नन्द हाँगखिमको अभिषेक नाटकको कृतिपरक अध्ययन

- नवीन पौड्याल

१.आमुख
नेपाली साहित्यमा नन्द हाँगखिम एउटा आदरनीय नाम हो। उनी निरन्तर रूपमा साहित्य लेखनमा संलग्न रहेका छन्। आजसम्म उनले नेपाली साहित्यरूपी बगैंचामा राम्रा राम्रा फूलहरू चढाएका छन्। उनी एक विशिष्ट नाटककार, कथाकार, कवि, उपन्यासकार, निबन्धकार, गीतकार हुन्। हालसम्म उनका एघारवटा कृति प्रकाशित छन्। उनका प्रकाशित कृतिहरूमा 'लास' (उपन्यास, १९६४), 'प्रीतिका चिठ्ठीहरू' (कथासङ्ग्रह, १९७०), 'उन्मुक्ति' (लघुकथासह्ग्रह, १९७०), 'अर्को अनुहार' (उपन्यास, १९७१), 'प्रेमालाप' (मुक्तकसङ्ग्रह, १९७२), 'मृत्यु दिवस,' (एकाङ्कीसङ्ग्रह, १९७५), 'चियाबारी' (खण्डकाव्य, १९९२), 'युद्धहरू' (नाटक, १९९३), 'अभिषेक' (नाटक, १९९५), 'लीला-अ-लीला' (एकाङ्की संग्रह, २००६), र 'सत्ता-ग्रहण' (कथासङ्ग्रह), र 'हिमपुरीको देश' (खण्डकाव्य, २०१२)। उनका धेरै गीतहरू विभिन्न पत्र-पत्रिकामा र अमुद्रित रूपमा अल्बमहरूमा छरिएका छन्।
सन् १९५९ मा 'पश्चिम बङ्गाल' साप्ताहिक पत्रिकामा 'थेबा' कथाबाट साहित्यमा प्रवेश गर्ने नन्द हाँगखिमको नेपाली साहित्य सेवाको अवधि लगभग पाँच दशक भएको छ। पश्चिम बङ्गाल सरकारको 'भानुभक्त पुरस्कार', नेपाली साहित्य सम्मेलनबाट 'दियालो पुरस्कार', नेपालबाट 'रत्नश्री स्वर्ण पदक' आदिबाट पुरस्कृत तथा विभिन्न स्थान र संघ-संस्थाबाट अभिनन्दित भएका छन्। पेशाका हिसाबले उनी सरकारी छापाखानामा सेवारत् रही अवकाश ग्रहण गरिसकेका छन्। उनी विभिन्न साहित्यिक, धार्मिक, सांस्कृतिक र सांगठनिक गतिविधिमा सक्रिय रूपमा सरिक भएको देख्न पाउँछौं।

२. नन्द हाँगखिमको नाट्य प्रवृत्ति
नन्द हाँगखिम मूलतः एक नाटककार हुन्। उनका आजसम्म जम्म तेह्रवटा नाट्यकृतिहरू छन्। तीमध्ये एघारवटा एकाङ्की र दुइवटा पूर्णाङ्की नाटक छन्। तीमध्ये पनि चारवटा एकाङ्की र दुईवटा पूर्णाङ्की मात्र पुस्तकाकार रूपमा प्रकाशित छन्। यसबाहेक उनको टेलिफिल्म 'सपना' पनि प्रदर्शित भएको छ। (डा रूद्रराज मास्के, नाटककार नन्द हाङ्गखिमको नाट्य-प्रवृत्ति, प्रक्रिया, वर्ष २८, अङ्क ४०, २०१४, पृष्ठ ७५) उनको पूर्णाङ्की नाटक 'युद्धहरू' निकै सफलतासँग मञ्चन भएको थियो। यस नाटकलाई एक सफल प्रगतिवादी प्रयोगका रूपमा मानिन्छ। डा. केशवप्रसाद उपाध्यायका अनुसार नन्द 'हाँगखिमका नाटक घटनाप्रधान हुन्छन् र यथार्थवादी ढङ्ग र ढाँचाका छन्। ती गम्भीर छन्, बौद्धिक छन् र काव्यात्मक पनि छन्। तिनमा स्थानीय सामाजिक पृष्ठभूमि छ तापनि समग्र विश्वजनीनमा व्याप्त वर्तमान युगको आसन्न युद्धको पीडा व्यक्त छ। हाङ्गखिमका नाटक छोटा-छोटा छन् र अभिनयका लागि निकै उपयुक्त छन्। ती द्वन्द्वात्मकता र वैचारिक प्रखरताले गर्दा निकै प्रभावशाली छन्। हाङ्खिमले सामान्यजनका जीवनगत समस्यालाई प्रस्तुत गरेका छन् तर उनी मूलतः बौद्धिक वर्गका नाटककारका रूपमा देखिन्छन्। उनले आरम्भ गरेको यस बौद्धिक नाट्यलेखनलाई अन्य नाटककारहरूले विकसित पारेर लगेको देखिन्छ।' (डा केशवप्रसाद उपाध्याय, नेपाली नाटक तथा रङ्गमञ्च : उद्भव र विकास; काठमाडौं, विद्यार्थी पुस्तक भण्डार, २०५९, पृष्ठ ६६)
३. अभिषेक नाटकको कृतिपरक संक्षिप्त अध्ययन--
उनको नाटक अभिषेक एउटा विशिष्ट प्रयोग परिपाटी, वस्तु र कथ्यमा आवद्ध रहेको सफल रहेको देखिन्छ। यसमा आफ्नै किसिमको मौलिकपन र प्रयोगशीलता देखिन्छ। नाटककार आफैंले नाटकको भूमिकामा यसमा मनोविश्लेषण, विसङ्गतिवाद, त्रासदी, कामदी, शून्यवादी, अर्थहीनता आदिले युक्त भएको उल्लेख गरेका छन्।(भूमिका, पृष्ठ--) यसमा इमानसिंह चेमजोङको किराती वेदबाट लिएको एउटा लिम्बू मिथककथाको आधारमा नाटकको मूलकथा रचिएको छ भनी उल्लेख गरेका छन्। किरात पूराकथामा आधारित यस नाटकलाई यथार्थिक, बौद्धिकतापूर्ण र प्रयोगात्मक रूपमा प्रस्तुत गरिएको छ। (डा. रूद्रराज मास्के, भारतीय नेपाली नाटककार र पूर्णाङ्की नाट्यकृतिहरू, प्रक्रिया, २५ वर्ष अङ्क, पृष्ठ २७२) यीबाहेक यस नाटकमा अस्तित्ववाद, नारीवाद, मिथकीय प्रयोग, दलित चेतना आदिले युक्त देखिन्छ। प्रस्तुत नाटकको अँग्रेजी अनुवाद मङ्गलसिंह सुब्बाद्वारा अनूदित 'द कोरोनेसन' (The Coronation) का रूपमा देखिन्छ। इन्द्रबहादुर राईका अनुसार "अभिषेक काव्यिक नाटक छ। हाङ्गखिम कुशल छन् नाटकीक काव्यिक संभाषण लेख्ने कठिन काममा। विचारविषय, कथावस्तु सुनियोजित छन्।" (इन्द्र सम्पूर्ण, पृष्ठ ५१६)
३.१ संरचना
