हाकिम म र त्यो साँझ

- मन्दिरा मधुश्री

आफ्नो सिर्जना, संरचना, हामी प्रतिको कर्तव्य र उत्तरदायित्व सबैलाई अलपत्र छोडेर, आकस्मिक रूपमा जानुभयो बुबा । न त आमाले सँधै बुबाको दीर्घायूको कामना गरि लगाइएको सिन्दुरले रोक्या,े नत गलामा झुण्डयाइएको पोतेमा नै अल्झियो उहाँको स्वास । हामी कलिला छोराछोरीको दुर्बोध भविष्यको चिन्ताले पनि त अड्किएन उहाँको प्राण ! सुटुक्क जानुभयो बुबा । सँधै सँधैका लागि । कहिल्यै नफर्कने ठाउँमा । निर्दोष हाम्रो ओठको हाँसो खोसेर । अभागिनी आमाको श्रृँगार लुटेर । उन्मुक्त वैँशमा अंकुश लगाएर । अतृप्त रहर र चाहना सबै तुहाएर !

अप्रत्यशित दूर्घटनाले जोडिएको जिन्दगी सजिलै स्विकार्न सक्नुभएन मेरी आमाले । उहाँमा पूर्णतः परिवर्तन भयो । घर र हामीप्रतिको कर्तव्य बोध पनि भएन । प्रायः मुर्छन्ना अवस्थामा नै जिउन थाल्नुभयो उहाँ । घर, आमा र भाईप्रतिको कर्तव्य ममाथि हस्तान्तरण भयो स्वभाविक रूपमा । उन्मुक्त भएर हाँसेर खेलेर बिताउने उमेरमा नै म जिम्मेवारीको बोझले थिचिएँ । घर चलाउने उमेर अवस्था र क्षमता नभएतापनि तयार हुनुपर्यो मैले । जिन्दगीको कठघरामा उभ्यायो समयले मलाई ।

महिनाको पाँचहजार तलबको त्यान्द्रोमा झुण्डिएको हाम्रो घर बुबाको अवसानपछि छताछुल्ल भएको थियो । दुई विषयको डिग्रीको प्रमाणपत्र सिरानी मुनी हालेर रातभर छटपटिने शिक्षित बेरोजगारको अगाडि मेरो एघार पासको प्रमाणपत्र सजिलै कहाँ पो बिक्थ्यो र ? तापनि प्रयास छोडिनँ मैले । जे, जस्तो र जसरी भएपनि जागिर खानुथियो । आफ्नो थाप्लोमा भएको कर्तव्य र जिम्मेवारी पूरा गर्नु थियो । आफू बाँचेर भाइ र आमालाई पनि बचाउनु थियो ।

धेरै सरकारी, गैरसरकारी, अर्धसरकारी संघ संस्थाहरू र निजी फर्ममा समेत याचना गरेँ, तर दुई–चार वर्षको अनुभव र उच्च शिक्षाको मापदण्डमा म एक छेउ पनि पुग्दिनथेँ । जसरी पनि बाँच्नुपर्ने बाध्यताले हामी बाँचिरहेका थियौं । म कुदिरहेको थिएँ । आफूलाई पैसामा रूपान्तरण गर्न ! तर संस्कार र सभ्यताको परिधि भित्र रहेर । यतिखेर मलाई छर्लङ्ग भयो, “किन कतिपय युवतीहरू गोधुलीमा श्रृँगार गरेर चम्काउँछन आफूलाई र भीषण अँध्यारोमा होमीदिन्छन् अनि सँधै सयांै टुक्रामा विभाजन गरिने सिँगो जिन्दगी बाँच्न बाध्य हुन्छन्” भन्ने ।

गन्तव्यको क्रममा एकदिन एउटा नीजि व्यवसायिक फर्मको ढोका घचेट्न पुगेँ म । कार्यालय प्रमुखको कुर्सीमा एउटा अधवैंशे तर ज्यादै आकर्षक व्यक्तित्वको मान्छे बसेका थिए । मेरै बाबुको उमेर बोकेका । उनलाई देख्दा हामीलाई चटक्कै छोडेर जाने मेरै कायर बाबुको याद बल्झियो एकचोटी । शायद यही अभाव पूर्तिको आशाले हो कि, मैले उनलाई हेरिरहेँ । जब म आफूलाई सम्हालेर यथार्थमा उत्रिएँ, उनी पनि मलाई एकहोरो हेरिरहेका रहेछन्, उसै गरि ।

