विप्रेषणका पीडा बोकेका कथा: "कमरेड भाउजू"

- कृष्णप्रसाद भण्डारी

जीवनका भोगाइ नै कथा हो भन्ने आत्मकथ्यबाट सुरु गरिएको कमरेड भाउजुु डायोस्पोरिक कथासंग्रह हो । कथाकार कृष्ण बजगाईंको यो पाँचौँ सिर्जनाभित्र लामो समय विदेश बस्दा जन्मस्थानसँग प्रत्यक्ष सम्बन्ध विच्छेद भए पनि मुलुकसँगको नाता कुनै न कुनै माध्यमले जोडिरहेको हुन्छ भन्ने अनुभव सँगालिएको छ । तन परदेशमा रहे पनि मन घरदेशमा भौंतारिरहेको हुन्छ यो तथ्य सबै विप्रेषकमा लागु हुन्छ । १५ वर्षभन्दा बढी कालखण्ड विदेशी माटोमा बिताएपछि त्यहींको वातावरण र केही पात्रलाई प्रेरणास्रोत बनाई लेखिएको प्रस्तुत कथासंग्रहमा वैदेशिक रोजगारीमा जाने नेपालीका समस्या र घटनामा कथानक घुमेको देखिन्छ । यसभित्र डायोस्पोरिक परिवेशका १३ वटा कथा संंकलित छन् ।

कथासंग्रहकै न्वारानको नाम पाएको कमरेड भाउजुश्रीमान् कम्युनिस्ट भएकै नाताले सबैकी भाउजु बन्न पुग्छिन् । उनका श्रीमान् धर्मप्रसाद पार्टीले कारबाही गरेपछि निलम्बनमा पर्छन् नक्कली कम्युनिस्टको आरोप लागेर, कारण थियो कर्मकाण्डी बाहुनको रुपमा दोस्रो परिचय बनाएकाले । लोग्नेको विरासतबाट पाएको पगरी कमरेड भाउजु उनका लागि घाँडो बनिसकेको थियो, उनी यो सम्बोधनबाट परिचित हुन चाहन्नथिन् । मानिसले कसैलाई सित्तैंमा दिनसक्ने कुनै वस्तु छ भने त्यो मुस्कान हो भन्दै सञ्चारक्षेत्रमा काम गर्ने एउटी महिलाले मुस्कानकै बलमा जागिरमा टिकेको खुलस्त पारेकी छन् । मिडियामा महिलालाई काम गर्न जोखिम छ अनि मान्छेलाई पथभ्रष्ट बनाउने भनेको नै आइमाई, रक्सी र अवैध कमाइ अर्थात् पैसा हुन् भन्ने सत्य उद्घाटन भएको कथा हो मिडिया मुस्कान । तीनथरीको मुस्कानले टेलिभिजनका दृश्यसम्पादकलाई ऊर्जा थपिएको अनुभव हुन्छ । सीप नभएको मान्छेले मन नपरेको काम गर्दिनँ भनेर बाँच्न सकिन्न विदेशमा । नक्कली लोग्नेस्वास्नीको नाटक मञ्चन गरेपछि मात्र विदेश जाने सिँढी उक्लिन सकिन्छ । सात हजार युरोमा साटिएर सक्कली श्रीमतीसँग सम्बन्धविच्छेद गरेको कागज देखाएर मात्र काम पाएको, कुकुरको रेखदेख गर्ने, नुहाउने, घुमाउने, खुवाउने अनि कुकुरभन्दा तल्लो श्रेणीको जिन्दगी बाँचेको मर्मस्पर्शी कथा हो तेस्रो कुकुर ।

साहित्यका नाममा व्यापार गर्न त विदेशमै बस्नुपर्ने रहेछ, त्यहाँ त डलरमै एकमुुष्ट कमाइ हुने रहेछ भन्ने लोभलाग्दो कथानकसँगै समावेशी र भागबन्डाको संस्कृतिले सखाप पारेको वर्तमान नेपालको चित्र उतारिएको अर्काे कथा हो मंगलग्रहमा देवकोटाको सालिक । सत्र वर्षमा पाँच दर्जन काम परिवर्तन गरिसकेकी एउटी महिलाले परिवर्तन गर्न बाँकी लोग्ने मात्र हो भन्ने यथार्थ पस्कँदै भाँडा माझ्ने कामबाट प्रमोशन हुँदै सेफकुक हुँदा उसका लोग्नेको आधा कपाल झरिसकेको बयान दिने कथा हो लोग्ने र अस्थायी शत्रु । विलासिताले मानिसलाई पैसाको दास बनाउँछ, अमित र सावित्रीको महत्वाकांक्षाको नतिजा चतुरेको चर्तिकलाले फाइदा उठाउँदा दिवास्वप्न झैं छर्लंग हुन्छ । जब पाकिस्तानी महिलासित नाटकीय विवाहको मञ्चन गरेपछि सावित्रीका सबै योजना र सपना क्षणभरमा माटोमा मिल्छ, यस्तो अपत्यारिलो घटनाले भरिएको कथा हो चौथो विवाह । लोग्ने वास्तवमा बच्चा जन्माउन मात्र चाहिंदा रहेछन् अरु बेला आवश्यकता परे लोग्नमानिस भेटिहालिन्छ भन्ने मानसिकता पनि छताछुल्ल भएको डायस्पोरिक वृत्तान्त कमरेड भाउजुमा देख्न सकिन्छ । समग्रमा यस कथासंग्रहलाई विप्रेषणका पीडा बोकेका कथा भन्न सकिन्छ ।

पुस्तक : कमरेड भाउजू
कथाकार : कृष्ण बजगाईं
प्रकाशक : शब्दार्थ प्रकाशन काठमाडौं
सस्करण : प्रथम, २०७१ पुस
पृष्ठसंख्या : १२४
मोल : ने. रु. १७५, अमेरिकी डलर ५

प्रकाशित मिति : प्रकाशन मिति : शुक्रबार, 11 मङ्गसीर, 2072

लेखकका अन्य रचनाहरु