अमूल्य संस्मरणात्मक ग्रन्थ

- प्रा. डा. तारानाथ शर्मा

अमेरिकामा आमा उपशीर्षकबाट प्रारम्भ भएको प्रशिद्ध कवयित्री–लेखिका श्रीमती भारती गौतमको यो संस्मरणात्मक कृति ससर्ती हेर्दा अमेरिकामा रचनाकत्र्रीले आफ्ना पति डा. शिव गौतम र छोराछोरीसँग तीसतीस वर्षसम्म बिताएका जीवनको व्याख्या हो, विश्लेषण हो । यो कृति गहिरिएर पढ्दै जाँदा हाम्रो आफ्नै मातृभूमि नेपालको र अमेरिकाजस्तो आधुनिक प्रगतिको सर्वोच्च शिखरमा पुगेको राष्ट्रको समेत अति विश्वसनीय परिचय हो भन्ने कुराको पाठकलाई बोध हुन्छ ।
सुसंस्कारयुक्त, सुशिक्षिता तथा मातृभूमिप्रति सद्भावना, स्नेह र समर्पणको पवित्र भावनामा डुबेकी नेपाली आमाका अनुकरणीय र उदाहरणीय व्यवहारहरुका छत्रछायामा अमेरिकाजस्तो विकसित मुलुकका विभिन्न नगरहरुका विद्यालयहरुमा छोराछोरीहरु हुर्केको चित्रण यस कृतिमा औधि प्रशंसनीय र अनुकरणीय छ । एउटा सस्यानो उदाहरणका लागि अमेरिकाको विद्यालयमा पढ्ने छोराको यो प्रश्न कम्ती स्वभाविक र रमाइलो छैन, ‘‘ममी, तपाईं र बुबा मेरो कस्तो बुबाआमा हो ? स्यामुएलको जस्तो ‘रियल’ (साँच्चै) कि जनी र सेराको जस्तो ‘स्टेप’ (सौतेनी) हो ?’’
हुन पनि अमेरिकामा विवाहविच्छेद बढी नै हुन्छ । छोराछोरी आपूmलाई जन्माउने बाबुआमासँग मात्रै बस्न नपाई विवाहविच्छेदपछि बाबु र आमा अर्कैसँग दोस्रो बिहे गरेर सँगै बसेका जोडी समेत बसेका हुन्छन् ।
‘‘तिमीहरु त हामी आफैले जन्माएका सन्तान हौ !’’ भनेर आमाले गर्वसाथ सुनाउँदा छोराछोरी औधि प्रसन्न भएको यहाँ पढ्न पाइन्छ र हामी नेपाली पाठकहरुलाई समेत यस स्थितिमा अत्यन्त आनन्द लाग्दो रहेछ ।
उसरी नै भाषाको विषय पनि रमाइलोसित बयान भएको छ । अङ्ग्रेजीमा हाम्रोजस्तो ‘भ’ हुँदैन ‘भो’ लाई यदाकदा प्रयोग गर्न खोजे पनि त्यो वास्तवमा ‘ब’ हो, हाम्रो ‘भ’ होइन । अनि त नाम सोध्दा लेखिकाले ‘मेरो नाम भारती हो’ भनेर लेखेर देखाएको ‘बी’ र ‘एच’ को सङ्गमलाई अमेरिकाका वासिन्दाहरु पटक्कै बुझ्दैनन् र ‘बाराटी’ ‘बहारटी’ ‘भराटी’ ‘बार्टी’ ‘भार्टी’ जस्ता उच्चारण गर्छन् ।
जे होस्, अमेरिकाको यथार्थ चित्र यस ग्रन्थले लेखिकाका सस्याना छोराछोरीसँगको आमाका नित्यजस्तो हुने वार्तालापबाट, व्यवहार र घटनाहरुबाट छर्लङ्ग पारेको छ । लेखिका र उहाँको पतिको र छोराछोरीको पढाइ, पतिको नोकरी र अरु आवश्यक सुविधाहरु पूर्ण गर्दै विभिन्न राज्यहरु र नगरहरुमा सर्नु परेकोले अनेकौँ वासस्थान र डेराहरुको वयान तथा यात्राहरुको चित्रण पनि आकर्षक, ज्ञानबद्र्धक र पढिरहुँजस्ता छन् । पुछारमा लेखिएका श्रीमान् पी एच डी भैसकेपछि उहाँले म्यास्यचुसेट राज्यको बोस्टन नगरस्थित विश्वप्रशिद्ध हार्भड् विश्वविद्यालयमा पढाउने काम पाएकाले बोस्टनमै सरेको वर्णन अति सुन्दर र गर्व गर्न योग्य मान्नुपर्छ ।
त्यति मात्र होइन, आफ्नो मातृभूमि, नेपाली भाषा, आफ्नो परम्परागत संस्कृति र संस्कार एवम् आफ्नो गौरवमय इतिहासलाई प्रोज्वल पार्ने लेखिकाको अथक प्रयास ग्रन्थका हरेकजसो खण्डमा प्रकट भएको छ । उदाहरणका लागि यस कृतिमा अमेरिकाका विभिन्न नगरहरुका वर्णनमा संलग्न हुनुपर्दा पनि यसले लेखिकाको जन्मस्थल धनकुटा र त्यसका रमणीय तथा पवित्र पहाडे गाउँहरु, त्यहाँका अति स्नेहालु नातादारहरु र निस्वार्थ वासिन्दाहरु, विराटनगर र काठमाडौँजस्ता हाम्रा नगरहरु तथा हाम्रा धर्म, नेपाली भाषा र संस्कृतिको अत्यन्त गम्भीर, तर्कपूर्ण र अविस्मरणीय विश्लेषणलाई नै बढी झलमल्ल पारेको छ ।
उपर्युक्त कारणहरुले गर्दा हामी नेपाली पाठकहरुका लागि यो ग्रन्थ पठनीय, अमूल्य र अविस्मरणीय भएको छ ।

हाल ः ह्यूस्टन, टेक्सास, अमेरिका

प्रकाशित मिति : प्रकाशन मिति : शनिवार, 21 कार्तिक, 2072

लेखकका अन्य रचनाहरु