिएँ – होइन, पैसाको कारण होइन बा, यत्रो पैसा कहाँबाट ल्याउनु भयो भन्ने सोँचेर चिंता लागेको।
बाले भन्नु भयो ‘पसलमा सामान्य तलबमा काम गर्ने मान्छेसँग यति पैसा एकै चोटीमा कसरी हुनु? बहिनीहरुको बिहेमा दिनु पर्छ भनेर राखेको तिम्रो आमाको गहना थियो तिनै गहनाहरु बैंकमा बन्धकी राखेर पैसा झिकेको नि।’
म काठमाडौ पढ्न जाने योजना मेरा बहिनीहरुलाई पनि मन परेको थिएन, जस्तो मलाई लाग्यो। किनभने काठमाडौ जाने मेरो तयारीमा उनीहरुले खासै उत्साह देखाएनन्। म काठमाडौ लागे पछि बाको एक्लो जीबन झनै निरस हुन्छ भन्ने उनीहरुलाई लागेको हुन सक्छ।
म काठमाडौ आएको दुइ वर्ष भइसकेको थियो। बि यस सीको पढाई सकिन सकिन आँटेको थियो। परीक्षाको तयारीमा म निकै गंभिर भएर लागेको थिएँ। तर बीरगंजबाट आउने खबरहरुले भने मलाई निकै चिन्तित लुल्याई रहेका थिए। पछिल्लो पटक पठाएको चिठ्ठीमा जेठी बैनी पद्माले प्रष्ट गरी लेखेकी थिइन ‘दादा, बाले अर्को बिहे गर्ने बिचार गर्नु भएको जस्तो छ। आजभोलि घर पनि निकै ढिलो गरी आउनु हुन्छ। प्राय उदास देखिनु हुन्छ। अस्ति माया फुपू कहाँ गएको बेला उहाँलाई बिहे गर्ने इच्छा छ भनेर भन्नु भएको पनि रहेछ। मैले माया फुपूसँग सोधे पनि, बाले त्यस्तो भनेको हो? माया फुपूले हो भन्नु भयो।
म आफ्नै अध्ययनमा केन्द्रित थिए। तर पनि बहिनीहरुले पठाउने खबर र खास गरी बाले जाहेर गरेको त्यो इच्छाले मलाई निकै चिन्तित तुल्याएको थियो। म चिन्तित थिए। घरमा आउने नयाँ सदस्य र बहिनीहरुको बीचमा राम्रो समन्वय हुन नसक्ला कि भनेर। बहिनीहरु बढी आमासँग घुलमिल हुन्थ्ये र खुल्थ्ये पनि। त्यस्तो हुनु स्वभाविक थियो पनि। आमाको मृत्युले म र बा हुँदा हुँदै पनि उनीहरु टुहुरा जस्ता देखिएका थिए । उनीहरुले आमा मात्र होइन एउटा साथी पनि गुमाएका थिए। कतिपय इच्छा र आवस्यकता उनीहरु केवल आमालाई मात्र भन्थे। सानै उमेरमा बहिनीहरुले घर गृहस्थी चलाउन सिक्नु परेको थियो। दिदी बहिनी निकै मिलेर बसेका थिए। त्यसैले गर्दा पनि म बाको त्यो इच्छाले गर्दा अलि बढी नै चिंतित हुन पुगेको थिएँ।
बहिनीहरुले खबर पठाउने क्रम रोकिएन। पछिल्लो पटक आएको पत्रले भने मलाई बेचैन नै तुल्यायो। पत्रमा यस्तो लेखिएको थियो ‘दादा, बाले अर्को बिहे एक जना बिधुआसँग गर्ने निधो नै गरे जस्तो छ। त्यो बिधुआको उमेर बा कै हाराहारीको होला। बालाई हरि काकाले सघाउनु भएको छ। हरि काकाले नै खोजिओरी कुरा मिलाई दिनु भएको रे। तपाँई एक चोटी बीरगंज आउनुस, अनि बालाई सम्झाउनुस। हामीले त बालाई केही भन्ने आँट पनि गर्न सकेका छैनौ।’
मेरो बि यस सीको पढाई चलिनै रहेको थियो। परीक्षा सकिन आँटेकै बेलामा त्यो चिठ्ठी आएको थियो। परीक्षा सकिएको भोलिपल्ट नै म बीरगंज हतारिँदै पुगे।
