"चेरी" को स्पर्श : एक चिरफार

- हिम लाल श्रेष्ठ

आफ्नो मुटुभरिको माया गाउँ पाखाको नाउँमा भन्दै वर्त गन्धर्ब गाउँछिन् -
"गुराँस फुल्यो पहाडी लेकैमा
सयपत्री फुल्यो पहाडी गाउँमा
कोयली गाउँछे पारी बनैमा "
र घर आँगनको न्यानो मायामा रम्न सिकाउंछीन् |
फुल फुलेको मौसम, उज्यालो धर्तिको सङ्गम | जब हरियो बन पाखामा फूल फुल्दछ र त्यो फूलमा भ्रमरा डुल्दछ अनि लाग्छ कल्पनाको स्वर्ग त्यहि हो | शरद मासमा जब तरेली परेका पहाडी गह्रा-गह्रामा सपाट तोरी फुलेर पहेंलपुर बन्दछ, अनि लाग्दछ स्वर्गको एक टुक्रा त्यही हो | पहाडी ग्रामीण परिवेशको बंगाली घर छ, घरको आगनबाट शुरु भएर तल खोंचभित्र आँखाले देखेसम्म तोरी फुलेको छ | गह्राहरु पहेंलै छन् | ठाउँ ठाउमा चिलाउनेका बुटाहरु ठिङ्ग उभिएका छन् - शाएद ऊ पहरा दिइरहेछ ताकी मौरीहरुले बाहेक अरु कसैले नचोरुन्, तोरीका फूलहरु र मह बनाउने रसहरु |
त्यो मन मोहकता अनि मादकता कसरी भुलुं ? त्यहि तोरीका फाँटहरुबाट माहुरीहरु मह चोरी लान्छन् | ती फूलहरु र बन पाखामा गुन्जने 'कोइली' का मधुर आवाजहरुले मोहनी लगाई रहन्छ | गाउँ र गाउले परिवेशको सम्झना जगाई रहन्छ |
परदेश हिंडेका 'हिउँ - कान्छा' हरु पनि बिदेशमा फुलेका बहुरंगी फूलहरुको जवानीमा आफ्नो गाउँ सम्झन्छन् | त्यस्तै त्यस्तै गरी गाउँ परिवेशलाई आत्मसात गर्न पुगेका छन् - गजलकार ऋषि बस्ताकोटिले आफ्नो गजलहरुको एल्बम "स्पर्श" मा र उनले एल्बममा उनेका छन्, उनको अन्तस्करणमा फुलेका पाँच फूलहरु र लयबद्ध छ – धेरै संगीतकारहरु अनि गायक – गायिकाहरुको सुमधुर स्वरमा | त्यो उही नेपाली परिवेशको मिठासमा |
"चेरी फुल्दा परदेशमा, गाउँ सम्झियौकी,
नासपाती र आरु फुल्ने, ठाउं सम्झियौकी |" (स्पर्श गजल संग्रहबाट)
हिजोको दिन थियो - सयपत्री फुलेको बखत दाजुभाई र दिदीबहिनीहरुसंगै हुन नसक्नुको पिडामा गजल फुर्दथ्यो, गीत गुन्जन्थ्यो तर साथी आज समय फेरिएको छ | हिजो पनि राती नै थियो र पनि घाम झुल्कने आसामा मानिसहरु लागि परेका थिए | आज फेरि रात परेको छ - मनहरुमा पलाँस फुलेको छ | तोरी फुल्ने सपनाहरुमा आज सिरु फुलेको छ र त्यहाँ काँश फुलेको छ | हिजोको जीजिबिशालाई हामीले आज 'अरबको तातो' हावामा अनि इराकको मृत्युका 'कुवाहरु'मा लघेरेका छौं | 'धर्ती फेर्छु भन्थे, जुनै टिप्छु भन्थे' बिचराहरु आज कृष्ण सेनको देशप्रेमलाई छाती भित्रै थाती राखेर रगत पसिना र परिबेशले चुट्नु चुटिएपछि 'कटमेरो मन' लिएर अरब पसेको छ | ति अरब पस्ने 'काम-रेड' हरुले देश कति सम्झंदा हुन् ? ती मेहनतकस युवाहरुले आफ्नो घरबारी, करेशाबारी र पखेराबारी कति सम्झंदा हुन्? भन्ने अनुमान मात्र गर्न गाह्रो हुन्छ |
पुल्ठो हातमा लिएर धर्ती उजिल्याउन हिंडेकाहरु अहिले परदेशमा पसिना बगाई रहेछन् र मनमा थाहा छ - मरुभूमिमा हरियाली ल्याउने हातहरुले खनी खोस्री गरे त्यो पखेरा अबश्य स्वर्गको एक टुक्रा बन्ने थियो | हिजोको दिन थियो -
"पैयुँ फुल्दा त्यो लेक लेक, बेशीमा बुकी फुल्दै छ,
सयपत्री फुल्यो तिहारको बेला, भाइ मेरो कहाँ डुल्दै छ ?" (रक्तिम परिवार)