उनी निर्लिप्त थिए म मा । आँखामा गहिरो अतृप्त भोक झल्किरहेको थियो । म घाइते भएँ, उनको नजरको आक्रमणबाट । असहज भएँ । स्थितिसँग सामना गर्न अप्ठेरो भयो मलाई । तर मैले जस्तोसुकै परिस्थितिसँग पनि जुध्न सिक्नु थियो ।

भावनाको पहिरोमा छताछुल्ल बग्ने पानी पुरुषहरूलाई अर्कै मोडतिर मोड्न सक्छन्, नारीहरू । त्यसैले मैले वातावरणलाई परिवर्तन गर्न हातजोरेँ र मुखले पनि “अभिवादन” भनेँ । तन्द्राबाट बिउँझेझैं गरि उनी सामान्य बन्न खोजे, तर सकेनन् । मैले आफूलाई चिनाएँ र यसरी अप्रत्याशित उपस्थितिकोे उद्देश्य बताएँ ।

कतिपय ठाउँमा महिलाको सुन्दरता नै ठूलो र भरपर्दो प्रमाणपत्र बन्न सक्छ । यही भयो त्यहाँ पनि । हाकिम साबले मेरो कुरा सुने तर मुखबाट कुनै प्रश्न सोधेनन् । उनका आँखा मैमा गडिएका थिए । अपार सन्तुष्टी मुद्रामा उनले “भोलिदेखि काममा आउनु” भने । कुनैपनि अनुभव र योग्यताको प्रमाण पत्रको तघारो तेस्र्याएनन् उनले । मैले आफैँले बताउन र देखाउन चाहेँ आफ्नो प्रमाणपत्र तर आवश्यक परेन । मैले भित्रभित्रै असहज मान्दै बाहिर खुशी प्रकट गरेँ र “धन्यवाद” भनेँ । उनको कुटिल मुस्कान सँगै उनको नाकमुनी एकैठाउँ खाँदिएर बसेका जुँगाहरू तन्किए ।

भोलिपल्टदेखि म अफिस व.जान थालेँ । नीजि सचिवको कार्यभार र पदीय जिम्मेवारी सुम्पिदिए उनले मलाई । यसले गर्दा प्रायः जसो म उनको साथमा वा प्रतक्ष सहभागितामा बस्नु पर्दथ्यो । उनलाई एक ग्लास पानी चाहिँदा पनि मलाई अनुरोध गर्थे । दिउँसो चिया नास्ता पनि उनीसँगै बसेर खानुपर्दथ्यो । आफू नखाएर पनि उनी मलाई खुवाउँथे कर गरेर । मलाई मन नपरे पनि लाचार थिएँ म । किनकि मेरो जागिरको तराजुको एक पल्लामा मेरो भाइ र आमा थिए भने अर्को पल्लामा हाकिम ।

सँधै खाजा खानुपर्ने आवश्यकता र अनिवार्यता भएता पनि सामथ्र्य थिएन मेरो । मैले खाजा खाने पैसाले मेरो भाइको फिस टर्न सक्थ्यो । आमाको औषधी किन्न पुग्थ्यो । तर सँधै हाकिम साबको भाग खानु पनि उचित लागेन मलाई । अर्कोतर्फ खाजा खान जान नपरे एकपटक भए पनि कम हुन्थ्यो उनका सामु पर्न ।

उनका भोका आँखाको आक्रमणबाट बच्न त्यसैले मैले पनि सबभन्दा सस्तो र हेर्दा पनि धेरै देखिने ‘भुजा’ किनेर टिफिन लाने र उनले खाजा खान बोलाउँदा मैले आफैले ल्याएको छु भनेर आफ्नै टेबलमा बसेर खाने योजना मात्र बनाइँन, कार्यान्वयन पनि गरेँ तर मेरो यो कार्य स्वीकार्य भएन मेरा हाकिमलाई । पुनः म परिबन्दमा परेँ ।