म बीरगंज पुगेर घर पस्दा रात परिसकेको थियो। खाना खाए पछि बासँग कुरा गर्न मन लागेको थियो तर सुत्ने बेला भएकोले कुरा गरिन। भोलिपल्ट भने बिहान चिया खाने बेलामा कुरा गर्न खोजे, बाले नै कुराको क्रम आरम्भ गर्नु भयो। चिया खाँदै भन्नु भयो ‘हेर न बाबु, मलाई त मान्छेहरुले बिहे गर, बिहे गर भन्छन। हरिले, मायाले, ठूली भाउजुले …………………………….. । सबैले…………………. । भन्छन छोरा पढाई मै व्यस्त छ। भोलि जागिरको खोजिमा कता कता लाग्ने हो। छोरीहरु पनि बिहे भए पछि कहाँ पुग्ने हुन्। तपाँई एक्लो पर्नु हुन्छ। बिहे गरे भने तपाँई दुबै जनालाई एक अर्को सहारा हुन्छ, ढुङ्गालाई माटोको माटोलाई ढुङ्गाको भर भएझै।’
‘खोइ के गर्ने? तिमीहरुको के सल्लाह छ?’ बाको प्रश्नको मैले कुनै उत्तर दिइन। मेरो मौनता केही क्षण कायम भएको देखेर बाले भन्नु भयो ‘तिमीहरुको बिचारमा के गर्दा ठीक होला?’ बाको यो प्रश्न सुनेपछि मलाई केही भन्न मन लाग्यो। मैले भने- बहिनीहरुसँग पनि सोधौ न। उनीहरुको पनि त राय बुझ्नु पर्यो। मेरो यो प्रतिक्रियामा बाले केही पनि भन्नु भएन।
बीरगंज पुगेको दुई चार दिन पछिको कुरा हो, मैले बाको इच्छाको बिरोध उहाँसँगै गर्नु उचित ठानिन। हरि काकालाई भनेर बालाई सम्झाउन लगाउने बिचार गरे। एक दिन हरि काका कहाँ पुगेर भने –काका, हजूरले बालाई सम्झाई दिनु पर्यो। हजूरले भन्नु पर्यो, दाई यो उमेरमा विहे गर्नु उपयुक्त हुँदैन। सम्झाई बुझाई गरेर वहाँको मन फर्काई दिनु पर्यो। काकाको कुरा बाले मान्नु हुन्छ पनि।
मेरो बिचारप्रति हरि काका सहमत हुनु भएन। निकै बिरोध गर्नु भयो। भन्नु भयो पनि ‘हेर तिमीलाई सबै कुरा प्रष्ट पारेर भन्न सकिँदैन। कतिपय कुरा प्रष्ट पार्न सकिँदैन पनि। त्यो उमेर वा अवस्थामा पुगे पछि मात्र थाहा हुन्छ त्यस्ता कुराहरु । अर्थात केही कुराहरु नभोगिकन थाहा हुँदैन। छोटकरीमा के मात्र बुझ भने बिहे गर्ने तिम्रो बाको इच्छा स्वेच्छा होइन, बाध्यता हो।’ म हरि काकाको भनाईबाट सहमत भइन। मैले भने- काका घरमा नयाँ आमा आए पछि के बहिनीहरुले सजिलै स्वीकार गर्लान त? यदि आउने नया सदस्य र बहिनीहरुको बीचमा टकरावको स्थिति आयो भने बाको लागि सजिलोभन्दा पनि असहजताको स्थिति उल्टो उत्पन्न हुनेछ। अनि झगडा सगडा……………..। खासम भन्ने हो भने बाको इच्छा मलाई पनि मन परेको छैन। बाको स्थितिमा धेरै मान्छेहरु बसेका छन् र खुसी नै देखिएका छन, तिनीहरु पनि। नरेन्द्र भिनाजुलाइ हेर्नुस त, फुपू बित्नु भएको कति वर्ष भय? फुपू बित्नु हुँदा भिनाजुको उमेर केवल ३० वर्षको थियो। त्यैपनि भिनाजुले विहे गर्नु भएन। छोरा छोरीहरुको स्याहार सुसार गरेर बस्नु भयो। छोरा छोरी हुर्काउनमा नै उहाँले जीवन बिताउनु भयो। फेरि, हामी बलाई एक्लो हुन दिंदैनौ पनि। हामी एकदम राम्रो हेरबिचार गर्छौ। हरि काकाले बालाई यो कुरा भनिदिनु भए हुन्छ। मैले धेरै किसिमका तर्कहरु दिएपछि हरिकाका बल्ल बालाई बिहे नगर्न भनी राजी गराउन तयार हुनु भयो ।
