पुत्राश्रमतिर...!

- कृष्ण सुवेदी निराकार

समयले बर्षैपिच्छे काँचुली फेरेझैं हरिचरण बाजेले पनि असी बसन्त पार गरिसक्दा धेरै भोटाहरु फटाइसकेका थिए । छोराछोरीको बिहेदान गरेर आफ्ना तीनभाइ छोराहरुलाई पनि मौजुदा जेथोबाट प्रपञ्च भाग लगाएर छोराहरुले नै बावुआमालाई यति चैं जीउनी राख्नुस्् भनेर छुट्याइदिएको भाग, जेठो छोरालाई तैेंले नै बाबु–आमालाई पालनपोषण गर्नू, पछि काजक्रिया गर्नू र यो पितृप्रसादका रुपमा ग्रहण गर्नू भनेर त्यतिखेरै जिम्मा लगाई दिएका थिए हरिचरण बाजेले ।
“मैले अब सबै काम सकें, छोरा–छोरीको बिहेदान पनि गरिदिएँ । अंशवण्ड पनि गरिदिएँ । म अब यो सान्सारिक जीवनबाट निवृत्त भएको छु । अब म मेरो जीवन धर्म–कर्म, तिर्थ, ब्रत र भागवत सेवामा समर्पित गर्नेछु !” भन्दै आफु मायाँरुपी पारीवारिक जञ्जालबाट मुक्त भएको घोषणा गर्दै दिन बिताउदै थिए हरिचरण बाजे( ।
हरिचरण बाजेका तीन छोरामध्ये जेठो छोराले केहीवर्ष पालेर बाबुआमाको जीउँनी सबै एकलौटी पारे । जेठीबुहारीले झर्को–फर्को गरेपछि आफुखुसी रमेका कुढाबुढीलाई चित्त बुझेन र सिराहाको गोल बजारमा आफन्तहरुकै छेउछाउमा गएर शरण लिए । इष्टमित्र सबै मिलेर एउटा सानो झुप्रो मन्दिरकै छेउमा बनाइदिए । छोरीहरुले– कसैले सिरक–डस्ना, कसैले भाँडाकुँडा त कसैले दाल–चामलको पनि बन्दोबस्त मिलाई दिए ।
हरिचरण बाजे र देवीका बज्यैले ‘एन केन प्रकारेण’ झण्डै दुई वर्षजति गुजारी सकेका थिए । बिहान–बेलुका भगवानको सेवा गर्थे, दिउँसो सत्सङ्गमा जान्थे । बेलुका बुढाबुढी भुलुक्क पकाउँथे कुप्लुक्क खान्थे । जीवनका सबै दुःखहरु बिर्सिएर ‘भगवानको शरणागती नै हाम्रो अन्तिम कर्म हो !’ भन्ने ठानेर मनमा जति नै गाँठो परे पनि बाहिरी सन्सारमा चित्त बुझाएकै जस्ता देखिन्थे हरिचरण बाजे ।
एकदिनको कुरा हो । हरिचरण बाजेको कान्छो छोरो राममणि संसार चाहारेर साँझमा खै कसरी पत्ता लगाएछ कुन्नी बाबु बसेको घरमा टुप्लुक्क आइपुग्यो । आफ्नो छोरो खराव संगतमा लागेको छ भन्नेकुरा बाबुआमालाई राम्ररी थाहाथियो । त्यहाँ आइपुग्दा पुरै रक्सीले मातेको थियो राममणि । हरक्क रक्सीको गन्ध परैबाट आउँथ्यो । रक्सीकै सुरमा भएपनि हुन त राम्रै कुरा ग¥यो राममणिले–
“अब मेरा बाबुआमालाई म पाल्छु । कसैले हेर्नु पर्दैन !” भन्दै बावुको छेउमा आएर बस्यो ।
“जा बजिया ! तँ नआइज मेरा भा’ठाम् ।” हरिचरण बाजेले छोरालाई गालीगरे । आमाको मन मानेन, देवीका बज्यैले सम्झाइ–बुझाइ गरिन् बाजेलाई र कान्छो छोरो त्यस दिनदेखि बाबुआमासँगै बस्न थाल्यो । छोरो हो, मायाँ लागीहाल्यो । लाग्नुपनि स्वभाविकै हो ।