हुँदाहुँदा उनले मेरो हिंडाई, बोलाई, लगाई सबैमाथि टिप्पणी र प्रतिकृया हुन थाल्यो । “यस्तो लगाउनुपर्छ । यस्तो लगाउँदा आकर्षक देखिन्छ स्मार्ट देखिन्छ । व्यक्तित्व झल्कन्छ” भनेर सुझाव दिन्थे । मेरो व्यक्तिगत स्वतन्त्रतामा हाकिमसाबको अनावश्यक उपस्थित मलाई पटक्कै मन पर्दैनथ्यो । मैले जे लगाएपनि, जस्तो खाएपनि जे गरेपनि के मतलब होला ? किन चासो होला जस्तै लाग्थ्यो ।

आवश्यकता भन्दा बढी लगाव हुन थाल्यो हाकिमको म प्रति । उनको कोठामा मेरो बेलाबेलाको उपस्थिति अनिवार्य आवश्यकता जस्तै हुन थाल्यो । अन्य कर्मचारी बिच खासखुस हल्ला हुन थाल्यो । मलाई देख्ने बित्तिकै सबै व्यंग्य मुस्कान तेस्र्याउँथे । म सबै बुझेर पनि अवुझ हुन बाध्य हुन्थेँ । उनीहरू यथार्थमा मेरो इश्र्या भन्दा पनि आश्चर्य प्रकट गर्दथे म प्रति ।

एकदिन मैले स्टाफहरूले गफ गरेको सुनेँ – “हगि ! आजकल त बूढो पनि एकदम फ्रेस देखिन्छ नि ! त्यति गाली पनि गर्दैन । ढिलो आएपनि, छुट्टी लिएपनि रिसाउँदैन । बरु नम्र पो भएको छ हगि !”

“त्यो सब त्यही च्वाँक मैयाको काम त हो नि ..।”

“त्यो मोरीले पनि त्यस्तो बूढोलाई के घाँस हालेकी होली.. ? हामी जस्तो हुँदाहुँदै ...।”

“थुतुनो मात्र राम्रो हो यार त्यसको बानी, व्यवहार त हेरन... । ऊ... ! बारम्बार हाकिमको कोठामा छिरिरहन्छे ।”

“भेट्दी हो पैसाको बिटो अनि के छ त ... ?”

“मोहनी नै लगाई हौ त्यसले त सुड्डोलाई ..।”

“मोरी छे नै त्यस्तै.. । मोहनी नै लगाउने .. अनि बूढो भुतुुक्क के नहोस त”

“हैन बूढोको श्रीमती छैन र ..?”

“किन नहुनु नि .. ! अस्ति नै एकचोटी मैले बजारमा भेटेथेँ । च्वाँक रैछै ।

“मालामाल छ सुड्डोलाई पनि । के तरुनी खोज्दै हिंडेको होला त यो सुड्डो पनि ... ?”

“घरमा मात्र भएर भयो त ...! अफिसमा पनि त चहियो नि ! यसो मन बहलाउने !”

“एउटा कुरा चाहिँ हो है यार । घरमा स्वास्नी भएपनि यसो घुमाफिर गर्ने, मन बहलाउने बाहिर एउटी मैयाँ चाहिँ चाहिन्छ है....!”

छक्क परेँ म । म र हाकिमलाई लिएर यस्ता सस्ता खालका टिप्पणी सुनेर । म स्वभाविक रूपमा उदास भएँ । म विना कशुर अपराधी बन्दै थिएँ, सबको नजरमा । म निर्दोष थिएँ तर म माथि थुप्रै दोषहरू लागेका थिए । पवित्र भए पनि थुप्रै फोहोरका छिटा उछिट्याएर मलाई धमिल्याउन खोजेका थिए सबैले । वास्तविकता सही नभए पनि उनीहरूको दृष्टिमा म खराब प्रमाणित भएकी थिएँ । उनीहरू भ्रममा थिए तर म उनीहरूको भ्रम हटाएर प्रमाण पेश गर्न पनि त सक्तिनथेँ ।

सबभन्दा छक्क त म त्यस कुराले परेँ । लोग्नेमान्छेहरूको भित्री चाहना र सुसुप्त कुण्ठा सुनेर । कति स्वार्थी र बेइमान हुँदारहेन् । आफ्नो स्वास्नी र परिवारप्रति इमान्दरिताको नाटक मात्र गर्दारहेछन् । यदि उनीहरूकै जस्तै उनीहरूकी स्वास्नीले पनि सोच्ने र गर्ने हो भने ... ? एउटा पुरुष साथी बाहिर घुम्नका लागि पाल्ने हो भने ...? पचाउन सक्छन् कायर पुरुषहरू.........?

