वस्तुनिष्ठ मूल्याङ्कनभित्र अवलोकन अवबोधन

- देवराज शर्मा

कुनै पनि कुराको मूल्याङ्कन हुनुपर्छ, मूल्याङ्कनविहीन कुराको कुनै महत्व हुँदैन। जीवनको अस्तित्वको पनि सही मूल्याङ्कन हुनसके जीवन बाँच्न गाह्रो पर्दैन। जीवनकै अभिन्न अङ्ग साहित्य हो। साहित्यले सहितको काम गर्छ, फलस्वरूप जीवन बाँच्दा अरूकै हित सोच्नु सर्वोत्तम मानिन्छ। साहित्य लेखिन्छ धेरै प्रकार, सबै साहित्यले केही न केही उद्धेश्य बोकेकै हुन्छ। राम्रो साहित्यको सबैतिरबाट मूल्याङ्कन हुनु आवश्यक देखिन्छ। राम्रै-राम्रो देखाएर नराम्रो घ्वाप्पै छोप्नु बुद्धिमानी होइन। जे छ, त्यसको साँचो तथ्य स्पष्ट राख्नुपर्छ। लेखकले लेखेका कुरालाई सोझै नराम्रो छ भन्न नमिल्ला, तर उसको वास्तविकता छामेर कृतिभित्र विचरण गरेर मूल्याङ्कन गर्नु नै उचित देखिन्छ। यसलाई साहित्यिक भाषामा समालोचना भनिन्छ। समालोचनाले विभिन्न आधारमा कृतिको गुदी कुरा ह्वाङ्गै पार्दछ। स्वच्छ आलोचनाले स्वच्छ विचारको मान्यता पाउँछ। साहित्य विधाभरिमा अब्जसे विधा पनि मानिन्छ समालोचनालाई। सबैको सामर्थ्य सम्भव छैन । समालोचना विधामा कलम चलाउन धेरैभन्दा धेरै अध्ययनको खाँचो पर्दछ। पूर्वीय र पाश्चात्य सिद्धान्तलाई आधार पारेर कतिले समालोचनामा कलम चलाउँछन् भने कतिले ती सिद्धान्तलाई एकातिर राखेर कृतिपरक समीक्षामा विशेष ध्यान दिन्छन् । कृति र कृतिकारको वास्तविकतालाई समालोचनाद्वारा छर्लङ्ग पार्न सकिन्छ।

नेपाली साहित्यमा प्रखर समालोचकहरू जन्मे, खरो समालोचना गर्नेदेखि लिएर साधारण समालोचना गर्नेहरू पनि निस्किए। पूर्वीय र पाश्चत्य मान्यता र धारणालाई अनुसरण गरेर थुप्रैले नेपाली साहित्यिक कृतिहरूको ज्ञानवर्द्धक प्रखर समालोचना गरेको पाउँछौं। आफ्नो कलम धेरै अघिदेखि तीखो पारिसकेका युवा समालोचक राजकुमार छेत्री एकजना खारिएका लेखक हुन्। दार्जीलिङ सरकारी महाविद्यालयका स्नातकोत्तर नेपाली विभागका प्राध्यापक राजकुमार छेत्रीले हालैमा विद्यावारिधिको उपाधि समेत प्राप्त गरिसकेका छन्। कथा क्षेत्रमा विभिन्न समालोचना लेखर खप्पिस भइसकेका समालोचक डा. राजकुमार छेत्रीले आफ्नो पहिलो र गहकिलो समालोचनात्मक पुस्तक सिर्जनाको समावलोकन भारतीय नेपाली साहित्यमा अर्पण गरिसकेका छन्। निकै गतिलो र गहकिलो उक्त पुस्तक विशेष गरेर स्नातक र स्नातकोत्तर तहमा नेपाली साहित्यलिएर अध्ययन गर्ने विद्यार्थी-शोधार्थीहरूको निम्ति अत्यन्त उपयोगी रहेको देखिन्छ। साँच्चै समालोचनाको सुन्दर समायोजन हो सिर्जनाको समावलोकन। आफ्नो पहिलो पुस्तक सिर्जनाको समावलोकन सिक्किम विश्वविद्यालयको नेपाली एम.ए.को सिलेवसमा रेफरेन्स बुकको रूपमा अन्तर्भुक्त भएको छ। यो गर्वको कुरो हो। यसले गर्दा लेखकको उत्साह दुइगुणा बढेर जानेछ। यसैको फलस्वरूप डा. राजकुमार छेत्रीले आफ्नो दोस्रो समीक्षात्मक सँगालो अवलोकन अवबोधन प्रकाशनमा ल्याइसकेका छन्। बौद्धिक पाठकको खाँचो टार्ने काममा डा. छेत्री सिद्धहस्त र सदा सक्रिय रहेका छन्।