समय बित्तै गयो । राममणि पनि केही सुध्रिए जस्तो भयो । एकदिन गाउँलेहरुले सल्लाह गरे बाजेसँग । बढेको छोरो सँधै यसरी राख्नु हुँदैन । छोरी हिड्लान् भन्ने पीर, छोरा मोराले कसैको छोरी–बुहारी माथि हातपात गर्लान् भन्ने पीर हुन्छ । उमेर पुगेकै छ । बिवाह गरिदिनु पर्छ । बिहे गरेपछि अझ सुध्रिन सक्छ । न कतै सुध्रि हाल्छकि भनेर बाजेले पनि गाउँलेहरुको सल्लाहलाई नकार्न सकेनन् । राम्रो लगन जुराएर बिराटनगरकि निरौला बाहुनकि छोरीसँग बिधिपूर्वक नै बिहे गरिदिए दोश्रो बिहे भएपनि राममणिको । ‘यस्ता मोरा जड्याहासँग को बस्छ !’ भनेर पहिलेकिले छोडेर हिँडेपछि नराम्ररी कुलतमा फसेको थियो राममणि ।
एकाध बर्ष सबैसँग राम्रो व्यवहार ग¥यो राममणिले । झण्डै तीन बर्षको अन्तरालमा दुइटी छोरी र एउटा छोरा ग्याल्ग्याल्ती जन्माए बर्षैपिच्छे जस्तो । तीन सन्तानको बाबु हुँदा पनि राममणिले रोजगारको बाटो लिन सकेन । ‘संगत गुनाको फल’ झनेझैं फेरी पुरानै रुप धारण ग¥यो राममणिले । रक्सीखाने, मनपरी बोल्ने र श्रीमतीलाई भकुर्ने पनि गर्न थाल्यो ।
राममणिकि श्रीमती नर्वदा पनि दिक्क भइन् । एकातिर सासु–ससुराको सेवागर्नु पर्ने, अर्कोतिर लोग्नेको भकुराई सहनुपर्ने । यी कामले आजित भै सकेकी थिइन् नर्वदा ।
राममणि रक्सीले टन्न मातेर बाह्रबजे राती घर आउँथ्यो । स्वास्नी भकुथ्र्यो । पैसा माग्थ्यो । नदिए बाबुआमा, स्वास्नी, भाँडाकुँडा केही भन्दैनथ्यो । कहिले चोर्नपनि तयार हुन्थ्यो भने कहिले मर्न पनि तयार हुन्थ्यो । वुढा भएका वावु आमालाई सधैंको पीर थियो घरमा । श्रीमती पनि दिक्दारै भै सकेकी थिइन् लोग्नेको क्रियाकलापवाट ।
एकदिन हरिचरण बाजेकी कान्छी बुहारी नर्वदाले कठोर निर्णय गरिन् । अब यहाँ बसेर सन्तानको भविष्य उज्वल छैन । छोरा–छोरीको कन्तविजोग हुन्छ । अब एउटा उपाय नसोची भएन भनेर सल्लाहका लागि माइततिर लागिन् । माइतीमा सर–सल्लाह गरेर आफ्ना नानीहरु माइतमै जिम्मा लगाएर पासपोर्ट बनाएर भिसाको चाँजोपाँचो एउटा चिनेजानेकै गाउँको मेनपावर मार्फत मिलाएर घरका कसैलाई थाहै नदिई माइतैबाट दुई वर्षका लागि इजरायलतिर लागिन् ।
यता गोल बजारमा हरिचरण बाजे र बज्यै रात–दिन कान्छो छोराको हप्की खाएर दिन गुजरा गर्दै थिए । रक्सीका सुरमा राममणिले भन्यो–
“सासु र ससुरा मिलेर मेरी स्वास्नीलाई घरबाट निकाल्यौं !” भन्दै बावु आमालाई घरमा बसिखान दिंदैनथ्यो ।
“तिमरले नै मेरी वुढीलाई विदेश पठाको ।” भन्दै तथानाम बोल्थ्यो रक्सीको सुरमा ।
एकदिन हरिचरण बाजे र बज्यै बिहानको कलीलो घाम तापेर बाहिर बरण्डाको डिलमा बसिराखेका थिए । कान्छो छोरो एका बिहानै मातेर झल्लु हुँदै घरमा आइ पुग्यो । बावुलाई देख्ने बित्तिकै फेरी निउँ खोज्न थाल्यो –
“ए बुढा ! मेरी स्वास्नीलाई किन विदेश पठायौ ? तिमरु चैं यो उमेराँ पनि बुढा–बुढी सँगै बस्ने, सँगै सुत्ने मेरी स्वास्नीलाई चैं यो ‘लाउँ–लाउ,ँ खाउँ–खाउँ’ भन्ने उमेराँ म सँग छुट्याएर विदेश पठाउने । कि मलाई पनि त्यो नर्वदेसँग पठाइद्याओ । होइन भने मेरी स्वास्नी चाइयो । मैले चाइयो भने सि चाइयो – चाइयो !”
