भुमरी

- हरिहर खनाल

डोल्माले घडी हेरी, साढे दश बजेछ । बिहान सबेरैको वातावरण निकै चिसो थियो । आज मौसममा एक्कासी कसरी यस प्रकारको परिवर्तन आएको होला ? उसको मनमा अनायास यस्तो प्रश्न उठेको थियो त्यति बेला । तर अहिले भने वातावरणभरि घामका न्याना किरणहरू फैलिइरहेका थिए र वातावरण पूरै न्यानो भैसकेको थियो ।
यति बेला त नोर्बु भञ्ज्याङतिर पुगिसक्यो होला । डोल्माको मनमा एक प्रकारको अत्यास पलायो । मेलाम्ची खोला र त्यसको देब्रे किनारबाट हेलम्बुतिर उकालो लागेको ग्य्राभेल सडकलाई पछाडि छोडेर त्यो तल झरी अनि दोभानभन्दा अलिकति माथि इन्द्रावतीको झोलुङ्गे पुल तरेर सल्लेरीको पाखाबाट तर्पायँ बाटो समातेर उकालो लागी । त्यसको मन आत्तिइरहेको थियो । घाम बिस्तारै आकाशको उचाइतिर माथिमाथि सर्दै थियो । इन्द्रावतीको गर्भबाट निस्केको स्वाँ... गर्दो आवाज वातावरणभरि छरेर सुसाइरहेको थियो । घाम चर्कन थलेको भए पनि तल फाँटको हरियालीलाई छोएर माथितिर दौडेको हावामा वन पाखा र पखेराका रुख बिरुवाका पातहरू फिरफिर गर्दै हल्लिइरहेका थिए । वसन्तऋतुको मध्यतिरको समय त्यसको महकमा मगमग मग्मगाइरहेको थियो ।
डोल्मा भञ्याङमा पुगी । नोर्बु उसैको बाटो होरेर, उसैलाई पर्खेर चौतारीको छपनीमा बसिरहेको होला । सुरुमा उसले यस्तै ठानेकी थिई । तर ऊ त्यहाँ थिएन ।
मलाई खर्क जानका लागि कर गर्ने ऊ, यति बेलासम्म आपैm किन नआएको होला ? गाई फुकाउन अबेला भै सक्यो । आमाले के भन्ठान्ने होलिन् ? त्यसको मनमा अत्यासको भुमरी मडारिन थाल्यो । सके अगाडि पो गैसक्यो कि ? बिजुलीको तरङ्गसरी त्यसको मनको एउटा कुनामा सानु प्रश्न उठ्यो र एकै छिनपछि त्यो त्यत्तिकै बिलायो । खोलापारिको सानु थुम्को कटेर ऊ खर्कतिर जाने तर्पायँ बाटो हिँड्दै थिई, पाइन्टको गोजीमा घुसारेको मोबाइलको घण्टी बज्यो । हेरी, नोर्बुको रहेछ ।
“डोल्मा, सरी ! म समयमा आउन सकिन ।” सुस्त लवजमा नोर्बुले भन्यो ।
“किन ? के भयो ?” अलिकति दबेको स्वरमा उसले सोधी । “
“बुबाको प्रेसरको औषधी सकिएछ । नियमित खानु पर्ने । अहिलेको लागि पनि रैनछ । म जिरो किलोमिटरसम्म पुगेर आउँछु । तिमी जाँदैगर ।” नोर्बुले सम्झायो ।
“उति टाढा पुगेर तिमी कति बेला आइपुग्छौ ?” निरास भावमा त्यसले सोधी ।
“सहरतिर जाने गाडी हेलम्बुतिरबाट आउँदैछ । त्यसैमा जान्छु । जान बीस मिनेट, औषधी किन्न पाँच मिनेट, फर्कन बीस मिनेट । म एक घण्टाभित्र तिमीलाई भेट्न आइपुग्छु ।” नोर्बुले उसलाई आस्वस्त पार्न खोज्यो । डोल्मा केही बोल्न सकिन । नरमाइलो मानेर कानमा मोबाइल टाँसेर टोलाइरही ।