अवलोकन अवबोधन पुस्तकको भूमिकास्वरूप आशीर्वचनका केही शब्दहरूमा डा. मोहन पी. दाहाल, डा.घनश्याम नेपाल, श्री अर्जुन प्रधान र श्री जय क्याक्टस् आदि अग्रज समालोचकहरूले अवलोकन अवबोधनअन्तर्गत समाविष्ट समीक्षात्मक लेख र वार्ताहरूको वास्तविकता खुट्याइसकेका छन् र भन्नै पर्ने महत्त्वपूर्ण विषयहरूलाई समेटेका छन् । सबैको विचारको समावेश यस कृतिमा छ। यस समालोचनात्मक पुस्तकबारे वा भनौं कृति अवलोकन अवबोधनभित्रको सामग्रीबारे जानकारी दिने झिनो प्रयास गर्दै कृतिभित्र पस्ने प्रचेष्टा मात्रै छ मेरो। जम्मा नौवटा गहकिलो समीक्षात्मक लेखहरूको सँगालो अवलोकन अवबोधनको प्रथम लेखको रूपमा राखिएको इन्द्रबहादुर राईको साहित्यालोचन सिद्घान्तमा समालोचक डा. राजकुमार छेत्रीले साहित्यालोचनाका नवीतम् सिद्धान्त र पद्धतिहरूको विषयमा गहिरो रूपमा जानकारी गराएका छन् भने नेपाली साहित्यालोचनका विविध मोड़ र प्रवृत्तिहरूबारे विस्तृत जानकारी र इतिहास समेत पस्किदिएका छन्। डा. छेत्री यस सम्बन्धमा लेख्छन्- ‘पाश्चात्य साहित्यलोचन सिद्धान्तका गहिरो अध्ययन भएका समालोचकबाट खँदिला र भरिला समालोचनात्मक कृतिहरू भारतीय नेपाली समालोचना साहित्यलाई ऊर्जा श्रोतको रूपमा प्राप्त भएको छ।’ डा.इन्द्रबहादुर राईको साहित्य लेखनयात्रालाई तीन चरणमा बाँडेर हेरिएको छ-आयामेली लेखनपूर्वको चरण, आयामेली लेखनको चरण र लीलाचिन्तन वा लीलालेखनको चरण । यसको साथै इन्द्रबहादुर राईको साहित्यालोचन सिद्धान्तगत प्रवृत्ति र विशेषताहरूलाई खुबै परिश्रम गरी केलाएका छन् भने उनको पद्धति र प्रवृत्तिगत वैशिष्ट्यहरूलाई बुँदागत रूपमा सजाएका छन्। बौद्धिक साहित्यकार डा.इन्द्रबहादुर राईका साहित्यालोचनालाई गहनरूपमा मूल्याङ्कन गर्दै डा. छेत्री लेख्छन्- ‘इन्द्रबहादुर राई अब कुनै व्यक्तिको नाम होइन, एउटा संस्थाको नाम बनिसकेको छ।’