हरि काकाले बालाई धेरै सम्झाउनु भयो। वहाँले बालाई के कस्ता तर्कहरु दिनु भयो सबै त मैले थाहा पाइन तर हामी बाको त्यो इच्छाबाट प्रशन्न छैनौ भन्ने कुरा चाँहि प्रष्ट गरी हरि काकाले बालाई भन्नु भयो रे। बाले पनि हरिकाकासँग निकै तर्क बितर्कहरु गर्नु भयो रे। के त्यस्ता तर्कहरु गर्नु भयो त काका बाले, भनी सोध्दा वहाँले बताउनु भएन। केवल के मात्र भन्नु भयो भने हामी बीच के के कुराहरु भए सबै तिमीलाई बताउन आवश्यक छैन, र मैले ती सबै कुराहरुको बलिबिस्तार लगाउनु उचित हुँदैन पनि। यति मात्र के बुझ भने दाईले बिहे गर्ने इच्छा त्याग्नु भएको छैन, केवल त्यसलाई दबाउनु भएको छ मात्र, त्यो पनि मौजुदा परिस्थिको गाम्भिर्यतालाई बिचार गरेर।
एक महिना जति बसेर म काठमाडौ फर्के। म पढाईमै तल्लिन भए। साइन्सको पढाई अलि बढी नै ध्यान केन्द्रित गर्नु पर्ने हुन्थ्यो अध्ययनमा। बीरगंजबाट खबर आउने क्रम भने जारी नै थियो। तर खबरको रुप भने फरक थियो। खबरमा बहिनीहरुले बाको स्वास्थ्य ठीक नरहेको उल्लेख गर्थ्ये। कहिले कुन क्लिनिक कहिले कुन क्लिनिक बालाई पुर्याएको भन्थ्ये।
२०४२ सालतिरको कुरा हो, मैले एम यस सि सक्याई सकेको थिएँ। एउटा क्याम्पसमा जागिर पनि पाएँ। अध्यापनमा मेरो गहिरो अभिरुची रहेकोले म क्याम्पसको जागिरबाट ज्यादै खुसी थिएँ । बीरगंजबाट बाको अस्वस्थताको खबर आउने क्रम भने टुटेको थिएन। बाको अस्वस्थताको खबरले मलाई निकै चिंतित तुल्याउन थाल्यो। बा र बहिनीहरुलाई काठमाडौ ल्याउने बिचार गरे। मेरो यो योजना पहिले बैनीहरुलाई सुनाएँ। उनीहरु आउन तयार भए। बा भने आउन मान्नु भएन। मैले पटक पटक भन्दा पनि मान्नु भएको थिएन। एक पटक त भन्नु भयो पनि ‘म यै बीरगंजमा जन्मे हुर्केको मान्छे। म यहीं बस्छु। मर्छु पनि यहीं। यो शहर नै मलाई आफ्नो घर जस्तो लाग्छ। नयाँ ठाउँमा गएर के गर्नु? न कोही त्यहाँ चिनेको छ न जानेको। सबै नयाँ। फेरि ठूलो शहरमा कसैले कसैको मतलब राख्दैनन् भन्छन मान्छेहरु। काठमाडौ मलाई मन पर्दैन पनि। जहाँ पनि भीड। महँगी पनि उस्तै। मलाई त मेरो बीरगंज नै मन पर्छ। यो शहर दस चोटी घुम्दा पनि अघाउँदिन म त। झन माइस्थान मन्दिरको हरेक बिहान दर्शन गर्न नपाए भने त ……………………। हरेक दिन माईस्थानको दर्शन गर्न मैले कहिलेदेखि आरम्भ गरे मलाई राम्रो गरी याद पनि छैन। हेर बाबु, मलाई काठमाडौ जान दबाब नदेउ।’
मैले धेरै आग्रह गरेपछि बल्ल बा काठमाडौ आउन तयार हुनु भयो। २०४५ सालमा बा बहिनीहरुलाई लिएर काठमाडौ आउन भयो। पुतली सडकमा अर्को डेरा लिएँ। तर काठमाडौ आएर पनि बाको स्वास्थमा सुधार आएन। काठमाडौको कुनै पनि अस्पताल बाको इलाज गराउन बाँकी राखिन। जति इलाज गराए पनि, न त के रोग हो भन्ने पत्ता लाग्यो, न त वहाँको स्वास्थमा कुनै सुधार नै आयो। बैनीहरुसँग सल्लाह गरे। आफन्त, साथीहरुसँग पनि बिचार बिमर्स गरे। सबैको सल्लाह अनुसार बालाई राम्रो होला भनेर इण्डियाको भेलोर पुर्याएर। करीब एक महिना बसे त्यहाँ। ब्लड युरिन ………………… सारा टेस्ट गराए। त्यहाँको इलाजबाट पनि बालाई फाइदा भएको देखिएन।