विचरा हरिचरण बाजेलाई के थाहा र उसकी श्रीमती विदेस गएको । उसैका मुखबाट भर्खर सुन्दैछन् । मुखमा आएजति सबै गाली थोपथ्र्याे बावु–आमालाई कानभरी । छोराको व्यवहारले आजित भै सकेका थिए बावु–आमा पनि । बुढेसकालमा छोराले कमाउला ख्वाउला, पाल्पा भनेको त आफैंले पाल्नु परेको छ हरिचरण बाजेले । हातमा माला जप्दै मनमा पीर बोक्दै दिन काटी रहेका थिए हरिचरण बाजे ।
जति–जति उमेर ढल्किँदै गयो, त्यति–त्यति दुःखको भवसागरमा डुब्दै गए हरिचरण बाजे । कान्छो छोरो राममणिको व्यवहारले बावु–आमा नै आजित भैसकेका थिए ।
छोरीहरुले पनि बावु आमाले दुःख पाएको खवर सुनेर हामी पाल्छौं नभनेका पनि होइनन् । कुटुम्बका घरमा कसरी बस्नु ! सम्धि–सम्धिनी हुन्छन् । देवर जेठाजु हुन्छन् । उनका नाता–गोता इष्टमित्रले के भन्लान् भन्ठानेर हरिचरण बाजे छोरीहरुका घरमा पटक्कै बस्न मानेनन् ।
समयले बर्सेनी काँचुली फेर्दैै थियो । हरिचरण बाजेका माइला छोरा कुलमणि विदेश आउने–जाने गरेको चार–पुगेर पाँच वर्ष भैसकेको थियो । डेढमैनाको छुट्टीमा कुलमणि घर आएका थिए । घरमा कुलमणिकी श्रीमती करुणाले बावु–आमा, देवर–देवरानी सबैको हाल खवर सुनाइ सकेकी थिइन् । राम्रो कुरा भन्दा नराम्रो कुरा छिटो फैलिन्छ भने झैं, कुलमणिका बावु–आमाले दुःख पाएको कुरा गाउँ–घर, छर–छिमेक र आफन्तहरु प्रायः सबैलाई थाहा भै सकेको थियो । अरु–अरुबाट पनि आफ्ना बावु–आमाले साह्रै दुःख पाएको कुरा एक–कान, दुई–कान, मैदान हुँदै कुलमणिको कानमा पनि प¥यो । कुलमणिले मनमनै सोचे– ‘आफ्ना जन्मदिने बावु–आमाले दुःख पाएको कसरी हेर्नु ! म छोरो भएको के काम लाग्यो ! अब यसरी त्यहाँ एक्लै राख्नु भएन । लिन जानु प¥यो’ भन्ने मनमनै विचार गर्दै श्रीमतीसँग पनि सल्लाह गर्ने विचार गर्दै श्रीमतीलाई भने–
“करुणा ! म एउटा कुरा भन्छु तिमी के सल्लाह दिन्छ्यौ !”
“के कुरा भन्नु त पहिले ? कुरै नबुझि के भन्नु र !”
“करुणा म विदेश गएकै छु । पैसा कमाइ हाल्छु । तिमीलाई पैसाको कमी हुन दिन्न । हेर ! मेरा बुढा भएका बावु–आमाले साह्रै दुःख पाए । तिमीलाई पनि थाहै छ । उहाँहरुलाई म घरमा ल्याउँछु ल ? तिमीले राम्रोसँग स्याहार–सुसार गर्नू । सासु–ससुरा भनेका पनि बावु आमा सरहनै हुन् । पितृ भै सकेका छन् । पितृले आशीर्वाद दिए आशीष लाग्छ श्राप दिए श्राप लाग्छ भन्छन् । हामीले उहाँहरुको सेवा ग¥यौं भने आशीष दिनु हुन्छ । अनि म दुई–चार वर्ष अरु विदेश बसेपछि हाम्रो राम्रो बन्दोवस्त पनि हुन्छ । म आएपछि राम्रोसँग सेवा गरिहाल्छु । तिमी के भन्छ्यौ करुणा भनत ? बुवाआमालाई ल्याउँ है ?”
