साहित्यकार असफल गौतमको हाइकु: आलेख र अभिलेख हेर्दाका कुरा

- सूर्य खड्का बिखर्ची

पोखरेली साहित्यकारहरूको नाम लिनुपर्दा असफल गौतमको नाम नलिएमा अन्याय हुन जान्छ। असफल गौतम २०४२ साल वैशाख १ गतेका दिन पिता नीलबहादुर र माता दानमायाको कोखबाट यस धर्तीमा पदार्पण गरेका हुन्। उनको जन्म स्याङ्जाको ठूलाडिही भन्ने गाउँमा भएको हो। जन्मथलो स्याङ्जा भए तापनि उनले पोखरालाई कर्मथलो बनाएका छन्। खासगरी आख्यान विधामा बढी कलम चलाउन रुचाउने असफलका सत्तलमा सिर्जना (गजलसङ्ग्रह–२०७१), हाइकु ः आलेख र अभिलेख (इतिहास–२०७०), नेपालका भाट जातिको अध्ययन (इतिहास–२०६९), दुर्गाबहादुर शाह बाबा ः व्यक्तित्व र कृतित्व (समालोचना–२०६९), बिस्कुन (समालोचना–२०६८), सिलोक बन्दै छन् (मुक्तकसङ्ग्रह–२०६७), समसामयिक तीजे गीतसङ्ग्रह (गीतसङ्ग्रह–२०६७), सङ्घर्षका पाइलाहरू (सामाजिक उपन्यास–२०६६), पीपलपाते ओठ (लोकदोहोरी एल्बम–२०६१), चट्टै कम्मरमा (लोकदोहोरी एल्बम–२०६०) गरी विभिन्न कृतिहरू प्रकाशित छन्।

जानेका कुरा सबैले लेख्छन्, नजानेका कुरा पो लेख्नुपर्छ भन्ठानेर आज म साहित्यकार असफलद्वारा २०७० सालमा सम्पादित ‘हाइकु ः आलेख र अभिलेख’ सङ्ग्रहका विषयमा कनिकुथी केही लेख्न तम्सिएको छु। नेपाली साहित्यमा हाइकुले २०१९ सालमा प्रवेश गरेको हो। यसलाई नेपाली साहित्यमा भिœयाउने प्रसिद्ध निबन्धकार शङ्कर लामिछाने हुन्। नेपाली झ्याउरेको संरचना एक पङ्क्तिको ३+२, ३+२, र ३+३ गरी सोह्र अक्षर भए झैँ हाइकुको संरचना ५+७+५ गरी सत्र अक्षरको हुन्छ। हुन त कतिपय समालोचकले कविताको सानो टुक्रा र हाइकुलाई मुक्तककै कोटीमा राखेको पाइन्छ। तर सैद्धान्तिक रूपमा यसलाई स्वीकार्न सकिँदैन। जसरी उस्तै–उस्तै देखिँदैमा दर्शन ढुङ्गा र फिटकिरीलाई एउटै हुन् भन्न सकिँदैन। त्यसरी नै हाइकु र मुक्तकलाई पनि एउटै भन्न सकिँदैन। हाइकुको बाह्य संरचना भनेको यसका त्रिपदीय हरफमध्ये पहिलोमा ५ अक्षर दोस्रोमा ७ अक्षर र तेस्रोमा ५ गरी (५+७+५) १७ अक्षरीय बाह्य संरचना हुन्छ। यही शब्द संयोजनमा रचना गरिएको छोटो कवितालाई हाइकु भनिन्छ। त्यसैले यसलाई जापानी शैलीको छोटो कविता पनि भनिन्छ। तर छोटो कविता भन्दैमा हाइकु लेख्न त्यति सजिलो छैन। किन भने छोटो लेख्दैमा सबै हाइकु बन्दैन। पाँच, सात र पाँच अक्षर मिलाउँदैमा पनि हाइकु बन्दैन। यसमा प्रकृति, मौसम र जीवनको तारतम्यलाई समेट्नुपर्छ। यसरी हाइकुमा १७ अक्षर हुनुपर्ने र प्रत्येक हाइकुमा मौसम सम्बन्धी एउटा शब्द हुनुपर्ने देखिन्छ। मेरो विचारमा सामान्य कुराको उठानसहित चुरो कुरोलाई व्याख्या गरी निष्कर्षमा जुरोलाई कसिलो गरेर बाँध्न सकेमा नै सुन्दर हाइकु बन्न सक्दछ। साच्चै भन्नु पर्दा गागरमा सागर भने झैँ हाइकुमा थोरै शब्दबाट धेरै कुरा भन्न सकिन्छ। त्यसैले आधुनिक नेपाली साहित्यमा हाइकु आँखाको नानी र झरनाको पानी झैँ सुन्दर एवम् मीठो रूपमा देखा परेको छ। यो छोटो र सानो हुन्छ, तर यसको अभिव्यक्ति तीखो र चोटिलो हुन्छ।