“बाई डोल्मा ।” यति भनेर नोर्बुले मोबाइल बन्द ग¥यो । डोल्माका आँखा फेरि घडीमा परे । एघार बजेछ ।
००
हेलम्बुतिरबाट आएको मिनी बसमा मानिसहरू टनाटन थिए । भित्र प्यासेजमा पनि पाइला राख्ने ठाउँ थिएन । छतमा समेत केही मानिसहरू बसिरहेका थिए । बस नजिकै आइपुगेपछि नोर्बुले हात दियो । बस रोकिएपछि ठेल्दै र ठेलिँदै ऊ ढोकाबाट भित्र छि¥यो ।
फार्मेसीमा औषधी किनेर बसको बाटो हेर्दै ऊ सडक किनारामा उभिइरहेको थियो, मेलाम्ची खाने पानी योजनाको एउटा टिपर मूल सडकबाट देब्रे मोडियो । नोर्बुको मन पाकिरहेको थियो । घडी हे¥यो, साढे एघार बजिसकेछ । सरकारी गाडी । के लगिदेलान् र ? सुरुमा त्यसको मनमा यस्तै विचार आयो । तै पनि के भर ? लिफ्ट दिई पो हाल्छन् कि ? मनमा अलिकति आशाको दियो बल्यो । त्यसले उज्यालो अनुहार लगाएर हात उठायो ।
“कहाँ जाने ?” रोकिएको गाडीको ढोकाबाट बाहिरतिर हेर्दै भित्रका मान्छेले सोधे ।
“मेलम्ची बजार ।” त्यसले छोटो उत्तर दियो ।
“कहाँ गएर आएको ?” अर्को प्रश्न आयो ।
“बुबाको औषधी सकिएछ । लिन आएको । फर्कने गाडी मिलेन ।” उसले सोझो कुरा बतायो ।
“ठीक छ । लगिदिऊँ । पछाडिको सिटमा बस्ने मान्छेले त्यसो भनेपछि चालकले उसलाई गाडीमा बस्न सङ्केत ग¥यो । त्यको ठीक २० मिनेटपछि गाडी मेलम्ची खानेपानी आयोजनाको आवासक्षेत्रको सिरानमा सडक किनारामा रोकियो र नोर्बु त्यसबाट उत्रियो । त्यसपछि गाडी दाहिनेतिर मोडियो र खोला किनारमा रहेको त्यसको कम्पाउन्डभित्र छि¥यो ।
००
डोल्मा गाईलाई खर्कतिर लगाएर तल गाउँबाट माथि चढ्ने बाटोतिर आँखा बिछ्याएर हेर्दैथिई, त्यसको एकाग्र मनलाई झसङ्ङ पार्ने गरी मोबाइलको घण्टी बज्यो । उसले स्क्रिनमा हेरी, नोर्बुको नम्बर थियो त्यो ।
“हेलो नोर्बु, तिमी कति बेला आउँछौ ?” आँखा घडीतिर लगाउँदैे अलिकति रुन्चे स्वरमा त्यसले भनी ।
“म फर्किसकेँ । घरभित्र पस्नै लागेँ । बुवालाई औषधी दिएर आइहाल्छु ।” घरको आँगन अगाडिबाट हिँड्दै गर्दा नोर्बुले भन्यो ।
“छिट्टै आऊ, ल ?” त्यति भनेर उसले मोबाइलको स्वीच बन्द गरी र सेट गोजीमा घुसारी ।
००
आकाशमा कतै पनि एक टुक्रासम्म बादल देखिएको थिएन । घामका चर्का किरणहरू त्यो सेरोफेरोभरि बाँणझैँ खनिएका थिए । खर्कमा चरिरहेका गाईबस्तुहरू प्रलय हुनुअघि तर्सेझैँ एकाएक कान ठाडा बनाएर पुच्छर ठड्याउँदै कराउन र दौडन थाले । जङ्गलका चराचुरुङ्गीहरू चिरबिर गर्दै आकाशमा उड्न थाले । परपर गाउँतिर र तल बेँसीतिरबाट कुकुर भुकेको चर्को आवाज आउन थाल्यो । वन जङ्गल, रुख बिरुवा सबै हल्लिन थाले । सारा जगत बेस्सरी हल्लियो । डोल्मा उभिइरहेको