मिथ्यापवाद

- सञ्जु बजगाईं

नोरीनको घरैछेउ जम्काभेट भयो । उसले हत्ते गरी ! आज मैले ईन्कार गर्न सकिन । बिना योजना नोरीनको घर पुगेँ । मन तम्तम्याईलो भयो । डर लागेजस्तो, कस्तो–कस्तो !
नोरीन ! उसको सुन्दरता देखेर मित्रताको हात कस्ले बढाउला ? फुस्रो देखिन्छ उसको अनुहार । काला कत्लाले छोपिएको छ नाकको आधा भाग । बुर्का नै त होईन तर भुँईसम्म घिस्रने साधारण खाले कालो रङ्गको परम्परागत ‘अबाया’ उसको बाह्रैमासको पहिरन हो । हिजाबका रङ्गहरु बदल्छे कहिलेकाहीं । उसका आँखामा सुन्दरता झल्किन्न ः खैरा, चिम्सा र मधुरा देखिन्छन् । आवाजमा कुनै आकर्षण छैन । रोगीको जस्तो भासिएको स्वर छ । साँच्चै भन्नु पर्दा उसको व्यक्तित्व देखेर नयाँ मान्छे नजिकिदैन । मलाई उसको प्रकटनप्रति दया लाग्छ । लन्डन बस्ने भन्नु मात्र ! कारागारमा बन्दी भएकी असाह्य जस्तै देखिन्छे । तर उसको बोलीको सरलता र ब्यावहारमा भेटिने आत्मियतामा शंका गर्न सकिन्न ; आफ्नै नातेदारको जस्तै लाग्छ यद्यापी म शंकाबाहिर निस्कन भने अझै सकेकी छैन ।
आफैलाई पत्यार भएको छैन म अहिले नोरीनकै घरमा छु । उसको आतिथ्य स्वीकार्दै गमक्क परेर बसेकी छु उसको आरामदायी सोफामाथि । सबथोक बिर्सिएर सिलिङ्ग लाईटको सुन्दरतामा मेरा आँखा एकटक भएका छन् । ‘वाल पेपर’ को छिरबिरे बुट्टामा मन पुगेको छ । कस्तो मेरै रुची अनुसारको ! सेतो भुँईमा निला बुट्टाहरु !! कुनामा राखेको एक्वरियममा सलबलाएका माछाहरुले मेरो ध्यान खिचेका छन् । बन्द एक्वरियमलाई समुद्री संसारकै स्वतन्त्रता मानेर पौडिरहेका रङ्गीन माछाहरुको खुबी मान्नै पर्ने ! म एक्वरियम अगाडि उभिएर माछाहरुसँग रमाउन थालेँ । नोरीन भने जुस ल्याउँछु भनेर अर्कै कोठातिर लागेकी थिई ।
नजिकै बसुन्जेल नोरीन र मैले आउजाउ कहिल्यै गरेनौ । उसले त भेटे नै पिच्छे कहिले अफ्गानी चिया पिएर जाने आग्रह गर्थी, कहिले उसले पकाएको ‘कुब्ली पुलाऊ’ लिएर जाऊ भन्थि अनि कहिले ‘मन्टु’ खाएर जान कर गर्थी । मेरो प्रिय मःम नै उसको भाषामा ‘मन्टु’ थियो । मुख रसाउँथ्यो संझिदै । तर मेरो लोग्नेले भनेका र अड्कल गरेका कुराले मलाई हिम्मत दिदैनथ्यो उसको घर जाने । म बाटैबाट छुट्टिन्थ्ये ।
कत्ति बिरोधास्पद छ मेरो चरित्र ! मनभरी शंका बोकेर उसको बैठक कोठाका हरेक कुना नियाली रहेकी छु । सोकेसमा किताबका ठेली रहेछन् । मोटा–मोटा किताबका ठेली देख्दा अचम्मित भएँ म । सबै किताबका बाहिरी गातामा अरबी अक्षर देखिन्थे । मैले नबुभ्ने । आईप्याड, ल्यापटप, आईफोन र कारको चाबी सोफा छेउको टेबलमा असरल्ल थिए । प्रिन्टर र फ्याक्स मेशिन पनि देखेँ मैले । महंगा खेलौना कोठामा यत्रतत्र छरिएका थिए । कोठाको सजावट निकै शानदार थियो । पश्तुन ढाँचाका ठुला–ठुला लोभलाग्दा कार्पेट ओछ्याएका । नोरीनको कोठा भनेर पत्याउनै नसकिने !
