हस्तक्षेपको पृष्ठ ३ पढेपछि : प्रतिक्रिया-१

- प्रा. देवचन्द्र सुब्बा

यो संवादको युग हो।तर संवाद कससित गर्ने ? कसरी र कहाँ गर्ने? कुन विषयमा गर्ने र किन गर्ने ? भन्ने प्रश्नहरू पनि उत्तिकै तेर्सिएर बसेका छन्।संवाद भनेको बोल्नु मात्रै होइन सुनेर, बुझेर बोल्नु र अरूको पनि सुन्दा संवाद सिर्जना हुन्छ।यसलाई अवकासको आवश्यकता पर्दछ र यसले अवकास निर्माण पनि गर्दछ।जाँगरिला भारतीय युवाहरूका संवादको मञ्च हस्तक्षेप बनेर आएको छ।यसमा संवाद गर्ने अवकास पनि छन् तर यसले अवकास निर्माण गर्छ वा गर्दैन त्यो यति चाडै भनिहाल्न मिल्दैन।समाजको समाजबाट र समाजलाई हस्तक्षेप- भन्ने मूल मन्त्र पक्रिएको यसले कहाँदेखिको कहाँसम्मको समाजलाई हस्तक्षेप गर्ने त्यो प्रश्न उदाङ्गो छ।सन् २०१५ अगस्तबाट थालनी गरिएको हस्तक्षेप अभियानको वर्ष १ अङ्क १ मा हस्तक्षेप प्रस्तावना-१ भनेर राखिएको छ।यसको तात्पर्य २-३-४ हुँदै अन्य प्रस्तावना आउने सम्भावना छ।पहिलो प्रस्तावनामा यसका तत्त्वहरूको चर्च गरिएका छन्।‘हस्तक्षेप लेखनले अभिव्यक्तिको नयाँ भाषा, नयाँ बाग्धारा, नयाँ मूडको प्रस्तावना गरेको छ।यसमा लोकलबज एउटा मुख्य तत्त्व हो।त्यसपछि यथार्थीय एप्रोच, वस्तुवादी आदर्श, ऐतिहासिक चैतन्य, व्यावहारिक दार्शिनकता, घुलनशील वैचारिकता, प्रस्तुतिको काँचोपन, लचिलो संरचना र उत्पीडित सौन्दर्यमान वाञ्चित तत्त्व हुन्’-भनेर गहन शब्द विन्यासको सङ्ग्रह गरिएको छ।सुन्दा बौद्धिक लाग्ने, यथार्थ लाग्ने, ठुलो लाग्ने यी तत्त्वका पछाडि रहेको अभिप्राय एउटै देखिन्छ।भाषा रूप हो, सङ्केत वा प्रतीक हो।यसको ध्वनि ठुलो हुनसक्छ तर प्रयोजन मिलेन भने गुणीभूतव्यङ्ग्य मात्र हुन्छ।हस्तक्षेपले लोकलबज-लाई मुख्य तत्त्व मानेको छ।लोकलबज के हो? साधारणतः लोकले बोल्ने भाषा लोकलबज हो।तर लोक के हो? भन्ने प्रश्न नै लोकसाहित्यमा सबैभन्दा ठुलो समस्या छ।आजलाई लोक मान्ने की बितेकालाई लोक मान्ने? अबका चार-पाँचसय वर्षपछि आउने पुस्ताहरूका लागि हामी लोक हुन्छौँ, हाम्रालागि बराजुहरू लोक थिए।भूत हुँदै गरेको वर्तमान र वर्तमान हुन आउँदै गरेको भविष्य पनि लोक नै हो।कुन लोकमा चल्ने लबज हस्तक्षेपको मुख्य तत्त्व हो? यो प्रश्न पनि तेर्सिन्छ।तर यस पत्रिकामा प्रयुक्त भाषा वा लबजलाई अध्ययन गर्दा भूत हुँदै गरेको वर्तमान र वर्तमान हुन आउँदै गरेको भविष्य-का लबजहरू हुन् भन्ने बुझिन्छ।