सुन्दरी प्रतियोगिता

- कृष्ण बजगाईं

यसपटक आयोजकहरु तीन छक्क परे । पूर्व सुन्दरी प्रतियोगिताका सुन्दरी एवम् सहभागीहरु नै यसपटकको सुन्दरी प्रतियोगिताको विरोधमा उत्रेको देखेर ।

कार्यक्रमस्थल अगाडि उत्तेजक पोशाकमा सजिएका ती सुन्दरीहरुले नारीलाई नङ्याउन पाईदैन ! नारी शरीरको व्यापार बन्द गर! आदि लेखिएको प्लेकार्ड बोकेर नारा लगाईरहेका थिए ।

केही समयमै सुन्दरी प्रतियोगिताको जन्मजात विरोधी समूह नारा लगाउँदै कार्यक्रमस्थल अगाडि आई पुग्यो । वर्षौदेखि आफूले विरोध गर्ने स्थान र नारा अर्को समूहले लिएको देख्दा आक्रोशित भए । उनीहरुले आफ्नो समूहमाथि षड्यन्त्र गर्दै सौता हालिएको ठहर गरे । सुन्दरी प्रतियोगिताको विरोध गर्नु आफ्नै मात्र अधिकार हो भन्ठान्दथे तिनीहरु । त्यसरी नै सुन्दरी प्रतियोगिता आयोजना गरेर पैसा कमाउनु आयोजकले आफ्नो मात्र अघोषित ठेक्का ठान्दथे ।

अब दुई परस्पर विरोधी समूहबीच भना-भन बढेर चुल्ठो ताना-तानासम्मको स्थिति आउन लाग्यो । तर त्यस्तो अनिष्टबाट बाल-बाल बचे । दुवैको एउटै उद्येश्य विरोध मात्रै गर्नुरहेको बुझेपछि एकैछिनमा विवाद साम्य भयो । अनि दुवै समूह मिलेर कार्यक्रमस्थल बाहिर विरोध प्रदर्शन जारी राखॆ ।

भित्र भवनमा निर्वाधरुपमा कृत्रिम सुन्दरी प्रतियोगिता भैरहेको थियो । अझ बढी सुन्दर देखिन कृत्रिम अंग प्रत्यारोपण गरेका कृत्रिम सुन्दरीहरुका लागि मात्र आयोजना गरिएको थियो उक्त प्रतियोगिता । कार्यक्रमस्थल बाहिर प्रतियोगिता विरोधी समूहको भीड चर्को नारा लगाउँदै उत्तेजित हुँदै थियो । भवनभित्र भने सुन्दरीहरुले नितम्व वक्षआदि आफ्ना कृत्रिम अंगहरु प्रदर्शन गर्दा दर्शकहरु उत्तेजित हुँदैथिए ।

प्रकाशित मिति : प्रकाशन मिति : बिहीबार, 17 आश्वीन, 2064

लेखकका अन्य रचनाहरु