जयन्तकृष्ण शर्माको "संसदमा आँसु बोल्छ"- एक पाठकीय पठन

- नवीन पौड्याल

१. आमुख
नेपाली कविता क्षेत्रमा भारतको आसाम-पूर्वाञ्चल भूमि निकै उर्वर रहेको देख्निन्छ। जगन्नाथ गुरागाईँ, हरिनारायण उपाध्याय, हरिभक्त कटुवाल, पुष्पलाल उपाध्याय, हरि गजुरेल, भविलाल लामिछाने, नव सापकोटा, युद्धवीर राणा, छविलाल उपाध्याय, विद्यापति दाहाल, लक्ष्मीप्रसाद पराजुली, लोकनाथ चापागाइँ, रूपनारायण पाठक, दैवकी तिम्सिना आदि कविहरूका लहरमा नयाँ पुस्ताका कविहरू पनि नयाँ नयाँ कवितात्मक बान्की, सीप, सोंच, शैली, भाव, चिन्तन, सौंदर्य, स्वरूप लिएर देखा परिरहेछन्। यस्ता नयाँ रूप, शैली, भावधारा, बान्कीका मिठा कविता लिएर आउने एक प्रखर र ज्वाजल्यमान कवि हुन् जयन्तकृष्ण शर्मा। राजनिती विषयमा उच्च शिक्षा ग्रहण गरेका, विश्वका नयाँ नयाँ चिन्तन, सिद्धान्त, दर्शन, अवधारणाबारे गम्भीर अध्येता, जानकार, सुसूचित व्यक्तित्व जयन्त एक सचेत कवि पनि हुन्। उनी एक समाजशास्त्री, राजनितीशास्त्रीका साथै चिन्तक व्यक्तित्व हुन्। उनको चिन्तनको परिधिले साहित्यलाई समेटेको देखिन्छ। साहित्य क्षेत्रमा उनी एक सफल कवि र एक कुशल अनुवादक हुन्।
असमका एक होनहार प्रतिभाशाली शर्माबाट दुईवटा कवितासङ्ग्रह हामीले पाइसकेका छौँ। अघिल्लो सङ्ग्रह सदनको मझेरीमा माटोको बास्ना (२००१) पछि अब अहिलेसम्मको पछिल्लो संसदमा आँसु बोल्छ (२०१२) पनि पायौँ। अघिल्लो संग्रहले निकै चर्चा, लोकप्रियता र सफलता प्राप्त गरेको थियो भने पछिल्लोले पनि निकै चर्चा पाउँदैछ। उनका कविताहरू साहित्य किंवा साहित्येतर अध्ययनबाट प्राप्त ज्ञानराशीका तप्कनाले अभिसिंचित छन् अर्थात् आफ्नो विस्तृत अध्ययनको मलजलले रोपेका कविता पल्लवित-पुष्पित छऩ्। उनी विश्वको ज्ञान राख्छन् र तिनलाई कविताको विषय बनाएका छन्। भारतीय र पाश्चात्य दुवैतिरका साहित्यिक चिन्तनधारालाई समेटेर अघि बढेका देखिन्छन्।
कवि स्वयम् कै भनाइमा- 'यसै विगतमा नै थोकहरू देखिो, भोगियो, जानियो अनि लेखियो। यी नयाँ कविताहरूले नयाँ थोक र अनुभवहरू बोकेका छन् भन्ने विश्वास छ।'
नेपाली कवितामा विजय मल्लले नेपाल र नेपालीको साँघुरो घेरोदेखि उम्किएर सारा विश्वकै चिन्तनको फाँट बढाएका हुन्। उनका निम्ति नील, मिसिसिपी, अमेजन, भोल्गा, ह्वाङ हो नदीहरू विशवका साझा नदी र विश्व नै एउटा साझा घर बनेको भावलाई कवितामा उतारेका हुन्। उनैको मार्ग भएर आज हाम्रा कवि जयन्त देखा परेका छन्। उनका कवितामा जातीयतादेखि लिएर वैश्विक चिन्तनमा घोत्लिएका छन्। संवेदनाको