भनी हिंड्ने जिबन शर्मा, चुन्नु गुरुङ अनि खुशीराम पाख्रिनहरुले गरेको होस्टे माथि हैंसे थप्दै गजल भन्नु माया प्रेमका सस्ता आलाप मात्र होइन, गजलभित्र देश दुनियाँ बदल्न सक्ने राप पनि हुन्छ भन्दै आर. बि. फ्लेमको नाममा गजल संग्रह 'ज्वालाका रापहरु' पस्किएका थिए गजलकार ऋषि बस्ताकोटिले बिक्रमाब्द २०५५ को सेरोफेरो | त्यो गजल संग्रह भित्र धेरै गजलहरु माया - प्रेमका होइनन् देशप्रेमका थिए | उरन्ठेउलो समय कटाउने शब्दहरु होइनन्, सुझबुझले देश फेर्नु पर्छ, गाउँ फेर्नु पर्छ, समाज र गरीब निमुखासंग माया गाँस्नु पर्छ भन्ने भाबना मुखरित थिए- उनको त्यो गजल संग्रहमा |
"नालापानी त बिर्स्यौं अब, कालापानी दुख्छ,
कोरिया र अरव गर्दै यो जवानी दुख्छ /" (ज्वालाका रापहरुबाट )
अहिले बस्ताकोटीज्यु परदेशमा बसेर, भोगेर परदेशमै फुलेको "चेरी" फूलहरुको आलोकमा स्वदेशको 'नासपाती र आरु' का फूलहरु सम्झंदै छन् | त्यो सम्झना उनको मात्र सम्झना होइन | त्यो सम्झना परदेशको झिलिमिलीमा रमाउन हिंडेका महत्वाकांक्षी युबाहरुको पनि सम्झना हो | बाँकि उहाँका अरु गजलहरुले मानवीय संवेदनाका तरंगहरुलाई समातेर सकारत्मक गोरेटो तर्फ लैजाने प्रयाश गरेको महशुश हुन्छ |
भूकम्पले आक्रान्त बनेको गाउँघर छाडेर फोस्रो आशमा भत्किएको भित्तामा आड लागेर बसेका बुढा बा - आमालाई बिर्सेर अनि झरीको समयमा ओत लाग्ने ठाउँ नभएर हलाक बनेकी अर्धन्गीनिलाई छाडेर अरब, मलेसियाको तातोमा जिउ डढाउन परदेश हिड्नु परेका युवा जमातलाई हेरेर आंकलन गर्न सकिन्छ - देशमा कस्तो नेतृत्व चाहिएको छ | त्यसले भन्छ - नेपालमा कस्तो संबिधान चाहिएको छ | रक्सौल र गड्डाचौकीमा खोलाको पानी सरी मध्ये पहाड र पश्चिम पहाडहरुबाट जवानी ओरालो लागे जस्तै गौचरनले नेपाली जवान पाखुरालाई खाडीको तातो अग्निमा होमेर फर्कन्छ | त्यो हेर्ने राजनीतिकर्मीले अरु कति सोच्नु पर्ला र? नेपाल र नेपाली भई विश्व बजारमा इज्जतिलो जीबन जिउन कस्तो निर्णयमा ल्याप्चे लगाउने ?

काठमाडौँ |

प्रकाशित मिति : प्रकाशन मिति : शुक्रबार, 22 माघ, 2072

लेखकका अन्य रचनाहरु