२०४८ सालतिरको कुरा हो, भेलौरबाट इलाज गराएर फर्केको दुई वर्ष भन्दा बढी भइसकेको थियो। बाको गतिबिधि केवल घरभित्र नै सीमित भइसकेको थियो। कतै जाने, कसैसँग भेट्नेमा पटक्कै रुचि हुन्थेन बालाई। बैनीहरुको पढाई पनि सकिसकेको थियो। दुबैले एम ए सक्याएर सानोतिनो जागिर पनि समाति सकेका थिए। बहिनीहरु, पद्मा २८ र सिला २६ वर्षको भई सकेका थिए। उनीहरुको बिहे गर्न ढिलो भएको हेक्का मलाई नभएको होइन तर योग्य केटा नपाए पछि के गर्नु? उनीहरुले उच्च शिक्षा हासिल गर्नु पनि सानो तिनो समस्या नै मेरो लागि बनेको थियो। जति केटाहरु भेटिए पनि, अरु कुराहरु सबै मिलेको भएता पनि उनीहरु भन्दा कम पढेको भेटिने। जे होस बल्ल बल्ल सबै कुरा खोजे अनुसारको भएर दुबै बहिनीहरुको बिहे सक्याए, २०४८ सालतिर कै कुरा हो यो।
आफ्नो बिहे गर्न पनि ढिलो भइसकेको थियो। संघर्षको थुप्रोमा चढेर मेरो उमेर ३४ वर्ष पुगेको मलाई त्यसबेला बढी बोध भयो जब नया उमेरका युवतीहरुले मसंग बिहे गर्न उत्सुकता देखाएनन्। २०५० सालतिर बिहे गरे। तर त्यही वर्ष दुखान्त घटना भयो। बाको देहान्त भयो।
मेरो विहे भएको १६ वर्ष पछिको कुरा हो, म मोटर साइलमा प्रभा, मेरी पत्नि, लाई राखेर भक्तपुर जाँदै थिएँ। एक अर्कालाई उछिन्न प्रतिस्पर्धा गरिरेका मिनी बसहरु मध्ये अगाडीकोले मेरो मोटर साइकललाई गठ्ठाघरमा पछाडिबाट ठक्कर दियो। ठक्कर दिए पछिको स्थिति मलाई केही पनि थाहा छैन। पाटन अस्पतालको सर्जिकल वार्डको बेडमा मेरो होस खुलेपछि थाहा पाएँ मेरी पत्नीको त्यो डरलाग्दो मोटर साइकल दुर्घटनमा मृत्यु भइसकेको रहेछ। त्यो दुरघर्टनामा मेरो पनि एउटा खुट्टा भाँच्चियो ।
प्रभाले मलाई एक्लो र तीनटा छोराहरु विनय, विवेक, र विशाललाई टुहुरा बनाएर गएको एक वर्ष जति हुन थाल्यो। सबै भन्दा जेठो विनय त केवल १३ वर्षको छ, कलिलो उमेरमै आमाको मायाबाट बंचित भए मेरो छोराहरु।
प्रभाको मृत्यु पछिका दिनहरु मैले कसरी बिताएँ म भन्न सक्तिन। जीवन साथीको अभावमा पहाड जस्तो लाग्ने समय काट्न कति गार्हो हुँदोरहेछ, मभन्दा बढी अरु कसलाई थाहा होला? पतिलाई पत्नी र पत्नीलाई पतिको अभावमा जिवन अति नै निरस हुँदोरहेछ । मानसिक र शरीरिक दुबै किसिमले।
उदेक लाग्दो निरस, एकान्त झेल्न सक्ने आँट जुटाउन सकिन मैले। बिहे गर्ने निधो गरे। बिहे गर्ने निर्णयमा पुगेको छु म। २०६८ सालको वैशाषमा बिहे गर्दैछु । तर बिहे गर्ने निर्णयमा पुग्दा भने बाको झल झल सम्झना भयो मलाई। यदि यस्तो हुँदो हो? बालाई भेट्न सकिँदो हो त? म भन्थे- बा आमाको मृत्यु पछि तपाँईलाई दोस्रो बिहे गर्न रोकेर मैले ठूलै गल्ति गरे। र गल्ति पनि त्यस्तो, जुन सच्याउन कहिले नसकिने।

प्रकाशित मिति : प्रकाशन मिति : बिहीबार, 13 फागुन, 2072

लेखकका अन्य रचनाहरु