रातो गाडी

- खगिन्द्रा खुसी

टिरिरिङ....!! टिरिरिङ.....!! एक्कासी मोवाइलको घण्टी बज्यो । तर उठाउन मन लागेन, उठाइन । सिरानीले कान थुनेर अर्कोपटि फर्कें । एकपटकको रिङ आउने क्रम सकियो, फेरि उसरीनै कानै खानेगरी मोवाइल बज्न थाल्यो । कस्तो कर्कश आवाज यो मोवाइलको ! सिरानी फालेर ओछ्यानबाटै लम्केर टेवलमा भएको मोवाइल हातमा लिएँ । तेस्रो पटक फोन आउँदै थियो, पहिलो घण्टिमै काटिदिएँ । फोन कसको थियो? त्यो जान्नका लागि हैन, काट्नका लागि हेरेकी थिएँ मोवाइल । फोन कसको थियो भन्ने त पहिला नै थाहा थियो, फोन नउठाउनुको कारण पनि त्यही नै थियो । तीन दिन पहिला सम्म मलाई त्यही फोनको प्रतिक्षा हुन्थ्यो, व्यग्र बनेर पर्खिन्थें त्यो नम्बरको फोन । त्यही फोनवालाको आवाज नसुनी निद्रा लाग्दैन थियो तर आज त्यही नम्बरबाट आएको फोनको आवाज वज्र बनेर बज्रिन्छ मुटुमा । मलाई मोवाइलको स्विच अफ गर्नु थियो औँला दौडिएर पुगे स्विच अफ गर्ने बटनमा । तर थिच्न पाइन । मेरो औँला पुग्नु भन्दा अगावै एउटा म्यासेज आयो मोवाइलमा । तत्काल म्यासेज बक्समा गएर म्यासेज अन गरें ुग च ब्लनचथ धम mभरुु लेखिएको थियो । उत्तर लेखिन । म्यासेज तत्काल डिलिट गरें र स्विच अफ गरेर मोवाइल टेवलमै राखिदिएँ ।
मोवाइल त अफ गरें तर मन चलेको चल्यै छ । उस्ले भनेका कुरा, गरेका कुरा सम्झन्छु, झन् धेरै मन पोल्छ । बोतलको पानी एक घुट्कि पिउँछु । माया गर्छु भनेर मलाई भरपुर प्रयोग गर्यो उस्ले । मेरो तन, मन लुट्यो । कागतीलाई निचोरे जसरी मलाई अन्तिम थोपो सम्म चुसीसकेर छोड्यो । मैले पत्तै पाइन । कस्ती बुद्धु म...छाती भित्र आगो बले जस्तो भएको छ । फेरि पानी पिउँछु, तर ज्वाला मर्दैन ।
पहिला पहिला कसरी धाउँथ्यो मेरो गल्लीतिर ? हरेक दिन बिहान मेरो क्याम्पस जाने समयमा सेतो कलेज सम्म लिन आउँथ्यो । उस्को रातो एसीवाला गाडि मेरो कलेज जाने साधन बनेको थियो । त्यही गाडिमा बसेर सारा सहर घुमेकी छु म । त्यही गाडिमा बसेर घुम्ने क्रममा त उस्ले माया गर्छु भनेको थियो मलाई । उसैले प्रलोभनमा पारेको हो मलाई । तिमीबिना बाँच्नै नसक्ने भन्थ्यो । छिटै आफ्नै अर्धाङ्गिनी बनाउँछु भन्थ्यो । ती कुरा भनिसकेपछि त हो उसले मलाई छोएको । त्यही गाडिमा पहिलो चोटी छोएको थियो उसले मलाई, मलाई चलाएको, म सँग टाँसिएर संसारका सारा खुसीहरु दिन्छु भनेको । उफ ! त्यति धेरै माया गर्छु भन्ने मान्छेको भित्र यति ठुलो स्वार्थ छ भन्ने कुरो बुझ्न सकिन र ऐले यो घात सहनु पर्यो । ओहो ! यो घातको राप कहिले शान्त होला र? यो पिडा यो छटपटीबाट कहिले मुक्त बनौंला, यस्तो पिडा कसैले खप्नु नपरोस, कुनै युवतीले यस्तो घात सहनु नपरोस् । तर कस्लाई थाहा हुन्छ र यस्तो हुन्छ भन्ने । थाहा हुने भए जानजान कस्ले त्यस्ता धोकेबाजलाई मन दिन्छ ?