गुमानसिंह चामलिङको समालोचनात्मक प्रवृत्ति शीर्षक लेखले गुमानसिंह चामलिङलाई एकजना प्रखर समालोचकको रूपमा चिनाउने काम गरेको छ। नेपाली समालोचना साहित्यका खरो र निर्भिक समालोचकका रामकृष्ण शर्माकै हाँचमा उभ्याइएको छ समालोचक चामलिङलाई। चामलिङको परिचयसँगै उनको समालोचनात्मक प्रवृत्तिलाई समीक्षात्मक निरूपण गर्ने प्रचेष्टा सफल भइदिएको छ। समालोचक चामलिङको सन्दर्भमा डा. छेत्री लेख्छन्-‘नेपाली साहित्यालोचन क्षेत्रमा गुमानसिंह चामलिङको आफ्नो छुट्टै किसिमको व्यक्तित्व निर्माण भएको प्रष्ट देखिन्छ। पूर्वीय र पाश्चात्यको साहित्य-सैद्धान्तिक-अनुशीलनले साधिएका चामलिङको समालोचक व्यक्तित्वले सकेसम्म आफ्नो मौलिक मानदण्ड, मौलिक समालोचना सिद्धान्त, मूल्य र मान्यताहरू स्थापना गर्न खोजेको देखिन्छ। तुलनात्मक अध्ययन, तर्कसम्मत निर्णयात्मक प्रस्तुति, ऐतिहासिक तथ्यको मूल्य-निरूपण साहित्यालोचक चामलिङको समालोचनागत वैशिष्ट्य र विशेषताहरू हुन्। उनको समालोचना लेखनमा अन्वेषणपरकता र वस्तुनिष्ठताको विकास स्थिति प्रष्ट रूपमा देखापर्छ। समालोचक चामलिङ गम्भीर विचारधारणा, समालोचनात्मक मूल्य-मान्यतालाई तार्किक शैलीमा अत्यन्त प्रभावकारी ढङ्गमा प्रस्तुत गर्ने एकजना अध्ययनशील, चिन्तनशील साहित्यालोचक हुन्।’ डा.छेत्रीले दियालोमा प्रकाशित समालोचनाहरूको इतिहास केलाइदिएर उत्कृष्ट कार्य गरेका छन्, जुन सराहनीय छ। यस लेखमा दियालो पत्रिका प्रकाशनको पृष्ठभूमि राखिएको छ भने दियालोमा प्रकाशित समालोचनामूलक लेखहरूको सर्वेक्षणात्मक अध्ययन गरिएको छ। यसअन्तर्गत गद्याख्यान, काव्य, भाषा-व्याकरण, निबन्ध, साहित्य-सिद्घान्त र साहित्येतिहास, नाटक-एकाङ्की विषयक समालोचनात्मक लेखहरूको विषयमा उत्कृष्ट ढङ्गमा धेरथोर कुराहरू राखिदिएका छन्, भनौं दियालोको इतिहास छ।

