अनुसन्धानरूपी विकट हिमालउपर विजयगाथा

- पुण्य खरेल

“कातिक ९ गते डा.केआर खम्बुको पोस्तक ‘मेरो अनुसन्धान यात्रा, लोकार्पण हुन्छ, आउनोस् ल ! पत्र मसँग छ !” दुई दिनअघि मित्र कमल गुरागाईँले भन्नुभयो । जनसंसदमा होला पोस्तकको छोटो चिनारी पढेको थिएँ । यसै पनि झापाका विद्वानमध्ये त्यति सामिप्य नभैकन पनि केआर खम्बुप्रति एकप्रकारको सम्मान थियो मनमा । त्यसैले मैले त्यस कार्यक्रममा जानका लागि खुट्टा उचालेँ ।
९ गते भद्रपुरको त्यो सामुदायिक भवनमा खम्बुजीसँग प्रत्यक्ष भेट भएपछि आजसम्म नै म एकप्रकार व्यथितको व्यथित नै छु । वर्ष दिनजस्तो भैसकेको रहेछ उहाँको दुष्टि गुमेको । उहाँलाई डोर्याएर कुर्सीमा बसाउँदाको दृश्यले मेरो हृदयलाई कति साह्रो घोच्यो–चिमोट्यो । कुनै साथीले पनि मलाई यो दु:खद् कुरा भन्नुभएको थिएन । धेरैजसो साथीहरू सूचित हुनुहुँदो रहेछ । सूचनाको खल्ट्याइमा म परेँछु । मैलेचाहिँ आज मात्र थाहा पाएँ । ५०० पृष्ठको गतिलो पोस्तक निकाल्नुभएकोमा खुसीले गद्गद् भएर बधाइ व्यक्त गर्ने बेलामा एक्कासि मैले रुन्चेहाँसो हाँस्न वाध्य हुनुपर्यो ।
सुन्दर कायको “मेरो अनुसन्धान यात्रा” नामको पोस्तक त्यसै दिन उहाँले उपलब्ध गराउनुभयो । भन्न त उहाँले फुर्सदमा पढिदिनु होला भन्नुभयो । जे होस् ! उहाँको आग्रहका कारण होइन, बरु आफ्नै प्रकारको संवेदनाले यो पोस्तक मेरो प्राथमिकतामा पर्यो । बीचमा चाडवाड आदि परे, तैपनि चाडवाडलाई छल्दै, समय बचाउँदै, आफ्नै आलस्यतामाथि भावुकताले चढाइँ गर्दै मैले अक्षरश: यो पोस्तक पढिसकेँ । पढिसक्ता मैले यो पोस्तकलाई केआर खम्बुका पसिनाका थोपाहरूको, लगनशीलताको, निरन्तर उत्साह र जाँगरको, नैराश्यताविरुद्धको मजबूत कोसेली पाएँ । आजका अल्छे नेपाली युवाले यो पोस्तक पढ्छन् होला के ? पढे भने पनि यसका अक्षर मात्र पढ्दा हुन् । मलाई लाग्यो केआर खम्बु यस्तो विकट, अविजित अनुसन्धानरूपी हिमाल आरोहणको साँच्चै नै तेञ्जिङ हो । केआरबाहेक अर्को कुनै मनुवाले यसै परिस्थितिमा यो विद्यावारिधिको काम फत्ते गर्थ्यो होला के ? कतिले छोडेको कुरा यही पोस्तक बोल्छ ।
डा.खम्बुको यो पोस्तक पढेर मैले धेरै कुरा पाएँ । हचुवामा गरिरहेथेँ मैले सम्मान डा.खम्बुउपर । अब त्यसका असमेल आधारहरू प्राप्त भएका छन् र मलाई उहाँजस्ता नेपाली पनि छन् भनेर गौरव वोध भएको छ । साँच्चैको विद्यावारिधि भनेको के हो रहेछ मैले अलिअलि भेउ पाएँ ।