दुई वर्ष अघि गाउँमा प्रोजेक्टको काम लिएर २÷४ जना मान्छे आएका थिए । ति मान्छेहरु सँगै आएको थियो उ पनि । गाउँमै बसेर काम गर्दा सबैसँग चिनजान भयो । उस्को नाम दर्पण थियो । दर्पणले सुरुवाटै गाउँका अरु परिवार भन्दा मेरो घरसँग हिमचिम बढाएको थियो । उमेरले मेरा काका बराबरको त्यो मान्छे तर काका भन्दा भर्खरको देखिन्थ्यो । मेरो बाबा आमालाई दाजु भाउजु भन्थ्यो । शहर फिर्दा बाबालाई उस्को मोबाइल नम्बर दिएको थियो । मलाई पनि, फिर्ने बेलामा “शहरतिर आएको बेला कन्ट्याक गर्नु” भनेर मोवाइल नम्बर दिएको थियो । शहर फर्किएपछि पनि बाबाको मोवाइलमा फोन गरिरहन्थ्यो, कामको बारेमा सोधीखोजी गथ्र्यो, तर म सँग चाहीँ कहिल्यै बोलेन । म प्लस टु सकेर यो शहरमा आएँ । मैले प्रेमीको रुपमा हैन एउटा अभिभावकको रुपमा हेरेकि थिएँ उसलाई । त्यसैले शहरमा आएपछि उसलाई फोन लगाएँ । ओहो ! कति खुसी भएको, आफ्नै मान्छे आए जस्तो गरेर भोलिपल्टै एउटा सानो रातो गाडि लिएर काकाको घरमै आयो । काका काकीसँग पनि चिनजान गर्यो । एकदिन काका काकीलाई पनि गाडिमा राखेर एक दुई ठाउँ घुमाउन लग्यो । उसको म प्रतिको गिद्धे आँखालाई काकीले याद गर्नु भएथ्यो क्यार ! त्यसैले अरुसँग मात्रै एक्लै घुम्न नजानु भन्नुहुन्थ्यो मलाई । काका काकी दुवै जागिरे, सधैं व्यस्त । म त शहर घुम्न गएँकी थिएँ । दिउँसो फोन गरेर म लिन आउँछु भन्थ्यो, म मख्ख पर्थें । उ मेरो प्रेमी थिएन, बाबा आमासँग चिनजान भएको शहरको मान्छेले एसीवाला गाडीमा चढाएर घुमाउन लाँदा खुसीले गजक्क हुन्थेँ । गाडीमा चढेर शहर शहर घुम्न पाउनु नै ठुलो कुरो थियो मेरो लागि । उ सँग एसीवाला रातो सानो गाडीमा चढेर घुम्दा गाउँका साथीहरु भन्दा जान्ने बुझ्ने र भाग्यमानी भएको महशुष गर्थें । म यदि गाउँमा जान पाएकी भए गाडीमा चढेर शहर घुमेका कुराको धाँक लगाउने थिएँ साथीहरु सँग । तर उसैले जान दिएन गाउँमा । म शहरमै भएको बेला प्लस टुको रिजल्ट भयो, म पास भएँछु । यो कुरो उसलाई पनि सुनाएँ । उसले शहरतिरै पढ्ने सल्लाह दियो । आफूले चिनेको कलेजमा फ्रिसिब पारिदिने आश्वासन दियो । घरमै आएर काकाहरुलाई पनि भन्यो“शहर भनेको शहर हो सहरको सुबिधायुक्त कलेजमा पढ्नु र गाउँका सानातिना कलेजमा पढ्नुमा धेरै फरक छ, बरु म भनसुन गरेर आधा शुल्क तिरेर पढ्ने व्यवस्था मिलाउँला” । काका काकी नाजावाफ हुनुभयो । काकाले बाबालाई फोन गर्नु भयो । बाबाले “तेरी पनि छोरी हो बिचार गर त्यतै पढाउँदा राम्रो हुन्छ भने ठिकै छ नि त” भनेपछि काकीको मन नहुँदा नहुँदै पनि काकाले शहरमै पढाउने निधो गर्नु भयो ।