म दोधारमा परेँ । यस्तो जागिर खानु कि नखानु ...? म त्रिकोण भित्र जेलिएको थिएँ । एकातिर मेरो घरपरिवार, अर्कोतिर मेरो इज्जत र अर्कोतिर हाकिम । के गरौँ ? निर्णय गर्न सकिरहेकी थिइँन ।

मानसिक दबाब बढी भएर एकदिन मलाई ज्वरो आयो । तर पनि म अफिस गएँ । मेरो अनुहारमा भारीपन देखेर हाकिमले आत्मियता पस्कँदै सोधे । मैले टार्न खोजेँ तर अनुहारमा उत्रिएको पीडाको भाव बुझे सायद । उनले हात समाएर मुसार्दै मलाई सान्त्वना दिए, दिन खोजे । काँधमा थपथपाए । अनि मायालु भावमा सोधे –“के भयो सानु तिमीलाई ? नढाटी भन त.. । तिमीलाई सन्चो छैन ... ।”

मेरो बिसन्चोमा अत्तिए झैं भए उनी ।

“हैन सर ठीकै छ .. ।” म सहज बन्न खोजेँ । “सानु” शब्दले मलाई बिचलित बनायो ।

“हैन पक्कै पनि केही भएको छ तिमीलाई खै, खै .. !” पुनः आत्तिएर मेरो हात समाए । निधार छामे । नाडी छामे र हात दबाउन थाले । हत्केला खेलाउन थाले ।

मैले असहज मान्दै हात छुटाएँ । अनि कृत्रिम मुस्कान ल्याएर ठिकै भएको अभिनय गर्न खोजेँ तर उनले पत्याएनन् ।

“तिम्रो निधार एकदम तातो छ सानु ! तिमीलाई ज्वरो आएको छ । यस्तो हुदा पनि मलाई नभन्ने हो ..? फटाई .. !! बिरामी भएको पनि लुकाउँछन लाटी ! तिमीलाई केही भयो भने ... ??” उनले मलाई काँधमा थपथपाए । टाउको सुम्सुम्याए । मलाई पूनः बुबाको याद दुख्यो । तर ..।

म अप्रत्याशित रूपमा हाकिमको यस्तो कृयाकलाप देखेर झन तातो भएँ । डर, त्रास र संकोचले झन बढ्न थाल्यो ज्वरो । आजसम्म उनले मलाई यसरी छोएका थिएनन् तर आज मलाई मज्जाले सुम्सुम्याएका थिए ।

मनले जति नरुचाए पनि म प्रतिकार गर्न सक्दिनथेँ हाकिमको क्रियाकलापलाई । न त चुपचाप स्किार्न नै सक्थेँ, भित्रदेखि रुचाएर । म त्यसै त्यसै खुम्चन्थेँ । पिरालिन्थेँ । कुण्ठित हुन्थेँ ।

त्यसदिन पनि सँधैको झैँ उनको आग्रहलाई टार्न सकिँन । न त उनले धर नै दिए । त्यसैले म डोरिएँँ चुपचाप उनको पछि । मलाई डाक्टरकोमा लगेर चेकअप गराए । एकझोला औषधी र फलफूल थमाइदिए मेरो हातमा । अनि आवश्यक पर्छ भनेर पूनः ५०० को नोट थमाइदिए ।

म कसैको अनुदान र कृपामा बाँच्न चाहन्नथेँ । आफ्नो गरिबीप्रति खिल्ली उडाए झैँ भान भयो मलाई । मेरो स्वाभिमानले लिन मानेन त्यो रकम । तर उनले मलाई आँखा तरेर कड्के । उनको पूरा अधिकार भएजस्तै । मानौँ म उनको एकदम नजिकको आफन्त हुँ । म उनका राता आँखा देखि एकदम डराउथेँ । अनि मैले चुपचाप लिएँ उनले दिएको सबै कुरा ।

