नियात्रामा डायस्पोरिक नोस्टाल्जीया

- दीपक सुवेदी

परभूमिमा रहेका स्रष्टाका सिर्जना भिन्न सांस्कृतिक पृष्ठभूमि र भाषाबाट भए पनि तिनीहरुले विरानो भूमिमा बलियो देखिनका लागि एकताको सूत्र खोजी गरिहेका हुन्छन् र त्यसै मार्फत आफ्नो चिनारी पनि दिइरहेका हुन्छन् । यो जीवन यात्रामा एकताको सूत्र पनि हो । सङ्गम गृह प्रकाशन, कोलोराडो, अमेरिका जसले घामले छोडेर गएको साँझजस्तै भएर इजरायलमा कार्यरत नेपाली संवेदना, आत्मा र आवाज भएकी सरु सुवेदीको जीवन बाँचेकै छ नियात्रा संग्रह प्रकाशन गरेको छ ।
मोन्टेनले झैँ नियात्रालाई सहज र सरल ढङ्गले पाठक समक्ष सम्प्रेषण गर्न प्रयत्नरत सरु आफ्नो तर्क र बौद्धिकता, आदेश र आग्रह कसैमाथि नथोपरिकन नियात्राहरुमा प्रस्तुत भएकी छन् । जति खुल्ला हुन आकासले सक्छ, त्यति नै लेखनमा खुल्ला हुने प्रयत्न गर्ने सरुले सृष्टि रचनाको स्थापित मान्यता, हिन्दु चेतना र चिन्तन पद्धतिलाई स्वीकार गरेर भावनाको तलाउमा तर्कहरु प्रस्तुत गरेकी छन् । केही पुरातन र केही समसामयिक विषय समेटिएका नियात्रामा थोरै शब्दमा भावको सघनता होस्, उचित शब्द संयोजनद्वारा प्रस्तुतिकला देखियोस्, प्रेमका स्वरले अक्षरहरूको आलिङ्गन गरून्, शान्तिले शब्द चेतना पाओस् र साहित्य सिर्जनाद्वारा घृणाका कलुषित भावनाहरू हराउन् भन्छिन्, नियात्राभरि सरु ।
वास्तवमा निर्माणको, सिर्जनाको र विकासको कार्यमा सधै चिन्तनशील रहने सरु नवीनता र प्रयोगको चमत्कारले आकर्षित पनि भएकी छैनन्् । त्यसैले त सिमाना छोडेर आफ्नी आमा आफैँसँग हृदयमा बोकेर नहिँडेकालाई पराई आमाको छरितो र फुर्तिलो शरीर, सिप र ढङ्ग फलेको ज्ञान देखे पनि हृदयकी आमासँग प्रतिस्थापन हुन कहिल्यै नसक्ने रहेछ भन्छिन् सरु ।
जीवन बाँचेकै छ मा बाँच्ने सरुको यथार्थ भूमि मात्र नभई मानसिकता पनि विभाजित भएको छ । उनको दिमागमा परिचयको सङ्कट मडारिरहेको पाइन्छ किनभने इच्छित भूमिलाई उनले आत्मीय ठान्न सकिरहेकी छैनन् र पुख्यौली भूमि पनि उनले छोडिसकेकी छन् नियात्राहरुमा । यसबाट सरुलाई बेलाबेला मातृद्रोहको गल्तीबोध पनि भएको छ र अर्कातिर स्थापित हुन चाहेको भूमिमै सङ्घर्ष गर्न सकेकोमा आत्म सन्तुष्टी पनि मिलेको छ ।
जीवन बाँचेकै छ नियात्रा संग्रह अतितको यात्रा पनि हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलबाट आफ्नो जन्मभूमि छोडेको क्षणदेखि नै सरुले चढ्नु परेका पहाडहरु र उक्लनु परेका कान्लाहरु सम्झिएकी छिन् । यहाँ झर्नु परेका बेसीहरु देखि लिएर ठेस लागेका ढिस्काहरु र नाघ्नु परेका देउरालीहरु पनि सरुका अतितमा रहेकाछन् । पसिना चुहिएका रापहरु देखि थकान मेटाउने चौताराहरु सम्मलाई सम्झिएकी छिन् ।......तहतह पारेर बनाइएका ती विशाल पर्खालले ठ्याक्कै गोर्खा दरबार को सम्झना गरायो । एकातिर राजा पृथ्वीनारायणको दरबार अर्कातिर राजा डेभिडको दरबार.......यसमा अनुस्मरणको प्रबलता छ । उनी आफ्नो थलो, भाषा, संस्कृति, समाज, परिवार आदि सबैलाई बारम्बार सम्झिरहन्छिन् । आफू शारीरिक रुपमा इजरायलमा भएर पनि उनको मन अतितमा र नेपालमा रहिरहेको छ ।
