साइकल

- पेशल आचार्य

उसलाई हाइड्रोसिल भएछ । कथा यति हो ।
दिनमानले एउटा पुरानो एभोन साइकल चलाएको करिब बीस वर्ष भैसक्यो । ऊ जब हुलाकमा हुलाकी थियो त्यसबेलामा उसले थुकतेल गरी साइकल जोडेको थियो । तीस÷पैँतीस सालतिरको तराईको त्यो समयमा साइकलले औसत मानिसको राम्रै सामाजिक मर्यादाको पगरी गुतेको थियो ।
दिनमान बिहानै आफ्नो साइकलमा चढेर एक फन्को गाँउ घुम्थ्यो । उसलाई अफिस जान, हाटबजार पुगेर आउँन अनि खेतबारीसम्म पुग्ने साधन पनि त्यही साइकल थियो । तराईमा साइकलले गर्न नसकिने कुनै सानोतिनो काम हुँदैनन् । मिल जान होस् या घाँसपराल बोक्न साइकलले उधुमै मद्दत गर्छ । कहिलेकाहीँ साइकलको मद्दतलाई ऊ यसरी धन्यवाद दिन्थ्यो –‘यो मेरो जेठो छोरो हो ।’
अर्थात् जसरी बूढोहुँदै गएको बाबुलाई उसका छोराछोरीहरूले आफूले सकेका कामहरू मद्दत गर्दै सघाउँन थाल्थे त्यसैगरी त्यो निर्जीव यन्त्र पनि दिनमानको घरधन्दाको हितैसी मित्रझैँ बनेको थियो ।
एक हिँउद उसको साइकल चोरी भयो । ऊ पुलिस कहाँ गयो । पुलिसले साइलकको नम्बर र हुलिया जाहेरी दिनमानसँग माग्यो । उसले जाहेरी त दियो तर उसलाई आफ्नै साइकलको नम्बर भने थाहा थिएन अथवा भनौ कमसम पढेलेखेको दिनमानलाई साइकलमा पनि मोटरसाइकलमा झैँ नम्बर हुन्छ भन्ने ज्ञान रहेनछ । पुलिसकै सामु उसले प्रश्न ग¥यो –‘मैले दस वर्ष भयो साइकल हाँकेको, काँ हुन्छ यसमा नम्बर ?’ प्रत्युत्तरमा जुँगे हल्दार कड्कियो । ‘जान्नुसुन्नु केही छैन । जाबो हल्कारामा जागिर खानु छ, पढने बेलामा गुच्चा खेलेर बसिस् अहिले साइकलमा काँ हुन्छ नम्बर पो भन्छ ।’
‘मलाई नम्बरसम्बर केही था’छैन । मेरो साइकल तुरुन्त खोजी देऊ ।’ यति भुत्भुताउँदै ऊ हातमा खैनी माड्दै घरतर्फ लाग्यो । यत्तिकैमा उसलाई असइसाबले बोलायो –‘रे दिनु ! पखपख म तेरो साइकल खोजेर ल्याइदिन्छु ।’ छेवैमा असइसाब आएपछि ऊ टक्क रोकियो र असइको आँखामा पुलुक्क हे¥यो । उसले साबका आँखामा भरोसाको टेको देख्यो र भन्यो –‘साब, त्यो साइकल मेरो साधन मात्र नभएर छोरो हो, छोरो ।’ दिनमान खैनीको नस उडाउँन लाग्दै थियो साबले उसको खैनी माग्यो । भएभरको खैनी उसले साबलाई दियो र हत्केलामा रहेको खैनीको नस नाकमा हालेर जसरी घरबाट निराशा लिएर पुलिसकहाँ आएको थियो उसैगरी घरतर्फ पाइला चाल्यो । उसको मनमनले भनिरहेको थियो –‘साला पुलिस, चोराउने पनि यिनै अनि भेटाइदिने पनि यिनै ।’
ं ं ं
दिनमानको साइकल हराएको हरायै भयो ।
उसले बर्खदिनसम्म साइकलको पाइडलमा आफ्ना खुट्टा हाल्न पाएन । गाउँघरमा थुप्रै छिमेकीका साइकल त थिए तर ती सबै आफ्नै कामका लागि थिए । मरौपरौ पर्दाभन्दा अघिपघि कसैले कसैलाई साइकल छुनसम्म दिँदैनथे ।
रिनपान र अफिसको हाकिमलाई भन्दाभन्दा उसले फेरि एउटा हर्कुलस साइकल पायो । यसपटक उसको साइकलमा अधिया हक थियो । आधा आफ्नो गाँस काटेको पैसा परेको थियो भने आधाचाहिँ अफिसले सहयोग गरेको थियो । अफिसको पैसा हाकिमले उसलाई दिइएको तजबिजी अधिकार प्रयोग गरी अफिसको फण्डबाट दिदिएको थियो ।
