फ़ेसबुकले देखाएको दुनियाँ

- सानु शर्मा

मेरो इन्टेन्सन गलत होईन । हुँदै होईन, जोसुकैले जेसुकै भनोस । सुर्यलाई चहनु, उसलाई मायाँगर्नु, उसको अलिकति समिप्य, साथको लागी पालोकुर्नु, यतिनै त थियो मेरो दिनचर्या, मेरो कामबाहेक ?
तर सुर्यलाई जतिखेर पनि fb मै रमाई रहेको देखेर मलाई यो fb सौता भन्दा कम त लाग्थेन । अनि सौता सँग को नजिक हुन चाहन्छ ? त्यसैले मैले आफूलाई फ़ेसबुक सँग कहील्यै जोडीन ।

बिहे गरेको १५-१६ बर्ष पछी यसैपनि बैवाहीक जीवन मनोटोनस त भै नै हाल्छ फेरी त्यो प्रेम बिबाह नै किन नहोस ।
मैले सुर्यको म प्रतीको बहुलट्टीपन देखेकीथिएँ । मायाँ देखेकीथिएँ । चाहना देखेकिथिएँ र निक्कै बर्षदेखी उपेक्षा र अरुची पनि देख्दैछु ।
उसको मायाँमा बाँधिएर भन्दा उसको आफूप्रतीको पागलपन र मेरो अन्तै बिहेभए मरीदिने धम्कीसँग डराएर म आफ्नो बिहेभन्दा दुईदिन अघि घर छोडेर सुर्यसँग भागेकीथिएँ । मेरो पछाडी मेरो परिवारले जुन बेईजतीको सामना गर्नुपर्यो त्यसको बदला उनिहरुले आजीवन मेरो मुख नहेर्ने निर्णय गरेर लिए, जुन आजपनि कायमैथियो ।
त्यतिबेला मलाई मेरो परीवारको त्यो निर्णय सुनेर पनि पटक्कै पछुतो लागेन । अँहँ लाग्दैलागेन । न मलाई बाबाको बेईजतीको डरले असर गर्यो न आमाको रुवाबासीले । न दाईहरुको धम्की र मानाईले । म केवल सुर्यलाई पाएरनै धन्यभएँ । हुनपनि सुर्यकोलागी फूल थिएँ म, जून थिएँ । आकाश र धरती थिएँ । साँझ र बिहान थिएँ । बर्षात र ईन्द्रेणी थिएँ । उसकोलागी म त्यो सब थिएँ जो समग्रमा शुन्दरताको प्रतीक हुन्छ । त्यसैले पनि मलाई दुनिको पटक्कै पर्वाह थिएन त्यसबेला ।
तर जुन चिज आवेशमा गरिन्छ त्यो दिगो कहाँ हुन्छ र ? दुध उम्लीएर पोखीएपछी आफसे आफ सतहमा आएझैँ सुर्यको मायाँ जुन बेगका साथ उम्लीयो त्यही बेगकासाथ सतहमा ओर्लीयो ।
एकबर्ष मै अघायो ऊ मेरो प्रसंसा गरेर, मलाई अँगालोमा बाँधेर, चुमेर, बाइकमा यहाँ र वहाँ घुमाएर, अरुले गरेको मेरो प्रसंसामा छाती फुलाएर, गर्वगरेर । उसको मायाँ जहाँ सतहमा पुगेर स्थिर भएथ्यो त्यही मेरो मायाँ उम्लदो थियो उस प्रति । मलाई ऊ बिना दुनियाँ बाँच्ने लायकनै लाग्थेन अब ।
सुर्य कान्छो छोरो थियो त्यो घरको, त्यसैले उसको परीवार उसँग जतिसुकै रिसाएपनि, उसलाई र मलाई घरमा त भित्राए तर सुर्यलाई जस्तै मलाई अपनाउन सकेनन् ।
उनिहरु परे काठमाण्डौका टिपीकल नेवार अनि म पूर्व तिरबाट बसाई सरेको बाहुनी । उनिहरुलाई लाग्थ्यो मैले उनिहरुको सोझो साझो छोरालाई पैसा र रुपको साहाराले बरालेँ, बिगारेँ ।
सुर्यको पछाडी उनिहरु हाकाहाकी मेरो चरित्र माथी औँला उठाउँथे तर म उनिहरुको कुराले जति दुखी भएपनि सुर्य सँग केही भन्थीनन । यो परिवार जे जेस्तो भएपनि सुर्यको थियो अनि सुर्य मेरो । यही बिश्वासमा मैले लगभग दुई बर्ष सुर्यको घरमा सबैको सुनेँ र सहेँ ।

दुई बर्ष पछी सुर्यलाई अस्ट्रेलीया आउने मौका जुर्यो । राम्रो संभावना भएको बैँकको राम्रो पोस्टको जागीर छोडेर सुर्य अझै राम्रो भबिष्यको आश बोकेर स्टुडेन्ट भिषामा अस्ट्रेलीया आयो । म उसको पछीलागेँ । कसैले खासै कोशिश पनि गरेन मलाई रोक्ने । अँ बरु सुर्य नै राज़ी थिएन मलाई सँगै ल्याउन तर अस्ट्रेलीयाका साथीहरुले ' एक्लैले पढन र कामगर्न गारोहुन्छ, स्वास्नी लिएर आईज' भनेर सल्लाह दिएको भएर
ऊ मलाई साथै लग्न राज़ी भएथ्यो ।