परिधि विस्तृत र व्यापक देखिन्छ। जातीय आस्तित्वक चेतना, विश्वप्रेम, मानवता, विश्वका दृष्ट र अदृष्ट चित्रपटको वर्णन, प्राचीन-अर्वाचीन सन्दर्भ आदि उनको कविताका कथ्य र सामग्री स्रोत हुन्। उनी सरल काव्यिक मार्गबाट कठिन लक्ष्यतिर लम्केका छन्। कविताका शब्द, शब्दावली, बहुआर्थी, सहचार विन्यास पाठकलाई सरल लाग्छन् तर कथ्यले चाँहि विशाल आयतन बोकेको पाइन्छ। उनका कविताको विषयवस्तु विविध छन्।
कतै स्थानीय रङ्गको चित्रण पाइन्छ त कतै मान्छेका विभिन्न चरित्रको उद्घाटन गरेका छन्। वर्तमान युगमा धनको शक्ति अधिक बढेको छ। मान्छेभित्रको दया, माया, प्रेम, सबै नै धनको मोलतोलबाट निर्धारित भएका छन्। पैसा दिएर हजामले मालिस गरेझैं हरेक कुरामा उही किसिमको स्नेह र माया हुने कुरा उठाएका छन्। माया जस्तो पवित्र कुरासमेत किन्नुपर्ने भएको छ भन्ने कुरो जनाएका छन्। माया पाउँ, किनौं सुटुक्क माया, गोजीमा माया हालेर फर्केको छु जस्ता कविताहरूले युगीन यान्त्रिक, स्वार्थता, धनलोलुपता, वैयक्तिक र व्यसायिक मानसिकतालाई अभिव्यक्त गरेका छन्। स्थानीय चित्रणदेखि विश्वकै जीवन-जगत्को चिन्तन गरिएको छ। उनी आफ्ना मानसिक दुःख, पीडा, विवशतादेखि पर्तिर विश्वकै साझा समस्यादेखि चिन्तित छन्। इथोपिया, सोमालिया, भियतनामका मानव बस्तीका अभाव, यातना, जर्जरित अवस्थाको चित्रण र चिन्तन गर्न पुग्छन्।
२. कविताको विषयगत वर्गीकरण
कवि जयन्तको संसदमा आँसु बोल्छ कवितासङ्ग्रहभित्र विचरण गर्दा मोटामोटी रूपमा हामी चारवटा विषयवस्तु पाउँछौं- १. जातीय आस्तित्विक चिन्तन, २. स्थानीय चित्रण र चिन्तन, ३. जीवनगत चिन्तन र ४. विश्व चिन्तन।
२.१. जातीय चिन्तन- यस संग्रहका कवितामा धेरै नभए तापनि कतै कतै कविलाई आफ्नो जातीय आस्तित्विक पीडाबोध छ। उनी धरणीधर कोइराला, अगमसिंह गिरीको मार्गमा पनि अलिकति हिँडेका छन्। धरणीधरको जातीय उत्थानको आह्वान पनि जयन्तले अर्को रूप लिएर देखा पर्दछन्। 'श्री नरबहादुर उर्फ नरमाने' कवितामा हामीले जति नै संघर्ष, संग्राम र आन्दोलन भयो तर समस्या उस्तै छ। हामी उस्तै असुरक्षित छौं, अत्याचार घटेको छैन-
अनि अत्याचार पनि फेरि
उसैमाथि चाँहि चल्छ
उसैलाई लडाइ-पडाइ गरिन्छ
कुटिन्छ – काटिन्छ।