जम्मा १२२ पृष्ठहरू रहेको अभिषेक नाटकमा पाँचवटा अङ्क र प्रत्येक अङ्कमा तीनतीनवटा गरी जम्मा पन्ध्रवटा दृश्य रहेका छन्। प्रत्येक अङ्क र दृश्यहरूबीच पूर्वापर सम्बन्ध कायम रहेको छ। सपनाको सम्भावित घटना यसको मूल विषय हो भने यस घटनामाथि नै प्रत्येक दृश्य केन्द्रीत छन् अर्थात् मूल विषयप्रति प्रत्येक अङ्क र दृश्यहरू अभिमुख भएका छन्। अङ्कहरू छवटा पृष्ठदेखि पन्ध्रवटा पृष्ठ रहेका छन्। थोरै घटना र अल्प पात्र-पात्रा रहेको यस नाटकलाई मझौलो आयामको मानिन्छ। नाटकको कथानक सघन र संश्लिष्ट छ। राजदरवारको पटाङ्गिनी, व्यायामशाला, मन्त्रीको घर, जङ्गलको ओडार, नरदेव मन्दिरछेउ आदि यसका दृश्य रहेका छन्। संरचनाका दृष्टिले यो नाटक कसिलो र सफल रहेको छ। कतै लामा संवाद र कतै छोटा संवादले नाटक संरचित छ। पंक्तिहरू पद्यमा बढी छन् भने गद्यात्मक संवाद पनि रहेका छन्। नाटकको एउटै केन्द्रीय वा मुख्य कार्यका सिद्धिका लागि समस्त घटना उपघटनाको संयोजन, कथानकलाई कौतूहलको तन्तुले कसी द्वन्द्वद्वारा घचेड्दै विकासका खुडकिलाहरू पार गराई निष्कर्षमा पुर्‍याउनु अनि आविष्कार गरिएका चरित्रहरूबाट पर्याप्त काम लिनु अन्तःसंररचनाका लागि अपेक्षित कौशल मान्न सकिन्छ। (केशवप्रसाद उपाध्याय, विचार र व्याख्या, साझा प्रकाशन, २०४०, पृष्ठ २६५) 'अभिषेक' नाटकमा पनि बाह्यसंरचनाका अतिरिक्त आन्तरिक संरचना पनि कसिलो बनेको छ। कार्यव्यापारलाई फलसिद्धिका लागि अभिमुखीकरण गरिएको छ।
३.२ काव्यनाटकका रूपमा – यस नाटकलाई काव्यनाटकका रूमापनि अध्ययन गर्न सकिन्छ।

२. 'अभिषेक' नाटकको संक्षिप्त रूपमा तात्विक विमर्श- अभिषेक नाटकमा नाटकीय तत्वहरू जस्तै कथावस्तु, चरित्र, संवाद योजना, दृश्यविधान, कथ्यवस्तु, भाषा-शैली आदि सफल र सबल रूपमा निर्वाह भएको छ।
५.१. कथावस्तु- प्रस्तुत नाटक कथावस्तुप्रधान रहेको छ। नाटकको कलेवर सानै भए पनि कथावस्तु सघन रूपमा रहेको छ। संवादको माध्यमबाट कथातत्व द्रूतगतिमा अघि बढेको देखिन्छ। यसलाई घटनाप्रधान नाटक मान्न सकिन्छ। पाताल देशका राजाले देखेको सपनाको सम्भावित घटनालाई नै केन्द्रविन्दु बनाई कथावस्तु बुनिएको छ। सहोदर दाजु–बहिनीको सहबासबाट जन्मेको बालकले नै भविष्यमा पाताल देशको राजकाज गर्नेछ भन्ने सपनाको भविष्यवाणीलाई रोक्नलाई गरिएका प्रयासहरू नै यसका घटना-उपघटना हुन्। यद्यपि यो भविष्यवाणी सिद्ध भइछाड्छ। नवजात शिशुलाई नै राज्याभिषेक गरी नाटक टुङ्ग्याइएको छ।
५.१.१. नाटकीय घटना- नाटकको शुरूमा नै समस्या देखाइएको छ र त्यस समस्याको समानधानार्थ चालिएका कदमहरू नै नाटकीय कथावस्तु बनेका छन्। यसको कथालाई आदि, मध्य र अन्त्य गरी तीन चरणमा विभाजन गर्न सकिन्छ। शुरूदेखि समस्याको समाधानको पहलको आरम्भलाई आदिभाग, नारकीको भेटदेखि मन्त्रीको हत्यासम्म मध्यभाग र बाँकी घटनाहरू अन्त्यभागका रूपमा लिन सकिन्छ। आरम्भ, विकास, चरत्मोत्कर्ष, प्रतिचरमोत्कर्ष र निकास गरी पाँचवटा अवस्था केलाउन सकिन्छ। मूल कथावस्तु दरबारसित सम्बन्ध राजा राजाश्रीको बहुपत्नीत्व र पुत्रको जायजन्म नहुनु, दासीपुत्र यथाको राजकुमारका रूपमा आगमन, नरदेवीको पूजाको चलन हराई नरदेवको मात्र पूजा हुन थाल्नु, गुरू द्रष्टाको देशनिकाला हुनु, राजाले देखेको सपनाको अर्थ खोतल्दा जन्मिएको असमञ्जस स्थिति र चिन्ता आदि यसका पूर्व घटना हुन्। सपनाबाट उब्जेको असामान्य र प्रतिकूल स्थिति सिर्जना भएदेखि यसको नाटकीय कथा शुरू भएको छ। सपनाको फलप्राप्तिमा चाँहि कथावस्तु टुङ्ग्याइएको छ। नाटकको फलप्राप्तिलाई लक्ष्य राखी कथावस्तुलाई त्यसैमा एकोन्मुख र केन्द्रीयतामा लगिएको छ। एकपछि अर्का घटनाहरूले कथावस्तुको फलप्राप्तिकै निम्ति एकोहोर्‍याइएको छ।

५.१.२. भाव – नाटकमा पात्र-पात्राको मानसिक अवस्थालाई दर्शाउन घरिघरि भावको संकेत दिएको देखिन्छ। नाटकमा प्रायः संवादैपछि भावको उल्लेख गरिएको पाइन्छ। नाटकको शुरूमा राजाको सपनाको अर्थपूर्ण समाधाना नभएर मानवीय संवेदनाको समस्याग्रस्त अवस्था देखेको छ। यसमा राजाको मानसिक अवस्थामा विक्षोभ, चिन्ता, द्वन्द्व, ग्लानि, नैराश्य आदि भावको मिश्रितावस्था देखिन्छ। नाटकमा नैराश्य, गम्भीरता, विन्ती, विक्षिप्त, विचलित, आहत, उत्तेजना, ढाडस, आश्वस्त, शङ्का, आवेश, संयम, असमञ्जस, अन्योल, विश्वस्त, गम्भीरता, रहस्य, आशा, उत्साह, प्रतिकार, विनम्रता, आह्लाद, भयभीत, आशंका, आश्चर्य, आतङ्क, उत्सुकता, रहस्यपूर्ण, दृढता, सतर्क, व्यङ्ग्य, साम्य, सम्मोहित, आज्ञाकारिता, स्वगत, क्लान्त, अवसाद, प्रतिशोध, निर्लिप्त, अवसाद, असह्य, विषाद, त्रस्त, शिथिल, आघात, विह्वल, हास्य, अनाशक्त आदि जस्ता भावहरूले विभिन्न पात्र-पात्राको भाव दर्साउने काम गरेका छन्। यी भावहरूको सङ्केत दिएबाट पनि नाटकीय कथाको स्थिति बुझ्न सकिन्छ। अधिकांश रूपमा नै विक्षोभ, आतङ्क, चिन्ता, द्वन्द्वको भाव देखा पर्छन्।