डा.खम्बुले जोगीजस्तो पोकैपोका बोकेर, जादुवालाजस्तो हुँदै चाहारेका ठाउाहरूमा म पनि सँगसँगै हिँडेँ, सिमसारमा हिड्दा मेरा जुत्ता पनि हिलाम्मे भए, लेकका झ्यासमा भ्यागुता र छेपारा खोज्दै जाँदा जीउभरि जुका मेरा पनि लागे, बेलुका अबेलासम्म पाहा र भ्यागुता, छेपारा र कछुवा खोज्दा म पनि गलेर लत्र्याँस–लुत्रुस भएँ । केचनादेखि सुरुभएको ती छेपारा, भ्यागुता, पाहा, कछुवा र साँपहरूको अध्ययन गर्दे चाहार्दै जानेक्रममा पोस्तकका पानालाई साक्षी राखेर देशका झन्डै सबै खोला–खोल्सा, जङ्गल, सीमसार, निकुञ्ज, आरक्ष, चिडियाखाना, संग्रहालय म पनि घुमेँ । डा.खम्बुसँग कहिले भद्रपुरबाट उकालो लागेर कञ्चनजङ्घाको फेदी पुगेर पूर्व सिंहलिला हुँदै सेलरोटी पकाएँ, कहिले बसन्तपुरबाट गुफापोखरी, मेन्छिमाढाप हुँदै म्याङलुङ चाहारेँ, कहिले हिउँ छेपारो खोज्ने सुरमा लुक्ला, थ्याङ्बोचे, वखलढुङ्गा घुमेँ, कहिले चितवन निकुञ्ज, कहिले वर्दिया निकुञ्ज, कहिले कमलामाई, कहिले कोशी टप्पु, कहिले कोरोवारी कहिले चारआली र बहुबन कति घुमेँघुमेँ । लाग्थ्यो थाकेर हैरान भएका बेला अब बसौं, थकाइ मारौं । तर टर्च लाईट, भ्गागुतो–छेपारो समात्ने औजार, क्यामेरा, मिनी रिकर्डर आदि बोकेर बडकबडक फेरि खोल्सातिर हिडेपछि मेरो केही लाग्यो र !
विदेशमा चाहे जर्मनका बोनकोलोन, इनेपाताल, वुपरताल गएर बस्ता होस्, चाहे म्युनिख, वर्लिन, वोन सहरहरू आम्स्टरडम र रोटरडाम सहर हेर्दा होस्, लण्डन गएर त्यहाँको प्रशिद्ध बृटिश म्युजियममा पढ्दा होस् कि लण्डनका ती हेरौहेरौ लाग्दा ऐतिहासिक र सुन्दर स्थानहरूको दर्शन भ्रमणमा होस् कतै नछुटी म उहाँसँगै हिडिरहेँ । पिएर लैना पाडाका जस्ता खुट्टा पार्दै स्पेनिस साथी ज्याभियरसँग हिड्दा पनि सँगै हिडेँ र डा.हर्मन स्लाइखले आफ्नो घर स्पेनको टावरनासमा ठूलो खुइल्याएको सिङ्गो खसी खोक्पाझैं टेबलमा उभ्याएर लन्चमा सरिक हुँदा म पनि सँगै सरिक भएँ । डा.हर्मनले पाल्न दिएको अजङ्गको बोकोलाई बाठो भएर सिङमा समाउँदा डा.खम्बुसँग भित्तामा चेपिएँ पनि र सिङ बटारेर बोकालाई लडाउँदा सँगै लडेँ पनि । मित्र हनोका साथीहरूले दिएको भोजमा नीलानीला आँखा भएका युवतीहरूले ननाची हुँदैन भन्दै डा.खम्बुलाई तानेका बेलामा ‘मरता क्या नहीँ करता, भन्दै उहाँले नाचेको म हेरिरहेको थिएँ । वोन सहरमा एकलै घुम्न निस्कँदा राइन नदी किनारको एक रेस्टुरामा मेनु हेर्दा ‘२० प्रतिशत छुट, ११ युरो, लेखिएको चीज मागेर खाएपछि ४४ युरो तिर्नुपर्दाको दाँत फुकाल्नुजस्तो परेका अवस्थामा पनि म खुम्बुजीसँगै थिएँ । स्पेनिस साथी ज्याभियरले कपाल काटिदिन्छु भनेर चिन्डे बनाउँदा र जुँघाचाहिँ त्यतिकै छोड्दा तेस्रो लिङ्गी भन्छन् भन्दै त्यो पनि सफाचट पारेर बुद्धिष्टझैं बनाउँदा पनि त म सँगै थिएँ नि ! त्यही साथीलाई डुसेलडर्फ विमानस्थल पुर्याएर फर्कँदा रेलमा झन्डै २०० युरो जरिवानामा फँसेको । मैले त कृष्णप्रसाद उप्रेती, यज्ञराज प्रसाइँसँग बनारसजाँदा मुगलसराय स्टेसनमा उत्रेर जान लाग्दा झन्डै रेलको दोब्बर भाडाको जरिवानामा