जयन्तकृष्ण शर्मा र उनका कविता कृति

- दैवकी देवी

असमेली नेपाली कवितामा स्वाधीनता र पहिचानको खोजी गर्दै कविता लेख्ने कविहरूमा जयन्तकृष्ण शर्मा महइभ्वपूर्ण देखिन्छन् । यहाँ शर्माको काव्यगत प्रवृत्ति निरूपण गर्दै उनको प्रतिनिधि कवितालाई विश्लेषण गरिएको छ ।
काव्य यात्रा र प्रवृत्ति
असमेली नेपाली कविताको स्वाधीनता उत्तर कालको तेस्रो उपचरणमा राम्रा कविता लेख्ने कविका रूपमा जयन्तकृष्ण शर्मा (१९७४) देखा पर्छन् । १९८३ को दशकदेखि काव्य यात्रा प्रारम्भ गरेका शर्माको कविता यात्रा ‘गरीबको दुःख’ (अरणी, गहपुर, १९८३) शीर्षकको कविताबाट भएको हो । उनको प्रथम कविता सङ्ग्रह २००१ मा प्रकाशित भएको देखिन्छ । उनको प्रथम कविता सङ्ग्रह प्रकाश भएको बाह्र वर्षपछि उनको दोस्रो कविता सङ्ग्रह प्रकाशित भएको पाइन्छ । सृजनभन्दा बढी अनुवाद कार्यमा संलग्न रहने शर्माले असमिया भाषाका विविध कृति नेपालीमा अनुवाद गर्नुका साथै भारतीय अन्यान्य भाषामा पनि उनको राम्रो दखल रहेको कुरा प्रकाशमा आएको देखिन्छ । यसका साथै नेपाली लगायत असमिया भाषामा पनि यिनको एउटा कविता सङ्ग्रह प्रकाशित छ । मूलतः नेपाली कविता विधामा योगदान पु¥याउने जयन्त कृष्ण शर्माका हालसम्म प्रकाशित कविता कृतिहरू यस प्रकार छन् ः
(१) सदनको मझेरीमा माटाको बास्ना (२००१)
(२) संसदमा आ“सु बोल्छ (२०१२)
जयन्तकृष्ण शर्माको तीन दशकको कविता यात्रा देखिन्छ । यस अवधिमा उनले असमिया र अङ्ग्रेजी भाषामा समेत कलम चलाएका छन् । उनको यस कविता यात्रालाई हेर्नु हो भने प्रवृत्तिगत दृष्टिले त्यति भिन्नता नदेखिए पनि केही कविताहरूमा नवीनता दिने कोसिस गरिएको पाइन्छ । उनका कविता यात्रालाई निम्नलिखित चरणमा विभाजन गर्न सकिन्छ ः
(१) पूर्वाद्र्ध (१९८३–२००१)
(२) उत्तराद्र्ध (२००२–२०१२)
मानवीय अनुभूतिलाई नै सर्वोपरि ठान्ने कविको केन्द्रीय विशेषता भनेको नै मानवतावादी बोध हो । क्षेत्रीका अनुसार “शोषित पीडित, लाञ्छित, संत्रस्त, भोका नाङ्गा जनताप्रति प्रेम र सहानुभूति रहेका छन् । कवि मानवतावादको यानमा चढेर उन्मुक्त चरो भएर धेरै माथिसम्म उडेका छन् । मानव–मानवमा प्रभेद हुँदैन कुनै सीमा रेखाले उनलाई छेक्दैन ... कविको मानवतावादी भावना कतिसम्म छ भने भगवानको अन्वेषण पनि उनी मानव हृदयको कण कणमा गर्न खोज्दछन्” (क्षत्री, २००१ ः ९३) । उनका कविता यात्रालाई हेर्दा प्रारम्भिक कविता र वर्तमान कवितामा केही प्रवृत्तिगत भिन्नता देखिन्छ । उनका