म शहरको नाम चलेको कलेजमा स्नातक तहमा भर्ना भएँ । उस्ले चिनेजानेको मान्छेबाट शुल्क आधा गराइदियो । अब दिनैपिच्छे कलेज जान थालें । पहिला एक दुईदिन टेम्पोबाट गएँ पछि उसैले पुर्याइदिन थाल्यो । उस्ले कलेज पुर्याईदिएको कुरो घरमा नभन्ने सल्लाह दिएको थियो । म आज्ञाकारी भएँ । उस्को रातो गाडीमा चढेर कलेज जाने मेरो दिनचर्या हुन थाल्यो । उ मलाई लिन घरमा आउँदैनथ्यो । नजिकै रहेको सेतो कलेज सम्म आउँथ्यो । पहिला पहिला त कलेज पुर्याएर छाडिदिन्थ्यो । पछि पढाई नहुने दिन छ कि ? भनेर सोध्न थाल्यो । मेरो पढाई नहुने दिन उस्ले घुमाउन लान्थ्यो । शहरका नयाँ नयाँ ठाउँमा गाडीमा चढेर घुम्न पाउँदा म फुरुङ्ग थिएँ । उस्ले मलाई गाडीमा चढाएर घुमाउँथ्यो र सट्टामा म बाट भरपुर आनन्द लिन्थ्यो । पहिला पहिला हेथ्र्यो मलाई, मेरो अनुहार, घाँटी छाती सबैतिर हेथ्र्यो, परैबाट । कति राम्री छौ भन्थ्यो । पछि त जहाँ जहाँ हेथ्र्यो त्यहाँ त्यहाँ छुन थाल्यो, हातले मात्र हैन ओठले पनि अनि सम्पूर्ण शरीरले पनि । उस्ले प्रेम शब्दको पासो थापेको थियो । त्यसैले म बिद्रोह गर्न सक्दिन थिएँ ।
उस्ले मलाई शहरका धेरै ठाउँमा घुमायो तर उस्को घर र उस्को अफिसमा कहिल्यै पुर्याएन । म जान मन गर्थें तर बिभिन्न बहाना बनाएर टार्यो । एक दिन उसलाई नै थाहा नदिई म उस्को अफिसमा पुगें । एक्कासी मलाई देखेर नराम्ररी झस्केको थियो ऊ । म हासें तर उ हाँसेन । बोल्दै बोलेन, उस्को छेउमा सारी लगाएकी एउटी महिला थिइन् । मलाई यादै नगरी उनैसँग बोलिरह्यो । पहिला त उ अबिबाहित नै हो जस्तो लागेको थियो त्यसैले त मन दिएकी थिएँ । तर भर्खरै थाहा पाएकी थिएँ उ विवाहित हो भनेर । मैले अड्कल काटें उसकी श्रीमती हुन् भनेर । तर उस्ले त हाम्रो सम्बन्ध राम्रो छैन भनेको थियो । नराम्री, माया नगर्ने भनेको थियो तर ति महिला त म भन्दा राम्री छन् । लाडिएर बोलिरहेकी छन् उ सँग । म असमन्जसमा परें र यसै उ सँग नवोलीकन फर्किएँ । म घर आइनपुग्दै फोन गर्यो उस्ले । मलाई फोन उठाउन मन लागेन । कता कता आफूलाई स्वार्थी भएको महसुश गरें । उस्की श्रीमती प्रति मैले अन्याय गरेको अनि उस्ले म सँग अन्याय गरेको जस्तो लाग्यो । उ प्रति नराम्रा बिचारहरु खेल्न थाले