यो सब देखेर डाहा नभए पनि औडाहा अवश्य भयो मलाई । मेरो बुझाईभन्दा धेरै पर थियो नोरीनको घरको शान । लोभी आँखा पापी मन ! ‘शान’ लाई छोडेर ‘मान’ का कुरा संझिदै चित्त बुझाएँ । छिनभरमै क्रिस्टलको झलल्ल परेको ग्लास टल्कियो परैबाट । नोरीनले जुस ल्याएर मेरो अगाडि राखिदिईसकेकी थिई ।
“फ्रेस अरेन्ज जुस ।” जुस पिउने अनुरोध गर्दै बोली ऊ ।
“कति छिटो ल्यायौ त ।” मैले गिलास उठाउँदै औपचारिकता पुरा गरेँ ।
नोरीन सोफामाथिका कुसनहरुलाई एकतिर खप्टिएर मेरो नजिक भई बसेकी थिई । भौगोलिक दुरी थिएन उसको र मेरो बिचमा । एउटै सोफामा बसेका थियौँ । यस्तो लाग्थ्यो ऊ मसँग हरेक मिनेट नजिक भएर साट्न चाहन्थी । संस्कारको कुरा त होला नि ! नत्र सामान्य बोलचालमा सिमित रहेको हाम्रो सम्बन्धलाई यति महत्व कसले दिन्थ्यो ? उसले मलाई हितैषी संझिएकी रहिछ । म फुरुङ्ग भएर जुस पिउँन लागेँ ।
“पहिले बसेको ठाउँबाट सरे छौ नि !” एक हातले जुसको ग्लास उठाउँदै नोरीनले सोधी ।
“सरेको एक महिना जति भयो ।” मैले जुसको घुड्को निल्दै भनेँ ।
“त्यसैले त फर्किए पछि पनि मैले तिमीलाई निकैदिन देखिन ।” उसले भनि ।
“फर्किएपछि ? कहाँ गएकी थियौ र ?” मैले अचम्म मान्दै सोधेँ ।
“अमेरिका...!” उसले भनी ।
म झसंङ्ग भएँ । एकाएक अमेरिका शब्दले मेरो शंका चुलियो । अमेरिका र लन्डनको ओहोर–दोहोरमा धेरै कुराहरु जोडिने संभावना देखेँ मैले । म जुसको गिलास हातमा खेलाउन थालेँ । एक मन त बहाना बनाएर निस्की जाउँ जस्तो लाग्यो । भोली सोधपुछ भए के भन्नु ? मनमा अनौठो तरलता पैदा भयो । नोरीनको अनुहार हेर्दा पत्याउनै सकिन्न । नपत्याउने खोलाले त बगाउँछ नि ! आफ्नो उखान कसरी बिर्सनु ? शंकालु हावा भरिएर मन फुलेको बेलुनझैं भयो । म बसिरहेको ठाउँबाट जुरुक्क उठेँ ।
“बल्ल मेरो घर आएकी छ्यौ, म मन्टु बनाएर ख्वाउँछु तिमीलाई ।” म उठ्नासाथै उसले भनी ।
“हैन...हैन, मसँग धेरै समय छैन । फेरी अर्कोदिन आउँछु ।” म तर्किएँ ।
म धेरै नजिकिन चाहन्नथेँ । ‘यिनीहरुको त केही ठेगान हुँदैन । कहाँ के ताकेका हुन्छन् पत्तो हुँदैन, संगत नगर्नु ।’ मेरो लोग्नेले मलाई पहिले नै सतर्क गराएको संझिएँ । सबै कुरालाई मिचेर यहाँसम्म आईपुगि सकेँ । अझ खाजापानी तिर अल्झिनु उचित ठानिन मैले ।
“केही त खाएरै जानुपर्छ ।” नोरीनले मेरो ब्याग तानेर एकातिर थन्क्याउँदै कर गर्न थाली ।