५.१.३. द्‌वन्द्व- द्वन्द्व नै नाटकको मूल तत्व मानिन्छ। द्व्न्द्वबिना नाटक हुँदैन भन्ने जर्ज बर्नार्ड शको भनाइ छ। प्रस्तुत नाटकमा द्वन्द्वले निकै महत्व पाएको छ। यसमा शारीरिक, मानसिक द्वन्द्व-अन्तर्द्वन्द्व पाइन्छ। यसमा शारिरीक र मानसिक द्वन्द्वको प्रबलता देखिन्छ। नाटकको शुरूमै राजाश्री मानसिक द्वन्द्वले पीडित देखिन्छ। उसले देखेको सपनाले उ निकै विचलित हुन्छ तथा राजगुरूले त्यस सपनाको अर्थ बताइदिँदा झन उ द्वन्द्वग्रस्त हुन्छ। मन्त्री पनि द्वन्द्वले ग्रसित छ। राजकुमार यथा पनि द्वन्द्व ग्रस्त छ। सेनापति र मन्त्रीको शारीरिक द्वन्द्वबाट मन्त्रीको निधन हुन्छ। यसमा त्रिमुखी द्वन्द्व योजना गरिएको छ। एकापट्टि राजाश्रीले देखेको दुस्वप्नलाई निस्तेज पार्न गरिएको अनेक उपायगत द्वन्द्व, दोस्रो रूपमा मन्त्रीले अनेक छलछाम गरी सम्पन्न भएको द्वन्द्व र तेस्रो चाहिँ वर्गगत द्वन्द्व। दासहरूले शासकवर्गलाई शारिरीक संघर्ष गर्न नसके पनि बौद्धिक संघर्ष जारी राखेका छन्। बिहा नै नगरी भविष्यमा कोही पनि दास-दासी सन्तान नजन्माउने गुप्त योजना पनि द्वन्द्वकै एउटा रूप हो।
५.१.४. कुतूहलता- नाटकमा एकपछि अर्का घटनाको के परिणाम के हुन्छ? भन्ने पाठकीय-दर्शकीय कुतूहलता पक्ष प्रबल रूपमा देखाइएको छ। राजाश्रीले देखेको दुःस्वप्नको परिणाम के हुन्छ होला, मन्त्रीले कसरी समाधान गर्छ, उसको प्रयास कतिको सफल हुन्छ, त्यो अवैध नानी को र कसको होला, सबान्की को होली इत्यादि क्रमिक रूपमा एकपछि अर्को गरी पाठकलाई जिज्ञासा र कुतूहलताले समाउँदै जान्छ। अन्त्यमा सबै जिज्ञासाको समाहार हुन्छ।
५.२. पात्रविधान- 'अभिषेक' नाटकमा पात्रप्रयोगमा आफ्नै मौलिक परिपाटी देखिन्छ। पात्रहरूको नामकरणमा नाटककारले निकै सचेतता देखाएका छन्। यस नाटकमा पात्र-पात्राको संख्या पन्ध्रजनाको मुख्य भमिका र केही नोकर-चाकर, दास-दासी र सिपाही नगण्य भूमिकामा छन्। यस नाटकका केही पुरूष पात्रहरूमा राजाश्री (राजा), यथा (राजकमार), मन्त्री, राजगुरू, सेनापति, वास्तव, नारकी (दासगुरू), पहिलो प्रहरी, अधम (दास), गुरू द्रष्टा, र भव (शिशु राजा)। त्यस्तै गरी स्त्रीपात्राहरूमा उष्माभा, वासिता, सबान्की, क्षुद्रा (दासीप्रमुख), हीना हुन्। यीबाहेक अन्य केही दासी, दरबारका सिपाहीहरू, कर्मीहरू पनि देखिन्छन्। नाटकमा सबैभन्दा पछिल्तिर देखिएको भव भन्ने शिशु पात्रलाई अति थोरै रूपमा देखाइए तापनि यही पात्र नै सबैभन्दा प्रभावशाली पात्र हो। उसैको जन्मलाई रोक्न अनेक युक्ति गरे तापनि उसको जन्म भइछाड्छ।
५.३. परिवेश विधान- प्रस्तुत नाटकमा परिवेश विधानका दृष्टिले विशिष्ट रहेको छ। यस नाटकको कथावस्तु दरबारसित सम्बन्धित हुनाले यसको मूल परिवेश दरबारीय रहेको छ। पाताल देशको राजधानीको राजदरबार केन्द्रीयताले शहरीया परिवेश प्रतिविम्वन गर्छ। परिवेश निर्माण गर्न नाटककारले निकै मेहनत गरेका छन्। दरवारभित्रको राजाको गद्दी र अन्यकक्ष, मन्त्रीको कोठा र उसको घर, नरदेव मन्दिर, रणविद्या सिकाउने कक्षा, यवराज यथाको कक्ष इत्यादि दृश्य देखाइएकाले यसमा शहरीया परिवेश पाइन्छ। प्रायः नाटकभरि संत्रास, निराशा, कुण्ठा, क्षोभ, आशंका, क्रोध, षडयन्त्र आदिको परिवेश बनाइएको छ। एकार्कामा कोही कसैको विश्वास रहेको छैन। मन्त्रीले जाल गरेर राजा मार्ने कुरा सेनापतिसँग गर्छ, उता सेनापति मार्ने योजना राजालाई सुनाउँछ, यता यथा मार्ने जाल बुन्छ, उता सेनापतिको आफ्नो गुप्ती स्थान हुन्छ। यसरी चारैतिर जाल, संजाल, अविश्वास र आशंका जन्माइएको परिवेश पाइन्छ। मुलुकमा कतै शान्ति, सौहार्दता, आत्मीयता, विश्वास, प्रेम छैन। संसारको त्रासद् स्थितिको रेखाङ्कन गरिएको छ भन्न सकिन्छ।
५.४. दृश्य विधान- नाटकमा पाँचवटा अङ्कका तीन-तीनवटा गरी जम्मा पन्ध्रवटा दृश्य रहेका छन्। नाटकको प्रत्येक दृश्यको शुरूमा नै सूचना दिएर पाठकलाई यसको परिवेश खुट्याउन सजिलो पारिदिएका छन्। दरबारका कक्ष, राजाको मूल बैठकका साथसाथै व्यायामशाला, राजकुमारको कक्ष, शयन कक्ष आदि देखाइएको छ। अधिकांश दृश्यहरू दरवारकेन्द्रित छन् भने दरबारबाहिर मन्त्रीको घर, नरदेव मन्दिरछेउ, जङ्गलभित्रको गुफा आदि रहेका छन्।
५.५. संवाद योजना- नाटकको मूल तत्व नै संवाद हो। संवाद योजनातर्फ प्रस्तुत नाटक विशिष्ट बनेको छ। यसमा प्रकाश्य र स्वगतकथन गरी दुई प्रकारका संवादको प्रोयग भएको छ। यस प्रायःजसो प्रकाश्य संवाद नै पाइन्छ यद्यपि पात्रको मनको अवस्था बुझाउने परिपाटीको स्वगतकथन पनि प्रयोग भएको पाइन्छ। नाटकमा अधिकांश मात्रामा कवितात्मक संवाद प्रयोग गरिएको छ। यसको कवितात्मक संवादिक अभिव्यक्ति स्वाभाविक रूपमा प्रस्तुत गरिएको छ। नाटकको शुरूदेखि कवितात्मक संवाद पाइन्छ। यसरी आवश्यकता परेको पद्य र गद्यको मिश्रितावस्थाबाट नाटक विशिष्ट बनेको छ। नाटकका प्रमुख र सहायक पात्र-पात्राहरूले प्रसङ्गअनुसार लामा लामा संवाद बोलेका छन्। लामा लामा संवादहरू कवितामा छन् भने छोटा छोटा संवादचाँहि गद्यात्मक नै देखिन्छ। संवादलाई बल प्रदान गर्नका निम्ति नाटकमा संवादको अघिअघि भावको पनि संकेत गरिएको छ। पद्यमय संवाद योजना – नाटकमा एउटा संवाद छोटामा दुई पंक्तिदेखि बढीमा अठ्ठाइस् पंक्ति (पृष्ठ ८६) सम्मको पद्यमय संवाद योजना गरिएको छ। यसरी नै कतै चौध पंक्ति (पृष्ठ १०), उष्माभाले बोलेका सत्रह पंक्ति (पृष्ठ ३२) र बीस पंक्ति (पृष्ठ ३३-३४) पाइन्छन्। अन्यत्र भने हरदरमा आठ दश पंक्तिका संवादहरू पाइन्छन्। पद्यमय संवादमा रहेका पेक्तिहरू थोरैमा चार शब्द र धेरैमा आठ शब्दहरूको संयोजन गरिएको छ। कवितात्मक संवादमा अन्त्यानुप्रास, गेयात्मकता, सहचारक्रम, प्रतीकात्मक र विम्ब आदिले कवितात्मक संरचना गरिएको छ। यद्यपि कतै कतै कविताको भाषिक भावसम्प्रेषण जस्ता पक्षमा नाटक त्यति सशक्त बन्न सकेको छैन।