मानव जीवनमा प्रकृतिको महत्त्वपूर्ण भूमिका छ, त्यसैले त कवि कथाकार वा भनौं साहित्यकारहरू प्रकृतिदेखि विमुख हुनै सक्तैनन्। शिवकुमार राईका कथामा प्रकृति-प्रयोग भेटिन्छन्। यस लेखमा समालोचक डा. छेत्री लेख्छन्-‘कथाकार राई प्रकृतिमै ईश्वरको दर्शन पाउँछन् भने प्रकृतिमै साँचो मानवता जिउँदो रहेको पनि देख्छन्। उनको निम्ति प्रकृतिभन्दा साँचो र श्रेष्ठ कला यो जीवन-जगतमा कुनै अर्को कला छैन, प्रकृतिमै गीत-सङ्गीत-साहित्य कलाको साँचो रूप भेटिन्छ भन्ने कुरोमा विश्वस्त छन्।’ पाश्चात्य साहित्यकार रूसोको Back to the Nature अथवा प्रकृतितर्फ फर्क भन्ने विचारलाई शिवकुमार राईले आत्मसात गरेका छन् भन्न चुक्दैनन्- डा. छेत्री। आफ्ना कथातिर ऋतुहरूको चित्रणसँगै प्रकृति तथा प्राकृतिक जीवमण्डलका विभिन्न पक्षका चित्रण पाइन्छन् कथाकार शिवकुमार राईको लेखनमा। गाउँले जन-जीवनको जीवन्तचित्रण गर्न रूचाउने कथाकार राईले कथाहरू गाउँले परिवेशमा हुर्काएका छन्।
डाँफेचरीको वस्तु र शिल्पविधान-विश्लेषण र मूल्याङ्कन शीर्षक लेखमा शिवकुमार राईद्वारा झ्याउरे छन्दमा रचित वियोगान्त गीति-खण्डकाव्य डाँफेचरीको निकै गहिरो अध्ययन-विश्लेषण गरेका छन्। यस लेखलाई सशक्त पार्नका निम्ति डा. छेत्रीले डाँफेचरीको रचना र प्रकाशनकाल, डाँफेचरी लेखनको प्रेरणा र प्रभाव, डाँफेचरीको संरचना-स्वरूप, डाँफेचरीको आख्यान अथवा कथावस्तु, डाँफेचरीको वस्तुविधान, पात्र र परिवेश विधान, प्रकृति-चित्रण, छन्द विधान वा लय-सन्धान, विम्ब-प्रतीक एवम् अलङ्कार योजना, भाषिक शिल्प-संरचना इत्यादिलाई आधार पारेर सम्पूर्ण पक्षबाट मूल्याङ्कन गर्ने सुन्दर प्रयास गरिएको छ, यस कार्यमा समालोचक डा. छेत्री पूर्णत सफल देखिएका छन्। यस खण्डकाव्यको मूल स्वर मानवतावादी रहेको कुरा स्वीकारेका छन् लेखकले। डा. छेत्री प्रस्तुत लेखको अन्तमा यसप्रकार टिप्पणी गर्न पुग्छन्- ‘सुख,शान्ति, सुरक्षा गर्ने उद्धेश्य र ध्येय राख्नुपर्दछ भन्ने यस खण्डकाव्यको मूल स्वर वा महत्त्वपूर्ण उद्धेश्य रहेको देखिन्छ।’

समालोचक राजकुमार छेत्रीले वी. पी. मल्लका केही हाइकुहरूभित्र पसेर हाइकुको वास्तविकता छाम्ने प्रयास गरेका छन्। उनले सन्दर्भ:अनुभूत क्षणहरूको बोध शीर्षक लेखमा हाइकुकार मल्लकृत अनुभूत क्षणहरूको बोध हाइकुकृतिलाई आधार मानेर हाइकु कविताका शिल्पतात्त्विक पक्षहरू अत्यन्त सुन्दर ढङ्गमा केलाएका छन्। जापानी हाइकुको तुलनामा नेपाली हाइकु लेख्नु एकदमै गाह्रो कार्य हो कर वी. पी. मल्लको यस किसिमको साहसिलो कार्यलाई सराहना गर्नै पर्छ। दृष्टान्तका निम्ति अनुभूत क्षणहरूको बोध हाइकुकृतिबाट केही हाइकु पनि यस लेखमा राखिएको छ। डा. छेत्री यस सम्बन्धमा यसप्रकार लेख्छन्- ‘कुनै तीव्र भावोन्वेष अथवा सौन्दर्यानुभूतिको चरम क्षणक अभिव्यक्ति दिनु नै हाइकुको लक्ष्य रहेको देखिन्छ। अतः जीवनको कुनै पनि पक्षको चरम सौन्दर्यानुभूति क्षणको सशक्त अभिव्यक्ति हो हाइकु।’ जापानको हावापानी र माटोमा हुर्किएको हाइकुलाई वी.पी.मल्लले नेपाली हावा-पानी र माटोमा फैलाउने जुन सफल कार्य गरेका छन् त्यो साँच्चै प्रशंसनीय छ। हाइकुकार वी. पी.मल्लको हाइकुमाथि लेखिएको समालोचनात्मक लेख साँच्चै प्रभावकारी भइदिएको छ।

