अमेरिकामा नेपाली आमा

- प्रदीप नेपाल

पाण्डुलिपिमै पढ्न पाएको भए म यो उपन्यासको शीर्षक राखिदिने थिएँ – अमेरिकामा नेपाली आमा । तर समय ट¥यो । त्यसैले भारती गौतमले अमेरिकामा आमा भनी राखेको शीर्षकलाई मैले पनि सकारें ।
‘ममी, तपाईँ र बुबा मेरो कस्तो बुबाआमा हो ?’ यो प्रश्नको अर्थ बुझिँदैन सजिलै । तर लेखिकाले जवाफ दिएपछि नेपाली मन चसक्क दुख्छ । ममीको उत्तर हुन्छ, ‘तिमीहरु त हामी आफैँले जन्माएका सन्तान हौ ।’
भारती गौतम सुन्दर भाषामा मनको भाव सम्प्रेषण गर्ने क्षमता भएकी लेखिका हुन् । एउटा कविता सङ्ग्रह र एउटा सँस्मरण अनि दुई सम्पादित ग्रन्थमा कलम चलाई सकेकी भारती गौतमको यो वृहदाकार उपन्यासले अमेरिकालाई नेपालसँग जोडेको छ । उपन्यासकारको मन र उपन्यासकारको आँखाले देखेको भूगोलले दुई गोलाद्र्धका यी असमान मुलुकलाई जोडेको छ । एउटाको शीर्षक छ – नेपालसँग दाँज्न मन लाग्ने भर्मण्ट । अर्को पनि त्यस्तै शीर्षक छ – पाख्रिबास (धनकुटाको एउटा गाउँ) जस्तो स्टील वाटर (अमेरिकाको एउटा बस्ती) । अमेरिकी नागरिक भैसकेकी भारतीले लेख्न सकिनन् भर्मण्ट जस्तो नेपाल अथवा स्टील वाटर जस्तो पाख्रिबास । भारती जहाँ पनि, जहिले पनि पहिले नेपाल देख्छिन्, नेपाल भेट्छिन अनि मात्रै उनको मन वर्तमानको अमेरिकातिर हानिन्छ ।
सन् १९८६ मा अमेरिका छिरेकी भारतीका पति, नेपालमै जन्मिएको र टुकुटुकु हिँडन सक्ने छोरो, काखीमा बोकिरहनु पर्ने छोरी छन् । अमेरिका पुगेपछि जन्मिएको एउटा छोरो जन्मना अमेरिकी नागरिक हुन्छ ।अमेरिका बसाइको तीसौँ वर्ष प्रवेशमा प्रकाशित भएको यो उपन्यासमा, बाबुआमा, छोराछोरी सबै अमेरिकी नागरिक भैसकेका छन् । तर शुरुमै उपन्यासकार लेख्छिन्, ‘मेरा तीन जना छोराछोरी, निमिष, मनिषा र अनुज । मेरो जीवनको परिभाषा उनीहरुविना आरम्भ पनि हुँदैन ।’
अमेरिकी सँस्कारमा हुर्किएका तीनै जना केटाकेटी नागरिक उमेरमा छिरेपछि बाबुआमालाई छोडेर बाटा लाग्छन् । जेठो छोरो र छोरी टाढा छन्, आकासयात्राबाट जाँदा पनि तीन र छ घण्टा लाग्ने ठाउँमा । त्यस्तो बेलामा कान्छो अनुज पनि कलेज पढ्न कनेक्टिक तिर लागेपछि बोस्टन शहरको एउटा कुनोमा भारती सम्झिन थाल्छिन् धनकुटाका गाउँहरु, आपूm हुर्किएको कचिँडे, विराटनगर र काठमाण्डौ । छोरालाई कलेजको छात्रावासमा छोडेर आएपछि उनको मन फर्किन्छ, हजुरआमा, आमा र बा जस्ता अभिभावकतिर । फर्किन्छ उनको यात्रा अतीततिर । यस्तो अतीत जो उनको मनको भित्तामा शताब्दिसम्म नचर्किने ऐना बनेर टाँसिएको छ ।
काठमाण्डौ विमानस्थल छोडेदेखि शङ्का उपशङ्कामा डुबेकी, अधिकतर नकारात्मक परिणामको चिन्तामा डुबेकी भारती अमेरिकी विमानस्थल बाहिर निस्किएपछि ढुक्कले भन्छिन्, ‘पट्यारलाग्दो खडेरी सकिएको (पानी बोकेको) कालो बादलजस्तै शिवजी सामू भएपछि उत्तरदायित्वको मेरो आफ्नै वजन घटेको अनुभव भयो । ढुक्कले, सन्तोषले, हर्षले या यो सबैको प्राप्तिले म सूर्यको अगाडी सूर्यमुखी हुन पुगेँ । हामीले केही नभनी थुप्रै भन्यौँ ।’
कस्तो आनन्द ! तर पाठकले यो प्राप्तिलाई कतै अनुभूत गर्न पाउँदैन । पहिलो हप्ता नबित्दै उनी लेख्छिन्, ‘गाडि लिएर शिवजी आँखाबाट ओझेल भएपछि मेरो मन ढक्क फुल्यो ।’ खुशीमा मन ढक्क फुल्दैन । त्यो भयमा फुल्छ । त्यसैले उनको मन नेपाल फर्किन्छ, ‘...(विश्वका) समाचारलाई टेलिप्रिन्टरबाट गोरखापत्रको अगाडिको पानासम्म पु¥याउने मेरो दैनिकी, (अमेरिका आएपछि) कोठाभित्र दुई बालक छोराछोरीको रेखदेखमा सीमित भएजस्तै यी सबैले खिएर मन पनि आँखा छेउको कोठी जत्रै भएको थियो ।’