३. 'अभिषेक' नाटकमा मीथकीय प्रयोग- मिथक शब्द अँग्रेजीको Myth बाट अधिग्रहण गरेको देखिन्छ। नेपालीमा यसको पर्याय रूप पूराकथा भनिए तापनि मूलरूपमा भने मिथक, मिथकीय मिथककथा आदि शब्द प्रयोग भएको देखिन्छ। पूराकथाका अतिरिक्त पुराणकथा, पुराख्यान, जातीय आख्यान, धार्मिक आख्यान, अनुश्रुति, देवकथा, वीरकथा आदि शब्दहरू पनि नपाइने होइनन्। यस नाटकमा लिम्बू मिथक कथा लालाङ्गे र सुसुङ्गेलाई माध्यम बनाई नाट्य रूप दिएका छन्। एउटै आँतका दाजु बहिनीको सहबासबाट उत्पन्न सन्तानहरू मरणशील छन् भन्ने श्राप पाएको मान्छेको कथालाई नाटककारले आफ्नै मौलिक कल्पना, कथा, रूप, ढाँचा र वस्तु दिएर नाट्यवस्तु बुनेका छन्। यद्यपि यसमा ग्रीसेली मिथक इडिपसको पनि आंशिक प्रयोग गरिएको छ। सोफक्लिजको पितृघाती मातृगामी राजा इदिपस सबद्वारा निन्दित, त्यजित र दण्डितनै थियो। यस नाटकमा पनि दाजु-बहिनीको अवैध गर्भबाट जन्मेको नवजात शिशुलाई समाजले स्वीकार गर्ला?3 (सम्पा. विजय कुमार राई, इन्द्र सम्पूर्ण-३, नाम्ची, निर्माण प्रकाशन, २००४, पृष्ठ ५१४) भन्ने प्रश्न छ। प्रस्तुत नाटकमा पनि दाजु-बहिनीको अबैध सम्बन्धबाट जन्मेको सन्तानले भविष्यमा राजगद्दी लिएको कथा बुनिएको छ।
४. ७.'अभिषेक' नाटकमा त्रासदीय प्रयोग – पूर्वीय नाट्यशास्त्रमा वियोगान्त नाटकको अवधारणा रहे तापनि दुःखान्त (त्रासदी) नाटकको अवधारणा चाहिँ एरिस्टोटलले मौलिक रूपमा प्रस्तुत गरेका हुन्। 'उनले आफ्ना अघिल्ला ग्रीसेली नाटककारत्रय एस्किलस, सोफोक्लिज र युरिपाइडिसको नाट्यकृतिको आधारमा दुखान्त नाटकको सैद्धान्तिक विवेचना प्रस्तुत गरे। करूणा र त्रासयुक्त पृष्ठभूमिमा नायकको मानसिक द्वन्द्व, यातना र पीडामा तथा नाटकको अन्तमा मृत्यु भएको वस्तु योजनाको आधारमा दुखान्त नाटकको रचना हुन्छ।' (डा, हिमांशु थापा, साहित्य परिचय, काठमाडौं, साझा प्रकाशन,, चौ.सं.२०५०, पृष्ठ १०१)'अभिषेक' नाटक मूल रूपमा त्रासदीय कथावस्तु भएको नाटक हो। त्रासदीमा नायक नायिकाको कि विछोड हुन्छ, कि मरण हुन्छ। यसमा नायक नायिकाको मरण भएको देखाइएको छ। राजा, राजकुमार र मन्त्री, राजकुमारकी प्रेमिका सबान्की जस्ता मूल पात्र-पात्राहरूको मृत्यु भएको छ। राजाश्रीको राजकुमार तथाको हातबाट भएको हत्यासँगसँगै सेनापतिद्वारा मन्त्रीको हत्या, युवराज यथाद्वारा आत्महत्या र उसकी प्रेमिका बनिएकी तर सहोदर बहिनी सबान्कीको हत्या भई मरण हुन्छ। नाटकको पृष्ठभूमिमा रहेको राजाश्रीको अनैतिक कार्यकलाप, सातवटी रानी बिहे गर्दै मार्दै लाने राजाले अनेकौं यौन दुराचार गरेको थाहा पाइन्छ। राजाको यौन विकृति, शासकीय अत्याचार नै नाटकको त्रासदीको कारण बनेको देखिन्छ।
५. अभिषेक' नाटकमा विसंगतिवादको प्रयोग- 'जीवनजगत् सङगति वा सारपूर्ण नभएपछि मान्छेले जीवनलाई पूर्णरूपमा खण्डित र विसंगत देख्दछ। मानव जीवनमा देखिएका निराशा, व्यथा-व्याकुलता, शून्यता, निरर्थकता, पृथक्‌ता तथा मृत्युबोधले गर्दा मान्छेले आफुलाई जताजतैबाट सन्त्रास र भयबाट घेरिएको पाउँछ। ईश्वरीय सृष्टि, संङ्गतिको केन्द्रविन्दु रहेको ईश्वरीय सत्ताको विघटनको घोषणा तथा ईश्वरको मृत्युको घोषणाले मान्छे बाह्य रूपमा मात्र नभएर आन्तरिक रूपमा समेत एक्लिएको छ। यही एकाङ्गीपनको खरो अभिव्यक्ति विसङ्गतिवादी साहित्यिक कृतिमा पाइन्छ, जसमा भाषा र व्याकरणलाई भाँचेर सम्प्रेषण सङ्कट उत्पन्न गराउने काम हुन्छ। विसङ्गतिवादसँग सम्बन्धित मान्यता वा तनावग्रस्त आधारबाट हेर्दा मान्छेको जीवन अस्तव्यस्त, अन्धकारमय, निराशायुक्त तनावग्रस्त र मृत्युबोध तथा मृत्यु सन्त्रासका कारणले आफैंमा पृथक भएको अनुभूति गर्न बाध्य रहेको निष्कर्श निकालिन्छ।'