ठाउँमा अडिन सकिन, त्यो थचक्क बसेर घोप्टो परी । चारचौरास काम्न थाल्यो । त्यसले देखी, त्यसका आँखा अगाडि खर्कका गोठहरू गल्र्यामगुर्लुम ढले । आकाश धुलोको बादलले भरियो । त्यो आत्तिएर रुँदै कराउन थाली । खर्कमा भएका अरू गोठालाहरू पनि रुन कराउन थाले । सारा पृथ्वी स्वाँ.... गर्दो विभत्स आवाज निकालेर हल्लिँदै काँपिरहेको थियो । त्यो धेरै बेरसम्म काँपिरह्यो । निकै बेरसम्म त्यसरी हल्लिएपछि बिस्तारै कम्पनको गति कम हुन थाल्यो । खर्कमा बस्तुभाउ चराउन गएका अरूहरू पनि टारीतिर दौडिए । ती सबै टारीको खुला चउरमा जम्मा भए ।
डोल्माको मन अत्यास र छटपटीले बेचैन हुन थाल्यो । त्यो त्यसपछि घरतिर दौडिई । उसका पछिपछि अरू गोठालाहरू पनि तलतिर दौडिए ।
भञ्ज्याङमा पुग्दा तिनीहरू सबैको सास बढेर छाती भक्लकभक्लक गर्न थालेको थियो । धाँटी स्वाँस्वाँ हुन थालेको थियो । तिनीहरूले देखे, केही समय पहिले मात्र सग्लो छाडेर गएको तिनीहरूको गाउँका कुनै पनि घर सग्ला थिएनन् । मानिसहरू कराउादै यताउता दौडिइरहेका थिए । तिनीहरूको गाउँ एकाएक भग्नावशेषमा परिरत भएको थियो । घरमा बूढी आमा एक्लै थिइन् । तिनको के गति भयो होला ? तिनी कति आत्तिइन् होला ? भन्ठानेर डोल्माको मन एक्कासी खङ्रङ्ग भयो । ऊ भञ्ज्याङ तलको बाटोबाट हाम फाल्दै घरतिर दौडिई । अरू पनि उसको उसको पछिपछि दौडिइरहेका थिए ।
“ए आमा, तिमी कता छौ ?” डोल्मा तल घाँचमा पुगेपछि झन् चर्को स्वरमा रुदै र कराउँदै घरतिर दौडन थाली । बिहानसम्म अँध्यारोमा बलेको लालटिनजस्तो देखिने गाउँको स्कुल गल्र्यामगुर्लुम ढलेको थियो । उसले खोलापारि माथितिर हेरी । उसको घरको माथिल्लो भाग छानुसमेत आँगनमा थुप्रिएको थियो । अलि परको नोर्बुको घर पनि त्यसरी नै ढलेको थियो । पूरै गाउँ कोलाहलमा डुबेको थियो । गाउालेहरू सेना र पुलिससित मिलेर भत्किएका घरबाट आएका आवाजतिर कान थाप्दै मानिसहरूलाई भग्नावशेषबाट बाहिर झिक्न दिलोज्यालले लागिरहेका थिए । डोल्माले देखी, नोर्बुको घर समेत पूरै भत्किएको रहेछ ।
घाइते नरनारीहरू बोकेका गाडी अविराम गतिमा स्थानीय स्वास्थ्यचौकी र सदरमुकामका अस्पतालतिर कुदिरहेका थिए । मूलसडक किनारका समथर खाली ठाउँमा हताहत भएका मानिसका लास लहरै सुताएर राखिएका थिए । कोलाहल बीचमा सन्नाटा अनि सन्नाटा बीचमा कोलाहल व्याप्त थियो त्यहाँ । बिहान सारसौदी छाडेर गएकी आमाको लासलाई अँगालो हालेर डोल्मा बेस्सरी रोई । अरु मानिसहरूले त्यसलाई सम्झाउँदै सान्त्वना दिने प्रयत्न गरे । नोर्बु र उसको बूढो बाबुको मृत शरीर देखेपछि त्यसका नौनाडी फतक्कै गले । त्यो