२.२. स्थानीय चित्रण र चिन्तन- कवि जयन्त आफ्नो माटोलाई स्वर दिन्छन्। असम, ब्रह्मपुत्र र तेजपुर शहर सचल र बाचाल भई उठेका छन्। 'तेजपुरमा निमन्त्रण' कवितामा तेजपुरको गल्ली-गल्ली, घर-घर र त्यहाँका साहित्यिक व्यक्तित्वहरूको सविसातर परिचय दिएका छन्। 'खबर राम्रै छ' कवितामा गाउँलाई विषय बनाई त्यहाँको यथार्थताको चित्रण गरेका छऩ्। गाउँ पनि अब पुरानो ठेट गाउँ रहेन। त्यहाँ पनि अत्याधुनिक सभ्यता धुरीमा चडिसकेको छ। 'बाँध तोडिएको ब्रह्मपुत्र' कवितामा पनि बर्खाको उर्लँदो भेलको वर्णन गरेका छन्। 'जीवनबोध' कवितामा पनि असमको वैष्णव मन्दिरमा नामघरमा प्रतिदिन डबा (एक किसिमको ठोकेर बजाइने डोल बाजा) बजाएको ध्वनि र मस्जिदको माइकबाट आएको अजानको स्वरको समन्वित परिवेशको चित्रण गरेका छन्।
२.३. जीवनगत चिन्तन- कविले आफ्ना कवितामा वर्तमान जीवनबारे विभिन्न भाव व्यक्त गरेका छन्। यद्यपि वर्तमान जीवनमा कविले कतै सुख-शान्ति, सञ्चो देखे-भोगेका छैनन्। यसमा ग्रामीण जीवन र शहरीया जीवन, अतीत र वर्तमान जीवन, कतै जीवनलाई धिक्कार पाउँछन्। यद्यपि जीवन उनको निम्ति निराशाको घर होइन आशाको थलो हो। मान्छेदेखि सावधान कवितामा मान्छेको दुच्छर स्वभावप्रति व्यङ्य कसेका छन्। 'धिक जिन्दगी' कवितामा पनि मानिसले चाहेर पनि आफ्ना वृद्ध बाबु-आमालाई स्याहार-सुसार गर्न नसकिने, नभ्याउने र अन्य केही सत्कार्य गर्न पाइन्दैन भन्ने तथ्यलाई अभिव्यक्त गरेका छन्।
२.४. विश्व चिन्तन- जयन्तको कविताको मूल चेतना विश्वमा घटित हुने विविध घटना, विश्वग्रामको अवधारणामा केन्द्रित देखिन्छ। विश्वमा चलेको साइबर संस्कृति, शहरीकरणको होड्बाजी, ग्रामीण जीवनदेखि पलायन, प्रकृतिदेखि टाडिँदै जाने विश्व परिस्थिति, पर्यावरण चेतना, जातीय अन्तर्मिश्रण र समीकरणलाई कवितागत स्वर-सन्धान गरेका छन्। कविको निम्ति अब डबाबाट बजेको बाजा र मस्जिदको सम्मिश्रित ध्वनिको परिवेश उल्लेख गरेका छन्। नामघर र मस्जिदका मान्छेहरू सँगसँगै शान्ति र भाइचाराको सन्देश दिएका छन्। 'मल्टिनेसलन', 'भियतनामका अस्पतालमा जन्मिएको', 'विश्वरूपा' आदि कवितामा विश्वजनीन चिन्तन गरिएको छ। न धर्म न जात कवितामा पनि जात, धर्म, विरादरी आदिदेखि अलग्गै एउटा नयाँ भेदभावविहीन समाज र विश्वको कामना गर्दछन्।
२.५ आशावाद- केही कवितामा कता कता निराशाका भाव व्याक्त भए पनि मूलरूपपमा भने कवि आशावादी देखा पर्छऩ्। कविलाई यस धर्तीमा शान्ति छाउने, मान्छेभित्रका कल्मष, मैला कुचैला मेटिने, भेदभावविहीन समाज निर्माण हुने आशा छ। कविका अनुसार अब झुप्रा झुप्रामा टाइगर हिल्सको झैं चहकिलो सूर्य उदाउनेछ कामना गर्दछन्। संसारभरि नै न्याय, मानवता र सचेतताको ज्योति उमार्ने संकल्प गर्छन्।
पहाडका घर घरमा टाइगर हिल्सकै
सूर्य खसाउनु छ,
झुप्रा-झुप्रामा
सूर्य बसाउनु छ।