जसलाई भाषा विज्ञानमा कोडमिश्रण भनिन्छ।यसलाई फ्युजन ल्याङ्ग्वेज पनि भन्न सकिन्छ।यस भाषाको अनुशासन हुँदैन।प्रयोग गर्न नजाने अर्थको अनर्थ पनि हुनसक्छ।हस्तक्षेप लेखनले अभिव्यक्तिको नयाँ भाषा, नयाँ बाग्धारा, नयाँ मूडको प्रस्तावना राखेको छ।यसमा पनि प्रश्न के तेर्सिन्छ भने के को अभिव्यक्ति, विचारको? ज्ञानको ? शोषण ? भावको? कि अनुभूतिको अभिव्यक्ति ? विचार, ज्ञान, शोषण आदिलाई अभिव्यक्ति दिन भाषा उस्तै हुन्छ तर शैलीमा नवीनता हुनसक्छ।तर भाव र अनुभूति कुनै पनि भाषाले अभिव्यक्ति दिन सक्तैन।कविहरू कवितामा भन्न खोजेका कुरा ठ्याक भन्न नसक्ता नै प्रतीक, विम्ब, मिथ आदिको प्रयोग गर्छन् र पाठकलाई छक्याउँछन्।अनुभूत सोझै भाषा व्यक्त हुनसक्ने भएको भए साहित्य साहित्य नै नहुने हो।त्यसैले हस्तक्षेपले अभिव्यक्तिको नयाँ शैलीलाई पक्रेको छ एकप्रकारले विचलन (?)।त्यसपछिका वाञ्छित तत्त्वहरू जस्तै यथार्थीय एप्रोच, वस्तुवादी आदर्श, ऐतिहासिक चैतन्य, व्यावहारिक दार्शनिकता, घुलनशील वैचारिकता, प्रस्तुतिकरणको काँचोपन, लचिलो संरचना, उत्पीडित सौन्दर्य शब्दको मायाजाल मात्र हो यसको आन्तरिक आभिप्राय एउटै छ।त्यो हो ‘वर्तमानमा लेख्नु’।वर्तमानमा लेख्नु भनेको वर्तमानलाई लेख्नु भन्ने होइन।वर्तमान दृष्टिले भूत र भविष्यलाई कसरी देखेको छ वा देख्छ त्यो वर्तमानमा लेख्नु र लेखेर वर्तमानको अवधारणालाई तोड्नु नै वर्तमानमा लेख्नु हो।यो हस्तक्षेपको आन्तरिक अभिप्राय हो।सोचिएको र सोचेर बनिएको अवधारणा चिन्तन योग्य छ।तर त्यस अवधारणालाई यो लेखनले कहाँसम्म र कतिसम्म पक्रन सक्छ वा सकेको छ यसको मूल्यङ्कन गर्न बाकी नै छ।
हस्तक्षेप तत्त्वहरूपछि केही शीर्षक र त्यसका छोटाछोटा व्याख्या छन्।मूलतः यी हस्तक्षेपका अर्थ वा हस्तक्षेप गर्ने पद्धित हुन्।जसमा प्रतिरोध लेखन, सिर्जनात्मक र वैचारिकता, व्यावहारिक एप्रोच, प्रति-हस्तक्षेप, सामाजिक मनोवैज्ञानिक एप्रोच, काइजे एप्रोच छन्।यसमा प्रतिरोध लेखन र प्रति-हस्तक्षेपमा गहिरो केही फरक छैन।एउटा देब्रे हात हो भने अर्को दाहिने हात हो।दुवैले गर्ने मूलकार्य एउटै छ तर स्थिति र परिस्थिति अलग हुन सक्छ।जस्तै देब्रे हातले गर्ने काम दाहिनेले गर्दैन, दाहिनेले गर्ने काम देब्रेले गर्दैन यो स्थिति र परिस्थितिको फरक हो।