धेरै बेरसम्म घुँक्कघुँक्क गर्दै रोइरही । सारा गाउँ रोयो । बहत्तर सालको नयाँ वर्ष सुरु भएको बाह्रौँ दिनको शनिबार मध्यान्न हुनैलाग्दा खनिएको बिपत्को भुमरीले एउटा भीमकाय राक्षसले शान्त तलाउमा त्यसका डरलाग्दा यामानका पाइला गाडेर भएभरको पानी बाहिरतिर बगाइदिएसरी, हरियो दूबोका कलिला मुन्टा टिपेर कुटुकुटु खाइरहेको एउटा अबोध मृगको पाठोलाई यामानको अजिङ्गरले एककासी आक्रमण गरेरे निलेसरी, त्यो महाप्रलयले सारा जगतलाई क्षतविक्षत पारेको थियो ।
००
बारीका खाली पाटामा यत्रतत्र त्रिपालहरू टाागिएका छन् । मानिसहरू समुह समुहमा त्रिपालमुनि बसिरहेका छन् । जमिन हल्लिने क्रम निरन्तर चलिरहेको छ । मानिसहरूका भयभीत आँखा त्यही कम्पनको मारमा परेर काँपिरहेको पृथ्वीको अस्तित्वलाई हेरेर बस्न विवस छन् । डोल्मा भिजेका उदास आँखा लिएर तिनै पालहरूमध्ये एकमा असहाय सरणार्थीझैँ टाउको घुसारेर दुई प्रहर रात बिताउँछे । शिविरमा अनेक किसिमका मान्छे थरीथरीका बहाना बनाएर आउने जाने क्रम नित्य जारी छ । नव–आगन्तुकहरू पीडित मान्छेहरूसित अनौठा प्रकारका प्रश्न सोधेर दुखेको कायामा मलम लगाइदिउँलाझैँ गर्दै साखिल्लो बन्ने अभिनय गरिरहेका छन् । तर डोल्मालाई ती कुराहरूप्रति कुनै चाख छैन । घाम लागिरहेको छ । उज्यालो दिनमा पनि ऊ आपूm अगाडिको सन्सार चुक घोप्ट्याएजस्तो एकदम अँध्यारो देख्छे । त्यसका मनमा अनेक किसिमका कुरा खेलिरहन्छन् । किन हो कुन्नि, आजकाल त्यसलाई उसको टाउको विल्कुलै खाली भएजस्तो लाग्न थालेको छ ।
००
यस अघिका दिनहरूमा जस्तै शिविरमा आज पनि विविध प्रकारका सहयोगका पुलिन्दा लिएर आउने मानिसहरूको लर्को चलिरहेको छ । धेरै पटक सुनेपछि नभएको कुरा पनि हो जस्तो, धेरै पटक देखेपछि अपरिचित मान्छे पनि परिचितजस्तो, आफ्नो साख्खै, नजिकैको आफन्तजस्तो लाग्न थाल्दोरहेछ मान्छेको मनमा । दुई चार दिन अघिदेखि शिविर धाउन थालेको छिरिङलाई देख्ता डोल्मालाई त्यस्तै लाग्न थालेको छ आजकल । केही दिन पहिलेदेखि शिविर धाउन थालेको छिरिङ आज पनि आयो र शिविरमा दालमोट, चिउरा र पानीका बोतल बाँड्यो, त्यसपछि डोल्माको नजिकै गएर बस्यो ।
“नरोऊ सोल्टी, मरेर जाने गैहाले, अब रोएर के गर्नु ? आफ्नै जिऊ गलाउनु मात्तै हो । पिर नगर, हामी छम् नि,” एकोहोरो हेरेर टोलाईरहेकी डोल्माको अनुहारतिर हेरेर छिरिङले सुस्त लवजमा भन्यो । घोसे मुन्टो लगाएर वेदनाको सागरमा पौडिरहेकी डोल्माले आँखा उठाएर त्यसको अनुहारतिर पुलुक्क हेरी । तर अँ हँ, त्यसमा नोर्बुको कुनै बिम्ब थिएन । त्यसले चुपचाप आँखा फेरि तल झारी । छिरिङले त्यसलाई अनेक प्रकारले फकाउने प्रयत्न ग¥यो, तर उसले त्यसको कुरातिर कुनै ध्यान दिइन । त्यो हराएका आँखाले एकोहोरो किसिमले जमिन ताकेर त्यसै टोलाएर बसिरही ।