ज्योति उमार्नु छ। (संसदमा आँसु बोल्छ, पृष्ठ ४३)।
'बाँध तोडिएको ब्रह्मपुत्र' कवितामा पनि सरकारी निकायको नीति-नियममा ढिलासुस्ती, भ्रष्टाचार, अराजकता भए तापनि आशा साँच्न र बाँच्ने रहरलाई त्यागेका छैनन-
पानीले बिथोलेको मेरो जीवनलाई
पानीकै थोपाले बचाउने प्रयास छ।
आयोगको रिपोर्ट आउन्जेलसम्म भए पनि
बाँच्न मलाई धेरै धेरै नै रहर छ। (संसदमा आँसु बोल्छ, पृष्ठ ४५)।
प्रतीक्षा त बिहानीकै हो कवितामा पनि परोक्ष रूपमा आशाकै किरणको सन्देश छ।


३. कवितामा पाइने विभिन्न पाठहरू-

३.१. कवितामा अन्तर्पाठ- पाठभित्र अर्को कुनै सन्दर्भ, कथा, उपकथा, पात्र, प्रसङ्ग, विषय आदि मिसिए अन्तर्पाठ हुन्छ मिश्रण, घुलन, पुनर्घुलन भएका रचना नै अन्तर्पाठ हुन्। कुनै एउटा कृति विशुद्ध मौलिक र निरपेक्ष हुन सक्दैन। त्यसमा विभिन्न विषयादि मिश्रित रूपमा आउने गर्छ। यो एउटा नयाँ लेखन पद्धति हो। एउटा पुरानो कृतिको छायाँ अर्को कृतिमा पर्नसक्छ। कवि जयन्तको केही कवितामा इतिहास, भूगोल, बालखेला, लोककथा प्रसङ्ग, नोस्टाल्जिया, संस्कृति, राजनिती, अर्थतञ्त्र इत्यादि अन्तर्मिश्रण र अन्तर्घुलन बनेका छन्। अतः उनले आफ्ना कविताहरूमा लोकपरक, स्रोतपरक, इतिहासपरक, भूगोलपरक, इत्यादि अन्तर्पाठहरूको प्रयोग गरेका छन्। 'म्यानोलिनको मन' कवितामा अर्नेस्ट हेमिङ्वेको उपन्यास ओल्ड म्यान एण्ड सीभित्र एउटा पात्र म्यानोलिनलाई विषयवस्तु बनाइएको छ। कतै बालगीत, लोकगीत, उखान आदिलाई आधार बनाई नयाँ पाठ दिइएको छ।
३.२. साइबर संस्कृतिको झलक- कवि जयन्तले समसामयिक विश्वजीवनमा देखा पर्ने साइबर संस्कृतिलाई विषयवस्तु बनाएर कविता कोरेका छन्। यस संस्कतिले आज विश्वका मान्छेलाई सकारात्मक र नकारात्मक दुवै पक्षबाट प्रभाव पारेको छ। यता मान्छेको गतिविधि संकुचित घेराबाट विस्तृत हुनपुगेको छ। अबका मान्छे सीमिततामा आँटदैन। उ विश्वका हरेक गतिविधि, विचार, चिन्तन, घटना र परिदृश्यबाट विमुख हुँदैन। उ आफ्नो प्रतिभा, विचार, गतिविधि, सिर्जनशीलतालाई विश्वसामु पोख्न सक्छ। कविका निम्ति यबवा पुस्ताहरू डिजिटल भाषा बोल्छन्, कम्प्यूटरलाई सर्वेसर्वा मानेर विश्वव्यापी बनेका छन्। वल्लो कोठा र पल्लो कोठाबाट गउ गरेझैं संसारको कुना कुनामा च्याटिङ गरी आफुलाई व्यस्त राखेका छन्। यद्यपि यसका नकारात्मक पक्ष पनि उत्तिकै देखिदैछन् भन्ने कविलाई लागेको छ। आजका युवा पुस्ताको सिर्जनशीलतामा ह्रास आएको छ। इन्टरनेट र फेसबुकमा मस्त र व्यस्त युवापुस्ताबाट अर्कै सामाजिक व्यवस्था र संस्कृतिको विकास भइरहेको देखिन्छ। युवा पुस्ता साइबरमा डुबेको छ, यही नै यथार्थ बन्दैछ, त्यसैमा हराउँदैछ। उसबाट अबको युगले सामाजिक कर्तव्य र संवेदनशीलता पाउँदैन। उसबाट सिर्जनशीलता हराउँदैछ, जातीय चेतना र भाषाप्रेम, नैसर्गिक प्रेम-प्रीति आउँदैन। यसबारे कवि यसरी कवि चिन्तित छन्-