प्रारम्भिक कविताहरूमा सामाजिक सुधार, प्रेम, भ्रातृत्व र जातीय विभेदको विरोध पाइन्छ । उनको प्रारम्भिक चरणको कविता सङ्ग्रहमा ईश्वरप्रतिको आस्था र विश्वास, मानवीय वेदना, मानवतावादी स्वर, ग्रामीण परिवेशको चित्रण, देशप्रेमूलक भावना, पर्यावरण, मानव अधिकार, प्रगतिशीलता, स्वतन्त्रता, विश्व बन्धुत्व, समानता आदि भाव पाइन्छ । उनका कवितामा देशप्रतिको कर्तव्य र माया तथा व्यक्तिवादी चिन्तनको विरोध गर्दै समानताको अभिव्यक्ति पनि पाइन्छ । अर्काको माया अर्काको पीडालाई सजिलै आत्मसात गर्नु कविको महानतम अनुभूति हो । पत्रात्मक शैलीको प्रयोग, शोषक र सामन्तीहरूको शोषक प्रवृत्तिको वर्णन, राष्ट्रिय भावना, निम्न
वर्गको अनुभूति आदि उनका प्रवृत्तिगत विशेषता हुन् । उनका दोस्रो चरणका कविताहरूमा त्यति प्रवृत्तिगत भिन्नता पाइँदैन । यस चरणमा पाइने मूलभूत विशेषताहरू हुन् जातपातरहित समाजको चित्रण, वात्सल्यपूर्ण प्रेमको चित्रण, जातिवाद र नातावादले मुछिएको समाजप्रति विरक्तिबोध, ग्रामीण जीवनप्रति आकर्षण, जातीय विभेदको विरोध, किनारीकृतहरूप्रति सहानुभूति, जातीय संस्कृतिप्रति सचेतता, पत्रात्मक शैलीको प्रयोग, उखान टुक्काको प्रयोग, मानवीय मूल्यहीनताको वर्णन, बढ्दो सहरीकरण, मानव मूल्यको उपेक्षा, शान्तिको कामना, जीवनको क्षण भङ्गुरता आदि विषयबाट पनि उनका कविता लेखिएका छन् । उनका कवितामा पाइने प्रवृत्तिगत विशेषतालाई समग्रमा यस प्रकार देखाइन्छ ः
(१) समाजका सीमान्तीकृतहरूका समस्या उठाई परित्याग, वर्ग र व्यक्तिका मर्मलाई समेटी मानवतावादी विचारको प्रस्तुतीकरण
(२) गरिबी, भोक र बलात्कार, अभाव, असमानता जस्ता समस्याहरूको प्रस्तुति
(३) पर्यावरणीय चेतना र ग्राम्य परिवेशको जीवनशैलीको चित्रणका साथै ईश्वरीय सत्ताप्रति प्रश्न
(४) मानव अधिकारप्रतिको सचेतता, स्वतन्त्रताको चाहना र व्यक्तिवादी तथा स्वार्थी प्रवृत्तिको विरोध
(५) वर्तमानका असान्त परिवेशको चित्रण, शान्तिप्रतिको आशावादी दृष्टिकोण र विश्वमानवतावादको अभिव्यक्ति
(६) प्रेम र भ्रातृत्वको कामनाका साथै जातीय विभेदको विरोध र बाल श्रमिकको विरोध
‘भगवानको अन्वीक्षणमा’ कविताको विश्लेषण
जयन्तकृष्ण शर्माले कविता सङ्ग्रह र फुटकर गरी हालसम्म दुई सयभन्दा बढी कविता लेखेको पाइन्छ । विषयवस्तुका सशक्तता, कलात्मकता र युगीन यथार्थता, मानवतावादी भावधारा, असमेली नेपाली कवितामा प्रतिनिधिमूलक उपस्थिति आदिका दृष्टिले उनका ‘भगवानका अन्वीक्षणमा’ शीर्षकको कवितालाई मुख्य प्रतिनिधि कविताका रूपमा मानिएको छ । यो प्रतिनिधि कवितालाई भाव वा विषयवस्तु, विचार वा उद्देश्य र भाषाशैलीका आधारमा क्रमशः तल विश्लेषण गरिन्छ ः