डाल्माले कुनै किसिमको प्रतिकृया नजनाए पनि त्यसपछिका दिनमा समेत छिरिङले मानिसहरूको लहरमा मिसिएर शिबिरमा छिर्ने क्रमलाई जारी राख्यो । पछिपछि त ऊ दिनहुजसो शिबिरमा देखा पर्न थाल्यो ।
एक दिन को कुरो हो, मध्यान्नको समय, मानिसहरू पालमुनि बसेर सुस्ताइरहेका थिए । यत्तिकै बस्ताबस्ता वाक्क,दिक्क भएकी डोल्मा शिबिरको दक्षिण–पश्चिम कुनाको नासपातीको सियाँलमा बसेर एउटा दैनिक पत्रिका हेरिरहेकी थिई, छिरिङ् मूलगेटबाट भित्र पस्यो र त्यसका चङ्ख नजर अगाडिको शिविरभरि घुमायो । नासपातीको सियालमा एक्लै बसेर पत्रिकाका पानामा आँखा घुमाइरहेकी डोल्मालाई देखेर त्यसको दिल भित्रैदेखि उज्यालो भयो । ऊ निशङ्कोच भावमा त्यतै लाग्यो र अनुहारमा उज्यालो छरेर मुसुक्क मुस्कुराउँदै डोल्माको छेवैमा बस्यो ।
“सत्ते, रामाराम । मरिजाम् सोल्टी, म तिमीलाई धोका दिने छैन । मलाई विश्वास गर ।” विगत कैयौँ दिनदेखि फ्याँकदै आएको प्रेमको पासो उसले आज पनि डोल्मालाई एकान्तमा एक्लै देख्ने बित्तिकै फ्याँकिहाल्यो । सधैँ शिविरको कष्टकर जीवनबाट वाक्कदिक्क भैसकेकी डोल्माको हृदयको एक कुनामा एउटा सानो तरङ्ग उठ्यो । त्यसले आँखा उचालेर एक पटक छिरिङको अनुहारतिर हेरी । बिहानको घामको पहिलो किरण पर्दा उज्यालिएको हिमचुलीको पूर्वी पाखोझैँ त्यसको ओठमा मुस्कानको एउटा सानो लहर उठ्यो र त्यसको अनुहारमा फक्रन थालेको गुलाफको कोपिलाजस्तो चहक छरियो । त्यो अलिकति लाजले, अलिकति डरले थिचिइन पुगी र टाउको निहु¥याई । फलाम तातेको बेलामा घन ठोकिहाल्नु पर्छ । छिरिङको मनमा यस्तै विचार आयो ।
“आऊ, उठ जाउँ ।” यसो भन्दै छिरिङले उतिर हात बढायो । अनायास त्यसको हात उतिर लम्किएको छिरिङ्को हाततिर ठडियो । तिनीहरूले एक अर्काका आँखामा आँखा अड्याएर हेरे र त्यसपछि मुस्कुराउँदै मूल सडकतिर लागे ।
००
“मेरो जागिर छ क्या इन्डियामा । तिमीलाई म रानी बनाएर राख्ने छु । मरिजाम नभए ।” सहर पुगेको भोलिपल्ट सुत्नुअघि छिरिङले फेरि अर्को एक पटक कसम खायो । दैवले मलाई ठगे पनि फेरि मेरो उद्धार गर्न उसैले पठाएको होला छिरिङलाई । डोल्माले मनमनै यस्तै ठानी र लामो सास फेरी । त्यसपछि ऊ छिरिङसँगै त्यसको अँगालोमा बाँधिएर कालो राताको गाढा अँध्यारोमा बिलाई ।
दुई दिन काठमाडौंमा यसोउसो गर्दै बिताएपछि तेस्रो दिन अपरान्ह तिनीहरू इन्डियाका लागि प्रस्थान गरे । महेन्द्रनगर पुगिन्जेल सम्ममा त तिनीहरू मानौँ कि वर्षै सँगै जीवन बिताएका जोइ–पोईजस्तै भैसकेका थिए ।