उसको आतिथ्य देखेर क्षणभरका लागि भएपनि म पत्याउन चाहन्नथेँ अनेकथरीका आक्षेप । नोरीनको जस्तो आत्मियता मैले आफ्नाबाट पनि पाएकी छैन । कस्तो असजिलो ! मित्रता गर्न लायक देखिनेहरुमा आत्मियता भेट्दिन, आत्मियता भेटिएकासँग मित्रता गर्न शंका गर्नु पर्ने ! कस्तो समयसँग बँचेकी छु म ? किन मान्छेले मान्छेलाई ‘ट्याग’ झुन्डयाई दिन थालेका ? ती पनि निरीह मान्छेहरुलाई ! त्यो मान्छे, जोसँग संसारको असमान संरचना नकार्ने क्षमता छैन । त्यो मान्छे, जसको ईच्छा र रहरको अर्थ छैन । त्यो मान्छे, जो आफ्नो श्रमको मुल्य अनुपातको जीवन बाँच्छ बाध्य छ । म पनि यिनै मध्येकै एक हुँ । फरक छैन । तरपनि नोरीनसँगको मित्रतालाई खुलस्त स्वीकार्न किन हिच्किचाई रहेकी छु ? शंका गरीगरी साथी बन्नु पर्ने ! कस्तो बिडम्वना !? उकुसमुकुस भएँ म ।
मेरो ब्याग नै तानेर राखिदिएकी थिई नोरीनले । उसको जिद्धीसँग हार खाएर बसेकी थिएँ म । ऊ गफका शिलसिला बढाउँदै थिई । टेबल माथिको फोनको घण्टी बारम्बार बज्न थाल्यो हाम्रो गफको सिलसिलै भंङ्ग गर्ने गरी । नोरीनले बाध्य भएर फोन उठाई । मैले छेउ टुप्पो केही नबुभ्ने भाषामा कुरा शुरु भो । ‘पानी...पानी’ भनेको जस्तो सुन्थे । के भन्थी उही जानोस् । तर हाउभाउ हेर्दा कसैसँग बहस भएको हो भनेर स्पष्ट बुझिन्थ्यो ।
“हराम...!.....” यस्तै के–के भन्दै नोरीनले फोनको स्वीच अफ गरी ।
“सबै ठीकै त छ ?” मैले असजिलो मान्दै सोधेँ ।
“मेरो लोग्नेको फोनकल थियो ।” उसले रुखो स्वरमा भनी ।
“ए...!” मैले भनेँ ।
“तिमीलाई मैले सुनाएकी छैन ?”, फनफनाउँदै नोरीनले भनी –“मेरो लोग्ने अमेरिकामै बस्छ ।”
मैले कहिल्यै नसोधेको प्रश्नको जवाफ दिदैथिई ऊ । संयोगवश नोरीनको कुरा र मेरो लोग्नेको अड्कल मिल्दोजुल्दो हुनपुग्यो । उसको लोग्ने पक्कै पनि कैला आँखा भएको, हल्का दाह्रीजुँगा पालेको अधबैशे पठान हुनुपर्छ । अमेरिकाको कुनै राज्यमा बसेर हुक्का तान्दै होला त्यो यतिबेला । हुक्का तानेर छोडेको धुँवाको अमुर्त आकार हेरेर आफ्ना कामको निर्णय गर्छन् रे त्यस्ताले त । या त त्यो कसैको तलबी कामदार हुनुपर्छ ः ईशारामा चल्ने । घरपरिवार छोडेर कसरी बसेको होला त्यो पठान ? मेरो बुझाईले भ्याएसम्मका कुरा खेले मनमा ।
“दुईजना दुईतिर बस्न कस्तो गाह्रो ।”नोरीन भने आफ्नै कुरा थप्दै गइरहेकी थिर्ई ।
“हो नि ।” म सार मात्र मिलाई रहेकी थिएँ ।
“अमेरीका गएर बस्नुभन्दा त अफगानिस्तान नै फर्कनु बेस ।” त्तिक्तता पोख्न थाली उसले ।
“बस्नलाई अमेरीका भन्दा अफगानिस्तान राम्रो हो र ?” उसका कुरा पत्याउन नसकेर मैले ब्यङ्ग गरेँ ।
“केलाई राम्रो मान्ने ? आत्मसम्मान या सुविधा ?” उल्टै मलाई पो कडा शैलीमा सोधी ।