तर मूलमा कुनै वस्तु समात्न परे दुवैले एकैचोटि समात्नुपर्छ र मूल कार्य यही नै हो।यी दुईवटामा यस्तै कुरा घटित हुन्छ।प्रतिरोध लेखन, कालबोधविहिन कुरा वा भावुकता, इतिहासप्रतिको असचेतता, भाषिक चातुर्य र अस्वाभाविक लेखनको विरोध अथवा त्यस्ता लेखहरूमा गरिने संवाद हो।साथै व्यक्तिको मानसिकतामा फैलिएको औपनिवेशिक तरङ्ग वा सत्ता (सांस्कृति, राजनैतिक, शैक्षिक, पूञ्जीगत)माथि गरिने हस्तक्षेप हो।त्यसैले घुमाएर हेर्दा प्रति-हस्तक्षेप पनि यही नै हो।यहाँ भाषिक सन्जाल वा चातुर्य प्रष्ट देखिन्छ।त्यसैले कोडमिश्रणमा भाषाको प्रयोग अनुकूल भएन भने सबै हस्तक्षेप हुनसक्छ।प्रति-हस्तक्षेप शीर्षकको छोटो व्याख्याको पहिलो वाक्य यस्तो छ-‘हस्तक्षेप त्यो दार्शनिक उजाड भीरमा फलेको त्यो चिण्डो हो, जुन खस्छै खस्छ।’ यस वाक्यमा प्रयुक्त ‘त्यो’ दर्शक सर्वनाम हो।यहाँ नयाँ बाग्धारा बनाउन खोज्दा अर्थ अलपत्र परेको छ।भिरको चिण्डो उँधो न उँभो भन्ने कथनलाई समातेर निस्केको यस कथनमा विरोधाभास छ।यस वाक्यले त्यो दार्शनिक भिर भनेर कुन दर्शनलाई देखेको हो वा देखाएको हो त्यसको कुनै उत्तर वा सङ्केत छैन।यो सङ्केत सायद भारतीय दर्शन वा अध्यात्म दर्शन अथवा पाश्चात्य दर्शन नै हो कि? किनभने व्यावहारिक दर्शनलाई हस्तक्षेपले स्विकार गरेको छ।हस्तक्षेपीहरूले दर्शनलाई उजाड देख्छन्।दर्शनलाई फोर्न सकेन भने, त्यस ज्ञानलाई पचाउन सकेन भने, वा त्यसको रहस्यलाई बुझ्न सकेन भने त्यो उजाड नै देखिन्छ।तर विरोधाभास के देखिन्छ भने एकतिर दर्शनलाई हस्तक्षेपीहरू उजाड भिर देख्छन् भने अर्कोतिर काइजेन वा जापानको दर्शनलाई स्विकार गर्छन्।तर्सर्थ हस्तक्षेपीहरू दर्शनको मर्म र यसको भाष्यदेखि टाढा छन्।यदि दर्शन उजाड भिर हो भने काइजेनचाहिँ किन हरियाली मैदान भयो।काइजेन जापानको शब्द काइ र जेन मिलेर बनेको छ।काइ भनेको परिवर्तन र जेन भनेको राम्रो हो।राम्रोको लागि परिवर्तन भन्ने अर्थमा जापानका कर्मचारीहरूले यस शब्दलाई प्रयोगमा ल्याएको हो।दोस्रो विश्व युद्धपछि जापानको अर्थ व्यवस्था र औद्योगिक विकासका लागि नयाँ व्यवस्था सुरु गरियो।सन् १९५० देखि काइजेनको अवधारणा लिएर विकास सुरु भयो यसलाई जापनी व्यवस्था पनि भनिन्छ।मासाकी इमाईलाई फारदर अफ् काइजेन भनिन्छ उनले यसलाई जापानको व्यवस्थाको मूल धारणा मानेका छन् साथै जापानी व्यवस्थाको सूत्र पनि भनेका छन्।