(डा यादवप्रसाद लामिछाने, आधुनिक नेपाली उपन्यासमा विसङ्गतिबोध,काठमाडौं, विद्यार्थी पुस्तक भण्डार, २०६३, पृष्ठ २८) छोटोमा भन्नुपर्दा, जुन कुरो नहोस् भन्ने चाहेको तर त्यही हुन्छ, मान्छेको जन्म र जीवन नै असङ्गत छ भन्ने बोध गर्ने दार्शनिक सिद्धान्त विसंगतिवाद हो। नन्द हाँगखिमको अभिषेक नाटकलाई विसंगतिवादी नाटकका रूपमा उभ्याउन सकिन्छ। जन्मेपछि मान्छेले मर्ने श्राप पाएको मीथकलाई नै यस नाटकको कथावस्तु बनाइएको छ। यस नाटकमा पनि जे नहोस् भन्ने चाहेको थियो, त्यही कुरा भइछाड्छ। नाटकको शुरूमा नै भविष्यको अवश्यमभावी घटना मुख्य समस्याको रूपमा रहेको छ। त्यही समस्यालाई टार्न र तर्काउन सबैको पक्षबाट जति नै प्रयास गरेपनि निरर्थक हुन्छ। सहोदर दाजु-बहिनीको शारीरिक सम्बन्धबाट जन्मेको सन्तान नै नाटकमा वर्णित पाताल देशको भविष्यको राज हुने भविष्यवाणी गरिएको छ। यसलाई तर्काउन जति नै जुक्ति गरेपनि त्यो सिद्ध भइछाड्छ। त्यस्तो अवैध शिशु नै नजन्मोस् भनेर राजा, मन्त्री, सेनापति, राजकुमारलगायत सबै लागिपरे पनि हुनेहुनामी टर्दैन। यसलाई टार्नका निम्ति मन्त्रीले दाजु-बहिनी बनाउन खोजेर दास र दासीलाई बिहे गर्न लगाउँछ, राजालाई राज्यभरका नवजात शिशुहरूको हत्या गर्न लगाउँछ इत्यादि अनेक उपाय लगाउँछ। उक्त अवैध शिशु नजन्मोस् भन्नाका लागि गरिएको यस्ता केही उपायहरूमा-
क) नवजात शिशु हत्या- सम्भावित दाजु – बहिनीको गर्भबाट कुनै शिशु नजन्मोस् भन्नाखातिर राजाले आफ्नो राज्यभरिका कुनै पनि शिशुको हत्या गरिदिने आदेश दिन्छ। यसो हुँदा मुलुकमा असुरक्षा, अशान्ति, अराजकताको स्थिति पैदा हुन्छ। मुलुकभरको धेरै शिशुहरूको हत्या हुन्छ।
ख) प्रत्येक घरका तरूणी छोरीहरू दरबारमा राख्ने व्यवस्था – दाजु-बहिनीको सम्भावित सहवास हुने परिवेश र अवसर नहोस् भनेर राजाले आफ्ना मुलुकभरका सबै अविवाहित तरूणीहरूलाई दरबारमा ल्याएर राख्ने व्यवस्थाको आदेश दिन्छ। यसो हुँदा पाताल देशभरका सबै तरूणी युवतीहरू दरबारमै बस्नथाल्छन्। सबान्की, वासिता सबै नै दरबारमा बस्नपुग्छन्। यसबाट पनि फाइदा नहुने देखेर उक्त आदेश रद्द गरी सबैलाई घर फर्काइन्छ।
ग) नक्कली दाजु-बहिनीको अज्ञात स्थानमा लगी बिहे गराउनु- मुलुकका दाजु–बहिनीको सम्भावित सहबासबाट कुनै सन्तान जन्मिनुभन्दा कुनै दास-दासीबाट नक्कली दाजु-बहिनी बनाई कुनै अज्ञात स्थानमा नक्कली बिहे गराई शिशु जन्माउन लगाइन्छ। यद्यपि ती नक्कली दाजु बहिनी बनाइएका अधम र हीना नाम भएका दुइजना दास-दासी वास्तवमा नै दाजु बहिनी थिए। यद्यपि उनीहरूबाट पनि सन्तान हुन सकेन। यो प्रयास पनि विफल हुन्छ।
घ) सबान्कीलाई कारागार र हत्या- दूर देशबाट ल्याइएकी सबान्कीलाई शङ्कैशङ्कामा कारागारमा राखिन्छ तर उसको राजकुमार यथासित प्रेमसम्बन्ध भएपछि भने राजकुमारको पहलमा नै मुक्ति पाउँछे। उप्रति राजकुमार यथा निकै प्रेमाशक्त हुन्छ र उनीहरूबीच शारीरिक सम्पर्क पनि कायम हुन्छ।
ङ) राजकुमार यथाको प्रयत्न- सम्भावित अवैध सन्तान नहोस् भनेर राजकुमार यथा पनि प्रयासरत र चिन्तित देखिन्छ। उसले आफ्ना परम मित्र वास्तवसित यस कुराबारे चिन्ता व्यक्त गर्छ।
च) दास नारकीको सुझबुझ –पाताल देशका दासहरूको गुरू नारकीले दासमुक्तिका निम्ति विभिन्न उपाय अपनाएको देखिन्छ। अबका दासका सन्तान दास नै नजन्मुन् भने बिहेको परम्परित अर्थलाई नै बदली गरिदिएको छ।
छ) सेनापतिको प्रयास- सेनापतिले मुलुकको सम्भावित अवस्थाबारे चिन्चित भइ त्यसको समाधानका लागि आफ्ना तर्फबाट पनि प्रयास गर्छ। यतिसम्म कि आफ्नै छोरा वास्तवको नरबलि दिनसमेत तत्पर देखिन्छ। त्यो कुनै कारण टरे तापनि मन्त्रीको कुचाल बुझेर उसलाई हत्यासमेत गर्छ।
६. 'अभिषेक' नाटकमा मनोविश्लेषणको प्रयोग- प्रस्तुत नाटक मनोवैज्ञानिक पक्षबाट पनि उत्तिकै महत्त्वपर्ण छ। यसमा स्थान, नदी, पात्र-पात्रा आदिको नामकरण केलाउँदा मात्र पनि मनोविश्लेष्णात्मक परिपाटीको लाग्दछ। पाताल देश र कुण्ठा नदी, नरदेव मन्दिरको उल्लेख पाइन्छ। अँग्रेजी अनुवादमा पाताल देशलाई निदरल्याण्ड भनिएको छ जहाँ समुद्री उचाइँभन्दा होचो भूखण्ड र देश रहेको छ। यसको लाक्षणिक अर्थ मनको विशाल जगत् हो जो वास्तविक संसार जत्तिकै व्यापक, अगोचर दुनियाँ छ। नाटकमा उल्लेखित पाताल देश भनेको मानसिक संसार हो। त्यहाँ कामेच्छा, आवेग, आवेश, अद्मय इच्छा, अराजकता, संत्रास, अनैतिकता, आनन्दको चाहना हुन्छ। पाताल देशका राजा राजाश्रीले अनैतिक, अनाचार, व्यभिचार, मनपरी र स्वच्छन्द शासन गर्दछ। पाताल देशका शासक राजाश्री अत्यन्त कामुक, दुराचारी छ। उ सदैव नारी सहवासमै लिप्त देखिन्छ। नारी सहवासकै निम्ति सातवटी रानी बिहे गर्दै मार्दै गरेको छ। त्यतिले नपुगेर उ रात दिन भोग विलासमा मग्न देखिन्छ। क्षुद्राले नाचिदिएर उनको कामेच्छा र अपराधी मनलाई शान्त गराउने प्रयास गर्छे। यद्यपि दासी क्षुद्रालाई कोर्राले पिटेर पनि उसको चित्त बुझ्दैन। उ भोगी, अराजक, कामुक, स्वेच्छाचारी, अनैतिक, कुण्ठित, अविवेकी आदि दुर्गुणले युक्त छ। मान्छेको मनका तीनवटा अवस्था हुन्छन् – अचेतन, अर्द्धचेतन र चेतन। मान्छेभित्रको अचेतनको प्रतीक हो राजाश्री। मान्छेको अचेतन मन अराजक, कामुक, स्वेच्छाचारी, अनैतिक हुन्छ भन्ने फ्राइडेली मतलाई पुष्टी गर्ने राजाश्रीको चरित्र पाइन्छ। उसकै अनैतिक चरित्रिक कारणले मुलुकमा सदैव अशान्ति, अराजकता फैलिन्छ। दाजु- बहिनीको सहवासबाट जन्मने अवैध सन्तान नै उसको चारित्रिक पतनको एउटा नमूना हो किनभने मुलुकका राजा नै यस्ता क्रियाकलापमा संलग्न रहे अरू पनि यसमा सरिक हुनु स्वाभाविक देखिन्छ। राजकुमार यथा र उसकी अज्ञात बहिनीको सहवासको कारण पनि दरवारीया परिवेश हो जहाँ नारीलाई रातदिन बासनाको पुतली बनाइएको छ।