नोरीन यसरी बोल्छे होला भनेर मैले सोचेकै थिईन । ‘मोटर वे’ मा कुदेको गाडीमा ‘इमर्जेन्सी बे्रक’ लगाएझैं थियो उसको सोधाई । मैले लाज पचाउँदै फिस्स हाँसे । आत्मसम्मान गुमाएर चुथ्थो चरित्रको पक्षधर हुने सल्लाह दिन मिलेन । त्यसपछि उसका कुरामा अरु केही थपघट गरिन । उसैलाई बोल्न दिईरहेँ ।
“तिमीलाई अप्mगानिस्तान फर्किन केले रोक्यो त ?” मैले केहीबेर उसका कुरा सुनेपछि सोधेँ ।
“मेरो लोग्नेले ।”, उसले रातोपिरो अनुहार पारेर भनि –“म अफ्गानिस्तान फर्किए मसँग सम्बन्धबिच्छेद गर्छु भनेको छ ।”
“ओहो...किन त्यस्तो ?!” कि वार कि पार का कुराले अचम्मै पार्यौ मलाई ।
“मेरो लोग्ने भावुक हुन जान्दैन, छिनालेर बोलिजान्छ ।” नोरीनले दुःखी हुँदै सुनाई ।
“जीन्दगीमा उतार–चढाव भैरहन्छ । चिन्ता नगर समयले सबै ठीक गरिदिन्छ ।” म बिशुद्ध परामर्शदाताको भूमीका निर्वाह गर्न लागेँ ।
“जीन्दगी आफ्नो मात्र कहाँ रह्यो र अब ? सानो छोरो छ । मैले हार खाए छोराको के हाल होला ? उसकै लागि सम्हालिएर बसेकी छु ।”
“मलाई विश्वास छ सबैकुरा चाँडै ठीक हुनेछ ।” नोरीनको नितान्त नीजी बिषयमा सान्तवना स्वरुप मैले यति नै भनेँ ।
“मेरो भाग्य नै उस्तो ।” नोरीन उदाश भएर भन्न थालि– “हामी त सानैदेखि सुख र दुःख दुवैलाई भाग्यको जिम्मामा छोड्न बानी परिसकेका छौं ।”
“तिमी अमेरीका नै जाउ न त, परिवार एकैठाउँ बसेपछि सबै ठीक हुन्छ ।” म उसको कुरा छोडेर समाधान औल्याउँन लागेँ ।
“कसरी बस्नु त्यहाँ गएर ? मेरो टाउकोको हिजाबलाई हेरेर सिङ्गो मान्छेको मुल्याङ्कन गर्छन् अमेरिकीहरु ।”, नोरीनले उसकै टाउको ढाकेको हिजाबलाई नङग्राउँदै भन्न थाली–“खुल्ला कपाल छोड्नेहरुको बौद्धिकता पनि देखियो ।”
उसको आक्रोश को प्रति हो बुभ्न सकिन मैले । झस्किदै आफूले छोडिराखेको खुल्ला कपाल सुम्सुम्याउँन थालेँ म ।
“मेरो हिजाब हेरेर तिमीले पनि केही त सोचेकी थियौ होला ? नोरीनले मलाई ठाडै सोधी – म अफ्गानी भनेर थाहा पाउँदा तिमीलाई मेरो जीवनशैलीमाथि शंका लागेन ? नढाँटी भन है ।”
उसको प्रश्नले मलाई ठाडै कठालोमा समातेको थियो । मेरा कान राता भए । एकहिसाबले मेरो मनको शंका हुबहु बोलिरहेकी थिई ऊ । मेरो लोग्नेले त बोलचाल गर्न मनाही गरिदिएको थियो । अझ फोन नम्बर त दिदै नदिनु भनेको थियो । छोराछोरी स्कूल छोड्ने बेला नोरीन र मेरो जम्काभेट भैजान्थ्यो । उसैले बोलाउँथी । कसरी नबोल्नु वल्लो घर पल्लो घर बसेपछि ? म डराउँदै बोलेँ शुरुशुरुमा । पछि अलि बानी पर्याे । अहिले यी सबै कुरा हाँक्काहाँक्की उसलाई कसरी भनुँ ? चुपचाप भएँ म ।