लोग्नेको कुरा सुनेर फननन फन्किइ करुणा । लोग्नेका कुरा भुइँमा पर्न नपाउँदै भन्न थालि–
“सम्पति जत्ति जेठा र कान्छालाई पोसे । अब ऐले जोगी भएपछि चैं हामीले पाल्नु पर्ने । पाल्न पनि सजिला भए पो पाल्नु । बावु बिहानदेखि बाह्र बजेसम्म पूजै गरेर भ्याउँदैनन् । बेलुका पनि चार बजेदेखि राती आठ बजाउँछन् । तपाईंकी आमालाई गाउँ चाहार्दै फुर्सद हुँदैन । दुनियाँको घर–घर गयो । कुरा कथुरो । नाना थरिका कुरा सुन्नु मैले नै पर्छ । न ट्याममा खान पाइन्छ – न सुत्न । लु भो म चैं पाल्न सक्दिन । आफैैं बस्नू, आफैं पाल्नू आफ्ना बावु–आमालाई । होइन भने थपक्क बृद्धाश्रम तिर पु¥याइदिनू ।”
करुणाको कुरा सुनेर एक न दुई भए कुलमणि । भित्री मन भक्कान्नियो उनको । बररर आँखाबाट आँशु खसाले । हरे राम ! हामी पनि त बुढाबुढी हुन्छौं । हाम्रा छोरा–छोरीले पनि भोली हामीलाई यसै भने भनें हाम्रो के गति होला । मनमनै सोच्दै केही नबोली कुलमणि बजार तिर लागे । त्यो दिनभरी घर पनि आएनन् । बावु–आमाको मायाँले सताइ रह्यो दिनभरी उनलाई । विदेश नजाउँ भने यहाँ बसेर के गर्नु ! देश अशान्तिले भरिएको छ । रोजगारको कुनै अवसर छैन । बन्द र हड्तालले देश आक्रान्त छ । आर्थिक अवस्था जर्जर छ । यहाँ बस्ने त कुरै आएन । जाउँ भने बावु–आमाको मनले के सोचेको होला । टुङ्गो नलगार्ई कसरी जानु । यिनै कुराहरु सोच्दै दोधारमा थिए कुलमणि ।
माघको महिना थियो । बिहान हुस्सेले गर्दा सात बज्दा पनि अँध्यारो देखिन्थ्यो । डम्म कुहिरोले शहर ढाकिएको थियो । दिउँसो–दिउँसो राम्रै घाम लाग्थ्यो बिहान बेलुका चिसो भए पनि, तर कुलमणिको आङमा भने हप्ता दसदिनदेखि घाम लागेको थिएन बुढा भएका बावु–आमाको बिजोग सम्झेर । खान पनि छोडी सकेका थिए कुलमणिले । एसो एक–दुई गाँस खाए जस्तो गरेर बररर आँखाबाट आँशु झार्दै जुरुक्क उठि हाल्थे भाग मात्र बसेर । कसैसँग केही बोल्दैनथे । श्रीमतीसँग त झन् छत्तिसे व्यवहार भै सकेको थियो । राती सुत्दा पनि श्रीमती उत्तर फर्किन्थी भने उनी दक्षिण फर्किन्थे । त्यति राम्रा परेवा जोडी जस्ता यी जोइपोई सुँगासुँगबाट ठुँगाठुँगमा रुपान्तरण भएका थिए केही दिनदेखि ।
जसरी पनि बावु–आमालाई घरमा ल्याउने र सेवा गर्ने इच्छा झन् प्रवल भएर आयो कुलमणिमा । एक दिन कुलमणिले नयाँ सोच फुराएर आफ्ना छिमेकीहरुमध्ये दुःख–सुखमा साथ दिने पल्ला घरका एकजना छिमेकी कृष्णचन्द्रसँग पनि सल्लाह लिने विचारले उनका घरमा आए । अनि आफ्नो मनको उकुस–मुकुस भएका वेदनाको पोको फुकाउँदै मलीन स्वरमा भने–
“दाइ ! एउटा सानो सल्लाह माग्न आ’को म ! मैले एउटा जोखिम मोलेर एउटा ठूलो निर्णय गर्न आटें । त्यसमा तपाईंको पनि सल्लाह लिऊँ, अनि अलिकति मलाई सहयोग पनि गर्नुप¥यो दाइ ।”
“के प¥यो त्यस्तो भन्नुस् न ! मैले गर्न सक्ने सहयोग गरेकै छु ।” – कृष्णचन्द्रले जिज्ञासा राखे ।
कुलमणिको अनुहारमा मलीनता छाएको थियो । भनौं कि नभनौं, कसरी भनौं, कहाँबाट सुरु गरौं ! जस्तो अनुहारमा उकुस–मुकुस छाएको देखिन्थ्यो । बडो हिम्मतका साथ उनले कुरा अगाडी बढाउदै भने–