लगभग बर्षदिन लाग्यो हामीलाई अस्ट्रेलीयामा ब्यवस्थीतहुन ।
सुर्यले राम्रो यूनिवर्सिटी रोजेकोथियो मास्टर्स गर्नको लागी । फि उत्पात महँगोथियो । घरभरीमा कान्छो, खासै घरको कामकाज नगरेको सुर्यलाई पढाई र कामको तारतम्य मिलाउन हम्मेपर्यो । यस्तो बेलामा मैले अघीसरेर उसलाई ढुक्कसँग पढन लगाएर उसको फिस र अरु खर्चको ज़िम्मेवारी लिईदिएँ ।

कस्ता कस्ता पढेलेखेकाले त आफ्नो लाईन र स्तरको काम नपाउने यो ठाउँमा म जस्तो ब्याचलर नसकी कलेज छोडेको मान्छेले के काम पाउँथेँ ?
मैले केयररको ट्रेनिंग लिएर नर्सीड•होम हरुमा कामगर्न सुरुगरेँ । काम निक्कै गारो हुन्थ्यो तर सुर्यको सजिलोको लागी म जिउ ज्यानले काममा लागी परेँ ।
सुर्य युनिवर्सिटी जान्थ्यो, असाईनमेन्ट गर्थ्यो, साथीहरु सँग ह्यड•आउट गर्थ्यो । म काम गर्थे । सुर्यलाई मायाँ गर्थे । बस । मेरो दुनियाँमा मेरो काम र सुर्य बाहेक अरुकेही थिएन । मेरा खासै साथीहरु थिएनन् । मेरो ज्ञान एकदमै सिमीत थियो दुनियाँ र दुनियाँदारीको बारेमा ।

जति जति सुर्यको म प्रतिको मायाँको रंग खुईलिदै गयो उति उति मलाई मेरो परीवार याद आउँदैगयो । आफूले गरेको गल्तीहरु विकराल लाग्दैगयो । बाबाको बेइज़्ज़ती संझेर मन पोल्यो । आमाको आँसु संझेर अन्तर आत्मा भिज्यो । ४ वटा दाजुहरुको पुलपुलाहट र मायाँ संझेर जीवन खल्लो लाग्यो । घरको सम्पन्नता, नोकर चाकरको सेवा-टहल संझेर यहाँको जीवन झनै कस्टकर लाग्यो तर मैले सुर्यलाई केही भन्न सकिन । बरु एकदिन सुटुक्क घरमा फोन गरेँ । बाबाले फोन उठाउनुभयो । निक्कैबेर त म केहीबोल्न सकिन । तर बाबाले धेरैपटक 'हेलो ! हेलो !' भनिरहेपछी मन थाम्न सकिन । आँसुले भिजेको, रुँघीएको कन्ठले भने-" बाबा ! म आर्या !"
जवाफ अनअपेक्षत थिएन ।
"को आर्या ?" वहाँको तथस्ट स्वर मानौ मेरो छातीमा दरो मुक्का बनेर ठोक्कीयो-" यहाँ कोई आर्या छैन । कृपया फेरी याहाँ फोन नगर्नुहोला ।" वहाँले फोन काटीदिनुभयो ।
म वहाँको त्यही ब्यवहारको लायकथिएँ मलाई थाहाथियो तर पनि म निक्कैबेर फोन छातीमा टाँसेर रोएँ त्यो दिन ।

४-५ बर्ष दिनरात नभनी काम गरेरै बित्यो ।
हामी पहीले रेसीडेन्ट त्यसपछी सिटीज़न भयौँ अस्ट्रेलीयाको ।
सुर्यले राम्रो कम्पनीमा राम्रो पोस्टमा कामपायो ।
हामीले बिस्तारै घरबार जोड्यौँ, सम्पती जोड्यौँ । सुर्यले दाई र दिदी हरुको खुब मद्दत गर्यो । उसका परीवारका कोहीन कोही आईरहन्थे यहाँ । घर खासै खाली हुन्थेन अब र सुर्य त्यहिबेला बोलेको, हाँसेको सुनीन्थ्यो जब उसका परीवारका कोही यहाँ हुन्थे या ऊ साथीहरु सँग बियर पिएर चिलआउट गर्थ्यो । नत्र त मैले केही भनेँ भने, कुनै कुरा गरेँभनेँ ऊ हमेशा एउटै चिज भन्थ्यो-" अफिसमा कामको प्रेसर घरमा तिम्रो, कमअन आर्या गिभ मी सम स्पेस !"
एउटै ओछ्यानमा महीनौ कुनै अपरीतझैँ सुत्थ्यो ऊ म सँग । अँगालो हाल्दा पनि "आ'म सो टायर्ड" भनेर अझै पर सर्ने सुर्यले कुन 'स्पेस' चाहन्थ्यो म सँग म बुझ्न सक्थीन ।
समय यसैगरी बितीरह्यो।
हाम्रो बालबच्चा भएन । डाक्टरले सुर्यबाट बच्चा नहुने बताएपछी मैले अडप्सन सजेस्ट गरेँ तर सुर्यले सुन्नपनि चाहेन । उसका आमा र भाउजु मलाई किचकीच गरीरहे । म बाट बच्चा नभए बेलैमा अर्को बिहेगर्ने सल्लाह दिईरहे उसलाई, तर ऊ चुपचाप सुनिरह्यो । मैलेपनि केही भन्न चाहिन । यत्राबर्ष चुप रहेरै बित्यो अब के फाईदाथियो बोलेर ?