यता मन्त्रीको नाम दिइएकै छैन, पद मात्र दिइएको छ। मन्त्री अर्द्धचेतन मनको प्रतीक हो। यस अवस्थाको मन चेतन र अचेतन मन दुवैतर्फ मिल्न पुग्दछ। यस्तो मन घरि अचेतन मनसित गई मिल्न पुग्छ घरि चेतन मनसित गई मिल्न पुग्छ। मन्त्री पनि राजाश्रीसित गई मन्त्रणा गर्दछ भने अर्कातिर सेनापतिसित मिल्न खोजेर राजाश्रीको विरूद्धमा पनि ठिक्क पार्दछ। उसको यस्तो दोचारे प्रवृत्ति नै अर्द्धचेतन अवस्थाको द्योतक हो। सेनापति, गुरू द्रष्टा, राजगुरू, वास्तव आदि चेतन मनका प्रतीक हुन्। उनीहरू नैतिकवान, चरित्रवान, विवेकी, आदर्शवान छन्। राजकुमार तथाको नाममा नै प्रतीकात्मकता छ। तथाको अर्थ जस्ताको तस्तै हो। उसको चरित्र सुपर- इगो देखिन्छ, न्यायपरायण, कर्तव्यशील, आदर्श पुरूष। गुणैगुणले भरिए तापनि पनि आफ्नी अज्ञात बहिनी सबान्कीसित अन्जानमा प्रेमवस् सहवास गरी गर्भाधान भएको छ। सुपर इगो बाहिरी रूपमा मात्र हुन्छ। यसलाई भित्र रहेको इड तत्वले जहिले पनि ठेलिरहेको हुन्छ। उसले पनि प्रेमिका सबान्कीसित प्रेममा पर्नेबित्तिकै सहबास गर्नु उभित्रको इडको चरित्र हो। अचेतनमा रहेको इड अन्धो, अविवेकी, असंयमी, जंगली घोडाझैं अराजक हुन्छ, अनियन्त्रित हुन्छ। यही कारणले डोहोरिएर तताको सबान्कीसित सहबास भएर सन्तानोत्पति हुन्छ। यता सेनापति पनि सुपरइगो चरित्र, आदर्शवादी, नैतिकवान, राण्ट्रका लागि सदैव समर्पित, राज्यको रक्षाका लागि आफ्नो छोरासमेत बलिदान दिन तयार छ।
प्रस्तुत नाटकमा राजाश्रीले देखेको अनौठो सपना प्रतीकात्मक छ। राजगुरूले यसको अर्थ राजखानदानमा दाजु बहिनीको अवैध गर्भबाट जन्मेको बालक भविष्यमा पाताल देशको राज हुनेछ भन्ने लाएका छन्। यसमा राजाले देखेको सपनालाई जनविश्वासका आधारमा भविष्यको अवश्यम्भावी घटनाको संकेतका रूपमा लिएको छ। सिग्मण्ड फ्रायडले मनको अचेतन अवस्थाको सक्रियताको अर्थ दिएका छन्। यद्यपि उक्त सपना राजाश्रीको अचेतन मनमा गढेर बसेका विगतको पापाचरण, अपराध, चारित्रिक त्रुटी आदिको प्रकाशन हो। राजाश्रीको अचेन मनमा रहेको कुण्ठित रूपमा रहेका आपराधिक बोध हो।
७. 'अभिषेक' नाटकमा नारीवादी चिन्तन - यस अभिषेक पूर्णरूपले नारीवादी नाटक मान्न नसकिए तापनि यसमा नारी अस्मिता, नारीको चिन्तन, प्रतिवाद, पुरूषको हैकमको खण्डन-विरोध आदि नपाइने होइन। मन्त्रीकी स्वास्नी उष्माभा नारी सचेतन, नारी अस्मिताको निम्ति लड्ने एक प्रतिनिधि पात्रा हो। उसले समाजमा नारीको स्थान र मर्यादाका निम्ति आफ्नो लोग्नेसमक्ष आक्रोश व्यक्त गर्दछे। उसले नारीले पाउने पर्ने हक, समानाधिकार र मुक्तिको पक्षमा विचार व्यक्त गर्छे, लोग्नेसित नारीको उपस्थितिको हक माग्छे। पाताल देशमा नरदेवको मात्र पूजा भएकामा रोष व्यक्त गर्छे। नरदेवको मात्र पूजा हुनु भनेको मुलुक र समाजमा पुरूषको मात्र बोलबाला, हैकम, शासनसत्ता, एकाधिकार, हक रहेको कुरा इंगित भएको छ। प्रस्तुत नाटकमा नारीलाई सन्तानोत्पत्तिको माध्यम, वासनाको पुतली र सामान्य वस्तुका रूपमा दर्शित सामाजिक परिदृश्य छ। समाजमा विद्यमान नारीप्रतिको धारणाप्रति उष्माभा आक्रोश व्यक्त गर्छे। मुलुकमा पहिले नरदेवीको पूजा हुने गर्थ्यो तर त्यो हुन छाडी नरदेवको मात्र पूजा हुन हुन थालेको छ। नाटकमा राजाको अपराध भावनाले ग्रस्त, दुष्चिन्तामा रहेको मन बहलाउने क्रममा गरिने नाचगानको दृश्य छ। उक्त नाच-गानमा राम्रोसँग नाच्न र गाउन नजानेको भनेर राजाले क्षुद्रा दासीलाई कुटपीट गरी गलहत्याएर लानु, सम्भावित अवैध सन्तान रोक्नका निम्ति राज्यका सम्पूर्ण बिहे नगरेका कन्याहरूलाई जबर्जस्ती दरवार पुर्‍याइनु, युवराज यथाकी प्रेमिका भनिएकी सबान्कीलाई जेलयातना र मृत्युदण्ड दिने राजकीय घोषणा हुनु, दासीहरूलाई राजाको वासनाको शिकार-पात्र मात्र मान्नु इत्यादि क्रियाकलापबाट पुरूषप्रधान समाजको मनोभाव देखाइएको छ। उष्माभाले मुलुकको यस्तो व्यवस्ताप्रति विरोध जनाउँदासमेत मन्त्रीले उसलाई कुनै वास्तै गर्दैन, स्वास्नीलाई कुनै महत्त्व दिन चाहँदैन। मन्त्रीकी छोरी वासिताले बाबुको पक्षमा तर्क पेश गर्नु वास्तवमा पुरूषप्रधान समाजको मानसिकताको उपज र प्रभाव नै हो।
उष्माभाको अभिव्यक्तिमा नारी हक र अधिकारप्रति सजकता रहेको पाइन्छ। उनको भनाइमा समाज र देश सुध्रिनु र बिग्रनुमा नारीको मर्यादामा निर्भर हुन्छ भन्ने कथनलाई यसरी अभिव्यक्त गरिएको छ – जहाँ हुन्छ अवहेलना आमाको अनि भत्सर्ना, लाञ्छना र व्यभिचार
त्यही त हो अपशकुनको सूत्रधार।
................................