“दाइ ! मेरा बुवा–आमाले साह्रो दुःख पाउनु भएको रहेछ ऐले । भाइले पनि साह्रै दुःख दिएछ । बुहारी पनि इजरायल गइछन् । बुवा–आमा मात्रै हुनुहुन्छ रे ! आम्दानी पनि केही छैन । के खानु भाको होला । घरमा ल्याऔं, बावु–आमा पालौं भनेको करुणा मान्दिन । ‘म सक्दिन तिम्रा बावु–आमा पाल्न, तिमी आफैं बस्न पाल्नु भन्छे, होइन भने वृद्धाश्रम पु¥याइदिनु । कति खर्च–बर्च लाग्छ दिनु, तर घर ल्याउने चैं कुरै नगर्नु भन्छे । म कसो गरुँ दाइ ? मलाई उचित सल्लाह दिनु प¥यो र सहयोग पनि गर्नु प¥यो । तपाईंले मलाई सही सल्लाह दिनु हुन्छ भनेर म यहाँ आको हुँ । अर्को कुरा तपाईंले करुणालाई एसो सम्झाई दिनु प¥यो ! मेरो कुरा भुइँमै पर्न दिन्न, कुरै सुन्न मान्दिन । म त बडो दोधारमा परें दाइ ! तपाईंले करुणालाई एसो सम्झाइदिनु हुन्थ्यो कि भनेर आको । तपाईंले सम्झाउँदा पो मान्थि कि !”
कुलमणिका कुरा सुनेर कृष्णचन्द्र पनि भावुक भए । कृष्णचन्द्र एक्काइस वर्षको हुँदा उनका बावुको निधन भएको थियो भने उनी पच्चिस वर्षको हँुदा आमाको पनि निधन भएको थियो । आफ्नो बिहे पनि भएको थिएन । आफ्ना बावु–आमालाई झलझली सम्झिए कृष्णचन्द्रले । आज मेरो बावु–आमा भएको भए म कति सेवा गर्थें ? आफूले कमाएको एक मानु पनि ख्वाउन नपाइकनै बावु–आमा बित्नु भएकोमा पश्चाताप थियो कृष्णचन्द्रलाई । मनमा अनेक कुरा खेलाउँदै कृष्णचन्द्रले कुलमणिलाई राम्रो सल्लाह दिंदै भने –
“कुलमणि जी, तपाईंले बावु–आमा घरमा ल्याएर पाल्ने जुन कुरा गर्नु भो यो त साहै्र राम्रो कुरा हो । साह्रैै असल काम गर्न लाग्नु भो । हेर्नु शास्त्रमा पनि भनिएको छ –
‘पुत्रस्य परमो धर्मः पित्र्युद्धारसमो न हि ।
पित्र्युद्धारं न कुरुते श्रेयश्च सुखमिच्छति ।।
स याति नरकं घोर यावच्चन्द्रार्कमेदिनी ।’
बावु–आमाको सेवा गर्नु भन्दा ठूलो अरु धर्म नै के छ र ! मैले त सेवा गर्न पाइँन !” भन्दै आँखाको डीलभरी आँशु पारे कृष्णचन्द्रले । कृष्णचन्द्रले कुलमणिलाई सम्झाउँदै फेरी थपे–
“हेर्नुस्– तपाईं बाहिर विदेश गए पनि करुणा वैनीले हेर विचार गर्नै पर्छ, र गर्नु हुन्छ नैं ! फेरी तपाईंका बावु–आमा भित्र बाहिर गर्नै नसक्ने पनि त हुनुहुन्न होला ! पकाएर खान सक्ने, आफ्नो जीउको सम्भार गर्न सक्ने नै त हुनुहुन्छ । साँच्चै भन्ने हो भने – करुणा वैनीलाई त साथी पनि हुन्छ । बावु–आमा घरमा भएपछि मन लाग्दा एसो दुई–चार दिन माइत गएर बस्न पनि पाउनु हुन्छ । घर रुङ्ने मान्छे हुँदा पनि कति राम्रो हुन्छ कति ! फेरी बुढाबुढी भएको घरै अर्कै हुन्छ । इष्ट–मित्र, छर–छिमेक, नाता–कुटुम्ब सबै आउने जाने गर्छन् । मूलघर हुन्छ आफ्नो । दशैं–तिहार, चाडवाड पनि रमाइलो हुन्छ । कुलमणिजी तपाईंले साह्रै राम्रो विचार गर्नु भो बावु–आमाको सेवा गर्न कहाँ पाउनु ! हेर्नुस् मेरो त बुवाआमा दुबै हुनुहुन्न, मैले सेवा गर्छु भन्दा काँ पाउँछु र ऐले !”