त्यसदिनदेखि उनको चासो झन बढ्यो म प्रति । कामको बोझ एकैरति पनि थिएन । बरु मलाई के खाँचो छ ? के चाहिएको छ ? सोद्धथे । मेरो उमेरका केटीहरूले मनपराउने वस्तुहरू किनेर ल्याइदिन्थे र मलाई दिन्थे ! मीठा खानेकुरा, चकलेटको मात्रा पनि बढ्न थाल्यो । म उनका सामु ‘बलीको बोको’ बन्दै गएको आभाष हुन थाल्यो मलाई ! त्यसैले म निसास्सिन थालें हाकिमको व्यवहार देखि । उम्कन चाहन्थे म त्यहाँबाट तर .... ।

उनले मलाई हदभन्दा बढी माया गर्न थाले । तर त्यो कुन खालको माया हो वाशनात्मक या त भावनात्मक ? म छुट्याउन सकिरहेकी थिइँन । तै पनि मेरो कमलो र शंकालु सचेत नारी मन डराइरहयो । उनको म प्रतिको मायामा वाशनाको नमिठो गन्ध छरपष्टिए झैं लाग्थ्यो । त्यसैले त मलाई यतिका धेरै चिजविज ल्याइदिएर फकाउँदैछन् अथवा उधारो लगाउँदैछन् । त्यसको क्षतिपूर्ति कुन दिन मलाई कोठामा बोलाएर माग्न अथवा आफूभित्रको उमेरको असन्तुष्टी र कुण्ठालाई पूरा गर्न के बेर ? संभावित घटनाको आशंका वा पूर्वानुमानले मेरो मन बेला बेलामा ढक्क भइरहन्थ्यो ।

एकदिन अफिस छुट्टि हुनुभन्दा अगाडि हाकिमले आफ्नो कोठामा बोलाए मलाई । त्यसदिन त्यो गमन सातौँ पटक थियो । भय, डर र आशंकाले ग्रसित लाचार शरीर मेरो अस्तित्वलाई लिएर पस्यो उनको कोठामा अनि मूर्तिवत उभियो उनको अगाडि । उनी एकदमै प्रशन्न मुद्रामा थिए । मेरो जडता देखेर उनले बिचलित हुँदै सोधे – “सानु ! के भयो तिमीलाई ?” फेरि सन्चो छैन कि के हो ? उनको बोली र हात एकैचोटी आइपुग्यो म भएको ठाउँ । उनले आत्तिएर छामे हात, निधार, गाला ... ।

म झन् जड भएँ । मलाई पटक्कै मन परेन उनको स्वार्थी सम्बोधन । मैले पहिले नै प्रतिवाद गरेकी थिएँ मेरो नामले बोलाउन । तर उनले जिव्रो चाटेर भनेका थिए “म सानु नै भन्छु है, एकदम प्यारो र आत्मीय लाग्छ मलाई यो सम्बोधन ।“

“हैन सर ! म ठीकै छु ।” डराएर काँपेको स्वरमा मैले भनेँ । म कसरी भन्न सक्थेँ र सर ! मेरो बिसन्चोको कारण नै तपाईँ हो भनेर । उनले मेरो कुममा थपथपाउँदै उही स्वार्थी सम्बोधनमा भने सानु ! म तिमीसँग धेरै खुशी छु, थाहा छ, तिमी आएदेखि म एकदम चुस्त भएको छु । फूर्तिलो भएको छु । उर्जाशील भएको छु । काम गर्ने उत्साह र जोश जाँगर बढेको छ । यसले गर्दा मेरो लथालिङ्ग भएर डुब्न लागेको व्यवसाय पनि एकदमै राम्रो भएको छ । धेरै फाइदा भएको छ । यो सबै भएको तिम्रै कारण हो सानु ! यु आर माइ प्रोग्रेस । सानु ! सो, आइ लब यु सानु ! आइ लव यु भेरी मच !!

उनले आफूभित्रको खुशीलाई त्यत्तिकै राख्न सकेनन् । छताछुल्ल भएर पोखियो उनको खुशी र मलाई च्याप्प समातेर मेरा निधारमा म्वाइ खाए लगातार !