मनमा । रातभरी निद्रा लागेन । भोलीपल्ट विहान कलेज जाँदा सेतो कलेजको छेउमा रातो गाडी आईरहेको रहेछ । मलाई त्यसमा चढ्नै मन लागेन । केहीपर सम्म हिँडेरै पुगेंँ । तर उ मेरो पछि पछि आयो, म सँगसँगै गाडी गुडायो । मान्छेले थाहपाउछन् भन्ने डरले उस्को गाडीमा चढें तर केही पनि वोलिन । उ नै बोलिरह्यो । “माफ गर हिंजो श्रीमती आएकी थिई, त्यही भएर तिमीसँग बोल्न सकिन, यसो फोन गरेर त आउन पर्छ नि, तिमी पनि...” । “त्यती राम्री, माया गर्ने श्रीमती रहिछन्, म सँग किन नाता जोड्नु पर्यो?” मैले रिसाएर भनें । “कहाँ राम्री छे ? त्यो त नक्कल पारेर मात्रै राम्री हो, तिमी जस्ती प्राकृतिक सुन्दरताले पूर्ण भएकी कहाँ छे र त्यो, फेरि अरुको छेउमा मात्रै माया गरे जस्तो गर्छे, फिट्टो माया गर्दिन, मलाई विश्वास गर न, कशम खाएर भन्छु अब छिट्टै बिबाह गर्छु तिमीलाई” उसले बिश्वस्त पार्यो तर मनमा उ प्रति शंका र अबिश्वास पलाईसकेको थियो । त्यो दिन उस्ले मलाई कलेज पुर्याएन । अर्कैतिर घुमाउन लग्यो । उस्तै गरी फेरि लुटिएँ उ बाट त्यो दिन पनि । पहिला पहिला उस्को लुटाईमा खुसी हुन्थें, आनन्दित हुन्थें तर यो पटक किन कुनी उस्ले हेर्दा, छुँदा र टाँसिदा पिडा मात्रै भयो । किन किन धकलेर टाढा पुर्याउन मन लाग्यो । तर सकिन उसको प्रेम शब्दको जालोमा फसेकी थिएँ म ।
कहिले काहीं रातमा पनि आउँथ्यो उ । जुन लागेको रातमा । सबैजना सुतिसके पछि म छतमा जान्थें । उ त्यही रातो गाडीमा आएर तल बाटोमा बस्थ्यो । गाडिबाट टाउको बाहिर निकालेर मलाई हेथ्र्यो । जुनको उज्यालोमा उस्को मधुरो आकृति देख्थें म । त्यही मधुरो आकृतिमा मलाई पनि हेर्दै मोवाइलमा घण्टौं कुरा गरेर बस्थ्यो ऊ । आज पनि तिनै पुराना यादमा डुव्दा डुब्दै थाहै नपाई छतमा पुगेंछु । उसतै गरी जुन लागेको छ आज पनि । तर रातो गाडी छैन । आँखाले भ्याए सम्म हेरें । सुन्सान छ शहर । मोवाइल अन गरेर उसको नम्बर सर्च गरें । उस्लाई फोन लगाऊँ की नलगाऊँ धेरै बेर नम्बर हेरेर बसिरहें । औंला कतिछिटो चलेका? अघि डायल भएछ । रिङ्ग जान थालेकै थिएन मनमा धेरै कुरा खेल्न थाले, उठायो भने के भन्ने होला? भन्दै मोवाइल कानमा पुर्याएँ । तर लागेन फोन । व्यस्त छ भन्यो । राम्रै भयो । तर किन लागेन फोन, मन अर्को तिर सोच्न थाल्यो, उ यो मध्य राति कोसित बोल्दै होला? फेरि उस्को नम्बर थिचेंँ । फेरि “माफ गर्नु होला तपाईँले सम्पर्क गर्न