यि बितेका बर्षमा मेरो एउटै उपलब्धि थियो, मैले कनिकुथी ब्यचलर इन नर्सीड• सकेर हस्पिटलमा काम गर्न सुरु गरेकोथिएँ । सुर्य त सँधै भन्यथ्यो -" काम छोड, घरै बस । के जरुरीछ ? म कमाईराछु नी ।"
तर म कसरी काट्थेँ दिन यदि यो काम पनि छोडीदिए ? सुन्य घर, सुन्य काख, सुन्य जीवन । यत्र तत्र सुन्यतामा यही बिरामीहरु बिच बितेका केही घन्टा सजीला हुन्थे मेरा, यो पनि छोडीदिए कसरी बाँच्ने म ?

एकदिन साँझ कामबाट फर्केर फ्रेस भएर चिप्सको प्याकेट लिएर बसेर ल्यापटप खोलेँ । शुक्रबार भएकोले सुर्य साथीहरु सँग ह्याड•आउट मा रमाई रहेकोथियो । उसको घर आउने ठेगान हुन्थेन अनि ऊ घरमा नहुँदा मलाई एक्लै खाना बनाएर खान मनलाग्थेन ।
एउटा मेरै नामकी अपरीचितको मेल मेरो प्रतीक्षामा थियो । डिलीट गरौँ की खोलेर हेरौँ भन्ने दोधार बिच मैले मेल खोलेँ ।

डियर फूपु,
म आर्या ! मेरो ड्याड यानेकी तपाईको माहीलो दाईको एकमात्र संतान । मेरो नाम पढेर तपाईलाई लागीसक्यो होला की तपाई आज पनि हाम्रो परिवारको मुटु बाट पुछिनुभएको छैन । बस नाटक गरीरहेछन सबै तपाईलाई बिर्षीएको । तपाईले जस्तै । यतिबेला म अस्ट्रेलीया घुम्न आएकोछु । तपाईको जानकारीको लागी- मम ड्याड अमेरीकामा सेटल हुनुहुन्छ । हजुरबुबा र हजुरआमा अहीले अमेरीकामै हुनुहुन्छ ।
फूपु म तपाईलाई एकपटक भेटन चाहन्छु । निक्कै समय लगाएर, बडो मुस्कीलले मैले तपाईको यो इमेल आईडी पत्ता लगाएर यो मेल पठाएकीछु प्लिज मलाई निरास नपार्नुहोला । म भोली बिहान ११ बजे ओपेरा हाउसमा कुरीरहनेछु । मैले मेरो यहाँको मोबाईल पनि नम्बर लेखीदिएकीछु ।
अर्की आर्या

मेल सकिदा सम्म मेरो आँखाबाट एउटा सानोतिनो झरी दर्किसकेकोथियो । त्यो मेल कसैको मजाकै थियो भनेपनि त्यस्ले मलाई नराम्रो सँग झिँझोड्यो । सुर्यको उपेक्ष्याले ढुंगा बनिसकेको मेरो मुटुलाई बर्षौ पछी हल्लाइदियो त्यो मेलले । तर फेरी, कसले गर्नसक्थ्यो र मसँग त्यति सिरीयस मजाक ? को नै थियो र मेरोबारेमा त्यतिधेरै जानकारी राख्ने ? निक्कै पटक मैले सुर्यको मोबाईलमा फोनगरेँ तर सँधै झैँ उसको फोन उठेन । म ब्यग्रता पूर्वक सुर्यलाई कुरीरहेँ ।

सुर्यले घर पस्ने बित्तीक्कै भन्यो-" हामी अहील्यै स्नोईमाउन्टेन जानलागेको । प्यकअप योर स्टफ ।"
मैले घड़ी हेरेँ । दश बज्नै लागेकोथियो ।
"सो ह्वाट ? बिस्तारै ड्राइभ गर्दै बाटोमा मस्ती गर्दै बिहान पुगौँला ?" उसले मेरो आसय बुझेझै गरी भन्यो-" लड़• विकएण्डहो । सोमबार साँझ सम्म फर्के भैहाल्छ । हरीअप !" उ आफ्नो सामान प्याक गर्न तम्सीयो ।
अहीले सम्म उत्कण्ठित, उत्तेजित मेरो मन अचानक सेलायो । कति उत्साहले म उस्लाई कुरीरहेकीथिएँ । बर्षौ पछिको यो ख़ुशी उसँग बाँडेर फेरी एकपटक बाँच्न चाहन्थेँ म उसको साथमा तर सुर्य लाई त पर्वाह नै थिएन कि म जीबीत थिएँ या बर्षौ पहीले मरीसकेकी थिएँ ।
"अझै उभिराछौ ? सामान प्याक गर भनेको... साथीहरु बाहीर कुरीराछन..."
" सुर्य ! मलाई तिमीसँग केही भन्नुछ... मेरो द..."
"डोन्ट स्टार्ट इट नाउ..." सँधै झै उसले सुन्नै चाहेन म के भन्नचाहन्थेँ -" कमअन, हरीअप... "
मेरो आँखामा आँसु भरीयो-" म कहीँ जान्न सुर्य ! तिमी जाउ ।" मैले दृढ़ता पूर्वक भनिदीएँ - "मेरो लागी तिमीसँग पाँच मिनेट छैन भने मसँग पनि घन्टौं छैन तिम्रा वाईहात साथीहरु सँग बिताउन ।"
उस्ले आश्चर्य पूर्वक मलाई हेर्यो । मैले यत्रा बर्षमा जस्तो सुकै स्थितीमा पनि यस्तो टोनमा कुरा गरेकी थिईन उसँग ।
"यु नो ह्वाट ? आ'म सिक एण्ड टायर्ड विथ यु एण्ड योर मुड़ !" ऊ खुट्टा बजार्दै, फनकिँदै बाहिर निस्कीयो । म रातभरी सुत्न सकिन ।