काइजेनको अवधाराणा जापानी व्यवस्थापकहरूले जापानको प्राचीन परम्परा र संस्कृतिबाट लिएका हुन्।यसले सामुहिक कार्य, प्रत्येक व्यक्तिको विचार ग्रहण गर्दै विमर्श गरी स्विकारोक्ति दिने, निरन्तर विकासको लागि सम्पर्ण भएर समाधान खोज्ने आदि विषयलाई विशेष जोड दिन्छ।काइजनेको अवधारणा जापनामा आएपछि त्यहाँका व्यापार वाणिज्यले धेरै प्रगति गरे।यदि यस दृष्टिकोणलाई हस्तक्षेपीहरूले केन्द्रीय अवधारणा मानेर साहित्यको चिन्तन गर्छन् भने त्यहाँ निश्चय नै विकासको अवकास छ।व्यावहारिक एप्रोच र सामाजिक मनोविज्ञानमा पनि खास भेद देखिँदैन।सामाजिक मनोविज्ञानले व्यक्ति व्यक्तिबिच एकअर्काको संवेग, ज्ञान-विचार र व्यावहारहरूले कसरी प्रभाव पारेको छ वा पार्छ भन्ने विषयको वैज्ञानिक अध्ययन गर्छ।यसले व्यक्तिको गुणावत्तामा सुधार र स्वयंको परिचय स्पष्ट पार्नका लागि व्यक्ति क्षमतामा सुधार हुनुपर्ने विषयमा जोड दिन्छन्।हस्तक्षेपीहरू आजको समाजमा सामाजिक मनोविज्ञानको खाल्डो देख्छन् तर यो गलत हो।समाज एउटै विचारमा गुजुल्टो भएर रहिरहन सक्तैन।नेपाली साहित्य पनि यसरी नै गुजुल्टिएको छ भन्ने तात्पर्य हो भने त्यो देख्नेको दोष हो।किनभने परम्परा र व्यक्तिप्रतिभाले साहित्यको विकास गर्छ भन्ने इलियटको विचार आज पनि अनुसरण गरिँदै आएको छ।परम्परालाई तोड्न हस्तक्षेप गरिएको यहाँ बुझिए तापनि कतै न कतै परम्पराको स्विकारोक्ति यहाँ छ।एकदेखि अर्को, अर्कोदेखि तेस्रो प्रभावित हुँदै नयाँको निर्माण गर्दै नै साहित्यको विकास भइरहेको छ।यहाँ केवल अनुसरणमात्रै भएको छैन्।व्यावहारिक एप्रोच पनि मूलतः यसैमा केन्द्रिन्त हुन्छ। एकतिर हस्तक्षेपले लचिलो संरचनाको संवाद गर्छ भने अर्कोतिर यो पेन्डुलम होइन अथवा यो हस्तक्षेप हल्लिने छैन यो दर्शनको किनारदेखि त्यो किनार भनेर आफैमा विरोधाभास खडा गरेको छ।लचिलो संरचना भनेको अवधारणाको लचिलोपन हो की, लेखन को ? तर हस्तक्षेपीहरूका लेखनमा लचिलो संरचाना पट्टकै छैन।उसो भए अवधारणा वा धारणाको लचिलोपन भनेर बुझ्नुपर्ने हुन्छ।विचार र धारणाको लचिलोपनले नै काइजेन सिद्धान्त अथवा निरन्तर विकासको सम्भव छ।नहल्लिएर एकै ठाउँमा जमेको पानी भएर बसे त्यसको आयु धेर हुँदैन।निरन्तर विकास गतियमान पद्दति हो।हस्तक्षेप नहल्लिएर एकै ठाउँ बसेको भए प्रगतिवादको किनारदेखि काइजेनको किनारमा नहल्लिनुपर्ने हो।यसैले यहाँ कुरा पाकेको छैन।