महेन्द्रनगरको अनामिका गेष्ट हाउसमा बास बस्न पुगेका तिनीहरू भोलिपल्ट बिहानै दिल्लीका लागि प्रस्थान गर्ने योजना तर्जुमा गरिरहेका थिए ।
“डोल्मा, तिमी थाकेकी पनि छौ, यहीँ आराम गरिराख, म टिकटको बन्दोबस्त मिलाएर आउँछु ।” यसो भनेर बाहिर निस्केको छिरिङ राति निकै अबेला साढे नौ बजेतिर मात्रै कोठामा फर्कियो । भारतीय मूलको जस्तो देखिने एकजना अपरिचित मान्छे समेत ऊसँगै कोठामा भित्र छि¥यो । नसाको मादकतामा अलिकति लट्ठिएका आँखा लिएर आएका ती दुवैको अनुहार प्रसन्न मुद्रामा मुस्कुराइरहेको देख्न सकिन्थ्यो ।
“हमारी घरवाली कैसी लगी तुमको, दोस्त ?” कोठाको दक्षिण किनारमा रहेको सोफामा बसेर सुस्ताउँदै गर्दा नव आगन्तुकको अनुहार ताकेर छिरिङ्ले सोध्यो । पातलो खियाउटे जिउडाल भएको त्यस आगन्तुकले भोकाएको स्यालले कुखुराको चल्ला देख्ता हेरेझैँ डोल्माको अनुहारमा त्यसका तिखा आँखा गाडेर भन्यो, “बहुत अच्छी । क्या माल है जी !” यसो भनिरहँदा त्यसको अनुहारमा एउटा कुटिल भाव नाचिरहेको डोल्माले अनुभव गरी । तिनीहरूको त्यस प्रकारको कृयाकलाप देख्ता डोल्मालाई अलिकति घृण र अलिकति डर लाग्यो । त्यसको अनुहार त्यसै सोहोरिएर आयो । साउनको आकाशजस्तै त्यसको मुखमुद्रामा परिवर्तनका धर्साहरू कोरिए । सुरुमा त्यो निःशव्द स्तव्ध बनेर खाटको एक छेउमा यत्तिकै बसिरहेकी थिई । नव आगन्तुकले त्यसलाई खाउँलाझैँ गरेर एकोहोरो हेरिरह्यो । त्यसको त्यस प्रकारको चाल देखेर डोल्माको शरीरभरि काँडा उम्रिए ।
“छिरिङ !” अनुहारलाई कठोर बनाएर त्यसले छिरिङतिर हेर्दै भनी, “तिमीले को मान्छे लिएर आएको यस्तो ?” यसो भन्दा त्यसको अनुहारमा क्रोधाग्नीको ज्वाला भर्भराइरहेको थियो ।
“डराउनु पर्दैन क्या । ऊ मेरौ अफिसमा सँगै काम गर्ने मान्छे हो, आफ्नै साथीभाइ ।” यस अघि डोल्माप्रति देखाएको ब्यवहारबाट विल्कुलै फरक आभास हुने हाउभाउमा छिरिङले जवाफ दियो । डोल्मा जुरुक्क उठी । असहज बन्दै गएको वातावरणलाई नियालिरहेको आगन्तुक पनि जुरुक्क उठ्यो र छिरिङ्को काँधमा धाप लगाउँदै भन्यो, “अच्छा छिरिङ दाइ, अभी हम चल्ते हैँ, कल मिलेङ्गे ।” यसो भनेर ऊ ढोकाबाट बाहिर निस्कियो । त्यसपछि केही समयसम्म चकमन्न भएको कोठाको वातावरण एकाएक विस्फोट भएको ज्वालामुखीको लपेटामा परेजस्तो भयो ।
“तिमीले मलाई कहाँ लान थालेको ? के गर्न लागेको ?” डोल्मा उठी र खाटको डिलमा बसेर छिरिङको अनुहारतिर हेरेर चर्को र कडा स्वरमा कड्किई ।