बिहान म सबेरै ओपेरा हाउस पुगेँ ।
निक्कैबेर कुरेपछी ऊ आई । उसको साथमा एउटा नेपाली केटा थियो जस्लाई उस्ले आफ्नो आफ्नो ब्वाईफ्रेण्डको रुपमा मसँग परीचय गराई । म केही हिचकिचाएँ तर ऊ मलाई अँगालो हालेर निर्धक्क रोई । उसको त्यो रुवाईले मलाई उसको साथमा रुन बाध्यबनायो। हाम्रो रुवाबासीले बिचलीत उसको ब्वाईफ्रेण्डको पनि आँखा ओबानो रहेन ।
मैले उनिहरुलाई घरमा ल्याएँ । मेरी भदैलाई देखेर मेरो दाजुको न्यास्रो मेटीयो । दुई या तिन बर्षकी हुँदीहो ऊ मैले घर छोड्दा । तर त्यसबेला उसको नाउँ अर्कैथियो । पछी उसैले भनि- अमेरीका पुगेर उसका बाउ आमाले उस्लाई मेरो नाम दिएकाथिए । सुनेर म खुब रोएँ । दुरुस्तै बाउ जस्तीथिई ऊ । बोलाई हँसाई उस्तै थियो उसको । म उसलाई अँगालेर सबैलाई याद गरीगरी रोएँ ।
रातिको खाना खाएर उसको ब्वाईफ्रेण्ड भोली आउने आश्वासनका साथ फर्कीयो ।
हामी फूपु भदै रुँदै हाँस्दै सुन्दै सुनाउँदै रातभरी जागै बस्यौँ । यस बिच उसले सयौँ पटक मेरो रुपको प्रसंसा गरी । मलाई अँगाली र उसका बाउ आमा, ठुलो बाउ ठुली आमा, काका काकी कसैले मलाई नबिर्सेको, खाली हजुरबुवाको डरले मसँग सम्पर्क नगरेको कुरा सुनाई । मलाई सबै परीवारको फोटोदेखाई । म फोटो हेरेर धुरुधुरु रोएँ - कति ठुलो मुल्य चुकाएकोथिएँ मैले सुर्यलाई पाउन, तर त्यतिठुलो मुल्य चुकाएरपनि काहाँ पाउन सकेँ र मैले उसलाई ?
कुरै कुरामा उसले मेरो फ़ेसबुक आईडी सोधी । मैले छैन भनेको सुनेर तिनछक परी । त्यसपछी उसले मलाई फ़ेसबुकको चिनारी बताई, महीमा सुनाई र मलाई अकाउन्ट खोल्न आग्रह के ज़बरजस्ती गरी । मेरो कुनै उत्साह नदेखेपछी उसैले मेरोलागी अकाउन्ट खोली । नाम परिवर्तन गरेर श्रेया राखी । मैले बिरोध गरेपछी उसले मलाई संझाई- "फूपु ! तपाई त ड्याडले भनेभन्दा सोझो, सिधा हुनुहुँदो रहेछ । तपाईलाई त अझै दुनियाँदारी आउँदैन रैछ । हेर्नुस ! मैले तपाईको आधा नाम चेन्ज गरेकोछु । उमेर लेख्नै पर्दैन । काम नर्सीड• नै लेखीदिएकोछु । अँ एउटा बसाई चाहीँ अमेरीकाको म बसेको सहर लेखीदिएकोछु । यसमा केको गिल्टी फ़िल गराई ?"
"अनि मेरो फोटोले सत्य भन्दैन की क्याहो ?" मैले भनेँ -" किन यो सब बेकारको झन्झट आर्या ?"
" यस कारण मेरी सोझी फूपु कि तपाई सही आई डीमा सत्य लेख्न सक्नुहुन्न । फ्रस्टेसन निकाल्न सक्नुहुन्न । तपाईको हस्बेण्डको गतिबीधिमा नजर राख्न सक्नुहुन्न..."
"मलाई राख्नुछैन मेरो हस्बेण्डको गतिबीधिमा नजर..." मैले उत्तेजित हुँदै उसको कुरा काटेँ-" अनि कस्ले भन्यो म फ्रस्टेडेडछु भनेर ?"
उसले मेरो अनुहार आफ्नो दुई हत्केला बिच थामी अनि भनि-" फूपु ! मेरी यति राम्री यति गुणी फूपुको यो रित्तो आँखा, रित्तो घर, रित्तो जीवनले सबैकुरा भनिरहेछ । तपाईले काहाँ केही भन्नुपर्छ ?" उसको स्वर रुँघीयो ।
"म खुसीछु ।" भन्दा भन्दै मेरो आँसु छचल्कीयो ।
" फूपु ! घर, परीवार, सहर, र जिन्दगी छोडेको बदलामा मानिस तपाई जस्तै ख़ुशी हुन्छन भने मलाई गर्नुनैछैन कसैलाई मायाँ, हुनै छैन खुसी, तपाईले जस्तो ।" उ रोई । साथमा म पनि रोएँ ।
अन्त्यमा मेरो fb को प्रोफ़ाईल पिक्चरकोलागी आफ्नै फोटोलाई फोटोशप द्वारा अझै आकर्षक बनाएर राखीदिएर, मलाई अमेरीका घुम्न बोलाउने, आफ्ना आमा बाउलाई मनाएर मलाई उनिहरु सँग भेटाउने प्रतीबद्धताका साथ म भन्दा झन्डै आधा उमेर सानी तर म भन्दा कैयौँ गुणा बढ़ी जान्ने सुन्ने र दुनियादार मेरी भदै मलाई जिन्दगी सहेर,सुनेर,दबेर माँगेर होईन डटेर, हक़दार बनेर बाँच्ने सल्लाहदिँदै मसँग बिदाभई ।