सामुहिक डेरामा केही समय शीर्षकमा लेखेकी छन् सरुले–‘काम गर्दै जाँदा कहिलेकाहीँ घर–परिवार, आफ्नो भूमिको खपी नसक्नु याद आउँछ । बेकारमा आफ्नो ठाउँ छोडेर आएको अफसोस हुन्छ । गर्न हुने नहुने काम कुरामा ठ्याक्कै मेलोमेसो गुमाए जस्तो । गरौँ कि नगरौँको द्विविधामा बाँचेको जिन्दगी ।’
नियात्राभरि इच्छित भूमिमा रहेका अल्पसङ्ख्यकमा नै पर्छिन् सरु पनि । सामाजिक स्वीकृति र मिलापको वातावरण सोचेजस्तो छैन । यसबाट आफू र आफू जस्तै अन्यलाई देशले लत्याएको वा हेपेको पिडा धेरै समयसम्म सरुमा रहिरहेको छ । सहयोगी मित्र नपाइनु, भेटेकाले पनि छोडेर हिँड्नु, आफूलाई अपरिचित ठान्नु र जताततै असुरक्षाको भावनाहरु जीवन बाँचेकै छ का नियात्राभरि रहेका छन् ।
भर्दियाका दुई बूढी र मेरो अन्र्तमन, बृद्ध मान्छे र हाइफाइको हाट, जेरुसेलमका घाम र बुद्धका आँखा, मरुभूमिमा मेरा पाइला, ओफ्का र मार्गलित जस्ता नियात्राहरुले भने पाठकलाई इजरायल र विश्व युद्धको सबैभन्दा अमानवीय विडम्बनाका गहिरा चोट च¥याउने खत नजिक पु¥याइदिन्छन् । उड्दा उड्दै, विमान घरे ट्याक्सी ड्राइभर र घरसम्मको यात्रा, मातृभूमिलाई मुटुको कोसेली र दोहा दोभानमा एक रात जस्ता नियात्राले सरुको हृदयको अत्यन्तै नजिकको कुनामा लगेर पाठकलाई दुखाइदिन्छन् ।
सुस्तसुस्त हाँसिरहेका अनुहारहरुमा, गफिएका आवाजसँगै तिनका मनभित्र थुप्रै बाध्यताका भुँवरी चलेको देख्छिन् । भन्छिन् सरु, के काठमाण्डौँ, के झापा । के पाल्पा त के डँडेल्धुरा । के जनकपुर सार ठाउँका तिरस्कृत र विचलित मनहरु इजरायलमा छन् । खलङ्गा र खोटाङका घाउ बोकेर इजरायल जानेहरु, संखुवासभा र दार्चुलाका भिर हिँड्नेदेखि लिएर गौरीगन्ज र गैँडाकोटसम्मका पीडाहरु इजरायलमा देखिन्छन् । कतै जातीय उत्पीडन त, कतै राजनैतिक धम्की । कतै सामाजिक उपेक्षा त कतै पारिवारिक दबाउका भेलले ठेलेर इजरायल पुगेका पद चापहरु भेटिन्छन् ।
आजको उत्तरआधुनिक युगमा संस्कृति विलय दिन प्रतिदिन बढ्दो छ । आजका मानिसहरु सांस्कृतिक द्वैधताले ग्रसित छन् । संग्रहका नियात्राभरि सरु पनि विश्वव्यापी संस्कृतिबाट उतिकै प्रभावित छिन् र आफ्नो संस्कृतिलाई बचाउन पनि उतिकै लागेकी छन् । जीवन बाँचेकै छ मा यही द्वैध सांस्कृतिक चेतनाद्वारा ग्रसित सरुको मानसिकताको चित्रण पनि पाइन्छ ।
