उपेन्द्र सुब्बाको लाटो पहाडमा यथार्थवादी कलेवर

- डा. रमेश इजम लिम्बू

भनिन्छ साहित्य समाजको एैना हो जसले समाजमा घटेका वा घट्न सक्ने घटनाहरुलाई प्रतिविम्वन गर्दछ । यसै मेहरोमा उपेन्द्र सुब्बाको हालै प्रकाशित ‘लाटो पहाड’ नेपाली कथा लेखन विधामा एक नविनतम् साहित्यिक उचाइ हो जसले समकालीन बहुआयामिक परिवेशलाई यथार्थवादी शिल्प शैलीद्धारा लेखकीय वैशिष्ट्यता प्रदान गर्दछ । स्थानीय परिवेश, वातावरण, संस्कृति, जातजातिका आचरण, समस्या, बोलीचाली आदिलाई महत्व दिएर अति मिहिन रुपमा लेखिएको यस कथाले पूर्वी नेपालको ग्रामिण लिम्बूवानी परिवेशलाई उजागर गर्दछ । यसैले यी कथाहरु स्थानिक चेतनाको माध्यमद्धारा वैश्यिक साहित्याकासलाई जोड्न सफल छन् । यसमा सामाजिक यथार्थवादी कथा लेखन प्रवृत्तिलाई विशेषरुपमा अंगिकार गरेको पाइन्छ । नेपाली कथाको आधुनिककालको प्रथम चरणदेखिनै समकालीन कथा लेख्ने यस्ता केही कथाकारहरुमा रमेश विकल, परशु प्रधान, मनु ब्राजाकी, भाउपन्थी, सनत रेग्मी, शैलेन्द्र साकार, राजेन्द्र विमल, राममणि पोख्रेल, रामभरोस कापडि भ्रमर, प्रदिप नेपाल, नयनराज पाण्डे, कृष्ण धरावासी, रत्नमणि नेपाल, रमेश रञ्जन आदि प्रमूख हुन् ।
सुब्बाको यस कथा संग्रहमा प्रभू माइला, खुङ्खार भाले, ऐंठन, ससराली, पुचुने धामीको मरण, नसपाते बूढा, थोते साइँलो, मानसिंको चैते दशैं, हन्दनेको विहे, हरियो ढुङ्गा, सुगुत, मनमाया र लाटो पहाड गरी जम्मा तेह्रवटा कथाहरु संग्रहित छन् । ‘पुचुने धामीको मरण’ र ‘हरियो ढुङ्गा’ बाहेक अन्य एघार वटा कथाहरुको विषयवस्तु र प्रमुख पात्रहरु लिम्बूहरुकै स्थानीय परिवेश वरिपरि घुमेको छ भने पुचुने बूढाको मरण एक ब्राह्मण धामी र हरियो ढुङगा एक मगर पात्रको वरिपरि रहेको छ । यद्यपि यी दुइ कथाहरुले गैह्रलिम्बू समुदायका पात्रका कथावस्तुलाई लिएतापनि तिनीहरुले लिम्बूवानी परिवेशसँग नै सामिप्यता राख्दछन् ।
‘प्रभू माइला’ कथाले एकातिर विगतमा यातायातको सुविधा नहँुदा नुन, तेल, लत्ताकपडा, किराना आदि आवश्यक सामान ढाकरमा बोकेर तोक्मा लगाउदै मधेश÷तराइको सम्म भूमिबाट मौवा खोलाको जँघार तर्दै पहाड आफ्नो गाउँतिर हिड्नुपर्ने यथार्थलाई देखाएको छ भने अर्कोतिर कसरी लिम्बू समूदायमा इसाइकरणले प्रभाव पार्दै लग्यो भन्ने कुराको चित्रण गरेको छ । गर्हौं भारीको बोझ, उकाली चढाई र चर्को घामले थकित पुर्ने, मंगलसिं, डबले र कोक्मा ठूले हिंडिरहेको बेला पछाडीतिर प्रभू माइला वा केशवमान एउटा सानो झोला भिरेर आइपुग्छ । विद्यालयको पढाइ छाडेर भारतको आसाम पुगी ख्रिष्टियन धर्म अनुसरण गरी गाउँ फर्केर येशुको समाचार सुनाउन थालेपछि उनको नाम प्रभू माइला भएको प्रसंग कम रोचक छैन ।