“तिमीलाई के ढाँट्नु ?! मेरा अरु छिमेकीहरु मसँग बोल्न रुचाउँदैनन् ।” उसले सबैको नामै तोकेर भनि ।
“सोफिया र स्यारोन पनि !” मैले अचम्म मान्दै सोधेँ ।
“जीवनमा आफ्नो जन्मभूमीकै नाम यस्तो भारी होला भनेर कसले सोच्छ र !” बोल्दाबोल्दै नोरीनका आँखा टिलपिल भैसकेका थिए ।
ऊ रुन चाहन्थी होला यसबेला । धित मरुन्जेल रुन चाहन्थी । देश संझिनु भनेको अक्षरहरु बटुलेर बनेको शब्द मात्र संझनु हो र ?! देश संझिदा पुर्खा भेटिन्छन्, आमाबाबु देखिन्छन्, आफुले जन्मे–हुर्केको घर भेटिन्छ, साथीभाई, रुखपात, जाडो–गर्मी, भोक–प्यास, उकाली–ओराली, खण्हर पाखा–पर्वत जे–जे छोडिएका छन् सबै भेटिन्छन् । साँचो भन्दा आफ्नो सिङ्गो अस्तित्व भेटिन्छ । नोरीनको मन पढ्न गाह्रो भएन मलाई ।
“अफ्गानिस्तान आंतककारीको घर, अनि अफ्गानी जनता सबै आतंककारी ! अफ्गानी मूलकी भन्ने बित्तिकै म पनि आतंककारी । केही नभए आतंककारीकी बहिनी, बुहारी, छोरी...! बिल्ला त भिराएरै छोड्छन् मान्छेहरुले ।” नमिठो भोगाई सुनाईरहेकी थिई नोरीन ।
छिमेकीको रुखो ब्यावहार, उपेक्षा, घृणा र अविश्वास सबै शहेर जीन्दगी चलाउँदाको अनुभव मसँग थिएन ‘अचानोको पीर खुकुरीलाई के थाहा ?’ । बास्तविकता थियो उसका कुरामा । मेरो धारणा फरक छ र ? मेरो मनमा पनि आतंककारी शब्द सलबलाईरहेकै छ । चिमोटेर मान्छे चिन्न सक्ने भए पो त ! म अक्क न बक्क भएकी थिएँ नोरीनका अगाडि ।
“त्यही त यी सबैकुरामा हामी सामान्य मान्छेको पहुँच नपुग्ने, जे सुन्छन्, त्यसकै पछि लाग्छन् ।” मैले भनेँ ।
“तिमी कति भाग्यमानी ! ईज्जत र स्वभिमान छ तिम्रो । आफ्नो देशको नाम लिन कोहीदेखि डराउनु पर्दैन ।” नोरीन भावुक भएर बोल्न थाली ।
“किन र ?” म उसको भावुकतासँग तानिदै बोलेँ ।
“तिम्रो देशमा परायाले शासन गरेको छैन होला हगि ?” उसले असाध्यै गम्भीर भएर सोधी ।
“छैन ।” मैले झट्टै जवाफ फर्काए ।
“अरुका देशहरुको सार्वभौमप्रति ईश्र्या लाग्छ मलाई ।” भुँईतिर घोप्टिएका उसका आँखाबाट तप्तप् आँशु चुहिन थाले ।
उसले बोलेको वाक्यले उसको भोगाईको गहिराई मैले के नाप्न सक्थे !? हे ईश्वर ! गरिबि भोगे पनि अर्काबाट लुछिएको सार्वभौम न मेरा पुर्खाले देख्नु पर्यो न त मैले नै । तर मलाई थाहा छैन राष्ट्रियता कुरामा कति दरिली छु आफु भनेर । देशको कुरो ल्याएर जोडिसकि नोरीनले । अरु के–के बिषयमा कुरा ठोक्काउने हो ? म नोरीनतिर फर्किएर लाचारीको हाँसो फिस्स हाँसे । म चाहन्थे देश र राष्ट्रियताको कुरामा नोरीन अरु नबोलोस् ।