केहीक्षण पछि उनी स्वभाविक भए । म जडवत भएँ । हाकिमको कृयाकलापलाई प्रतिकार गर्ने न त मौका नै पाएँ न त शब्द नै । अनि उनले एउटा खाम मेरो हातमा थमाउँदै भने, “मलाई यतिधेरै खुशी बनाएकोमा यो तिमीलाई मेरो तर्फबाट पुरस्कार । अनि सुन ! भोलि अफिसमा अलिक धेरै समयसम्म बस्नुपर्ने हुन्छ । तिमीसँग सानो काम छ । एउटा कुरा पनि गर्नु छ त्यसैले अलिक ढिलो पनि हुन सक्छ । त्यसैले आमालाई भनेर आउनु है । बरु ढिला भए म नै पुगाइदिउला घर । तर तिमी भोलि आइनौ भने सम्झ तिमी भोलि जागिरबाट पनि निकालियौ ।

म परिबन्दमा परेँ । हाकिमले मलाई चारो राखेर शिकारका लागि जाल थापिसकेका थिए । म चुपचाप त्यसैगरि फर्किएँ गह्रुँगो अनुहार लिएर जसरी भित्र गएकी थिएँ ।

भोलिपल्ट मृत्युदण्डको खबर सुनाइएको निर्दोष अपराधी जस्तै भयो मेरो अवस्था पनि ! पक्कै पनि मलाई हाकिमले आफ्नो शिकार बनाउने छन् । उफ ! कति डरलाग्दा छन् उनका आँखा । सँधै मलाई भोगको तृष्णाले हेरिरहन्छन् र यो तृष्णा उनले भोलि (पुरा) तृप्त गर्नेछन्



भोलि मेरो अस्तित्वको अन्त्य हुनेछ । म लाचार भएर चुपचाप आफ्नो अन्त्य हेरिरहनेछु । उफ् ! कस्तो बिडम्बना हो यो ! म आफैं नै आफ्नो अस्तित्वको अन्त्यमा एक्लै मलामी हुनेछु । कति ठूलो चुनौती हो यो मेरो लागि ! एकातिर कर्तव्य र उत्तरदायित्व अनि अर्कातिर धराशयी हुन लागेको आफ्नै अस्तित्व !

कति निर्लज्ज मेरा हाकिम । कति सजिलै र निर्लज्जताका साथ मलाई मेरो भोलिको साँझ मागेका छन् । म के गरौँ ? चुपचाप आफ्नो अस्तित्वको लिलाम गरुँ या त दायित्वको बोझ हटाउँ ? काँचै आँखा मैले रात बिताएँ ।

भोलिपल्ट मेरो उही दैनिक प्रकृया शुरु भयो । म डोरिएँ अफिसतिर । चुुनौतीको नाम नै त शायद जिन्दगी हो ।

जति समय बित्दै जान्थ्यो उति म बिचलित हुँदै जान्थेँ । मेरो अस्तित्वको आयु छोटिँदै गइरहेको छ जस्तो लाग्थ्यो । निर्जीव र निस्प्राण लाग्यो मलाई त्यो दिन । संभावित घटनाको परिकल्पनाले दिनभरी रिंगाइरहयो । अरूदिन भन्दा घडीको सुई पनि छिटो घुम्यो शायद त्यसदिन । कति चाँढै चारमा पुगिसकेछ ।

सबै स्टाफहरू छुट्टी भएर गइसकेका थिए । क्रमशः समय मेरो लागि अनिष्टकारी बन्दै थियो । प्रत्येक पल अपराधी झैं लाग्थ्यो । तर त्यो क्षण, जतिखेरको मलाई प्रतीक्षा थियो । चाँढै आवोस भन्थें । “नारीहरूकोलागि आफ्नो अस्तित्व भन्दा ठूलो केही हुन्न । अस्तित्व रक्षाकोलागि नै दुर्गाको रूप धारण गर्छन अबला नारीहरू पनि । त्यसैले म उत्साहित थिएँ त्यस क्षणका लागि ।

सबैजना गएपछि हाकिम मेरा सामु उभिए । फाँसी दिने जल्लाद जस्तै भएर । कोठा नै भारी भयो उनको आगमनले । प्रफूल्ल मुद्रामा उनी क्रमशः मेरो नजिक आएर काँध थपथपाए । सागरले थिचेजस्तो भयो मलाई । म चुपचाप बसिरहेँ मूर्तिवत ! मेरो हातमा एउटा ठूलै बन्द प्याकेट दिएर भने – “झट्ट तिमी यो लगाएर मेरो कोठामा आउनु !”