परेको दोहोरिएछ झैं गरी झल्झली सम्झेँ । म त नेपालमै पनि खोटाङको यात्रामा विशाल पत्थरैपत्थरको वनमान्छे बस्ने गरेको कथावाला पहाड कुहीभिर घुम्दा होस्, चाहे मावली गाउँमाथिको गोल्मे राजा र गोल्मे रानीको बिहे भएर आउँदै गर्दा कलियुग सुरु भैहालेकाले अलप भएको ठाउँ गोल्मे भिर घुम्दा होस्, खोटाङका सेल्मे, टेम्के डाँडाका वरिपरि घुम्दा पनि त म सँगै हिडेकै हुँ ।
म डा.खम्बुको यस पोस्तकका कारण जर्मनी, बेल्जियम, निदरल्याण्ड, स्पेन, लण्डनका धेरै सहरहरू घुमेँ । ती देशका धेरै जू र म्यूजियममा पसेँ, पढेँ । डा.हर्मन स्लाइख, डा. िक्रस्टिना, डा.ख्यास्ले, डा.हेङ्क, डा.रेगिना, डा.नवलकिसोर, राजदूतहरू बलरामसिंह मल्ल, नरेन्द्रशमसेर थापा जस्ता विद्वानहरूसँग संगत गर्न पाएँ । ताप्लेजुङकै डा. िबना लिबाङ थेबे तथा उनका श्रीमानसँग पनि उठ–बस गरेँ । डा.खम्बूको विद्यार्थी जीवनदेखिकै हँसिलो साथी योगेनसँग पनि हिमखिम गर्न पाएँ । स्पेनिस साथी ज्याभियर, हनो सास्त्रे तथा थुप्रै नेपाली प्रवासीहरूसँग घुमफिर गर्न, पार्टी खान पाएँ । भनिनसक्नु फाइदामा म रहेँ । नेपोलियन स्मृति संग्रहालय म कहिले पुग्थेँ र ? बाटरलूको त्यो स्तम्भमा कहिले पुगेर फोटो खिच्न पाउथेँ ? हो, क्यानरी बिल्डिङको चर्चा र थेम्स नदी तथा लण्डनब्रिजको चर्चा अरु पनि गर्लान् तर कहिल्यै, कसैले नगर्लान् जस्ता लाग्ने ठाउँमा डा.खम्बूले पुर्याउनुभयो । आम्स्टरडम छेउको सेन्ट्रममा धेरै मानिसका मूर्ति । भरे त मान्छे पनि मखुण्डो लगाएर साँच्चैका मूर्तिजस्ता भई झुक्याउने गरेका । त्यहाँ पनि पुग्थेँ कि पुग्दैनथेँ ।
म डा.खम्बुसँग यही पोस्तकभित्र यात्रा गर्दा कतिपल्ट उत्तेजित पनि भएँ थेसिस टुङ्ग्याएर सच्याएर सुपरभाइजरलाई देखायो फेरि अनेक ठाउँ रातोमसीले किरिङ–मिरिङ पारेर सच्याउन लाउने फेरि सच्याएर अब त अन्तिम गरेँ भन्दै तीन–चारप्रति तयार गरेर लगेर देखायो फेरि अझै आद्योपान्त उस्तै राताम्मे पारेर सच्याउन लाउँदा त हैरान हुन्थेँ, मलाई पो सुपरभाइजरसँग जङ चल्थ्यो । फेरि डा.हर्मन न हुन्, फकाइ–फुस्ल्याइ पारिहाल्थे खम्बुजीलाई । म र रिस पर्यो मेरो भाउजू परिन् दाजुकी झैं हुन्थेँ ।
डा.खम्बु विज्ञान पढेको, छेपारा, भयागुता, पाहा, कछुवा जस्ता सरिसृपमा चुर्लुम्म डुबेको मान्छे । सपना–जपना नै पाहा र कछुवा, छेपारा र भ्यागुता, झ्यास र सिमसार, चिडियाखाना र सङ्ग्रहालय, निकुञ्ज र आरक्ष भएको व्यक्तिले यो ‘मेरो अनुसन्धान यात्रा, भन्ने यो जस्तो साहित्यिक कृति कसरी लेख्नुभयो ? यस्तो लामो अवधिको संस्मरण, यति विस्तृत रूपमा, यति राम्ररी सिलसिला मिलाएर, यति राम्ररी शीर्षक–उपशीर्षकमा चिटिक्क पारेर लेख्ने विलक्षण प्रतिभा त्यो विज्ञानका डक्टरलाई कहाँबाट