जुन देशमा नारी मर्यादाको छैन ऐन
जुन देशको दरवार धरीमा नारीलाई छैन चैन
त्यही देशको पुरूषहरूले भन्दैमा कि
स्वदेश भनेको आमा हो
यो व्यङ्ग्यबाहेक अर्को के हो? (पृष्ट ३१)
८. 'अभिषेक' नाटकमा वर्गीय चेतना - प्रस्तुत नाटकमा मूलतः दुई वर्गका मानिस देखाइएको छ- शासक वर्ग र शोषित वर्ग। शासक वर्गमा राजाबाहेको अरू पा-पात्राहरूमा मन्त्री, सेनापति, प्रमुख प्रहरी, राजकुमार यथा, सेनापति र उसको छोरा वास्तव. मन्त्रीकी पत्नी उश्माभा, छोरी वासिता, राजगुरू र गुरू द्रष्टा आदि शासकवर्गकै भित्र आउँछन् किनकि उनीहरू पनि शासनभारमा जिम्मेवार पदमा छन्। उनीहरूले पनि अन्य नोकर चाकर र दासदासीलाई अरन-खटन, ताडना, शास्ती दिन्छन्। समाजका माथिल्ला वर्गका मानिसहरूलाई जहिले पनि शोषण, दमन, अन्यायपूर्वक व्यवहार गर्छ औ तल्ला शासित वर्गले जहिले पनि मुक्ति, संघर्ष, संग्राम गर्दछन्। प्रस्तुत नाटकमा दास-दासीहरूले आफ्नो मुक्तिको निम्ति नयाँ नयाँ नीति अवलम्बन गर्नथालेका छन्- दास-दासीको बिहा गर्न प्रतिवन्ध गरी नयाँ दास सन्तान नजन्माउने। यसबाट उनीहरूले शासकवर्गसित परोक्ष रूपमा सांस्कृतिक, सामाजिक आन्दोलन सञ्चालन गरेका छन्। यो पनि एउटा द्वन्द्व नै हो। यसबाट पनि उनीहरूको विद्यमान वर्गीय चेतना उजागर हुन्छ।
९. 'अभिषेक' नाटकमा अरूका कुराको अध्ययन र सबल्टर्न चेतना – प्रस्तुत नाटकमा मूलतः सत्ता पक्षका मानिसहरूकै समस्यामा कथावस्तु केन्द्रित भए तापनि यसमा तुच्छ, त्याज्य, किनारीकृत दास-दासी वर्गका पात्र-पात्रलाई पनि ल्याएर त्यस्ता पक्षको अध्ययन गरिएको पाइन्छ। अझ यसमा सबल्टर्न चेतना पनि प्रखर रूपमा पाइन्छ। यस अध्ययनका निम्ति दास दासीको भूमिका, गतिविधि, बदलिँदो सांस्कृतिक चेतनालाई दृष्टान्तका निम्ति लिनसकिन्छ। राज्यका शासकवर्ग र तिनका मतियारबाहेक अन्य जाति भने अवहेलित, उत्पीडित, अचिनारू, अस्तित्वहीन, ओझेल, परित्यक्त र किनारीकृत बनेका हुन्छन्। नाटकका दास-दासी पनि यस्तै जातिका रूपमा दर्शाइएको छ। नाटकमा दास-दासीको नामको नामकरणमा नै विशेषता देखिन्छ। उनीहरूको क्षुद्रा, हीना, अधम, नारकी आदि नाम दिइएको छ। उनीहरूको नामबाट नै उनीहरूको सांस्कृतिक, राजनैतिक, आर्थिक, सामाजिक परिदृश्य र पृष्ठभूमि परिलक्षित हुन्छ। देशमा त्यस्ता दास-दासीहरू शासक र उसको मतिहारका स्वार्थका माध्यम मात्र बनेका छन् तर उनीहरू एक पूर्ण मान्छे र प्रजाको दर्जा पाउन सकेका छैनन्। राजदरवारको चलेको कामुक परिवेश र संस्कारले प्रभावित भई उब्जेको अवैध सन्तान रोक्न अधम र हीनालाई जबर्जस्ती बिहे गर्न लगाई सन्तान जन्माउने आदेश दिइन्छ। यद्यपि ती दुई साँच्चीकै दाजु-बहिनी थिए। यस कुरालाई महत्त्व दिँइदैन। दास-दासी ठानिएका मुलुकका ती प्रजालाई राज्यको शासन व्यवस्थाले किनारीकृत गरिन्छ, तुच्छ व्यवहार गरिन्छ। यसबाट ती दास-दासी समाजमा पनि मुलुकप्रति एक प्रकारको प्रतिशोधको भावना जन्मिएको देखाइएको छ। यस प्रतिशोधको भावनाले जगाएका उनीहरूको समाजले अर्कै सामाजिक र सांस्कृतिक चेतना र भाषिक संरचनालाई विकसित र परिवर्तन गर्दछन्। यसमा (क) बिहे गर्नु- कुटाकुट गर्नुको अर्थ दिइन्छ। बिहे गरी सन्तान जन्माउनु र आफ्नो सन्तानलाई पनि पछिबाट दास-दासी नै बनाउनुभन्दा सन्तानै नजन्मोस् भनेर नयाँ भाषिक संरचना र संकथनको निर्माण गरी कुटाकुटको अर्थमा विकसित गरिन्छ। अधम र हीनालाई बिहे गर्नु भनी आदेश दिँदा उनीहरू कुटाकुट गर्दछन्। यसरी नयाँ भाषिक, सामाजिक र सांस्कृतिक व्यवस्थाको नयाँ पुस्तालाई रूपान्तरित गरिन्छ। (ख) मर्नु- बिहे गर्नुको अर्थ जनाउन मर्नु शब्द प्रयोग शुरू गरेका छन्। त्यसै गरी आएको र गएको प्रसङ्गलाई पनि ठिक उल्ट्याइएको छ। नक्कली केश पनि नयाँ सामाजिक संरचना र परिवर्तनको संकेत हो। दास-दासीहरू दिनानुदिन मान्छेका रूपमा नभइ मुलुकको निम्ति मशीन, अमानवीय, अनागरिक बनाइन्दै गरेको संकेत हो। यस्तो परिवर्तनको सोंच राख्ने, नयाँ सामाजिक समस्याको निराकरणको उपाय सोंच्ने र दासप्रझा मुक्तिको नयाँ युक्ति केलाउने पात्रका रूपमा गुरू नारकीलाई उभ्याइएको छ। उसलाई राज्यको वास्तविक इतिहास थाहा छ। सेनापति र राजकुमार यथाले उसको महत्त्व बुझेर विगतका धेरै इतिहासबारे जानकारी लिन्छन्। उ त एउटा चिन्तक र दार्शनिक पात्रका रूपमा उपस्थित गराइएको छ। त्यस्तो समाजमा उजस्ता दार्शनिक, चिन्तक व्यक्तित्वलाई राज्यले चिन्दैन। त्यसैले उ आफुलाई म कोही होइन भन्छ।