म पनि जतिसक्दो छिटो चाहन्थेँ । चाँढोभन्दा चाँढो हुने कुरा भइहालोस भन्थेँ । कति संभावित आशंकामा पिरोलिए रहने ? बरु चाँढै गड्याङ गुडुङ गरोस । झिलिक्क बिजुली चम्कियोस । चट्याङ परोस । अनि भयंकर दूर्घटना होस । प्रलय होस । उथलपुथल होस् । अन्त्य होस सबैथोक । अनि शान्तः । एकदम शान्त र सन्नाटा छावोस ... सँधै सँधैका लागि .. !!

म तयार पार्न थालेँ आफैँलाई । दिप्तीमय रूपलाई सिगारेँ आफैले । एउटी सतीलाई चितामा जानु अगाडि सिगाँरे जस्तै लाग्यो । “आखिर फूलहरू कसैका उपभोगका लागि त फूलिँदा रहेछन् नि ! यदि पहिले नै यो सब थाहा भएको भए कोपिला किन कष्ट गथ्र्यो होला र फूल बन्नलाई ...? र अब फूल बनिसकेपछि टिपिनु र पाउमा चढिनु फूलको धर्म हो । यथार्थ हो ।”

थोरै उत्साह र धेरै वितृष्णा बोकेर प्याकेट खोलेँ । लुगा रहेछ प्याकेटमा । रातो झल्लरदार झलझल गर्ने सितारा जडित साडी । हिन्दी सिनेमामा र फोटोमा राजकुमारी वा परीले लगाएको देखेकोले मैले परी वा राजकुुुमारीको लुगा भनेँ त्यस टल्कने लुगालाई ! म वाल्यकालमा कल्पना गर्थेँ, “मैले पनि त्यस्तो परी लुगा लगाउन पाए ....?”

मलाई अनौठो लाग्यो त्यो लुगा लगाउँदा । मैले क्षणिकका लागि भएपनि सबैकुरा विर्सेर भाग्यमानी सम्झेँ, ठानेँ आफैलाई । एकक्षणका लागि आफू पनि ‘परी’ भएको कल्पना गरेँ । तर यथार्थमा उत्रदा म ‘परी’ थिइनँँँ । त्यो ‘परी’ लुगा मेरै अस्तित्वको लाशमाथि लगाइएको कात्रो थियो । रातो कात्रो.. ।

तोकिएको अनुसार आफूलाई तयार पारेर म हाकिम साबको ढोका ढकढक्याउन पुगेँ । यही क्षणको प्रतीक्षामा व्यग्र थिए उनी र सायद म पनि ।

हावाको गतिमा ढोका उघ्रियो । म सजीव गुडिया चलायमान भएँ उनीतिर र केही दुरीमा पुगेर स्थिर भए पाइलाहरू । आक्रमण अगाडिको शिकारीको मनोदशा हेर्न मन लाग्यो मलाई । एकपटक आज ध्यान दिएर हेरेँ उनलाई । शायद भोलिदेखि म हाकिमलाई कहिल्यै हेर्न पाउने छैन या त भिन्दै हुनेछ मेरो हेराई ।

उनी एकदमै खुशी र सन्तुष्ट थिए । दिप्ती थियो मुहारमा । शायद इच्छाइएको वस्तु सजिलै प्राप्त हुँदा त्यस्तै खुशी हुन्छन सबै ।

उनी आफूमा थिएनन् । सम्पूर्ण ध्यान ममा केन्द्रित थियो उनी ममा केही खोज्दैथिए शायद ।

जब हाम्रो आँखा ‘चार’ भए उनी मुसुक्क हाँसे । मलाई चसक्क चीसो बिझ्यो । उनले आफ्नो हात फैलाएर अंगालो बनाए र पासो थापे । झलक्क मलाई मेरो बुबाले सानोमा ‘हाकी, हाकी’ भनेको क्षण बल्झियो । तर अपशोस ! अहिले मेरा अगाडि मेरा हाकिम थिए ।

म उन्मुक्त भएर अघि बढ्न सकिन । उनी चलायमान भए र क्रमशः मतिर लक्षित भए, त्यही मुद्रामा । उफ ! मेरो पाइताला मुनीको जमीन भासिन थाल्यो । मेरा दुवै हात पछाडी गए र आपसमा मजवुत भए । उनी र मेरो दुरी सकियो । उनको फैलिएको अंगालो ममा लपेटियो । उनी आफूभित्रको खुशीलाई शब्दमा उकेल्न थाले – “ओ माई डियर ...!”