“धरोधर्म डोल्मा, मरिजाम् मैले ढाँटेको भए । मेरो विश्वास गर । त्यो मेरो अफिसमा सँगै काम गर्ने साथी हो । यतातिर घुम्न आएको रै’छ । भेट भयो । सँगै बसेर अलिकति खायौँ । तेत्ती हो । त्यो कुनै खराब मान्छे हैन क्या ।” छिरिङले यसो भनिरहँदा उसले निकै नरम स्वर निकालिरहेको थियो । तर डोल्माको भने रिसको पारो घटेको थिएन ।
छिरिङ उठ्यो र बत्ती निभायो, त्यसपछि ओछ्यानमा पल्टियो । डोल्मा धेरै बेरसम्म सुँक्कसुँक्क गर्दै रोइरही र रात निकै बितिसकेपछि कोल्टे फर्केर सुती ।
अलिकति झकाउन थालेकी थिई, आफ्नो जिउमा केही सल्बलाएजस्तो लाग्यो डोल्मा लाई । त्यो झल्याँस्स बिउँझिई । छिरिङ त्यसका सम्वेदनशील अङ्गहरूमा हात घुमाइरहेको थियो । डोल्माले त्यसलाई कुइनाले हानेर उतापट्टि धकेलिदिई र अर्कोतिर फर्केर सुती ।
“निहु खोज्ने तँ ? तँलाई मारेर फालिदिन सक्छु, बुझिस् ?” एउटा राक्षसको मुखबाट निस्किएको स्वरसरी छिरिङको आवाज भुर्इँमा खस्यो । डोल्मा उठी । भित्ताको आड लागेर घुँडा मारेर बसी र घुँक्कघुक्क गर्दै रुन थाली ।
“धेरै नखरा पार्ने होइन बुझिस् ? अच्छिम खाएँ, बच्छिम खाएँ, झुसे बारुलो ।” छिरिङले धम्क्यायो ।
००
भोलिपल्ट बिहान सबेरै छिरिङले टाँगा खोजेर ल्यायो । डोल्मा गेष्ट हाउसको लबीमा थिई । त्यो जाऊँ कि नजाऊँ गर्दै, मन लागीनलागी, दुबिधाबीच मूलढोकातिर निस्किई ।
“छिटो आऊ, बस छुट्छ ।” मुलायम स्वरमा छिरिङले डोल्मालाई बोलायो । डोल्माले उसलाई आँखा तरेर हेरी ।
“नसुनेको कि नटेरेको तिमीले ?” छिरिङ डोल्माको नजिकै पुग्यो र उतिर आँखा तर्दै बिस्तारै हका¥यो । डोल्मा गरुडको छायाँमा परेको सर्पजस्तै त्यसै लल्याक्लुलुक भै ।
“हिँड न प्लिज, ढिलो भैस्क्यो भन्या ।” छिरिङले उसलाई फकाउन खोज्यो । के गर्ने होला भन्ने कुराको दुबिधाबीच डोल्मा टाँगामा बसी । त्यसको मन भने हुरीमा परेको चरासरी अन्योल र अत्यासको भुमरीमा परेर छट्पटाइरहेको थियो ।
००
गड्डा चौकी पुग्नैलाग्दा डोल्माको कानतिर मुख जोतेर छिरिङले सम्झायो, “पुलिसले सोध्यो भने हामी बूढाबूढी हौँ, जागिरमा जान लागेको भन्न नभुल्नु नि ।” डोल्माले अमिलो अनुहार बनाएर त्यसको कुरा सुनी मात्र, तर केही बोलिन ।
“रोक् ।” चौकी अगाडि पुगेपछि सुस्त गतिमा अघि बढिरहेको टाँगातिर हेर्दै पुलिसले टाँगावाललाई हका¥यो ।
“को हो यो ? कहाँ जाने ?” छिरिङको अनुहारतिर हेर्दै अलिकति कडा स्वरमा पुलिसले सोध्यो ।
“छुट्टीमा आएको थिएँ । जहान लिएर फर्कँदै छु सा’प ।” निकै समालिएर छिरिङले विनयशील मुद्रामा भन्यो । पानी पर्न थालेको आकाशजस्तो मुखमुद्रा बनाइरहेकी डोल्मातिर हेर्दै पुलिसले सोध्यो, “तिम्रो नाम के हो ?”