खोज्नु भएको मोवाइल व्यस्त छ”को आवाज आयो, इङ्गलिसमा पनि दोहो¥यायो त्यही कुरा । फोन काट्नु पर्ने पनि याद नगरी त्यही कुरा सुनेकी सुन्यै भएँछु । मन झन बेचैन भयो । के गरौं के गरौं भयो । सोच्दा सोच्दै तिलालाई फोन लगाएँ । तिला मेरी कलेजकी साथी । म सँग साह्रै मिल्छे । उस्का र मेरा बिचमा कुनै कुरा गोप्य रहँदैनन् । उ सँग उसकी साथी पनि सँगै बस्छे । नयाँ हो, १२ कक्षा पढ्दै गरेकी त्यो केटी पश्चिम तिरकी, तिलाकै गाउँकी बहिनी हो । मैले अघिल्लो पटक दर्पणलाई लिएर उस्को कोठामा गएको बेला उसँगै त्यो केटी पनि थिई । दर्पणले उस्को छातिमा आँखा गाडेको थियो अनि दर्पणलाई हेरेर उ पनि मस्किएको देखेकी थिएँ । त्यही बेला उसको मोवाइल नम्बर लिएको थियो दर्पणले । त्यो बेला म भित्र भित्रै कुँडिएकी थिएँ । त्यसपछि तिला कोठामा भएकोवेला फोन गरेकी थिइन मैले । तर अहिले उ सँग बोल्न मन लाग्यो, उ बाहेक मेरो मनको कुरा गर्ने पनि त कोही छैन । फोन लाग्यो । धेरै बेरमा मात्र उठाई । ‘हेल्लो!’ ‘किन ढिलो उठाएकी?’ ‘ह्या! यि दुईटी भएर मलाई सुत्नै नदिने भए!’ उस्लाई निद्रा प्यारो छ । सधैं राति फोन गर्दा सुत्नै दिइनस् भनेर मलाई गाली गर्छे । तर अहिले म सँग अर्की को केटीलाई जोडी बुझिन‘को दुईजना?” “पेरी! एक घण्टा भयो फोनमा बोलेकी, अहिले बल्ल छत तिर गई र ढुक्क भएको थियो फेरि अर्कीले फोन गरी!” पेरी भनेकी त्यही उसकी रुम पार्टनर । प्रेरणा हो उस्को नाम तर छोटकरीमा पेरी भन्छे तिलाले । तिलाको कुराले मन भित्रको शंका झन बढेर आयो । मैले लगत्तै सोधें‘को सित बोलेकी रे?’ तिलाले झर्केर भनी‘खै को सित हो ? सबै कुराको लेखा जोखा राख्ने ठेक्का लिएकी छु र? राख्! फोन !’ भन्दै फोन काटी तिलाले । फोन राखेर सायद निदाई होली तिला तर मेरो आँखामा अलि अलि भएको निद्रा पनि हरायो अब । रातभर निद्रा लागेन । छतमै बस्दा काका काकीले देख्न सक्नु हुन्छ भनेर कोठामा आएर अनिदै रात काटें ।
भोलिपल्ट बिहानै कलेज जान भनेर हिँडें । सेतो कलेजमा रातो गाडी मेरो प्रतिक्षामा बसेको थिएन । मलाई कलेज जान मन लागेन । सिधा तिलाको कोठामा गएँ । त्यहाँ प्रेरणा पनि थिई । कलेज जान ठिक परेकी रहिछे, म पुग्ने बित्तिकै हिँडी ऊ । तिला पनि कलेज जान ठिक परेकी थिई तर मैले नै जान दिईन । बिहान भरी उस्कोमा बसेर पनि उस्लाई केही भन्न मन लागेन । आज मलाई उस्कैमा बस्न मन छ । तिलालाई लिएर दिउँसो घर