जयन्तकृष्ण शर्माको ‘भगवानको अन्वीक्षणमा’ मा लेखिएको र उनको यो कविता सदनको मझेरीमा माटोको बास्ना (२००१) शीर्षकको कविता सङ्ग्रहमा प्रकाशित भएको छ । उनको यो कविता एकतिस पङ्क्तिको आयाममा विस्तारित गद्य कविता हो । संरचनात्मक दृष्टिले यी कविता प्रगीतात्मक संरचनामा लेखिएको फुटकर कविता हो ।
(क) भाव विधान
प्रस्तुत कविता मानवतावादी विचार धारामा केन्द्रित रहेको छ । ईश्वरले सृष्टि गरेको चराचर जगतको पालनकर्ता र रक्षाकर्ता ईश्वर नै हुन् भन्ने जगतमा विश्वास छ । यस प्रकार ईश्वरले मानिसलाई सदैव सङ्कटदेखि बचाउँछन् भन्ने जुन लोकमा विश्वास छ त्यस विश्वासमा आघात पुगेपछि र ईश्वरले मानिसलाई बचाउन छोडेपछि मानिस सँगसँगै युद्धमा ईश्वर पनि मरि सकेछन् कि भन्ने ईश्वरको अस्तित्वप्रति शङ्का गरिएको भाव कवितामा यत्र तत्र देखिन्छ । प्रस्तुत कवितामा ईश्वरको त्यही अस्तित्व माथि उठेका शङ्काले ईश्वरको यत्र तत्र मृत्यु भएको भाव व्यक्त गरिएको छ । कविताको केन्द्रीय विषयवस्तु नै ईश्वर हो । प्रत्येक प्राणीको आत्मामा ईश्वरको बास हुन्छ । त्यसै गरी गरिबहरूको आत्मामा पनि ईश्वरकै निवास हुन्छ । तर ईश्वरले गरिबको बेदना बुझ्दैनन् भने त्यस ईश्वरको मृत्यु भयो भन्ने बुझ्नु पर्छ । यही भाव कवितामा सर्वोपरि आएको छ । प्रत्येक मानिसको हृदयमा भगवानप्रति आस्था र विश्वास भरिएको हुन्छ । कवितामा शर्माले प्रत्येक मानिसको हृदयमा ईश्वरको बास हुन्छ भन्ने कुरालाई स्पष्ट पार्दै प्रत्येक मानिसको मृत्युमा ईश्वरको पनि मृत्यु भएको भाव यहाँ देखिन्छ । शर्माले वर्णन गरेको भगवानले कुनै मन्दिर र मस्जिदमा पूmल थापेर बसेको हुँदैन । उनले प्रत्येक मानिसमा ईश्वर देखेका छन् । उनको प्रस्तुत कविता मानिसभित्र ईश्वरको बास हुन्छ भन्ने महाकवि देवकोटाको भनाइसँग निकट देखिन्छ । यहाँ भगवानलाई खोजेर कतै नपाएपछिको स्थितिको वर्णन पाइन्छ । कविले भगवानको खोज गर्ने क्रममा प्रत्येक तारामा, चन्द्रमा भन्दा अझ माथि रकेट उडाउँदै भगवानको खोज गरेका छन् तर भगवान कतै देखिँदैनन् । कविले सङ्कटकालीन परिस्थितिमा पनि भगवान नभेटेपछि उनको खुलेआम मृत्युको घोषणा गरेका छन् ।
हिजो सुने, भगवान बस्नियामा,
गोलीबिद्ध ! करङ्ग फुटेर निस्किरहेछ रगत !