शिवकुमार राईको कथायात्राः विवेचनात्मक अवलोकन शीर्षक लेखले शिवकुमार राईलाई उत्कृष्ट कथाकारको रूपमा उभ्याएको छ। उनको कथायात्रालाई तीन चरणमा बाँडेर विस्तृत अध्ययन-अनुशीलन गरिएको छ। प्रत्येक चरणको विशेषता त्यस चरणमा पाइएका सम्पूर्णाताको जानकारी उत्कृष्ट ढङ्गमा सजाएका छन् भने त्यस चरणको सामाजिक अवस्था, मूल्य-मान्यता र धारणा,भाषिक महत्वलाई विशेष रूपमा केलाएका छन् । सामाजिक कथाकार शिवकुमार राईले ऐतिहासिक पृष्ठभूमिमा पनि राम्रा कथाहरू लेखेका छन् भन्ने तथ्यलाई नौलो मान्न सकिन्न। कथालेखनको परम्परालाई केही भिन्नै रूप दिनमा पनि शिवकुमार राई खप्पिस छन्। कथालेखनमा मनोविज्ञान, हास्य-व्यङ्ग्य इत्यादिलाई कलात्मक ढङ्गमा सजाउन पनि चुकेका छैनन् कथाकार राई।

डाकबङ्गलाको औपन्यासिक वस्तु र शिल्प-विन्यासलाई समालोचक राजकुमार छेत्रीले गहन रूपमा केलाएका छन् यसको सम्पूर्ण पक्षलाई समेटेका छन्। यस लेखलाई अझ राम्रो बनाउनका निम्ति डा. छेत्रीले शिवकुमार राईको संक्षिप्तजीवनवृत्त र कृति परिचय, शिवकुमार राईको औपन्यासिक प्रवृत्ति, डाकबङ्गलाको संक्षिप्त कथावस्तु, डाकबङ्गलाको औपन्यासिक संरचना स्वरूप, डाकबङ्गलाको औपन्यासिक मूलमर्म र सन्दर्भ, डाकबङ्गलाको वस्तुविधान तथा वस्तुविधानगत ढाँचा, डाकबङ्गलाको पात्र-विधान, पात्र-प्रयोग परिपाटी र विश्लेषणका आधारहरू, डाकबङ्गलामा पात्रको चरित्र-चित्रण पद्धति, डाकबङ्गलाको शिल्प-संरचनागत स्वरूप, डाकबङ्गला उपन्यासको परिवेश-विधान, डाकबङ्गलामा भाव-परिमण्डल, काल-चेतना(काल प्रयोग), प्रतीक र विम्ब-विधान, दृष्टिबिन्दुको प्रयोग(कथन पद्धति), अर्थ सापेक्ष र कथा रेखा, प्रयुक्त भाषिक-शिल्प(रूपविन्यास), प्रयुक्त अनुकरणात्मक शब्द, प्रयुक्त स्थान नामिक शब्दहरू,आगन्तुक शब्द-प्रयोग, प्रयुक्त अङ्ग्रेजी मूलका केही शब्दहरू फारसी, अरबी, उर्दू, बङ्गला, पोर्तुगाली, हिन्दी, मैथिली आदि भाषाबाट आएका आगन्तुक शब्दहरू, प्रयुक्त संस्कृत शब्दहरू, लोक प्रचलित कथ्य शब्दहरू, ठेट नेपाली शब्दहरू, उखान-टुक्काको प्रयोग, निपातको प्रयोग, उपमा र अलङ्कारको प्रयोग, कवितात्मक-आलङ्कारिक भाषा एवम् अनुप्रासको प्रयोग, सुक्तिको प्रयोग र निष्कर्षण एवम् मूल्याङ्कन समेटेका छन्। उपर्युक्त सम्पूर्ण उप-शीर्षकले डाकबङ्गला उपन्यासको वस्तु र शिल्प पक्षलाई खोतल-खातल पार्न सक्षम भएका छन्। व्याकरणिक दृष्टिकोणबाट पनि यस उपन्यास सशक्त रहेको छ भन्ने तथ्यलाई समालोचक डा. छेत्रीले विशेष ध्यानमा राखेका छन्। डा.राजकुमार छेत्रीले अझ स्पष्टीकरण दिनका निम्ति रूपनारायण सिंहको भ्रमर उपन्यास र लैनसिंह वाङदेलको मुलुक बाहिर उपन्याससगँ कताकता तुलनात्मक दृष्टिकोणले उभ्याएका छन्।