गएँ । मैले यसै जान्छु भन्दा काका काकीले राम्रो मान्नु हुन्न त्यसैले तिलालाई नै भन्न लगाएँ । “आज साथी कोठामा नभएकीले यसलाई साथी लान्छु ल” भनी । काका काकीले तिलालाई विश्वास गर्नु हुन्छ । अरु तिर जान दिनुहुन्न तर कहिले काहीं तिलाकोमा जान दिनु हुन्छ । उस्ले त्यति भनेपछि काका काकीले नाइ भन्न सक्नु भएन ।
निद्राकी प्यारी तिलालाई बेलैमा निद्राले लठ्यायो । म पनि उ सँगै सुतेकी छु तर निदाएकी छैन । निदाए जस्ती मात्रै भएकी छु । पेरी अर्को ओछ्यानमा छे, ऊ निकै उत्सुक देखिन्छे । उस्ले मोवाइल छोडेकी छैन । उस्कोमा घरि घरि म्यासेज आउँछ । उ हाँस्दै म्यासेछ लेख्छे । मैले सोधेकी छैन कस्को म्यासेज भनेर । उस्का आँखा घरि घरि मलाई हेर्छन र पुनः मोवाइलमा व्यस्त हुन्छन् । धेरै बेर पछि अलि अलि गर्दै ओछ्यानबाट निस्किएर पेरी बाहिर गई । पैतालाको मसिनो आवाजबाट थाहा पाएँ उ छत तिर गई । मलाई उस्को पिछा गर्न मन लाग्यो । उ गएको निकैबेर पछि म पनि छत तिर लागेँ । तिलाको कोठा दोस्रो तलामा छ । तेस्रो तला उक्लिएर चौथोमा पुग्दा छत आउँछ । जुन लागेको रात छ । पेरी छतमा पुगी सकी । म तेस्रो तलाको कौसीमा छु । ऊ मोवाइलमा कुरा गरिरहेकी छे । तर के कुरा गर्दै छे ? को सित गर्दैछे त्यो कुरा थाहा छैन मलाई, त्यही कुरा जान्नु छ । सिंढीमा चढ्दा चढ्दै मेरा आँखा तलको बाटोमा पुग्यो । सुन्सान बन्दै गरेको रातमा तल बाटोमा एउटा गाडिको आकृति देखें । म छतमा गईन पुनः तलै तेस्रो तलाको कौसीबाट गाडिलाई नियालें । रातो गाडी छ त्यहाँ, दर्पणको जस्तै रातो गाडि । गाडि देख्ने बित्तिकै उक्लन लागेका खुट्टा ओर्लन थाले । थाहै नपाई सिंढीहरु ओर्लिएर बाटोमा पुगेंँछु । त्यही रातो गाडि भए ठाउँमा । गाडि दर्पणकै रहेछ । गाडिमा दर्पण नै रहेछ । उस्ले मलाई देखेको थिएन । मोवाइलमा व्यस्त थियो । गाडिको झ्यालबाट आकाशतिर फर्किएर बोलिरहेको थियो । उस्का मुखबाट नयाँ र अनौंठा कुराहरु निस्कीरहेका थिएनन् । मैले पैले पैले सुनिरहेका कुरा्, मेरो घर अगाडि बसेर रातमा मै सँग गरे जस्तै कुरा गरिरहेको थियो । मलाई उ प्रति रिस उठेन, घृणा पनि लागेन । यसै उस्को छेउमा पुगेर एकछिन उभिएँ र उस्को नाडिमा समाएँ । एकैचोटी मैले उस्लाई समाउँदा उ आत्तिएको थियो । निकैबेर लाग्यो उस्ले मलाई चिन्न । उसले फोन काट्यो थियो । एकैछिनमा उताबाट फोन आयो । उस्ले उठाउने आँट गरेन । मैले नबोलिकन उस्को