कृष्णचन्द्रले कुलमणिलाई ठूलो साहस थपिदिए । कृष्णचन्द्रको कुरामा कुरा थप्दै भने कुलमणिले–
“दाइ ! हेर्नुस् मेरा बावुले मलाई सम्पत्ति पनि त्यति केही दिएनन् । जेठो दाइले सबै जीउनी खाए, ऐलै अलपत्र पारे बावु आमालाई । कान्छो त झन् भङ्जाहा छ । दुःख, दुःख, दुःख अति दुःख दिई सक्यो ती बुढा भएका बावुआमालाई । तीन–तीन वटा छोरा छोरी छन्, जागिर केही छैन, रक्सि खाएर स्वास्नी भकुर्नु बाहेक केही छैन । अनी मैले ऐले बावु–आमा ल्याएर पालें भने मेरा दाजु भाइलाई पनि लाज हुन्छ नी ! सम्पत्ती चै हामीले खायौं, बावु आमा चैं यस्ले पाल्यो भनेर । यि मेरा दाजु–भाइलाई देखाउँन पनि म पाल्छु बावु आमालाई । दाइ ! तपाईंले सही सल्लाह दिनु भो, अब चाँडैनै ल्याउँछु बावु आमा !” भन्दै कुलमणि विदा भए ।
माघ अन्तिममा कुलमणि बिर्तामोडबाट बस चढेर गोल बजार बावु आमा भएका ठाउँमा साँझमा टुप्लुक्क पुगे । बावु–आमाको गोडामा ढोग गरे । बावु–आमाको मुखमा अँध्यारो मुख लाउँदै पुलुक्क हेरे । निधाउरो अनुहार, अनुहारका छालामा अनियमित आकारका धर्षाहरु, कानका लोती तल झरेका, मैला कपडा लगाएका, नीधारमा सेता चन्दन टलक्क टल्कने गरी धारण गरिएका; हात गोडाका नङ पनि लामा–लामा, नङभरी मयल भरिएका अगेनाका डिलमा पुरानो थोत्रे गुन्द्री माथी खोलबिनाको घुरमैलो तकियामा अडेस लागेर बसि रहेका थिए बावु–आमा ।
कुलमणिले घरको सबै दृष्यमा आँखा नचाए । पर कुनामा एउटा सानो चुल्हो, चुल्हो वरिपरी केही गिङ्रिङ्ग जुठा भाँडाहरु कुलमणितिर हेर्दै हाँसी रहेका थिए ।
कुलमणिलाई देख्ने बित्तिकै उनकी आमाले भनिन्– “नानी ! कतिखेर हिंडिस् घरबाट ?”