भारतेली नेपाली कथायात्राः सन्दर्भ र अवलोकन शीर्षक लेखमा समालोचक राजकुमार छेत्रीले भारतेली नेपाली कथासाहित्यको इतिहास स्पष्ट गरिदिएका छन्। यसमा पूर्णतः कथागत प्रवृत्ति, मुख्य-मुख्य धारा आदिलाई समेटेको देखिन्छ। हुन् त यो वृहत् शोध-अनुसन्धानको विषय हो। डा. छेत्रीले विशेष गरेर सन् १९२६ देखि सन् २०१० सम्म प्रकाशित कथाकृतिको जानकारी गराएर भारतीय नेपाली कथा साहित्यको इतिहासलाई जगेरा गर्ने कार्य गरेका छन्।

समालोचक राजकुमार छेत्रीका गतिला दुइवटा समालोचनात्मक पुस्तकहरूले भारतीय नेपाली समालोचना क्षेत्रलाई फराकिलो बनाउने कार्य गरेका छन्। प्रथममा सिर्जनाको समावलोकन समालोचनात्मक ग्रन्थमा समकालीन भारतीय नेपाली कथाका प्रवृत्तिहरू लगायत विभिन्न कथाकारका कथाकारिता आदिको विश्लेषणात्मक अध्ययन र मूल्याङ्कन गरिएको छ भने महाकवि देवकोटाका कथामा बाल मनोविज्ञान केलाएर उत्कृष्ट कार्य गरेका छन्। इन्द्रबहादुर राईको विपना कतिपय कथासङ्ग्रहमा विस्तृतताको खाँचो देखिन्छ। हुन् त सिर्जनाको समावलोकनदेखि अवलोकन अवबोधनसम्म आइपुग्दा समालोचक राजकुमार छेत्रीले विस्तृत अध्ययन-अनुशीलनतिर ध्यान दिएको देखिन्छ। भूमिकामा डा. मोहन पी दाहालले राजकुमारको रोमन्थ र मेरो टोकसो-मा यस प्रकार लेख्छन्-‘पहिलोमा नेपाली कथा साहित्यको विस्तृत अध्ययन-विश्लेषण गरिएको छ र दोस्रोले चाहिँ नेपाली समालोचना- समालोचक र समीक्षाको क्षेत्रमा प्रवेश गरेको छ।’ स्तरीय भाषाशैलीमा लेखिएका यी समालोचनात्मक पुस्तकहरू नेपाली साहित्यमा शोध गर्ने शोधार्थीहरूको निम्ति अत्यन्त उपयोगी देखिन्छ। स्नातक र स्नातकोत्तर नेपाली विद्यार्थीहरूलाई पनि विशेष महत्वपूर्ण भइदिएको छ। पुस्तकको शीर्षकले अनुप्रास अलङ्कारले स्थान पाएकोमा सौन्दर्य र गहनता बढेको छ। भविष्यमा पनि डा. राजकुमार छेत्रीबाट अझ यस्तै गहन समालोचनात्मक पुस्तकहरूको आशा गर्न सकिन्छ।

सुकुना सिलगढी

प्रकाशित मिति : प्रकाशन मिति : आईतबार, 20 मङ्गसीर, 2072

लेखकका अन्य रचनाहरु