त्यसैगरि ‘खुङ्खार भाले’ गाउँले विपन्न परिवेशलाई प्रतिविम्वित गर्ने अर्को एक अत्यन्त मार्मिक कथा हो । यसमा कठीन शारीरिक परिश्रमका वावजुद प्रमूख पात्र बिर्खेलाई आप्mनो श्रीमती, छोरा माखक्के र सानी छोरी नुमाका सामान्य इच्छा र आवश्यकतालाई समेत समयमा पुरा गर्न नसक्दाको पीडा र ग्लानिको अनुभूतिले सताएको देखाइएको छ । यसैगरी विषयवस्तुको आधारमा आध्यात्मिक मिथकीय परम्परा र भौतिक प्राविधिकीय प्रयोगको प्mयुजन हो सुब्बाको कथा ‘ऐँठन’। यसमा लिम्बू मुन्धुमको मिथकलाई स्वैरकल्पनामा आधारित बनाएर प्रस्तुत गरिएको छ । कथामा एउटा किशोर छोरो आप्mनो बाबुलाई बाटो देखाउदै घरको मूल खाँबो र चुलाबाट अर्को लोकतर्फको एक रोमाञ्चकारी र अदभूत यात्रा वर्णन गरिएको छ । एकातिर मुन्धुमी आत्मिक यात्राको वर्णन छ भने अर्कातिर परिवार नियोजन र भु्रण हत्याद्धारा हुने लाखौं करोडौं मानव हत्याको त्रासदीलाई देखाइएको छ ।
‘ससुराली’ कथाले दाम्पत्य जीवनमा एकआपसको सम्बन्धलाई सुमधुर बनाउने तरिकाको अभावले कसरी श्रीमान् र श्रीमतीबीच आत्मियताको कमि रहन्छ र परस्पर मिलेर बस्न सक्दैनन् भन्ने कुरालाई प्रष्ट पारिएको छ । सफल दाम्पत्य जीवनका लागि एकले अर्काको यौन मनोविज्ञानलाई पनि बुभ्mन जरुरी छ भन्ने कुरा पनि देखाउँछ यसले । कथामा बिहे गरेको दशबर्ष बितिसक्दा पनि खोक्सुङ र उसको श्रीमतीबीच समर्पणाभावको कारणले उनी घर नबसी भागेर धेरैजसो माइतमै बस्ने गरेको र उनलाई सातौं पल्ट लिन ससुराली गएको बखत भने दुवैको चाहना एकाकार भै सम्बन्धमा सुधार आएको उल्लेख गरिएको छ ।
झापा जिल्लाको केर्खा बजारतिर बस्ने अन्य परम्पराबादी ब्राह्मणहरुभन्दा फरक रहनसहन र फरक जीवनशैली यापन गर्ने पुचुने धामीको जीवनचर्यासँग सम्बन्धित छ कथा ‘पुचुने धामीको मरण’ । उनलाई सर्वभोगी, अनौठा क्रियाकलापमा सरिक हुने र अलि लालची व्यक्तिको रुपमा पनि चित्रण गरिएको छ । कथा ‘नसपाते बूढा’ लिम्बू परिवेशमा देखिने एक यूनिक परिदृष्य हो । यो कथा नसपाते बूढाको वरिपरि घुमेको छ । कथाकारले उसको व्यवहार, स्थानिय झर्रो बोलीचालीको प्रयोग तथा कार्यशैलीलाई अत्यन्तै मर्मस्पर्शी ढंगले प्रस्तुत गरेका छन् । नसपाती नरोपे र नफलाए पनि उसले बारीमा ठूलो मुला र अकबरे खुर्सानीको एक–एक बोट रोपेर फलाएको छ । उसले एउटा विकासे सुँगुरकोे विर राखेको छ, गोठमा एउटा साँढे, एउटा बोका र एउटा गाउँनै थर्काउने गरी बाँस्ने कुखुराको भाले छन् । गाउँलेले उसको साँढे, विर, बोका र भाले लगाएबापत निश्चित रकम चार्जस्वरुप लिए पनि ऊ भने निसन्तान नै हुन्छ । उसको स्वभाव हक्की खालको, आफु हाँस्ने र अरुलाई पनि हँसाउने, र अप्रतक्ष्यरुपमा अरुलाई खिसीटिउरी गरेर बोल्ने व्यक्तिको रुपमा चित्रित गरिन्छ । उनलाई पल्टनबाट छुट्टि आएका बखत भाषा आन्दोलनमा लागेकाले राजद्रोहको अभियोगमा मुद्दा लागी केही समय जेल बस्नुपरेकाले नाम कटुवा लाहुरे भएको देखाइन्छ ।