हातमा समातेर तानें । उ केही बोल्न सकेन । मेरो तनाईमा नाइनास्ती पनि गर्न सकेन । यसै तान्निईरह्यो । घरका सबै सिंढीहरु उक्लिएर छतमा पुग्यौं हामी । छतमा पेरी दर्पणलाई नै फोन लगाईरहेकी थिई । उस्ले लगाएको फोनको घण्टि दर्पणको मोबाइलमा बजिरहेको थियो । त्यही घण्टी सुनेर हामीतिर फर्की पेरी । उ पनि आश्चार्य चकित हुँदै बोली“अरे दिदी !...सर !” । मैले तत्कालै भने यो तिम्रो प्रेमी हो ? उ लजाए जस्ती भई । मैले फेरि भने “यो मेरो पनि प्रेमी हो !” उस्लाई थाहा रहेनछ, तिलाले उस्लाई थाहा दिएकी रहिनछे, दर्पण त जति सक्दो कुरा लुकाउन चाहान्थ्यो उस्ले भन्ने कुरै भएन । मैले अझै थपें“अनि यस्की अर्की पनि प्रेमिका छिन, घरमै, यिन्की श्रीमती” पेरी झन आश्चार्यमा परेकी थिइ, उस्ले पनि अबिबाहित पुरुष सम्झेर उ सँगैको भबिष्यको सुन्दर सपना सजाएकी थिईहोली, कल्पनामा रमेकी थिईहोली ति सपना र कल्पनाका महलहरु मेरो भनाई सँगै नामेट भएका थिए । उ दुःखी भई । दर्पण सँग उस्को भन्दा लामो समय त मैले बिताएकी थिएँ । उस्को भन्दा लामो समय सम्म भ्रममै भएपनि उस्लाई प्रेम गरेकि थिएँ । त्यसैले उस्लाई भन्दा धेरै घात र चोट त मलाई परेको थियो । तर अहिले घात र चोटमा परेर रुने समय थिएन । मेरो भनाईमा पुरा बिश्वास पनि गरेकी थिइन पेरीले, मैले दर्पणको हातबाट मोवाइल खोसेँ र भनें“तेरी श्रीमतीलाई फोन लगाऊँ?? ऊ केही बोलेन “भन् ! तेरी छोरीलाई भन्दिऊँ तँ जस्तै कुनै बाबु आमाकी छोरीको शरीर लुट्न यो मध्यरातमा तेरो बाबु यहाँ आएको छ भनेर?” दर्पणले मेरो हातबाट मोवाइल खोस्न खोज्यो । मैले कराएर भनें “लगाऊँ फोन??” उस्ले मोवाइल खोस्न छोडेर भन्यो “नलगाऊ, प्लिज नलगाऊ” “तेरो घरको र तेरी श्रमितीको फोन नम्बर म सँगै छ । तर यो चोटि मैले तँ प्रति गरेको साँचो प्रेमको लागि तँलाई बर्बादी हुन बाट बचाएँ । अरु कतै कुनै केटीहरुको शरीर र भावनामा खेल्न खोजिस् भने तँलाई बर्बाद पारेर छोड्छु !” उ बोलेन । मैले उस्को मोवाइल उसैलाई फिर्ता गरें । मोवाइल पाएपछि एकछिन पनि नवसी त्यहाँबाट ओल्र्यो । पेरीको हातबाट मोवाइल झर्यो, त्यो मैले टिपें । तल गाडिको आवाज आयो, म छतको छेउमा गएँ, पेरीले पनि म तिरै खुट्टा घिसारी । एकैछिनमा रातोगाडीको बोक्राले छोपियो दर्पण । अनि शहरको छायाँभित्र हरायो रातोगाडी ।

प्रकाशित मिति : प्रकाशन मिति : आईतबार, 10 आश्वीन, 2072

लेखकका अन्य रचनाहरु