सुर्य त फ़ुर्सत भयोकी fb मा झुण्डी हल्थ्यो सँधै । या त ऊ घर बाहिर हुन्थ्यो या च्याटमा ब्यस्त, मस्त हुन्थ्यो । म परैबाट उसको अनुहारको मुस्कुराहट हेर्थे अनि कल्पन्थेँ-" यो मुस्कुराहट जसलाई जोगाउने चाहनामा मैले आफ्नो सबै चिज दाउमा लागाइदीएँ त्यो किन मेरो हुन सकेन ? मेरो लागी हुनसकेन ? कहाँ चुकेँ म ? कहाँ गल्तीगरेँ मैले ?"
म उसको नजीक गएँभने ऊ ल्यापटप अर्को तिर फर्काउँथ्यो, उसको ओठको मोहक मुस्कान पुछीन्थ्यो । ऊ निधारमा गाँठो पारेर मलाई हेर्थ्यो । मलाई गिल्टी फ़ील हुन्थ्यो मेरो कारणले उस्को मुस्कान पुछीएकोमा, मुड़ अफ भएकोमा । म फेरी उस्को नजीक जान्नथेँ ।
तर अब त म पनि fb मा अलमलिन थाकेकोथिएँ।
सुरु सुरुमा बाध्यताबस अहीले ख़ुशी ख़ुशी ।
घन्टौँ कुरा गर्थेउँ हामी फूपु भदै फ़ुर्सत हुँदा । ऊ मलाई दुनियाँ जाहानका कुरा सुनाउँथी । पहीलो पटक मैले दुनियाँ देखेँ, जाने, अर्की आर्याको आँखाले, उसको र फ़ेसबुकको मद्दतले मैले जानेँ दुनियाँ कहाँबाट कहाँ पुगीसकेछ मलाई धेरै पछाडी छोडेर।