सुतेर उठेर बिहान
सफ्टवेयर डाउनलोडको
डिजिटल भाषा सुन्नुभन्दा
मलाई मेरै गाउँ फर्केर जान मन छ।
विश्वकै चिन्ता गर्ने अबका मानिस अब आफ्नै भाषा, जाति, संस्कृति, परम्परा, मानवता, संवेदनशीलता प्रेम आदि खुम्चिदै आएको पाइन्छ। जयन्तका कविता साइबर, कम्प्यूटर, इन्टरनेट, डाउनलोड, अपलोड आदि साइबरीय शब्दको निकै प्रयोग भएको पाइन्छ।

३.३. शहर- यसमा रहेका अनेक कवितामा शहरको प्रसङ्ग घरिघरि आएको पाइन्छ। कविको निम्ति सहर बिझाउने, कर्कश, अभाव, संवेदनहीन, अप्राकृतिकता, स्वार्थलिप्तता, कुरूपता, अमानवीयता, विकृति आदिको संकेत र प्रतीक बनेको छ।


कविता शहर जीवनको स्थिति
१. फर्केर गाउँ डिजिटल भाषा, मान्छे बाँच्दा र मर्दासमेत अरूलाई नाफा, प्रकृतिदेखि टाडा।
२. पचास पैसाको बाटो आफन्तको अभाव, पानीसमेत किन्नुपर्ने, चारैतिरबाट धन मात्र चाहिने।
३. बुढो सिटीबसमा उम्रिएको महानगर अर्काको मन छाम्ने अवसर छैन, कल्चुँडाको बद्लीको बदली कागको जस्तो कर्कश बिहान, भीडभाड र दुर्गन्ध, संवेदनहीन।
४. धिक् जिन्दगी असल काम गर्नै नभ्याइने, मरणासन्न पुगेका बाबु-आमासँग पनि बस्न नपाइने, स्वार्थी जीवन जिउने पर्ने।
५. सहर रून्छ सम्वेदनहीनता, अराजकता-आतङ्क- असुरक्षा, अमानवता पनि।
६. संसदमा आँसु बोल्छ धन हुने सुत्न पाउँछ नहुने काममा दौडन्छ,भाडामा मलामी पाइन्छ,धनाभावमा शरीर बिक्री हुन्छ,प्लेटफार्म नै गरीबको घर
७. जीवनबोध मन्दिर-मस्जिदबाट कर्कश स्वर, छिमेकीको अभाव, किरायको घर सरिरहनु पर्ने, साँझपखतिर नगरबधुको चल्मलाहट्।
८. लहरको विपरीत बौलाहा र सद्दे मान्छे एकै ठाउंमा, मृतप्राय मान्छे, निस्सासिने परिवेश।
९. माया पाउँ माया खोज्न याञ्त्रिकताको प्रयोग। मायाको अभाव।
१०. उकुसमुकुस सहरमा प्रदूषणको गर्मी, धुँवा, गाडीको हर्न र मान्छेको कोलाहल, नारा जुलुसको कर्कशता, बन्द, चक्काजाम, ट्राफिक जाम, हुलदङ्गा, कर्फ्यू, रातमा छट्पटी, असन्तोषको उकुसमुकुस परिवेश।
११. बरू पसिना बेचेर भाडाको घर सरिरहनु पर्ने अवस्था, संस्कृति र प्रकृतिदेखि पलायन, रूखो जीवन, बन्धनयुक्त जीवन-शैली।