पथरुघाट – नालापानीका साहसी भगवानलाई
मेरापानी–सुगौलीमा घाइते भगवानलाई
केकेरीकुसी – काविआङलङको सङ्कातिको उत्सवमै
हत्या गरेछन् कसैले निर्ममताले गोल्याएर (पृ. १२)
उक्त कवितांशमा कविले ईश्वरको अस्तित्व मानिसको मृत्यृ सँगसँगै सिद्धिएको देखाएका छन् । कवितामा भगवान बस्नियामा गोलीबिद्ध हुनु, नालापानीका साहसी भगवानलाई मेरापानी र सुगौलीमा घाइते बनाउनु र केकेरीकुसी कार्विआङलङको सङ्कातिको उत्सवमा निर्ममताले हत्या गरिनु जस्ता घटनाहरूले भारत नेपाल सीमान्तमा भएको ऐतिहासिक लडाइमा मर्ने वीर नेपाली पुरुषहरूलाई सङ्केत गरिएको छ । अभिधा अर्थमा भगवानलाई मरेको देखाइए पनि लक्षार्थमा ती मर्नेहरू वीर नेपाली पुरुष नै रहेका भाव व्यक्त भएको छ । साथै पथरुघाट र धेमाजीमा मर्नेहरू आत्मामा भगवान भएका मानिसहरू नै हुन् भन्ने सङ्केत पाइन्छ । कवितामा भगवानको कलेजो फुटेर रगत निस्किुन र मरेका भगवानलाई कफिनमा राख्ने कि पोल्ने यी दुई कुरामा अन्योलमा पर्नु, कफिनबाट भगवान फेरि उम्रिऊन भन्ने कामना गर्नु र पोलेका भगवानको खरानी आफ्नै देशमा परोस भन्ने चाहना राख्नु जस्ता साङ्केतिक कुराहरूले मानवप्रतिको आस्था नमेटिनु र मानवको पुनः जन्मको चाहना राख्नु जस्ता कुरालाई देखाएको भाव स्पष्ट हुन्छ ।
(ख) उद्देश्य
प्रस्तुत कविता मानवतावादी विचार धारामा लेखिएको छ । मान्छे केवल ईश्वरीय प्रतिरूप हो भन्ने यहाँ देखाइएको छ । ईश्वरले मानव कल्याण गरून्, मान्छेको हित गरून्, मान्छेको सुरक्षा गरून् भन्दै मानव कल्याणका निम्ति ईश्वरको आह्वान गरिएको छ । ईश्वर र मान्छेको मधुर सम्बन्ध देखाउनु नै कविताको मूल उद्देश्य रहेको छ । तर ईश्वरप्रति विश्वास र आस्था रहँदा रहँदै पनि ईश्वरले मान्छेलाई भइरहेको आतङ्कमय परिवेशबाट बचाउन नसक्दा कविले यहाँ ईश्वरको पनि मृत्यु भयो कि भन्ने शङ्का प्रकट गरेको पाइन्छ । यस प्रकार ईश्वरको अस्तित्वको खोज गर्नु कविताको दोस्रो उद्देश्य रहेको देखिन्छ । कवितामा ईश्वरप्रतिको विश्वास र आस्थालाई निम्न प्रकारले देखाइन्छ ः
केवल प्रार्थना गर्दछु
कफिनबाट भए पनि भगवान फेरि उम्रिउन
पोले पनि डडेको खरानी फेरि मेरै देशमा झरोस् (पृ. १२)
कविताको सर्वोपरि विषयवस्तु नै ईश्वर भएकाले उपर्युक्त कवितांश ईश्वरप्रति विश्वास राख्दै ईश्वरप्रतिको सकारात्मक दृष्टिकोण यसरी व्यक्त भएको पाइन्छ । कवितामा ईश्वरको खोज गर्ने उद्देश्य पनि रहेको देखिन्छ । ईश्वरको खोज गर्न तपस्या गरौं भन्दै रकेट उडाएर तारामा, चन्द्रमामा र आकाश मास्तिर खोज गरिएको छ । भगवानको वृहत् खोज गर्दा भगवानलाई रनेको ओछ्यानमा, मन्दिरमा, मस्जिदमा, गिर्जाघरमा अविच्छेद्य सम्बन्धलाई देखाउनु पनि कविताको मुख्य उद्देश्य रहेको पाइन्छ ।