१०. 'अभिषेक' नाटकको सांस्कृतिक अध्ययन - यसका साथै संस्कृतिले कला, भाषा, साहित्य, दर्शन, धर्म, नीति, इतिहास आदि विभिन्न विषयको समग्रतालाई पनि बुझाउँछ। संस्कृतिलाई पारम्परिक गीत, नृत्य, वाद्यवादन, चाडबाड, तीर्थ, व्रत, पर्व, धर्म, संस्कार, मूर्तिकला, चित्रकला, वास्तुकला, जात्रा आदिका सन्दर्भबाट पनि अर्थ्याइएको पाइन्छ। परम्परित मूल्यमान्यता, रीतिरिवाज, चालचलन, धर्म, संस्कार, आस्था, व्यवहार, इतिहास पूर्वजन्म, पुनर्जन्म, कर्म, भाग्य, ईश्वरीयता, लोकोक्ति, लोकप्रचलन मात्र नभएर नवसिर्जित मूल्यमान्यता आदि पनि संस्कृतिभित्र पर्न सक्छन्। यसका साथै संस्कृतिको निर्माण गर्न मनोविज्ञानले पनि महत्वपूर्ण भूमिका खेल्छ र सञ्चारका विभिन्न माध्यमहरू पनि संस्कृतिको विकासका संवाहक हुनसक्छन्। भौगोलिक स्थिति, रहनसहन, लवाइखवाइ, शिक्षादीक्षा आदिले संस्कृतिमा विविधता पैदा गर्छन्। संस्कृति परिवर्तनशील हुनाका साथै र एक पुस्ताबाट अर्का पुस्तामा हस्तान्तरणीय हुन्छ। समयक्रममा देखिने राष्ट्रिय–अन्तर्राष्ट्रिय क्षेत्रका राजनैतिक–आर्थिक घटना तथा परिवर्तनले पनि संस्कृतिलाई प्रत्यक्ष–परोक्ष प्रभाव पार्दछन्। सामाजिक प्रचलनबोधक संस्कृतिलाई विविधतामय तुल्याउन स्थान, समय, जात, धर्म आदिले पनि महत्वपूर्ण भूमिका खेल्छन् । कुनै ठाउँ, समय, जात र धर्मको संस्कृति अर्को ठाउँ, समय, जात र धर्मका लागि बेठीक, विपरीत र अस्वीकार्यसमेत हुने गरेको पनि पाइन्छ । यसका साथै राम्रो–नराम्रो, असल–खराब, ठीक–बेठीक भन्ने कुरा पनि सापेक्षित हुन्छन्। कुनै स्थान वा जातिविशेषको संस्कृति अर्को स्थान वा जातिविशेषका लागि अनौठो र अग्राम्य हुन पनि सक्छ। मूलतः मानव र मानवताको संरक्षण एवं संवर्द्धनका लागि निर्मित साहित्य, कला, दर्शन, सङ्गीतलगायत यावत् गतिविधि र क्रियाकलापहरू तथा मानवीय जीवनपद्धति सबै संस्कृतिभित्रै अटाउँछन् । ज्ञान–विज्ञान दुवैलाई समेट्ने सांस्कृतिक सन्दर्भबाटै मानव जाति र सिङ्गो विश्व मानव समुदाय परिचालित हुनेहुँदा संस्कृतिभित्र मानव समुदायले गर्ने सम्पूर्ण आध्यात्मिक–भौतिक गतिविधि र क्रियाकलाप पर्छन्। राजनैतिक–आर्थिक दृष्टिले संस्कृतिको परिभाषा सामन्तवादी–पूँजीवादी, समाजवादी, प्रजातन्त्रवादी, प्रगतिवादी, जनवादी, साम्यवादी आदि भनेर गरिएको पनि पाइन्छ। कतिपय धार्मिक आस्थाले समेत सामाजिक सम्बन्धको विस्तार गरी विभिन्न संस्कृतिको निर्माण गर्न सहयोग पुर्याउँछ । यसरी अत्यन्त व्यापक र विस्तृत क्षेत्र ओगट्ने संस्कृतिलाई कतिपय सन्दर्भमा देश, काल, जाति, धर्म आदिमा सीमित गरेर हेर्ने अवस्था पनि रहनसक्छ, तर त्यसरी हेर्दा पनि यसको व्यापकतालाई भने भुल्नु हुँदैन।(सन्जीव उप्रेती, सिद्धान्तका कुरा, काठमाडौं, २०६५, पृष्ठ )
प्रस्तुत नाटकमा दास-दासीको उपस्थिति र उनीहरू गतिविधिलाई यसै सांस्कृतिक परिदृश्यका रूपमा अध्ययन गर्न सकिन्छ। उनीहरूको आफ्नै सामाजिक र सांस्कृतिक व्यवस्था छ। यद्यपि उनीहरू त्यसलाई परिवर्तन गरी नयाँ चेतनाको रूपमा रूपान्तरण गरेका छन्। उनीहरूका निम्ति बिहे गर्नु, मर्नु, काम गराइमा परिवर्तन आएको देखिन्छ। पाताल देशका शासकवर्ग नरदेवको पूजा गर्छन्। त्यो नरदेवको मन्दिर कुण्ठा नदीको किनारमा अवस्थित छ। उक्त मन्दिरमा नरवलि दिने प्रचलन छ। नरवलि दिएर उक्त देश र मन्दिरको पवित्रता कायम रहन्छ भन्ने विश्वास पालिएको छ। मुलुकको शासनभार दाजु-बहिनीको अवैध सन्तानको हातमा नपरोस् भन्ने एउटा नैतिक चेतना मुलुकमा विद्यमान छ। मुलुकमा धर्म, सांस्कृतिक, राजनैतिक व्यवस्था छ। उता दास-दासीको पनि आफ्नै सांस्कृतिक चेतना पाइन्छ। संस्कृति परिवर्तनशील हुन्छ भन्ने भनाइलाई दास-दासीको नयाँ व्यवस्थाको सिर्जना स्पष्ट गरेको छ। बिहे गर्नु, मर्नु, झगडा गर्नु आदि बुझाइमा परिवर्तन आउने क्रममा छ। उनीहरूका निम्ति बिहे गर्नुको अर्थ झगडा गर्नु बुझिन्छ।
११. 'अभिषेक' नाटकको मूल्याङ्कन र उपसंहार - नेपाली नाटक साहित्यमा प्रस्तुत अभिषेक नाटक आफ्नै विशिष्ट किसिमको, कलात्मक, विविधमयता, प्रयोगवादिता आदि गुणले युक्त छ। यसमा विसंगतिवाद, अस्तित्ववाद, उपेक्षित समूहको अध्ययन, सांस्कृतिक, मीथकीय, मनोविश्लेषणात्मक आदिका पक्षमा अध्ययन गर्न सकिन्छ। यसैगरी नारीवादी, इतिहासचेतना, युगचेतना आदिका क्षेत्रमा पनि केलाउन सकिन्छ। अहिलेसम्म नै यस उत्कृष्ट नाटकको त्यति अध्ययन भएको छैऩ। प्रस्तुत नाटकलाई काव्य नाटकका रूपमा लिन सकिन्छ भने यसको संवाद योजनामा पनि विशिष्टता पाइन्छ।

पाद टिप्पणी - सम्पा. विजय कुमार राई, इन्द्र सम्पूर्ण-३, नाम्ची, निर्माण प्रकाशन, २००४, पृष्ठ ५१४

प्रमुख सन्दर्भ ग्रन्थ-
१. कुमारबहादुर जोशी, पश्चिमका केही वादहरू, काठमाडौं, साझा प्रकाशन, जो.सं.२०५१।
२. सम्पा. विजय कुमार राई, इन्द्र सम्पूर्ण-३, नाम्ची, निर्माण प्रकाशन, २००४।
३. प्रक्रिया वर्ष २८ अङ्क ४०, २०१४।

प्रकाशित मिति : प्रकाशन मिति : आईतबार, 24 आश्वीन, 2072

लेखकका अन्य रचनाहरु