“बिहान सात बजेतिर !” कुलमणिले छोटो जवाफ दिए ।
“नानी ! तँलाई भोक लाग्यो होला । अलिकति बिहानको भात उब्र्रिएको छ, घिउ हाल्दिन्छु, खा ल ?” भन्दै आमाले घिउको हर्पेको बिर्को खोलिन् र भाँडाको पींधमा टाँस्सिएको बिलौनी मिश्रित घिउ बल्ल–बल्ल लामो डाडुले कोपरेर निकालिन । आफ्नी आमाले घिउ निकालेको दृष्य कुलमणि हेरिरहेका थिए । केही बोलेनन् । त्यो चिसो भात खान मन पटक्कै छैन, तर पनि कुलमणिले खै के सोचे कुनी ! आफ्नी आमाले त्यत्रो श्रद्धा गरेर दिएको मायाँले भरिपूर्ण भावनाका सितारुपि मिष्टान्न देखे त्यो थालको चीसो भातलाई कुलमणिले ।
कुलमणिकी आमाले वरिपरी बिट कुच्चिएको पातलो स्टीलको थालमा दर्के झरीले कुटेको माटाको तीनचम्के चुल्हो जस्तो तीन डल्ला भात, एउटा डल्लोमाथी पितिक्क बिलौनी मिश्रित घिउ राखेर अलिकति चीनी छर्किदिइन् र छोराका हातमा थाल राखि प्रेमपूर्ण भावले भनिन्–
“नानी ! लु खा यो भात ! एति कपाकप खा, अनि ख्वाल–ख्वाल एक अँखोरा पानी खा ! पेट टम्म हुन्छ । मेरो बावु !” भन्दै छोराको टाउकोमा हात राख्दै कान हुँदै गाला सुमसुम्याउँदै हात झारिन् ।
आमाले दिएको भातलाई घिउसँग मुछेर कुलमणिले एक गाँस मात्र के खाएका थिए । आँखाबाट बररर आँशुको थोपा झार्न लागे । श्रीमतीले यस्ता भगवान् स्वरुपका पितृ भएका बावु–आमालाई पाल्न इन्कार गरेको कुरा सम्झिए । अनि ‘बृद्धाश्रम लगेर छाडिदिनू !’ भनेका श्रीमतीका ति कटुवचन पनि सम्झिए । छिमेकी कृष्णचन्द्र दाइले दिएको उचित सल्लाह पनि सम्झिए ।
“बावु आमालाई बद्री, केदार, बृन्दावन जहाँ–जहाँ भन्नु हुन्छ त्यहीं–त्यहीं लगेर तिर्थ यात्रा गराउँछु”, पनि सम्झिए । सम्झिने क्रममा उनले अस्ति विदेशबाट घर आइ पुगेको क्षण पनि सम्झिए ।
कुलमणि विदेशबाट आइपुगेको दिन करुणा घरमै थिइन् । अघिल्लो दिन काठमाडौंबाट हिंडेको, बाटामा आउँदा नौबिसेमा गाडी बिग्रिएर रातभरी कतै केही खान नपाएको क्षण अनि फेरि बन्दिपुरमा बन्दमा परेर दुई प्याकेट बिस्कुटले मात्र दिन काटेर बेलुका चार बजे घर आइपुगेको क्षण । भोकाएर आएको लोग्नेलाई खान दिनु त कता हो कता – श्रीमतीले आउने बित्तिकै हत्तार–हत्तार भनिछन् –
“तपाईंले सुट्केस कहाँ राख्नु भो ? खोइ दिनुस् सुट्केसको चाबी ? म दराजमा थन्क्याउँछु पैसा कौडी ! फेरी हराउला !”
‘थाकेर आएको श्रीमान्, भोक–भोकै छ हिजो बेलुकी देखिनै, केही खाको छैन मीठो खानेकुरा देलि भनेको त उसलाई पैसाकै धुन छ !’ यो पनि सम्झियो कुलमणिले । हो, आमा र श्रीमतीमा कति फरक पर्दाे रहेछ ! विदेशबाट धेरै पैसा कमाएर ल्याएको थाहा हुँदा–हुँदै पनि खै त मेरी आमाले मसँग अलिकति पनि पैसा मागिनन्, झोला खोतलिनन्, पनि सम्झिए । श्रीमती र आमा वीच कति फरक पर्दो रहेछ । ‘हुन त, सबैका श्रीमती यस्ता हुँदैनन् होला !’ यसरी पनि उनले चित्त बुझाए । मनमनै तर्क–बितर्क गर्दै खपाखप खाए कुलमणिले आमाले दिएको चिसो भात ।
बेलुकी बावु आमासँग त्यति धेरै गफगाफ भएन कुलमणिको । थाकेर आएकाले बेलुका चाँडै सुते ।
बिहान घाम झलमल्ल लागि सकेको थियो । कुलमणि बावु आमासँग बसेर पेटीमा गफ गरी रहेका थिए । बिस्तारै कुलमणिले आफु बावु आमा लिन आएको कुरा निकाले । कुरै कुरामा कुलमणिले भने –
“बुवा ! म जे खान्छु, त्यही ख्वाउँछु । जस्तो सक्छु त्यस्तै लाउन दिन्छु, दुःख सुख बाँडौला ! जाऊँ बुवा अब आफ्नै छोराको घरमा ! म बुवा–आमालाई लिन आको ।”
कुलमणिका यी कुरा सुनेर ठाडै इन्कार गर्दै हरिचरण बाजेले छोरालाई सम्झाउँदै भने–
“नानी ! ऐले हामी जाँदैनौं तेरो घर ! बल नगर बावु हामीलाई लान ! हेर छोरा ! हामी बुढाबुढी एसो भुलुक्क पकाएर कुप्लुक्क खान्छौं । बिहान–बेलुका भगवानको सेवा गर्छौं । दिउँसो एसो सत्सङमा जान्छौं । नानी ! हामीलाई यहीं रमाईलो छ, यहीं घमाइलो छ । अब हामी कति पो बाँच्छौं र ! ओरालो लागेको घामको के भर र नानी ! हो कि होइन भन त !