(ग) भाषाशैली
यस कविताको भाषा अत्यन्तै सरल, सरस र सहज छ भने शैली वर्णनात्मक छ । सरल शैलीमा अर्थगत भिन्नता उनको वैशिष्ट्य हो । यस काव्यको मूल विषय ईश्वर भएकाले आदिदेखि अन्त्यसम्म ईश्वरको अस्तित्वको खोज गरिएको छ । ईश्वरको खोज गर्ने क्रममा यसमा रकेट, तारा, चन्द्रमा, आकाश, बादल, बँदिया ओच्छ्यान, मन्दिर, मस्जिद, गिर्जा, छाती, करङ, भूडि, रगत, कफिन आदि प्रकृतिका र मानवीय अवयवका विभिन्न बिम्बहरूको प्रयोग गरिएको छ । यहाँ प्रस्तुत यी बिम्बहरू जटिल र दुर्बोध्य नभई सरल र सुबोध्य छन् । यस प्रकारका बिम्बहरूको प्रयोगले कविता अर्थपूर्ण बनेको छ । कवितामा शर्माले सरल शब्दहरू प्रयोग गरे पनि भावलाई गहन बनाएर प्रस्तुत गर्न सफल भएका छन् । शर्माको प्रस्तुत कवितामा सरल शब्दको प्रयोगलाई यस प्रकार देखाइन्छ ः
आऊ तपस्या गरौं खोजौं भगवान;
कि उडाऊँ रकेट प्रत्येकओटा तारामा
चन्द्रमाबाट फेरि माथि उडाऊँ रकेट
खोजौं भगवानलाई कहाँ छन् उनी (पृ. ११)
प्रस्तुत कवितांशमा सरल वाक्यहरूको प्रयोग गरेर वाक्यका तहमा सरलतालाई वरण गरिएको पाइन्छ । सरल र सामान्य वाक्यहरूको प्रयोग गरेर पनि भावलाई गम्भीर बनाउन सकिन्छ भन्ने कुरा शर्माका कवितामा देखिन्छ । भगवान सबैका एउटै भएको कुरा
प्रस्तुत गरी भगवान सबैका साझा रहेको कुरा सरल वाक्य रचनाका माध्यमबाट देखाइएकाले यहाँ वाक्यका तहमा सरलता आई कथ्य समेत सम्प्रेष्य बनेको छ ।
अन्तमा भन्नु पर्दा कविताले ईश्वरको अस्तित्वमा शङ्का व्यक्त गरे पनि ईश्वर र मान्छेका बिचको अन्योन्याश्रित सम्पर्क प्रष्ट रूपमा देखाइएको छ । सोमालियाको भोकमरीमा मर्ने मानिसमा ईश्वर देख्नु, कार्विआङलङको सङ्क्रातिको उत्सवमा ईश्वरलाई गोली लाग्नु, भगवानको कलेजो फुटेर रगत निस्कनु जस्ता उदाहरणमा मान्छे र ईश्वरमा फरक नभएको स्थिति देखिन्छ । यहाँ अभिधार्थमा ईश्वरको मृत्युलाई देखाए पनि लक्ष्यार्थमा त्यो मृत्यु मान्छेको नै भएको पाइन्छ । मान्छेभित्र ईश्वरको बास छ भन्ने आस्तित्विक दृष्टिकोणले गर्दा मान्छेमा ईश्वरको छाया देखिनु र मान्छे मर्दा ईश्वरको मृत्यु भएको देखिनु कविताको सर्वोपरि विषय हो । अर्थात् मान्छेको हत्या गर्दा ईश्वरको पनि हत्या हुन्छ त्यसैले मान्छेलाई हेला नगर्नु भन्ने मानवतावादी भावधारा कवितामा यत्र तत्र देखिन्छ ।

उपप्राध्यापक, सतिया कलेज, असम, भारत

प्रकाशित मिति : प्रकाशन मिति : वुधबार, 6 माघ, 2072

लेखकका अन्य रचनाहरु