“मेरो हिन्दुकुश पर्वत श्रृखला, हरी नदी, बामियानका बुद्धका सालिक, मिनार–ए–जाम ! के भनुँ ? मेरो देश यी सबले कहाँ चिनिन्छ र ? मेरो देश त बिस्फोट भएका बमका आवाजले चिनिन्छ । बारुद, बन्दुक र धारिला हतियारले चिनिन्छ । बाटातिर भेटिने मान्छेको रगतका खाटाहरुले चिनिन्छ । विनाश र विध्वंशले चिनिन्छ । कालो रहस्यात्मक भयले चिनिन्छ ।” रोकिनुको साट्टो बहकिन थालेकी थिई नोरीन ।
अरुका दाँजोमा आफूलाई सधैं उच्च मुल्याङ्कन गर्ने बानी परेकी मान्छे हुँ म । कसरी सुनाउँ ? मेरो देशका सडकहरु पनि मान्छेका रगतले पोतिएकै हुन् भनेर । भाइ–भाइसँगको झगडाले देश पुरै थलिएको छ । एउटै देशका भन्नु मात्र ! यो परदेशमा पनि आफ्नोपन भेट्नलाई आफ्नै जातको समुह चाहिन थालेको छ । हामी थेप्चा र चुचा नाकको बिभाजनमा लागेका छौं । संस्कार र संस्कृतिको बहिस्कारमा लागेकका छौं । हामी राष्ट्रिय झण्डाको परिमार्जनमा लागेका छौँ । हामी हाम्रो सानो मुलुकलाई खण्ड–खण्ड बिभाजन गर्न लागेका छौँ । साँच्चै भन्ने हो भने हामी कसैले कसैलाई सम्मान गर्न नसक्ने मनोदशा भित्रभित्रै पालेर बाँचेका छौँ । सरसर्ती संझिएँ मैले आफ्नो देशको हालत । मैले गम्भीर भएर सोच्न बिर्सिएको बिषय नोरीनले उप्काएर छोडिदिएकी थिई । म जतिसक्दो चाँडो उसको घरबाट निस्कने मौका पर्खन लागेँ ।
“हेर त, मन्टु बनाउन मैले भेडाको मासु मोलेर राखेकी थिएँ ।” एउटा प्रसङ्ग उप्काएर अर्कै प्रसङ्गमा हाम्फाल्न पुगी ऊ ।
गम्भीर बिषय उप्काएर नाथे मःमको किमाका बारेमा कुरा तन्काउन सरम लाग्यो मलाई । उसको छयास्मिसे कुराले ऊप्रतिको धारणा बदल्न पटक्कै सहयोग गरेन । एजेन्टले यस्तै नानाथरीका कुरा उप्काउँछन् रे ! के थाहा ऊ त्यही एजेन्टको भुमीका निर्वाह गरिरहेकी होस् । आतंक र आतंककारीका बिषयमा मेरो धारण बुभ्न खोजिकी होस् । उसले मःम पकाउन बसाएको पानीको भाँडो खट्खटाएर उम्लिदै थियो । उसका हरेक शब्दलाई म ध्यान दिएर सुन्दै गएँ ।
“बिसबर्ष अगाडी हामी लन्डन आउँदा मेरो ‘अब्बु’ले किनेर ल्याउनु भएको भाँडो आजसम्म चलाईरहेकी छु ।” उसले हौसिदै बोली ।
“ओहो ! तिमी त धेरै अगाडी पो आएकी रहिछ्यौ ।” मैले भनेँ ।
“यहाँ आउँदा म पन्ध्र बर्षकी थिएँ ।” बल्ल मैले सोध्न नसकेको प्रश्नको जवाफ दिदै थिई ।
“कति कलिली ! तिमीले युनिभर्सिटी लन्डनबाटै सक्यौ होली हैन ।” मैले थपेँ । म उबाट अरु कुरा सुन्न चाहन्थे जसले मेरो मनको शंका हटाईदियोस् अनि उसको आत्मियता स्वीकार्न मलाई सहज होस् ।