कथा ‘थोते साइँलो’ले शहरमा बसेर पढ्ने र आफुलाई विद्यार्थी राजनीतिमा लगाउने लिम्बू युवा पुस्ताको अन्योलपूर्ण भविष्य र जीवनशैलीलाई उजागर गरेको छ । यसले राज्यसत्तामा लिम्बू लगायत अन्य जनजातिहरुको पहुँचको कमिका कारण अघि बढ्ने कुरामा तगारो बनेका कारण नेपालमा उनीहरुको भविष्य सुनिश्चित नभएको तितो यथार्थलाई देखाइएको छ । भनिइएअनुसार खरायो मार्ने पासो बनाउन तबेलामा गई कर्दले घोडीको पुच्छर काटेर चोर्न लाग्दा घोडीले लात हानेकाले उसका दुइटा दाँत झरेको र त्यसपछि मानिसहरुले उसलाई थोते साँइला भन्ने गरिइएको हो । राजधानीमा बसेर विद्यार्थी संगठनको केन्द्रीय सदस्यमा लडेकाले आफुलाई ठूलै नेता ठान्ने थोते साँइला उर्पm गोविन्द लिम्बूले बि.ए.सम्म अध्ययन गरेता पनि बिहे भने गरेका हुँदैनन् । कथाले के देखाउँछ भने उसको बिहे नहुनुमा दाँत थोते भएकाले मात्रै होइन, बरु उमेरमा लाहुरे नभई विद्यार्थी राजनीतिमा लागेकाले पनि हो ।
यसरी सुब्बाका कथाहरुले लिम्बूहरुको परम्परा, संस्कार, संस्कृति, भाषाका साथै उनीहरुको जीवन, जगत र आर्थिक सामाजिक परिस्थितिका केही महत्वपूर्ण पाटाहरुलाई उजागर गरेका छन् । यसै मेहरोमा कथा ‘मानसिंको चैते दशैं’ पनि लेखिएको छ । बाबु बाजेकै पालादेखि रजधज गर्दै आएका मानसिंको पारिवारिक खान्दानी अभिमानको अन्त्य आप्mनै कर्मले भएको विषयलाई दर्शाइएको छ यस कथामा । यसैगरि हन्दनेको विहे शिर्षक कथाले समाजमा घटित हुने सामान्य तथा असामान्य अवस्थाका बेलामा व्यक्ति र समाजले गर्ने कार्यहरुका साथै उनीहरुले लिने निर्णयबारे चित्रण गरेको छ । यस कथाको सम्पूर्ण घटनाहरु सुब्बा हर्कबोलीको जेठो छोरो हन्दने र कान्छो छोरो लन्डनेका कार्य र चरित्र वरिपरि घुमेका छन् । यसमा लन्डने, हन्दने र पारिभित्ती भाउजूबीचको त्रिकोणात्मक सम्बन्ध र यसबारे समाजका मानिसहरुले हेर्ने र व्यक्त गर्ने आआप्mना दृष्टिकोणलाई प्रस्तुत गरिइएको छ ।
त्यस्तै अर्को कथा ‘हरियो ढुङ्गा’मार्पmत भुटानी शरणार्थीहरुको समस्या, दुःख र पीडापूर्ण दिनचर्यालाई बडो गम्भिरतापुर्वक प्रस्तुत गरिएको छ । रतुवा खोलाको किनारमा बस्ने भुटानी शरणार्थी सुखबहादुर मगर उर्फ निचुले कान्छोलाई ‘शरणार्थी हुनु भनेको गिटी कुट्नु हो’ भन्ने लाग्छ । गिटी कुट्नका लागि भनी ढुङ्गा खन्दा फेला परेको हिरा जस्तो एउटा हरियो ढुङ्गो नै निचुले कान्छोको जिन्दगीमा सबैभन्दा दुःख, पीडा र बर्बादीको कारक हुनपुग्दछ । यसैको कारण उसको एउटा छोराको हत्या, अर्को छोरालाई जन्मकैद अनि श्रीमती र छोरी बेपत्ता पारिदिन्छ । धेरै भुटानी शरणार्थीहरु पुनर्वासमा कोही अमेरिका, कोही अष्ट्रेलिया, कोही युरोप पुगेको अवस्थामा पनि निचुले कान्छो भने उसरी नै अहिले पनि एक्लै रतुवामा गिटी कुट्न जान्छ तर सधैसधैं एउटै डर बोकेर कि फेरि नभेटियोस् हरियो ढुङ्गा ।