३.४. युगीन पीडा- कवि जयन्त अहिलेका कवि हुन्। अचेलका मान्छेले सुखले बाँच्न सक्दैनन्। मान्छ हाँस्न र रून पाउँदैन (संसदमा आँसु बोल्छ, पृष्ठ ५२), जङ्गलमा स्याल नकराएर मान्छेनै बाटामा स्यालझैं कराउँछ, बाढीले बगाएर ल्याएको बगरमा छोडिएको माछाजस्तो मान्छेको अवस्था, बारूद भइसकेको उसको हृदय (हावाको मिठास बुझ्ने मन, पृष्ठ ७६), मान्छे आतङ्कको भरमारबाट त्रस्त, घुसखोरी र चोरीको बोलबाला, माया पाउन लालयित (माया पाउँ, पृष्ठ ७९), मायाको रूपमा धन, धनको कारणले मान्छे नैतिक- अनैतिक काम गर्न उद्यत छ। शहरमा अपहरण गरेर बन्धक बनाउने अचेल निकै चलन बढेको कुरा पनि व्यक्त गरेका छन्। ब्रह्मपुत्र नदीको बाडी आएको बेलामा जनतालाई त्राण दिनु त करै जावोस् त्राण सामग्री नै बाटैमा हराउँछ। यस युगमा भ्रष्टाचार, अनैतिकता, अराजकता बढेको छ। मान्छे मान्छेबिच पनि विश्वास रहेन। राजनीति अब मैला भयो, विश्वमा आतङ्कवाद बढेर गयो, समय नै सन्त्रस्त भयो, सांस्कृतिक चेतना हराएर गयो, लोभ आदि विकृति बढेर गएकामा कविले चिन्ता गर्छन्। अबका बाल-बालिकाको निम्ति धक फुकाएर खेल्ने कुद्ने ठाउँ छैन, अब आफ्नो खुल्ला र स्वतन्त्र घर नरहेर भाडाको साँघुरो घरमा गुजारा गर्नुपर्ने स्थिति छ। 'संसदमा आँसु बोल्छ', 'हाँस्न सकेको छैन', 'जेनेरेसन ग्याप', 'मान्छेको रहर', 'खबर राम्रै छ', 'शरणार्थी', 'लिलाममा छ जीवन', 'नयाँ क्षितिजको विवशता', 'हावामा मिठास बुझ्ने मन', 'मन्त्री हुने कथा', 'राजनीति', 'आफगानिस्तान' आदि कवितामा युगीन पीडाबोध पाइन्छन्।

३.५. कवितामा लोकतत्त्व- कवि जयन्तले केही कवितामा नेपाली लोकतत्त्वका उखान, गाउँ खाने कथा, लोकगीत, बाल लोकगीत आदिलाई प्रयोग गरी नयाँ कवितात्मक स्वर दिएका छन्। नेपालीमा प्रचलित एउटा गाउँखाने कथा 'घरभरि कपडा नरमाने नाङ्गै' लाई भारतमा गोर्खालीहरूको दुर्दशा, राजनैतिक हक र अधिकारबाट बञ्चित हुनु, प्रयोग मात्र हुने तर मूल राष्ट्रिय मूलधारामा आउन नपाएको कुरालाई अभिव्यक्ति दिएका छन्। आदौदेखि हामी भारतमा रहिआए तापनि हाम्रो अवस्था जस्ताको तस्तै समस्याग्रस्त छ, पीडितावस्था छ भन्ने भावलाई यसरी व्यक्त गरेका छन्-
नरमानेको हक छैन।
हक भनेको त बर्खाको झरी त होइन
भ्यागुता टर्टराउँदै झरर्र दर्किन्छ
हक बाटोको धुलो पनि त होइन
मटर दगुर्दै हुरूर्र उड्छ।
(श्री नरबहादुर उर्फ नरमाने, संसदमा आँसु बोल्छ, पृष्ठ ४९)