अझ यसलाई बिस्तारमा भन्दा सुन्दर हाइकु लेख्न कल्पनाको सागरमा डुबुल्की मार्नुपर्छ र शब्द कोशका पानापानामा रफ्फु चक्कर लगाउनै पर्छ। वाक्यलाई भाँच्दैमा र कुनै उखान टुक्कालाई टुक्रयाउँदैमा हाइकु बन्दैन। जस्तो हलो काटी मुङ्ग्रो र धोती च्याती झुम्रो भनेर लेख्दैमा हाइकु हुँदैन, यसका लागि हाइकुका नियम भित्र रहेर गहिरो अध्ययन र अभ्यास गर्नुपर्दछ।

यस कृतिमा नेपाल, नेपाली र हिन्दी भाषा गरी ३३५ जना प्रतिनिधि हाइकु कविका हाइकु, नेपाल भाषा र नेपाली भाषाका दश जना विद्वान्का आलेखका साथै स्वयम् साहित्यकार असफल गौतमद्वारा लेखिएको ३८ पृष्ठ लामो समीक्षा समाविष्ट छ। यस्तै अन्तिम पृष्ठमा साहित्यकार चेतनाथ धमलाको अन्तर्वार्तासमेत कृतिमा समावेश गरिएको छ। हुन त भन्न जति सजिलो छ, काम गर्न त्यति नै गाह्रो हुन्छ। यस्तो गाह्रो कामलाई अङ्गालेर मिहिनेतका साथ देश भित्र र बाहिरका त्यति धेरै सर्जकका हाइकुलाई सङ्घर्षमा कलम साहित्य समाज पोखरामार्फत हाइकु लेखनको स्वर्ण वर्ष २०७० को अवसर पारी केहीँ सिर्जना र समालोचनासहितको प्रस्तुत ‘हाइकु ः आलेख र अभिलेख’ नामक जुन अमूल्य सङ्ग्रह पोखराका सक्रिय साहित्यकार असफल गौतमले प्रकाशित गरेका छन्। यसका लागि उनलाई सादुवाद दिनै पर्छ। उनको प्रयास ज्यादै सराह्नीय छ। उनले गरेको यस कार्यलाई जति प्रशंसा गरे पनि कमी नै हुन्छ।

यस सङ्ग्रह भित्रका ३३५ जना सर्जकका हाइकुमध्ये प्रायः सबै पठनिय नै छन्। नेपालमा जनसङ्ख्या भन्दा कविको सङ्ख्या बढी छ भनेर व्यङ्ग्य गरिएको वर्तमान अवस्थामा ५० वर्ष भन्दा बढीको समयमा केही छुटपुट हाइकु कविको नाम बाहेक उपर्युक्त हाइकु सर्जकले यति सुन्दर हाइकु लेखिनु उल्लेखेनीय नै मान्नुपर्छ। यहाँ सबै हाइकु कविका सुन्दर हाइकुलाई चित्रण गरूँ भने ठेली नै बन्न सक्दछ। तसर्थ यहाँ मलाई उत्कृष्ट लागेका केही हाइकु कविताको उदाहरण प्रस्तुत गर्न मन लागेको छः–

क) न्यानो भएन

हिमपातको रात

तिमी नहुँदा। (पृ. २४) गोवद्र्धन पूजा

ख) घाँस लानु हुन्छ

सिंह दरबारमा

गोरु भोकाए। (पृ. २९) जुनतारा भण्डारी

ग) उस्तै पुरानो

खोल फेरिएको छ

मेरो सिरक (पृ. ४०) नारायण मरासिनी।

घ) आफ्नै बागमा

फूल बेली चमेली

दृष्टि अरुमा (पृ.६८) शान्ति नारायण श्रेष्ठ।

ङ) जुन हेरेर

अघाइन रातमा

अनिदै बसेँ (पृ.७२) सरस्वती श्रेष्ठ सरु।

यसरी यस सङ्ग्रह भित्र माया पिरतिका, राजनीतिका साथै सामाजिक विकृति र विसङ्गतिका विषयमा लेखिएका उत्कृष्ट हाइकु समावेश गरिएका छन्। प्रायः जसो स्रष्टाका हाइकु सरल, सरस र सहज भाषामा लेखिएका छन्। त्यसैले साहित्यकार असफलद्वारा सम्पादित प्रस्तुत ‘हाइकु ः आलेख र अभिलेख’ सङ्ग्रह हाइकुप्रेमीहरूका लागि ज्यादै उपयोगी छ। यसमा कसैको दुई मत हुन सक्दैन। मलाई विश्वास छ, साहित्यकार असफल गौतमद्वारा भविष्यमा यस्तै उपयोगी साहित्यिक खुराक पाठकलाई पस्कने छन् र उनको कलम निरन्तर अगाडि बढीरहने छ। यही शुभकामनाका साथ कलमलाई यहीँ विश्राम दिन चाहन्छु।

प्रकाशित मिति : प्रकाशन मिति : वुधबार, 6 माघ, 2072

लेखकका अन्य रचनाहरु