मैले पनि आफ्ना सोचहरु fbमा राख्न थालेँ । साथीहरुको संख्या बढदैगयो । मेरो बिचार सँग सहमती राख्ने धेरै भेटीए । म मा चासो देखाउने पनि थुप्रै भेटीए तर म कसैसँग कुरा गर्थीन । कहीले काँही आफ्नो असन्तोष र एक्लोपनको छटपटी जब खन्याउँथेँ म मेरो वालमा, एउटा केटो जो उमेरमा म भन्दा ५-६ बर्ष सानोथियो, बडो चाख लिएर पढथ्यो र कुनै पाकोले झैँ कमेन्ट गर्थ्यो ।
पहीले त मैले खासै मतलब गरीन तर बिस्तारै बिस्तारै उसको स्ट्याटस, उसको कमेन्टले मेरो ध्यान तान्न थाल्यो । ऊ यु एस मा मेडिकल लाईनमा थियो सायद । उसको नाम आदित्य थियो । उसको परीवार बर्षौ देखी त्यतै थिए उसले लेखे अनुसार ।
अर्को एकबर्ष सुर्यसँग अपरिचित झै बसेरै बित्यो ।
यो एकबर्षमा मेरी भदैले आफ्नो बाचा पुरागरेर देखाई ।
मेरो माहीलो दाई र भाउजुसँग कुरा भयो । खुब रुवाबासी चल्यो । अन्त्यमा उनिहरुले मलाई अमेरीका आउने निम्तो दिए तर मैले सुर्यलाई केही भनिन ।
मलाई पनि त्यसरी ल्यापटपमा टाँसिएको देखेर ऊ केही असहज देखीन्थ्यो अचेल तर मुखले केही भन्थेन ।
केही दिन देखी ऊ पनि मेरो फ़्रेण्ड्स लिस्टमा थियो अनि मसँग च्याटमा नजिकीने कोशिशमा थियो । म भने हिचकिचाई रहेकीथिएँ उसँग नजिकीन ।
एकदिन उसले लेख्यो-" यु आर सो बिउटीफूल !"
"हाउ डू यु नो ?" मैले सोधेँ
"फोटो हेरेर !"
"फोटो हेरेर केथाहा हुन्छ ?"
जवाफमा उसले आकाश पाताल जोडेर, फूल बुट्टा भरेर लम्बेतान तारीफगर्यो मेरो । यो मेरो पुरानो सुर्य सँगको भेटघाट थियो । कस्तो अचम्म ? एउटै घरको छतमुनि बर्षौ अपरिचित जस्तैगरी बिताएर ऊ मसँग अन्तरंग बन्ने कोशिशमा थियो fbमा ।
त्यो दिन मसँग अलि घनिष्ट हुँदै गएको मेरो फ़ेसबुकको साथी आदित्यले सोध्यो-" तिम्रो रुचि केमाछ ?"
केहीबेर लाग्यो मलाई उसको प्रश्न बुझ्न । उसले दोहर्याएर सोधेपछी मैले संझे - सुर्यको हात थामेर घर छोडेदेखी मेरो रुचि सुर्यमा बाहेक अन्त कतै थिएन, अरुकेहिमा थिएन । सुर्यको चाहना र कामनामा रंगीएर मैले त यो पनि बिर्षी सकेँथे कि मेरो रुचि केमा थियो, यदि सुर्य बाहेक अरु केहीमा कहिल्यै थियो भने ।
मैले हतार हतार यहि प्रश्न सुर्यलाई सोधेँ । जबाफ अपेच्छीत थियो- नयाँ नयाँ साथी बनाउनु । साथीहरु सँग चिलआउट गर्नु ।
मैले सोधेँ-" म्यारीड ?"
उसले भन्यो- "अनफर्चुनेटली, एस । लड़• टाइम ब्याक, ह्वेन आई वाज टु यड•, परीवारको जवर जस्तीमा । कुनै अन्डरस्टाइन्डीड• नै छैन । अनपढ़ गँवार ।"
मेरो मन नराम्रोसँग दुख्यो । अरु जे भएपनि मेरो सुर्यले झुठो बोल्छ, मलाई बिश्वाश थिएन ।
"त्यसोभए किन अझै सँगै छौ त ?" मैले आँसु पुछ्दै लेखेँ ।
" के गर्छे त्यसले म बिना ? केही गर्ने ढंग छैन, माइतीको पाल्ने हैसियत छैन । बाध्यताछ ।"
उसका एकएक शब्दले मेरो अन्तरआत्मामा घाउ बनायो । मेरो अहंम लाई होच्यायो उसका ति शब्दहरुले ।
"के गर्छौ त ? जीवन यसै बिताउँछौ ?" मैले लेखेँ ।
"हेरौँ । सहन सकुन्जेल सहन्छु त्यसपछी मेरो सहन सक्तीले सीमा नाघेको दिन, जीवीका चल्ने पैसा दिएर काठमाण्डौमा घर कीनेर उतै राखीदिन्छु ।"
म निक्कैबेर हलचल गर्न सकिन । ऊ नानाथरी लेखीरह्यो यहाँ सम्म की मलाई अस्ट्रेलीया घुम्न आउन निम्तो दिईरह्यो । टिकट पठाईदिन प्रमिस गरीरह्यो । म चुपचाप अफलाईन भैदिएँ ।
त यो थियो मेरो चाहनुको, साथ दिनुको, मायाँ गर्नुको, बिश्वास गर्नको मुल्य ??
म बिरामी भएको बाहाना गरेर घरमै बसेँ केहीदिन ।
" जँचाउन जाउ " भन्ने बाहेक उस्ले अरुकुनै चासो देखाएन । तर मेरो फेसबुके साथीले मेरो बिसंचोको बारेमा सुनेर खुब चासो देखायो । केभएको सोध्यो डक्टर देखाएको नदेखाएको सोध्यो । र अन्त्यमा, अर्को सहरबाट मलाई भेट्न आउने कुरा सुनायो । अचानक मलाई भाउन्नभयो । मैले सुर्यसँगको सारा रिस र आक्रोश उसमाथी पोखेँ ।
" लावारिस सोचेकोछौ मलाई ? थाहाछ म कोहुँ ? मेरो उमेर केहो ? कस्तोछु म साँच्चैमा ? एउटा फोटो देखेको भरमा, अलीकती कुरा गरेको भरमा, साथी मानेर दुख सुख बाँडेको भरमा तिमीले कसरी सोच्यौ म इजीली अभाइलेवलछु ? के सोच्छौ तिमी स्वास्नीमान्छेहरुलाई ? बियरको बोतल ? बेडशिट ? डोरम्याट ? या डस्टबीन ? यदि स्वास्नी मान्छेको मतलब थाहाछैनभने ल्यापटप बन्दगर । बाहिरछौ भने घर जाउ । घरमा छौ भने कोठा बहीर निस्क, र पहीला तिम्रो आँखा सामु जो पर्छ, आमा, दिदी या बहिनी, उसको लुगा फुकालेर नांगो बनाउ नियालेर हेर त्यो सरिरलाई, किनकी त्यो सरिरपनि स्वास्नीमान्छेहो । त्यसपछी पनि तिमीभित्र पौरुष्य बाँकी रहन्छ भने आएर मसँग कुरागर । आ'ल कम ह्वेरेवर यु कल मी..."