अर्को कविता 'बाटामा स्याल कराउँछ' मा हाम्रो एउटा प्रसिद्ध लोकगीत 'नाचन झिल्के नाचन' सेलोलाई आजको जीवन-सन्दर्भमा जोडेर हेरेका छन्। आजको जीवनमा कृतिमता, अन्नाभाव, हाहाकार, आडम्बरपूर्ण खोक्रो जीवन शैली, भ्रष्टाचारीतञ्त्र, इत्यादिलाई केलाएका छन्। यसमा अतीतको पुर्ख्यौली जीवन र वर्तमान जीवनको तुलनात्मक भाव अभिव्यक्त गरेका छन्। 'जेनेरेसन ग्याप' कवितामा पनि हाम्रो संस्कृतिको वाहक राती फेरी लाउने जोगीलाई लिएर लेखेका छन्।फेरी लाउने जोगील आफ्नो ताञ्त्रिक शक्तिले भूत-प्रेतलगायत अन्य पशु-प्राणीलाई समेत सम्मोहित पार्ने गर्थे भने अब ती त दुर्लभप्रायः बनेको तथ्य पेश गरेका छन्। अबका नयाँ पुस्ताले जोगी र उसको फेरी सुन्न पाउँदैनन् भन्ने भाव व्यक्त गर्दछन्। घामपानी, नबिर्सौं आफूलाई जस्ता कवितामा पनि पुराना लोकगीतलाई माध्यम बनाएर वर्तमान युगकै यथार्थतालाई संकेत गरेका छन्।

४. कविताको संरचना- जयन्तका कविता नाटकीय र प्रगीतात्मक ढाँचाका छन्। उनका कवितामा परस्पर विपरीतधर्मी शब्द र अर्थलाई नयाँ अर्थ प्रदान गरिएको छ। कवितामा एकालापीय संवादको प्रयोग गरिएको छ। जस्तै-
आउँछौं तिमी एकचोटि तेजपुर?
निकै रमाइलो छ
ब्रह्मपुत्रको बगरको यो ठाउँ।
तेजपुरमा निमञ्त्रण, पृष्ठ ३४।
उनले कविताका माध्यमबाटै कविताभित्र नाटकीयता पैदा गरेका छन्। उनले कविताको आकस्मिक विस्तार गर्दै लगेर कतै सूक्ष्म कथानकता प्रदान गरी दृश्यात्मक ढाँचा प्रदान गरेका छन्। तेजपुरमा निमञ्त्रण कविता नाटकीय संरचनाका हिसाबले निकै सफल मान्न सकिन्छ। यहाँ एउटा अदृश्य 'तिमी' पात्रलाई अज्ञात म पात्रले तेजपुर शहरको गल्ली-गल्ली र नेपाली साहित्यिक व्यक्तित्वहरूको घर-घर घुमाउँदै र उनीहरूका विशेषता आदिका बारेमा बताउँदै लगेको नाटकीय तवरले चित्रण गरिएको छ। 'घरैमा', 'फर्केर गाउँ', 'मकाएको घर', 'आज दधिची', 'विश्वरूपा', 'यमराजको हड्डी', 'म्यानोलिनको मन', 'बुढो सिटीबसमा उम्रिएको महानगर', 'झुप्रा-झुप्रामा अब टाइगर हिल्स', 'बाँध तोडिएको ब्रह्मपुत्र', 'संसदमा आँसु बोल्छ', 'भियतनामको अस्पतालमा जन्मिएको', 'खबर राम्रै छ', 'उकुसमुकुस शहरमा' आदि कविताहरू कतै सम्बोधन, कतै सूक्ष्म कथातन्तु, कतै दृश्यात्मकताको प्रयोग गरिएको छ। यस हिसाबले यी कविता नाटकीय संरचनामा आवद्ध छन्। कुनै कविता कथावस्तु भएको आख्यानात्मक जस्तो लागे पनि नाटकीय नै हुन्। 'गौंथलीको बिहे भयो' कवितामा यस्तै ढाँचा पाइन्छ। कवितामा आक्षरिक लय मिलाइको छ। अघिल्लो पंक्ति र पछिल्लो पंक्तिबीच सहचारक्रम मिलेको देखिन्छ। कतै पंक्तिगत आवृत्ति, कतै लामा र छोटा वाक्य, पंक्तिहरूबीच अऩ्तर्सम्बन्ध, शब्दहरूको मितव्ययिता आदि पक्षहरू पनि यसमा रहेका छन्।