प्राप्त भयो । यो त अर्को डक्टरको उपाधि योग्य कुरा होइन र ! के खम्बुजीले यो विद्यावारिधिमा लागेकै क्षणबाट आफू यस्तो संस्मरणात्मक कृति पनि प्रकाशित गर्छु भनेर त्यो ध्याउन्ना पनि मनमा बोक्नु भएको थियो ? पोस्तकको यो खारिएको रूप हेर्दा त्यसै हो जस्तो लाग्छ । उहाँको साहित्यिक लेखाइको एउटा नमूना मात्र –“ ... त्यहाँ उकालोको थकाइ मार्दै तल हेर्दा च्याङथापू बजार डुब्न लागेका घामको किरणसँग आँखा झिम्क्याइरहेथ्यो । च्याङथापू खोलो (इवाँ खोलो हुनुपर्छ) सुसाइरहेको थियो । पारिपट्टिको चिया भन्ज्याङले बादलको पगरी गुतेजस्तो लाग्थ्यो ।” (पेज – २०८)
पोस्तक पढ्दापढ्दै उहाँसँगको यात्रामा म फ्रेडरिक एङ्गेल्स संग्रहालय पुगेँ । त्यसबेला मलाई त लागेको थियो कार्लमार्क्सको देशमा छौं, घुम्दाघुम्दै कतै आक्कल–झुक्कल उनका गाउँघरको चर्चा पनि सुन्न पाइएला, उनले पढेको विश्वविद्यालय, उनले विद्यावारिधी गरेको वारेमा, जेनी वेस्टफालेनका वारेमा पनि परिचर्चा होला वा उनीहरूका घरगाउँतिर पुग्न पाइएला कि ठान्याथेँ । त्यो औसरचाहिँ परेन । त्यस्तै आफ्नै देशभित्र उहाँसँग घुम्दैगर्दा पनि म सम्झन्थेँ, माओवादी द्वन्द्व मच्चिएको बेला छ, हामी झोला–झ्याम्टासँग, क्यामेरा र मिनीरिकर्डरसँग अनेक थोक बोकेर गाउँगाउँ चाहार्दैथ्यौं । त्यसबेला कतै ती योद्धाहरूसँग जमकाभेट होला कि ? “स्याबास् खम्बुजी ! डक्टर बन्नुहोस् ! पछि जनवादी गणतन्त्र नेपालको सेवामा तपाईँहरूको ठूलो महत्त्व हुनेछ !” भनेर स्याबासी देलान् कि, या त –“हाम्रो अनुमतिबिना किन आयौं ? हाम्रो सिआइडी गर्न कसले लगायो ?” भन्दै झाङल–झुङल पार्लान् कि जस्तो लागेथ्यो तर तिनीहरू हुँदै नभए जस्तो भयो र म त छक्कभन्नु परेँ पनि ।
किताबमा केही फोटाहरू राखेर मेरा आँखालाई तलतल बढाउनुभयो खम्बुजीले । उहाँले हजारौं फोटो खिच्नुभयो तर गोडा दुई–चारेक फोटा राखेर किन यो पशुपतिको प्रसाद भन्दा कम गरेको ? कमसेकम ती महत्त्वपूर्ण डक्टरहरूको, ती हप्तौ बसेका प्रिय साथीहरूको, ती महत्त्वपूर्ण संग्रहालय र चिडियाखानाको, पत्नी शुभको, ती सहयोगी राजदूतको फोटो त चाहिन्थ्यो नै । अर्को संस्करणमा मैले पाउनुपर्छ ।
छोटो लेखमा म धेरै भन्न सक्तिन । म विश्वास गर्छु यो पोस्तक पढ्दा पाठकले अमूल्य प्रेरणा पाउँछन्, आफ्नो देशका विद्वानको र विश्वविद्यालय प्रशासनको विकृति पनि बुझ्न पाउँछन् ।
म अतुलनीय अध्ययनशील, मेहनती, अथक विद्वानमित्र डा.खम्बुका चक्षुहरू शीघ्र खुलून् । उहाँ सुस्वस्थ रहनुहोस् । नेपालको हर्मनले नेपालको सेवा गर्न कुनै वाधा हुन नपाओस् ! उहाँका अन्य कृतिहरू पढ्न पाइयोस् भन्ने कामना गर्दछु ।

प्रकाशित मिति : प्रकाशन मिति : आईतबार, 24 आश्वीन, 2072

लेखकका अन्य रचनाहरु