जेब्राक्रसमा एउटा कुकुर

- विप्लव प्रतीक

म हेरिरहेछु
एउटा साँगुरो सडक छ
र लुतो लागेको एउटा मायालाग्दो भुस्याहा कुकुर
बाटो काट्न
कहिले दाहिने खुट्टा अगाडि
कहिले पछाडि सार्दै छ ।

जथाभावी घ्याच्च रोकिँदै पाँपाँपुँपुँ हर्न ठोक्दै हुइँकिने
सेता र फिक्का हरिया रङका माइक्रोबस,
आँधीझैँ बग्ने ठूल्ठूला बस
मन्त्रालय, कूटनीतिज्ञ र आइएनजिओका अजंगका रथहरू
अनि खहरेझैँ आँखा चिम्लेर
फुटपाथबाट हान्निएर
गाडीको बोनट छेउबाट छड्के छिर्दै,
सडकको बीचमा सर्कस गर्ने
रंगीचंगी बाइकहरू कहिले रोकिएलान्
र बाटोको जँघार तरूँला भनी
पर्खिरहेछ कुकुर ।
चुरोटको लामो सर्को
तानिरहेछ गाडीभित्र गुरुजी
धुवाँ खाइरहेछन् यात्री,
अपशब्द बोलिरहेछ खलाँसी
शिर निहुर्‍याएर सुनिरहेछन्
कुण्ठित भलाद्मी र अपमानित नारीहरू
केही देखिरहेको र सुनिरहेको छैन कुकुरले
ऊ त बाटो काट्न
कहिले दाहिने खुट्टा अगाडि
कहिले पछाडि सार्दै छ ।

ट्रक टेर्दैन बसलाई
बस टेर्दैन गाडीलाई
गाडी टेर्दैन बाइकलाई
बाइक टेर्दैन साइकललाई
साइकल टेर्दैन पदयात्रीलाई
सबलाई अगाडि बढ्नु छ
मानौँ रोकिन चाँहदैनन् कोही
अथवा धैर्य छँदै छैन कसैसँग ।
एम्बुलेन्स चौबाटोमा छेकिएको छ,
बिरामी लिँदै छ अन्तिम सास सडक बीचमै,
दमकल बीचबाटैमा रोकिएको ,
आगो ह्वारह्वार लागिरहेछ नजिकैको टोलमा,
के गरोस् बरा त्यो कुकुर !
उसँग समस्याको कुनै समाधान छैन,
ऊ त बाटोको पल्लोछेउ जान
मात्र खुट्टा उचाल्दै बिसाइरहेछ ।

आन्दोलन गर्न, जाम गर्न
बिहे गर्न, परेड खेल्न
महँगी घटाउन, माँग पूरा गर्न
माया साट्न, पसल खोल्न
घर फर्किन, घर पुग्न
सडक बनेको छ, कार्यालय वा आँगन सबैको,
हो, गति छ सडकमा
तर, कहिले न कहिले त रोकिएला त्यो बेग
अनि काट्न पाउँला बाटो भनी त्यो कुकुर
कहिले दाहिने खुट्टा अगाडि
कहिले पछाडि सार्दै छ ।

वन-वेमा अचेल साइकल होइन
मिनिटाटासमेत टु-वेको सुविधा लिन्छ
ट्राफिक चासो राख्दैन,
उसँग सिट्ठी छ, बर्दी छ
र इशारा गर्ने हात मात्र छ
ऊ सरकार र राजाको गाडी सवारी हुँदा
मात्र बाटो मिलाउँछ,
कसले चासो लिएको छ, कानुनको
कसले चासो लिएको छ, त्यसलाई लागू गर्न
र उसले बिचरा चासो लेओस् सोह्रै घन्टा
सेकिएर घाम, पानी र चिसोमा !
कुकुरलाई यसबारे पनि चासो छैन
ऊ त बाटो काट्न पाइएला कि भनी
कहिले दाहिने खुट्टा अगाडि
कहिले पछाडि सार्दै छ ।

सडक छ र त मार्ग छन्
मार्ग छन् र त लक्ष्य छन्
लक्ष्य छन् र त सवारी छन्,
बाटो तर्नेहरू पनि छन्
बाटो काट्नेहरू पनि छन्
छैन भने सके संयम छैन,
छैन भने बरु अरूको सम्मान गर्ने संस्कार पनि छैन,
कोही त होला जसले अरूको सम्मान गर्ला
कसैले त कसैलाई अगाडि जान देला
कोही त होला जो पर्खला पालो
यही सोचेर वा नसोची
पर्खिरहेछ कुकुर धेरैबेरदेखि
र म देखिरहेछु
दायाँबायाँ हेर्दै त्यो कुकुर
कहिले दाहिने खुट्टा अगाडि
कहिले पछाडि सार्दै छ ।

प्रकाशित मिति : प्रकाशन मिति : शुक्रबार, 17 जेठ, 2065

लेखकका अन्य रचनाहरु