विचार काँचै छ।तर हस्तक्षेपीहरू हस्तक्षेप प्रस्तुतिको काँचोपन हो भनेर स्विकार नै गर्छन्।यसरी काँचो प्रस्तुति अभिव्यक्तिसँगै विचारमा पनि देखिनाले अध्ययनको अन्य पाटो उदाङ्गै छ भन्ने बुझिन्छ।सिर्जनात्मकता र वैचारिकता दुई प्रतिमुखि विषय हुन्।दुधबाट दही बनिन्छ तर दही दुध हुँदैन।यसको गुण, रूप र कार्य अलग हुन्छ उसरी नै विचार र सिर्जना अलग हो।सिर्जना हृदयपक्षसँग सम्बद्ध हुन्छ भने विचार बुद्धिपक्षको क्रिया हो।यसबारे अर्को प्रतिक्रियामा चर्चा गरिने छ।हस्तक्षेप हल्ला होइन यो विचारको हबिगत हो भन्ने ठोकुवा गर्छन् हस्तक्षेपीहरू।यहाँ आएर हस्तक्षेपीहरूको शब्दाडम्बर देखिन्छ।हुन त अज्ञानं आनन्द अनन्तं भनिन्छ अर्थात् अज्ञनताको आनन्दभन्दा अरू ठुलो आनन्द केही छैन।जान्नु ज्ञान हो तर आफुले जानेकै मात्र सत्य हो भन्नु अज्ञानता हो यसमा रमाएर बस्नुको आनन्द साच्चै अनन्तको हुन्छ।हस्तक्षेप हल्ला होइन भन्ने कथनले नै हल्ला गरेको छ।किनभने ‘हबिगत’ शब्दको अर्थ विभिन्न शब्दकोशले यसरी दिएका छन् -प्रयोगात्मक शब्दकोशअनुसार गिर्दो स्थिति, दयनीय अवस्था हालत-बेहाल, एकता वृहत् नेपाली-अङ्ग्रेजी कोशले शक्ति सामर्थ्यसँगै मिसेरेबल कन्डिसन, हेल्पलेस भन्ने अर्थ दिएको छ।नेपाली वृहत् शब्दकोशले पनि यसलाई शक्ति सामर्थ्यसँगै दयनीय अवस्था भन्ने अर्थ दिएको छ।त्यसैले यी दुई अर्थमा यहाँ कुन अर्थ लागउनुपर्ने त्यो निश्चित छैन।शब्दले सन्दर्भमा आएर अर्थ दिँदछ त्यसैले हस्तक्षेपी प्रस्तावनामा प्रयुक्त भाषामा शब्द चयन, वाक्यविन्यास, विचारको सम्पादन, प्रस्तुतिको काँचोपन हेर्दा यसले शक्ति र सामर्थ्यको अर्थ नदिएर गिर्दो स्थिति, गिर्दो अवस्था भन्ने बुझिन्छ।यद्यपि सचेत पाठकको रूपमा हस्तक्षेपीहरूले हस्तक्षेप विचारको शक्ति र सामर्थ्य नै हो भन्ने खोजेको हो भनेर बुझिदिएको छु।त्यसैले शब्दशास्त्र हेर्न र शब्दको प्रयोग र यसले दिने अर्थ कस्तो हुन्छ भन्नेमा हस्तक्षेपीहरू सचेत हुन आवश्यक छ।अध्ययन गरेर लेख्ने लेखकले, सिद्धान्तको उद्धघोषणा गर्ने उद्घघोषकले र औपचारिक लेखनमा अनेकार्थ हुने शब्दहरू होसियारले प्रयोग गर्नुपर्छ नत्र शब्दखेल वा शब्दजाल मात्र हुन्छ।अर्को कुरो हस्तक्षेपीहरू दर्शनलाई उजाड भीर मान्छन्।यद्यपि हस्तक्षेप मार्क्सवादकै साँघुरो दृष्टि लिएर आएको देखिन्छ।मूलतः मार्क्सवाद वा साम्यवाद वा प्रगतिवाद आफैँमा एउटा विशाल दर्शन हो।