“डोल्मा ।” भुईँतिर हेरिरहेको अनुहार समेत नउठाइकन निकै मलिन स्वरमा त्यसले जवाफ दिई ।
“यो तिम्रो पोई हो ?” उसले त्यसरी नै ठाडो लवजमा सोध्यो । डोल्माका ओठ काँपे । त्यो बोल्न खोजी, तर त्यसको मुखबाट कुनै आवाज आएन । त्यसको अनुहारमा साउनको आकाशमा मडारिएको कालो बादलको मुस्लोजस्तो सन्तापको एक लहर दौडियो । त्यसले कुनै जवाफ दिइन ।
“किन नबोलेको ? तिमी कहाँ जाने ?” उसले फेरि त्यसरी नै ख¥यायो ।
“थाहा छैन ।” त्यसले आँखाबाट निस्किएर गालाको बाटो भुईँतिर झर्न लागेका आँसुका थोपा औँलाले पुछ्दै भनी ।
“तिमीहरू दुवै तल झर ।” उसले छिरिङ् र डोल्मा दुवैलाई टाँगाबाट तल ओराल्यो । चेलीबेटी बेच बिखन विरुद्ध सीमानाका नाकाहरूमा सक्रिय महिलाहरूको एक समुह त्यही समयमा त्यहाँ पुग्यो ।
“कहाँ जाने बैनी ?” तिनीहरूमध्ये एउटी महिलाले डोल्मालाई सोधी ।
“थाहा छैन ।” आँखाबाट पिलपिल आँसु झार्दै घोसे मुन्टो लगाएर डोल्माले भनी ।
“अनि यो तिम्रो लोग्ने हो ?” पुलिसले फेरि उसलाई सोध्यो । डोल्माले सुँक्कसुँक्क गरेर रुदै दायाँवायाँ टाउको हल्लाई ।
“चेलीबेटी बेच्ने मादरचुद् ।” हातमा लिइरहेको कालो चिल्लो ब्याटुन उचालेर पुलिसले छिरिङ्का पिडुँलामा एक स्वाँठ लगायो र त्यसलाई घोक्य्राउँदै चौकीतिर लिएर गयो । डोल्माका अनुहारमा एक्कारी उज्यालो आभा छरियो । त्यसले टाउको उठाएर आमा समुहका नारीहरूतिर हेरी । तिनीहरूका अनुहारमा कताकता उसकी आमाको घुर्मैलो बिम्ब पोतिएजस्तो लाग्यो त्यसलाई ।
“जो पायो त्यसका साथ लागेर त्यत्तिकै हिड्नु हुन्न क्या नानी । जमाना खराब छ आजकल ।” डोल्माको टाउको मुसार्दै एउटी प्रौढ महिलाले भनी । “धन्न हामी भेटियौँ र तिमी आज बेचिनबाट जोगियौ ।” त्यसले थपी ।
००
डोल्माले माइती नेपालको सहारामा दिन बिताउन थालेको पनि यति बेला त डेढ महिना हुन थालिसकेछ । विगत तीन महिनामा त्यसका जीवनमा आएका फेरबदलका घटनाहरू र उथलपुथल देखेर ऊ आफैँ दङ् पर्छे । बितेका दिनहरूको सम्झनाले क्षत–विक्षत भएको त्यसको छाती झन् चिरिएर आउँछ । उसलाई संसारमा सबैले भन्दा बढी मायाँ गर्ने त्यसकी ममतामयी आमाको संझनाले त्यसलाई खुवै सताउँछ । लाउँलाउँ र खाउँखाउँ उमेरको उसको प्रियतम नोर्बुको सम्झनाले घरिघरि त्यसलाई गम्लङ्ङ छोप्छ र ऊ त्यसै विछिप्तजस्तै भएर टोलाउँछे । बितेको कुरा संझेर रोएर कुनै फाइदा छैन भन्ने कुरा जान्दाजान्दै पनि त्यसले मन बुझउन सक्तिन ।
त्यसको जीवनको पछिल्लो खण्डमा आइलागेको त्रासदीपूर्ण घटनाको सम्झनाले समेत घरिघरि त्यसलाई खुवै दिक्क लाग्छ । विविध आवरणमा समाजमा छिरेका छिरिङजस्ता छद्मभेषी मानिसका अनुहार संझेर त्यसको हृदयमा घृणा र प्रतिषोधको ज्वालामुखी फुट्न खोज्छ । विगत त्रासदीमय दिनहरूको सम्झनाले जब त्यसलाई चिल्न थाल्छन्, त्यसको टाउको फुट्लाझैँ भएर रन्किन्छ र त्यसलाई बिर्सन ऊ माइती नेपालका बालबालिकाहरूसित मिलेर आपूmलाई तिनीहरूकै लहरमा मिलाएर त्रासदी र बिपदको भुमरीमा फन्फनी घुम्न पुगेको त्यसको विगतलाई बिर्सने प्रयत्न गर्छे ।

धापासी, काठमाडौँ

प्रकाशित मिति : प्रकाशन मिति : बिहीबार, 9 पौष, 2072

लेखकका अन्य रचनाहरु