मेरा हात अझ मजवुत र मन जागरुक हुँदैथ्यो । उनको अंगालो अझ कसिलो भयो । म आखिरी मौकाको ताकमा थिएँ र आफूलाई तयार पार्दै थिएँ । उनले पागलले झैं मलाई झन जोडले कस्दै गए र भन्दै गए – “मेरो बाबा ! मेरो प्राण ....!! मेरी छोरी .... !!! अब त मलाई छोडेर कहिल्यै कहीँ नजाउ है...!!!!”

उनले अनियन्त्रित भएर मलाई चुमे अनि छातीमा टाँसे ।

आश्चर्यचकित भएर डराएर चिम्लिएका आँखा खोलेँ मैल,े उनको सम्बोधन सुनेपछि । म छक्क परेँ । आफ्नै पछाडि लगेको मेरो हातको मुट्ठी खुकुलिए ।

“खन्द्रयाङ्ग” आवाज आयो । आवाज सुनेर हामी दुवै झस्कियौँ । मेरो हातबाट खसेको वस्तु शायद देखे उनले, उनको अंगालो खुकुलियो । स्थिति र सम्बोधन अनि क्रियाकलाप विपरित भएकोले पुनः एकअर्काका आँखा जुधे । मैले कौतुहल बोकेर उनका आँखामा हेरेँ । उनले आँखाबाट झरेको बलिन्द्र धारा आँशु पुछेर उनले भने, “तिमीले गलत ठान्यौं सानु मलाई...।”

“हो छोरी ! तिमीले मेरो मूल्यांकन गलत गर्यौ ! उनी भक्कानिँदै भन्न थाले – “सानु ! मेरी पनि तिमी जस्तै र तिमी जत्रै छोरी थिइन् । तर चारवर्ष अघि कहिल्यै नफर्कने गरेर अनायाशै हामीलाई छोडेर गइन् । त्यसैले म पागलजस्तो भएको थिएँ । मेरो व्यवसाय चौपट भएको थियो । तर जुन दिन तिमी मेरो अफिसमा आयौ, त्यसदिनदेखि म एकदम खुशी थिएँ । मैले तिमीमा मेरी हराएकी छोरी भेटेको थिएँ । त्यसैले मैले तिमीलाई नै मेरी छोरीको रूपमा राखिसकेको थिएँ । हेरिसकेको थिएँ ।

आज मेरी छोरीको सोह्रौँ ‘जन्मदिन’ हो । मैले धेरै वर्ष पछि आज उसको जन्मदिन मनाउन पाएको छु । मेरो छोरीलाई जन्मदिनको उपहार किन्न पाएको छु । किनभने सोह्रौँ जन्मदिनका दिन यस्तै मोती र सितारा भरेको रातो सारी उपहार मागेकी थिई मलाई उसले । उसले भनेजस्तै सारी मैले तिमीलाई लगाउन दिएको हो । उनले हात जोडेर भने, “अबदेखि तिम्रो जन्मदिन जहिले भएपनि आजकै दिनमा मनाउन चाहन्छु । नाइँ नभन ल छोरी ... । प्लीज ....!!”

अनायाश यन्त्रवत रूपमा मेरो अंगालो कसिँदै गयो हाकिमसँग । दुवैका आँखा चुपचाप बर्सिरहेका थिए । टेबलमा “हयापी वर्थ डे” लेखिएको केक र सजाइएको मैनवत्तीबाट हटेर मेरो रुझेका आँखा भुइमा टलक्क टल्किरहेको सेतो छुरीमाथि प¥यो, जुन मैले हाकिमको हत्या गर्न घरबाट नै सुटुक्क लुकाएर लगेकी थिएँ ।।

प्रकाशित मिति : प्रकाशन मिति : आईतबार, 10 आश्वीन, 2072

लेखकका अन्य रचनाहरु