कवि जयन्त राजनिती शिक्षा विषयका एक प्रखर अध्येता पनि भएकाले उनका कवितामा अद्यतन राजनैतिक परिप्रेक्ष्यका सैद्धान्तिक पक्षहरू पनि पाइन सक्छन्। विशेषगरी नवमार्क्सवाद, अन्तोनियो ग्राम्चीको हेजिमोनि, एडवर्ड सैदको ओरियन्टलिजम् आदिलाई कवितात्मक रूप दिएका पनि हुन सक्छन्।

५. कवितामा शब्दप्रयोग- कवि जयन्तले कवितामा अँग्रेजी शब्द-शब्दावलीको प्रशस्त प्रयोग गरेका छन्। जेनेरेसन ग्याप, डीप ट्यबवेल, फ्रीज, कमाण्ड,प्रिन्टर, स्केनर, रिटायर, कनेक्सन, इन्टरनेट, इ-मेल, डाउनलोड, सिटिबस, इलेक्ट्रोनिक, कर्फ्यू, बेलट बक्स, काउन्ट, डाइनामाइट, ब्लड बैंक, डायल, जर्नालिस्ट, ट्रिगर, लोडसेडिङ, इन्ट्रान्स, डायल, नोटबुक, इत्यादि शब्दहरू पाइन्छन्, जुन अचेल सामान्य रूपमा हाम्रो समाजमा चल्ने गर्छन्। उनले असमेली र ठेट नेपाली शब्द पनि उत्तिकै प्रयोग गरेका छन्। अभर, आमोई, पड्के, खबटा, मर्लान्त, अलच्छिनी, कुराउनी, डाडु, दर्केझरी, हजाम, कर्फ्यू, निगुरो, आहाल, चिनु-चपेटो, क्यामुना, लडिपुच्छर, चुर्लुप्पै, तम्बू, पात्रो, बन्धक जस्ता ठेट नेपाली लोकशब्द प्रयोग गरेका छन्। त्यस्तै गरी उनका कवितामा असमेली शब्दको गन्ध पनि नपाइने होइन। जस्तै- नामघर, उलाउ, छपडी, गुहाली, डबा, खाटरबारी, इत्यादि।
कविता प्रायः छोटा छोटा नै छन्। कविले आफ्नो कवितात्मक कथ्यलाई छोटोमा नै सशक्त रूपमा पेश गरेका छन्। वर्तमानमा क्लिष्ट र दुरूह कविताबाट तर्सेका आमपाठकका निम्ति कवि जयन्त भने सरल, सुबोध र सहज छन्। सरलताभित्रबाट नै कविले जटिल संसारका जटिल भावलाई अभिव्यक्ति दिनसकेका छन्। कविता सरल छन् तर जीवन र जगत् भने सरल छैनन्। सरलताबाट नै जटिल चिन्तनलाई पक्रिन सक्नु नै कवि जयन्तको विशेषता देखिन्छ।

यसरी नयाँ हाँचका कवि जयन्त नेपाली कविताको आकाशमा चम्किला नक्षत्र बनेका छन्। अघिल्लो सङ्ग्रह सदनको मझेरीमा माटोको बासनापछि दोस्रो कवितासङ्ग्रह संसदमा आँसु बोल्छले पनि काव्यिक उत्कर्षता हासिल गरेको देखिन्छ। सरलतामा जटिलता, छोटामा पनि गम्भीरता, चिन्तनमा प्रौढता, स्थानीयतादेखि वैश्विकता, उनको काव्यिक उपलब्धि मान्न सकिन्छ। कवितागत सहचारक्रममा विन्यस्त, ठेट र स्थानीय शब्द प्रयोग, कतै समयसापेक्ष चलनचल्तीमा आउने अँग्रेजी शब्द, साइबर संस्कृतिले छोपेका हाम्रो विश्व समाज चित्रण आदिले उनका कविता समयसापेक्ष छन्। हाम्रै जीवन र जगतको सत्यतालाई विभिन्न भाव, बिम्ब, प्रतीक, अलङ्कार, शाब्दिक कला आदिका फूल-बुट्टा भरेर सुन्दर कवितात्मक शिल्प प्रदान गरेका छन्।

प्रकाशित मिति : प्रकाशन मिति : शनिवार, 16 आश्वीन, 2072

लेखकका अन्य रचनाहरु