अब दिनमानले हाकिमको पनि केही सानातिना काम गरिदिनु पथ्र्यो । पहिलेभन्दा ऊ अब साइकलमा धेरै कुद्न थाल्यो । चिठी बुझाऊ । हाकिमकहाँ धाऊ । हाटबजार भ्याऊ । खेतीकिसानी भ्याऊ । ऊ साइकलमा अब गल्न थाल्यो । तैपनि उसले हार खाएन । साइकल पुरानिदै गए पनि ऊ भने नयाँ जोशका साथ पाइडल पेली रहन्थ्यो । चुँईचुँई ! चुँईचुँई !!
दिनमान अचेल बिरामी भएर घरै बसेको छ । उसलाई निकै दिनदेखि ढाड दुख्ने बिमारले छोपेको छ । उसले गाउँमा कताकति सुनेको पनि छ –‘ढाड दुःख्ने बिमार यसैगरी भैरह्यो भने एक दिन उसलाई क्यान्सर हुन्छ रे !’ दिनमान डरायो । एकदिन सरकारी अस्पताल गयो । उसले अस्पतालमा देख्यो । ऊ र ऊजस्ता थुप्रै अनेकथरि रोगीहरू अस्पतालमा आएका छन् –रोग निको पार्न । तर उसलाई त के लाग्यो भने, ऊ होइन अस्पताल पो रोगी छ । तराईको गर्मी ठाउँ, बर्खामासको सिजनमा अस्पतालमा खुट्टा हाल्ने ठाउँ थिएन । त्यो त सोमबारे हाटको माछा बजारजस्तो थियो । तराईमा माछा बजारलाई मछ्ली हट्टी भनिन्छ । माछा बजारमा जतिको हल्लाखल्ला हाटमै पनि अन्त कहीँ हुँदैन । ऊ पुर्जी बनाएर लाम लाग्यो । साउँ अक्षरसम्म खारेको दिनमानलाई बहिरङ्ग विभाग कुन हो भन्ने बुझ्न त्यति हम्मेहम्मे परेन । एकदुईतीनचार गरी लस्करैकोठा नम्बर लेखिएका बिरामी जाँच्ने कोठाहरू थिए । ऊ ढिला पुगेकाले उसले चार नम्बरको कोठामा जानुपर्ने आदेश पुर्जी काट्ने कर्मचारीबाट पायो ।
अस्पतालमा बिरामीको लर्को यति लामो थियो कि त्यो बिरामीको लाम हो वा तिजछेक किराना पसलमा चिनी र तेल किन्नेहरूको लाम हो । छुट्याउँन सकिदैँनथ्यो । ऊ कटक्क ढाड दुःखेर सिमेन्टीको चिसो भुइँमा चप्पल ओच्छ्याएर थचक्क बस्यो । गोजीबाट सुर्ती झिकेर चुना मिसाई माड्न थाल्यो । खैनी तयार भयो । उसले गाउँकै रतिदेवलाई आफ्नो लाइनमा पनि पालो बसिदिने भनेर सुर्ती माड्न लागेको थियो । अस्पताल बाहिर निस्केर सुर्ती मुखमा हाल्न के आँट्दै थियो उसको आँखा एक्कासी झिमिक्क पनि नगरी हेरेकोहे¥यै भए । उसले देख्यो बाहिरपट्टि साइकल स्ट्याण्डमा उसको पहिलाको हराएको एभोन साइकलमा अस्तिनै पुलिस अफिसमा उसले खैनी ख्वाएको असइ साबनै चढेर आएका थिए । ऊ चकित भयो अनि भित्र पस्यो । ढोकाको पालले उसको नाम बोलायो –‘दिनमान गुर्मछान ।’
‘हजुर ।’
ऊ भित्र पस्यो । डाक्टरले उसलाई सोध्यो, छोयो, जाँच्यो अनि भन्यो –‘तिम्रो हाइड्रोसिल बिग्रन आँटेजस्तो छ । तुरुन्तै यसको अप्रेसन गरेनौ भने यसले तिमीलाई दुःख दिनसक्छ ।’
हाइड्रोसिलको कथा यति नै हो तर उसको क्षमताको भने कथा सकिँदैन ।
उसलाई त्यो पुरानो साइकलको यात्रा नगरी सुखै छैन । तराईको गाउँदेहातमा बस्ने एउटा समान्य हुलाकीले साइकलको सवारी नलिई चिठीपत्रहरू बाँड्न पनि असम्भव । उसले मनमनै साइकललाई ‘धन्यवाद’ र ‘गाली’ एकैपटक दियो । धन्यवाद यसकारणले दियो कि उसलाई जागिरमा मद्दत गर्ने साइकल हो र गाली यस मानेमा दियो कि साइकलकै कारणबाट आज उसलाई त्यस्तो रोग भयो जसको कारणले उसले अप्रेसन ग¥यो भने ऊ भविष्यमा बच्चाको बाउ हुने सम्भावनामा पूणविराम नै लाग्थ्यो ।
उसले साइकललाई नजिकै ल्याएर जोडले पाइडल घुमाएर त्यसको गतिशील भएको पाङ्ग्रामा हेरिरह्यो । अपलक । 𞉀 𞉀


महालक्ष्मी नगरपालिका –१०
हाल ः सहायक प्राचार्य, मन्थली उमावि, मन्थली रामेछाप ।

प्रकाशित मिति : प्रकाशन मिति : आईतबार, 20 मङ्गसीर, 2072

लेखकका अन्य रचनाहरु