सुब्बाको अर्को कथा ‘सुगुत’ लिम्बू समूदायमा प्रचलित परम्परा, संस्कृति र जनविश्वासको दर्पणको रुपमा प्रस्तुत छ । यसले केही ऐतिहासिक, आर्थिक र लैंगिक पक्षहरुलाई समेत कोट्याएको छ । आर्थिक उपार्जनका लागि विभिन्न देशहरुमा भौतारिनुपर्ने बाध्यतालाई देखाइएको छ । विशेषतः लोग्नेमान्छे यसरी बिदेशिनु पर्दा श्रीमतीको उचित रेखदेखको कमीको कारण बच्चा जन्माउने बेलामा अकालमै मृत्यवरण हुने र सो मृतकको आत्मालाई परम्परागत संस्कारअनुरुप सम्पन्न नगरिएमा वा आत्माको इच्छा पुरा नभएमा सुगुत हुने र यसले सदैव दुःख दिइरहने स्थानिय जनविश्वासको आधारमा लेखिएको छ यो कथा ।
‘मनमाया’ कथाले समाजमा गरिने लैंगिक विभेदलाई चित्रित गरेको छ । पारिवारिक बाध्यतावस वालअधिकारको पक्षमा आमाबाबुले ध्यान दिन नसकेको तीतो यथार्थलाई यसले देखाउँछ । शहरबजार र केही सुविधासम्पन्न ठाउँहरुमा केही कम भएता पनि गाउँघर र विपन्न परिवारमा वालश्रम र लैंगिक विभेद अझै कायमै रहेको यसले प्रष्ट पार्दछ । कथामा विद्यालय जान छोडेर नौ वर्षकी मनमाया वर्षदिनका सानो भाइ हेर्ने, खाना खुवाउने, नाहेन भालेलाई स्यालले लान्छकि भनेर हेर्ने, मेलापातमा खाजा पु¥याउने, पानी बोकेर गाग्री भर्ने आदि कामको जिम्मा पाएको हुन्छ । यसरी काम गर्दागर्दै पानीले निथ्रुक्क भिजेको र भालेलाई पनि स्यालले लगेकोले उनलाई बिरामी र आमाको गालीले सताउँछ । अन्तिममा उनको बुबा र आमाको विद्यालय पठाउने कुराले मनमाया खुशी भई विद्यालय जाने भनी निन्द्रामै बर्बराउछिन् । कथा सकरात्मक मोडमा अन्त्य भएपनि मनमायाको आउँदा दिनहरु त्यति उत्साहप्रद भने देखिंदैनन् ।
यस संग्रहको शिर्षककथा ‘लाटो पहाड’ अभिनय तथा प्रदर्शन कलाशैलीलाई प्रमूख आधार बनाएर लेखिएको छ । दृश्यात्मक कथानकको आलोकमा टेकेर सिंगो संग्रहका प्रायशः अधिकांश पात्रहरुको भूमिकालाई एकिकृतरुपमा प्रस्तुत गरेको छ यस कथाले । एउटा अति सामान्य गाउँले परिवारको पृष्ठभूमिमा लेखिएको यो कथाले जीवनको विशेष पाटोलाई अत्यन्त सुक्ष्म ढंगले केलाएको छ । यसमा एकातिर लिम्बू जातिको सामाजिक सांस्कृतिक तथा मानवीय संबेदनाका पक्षलाई देखाइएको छ भने अर्कोतिर व्यक्ति र घर परिवारको दुर्दशालाई आम पाठकसामु ल्याइएको छ । ओरालो लागेको मृगलाई बाछाले पनि धपाउँछ भनेभैmं जब मानिसलाई दुर्दशाले घेर्न लाग्छ तब साथीभाइले पनि धोका दिन थाल्छन्, विभिन्न क्षेत्रहरुबाट समस्याको ओइरो लाग्छन् । यस्तै समस्या र दुःखले पिरोल्छ लाटो पहाड कथाका पात्र कोक्मा ठूलेको जीवनलाई । कोक्मा ठूले र उनको छोरो फाङ्जङलाई प्रमूख पात्रका रुपमा उभ्याइएता पनि अन्य पात्रहरुको भूमिका कम महत्वका छैनन् । डाँडामा घर भएको र परिवारमा ठूलो छोरो भएकाले उनलाई ‘कोक्मा ठूले’ भनिएका अति सरल र रौसी प्रवृत्तिका कोक्मा ठूलेको च्याब्रुङ बजाएर नाच्ने मोह विचित्रको छ । यसै च्याब्रुङकै कारण साथीभाइसँग उनको झगडा पर्छ, उनलाई गालीब्यइजती, जरिमाना, मुद्दामामिलाकासाथै कैदसम्म हुन्छ ।