केहीदिन लाग्यो मलाई निर्णय गर्न ।
कामबाट अढाई महीनाको छुट्टीलिएँ । लयर सँग मिलेर डिबोर्सको लागी डिसकसगरेँ ।
पहिले सोचेँ -" यत्रो साथ दिएको, मायाँ गरेको मान्छे त मेरो हुन सकेनभने यो सम्पती मलाई केकाम ? तर फेरी संझे सुर्यको परिवारमा बिताएको कष्टकर दुई बर्ष । अस्ट्रेलीयामा सुर्यको महँगो फिस जुटाउनको लागी र उसको राम्रो ठाउँमा जब नहुन्जेल कठोर संघर्ष गरेर बिताएको ५ बर्ष अनि मलाई लाग्यो उसको सम्पतीमा मेरो पनि बराबर हकछ उसको जिन्दगीमा नभएपनि । मेरो एक्लोपनको मुवाबजा नै सही यो ।

त्यो रात जब सुर्य फ़ेसबुकमा कसै सँग च्याटमा ब्यस्त मुस्कुराई रहेथ्यो, म उसको सामु गएर उभिएँ । सँधै झै उसको मुस्कान पुछीयो उसले ल्यापटप फोल्ड गर्यो, निधारमा गाँठो पारेर मलाई हेर्यो ।
" आ'म गोइड• टु गिभ यु डिबोर्स कज..."
"नट नाउ आर्या ! कान्ट यु सि आ'म बिजी ? यु..." अचानक उस्लाई याद आयो मैले भरखर के भनेँ । उसको अनुहारको रंग फेरीयो । उसले ल्यापटप अलीपर धकाल्यो अनि सजग स्वरमा सोध्यो-" ह्वाट डिड यु जस्ट से ?"
" म तिमीसँग सम्बन्ध बिछ्छेद गर्न जाँदैछु सुर्य !" मैले उस्तै तथस्ट स्वरमा भने-" मैले लयर सँग कुरा गरीसकेकोछु । तिमीपनि कुरागर । सकभर सहमती र सरलता सँग अलगहौँ त्यही बेस हुन्छ ।"
" रात बिरात के मजाक हो यो ?" ऊ करायो ।
"मजाक त तिमीले मेरो अस्तीत्वलाई बनाईदियौ सुर्य !" म ऊ भन्दा चर्को स्वरमा कराएँ -" तिमी बाहेक मैले जीवनमा अर्को केही चाहीन । घर, परिवार, जात, समाज, ईज्जत सब छोडीदिएँ तिमीलाई पाउन तर मेरो भागमा संघर्ष, एक्लोपन, उपेक्षा र रित्तोपन बाहेक कहील्यै केही परेन । जब मलाई तिम्रो साथमा पनि यसरी एक्लिएरै बाँच्नुछ भने म तिमी भन्दा पर आफ्नै तरिकाले किन बाँच्न सक्दीन ?"
मेरो स्वरको गम्भीरता र आक्रोश देखेर पहीलो पटक उसको अनुहारमा डर देखेँ मैले । ऊ मेरो नजिक सर्यो । मेरो हात थाम्यो अनि कम्पीत स्वरमा भन्यो-" आई लभ यु बेबी !"
थाहाछैन मैले पछील्लो पटक कहीले सुनेथेँ त्यो तिन शब्द उसको मुखबाट आफ्नोलागी, मलाई याद पनि थिएन । जबकी सुरुको दिनमा ऊ सयौँ हजारौँ पटक दोहर्याई रहन्थ्यो यि शब्दहरु अनि उसले दोहर्याए पिछे बेग सँग हलन्थ्यो मेरो असत्ती मुटु । तर यतिबेला यो हल्लीएन । थरथराएन । सयद यसले पनि बिर्षीसकेको थियो त्यो सब्दको असर, सुर्यले जस्तै । मैले उसको आँखामा केही खोजेझैँ गरी हेरेँ । उसले आँखा झुकायो ।
" के गर्न सक्छौ तिमी मेरोलागी ?" मैले सोधेँ ।
"जे पनि गर्न सक्छु बेबी ! तिमी भनेर त हेर ।" उसले फेरी मेरो हात समात्यो ।
"१८-१९ बर्षको उमेरमा आफ्नो बाबु दाजुको ईज्जत माथी टेक्दै, घरमा जग्गे गाडीएपछी, अगाडी पछाडी कतै नहेरी तिम्रो हात थामेर मैले घर छोडेजस्तै गरी तिमी सक्छौ आफ्नो घर परीवार छोड्न मेरोलागी ?"मेरो आँसु छचल्कीयो ।
"आर्या !" उसको स्वर सानो भयो । उसले मेरो हात छोड्यो ।
" त्यतीबेला सारै सानो थिएँ । दुनियाँदारी बुझेको थिईन त्यसैले मेरो यो दशा भयो तर अब बार्गेन गर्न चाहन्छु तिमीसित । भन के गर्न सक्छौ तिमी मेरोलागी ? मेरो कोख र काखामा सन्तान दिन सक्छौ ? या परीवारको अगाडी आफ्नो असमर्थता भन्न सक्छौ ? जाँड रक्सी, चुरोट छोड्न सक्छौ ? यि साथी सर्कल छोड्न सक्छौ ? यो फ़ेसबुक अकाउन्ट सदाकोलागी बन्द गर्न सक्छौ ? भन के के गर्न सक्छौ तिमी मेरोलागी ?" उसले टाउको झुकायो ।
" अरु छोड, यस्तो कुनै एउटा चिज भन, जुन यि बर्षहरुमा तिमीले मेरो लागी गरेकाछौ, केवल मेरोलागी जसरी यि बर्षहरुमा मैले तिम्रोलागी गरेकोछु, मात्र तिम्रोलागी ।" मैले बिस्तारै भने । ऊ अझै केही बोलेन । म बाहीर निस्कीएँ ।