त्यसका साथै हस्तक्षेपीहरू व्यावहारिक दार्शनिकताको पक्ष लिन्छन्।व्यावहारिक दार्शनिकतालाई विवेकानन्दले व्यावहारिक वेदान्तमा व्याख्या गरिसकेका छन्।प्रेक्टिकल वेदान्त भाग १ मा विवेकानन्द भन्छन् “वेदान्तले हामीलाई कहिले पनि आफैँलाई असहाय सम्झेर अत्यचारीको अगाडि घुटा टेक भन्दैन।यसले आफ्नो शीर खडा गरे बस्नुसिकाउँछ।” दर्शनलाई उजाड भिर मान्ने हस्तक्षेपीहरूले दर्शनको साहारा लिँदै भाषिक विरोधाभाससँगै वैचारिक विरोधाभासमा फसेका छन्।यसका साथै वस्तुवादी आदर्शको कुरा गरेर अझ साटसुटे हुन् पुग्छन्।वस्तुवादी भनेको यथार्थ हो।यथार्थ र आदर्श कसरी एक हुन सक्छ? साहित्यिक लेखन र पठनको वस्तुवादीता आदर्श हुन सक्तैन।वस्तुवादी र आर्दश शब्दको अवधारणाबिच झगडा छ।यसमा निक्कै ध्यान पुर्‍याउनुपर्ने हस्तक्षेपीहरूलाई सुझाउ छ।ऐतिहासिक चैतन्य भनेको इतिहासको ज्ञान हो वा परम्पराको अनुसरण।यसलाई हस्तक्षेपीहरू स्विकार गर्छन् तर मूलमन्त्र समाजको समाजबाट र समाजलाई हस्तक्षेप भनेर परम्परामा हस्तक्षेप गर्छौं पनि भन्छन्।यहाँ कुरा मिल्दैन।समाज व्यक्तिले मात्र बनेको हुँदैन, सत्ताले मात्र बनेको हुँदैन यसमा ऐतिहासिक संरचना पनि हुन्छ।त्यसैले आफ्नो आँखा आफैले कहाँ देख्न सकिन्छ अर्थात् हस्तक्षेपमा बसेर हस्तक्षेपलाई नै कसरी हस्तक्षेप गर्नु।यो अपठ्यारो कुरो हो।अझै विचार गर्नुपर्छ की ? उत्पीडित सौन्दर्यमान अर्थात् उत्पीडितमा सौन्दर्य खोज गर्ने कार्य साहित्यको गुण हो।त्यसैले विचारद्वारा सिर्जना भएको सौन्दर्यलाई स्रष्टाले अनुभूत गरेर प्रतीक विम्ब र मिथको प्रयोग गरी काव्य सिर्जना गर्छ।सौन्दर्य निर्मण नै साहित्यिकता हो।हस्तक्षेपीहरूको यो विचार स्विकार योग्य छ।
अन्तमा, हतार नगरी हस्तक्षेपीहरूले हस्तक्षेप गरेको भए निश्चय नै यसले मानसिकतामा लामो समयदेखि बसेको एउटा रूढलाई मेटाउने प्रयास गर्न सक्थ्यो।हो, हाम्रो मानसिकता र सबैको, हस्तक्षेपीहरूकै पनि मानसिकतामा बसेको ‘त्यो’-लाई यसले भत्काउन सक्थ्यो तर हस्तक्षेपीहरूले स्विकार गरे झैँ यो प्रस्तुतिको काँचोपन मात्र भएको छ।हुन त यो प्रस्तावना -१ हो २-३-४ मा निश्चय नै पाकेका हस्तक्षेपहरू आउन सक्लान् हामी प्रतीक्षा गरौँ।

सिक्किम विश्वविद्यालय
नेपाली विभाग

प्रकाशित मिति : प्रकाशन मिति : शुक्रबार, 4 मङ्गसीर, 2072

लेखकका अन्य रचनाहरु