यसैगरि विद्यालयमा एकल नेपाली भाषा प्रयोग र प्रशिक्षणका कारण सिकाईमा लिम्बू बालबालिकामा परेको असरलाई पनि यसमा देखाइएको छ । फाङ्जङले नेपाली शव्दको सही शव्दोच्चारण गर्न नसक्दा ऊ शिक्षक–शिक्षिकाबाट बरोबर गाली, बेइजती र यातनाको सिकार भैरहन्छ र उसलाई भयले सताउँछ । एकातिर शिक्षिकाको गाली र कुटाइका कारण फाङ्जङ पटक–पटक विद्यालय जान छोड्छ भने अर्कातिर उसको कक्षाका साथी विष्णुसँग एकअर्कामा भनाभन र झगडा परिरहन्छ ।
समग्रमा यस कथा संग्रहबाट कुनै पनि कार्य समयमै सही ढंगले सम्पादन गर्न असमर्थ भएमा त्यसको प्रतिफल अनुकुल नहुने र त्यसले भविष्यमा नकरात्मक असर पु¥याउने कुरालाई उजागर गरेको छ । केही हाँसो, केही ठट्टा र केही मनोरञ्जनका ससाना ढिस्कारुपी अनुभूतिहरु भोग्न पाएतापनि अधिक पीर, आवश्यकता र कठीनतम् जीवन भोगाइका पहाडहरु व्याप्त छन् यहाँ ।
कविहरु उपेन्द्र सुब्बा, राजन मुकारुङ र हाङयुग अज्ञातले चलाएका सिर्जनशील अराजकता नामक साहित्यिक आन्दोलन वास्तवमा एक नवीन आयाम हो र यसको आप्mनै विशिष्ट योगदान छ नेपाली साहित्य जगतमा । ‘खोलाको गीत’ कविता सङ्ग्रहलाई सुब्बाको लेखनकलाको मानक कृति मानिन्छ । अहिले लाटो पहाड कथा सङ्ग्रहमार्पmत उनले लेखनमा आफ्नो बहुविधाको आयामलाई अझ फराकिलो पारेका छन् । उनको लेखनमा सरलता र सरसता छ । कवितामा झैं छङछङ झरना मात्रै होइन, उनी कथामा तमोर र कावेली भएर सलल बग्न सक्छन् र सप्तकोशीमा मिल्न पुग्छन् थाहै नपाई, अनि मानवीय अनुभूति र संबेदनालाई गहन रुपमा प्रस्तुत गर्दछन् । त्यसैले आम पाठकबीच प्रिय बनेका छन् उनी । उनको कथाहरुले नश्लीय चेत र लिम्बवानी समाजका भुइँमान्छेहरुको जीवन, मनोविज्ञान र दुर्दशालाई बोकेका छन् । समग्रमा जीवनका भोगाइहरु उस्तै भए पनि सामाजिक परिवेश, त्यसले उत्पादन गरेको संस्कृति र व्यवहारका भिन्नताहरुलाई बोध गर्न यी कथाहरुले योगदान गर्नेछन् । यसै संग्रहका दुइटा कथाहरु ‘प्रभू माइला’ र ‘मनमाया’लाई मिलाएर यसै वर्ष जुलाइ १५ देखि करिव एक हप्तासम्म शिल्पी थिएटरले किरण चाम्लिङ राईको निर्देशनमा भएको नाटक मञ्चन निकै सफलरुपमा सम्पन्न भएकोले पनि यसले विशेष स्थान बनाउन सकेको ज्ञात हुन्छ । यसका साथै पद्मश्री पुरस्कारले समेत यो कृति हालै सन्मानित भएकोबाट पनि यसको साहित्यिक उचाइ र गरिमालाई बुभ्mन सकिन्छ ।
लाटो पहाड शिर्षक लिम्बूभाषा ‘केःबा कोक्मा’बाट आजका युवापुस्ताले उल्था गरेको भनिएता पनि यो आपैmमा बहुअर्थी शब्द हो । यसको नेपालीमा ‘अग्लो डाँडा’, ‘लाटो डाँडा÷पहाड’ वा ‘बाघ डाँडा’ भन्ने अर्थ दिनु उपयुक्त हुन्छ । अन्त्यमा भन्नुपर्दा, कथाकारले प्रयोग गरेका केही लिम्बू तथा नेपाली शव्दहरु स्थानिय परिवेशमा दैनन्दिन बोलीचालीमा प्रयोग हुने भएतापनि साहित्यिक लेखनमा उत्ति सा¥हो श्लील र सुपाच्य नै चाहीँ भन्न मिल्दैन यद्यपि यस्ता शव्द चयन र प्रयोगका लेखकीय धार र आशय अरु पनि हुनसक्छन् ।

प्रकाशित मिति : प्रकाशन मिति : आईतबार, 10 आश्वीन, 2072

लेखकका अन्य रचनाहरु