ठुलै बवाल बनायो सुर्यले यो डिबोर्सको मुद्दालाई । उसका बाउ आमा बोलायो संझाई बुझाई गर्न । माफ़ी माग्यो, हात जोड्यो तर मेरो मन पग्लेन । उसले लेखेको लाईनहरु मेरो आँखाबाट पुछीएन ।
आख़ीरकार हामी अलगभयौँ । उसका बाउ आमाले दाई दिदीले बिरोध गर्दागर्दै उसले घर सम्पतीमा बराबरीको हिस्सा दियो मलाई । मलाई लिन कुनै अफ्ट्यारो पनि लागेन । आख़ीर उसको भन्दाधेरै संघर्ष मेरो लागेकोथियो यो सम्पति जोड्नमा । सुर्य मेरो जीवनमा हुँदासम्म मलाई कहिल्यै अरुकुनै कुराको चाह भएन । तर अब ऊ कहाँथियो र मेरो जीवनमा ? धेरै पहिले छोडीसकेथ्यो उसले मलाई । यतिखेर त म बस उसको 'छोड्नु'मा मोहर लगाउँदैथिएँ ।

अस्ट्रेलीया छोड्नु अघी मैले फ़ेसबुक खोलेँ । ईनबक्समा अरु थुप्रै म्यासेजको साथ आदीत्यको म्यासेज पनि थियो । उसले लेखेको थियो-" एउटै चश्माले सबैलाई हेर्नछोड । बुझेँ मैले, चोट खाएकीछौ यस्को मतलब अरुलाई पनि दुखाउनै पर्छ भन्नेछैन । हिम्मत छ भने आएर भेट मलाई । एउटा मौका देउ मलाई, तिमीलाई बुझाउने, स्वास्नीमान्छेको अर्थ, अधिकार र स्थान केछ मेरो मन र जीवनमा । डाक्टर हुँ मैले चोट दिन होईन निको पर्न जानेकोछु हुनसक्छ भने बिश्वाशगर ।

मैले धेरै पटक उसको म्यासेज पढेँ तर जवाफ लेखीन ।

अर्को दिन म यु एस को लागी उडेँ तर उड्नु भन्दा पहिले मैले सुर्य र मेरो बिचमा भएको च्याटको लिंक सुर्यलाई पठाईदिएँ ।

एयरपोर्टमा दाजु भाउजु मात्र होईन बाबा आमा पनि मलाई लिन आउनु भएकोथियो । मलाई लाग्यो म फेरी जीवीत भएँ ।

तिनबर्ष पछी...
मैले आफ्नो पूरा नाम र परीचय खुलाएर नयाँ fb अकाउन्ट खोलेँ
आदीत्य, म र मेरा जम्ल्याहा छोरा हरुको फोटो प्रोफाईलमा राखेँ र स्ट्याटसमा लेखेँ-
लिनु र दिनु बराबरी भएन भने सम्बन्धको ब्यालेन्स बिग्रन्छ । चाहे त्यो मायाँ होस अरु कुनै कुरा । लिनेले हक़ मनेर लिन्छ र बिर्सन्छ, दिनेले दिईरहन्छ तर काउन्ट गरीरहन्छ । जब यो क्रम हद भन्दा बाहीर जान्छ तब सम्बन्धले निकाश खोज्छ ।
म दिँदा दिँदा रित्तीएको थिएँ । आज लिएर/ पाएर संपूर्णछु । जिन्दगीसँग हिजो भएपनि आज कुनै गुनासो छैन मेरो।
धन्यवाद अर्की आर्या मलाई भेट्न आएको र मलाई फेसबुकसँग परीचय गराएकोमा !
धन्यवाद फ़ेसबुक मलाई दुनियाँ देखाएको/ चिनाएकोमा ।
धन्यवाद डाक्टर साहब मेरो घाउ सन्चो बनाएकोमा ।
आर्या आदित्य गौतम

प्रकाशित मिति : प्रकाशन मिति : शनिवार, 16 आश्वीन, 2072

लेखकका अन्य रचनाहरु