अमेरिकाको सुविधाप्राप्त जीवनको चर्चामा पनि भारती नेपालकै पसिनासँग रमाउँछिन् । लुगा धुने बिजुलीको भाँडो (वासिङ मसिन) को प्रसङ्गमा उनी भन्छिन्, ‘साबुनको झोलमा छुपछुप गरेर निचोरेर सङ्लो पानीले पखाल्ने अनि निर्चोने सबै भैसक्दा आपूmले अघि हालेको बाहेक हातले छुनसमेत नपर्ने देख्दा बाले पहिलो पटक फिलिप्सको ट्रान्जिस्टर खोलेपछि त्यहाँबाट आएको ‘साँघुरी वारी नि हौ त्यो धारापानी – गीत सुनेजस्तै मुग्ध भएँ म ।’
अमेरिकामा आमिस भनी चिनिने एउटा समुदाय छ । भौतिक सुखसुविधालाई केही नठान्ने त्यो समुदायसँग भेट गर्न थोरै मात्र जान्छन् । भारती ती थोरैमा पर्छिन् । उनी आमिस समुदायको बस्तीमा पुग्छिन् । तर त्यहाँ पनि नेपालले उनलाई छोडेको हुँदैन । उनी लेख्छिन्, ‘प्रविधिको वरदान अस्वीकार गरी सादा जीवनपद्धतिको चुनौती अङ्गाल्ने आमिस मैले देखेका सन्यासी भन्दा फरक लागेनन् । ... कर्कले कुवा र ठकुरीको पँधेरोमा उघाएको पानी, खोलाको पाइखाना, कोदालाले खनेको बारी, गोरुले जोतेको खेत ... जस्ता व्यक्तिहरुको जीवनपद्धति सुनेरै मात्र पनि घर पुगेजस्तो लागिसकेको थियो । नदेखेका आमिसहरु विगत पाँच वर्षमा देखेका अरु सबैभन्दा आफ्ना लागेको थियो ।’ वाह !
यस्ता सयौँ प्रसङ्गहरु छन् प्रस्तुत उपन्यासमा । जुन पेज पल्टायो कुनै न कुनै कुनामा नेपाल भेटिइहाल्छ । भर्मण्टमा गएपछि त लेखिकाको मन रमाउँछ होला भन्ने लाग्छ । तर आरम्भमै उनी लेख्छिन्, ‘नेपाल पनि यस्तै छ । हरिया रुखहरु, खुल्ला अग्ला डाँडाहरु, गाई गोरु चरिरहेका नागीहरु अनि भुईंबाट उठेका कुहिरोहरु !’
भनिन्छ अमेरिका आप्रवासीहरुको देश हो । अमेरिकामा को पहिले आयो भन्ने विषयमा विवाद छ । यो विवाद मैले सन २००१ मा अमेरिकी सरकारको निम्तो पाएर अमेरिका पुगेको बेला नेब्रास्का राज्यमा सुनेको थिएँ । को पहिलो आगन्तुक हो भन्ने विषयमा विवाद भए पनि अहिले त्यस्तो विवाद छैन किनभने सिङ्गो अमेरिका आप्रवासीको देश हो भनेर अमेरिकीहरुले हामीलाई जानकारी गराएका थिए । उपन्यासमा २००१ को आततायी घटना पछिको चर्चा छ । तर हामीलाई जे सुनाइयो त्यो सही रहेनछ भन्ने ज्ञान पस्किएकी छन् लेखिकाले । लेख्छिन् उनी, ‘फर्किएर आआफ्नो घर जाउ – ममी मलाई आज कसैले भन्यो । ... मेरो घर यही हैन र ?’
कति नेपालीले अमेरिकाको ‘नाइन इलेभेन’ घटनापछि यस्तो अभियोग खेप्नु प¥यो होला ! प्रश्न गर्ने कान्छो छोरो जन्मना अमेरिकी नागरिक हो । तर पनि अमेरिका उसको घर हुन सकेन । त्यसैले ‘नाइन इलेभेन’ को घटनापछि अमेरिका आप्रवासीहरुको बस्ती रहेन ।
भारती गौतमको मनको पीडा मात्र पोखिएको छैन उपन्यासमा । आरम्भको समर्पणमै यसको छनक पाइन्छ । भारती लेख्छिन्, ‘मेरा जीवनसाथी शिव गौतमप्रति, जसका कारण यो रोमाञ्चकारी अभूतपूर्व यात्र सम्भव भयो ।’
सजिलै डलरको खेती गर्न सकिँदो रहेनछ अमेरिकामा भन्ने राम्रो ज्ञान दिने पुस्तक हो अमेरिकामा आमा ।

पुस्तकः अमेरिकामा आमा
लेखकः भारती गौतम
प्रकाशकः शब्दार्थ प्रकाशन, २०७२ साउन
पृष्ठः ४९६
मूल्यः ७५०।–

प्रकाशित मिति : प्रकाशन मिति : सोमबार, 16 कार्तिक, 2072

लेखकका अन्य रचनाहरु