यस संग्रहभित्र आएका सरु लगायत अन्य पात्रहरु मानसिक रुपले निर्वासित छन् । सबै कुरा माया मारेर विशाल सागरमा हामफालेका छन् । एक प्रकारको कारागारमा यातनाको उत्पीडनभन्दा टाढा तर अर्को उत्पीडनले घेरिएर रहेजस्तो । उनीहरुमा नयाँ ठाउँमा जीवनका नयाँ सुख र संवृद्धि पाउने आशाहरु छन् । धेरै आशा र सपनाहरु पुरा भए तर पनि उनीहरु पूर्णतः सन्तुष्ट छैनन् । उनीहरु सधैँ अनिर्णयमा र अनिश्चियमा रुमलिइरहेका छन् । उनीहरुमा आफ्नो घरबार विहीनताले छोपिरहेको छ । एक प्रकारको नियास्रोपन र बिरानोपनाले गहिरो गरी सताइरहेको पाइन्छ ।
धेरै बाध्यताले, अलिकति रहरले केही सपनाले अनिता, गरिमा र सरु अनि आफूभन्दा पन्ध्र वर्ष जेठो श्रीमानसँगको व्यवहारमा भित्रभित्रै पिल्सिएकी तुलसा, रक्स्याहा लोग्नेको पिटाइको पीडाबाट विरक्तिएकी र छात्रबासमा रहेका चार वर्षे छोरो र सात वर्षे छोरीलाई सम्झिरहने सविना, उनीहरुको भविष्य रंगाउने सपना इजरायलमा देखिरहेका छन् । उनीहरुले मूल थलोे, भौगोलिक, ऐतिहासिक र सांस्कृतिक सम्बन्धलाई छोड्दै पनि गएका छन् । उनीहरुले एक्लो महसुस गरिरहेका छन् ।
अर्नेस्टले भनेजस्तै नियात्राको लेखाइ, बातचित र व्यवहार गराइका बीचमा सुहाउने हुनुपर्छ । नियात्राका अन्य गुणहरूमध्ये मनोरञ्जनात्मकता, सुपाठ्यता र संक्षिप्तताको साथै आनन्दमयी गुणहरू पनि पर्दछन् । जीवन बाँचेकै छ मा पनि छन् । परदेशिएका मनहरू राजनीतिको झन्डा बोक्दैनन्, जिन्दावाद–मुर्दावाद गर्दैनन् । शान्त सरोवरका लहरहरूजस्तै अनाहतरूपमा प्रकट हुने स्वतन्त्र विचार वेग नै उनीहरूको राजनीतिक चेतना हो । स्रष्टाको स्वाभिमान, शक्ति र भक्ति कलमबाहेक अरु केही हुन सक्दैन । तर कतै कतै सरुको स्वतन्त्र चेतना र ती चेतनाहरूका तरङ्गित लहरहरू थाहा नपाएरै अप्ठ्यारामा परेका पनि छन् । एक सय दुई पेजमा अटाउनै पर्छ भन्ने उद्देश्यले खाँदिएका हरफहरु र सरुसँग यहुदी विश्वास लिएर सिनागल पुग्दा र हिब्रु बोल्दा पाठकहरु काहीँ काहीँ अल्मलिन पुग्छन् ।
जीवन बाँचेकै छ नियात्रा सङ्ग्रहमा संस्मरणत्मक र आख्यानात्मक गरी १७ वटा नियात्रा समावेश छन् । एक बसाइमा पढ्न सकिने सरुका नियात्राहरू रमरम र बौद्धिकतामा कुतकुतिपूर्ण र चिन्तनपरक भएर आएका छन् । चराहरूको मोहक कलरब, श्वेत हिमालको ओजस्वी दृश्य र समुद्रका शान्त छालहरूसँग ठोकिएर अनुपम सौन्दर्य उत्पन्न गर्ने बान्की सरुको नियात्रा लेखनमा देखिन्छ । परिमाणात्मकता भन्दा गुणात्मकता, विचारात्मकता भन्दा पनि भावनात्मकतामा उर्वर मस्तिष्कद्वारा सघन रूपले कलात्मक बनेको जीवन बाँचेकै छ नियात्रा संग्रह मार्फत बुद्धिवादी नियात्राकारका रूपमा सरु सुवेदी देखापरेकी छन् ।
गौरादह, झापा

प्रकाशित मिति : प्रकाशन मिति : शुक्रबार, 15 माघ, 2072

लेखकका अन्य रचनाहरु