हेर– जेठो छोराले पाल्यो केहीदिन । पैसा सप्पै सक्यो । कान्छाले पनि त्यही हाल ग¥यो । अब ऐले हामीसँग सम्पत्ति पनि छैन । भएको पनि सबै तिमरु छुटिंदा सबै तीनै भाइलाई बराबरी बाँडिदिइ हाल्यौं । ऐले हामी इष्टमित्रले ल्याई दिएको सीदा–मानु खाएर गुजरा गरी रहेका छांै । तैले पनि आफ्नु अंशभन्दा बाहेक केही लिएको छैनस् । तँलाई दिऊँ भने पनि हामीसँग केही छैन । त्यसकारण हेर माइला ! हामीलाई तेरो घर लाने बल नगर् । हामी दुःख–सुखले दिन काटेकै छौं, हामी यहीं बस्छौं बावु ! हामी वनका चरीलाई पिंजडामा हाल्ने बल नगर छोरा, मैले भनेको मान् बावु– मान् !” हरिचरण बाजेले फेरि थपे–
“हेर्– तँ पो मेरो छोरो होस् । आफ्ना बावु–आमाले दुःख पाए, म पाल्छु भन्छस् ! तर बुहारी त अर्काकी छोरी हुन् । हामी उनको बोझ हुन चाहान्नौं बावु । मेरो कुरा बुझ् छोरा बुझ् । बरु सक्छस् भने हामीलाई बृद्धाश्रम पु¥याइदे । हामी त्यहीं जान्छौं ।” यी सबै कुरा – गहभरी आँशु पार्दै हरिचरण बाजेले छोरालाई सम्झाए ।
कुलमणिले बावुका सबै कुरा सुने । ‘बृद्धाश्रम पु¥याइ दे !’ भन्ने बावुका यी वाक्य र श्रीमतीले ‘बृद्धाश्रम पु¥याइदिनू’ भन्ने दुवै वाक्य एकै चोटी सम्झिए । एकमनले त बृद्धाश्रम नै पु¥याइदिउँ कि जस्तो पनि गरे । तर अर्को मनले गम्भीर भएर सोचे – ‘धिक्कार छ मलाई ।’ मैले आज आफ्ना बावु–आमालाई बृद्धाश्रम पु¥याएँ भने भोली मेरो छोराले त झन् संसार देखाउने आफ्ना बावु–आमालाई भन्सार कटाउँछ ।
‘... बुवा ! हजुरबालाई फ्याँकिसकेपछि त्यो डोको चैं सुरक्षित घर ल्याउँनु है ! फेरी मैले हजुरलाई फ्याँक्ने बेलामा मैले त्यो डोको कहाँ खोज्नु, मलाई चाहिन्छ !’ भन्ने ‘पुरानो डोको र छोराको कथा’ पनि सम्झिए कुलमणिले ।
धेरैवेर पछिको छलफलबाट कुलमणि विजय प्राप्त गर्न सफल भएरै छाडे । दिउँसो बाह्र बजे तिर जनकपुरबाट भद्रपुर चल्ने मुनाल बसबाट बावु–आमालाई लिएर घर आए कुलमणि । कुलमणिकी श्रीमती करुणाले बाहिर निस्किएर हेरिन । कुलमणिले पनि करुणालाई हेरे । आँखा जुध्यो करुणा र कुलमणिको । वन पाउरोटी फुले झैं भुक्क फुलेकी थिइन् रिसले करुणा । ‘खुइऽऽय’ गर्दै– ‘हरिशरणम !’ भन्दै हरिचरण बाजे र देवकी बज्यै ‘पुत्राश्रम’ भित्र पसे ।

निराकार बसिबियाँलो, चन्द्रगढी–१, झापा

प्रकाशित मिति : प्रकाशन मिति : शुक्रबार, 25 मङ्गसीर, 2072

लेखकका अन्य रचनाहरु