“लन्डनबाट होईन अमेरिकाबाट । ‘युनिर्भसिटी अफ टेक्सास’ बाट गरेकी । मेरो ठुलोबुबा टेक्सासमा बस्नुहुन्थ्यो । वहाँको ठुलो कारोबार थियो त्यहाँ । लन्डन आएर मलाई वहाँले नै लिएर जानुभयो । झण्डै दशबर्ष बिताएँ ठुलोबुवासँग । बिवाह भएपछि छुट्टिएकी ।” उसले मःमका पोका बनाउँदै भनी ।
“तिम्रो बिवाह चाहिँ अफगानिस्तानबाटै भयो ?” मैले सोधेँ ।
“होईन । टेक्सासबाट । परिवारका सबैलाई त्यागेर आफूसँगै पढ्ने अमेरीकी मूलको केटासँग भागी बिवाह गरेकी मैले । हेर न ! उसले पनि मेरो जन्मभूमीको कदर गर्दैन । प्रेम बिवाहको परिणाम स्वरुप आज यो हैरानी खप्दैछु ।” उसले फिस्स हाँस्दै सुनाई ।
“तिम्रो लोग्ने अमेरिकी मूलको ?” विश्वास नलागेर मैले दोहोर्याएर सोधेँ ।
“कैला आँखीभौं गरेको बिशुद्ध खैरे !” नोरीनले रङ्ग तोकेरै भनी ।
बल्ल ! बल्ल रहस्यको पोको फुट्यो !! मेरो मस्तिष्कमा नोरीनले भनेका कैला आँखीभौंहरु खेल्न थाले । मैले कल्पना गरेको अफ्गानी पठान पलभरमा हरायो । अरु कति खोतलौ उसको निजी जीवन ? गफैगफमा सबैथोक भनिसकी उसले । आखिर मेरो धारणासँग केही मेल खाएन ! अल्पज्ञानबाट माथि उठ्न नसकेको मेरो पूर्वाग्रही सोचभन्दा नोरीनको बास्तविकता धेरै फरक थियो । मैले र मेरो लोग्नेले उमारेका शंकाका भु्रणहरुलाई अब म के गरौँ ? हामीले कोरेको अदृष्य क्यानभाषमा ऊ आतंक, भय, र त्रासका रङ्गहरुले पोतिएकी थिई । उसको देशको नाम सुनेकै आधारमा छिमेकी भएर लामो समय बसेपनि ऊ र मेरो बिच अदृष्य सिमाना रहिरह्यो । पहिरन हेरेर मैले उसँग दुरी बढाएकी थिएँ । टाउको छोप्ने हिजाबलाई हेरेर उसको बौद्धिकता नापेकी थिएँ । उसको सरलतालाई आतंककारीको रणनिती बुभ्ने मेरो लोग्नेको मानसिकतालाई अब कुन नाउँ दिउँ म ? मेरो लोग्ने मिथ्या ठहरियो । म आफु आफ्नै अल्पज्ञान देखेर ग्लानीले हतप्रभ भएँ ।
नोरीनले मःम बाफ उड्दै गरेका डल्लाहरु प्लेटमा राखेर टेबलमा ल्याईसकेकी थिई । साथमा बदामको पिरो चट्नी पनि थियो । अल्पज्ञानको आधारमा कसैको अस्तित्वलाई बहिस्कार गर्ने मेरो चरित्र नोरीनको सत्कारको लायक थिएन । उम्लिएको पानीमा पिल्सिएका मःमका डल्लाहरु जस्तै पिल्सिन थालेँ म । पाकिसकेको मःमको बासनिलो बाफ मेरो नाकैमा ठोक्किरहेको थियो ।
“शुरु गर न !” नोरीन बोली ।
त्यसैबेला मेरो लोग्नेको फोनकल आयो ।
“म अहिले नोरीको घरमा छु ।” फोन उठाउँदै मैले भनेँ ।
“तुरुन्त निस्किहाल त्यहाँबाट...।”
मेरो लोग्ने बड्बडाउन थाल्यो ।

लन्डन, बेलायत

प्रकाशित मिति : प्रकाशन मिति : सोमबार, 28 भाद्र, 2072

लेखकका अन्य रचनाहरु